spot_img
Home Blog Page 72

२०५१ सालमा भएको विजौरी काण्डका घाइते भुवन देवकोटा (शरद)को अनुभव

त्यो रगत कसका लागि बगेको थियो ?

शरद देवकोटा

विसं.२०५१ सालको कात्तिकको महिना १७ गतेका दिन चारैतिर चुनावी वातावरण थियो । मध्यावधि निर्वाचनले सबैतिर छोएको थियो । कतै चुनावी सभा भइरहेका थिए । कतै घरदैलो कार्यक्रम भइरहेका थिए । उमेदवारहरुलाई भ्याइनभ्याइ थियो । पर्चा र चुनावी घोषणा पत्रलाई मतदातासम्म पु¥याउन हतार भएको अवस्था थियो । यस्तो लाग्दथ्यो कतै मतदाताको मन जित्न हतार भइरहेको छ । कतै मतदाताको मताधिकार खोस्न हतार भइरहेको छ । सत्तासीन दलमा पद र पैसाको घमण्ड व्याप्त थियो । प्रहरी प्रशासनको दुरुपयोग उस्तै थियो । मुलुकमा प्रजातन्त्रको पुनस्थापना भएपछिको त्यो दोश्रोपटकको चुनाव भएकाले प्रचार प्रसारको काममा सबै लागेका थिए । उमेदवारमा उत्साह थियो । मतदातामा उमंग थियो । एकातिर निर्वाचनको चटारो चलिरहेको थियो भने अर्कोतिर धान भित्र्याउने चटारो चलिरहेको थियो । यसै समयमा आएको तिहारको झिलिमिलीले सबैको मन तानिरहेको थियो । भैलो देउसीको मीठो स्वर जताकतै । राम्रा साँसद चुन्ने धुनमा मतदाता थिए । चुनावी वातावरणले सबैको मनलाई नजिकबाट छुन थालिसकेको थियो ।

आजभन्दा ठीक २७ वर्ष पहिले अर्थात २०५१ साल कात्तिक १७ गते । लक्ष्मी पूजाको दिन थियो । बिजौरीमा तत्कालीन नेकपा एमालेको चुनावी सभाको तयारी हुँदै थियो । त्यतिबेला चार वटा निर्वाचन क्षेत्र थिए । चार मध्ये क्षेत्र नं. ३ का उमेदवार हुनुहुन्थ्यो शंकर पोखरेल ।। विजौरी क्षेत्र नं. ३ को केन्द्रका रुपमा रहेको थियो । त्यसैले पार्टीले एक हिसावले त्यो दिन बिजौरीमा केन्द्रीत गरेको थियो । दुई दिन पछि तिहार छ । त्यसपछि लगत्तै निर्वाचन छ । निर्वाचन जसरी भए पनि जित्नु छ । मतदाताको मनमा बस्नुछ । एमालेले राम्रो गर्न सक्छ । एमालेका उमेदवारलाई जिताउनुस भन्नु छ । बिजौरीमा हजारौं नेता कार्यकर्ताहरुको भेला भएको थियो । जुन भेलालाई उमेदवार शंकर पोखरेललगायतले संबोधन गर्ने कार्यक्रम थियो । त्यही कार्यक्रमलाई सफल बनाउने निर्देशनअनुसार जिल्लाका विभिन्न स्थानबाट गएका सहभागीसंगै म पनि गएको थिएँ ।

शुरुमा हाडिमेबाट जुलुस निस्कियो । अहिले त बिजौरीमा राम्रै बजार बसेको छ । त्यतिबेला बजार खासै थिएन । मानपुर जाने बाटो नजिकै अहिले जहाँ बजार छ त्यहाँ बार लगाइएको थियो । त्यो देखि उता बारी थियो । बारीमा तोरी फुलेको देखिन्थ्यो । तर बारदेखि उता नजिकमा के भइरहेको छ मानिसहरु छन् कि को छन् भन्ने खासै देखिदैनथ्यो । निर्वाचनको प्रचार प्रसारको माहौल भएकाले खासै ध्यान गएन । हाडिमेबाट निस्किएको जुलुस आयुर्बेद अस्पतालनेर पुग्दानपुग्दै प्रहरीले रोक्नथाल्यो । तर अवरोधले जुलुसलाई रोक्न सकेन । जुलुस अघि बढ्नथाल्यो । त्यही क्रममा अचानक र अप्रत्यासितरुपमा गोली चलेको आवाज आउन थाल्यो । हेर्दाहेर्दै जुलुसमा सहभागीहरु गोली लागेर सडकमै ढल्न थाले । त्यही घटनामा परेर घटनास्थलमै नारायण चौधरी र पछि पुष्प घिमिरे र कृष्ण चौधरीको निधन भयो । ३६ जना घाइते भए । तत्कालीन सरकारका यातायात मन्त्री खुमबहादुर खड्काको निर्देशनमा त्यो गोली काण्ड भएको एमालेले ठहर ग¥यो । घटनाको विरोधमा वक्तव्य आए । दोषीलाई कारबाहीको कुरा जोडतोडले उठाउने काम भयो ।

