छबि पुरी/राप्ती पोष्ट
घोराही, साउन । आमाबुवा गुमाएर बेसाहारा बनेका घोराही उपमहानगरपालिका वडा नम्बर १९ तिर्साङका चार जना बालबालिकाको उद्धार गरिएको छ । सुर्खेतस्थित बाल ग्राम एसओएससँगको समन्वयमा सोमबार बालबालिकालाई त्यहीँ बस्ने खाने र शिक्षादिक्षा निःशुल्क रुपमा व्यवस्था हुने गरी पठाईएको हो ।
गाउँ नजिकैको कोइलाखानीमा काम गर्दै गर्दा २०७७ फागुुन १० गते बुवा मोहनलाल कामीको निधन भएको थियो । बावुको निधनपछि दुई महिने नानी सहित चार भाइवैना आमाको सहारामा बस्दै आएका थिए । तर गएको मंसीरमा आमाको पनि निधन भएपछि उनिहरु बेसाहारा बनेका थिए । २०७८ मंसीर २८ गते आमा शान्ति कामीको निधनपछि काकी चन्द्रकला कामीले स्याहार गर्दै आएकोमा पछि उनीहरुको परिवारमा श्रीमान श्रीमती बीच नै स्याहार गरेको विषयमा विवाद भएको थियो । बालवालिकाको समस्या देखेर स्थानीय अमृता घर्तीले चारै जनालाई आफुसँग राखेर पालनपोषण गर्दै आउनुभएको थियो । तर, दीर्घकालीन व्यवस्थापन गर्न समस्या भएपछि अन्ततः सोमबार उनीहरुलाई एसओएस बाल ग्राम सुर्खेत पठाइएको छ । कोइलाखानीमा काम गर्ने मजदुर पुरिएपछिको घटनाक्रमलाई नजिकबाटै नियाल्नुभएका नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले पहिले बावुको निधनपछि आमाको स्याहार सुसारमा रहेका र पछि आमाको निधनपछि पनि सहाराका लागि पहल गरिरहनुभएको थियो । सुर्खेत पुराउने काममा सहयोगी बनेर भूमिका खेल्नुभएका महासंघका अध्यक्ष केसीले उनिहरुले नयाँ जीवन पाएको बताउनुभयो ।
आमा शान्ति कामीको निधनपछि अनाथ बनेका बालबालिकाहरुको पालनपोषणका लागि विभिन्न व्यक्ति, संघसंस्थाले चासो लिएपनि दीगो नहुने देखेपछि सुर्खेत पठाइएको अध्यक्ष केसीले बताउनुभयो । सोमबार १४ वर्षीय दीपक कामी, उहाँकी बहिनी १२ वर्षीया सर्मिला विश्वकर्मा, भाई ७ वर्षीय अशोक कामी र डेढ वर्षकी सोनिया कामीलाई सुर्खेतमा रहेको बालग्राममा पठाइएको छ । सोमबार पछिल्लो समय रेखदेख गर्दै आउनुभएकी अमृता घर्ती, उहाँका श्रीमान र फुपाजुसँग सुर्खेत पठाइएको अध्यक्ष केसीले बताउनुभयो । घोराहीबाट सुर्खेत जानका लागि प्रवन्ध भने पद्मोदय पव्लिक नमूना माविमा २०५५ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुले गरेका थिए । घोराहीबाट गाडी खोजेर गाडी भाडा समेत तिरिदिएर बाटो खर्च सहित पठाएको एसएलसी–२०५५ व्याचका अध्यक्ष जीवन अधिकारीले बताउनुभयो । आफूहरुले अरुले गरिरहेको सहयोगमा थोरै सहयोग मिसाएको अधिकारीको भनाई थियो ।
अब उनीहरु त्यहीँ बसेर निशुल्क रुपमा शिक्षादिक्षा लिनेछन् । उनीहरुलाई सुर्खेतसम्म पु¥याउन पद्मोदय मावि घोराहीमा २०५५ सालमा एसएलसी दिएका विद्यार्थीहरुको समुहले २० हजार रुपैया जुटाइदिएको थियो । ‘धर्म कमाउन मन्दिर होईन, कुनै दीनदुःखीको सेवा गरेपुग्छ भनेर हामीले यो अभियानमा साथ दिएका हौँ,’ अधिकारीले भन्नुभयो, ‘राम्रो काम हुन लागेको जानकारी पाएपछि सबै साथी मिलेर कम्तिमा बालबालिकाहरुलाई सुर्खेतसम्म पुर्याउन यातायात खर्च र खाने खर्च सहयोग गरौँ भन्ने लाग्यो र अघि सरेका हौँ ।’
