राप्ती पोष्ट
घोराही, भदौ । नागरिक समाज दाङले पेट्रोलिय पदार्थको मुल्य समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
समाजको मंगलबार घोराहीमा बसेको बैठकले भारतबाट खरीद भई आउने पेट्रोलियम पदार्थको मुल्य स्वचालित प्रणालीका आधारमा समायोजन गर्नुपर्ने भएपनि पछिल्लो तीन पटक मुल्य घटेर आउँदा पनि नेपाल आयल निगमले मुल्य समायोजन नगर्दा आम उपभोक्ता थप व्ययभारमा परेको भन्दै खरीद मुल्य अनुसार नयाँ मुल्य अबिलम्ब निर्धारण गर्न माग गरेको छ ।
समाजका संयोजक केबी मसालको अध्यक्षतामा बसेको बैठकले संघीय संसदबाट पारित भएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएकोमा प्रतिनिधि सभाबाट पुनः जस्ताको तस्तै पारित भई राष्ट्रिय सभामा पेश भएको सन्दर्भमा नागरिक समाज दाङले ध्यानाकर्षण भएको जनाएको छ । समाजले नागरिकता भन्ने जस्तो राष्ट्रिय संवेदनशील विषयमा राजनीतिक दलबीचको इगो नबनाई प्रत्येक प्रदेश स्तरमा सर्वपक्षीय भेला गराई नागरिकको आवाज समावेश गरेर मात्र अगाडि बढ्न नेपाल सरकारसमक्ष माग गरेको छ ।
यस्तै, जलवायु परिवर्तनका कारण यस वर्ष पर्याप्त वर्षा नहुँदा खडेरी भई धानबालीमा असर गरेकाले धान उत्पादनमा ह्रास आउने प्रायः निश्चित भएको हुँदा आगामी वर्ष खाद्यसंकट बढ्ने सम्भावना बढेको र राष्ट्रिय अर्थतन्त्रमा समेत असर पर्ने खतरा बढेको भन्दै सतर्क गराएको छ । नेपाल सरकारले जेष्ठ नागरिकलाई उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत भुक्तानी दिँदै आएकोमा बैंकमा लामो समय लाईनमा बस्न पर्दा कठिनाई महसुश गरेको व्यापक गुनासो आएकाले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता सरल, सहज रुपमा उपलब्ध गराउन वडा समितिका कार्यालय र सम्बद्ध बैंकका कर्मचारी खटाई गाउँ टोलमा पुगेरै भुक्तानीको व्यवस्था मिलाउन नागरिक समाजले अनुरोध गरेको छ ।
समाजले नेपालमा क्रियाशील विभिन्न राजनीतिक दलहरुले समय–समयमा विभिन्न माग राख्दै नेपाल बन्द, चक्काजाम जस्ता अशोभनीय कार्यहरु गर्दै आएकोमा बन्दको विकल्प खोज्दै आफ्ना मागहरु सम्बोधन गर्न दुई पक्षीय वार्ताबाट निकास खोज्न पनि अनुरोध गरेको छ । नेपाल सरकारसँग भएको तीन बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै नेकपा विप्लव समुहलगायत चार दलले मंगलबार पुनः नेपाल बन्द गरेको हुँदा सार्वभौम नेपाली जनता प्रताडित भएको हुँदा आगामी दिनमा नेपाल बन्द चक्काजाम जस्ता जनभावना विपरितका काम नगर्न सम्बद्ध सबै राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । आउँदै गरेका हरितालिका तीज पर्वलगायतका चाडलाई महंगो, भड्किलो र देखासिकीमा नभई हुँदा खाने र हुने खानेबीचको भेद नछुट्टिने गरी समभाव राखेर पर्व मनाउन सबैमा आग्रह गरेको छ ।