गोली काण्डको उक्त घटनामा मलाई कतिबेला गोली लाग्यो पत्तै पाइन । निर्वाचनको जोस थियो । जित्ने आकांक्षा थियो । गोली लागिसकेको रहेछ । गोली लागेपछि पनि रगत चुहाउँदै नारा लगाइयो । गोली हान्नेहरुको विरोध गरियो । निरङ्कुशताको विपक्षमा आवाज वुलन्द पारियो । आफूलाई गोली लागेको कुरा अरुले भनेपछि मात्रै थाहा भयो । निर्वाचनको जोस यस्तो हुँदो रहेछ । गोलीका छर्राहरु निरन्तर रुपमा आइरहेका थिए । को कता गयो केही थाहा नहुने । लक्ष्मी पूजाको दिन भएको घटना पछि घाइते भएका मसमेत ३६ जनालाई उपचारका लागि घोराही हुँदै नेपालगन्ज लगियो । तिहारको दिन अप्रेसन भयो । गोली लागेको ठाउाबा गोल र छर्राका ठूला टुक्रा निकाल्ने काम भयो । साना साना त अहिले पनि घाउ भित्रै पुरिउका छन् । पनि अस्पतालको बेडमै बित्यो । त्यतिवेला दङाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्व अघिल्लो निर्वाचनमा विजयी हुनुभएका शिवराज गौतम पनि घाइते हुनुभयो । एमाले दाङका अगुवा नेता श्रीमणि आचार्य पनि घाइते हुनुभयो । गोली कस कसलाई लाग्यो । कहाँ कहाँ लाग्यो कुनै लेखा जोखा भएन । गोली हान्नेहरुले निर्ममतापूर्वक गोली हानिरहे । योद्धाहरु ढलिरहे ।

निर्वाचनको ठिक अघिल्तिर यस्तो घटना भए पनि त्यो क्षेत्रको चुनावी परिणाम पार्टीको पक्षमा आयो । अन्य क्षेत्रमा काँग्रेसले जित्यो । निर्वाचन पछि नेकपा एमाले सवैभन्दा ठूलो दल भयो । जसका कारण नेकपा एमालेको नेतृत्वमा सरकार बन्यो । दोषीलाई कारबाहीको कुरा व्यवहारमा नभएर कुरामै सीमित भयो । आज २७ वर्षपछि पनि त्यही क्रम दोहोरिदै आएको छ । कहिले सत्ता समीकरणले खास मुद्दा ओझेलमा पर्दछ । कहिले सत्ता र शक्तिका कारणले कारबाही गर्ने विषय ओझेलमा पर्दछ । चुनावबाट सत्तामा पुगेर धरातल र मतदाताको पीडा र योगदानलाई एमाले हौं भन्नेहरुले कहिल्यै पनि बिर्सन हुँदैनथ्यो । पार्टीमा अहिले योगदानको भन्दा पनि नेताको नजिक हुनेहरुको हित हुने गरेको चर्चा अहिले पनि चलिरहेको छ । राजनीतिमा अपराधीकरण भित्रिएको बिजौरीको त्यो घटना पीडितहरुलाई बिझाइरहने र पीडकहरुलाई खुच्चिङ भन्ने मेलोमेसो जुटिरहेको छ । मान्छे मार्ने घटनालाई सामान्य रुपमा लिने प्रबृत्तिको विकास गर्ने काम तत्कालीन सत्ताधारी दलले नै गरेको थियो । बेलाबखत त्यस्तो प्रबृत्ति राजनीतिमा अहिले पनि देखापर्दै आएको छ । दण्डहीनता मौलाइरहेको यस्तो परिवेशमा बिजौरी काण्डका दोषीलाई कारबाही हुनुपर्छ भन्ने नाराले पीडितहरुलाई सान्त्वना हैन झनझन पीडा थप्ने काम गर्दै आएको छ । सत्ता भनेकै विगतलाई बिर्सने, भुल्ने र उपेक्षा गर्ने कामलाई आरती गर्दैजाने हो त कामरेडहरु ? यदि त्यसो भयो भने सहिदहरुप्रति मान गरिएको मान्न कतिजना सहमत हुनुहुन्छ ? म त पटक्कै सहमत छैन । त्यो गोली काण्डपछि भएको निर्वाचनमा त्यो क्षेत्रबाट एमालेका उमेदवार विजयी