यस्तै, सो समुहका सचिव बसन्त खनालले समाजमा हुने हरेक खालका दुःख पीडाका कुरामा केही गर्नुपर्छ भनेर आफुहरु संगठित भएको भन्दै बालबालिकाहरुको उद्दारका लागि सहयोग गरिएको बताउनुभयो । बालबालिकाको दुख देखेर स्याहार सुसार गर्दै आउनुभएकी अमृताले आवश्यक कागजी प्रकृयामा पनि सघाउनु भएको थियो । उनीहरुको दुख देखेर उज्ज्वल भविष्यका लागि निस्वार्थ सहयोग गरेको उहाँले बताउनुभयो । एसओएस संस्थाले अभिभावकत्व लिएपछि उहाँलाई पनि खुशी लागेको छ । ‘मैले जसो तसो स्याहार गर्दै आएको थिएँ, आफ्ना छोराछोरी जस्तै माया गरेको थिएँ, अब संस्थाको जिम्मा लगाउन लागेको छु, एकातिर खुशी छु अर्कातिर कोख खाली बनाएर अरुलाई सुम्पेको जस्तो लागेको छ,’ उहाँले भन्नुभयो, ‘अब यी बालबच्चाको भविष्य राम्रो हुन्छ भन्ने विश्वास छ ।’
आफुले अनाथ बालबच्चा स्याहारेको भन्दै समाजले अनेकन आरोप र लान्छना लगाएको उहाँले बताउनुभयो । तर, पनि अबोध बालबालिकाहरुको स्याहार गर्नु धर्म कमाउनु हो भन्ठानेर निस्वार्थ भावले स्याहार गर्दै आएको उहाँले बताउनुभयो । ‘म गाउँले छिमेकी हुँ, उनीहरुको पीडा देखर मनले मानेन, श्रीमानसँग यो विषयमा पनि विवाद भयो तर कसैको सुनेन, स्याहार सुसार गरिरहेँ,’ खुशीका आँशु निकाल्दै अमृताले भन्नुभयो, ‘मेरो बालबच्चा छैनन् त्यसैले पनि मेरो कोख भरिएको जस्तो लागेको थियो । मलाई समाजको पर्वाह भएन, सेवा गर्नु मेरो धर्म हो ।’ ती बालबालिकाहरु सँगै उहाँ पनि सुर्खेत जानुभएको छ । ‘त्यहाँ गएर बस्ने, खाने, पढ्ने बारेमा बुझ्छु, उहाँले भन्नुभयो, ‘अब त मैले नै जन्माएका सन्तान जस्तै लाग्छ, उनीहरुलाई छाडेर कसरी फर्कने होला भन्ने लागेको छ, तैपनि उनीहरुको भविष्यका लागि अघि बढ्नै पर्छ ।’
यस्तै, अनाथ बनेका दीपकले पनि आफुहरुको भविष्यको लागि पहल गरेर राम्रो ठाउँमा पुर्याएको भन्दै हर्षित भएको बताउनुभयो । आमाबुवाको निधन पछि दीपकको काँधमा धेरै जिम्मेवारी थपिएको छ । उहाँ केही समयअघि कामको सिलसिलामा अर्घाखाँची पुग्नुभएको थियो । निर्माणको काममा त्यहाँ पुगेको बेला सुर्खेत लैजान भन्दै फर्काईएको थियो । भविष्यको बारेमा केही सोँच्न नसकेको बेला यसरी आफुहरुको उद्धार गरी राम्रो ठाउँमा पठाउन लागेको भन्दै सबैको आशा मर्न नदिने बताउनुभयो । ‘म मेरो भाइबहिनीहरुको भविष्यका लागि त्यहाँ बसेर धेरै मेहनत गर्नेछु, इमान्दार भएर आफुलाई स्थापित गर्न कोशिस गर्नेछौँ,’ दीपकले भन्नुभयो, ‘यो हाम्रा लागि सायद जीवनको सबैभन्दा ठूलो अवसर हो ।’
