spot_img
spot_img

दाङमा पनि ‘कुकुर्नी’ भन्ने नामबाट नागरिकता वितरण

नाम संशोधनको तयारी

छबि पुरी/राप्ती पोष्ट

घोराही, भदौ । गाउँघरमा बोलाउँदा सबैले जिस्काएर कुकुर्नी–कुकुर्नी भन्थे । तर उहाँको न्वारानको नाम चाँही ‘कृष्णा’ थियो । जिस्काउँदा जिस्काउँदै पछि नामै ‘कुकुर्नी’ रहन गयो । रुकुमको गाउँमा जन्मिएकी कृष्णालाई लेखपढ गर्न आउँदैन । लेखाई पढाई नभएकै कारण कागजमा नागरिकतामा के लेखियो भन्ने अड्कल पनि भएन ।

जिल्ला प्रशासन कार्यालयको टोलीले भनेकै आधारमा उहाँको नागरिकता ‘कुकुर्नी’ नामबाट बनाई दियो । पढेलेखेको भए नागरिकतामा नाम के लेखेको रहेछ भन्ने थाहा हुन्थ्यो तर उहाँलाई यो कुरा हेक्का भएन । नागरिकताको काम पनि खासै प्रयोगमा आएन । तर, निर्वाचन आयोगले फोटोसहितको मतदाता परिचय पत्र बनाउन थालेपछि उहाँलाई बल्ल थाहा भयो, नागरिकतामा लेखिएको नाम कुकुर्नी सुनार ।

कसैले जिस्काएर भनेकै आधारमा सरकारी कागजमा पशुको नामसँग जोडेर तल्लो स्तरको नाम लेखिदिएको थाहा पाएपछि उहाँलाई भन्न पनि अप्ठ्यारो भयो । यद्यपि, कृष्णाले विहे गरपछि मात्रै नागरिकता बनाउनभएको रहेछ । श्रीमान पनि पढेलेखेको नभएका कारण नागरिकता बनाउने टोलीले जे लेख्यो त्यही आधारमा नागरिकता बनाई दिएछ ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११ बाँसगजेरीकी ४८ वर्षीया ‘कुकुर्नी सुनार’को जन्मथलो पश्चिम रुकुम हो । त्यहाँ उहाँको कुकुर्नी सुनार नामबाट नागरिकता बनेको छ । बाहिर जसले जे भने पनि कागजमा लेखेको प्रमाण बलियो हुन्छ । श्रीमान कर्णबहादुर सुनारले पनि श्रीमतीको नाम कुकुर्नी भएको थाहा पाएर पनि समस्याको समाधान कसरी गर्ने भन्ने बारे लामो समयसम्म निष्कर्ष निकाल्न सक्नुभएको थिएन । रुकुमपश्चिममा हुँदा नागरिकता टोलीले बनाइदिएको नागरिकता बोकेर करीव पाँच वर्षअघि सुनारको परिवार घोराही ११ बाँसगजेरी झरेको थियो ।

दाङ आउनुअघि सुनारको परिवार रुकुम पश्चिममा घरगृहस्थीमा थियो । गाउँमा व्याप्त थिचोमिचोको असर सुनारको श्रीमतीको नाममा प्रष्टै झल्किन्छ । जातीय थिचोमिचोका कारण अन्यायमा परेको घोराही ११ का वडाअध्यक्ष कुलबहादुर लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कुरा मलाई पनि थाहा थिएन र हुने पनि भएन, किनकी उहाँ केही वर्षअघि पहाडतिरबाट बसाई सरी आउनुभएको हो । अस्ति भर्खर नाम फेर्नुपर्यो भन्दै आएपछि थाहा पाएँ ।’

केही दिनअघि मात्रै दैलेखमा पनि आफ्नो जस्तै नामका कारण अपहेलित भएर नाम सच्याएको भन्ने समाचार संचारमाध्यमबाट सुनेपछि सुनारको परिवारमा आत्मविश्वास बढेको रहेछ । नाम सच्याउने अठोटका साथ दम्पति जिल्ला प्रशासनमा पुगेपछि यसबारे खबर बाहिरिएको हो । बुवा टेकबहादुर र आमा रामकलीकी छोरी कुकुर्नी सुनारका लागि अपमान जनक नाम अहिले निकै बाधक बनेको छ । जसका कारण आफ्ना श्रीमान कर्णबहादुरलाई लिएर उहाँ सरासर जिल्ला प्रशासनमा पुग्नुभएको रहेछ । प्रमुख जिल्ला अधिकारीले समस्या समाधान हुने आश्वासन दिँदै वडाबाट सिफारिस लिएर आउन सुझाव दिएपछि वडा कार्यालयले प्रकृया अघि बढाई दिएको छ । ‘मेरो नाम खासमा कृष्णा सुनार हो, खै मैले त लेख्नपढ्न जान्दैन, सरहरुले किन यस्तो गरिदिनुभएछ, पछि पो थाहा भयो,’ कृष्णा सुनारको भनाई सुनाउँदै वडाअध्यक्ष लामिछानेले भन्नुभयो, ‘सबैको नागरिकतामा नाम के छ भन्ने थाहा हुने कुरा पनि भएन, त्यसमा पनि बाहिरी जिल्लाबाट आएका पर्नुभयो ।’