भए । देशव्यापि एमालेको लहर थियो । लगत्तै उसले सरकार पनि चलायो । सरकार गठन भएपछिको समयमा उक्त गोली काण्डमा घाइते भएकाहरुको अवस्था हेरेर औषधि उपचार खर्च दिएको भर्पाइमा मैले पनि रकम बुझिलिएँ भनी दस्तखत गरिदिएँ । रकम कति थियो मैले गन्न र सोध्न आवश्यक ठानिन । किनभने त्यो रकम पार्टीको लागि भन्दै जिम्मेवार नेताले गनेर गोजीमा राखेको मैले आफ्नै आँखाले देखेको थिएँ । अहिले गोली लागेको घाउ बेलाबखत दुख्ने गर्छ र ओषधि किनेर खाने गर्छु । मलाई त यस्तो छ भने मेरो भन्दा ठूला घाउ भएकाहरु र परिवारको सदस्य गुमाएकाहरुको घरपरिवारको अवस्था कस्तो होला ? पटक पटक सोचमग्न हुने गरेको छु । नेताहरुलाई हेर्छु उनीहरुका अनुहार हँसिला र सुकिला छन् । नमस्कार गर्दा देखेको नदेख्यै गर्छन् । हरेक वर्षको कात्तिक १७ गते उक्त गोली काण्डको स्मृतिमा भाषण हुन्छ । मौनधारण गरिन्छ । घाइतेहरुको भन्दा नघाइतेहरुले उक्त गोली काण्डको बयान गर्ने सिलसिला अहिले छ कि छैन मैले थाहा पाएको छैन । किनभने मलाई उक्त कार्यक्रममा बोलाउने हेक्का कसलाई पो हुँदोरहेछ र ! अहिले मनमनै आफैसंग प्रश्न गर्छु मैले पनि आखिर कसका लागि रगत बगाएको रहेछु हँ ?

( लेखक देवकोटा गोली काण्डका घाइतेमध्ये एकजना हुनुहुन्छ ।)

गुरुकुल ऐकेडेमी घोराहीको फरक अभ्यास

सामाजिक र आर्थिक जीवन पढ्न ‘ग्रामीण जीवन’ मा

छवि पुरी
बंगलाचुली(मर्पेस) । किताबी ज्ञानले दिने शिक्षा सैद्धान्तिक हुन्छ त्यही ज्ञानलाई व्यवहारिक बनाएर विद्यार्थीहरु समावेश गराउन सकियो भने पटक पटक घोकेर पढिरहनु पर्दैन । अर्थात, शिक्षामा व्यवहारिक अभ्यास आवश्यक हुनुपर्छ ।
घोराहीस्थित गुरुकुल एकेडेमीले आफ्ना विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान दिन नवीन शैलीमा पठनपाठनको अवधारणा कार्यान्वयनमा ल्याएको छ । सम्भवतः जिल्लामा यसरी व्यवहारिक शिक्षा प्रदान गर्ने सायदै पहिलो पहिलो विद्यालय हो । किताबमा पढेका, गुनेका कुरालाई आफ्नै हातले वा व्यवहारले दैनिक जीवनमा कार्यान्वन गर्दा त्यो शिक्षा जीवन्त हुने र यसरी गरिएको सिकाईले विद्यार्थीमा ज्ञान, सीप र धारणाको विकास हुने विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरी बताउनुहुन्छ ।

विद्यालयमा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई विभिन्न व्यहारिक र संस्कारका कुरा सिकाउँदै पठनपाठन गर्दै आएको गुरुकुलले मानिसको जीवन र समाज चिनाउने प्रयास गर्ने गरेको छ । जसका लागि समय समयमा धान रोप्न सिकाउने, कला, सीपका कुरामा जोड दिने, खेलकुदमा सहभागी गराउने, शहर र ग्रामीण जीवनको अनुभव दिलाउने, कितावमा हुने कुरालाई आफ्नै व्यवहारिक जीवनमा उतारेर ज्ञान आर्जन गर्न लगाउने जस्ता असल अभ्यासले गर्दा बालबालिकामा पठन संस्कृतिको विकास हुने र सैद्धान्तिक ज्ञानमा व्यवहारिक ज्ञानलाई भोलिका दिनमा कार्यान्वयनमा लैजान सहज हुने विश्वास लिईएको सहायक प्रअ गिरीले बताउनुभयो ।