बुवाको कोइलाखानीमा पुरिएर मृत्यभएपछि पाएको क्षतिपूर्ति र राहत रकम पनि स्थानीय गाउँले केहीले लगेर फिर्ता गरेका छैनन् । कसले कति रकम लगेको छ भन्ने बारेमा आफुहरुलाई कुनै जानकारी नभएकाले पैसा माग्न पनि समस्या भएको बालिका सर्मिलाले बताउनुभयो । यस्तै, बालबालिकाहरु अनाथ बनेपछि औपचारिक रुपमा स्थानीय सरकारले सार्थक पहल नगरेको पाइएको छ । अभिभावक विहीन बनेका बालबालिकाहरुको स्याहार सुसार, शिक्षादिक्षामा स्थानीय सरकारले भूमिका खेल्नुपर्नेमा त्यसो हुन नसकेको स्पष्ट देखिएको छ । स्थानीय सरकार नागरिककको सबैभन्दा नजिकको सरकार भएपनि उनीहरुको विपत्तिमा मलम लगाउन कुनै पहल नगर्दा आजसम्म अनेकन दुख झेल्न बाध्य भएको बालिका सर्मिलाले बताउनुभयो ।
उहाँका अनुसार, कुनै बेला दुखसुख जे जस्तो भएपनि आमाबुवाको काखमा रमाएको परिवार अहिले कहाँबाट कहाँ पुगेको भन्दै विगत सम्झिँदै भक्कानिनुभयो । ‘घरमा पाखो बारी जोत्न एक हल गोरु थिए, केही बाख्रा थिए, तर के गर्नु ? भगवानले पनि हामीलाई ठगे, कसरी पीडा पोखुँ’ उहाँले भन्नुभयो, ‘घरमा ताला लागेको छ, घरको माया अनि आमाबुवाको सम्झना लिएर अब अघि बढ्ने प्रयास गर्दैछौँ, यो हामीहरुका लागि निकै ठूलो अवसर हो । सहयोग गर्ने सबै प्रति आभारी छौँ ।’
यस्तै, हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) का सचिव शरद अधिकारीले लिनेभन्दा दिने व्यक्ति जहिले पनि महान् हुने भन्दै पीडामा परेका बालबालिकाहरुको उद्धार गरी सुदूर उज्ज्वल भविष्यका लागि सुर्खेतको एसओएस पठाउन थालिएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारले गर्ने काम भएपनि यो काममा चासो भएपछि व्यक्तिगत रुपमा थालिएको यस प्रकारको पुन्य कामले अनाथ बालबालिकाको भविष्य बन्ने भन्दै सत्कर्म गर्ने प्रति आभार प्रकट गर्नुभयो । उहाँले घोराही उपमहानगरपालिका बालमैत्री पालिका घोषणा भईसकेकाले बालमैत्री पालिकाको मूलमर्मलाई सार्थक बनाउन पनि सबै क्षेत्रबाट सहयोग र पहल हुन आवश्यक रहेको बताउनुभयो ।
उता, एसओएस बालग्रामका सहायक निर्देशक श्याम क्षेत्रीले घोराही तिर्साङका बालबालिकाहरुको अवस्था अत्यन्तै पीडादायी भएकाले विशेष रुपमा राख्न थालिएको बताउनुभयो । उहाँले कोटा नभएपनि उनीहरुको भयावह स्थितिलाई मध्यनजर गर्दै यहीँ सबै सुविधा दिनेगरी पारिवारिक वातावरणमा राख्न लागिएको बताउनुभयो । ‘मैले त्यहाँ गएर दुई पटक हेरेँ, अवस्था निकै नाजुक रहेछ, तुरुन्तै पठाउनुस् भनेको थिएँ, तर कागजी प्रकृयामा ढिला भयो,’ उहाँले भन्नुभयो, ‘अब उनीहरु आफ्नो खुट्टामा नउभिने हुँदासम्म सबै जिम्मा हाम्रो हुन्छ ।’ उहाँका अनुसार एसईई नदिदासम्म एसओएस सुर्खेतमा राखिन्छ भने एसईईपछि युवालय नेपालगंजमा स्थानान्तरण गर्दै उनीहरुले रोजेको जुनसुकै विषय पढ्ने गरी पूर्ण पारिवारिक वातावरणको होस्टेलमा राखेर स्याहार गरिन्छ । सहायक निर्देशक क्षेत्रीका अनुसार, एसओएस सुर्खेतमा देशभरबाट एक सय २६ जना बालबालिकामा बस्दै आएका छन् ।