मानिस भएर पनि पशुको नाम किन लेखिदिनुभए होला भन्दै उहाँ वडा कार्यालय पुगेपछि घोराही ११ को वडाकार्यालयले पशु संकेत गरेर अपमानजनक नाम लेखिएकाले कुकुर्नी नामको ठाउँमा कृष्णा नाम सच्याई नागरिकताको प्रतिलिपीका लागि जिल्ला प्रशासन कार्यालयमा भदौ ६ गते सिफारिस भएको वडा अध्यक्ष लामिछानेले बताउनुभयो ।

‘यति अपमानजक शब्दका कारण उहाँले आफुलाई बाहिर ल्याउन सक्नुभएको रहेनछ, सुन्दा दुख लाग्यो कमसेकम नागरिकता बनाउने टोलीले मानिसको नामका बारेमा सोच्नु पर्ने हो,’ उहाँले भन्नुभयो, ‘अब यस्ता नाउँ नलेखिनुहोला भन्न चाहन्छु, उहाँले भन्नुभयो मैले वडाबाट सिफारिस गरेर नाम सच्याई प्रतिलिपी दिन भनेको छु, काम हुन्छ होला ।’
वडाअध्यक्ष लामिछानेका अनुसार, बाँसगजेरीलगायतका गाउँमा अहिले पनि अपमानजनक शब्दसहितका नाम भएका थुप्रै व्यक्ति छन् । उनीहरुका बारेमा पनि सोँच्नुपर्ने अवस्था आएको उहाँ बताउनुहुन्छ । ‘पशुसरह नाम भएपछि मानिस आफ्नो नाम बताउन हिच्किचाउनु स्वाविक हो, नामकै कारण उहाँहरु कतिपय अवसरबाट पछि हट्नु परेको अवस्था पनि होला, अब भएका समस्या समाधान गर्ने तिर लाग्नुपर्छ,’ वडाअध्यक्ष लामिछानेले भन्नुभयो, ‘दैलेखमा ‘कुकुर’ नाम सच्याईएपछि धेरैले आफ्नो वास्तविकता ओकल्न थाल्नुभएको छ ।’

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पनि अपमानजनक शब्द राखेर कोही कसैलाई नागरिकता दिन नहुने बताउनुहुन्छ । ‘सुन्नै नसकिने खालको नाम राखेर किन नागरिकता बनाई दिएको होला, मानिसका लागि नाम त जति पनि छन् नी,’ उहाँले भन्नुभयो, ‘यो त अहिलेको जमानामा अपाच्य मात्रै होईन घोर अपमान र अन्याय नै हुन्छ ।’ आफुले दाङमा पनि जनावरको नाम राखेर नागरिकता बनाएको भन्ने बारे थाहा पाएलगत्तै नाम सच्याई दिने बताउनुभएको छ ।

‘जिल्लामा यसरी पशुको नामबाट नागरिकता बनेर सच्याउनु भएको घटना थिएन, यो पहिलो घटना हो जस्तो लाग्छ, मैले उहाँ (कृष्णा) कुकुर्नी सुनारको नाम वडाले पहिचान गरेर सिफारिस गरेलगत्तै तुरुन्तै नागरिकता प्रतिलिपी दिन्छु,’ उहाँले भन्नुभयो, ‘यति अपमानजनक शब्द राख्नु हुँदैन, यो व्यक्ति र उनका परिवारको भावनमा ठेस लाग्ने शब्द हुन् ।’
उहाँका अनुसार यसअघि बबई गाउँपालिकाबाट कमिनी थरलाई कामी बनाउन आएकोमा सच्याएर प्रतिलिपी दिएको बताउनुभयो । ‘हामीले उहाँहरुको आवश्यकताका आधारमा नाम सच्याएर दिने हो, घोराहीकी कुकुर्नी सुनारको अवस्थामा पनि यही कुरा लागू हुन्छ, उहाँको के नाममा नागरिकताको प्रतिलिपी दिनुपर्ने हो, सोही आधारमा वडाले गरेको सिफरिस अनुसार काम हुन्छ,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो, ‘पशुको जनावरको, फोहोर शब्द भएका नाम सच्याउनुको विकल्प पनि त छैन, किनकी यो उहाँहरुको व्यक्तित्व र भावनाको कुरा पनि हो ।’

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार, अपमानजनक शब्द राखेर नागरिकता लिएकाहरुले जिल्लाबाट हालसम्म नागरिकता लैजानुभएको छैन । कुकुर्नी (कृष्णा) सुनारले जिल्ला प्रशासनबाट नाम सच्याएर नागरिकता लगेमा यो पहिलो अभ्यास हुनेछ । वडाले चिनेको प्रमाणसहित सिफारिस गरेपछि प्रशासनबाट तुरुन्तै काम हुने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । उहाँले चलनचल्नीका नामको हकमा भने सच्याउन नपाईने उहाँले प्रष्ट पार्नुभयो । ‘विशेष परिस्थितीमा मात्रै नागरिकको आत्म सम्मानमा ठेस पुग्ने भएकाले अपमानजक शब्द हटाउने व्यवस्थालाई कार्यान्वयन गरेको हो अन्यथा, नाम मन परेन भन्दै सच्याउन थाल्ने हो भने यहाँ थेगिनसक्नु भीड लाग्छ, यो गर्न पनि मिल्दैन,’ उहाँले भन्नुभयो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img