हरेक वर्ष कक्षा ९ मा अध्ययन गर्ने आफ्ना विद्यार्थीहरुलाई शहरको जीवनभन्दा पनि बाहिर मानिसको जीवन चलेको छ, त्यो जीवन कसरी चलिरहेको छ भन्ने कुराको बोध गराउन उनीहरुकै जीवनशैलीमा साताव्यापी ज्ञान आर्जन गराउने गरेको छ । कात्तिक ९ गतेदेखि सुरु भएको क्लोज क्याम्प आज अर्थात सोमबारसम्म चल्नेछ । जसमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु घोराहीबाट उत्तर पूर्वमा रहेको पहाडी क्षेत्र बंगलाचुलीको मर्पेसका ‘क्लोज क्याम्प’मा बसेर ग्रामीण जीवन र उनीहरुको दैनिकीलाई बुझिरहेका छन् । कक्षा ९ मा अध्ययनरतमध्ये ३२ जना छात्रछात्राहरु अहिले खाडा, मर्पेसको डाँडामा दिनरात बसेर ग्रामीण जीवन, उठबस, त्यहाँको अवस्था, समस्या, अवसर र चुनौतिका बारेमा नजिकबाट नियालिरहेका छन् ।

बंगलाचुली गाउँपालिकाको वडा नम्बर २ स्थित क्लोज क्याम्पमा बसेर ग्रामीण जीवनको अनुभव लिन गएका विद्यार्थीहरुले आफुले जीवनको नौलो अनुभूति गर्न पाएको बताएका छन् । ६ दिनसम्म आफु बसेको ठाउँको अवस्था, समुदायको जीवन, मानिसको जीवनशैली, पूर्वाधार, सेवाका बारेमा प्रत्यक्ष अनुभव गर्न पाउँदा वास्तवमै नौलो अनुभव भएको बताएका छन् । शहरभन्दा पनि बाहिर मानिसको जीवन चलेको छ, तर यो जीवन कसरी चलेको रहेछ भन्ने कुरा नजिकबाट नियाल्न पाउँदा समाजबीचको अन्तर निकै ठूलो रहेका आफुले पाएको विद्यार्थी एन्जल घर्तीले बताउनुभयो ।
आफ्ना अनुभव र अनुभूति सबैसामु बाँड्दै उहाँले आफ्नो घरपरिवारमा पाएको स्याहार, मायाममता ग्रामीण जीवनमा पाउन करिव असम्भव रहेका बताउनुभयो । आफु बाँच्नका लागि कति संघर्ष गर्नपर्ने रहेको भन्ने कुरा गाउँमा आएर सामाजिक जीवन बुझ्न पाएको बताउनुभयो । शुरुमा दिनमा खाना पकाउँदा डेढ घण्टा पाएको समय पनि कम भएको अनुभव आफुसँग रहेको बताउनुभयो । सरहरुले खाना पकाउने समय निर्धारण गर्नुहुन्छ, तरकारी कसरी पकाउने, भात कसरी पकाउने, पानीको व्यवस्थापन कसरी गर्ने जस्ता आधारभूत कुरा सैद्धान्तिक रुपमा सिकाउनुभयो, त्यही अनुसार व्यवहारमा जाँदा त्यसो हुन सक्दो रहेछन कारण हामीमा अध्यास र अनुभव थिएन । खाना पकाउन दिइएको समय व्यवस्थापन गर्न नसक्नु, खानेपानी कसरी जोगाएर प्रयोग गर्ने भन्ने बारेमा जानकारी अभाव हुनु जस्ता कुरा यही अभ्यासबाट सिक्दै गएको उहाँको भनाई थियो ।


यसैगरी, शुभम पोख्रेलले शहरमा बस्दा कुनै कुरामा पनि आफुले अभाव महसुस नगरेको हुँदा ग्रामीण जीवनमा पाईला पाईलामा अभाव देखेको बताउनुभयो । खानकै लागि गर्नुपर्ने संघर्ष नै ग्रामीण जीवनको दुखको पक्ष रहेको बताउनुभयो । ‘यहाँका मानिसले सबैभन्दा बढी दुख व्यहोरेका छन् भने त्यो हो खानेपानीको,’ उहाँले आफ्ना अनुभव सुनाउँदै भन्नुभयो, ‘बजारमा पानीको अभाव मैले कहिले व्यहोरेको थिएन तर यहाँ हात धुनका लागि पनि पानी खेर फाल्दा धेरै सोँच्नुपर्छ ।’ पानी अभावमा खेतीपाती गर्न समस्या भएको, रोजगारीका लागि विदेशिनु पर्ने पीडा, स्वास्थ्यको अवस्था कमजोर रहेको आफले महसुस गरेको बताउनुभयो ।

अर्का अनुराधा पोख्रेलले आफुले आमाबुवाले भन्नुभएका हिजोका कुरालाई सामान्य रुपमा लिने गरेकामा अहिले एकसाता क्लोज क्याम्पमा आएर बिताउँदा सिंगो जीवनको दर्शन गर्न पाएको बताउनुभयो । ‘वास्तवमै ग्रामीण जीवनशैली यहाँको प्राकृतिक सुन्दरतामा रमाउन पाएका रहेनछन्, हामीले बाहिरबाट हेर्दा जति खुशी देखेका थियो त्यो नजिकबाट नियाल्दा बिल्कुलै फरक रहेछ,’ उहाँले आफ्ना अनुभवका पोका फुकाउँदै भन्नुभयो, ‘आखिर कोही कसैलाई पढ्न, खेल्न, खान, लगाउन अनि केही गर्न मन नलाग्ने हुन्छ र ? यहाँको जीवनले वास्तवमै सामाजिक र आर्थिक जीवनलाई सँधैका लागि आँखा खोल्ने गरी खुला किताव पढेको महसुस गरायो ।’

अर्का विद्यार्थी संयम थापाले आफुले घरमा बस्दा ग्यास पनि नबालेको हुँदा केही अनुभव नहुँदा खाना पकाउने बेलामा धेरै कुराको ज्ञान लिन पाएको बताउनुभयो । ‘ग्यासमा पनि नपकाएको मलाई यहाँ दाउराले खाना पकाउनु त सपना जस्तै थियो तर प्रयास गरेपछि हुँदो रहेछ, ग्रामीण जीवनमा यो त दैनिकी हो, उनीहरु कसरी जीवन बिताईरहेका छन् भन्ने कुरा एक साताको अनुभवले धेरै सिकायो’ संयमले भन्नुभयो । यसैगरी समुदायको चरित्र र उनीहरुले बाँच्नका लागि गरेका संघर्ष पनि वास्तवमै कहाली लाग्दो रहेको पाईएको बताउनुभयो ।

अर्का आस्था अधिकारीले गाउँमा खानेपानीको अभाव वास्तवमा शब्दमा भन्ने नसक्ने अवस्थामा रहेको सुनाउनुभयो । ‘शुरुमा आउँदा जे अपेक्षा लिएर आएको थिएँ, त्यसो रहेनछ । शुरुमा पानी खोज्न नै समस्या भयो, खानेपानी दिन जाँदा १ घण्टाको बाटो तय गर्दाको बाधा वास्तवमा ग्रामीण जीवनको दुख के रहेछ भन्ने बोध गर्न पाएँ,’ उहाँले भन्नुभयो । ‘हामीले शुरुमा आफु बस्ने स्थानको बारेमा ज्ञान लियौँ, खाना पकाउने भाँडा के के हुन्, दाउरा कसरी संकलन गर्छन्, कुन दाउराले खाना पकाउने, तरकारी कसरी काट्ने, भात कसरी पकाउने, भाँडा कसरी धाई पखाली गर्ने, आफु र आफ्नो वरपरको वातावरण कसरी सफा राख्ने जस्ता व्यवहारिक ज्ञान सिक्ने सुनौलो अवसर पाएका छौँ, त्यो भन्दा बढी गाउँले जीवनलाई अन्तन्तै नजिकबाट नियाल्दा यहाँको दुख निकै रहेछ भन्ने महसुुस भएको छ’ उहाँले भन्नुभयो ।

अर्का अभय गुप्ताले ग्रामीण जीवनको भित्री पाटो अझ दर्दनाक रहेको आफुहरुले नजिकबाट नियाल्न पाएको बताउनुभयो । गाउँका छोराछोरीलाई हेर्ने दृष्टिकोण, गरिने व्यवहार अत्यन्तै दुखद रहेको बताउनुभयो । छोरालाई घरको हलुका काममा लगाउने, पढ्न पठाउने तर छोरीलाई गाई ग्वाला पठाउने, घरको सबै कामको जिम्मेवारी दिने जस्ता विभेद देख्दा यस प्रकारको असमानता हटाउन केही योजना लिएर आउने अठोट लिएको बताउनुभयो । यसैगरी, पुरुषले बहुविवाह गरेका धेरै उदाहरण पनि गाउँमा पाएको बताउनुभयो । आफ्नो क्लोज क्यापको बसाईले दिएको शिक्षाले भोलिका दिनमा जीवन जिउन निकै सहज हुने आफुले विश्वास लिएको अभयको भनाई थियो । घरमा ग्यास बाल्न नसिकेको मान्छेलाई दाउरा बालेर खाना पकाउँदा पाएको दुखले धेरै पाठ सिकाएको बताउनुभयो । गाउँले जीवनको अवस्था बुझ्न गएको बेलामा भर्खर श्रीमान गुमाएर कुनाबाट भर्खर बाहिर आएकी एक महिलाको चित्कार अझ दर्दनाक रहेको पाएको उहाँले बताउनुभयो । कोखमा भर्खरको बच्चा, खानका लागि गर्नुपर्ने दुख, श्रीमान गुमाउँदाको पीडाले आफु र आफ्ना साथीको दिमागमा निकै गहिरो छाप छोडेको बताउनुभयो ।

अहिले त हरेक ठाउँमा सरकार छ भन्छन्, उनीहरुले पनि काम गरिरहेका छौँ भनेको सुनिन्छ तर हामीले देखेको, नजिकबाट नियालेको यति सानो समुदायको चित्र र सामाजिक जीवन यति पीडादायी छ भने समग्र समाजको अवस्था कस्तो होला भन्ने मनमा अनेकन प्रश्न उब्जिएको क्लोज क्याम्पमा सहभागीहरुको साझा धारणा थियो । त्यहाँ विद्यार्थी र शिक्षकहरु गरी ४० जनाको टीम सामाजिक जीवन र आर्थिक जीवनलाई नियाल्न सहज होस् तथा व्यवहारिक ज्ञान आर्जन गर्न टेवा पुगोस् भनेर ७ रात आठ दिन बसेको हो । गुरुकुलले ३ वर्षयता कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई व्यहारिक शिक्षाका लागि घरपरिवार, आफु बसेको समाजभन्दा बाहिर लगेर बाहिरी दुनियाँ कस्तो छ भनेर पढाउने गरेको छ । २०७५ सालबाट थालिएको यस प्रकारको सकारात्मक अभ्यास गत वर्ष भने कोरोना महामारीको प्रभावले हुन सकेको थिएन ।

क्लोज क्याम्पमा रहेका छात्रछात्राहरु अब भोलि १६ गते एक साताको बसाईमा संगालेका तीतामीठा र जीवनदर्शनका विविध आयामका पक्षलाई भोलिका दिनमा असल अभ्यासमा लागू गर्न सक्ने भएर फर्किने छन् । उनीहरुको बसाइँ, सिकेको कुरा, भोगेका सुखद दुखद पक्ष र समाजको सिंगो जीवनका अवस्था कसरी अनुभव गर्न पाएका छन् भनेर पत्रकारको टोली त्यहाँ पुगेर अवस्थाबारे जानकारी लिएको थियो ।

गोरक्षरत्ननाथ माविमा बाल अधिकार चेतना समूह

गोरक्षरत्ननाथ माविमा बाल अधिकार चेतना समूह
घोराही, कात्तिक । घोराही उपमहानगरपालिका वडा नं. १७ मा रहेको गोरक्षरत्ननाथ माविमा इन्सेकको पहलमा बाल अधिकार चेतना समूह गठन गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भएको विद्यार्थीहरुको भेलाबाट बाल अधिकार चेतना समुह गठन गरिएको थियो । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत लुमबहादुर खत्रीको अध्यक्षतामा १५ सदस्यीय बाल अधिकार चेतना समूह गठन गरिएको थियो ।

सामुहिक जस्तो काम पनि गर्न सकिन्छ भन्ने अभ्यास गर्दै विद्यार्थीहरु

समूहको उपाध्यक्षमा सँझना शर्मा, सचिवमा ममता राना, सह सचिवमा राजन शर्मा, कोषाध्यक्षमा पुनम शर्मा र सदस्यहरुमा बन्दना शर्मा, लक्ष्मी पाण्डे, अनिशा चौधरी, अश्विन विक, यामलाल गिरी, रोखा कुवर, शान्ती राना, ज्योती नेपाली र राजेश सुनार हुनुहुन्छ ।

खत्रीकै अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सेमलाल मल्ल, इन्सेकका सहजकर्ता विनोद केसी र पत्रकार शरद अधिकारीले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन शोभाराम गिरीले गर्नुभएको थियो ।

अपांगताका लागि खुलेका संस्थाहरु स्वार्थरहित हुनुपर्नेमा जोड

दुई दर्जनलाई सम्मान

छबी पुरी/राप्ती पोष्ट
घोराही/कात्तिक । नेपाल अपांग महासंघ खगेन्द्र नवजीवन केन्द्रका अध्यक्ष धनजुजु श्रेष्ठले अपांगताका क्षेत्रमा काम गर्ने संस्थाहरु स्वार्थरहित हुनुपर्ने बताउनुभएको छ । अपांगताका क्षेत्रमा काम गर्ने संस्थाहरु यो वा त्यो बहानामा स्वार्थ केन्द्रित बन्दा त्यसको प्रत्यक्ष असर लक्षित वर्गलाई पर्ने बताउनुभयो ।

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा दाङको शनिबार आयोजित आठौँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले संस्थाको गरिमालाई जोगाउने काम शाखाका गतिविधले गरिरहेको भन्दै यसमा दाङ शाखा सबैभन्दा अब्बल रहेको बताउनुभयो । सिमित श्रोत साधनका बावजूद पनि संस्थालाई जीवन्त बनाउन विभिन्न सहयोगी, दाताहरुको विश्वास यसमा पर्न सक्नु ठूलो उपलब्धी रहेको बताउनुभयो । संस्थाको नेतृत्वले अघि सारेका योजनामा सबैको सकारात्मक साथ भएको खण्डमा नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा दाङ जस्तै छोटो समयमा नै चलायमान र प्रभावकारी बन्न सक्ने भन्दै संस्थाको कामप्रति प्रशंसा गर्नुुभयो ।

लायन्स क्लवलाई गरेको सम्मान ग्रहण गर्दै लव अधिकारी

अपांगता भएकाहरुको दैनिकी सहज बनाउन अझै पनि थुप्रै काम गर्न बाँकी रहेकाले सरोकार निकायले पनि जिम्मेवार ढंगले सहयोगी बन्न अपिल गर्नुभयो । अपांगता भएकाहरुलाई उनीहरुको आत्म सम्मानसँगै दैनिक सहज बनाउन विशेष गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेर काम गर्न पनि अपिल गर्नुभयो । ‘खाद्य र स्वास्थ्य, उठबस, बसाइँ, उनीहरुमा सकारात्मक हौसला र क्षमता अभिवृद्धिलगायतका कार्यक्रममा विशेष ध्यान दिनुपर्छ’ अध्यक्ष श्रेष्ठले सुझाउनुभयो । उहाँले संस्थाको संस्थागत विकासका आगमि कार्ययोजनाका बारेमा सपष्ट हुँदै गम्भीरताका साथ लाग्न अपिल गर्नुभयो ।

संस्थागत विकाससँगै लक्षित वर्गको उत्थानका लागि एकजुट हुनु अहिलेको आवश्यकता रहेको उहाँको धारणा थियो ।
जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपालीले समाजको सबैभन्दा चेतनशील प्राणीका रुपमा रहेको मानिसले जीवित हुँदासम्म गर्ने कामको आधारमा मुल्यांकन हुने हुँदा असल काम गरेर नाम कमाउने बाटोमा सबै लाग्नुपर्ने बताउनुभयो । अपांगता भएकाहरुको चेतना र सक्षम मानिसको श्रमलाई जोडेर अघि बढ्न सकेको खण्डमा यो समाजले निकै फड्को मार्ने उहाँको विश्वास थियो । यद्यपि, लामो राजनीतिक संघर्षबाट देशमा व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्था परिवर्तन हुन नसकेकोमा दुख व्यक्त गर्नुभयो । यसका लागि अब सचेत नागरिकले कुनै पनि स्थानमा नेतृत्वका लागि जानेको बेलैमा पहिचान गरेर पठाउनु पर्ने बताउनुभयो ।

साधारणसभामा घोराही १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले जनप्रतिनिधिले काम गर्दा अपनत्व लिनुपर्ने ठाउँमा आफु गम्भीर रहेको बताउनुभयो । राज्यका सबै नागरिक समान भएकाले उनीहरुको अस्तित्व र सम्मानका लागि सबै गम्भीर बन्नुपर्ने बताउनुभयो । संस्थापक अध्यक्ष भोलानाथ योगीले सहयोग नै धर्म स्वभाव भएको हुँदा मानव सेवामा सबैले सहभागीता जनाउनु पर्ने बताउनुभयो । दुखमा दुख, सुखमा सुख साट्न सक्नु नै मानव जीवनको आधार रहेको उहाँको भनाई थियो । मानिसमा सेवाभावको सोँच विकास आवश्यक रहेकाले दान गर्न पाउनु मोक्षका बाटो भएको स्पष्ट पार्नुभयो ।
अपांग संघका केन्द्रिय कोषाध्यक्ष नाम्गेल शेर्पाले केन्द्रले गर्ने प्रयास अझै बढाउन आफुले महसुस गरेको बताउनुभयो । अपांगताका क्षेत्रमा दाङ शाखाले थालेको प्रयास अनुकरणीय रहेको भन्दै यो अब सबैको प्रेरणा र मार्ग दर्शनको केन्द्र बनेको बताउनुभयो । साधारण सभामा दाङ चेम्बर अफ कमर्शका अध्यक्ष बलदेव योगी, संस्थाकी सल्लाहकार सुष्मा गिरी, जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरी, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । साधारण सभामा सचिव भुमा चौधरीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष वसन्त भट्टको आर्थिक प्रतिवेदन प्रस्तुत भएकोमा पारित गरिएको छ ।

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा दाङका अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा भएको साधारणसभाको स्वागत मन्तब्य निवर्तमान अध्यक्ष श्रीमन न्यौपानेले गर्नुभएको थियो भने सहभागीहरुलाई धन्यवाद ज्ञापन उपाध्यक्ष रुपा वलीले गर्नुभएको थियो । सहजीकरण उपसचिव निशान्त आचार्यले गर्नुभएको थियो ।

दुई दर्जनलाई सम्मान
यसैबीच खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखाले विभिन्न दाताहरुलाई सम्मान गरेको छ । जसमा घोराही उपमहानगरपालिका कार्यालय लगायत रहेका छन् । शाखाले घोराही उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष राममणि पाण्डे, वडा नं. २ का अध्यक्ष केशव आचार्य, वडा नंं ११ का अध्यक्ष कुलबहादुर लामिछाने, वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी र वडा नंं १५ का अध्यक्ष रमेश पाण्डेलाई सम्मान गरेको थियो ।

पुनःस्थापना केन्द्रका लागि स्थापना गरिएको अक्षयकोषका लागि नगद सहयोग गर्ने दामोदर गौतम/अर्जुन गौतम, हरिबहादुर बुढा, यमराज अधिकारी, जीवन गुरुङ, धनजुजु श्रेष्ठ र साम्देन लामालाई सम्मान गरिएको थियो ।
यसैगरी खाद्यान्न सहयोग गर्ने नेपाल तरुण दल दाङ, दाङ महिला जेसिज, निर्माण व्यवसायी प्रविण भण्डारी, निर्माण व्यवसायी संघका महासचिव शोकबहादुर रोका, हाम्रो नोवेल बचत तथा ऋण सहकारी संस्था, अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्च, दङ्गाली चेलीवेटी समूह, लायन्स क्लव दाङ, महेश चौधरी, चुलुवा चौधरी, दुर्गानाथ योगी, गेहेन्द्र बस्नेत र परशुराम भण्डारीलाई पनि सम्मान गरिएको थियो ।

कार्यालयका सहायक विक्रम तामाङ र कार्यालय सहयोगी कमला केसीलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।

तीहार आउन थालेसंगै फूलको चर्चा सुरु

दाङ जिल्लामा पनि व्यावसायिक फूल खेतीमा आकर्षण

छवि पुरी÷राप्ती पोष्ट

घोराही, कात्तिक । एक दशकअघि रोजगारीको सिलसिलामा कतार पुगेर फर्किउनुभएका घोराहीका लोकेन्द्र रोका मगरको दैनिकी अहिले फेरिएको छ । कतारमा करीव सात वर्ष एक निर्माण कम्पनीमा काम गरेर स्वदेश फर्किएपछि अब के गर्ने भन्ने अन्योल रोका मगरमा थियो । त्यही बेला उहाँलाई दाङमा केही नयाँ व्यवसाय गर्ने सोँँच पलायो ।

रोल्पा जेलवाङ (हाल सुन छहरी गाउँपालिका –७) मा जन्मिनुभएका रोका मगरले विदेशमा श्रमको मूल्य बुझेपछि स्वदेशमै त्यही श्रम खर्च गर्न सके यही सुन फलाउन सक्ने अठोट बनाउनुभयो । त्यही बेला उहाँको मनमा फूल खेती गर्ने अनौठौ योजना बन्यो । शुरुमा उहाँलाई पनि फूल खेतीले टाट पल्टाउँछ की भन्ने लागेको थियो तर बजारको माग र अवस्था बुझेर काम शुरु गरेपछि पछि फर्केर हेर्नु परेन । सात वर्ष अघि घोराहीमा ६ कट्ठा जग्गा भाडामा लिएर परिक्षणका लागि १ कट्ठाबाट फूल खेती शुरु गर्नुभएको रोका मगरको व्यवसाय फूल फक्रिए जसरी फक्रिदै गएको छ ।
शुरुवाती चरणमा बजारमा फूल बिक्रिका लागि लैजाँदा फूल पनि बेच्छन् र भन्नेहरु अहिले ग्राहक बनेको बताउनुहुन्छ । फूल टिप्नु हुँदैन, पाप लाग्छ भन्ने समाजमा रहेको गलत मान्यतालाई चिर्दै फूलको व्यावसायिक खेतीमा थालेको उहाँका कदम अहिले सफल फूल व्यवसायीको परिचय बनेको छ ।

घोराही १४ झिंगौरामा अहिले रोका मगरले करीव १ विगाहा क्षेत्रफलमा व्यावसायिक फूल खेती एक्लै गर्दै आउनुभएको छ । लगातारको परिश्रम, काममा विश्वास र श्रमको सम्मान गर्दै जाँदा अहिले फूल व्यवसायी बनेर परिचित हुन पाउँदा आफुलाई मनमा निकै सन्तोष मिल्ने गरेको बताउनुहुन्छ । शुरुशुरुमा फूल संस्कृतिको विकास गर्न चुनौति सामना गर्नुपर्यो, बिस्तारै सबैले यसको महत्व बुझ्दै जानुभयो, अब त राम्रो भएको छ, यसले पनि मलाई काम गर्नमा थप हौसला मिल्यो, पहेँलपुर फुलेका सयपत्री फूलको बगैँचामा काम गर्दै रोका मगरले भन्नुभयो । उहाँले शुरुवाती चरणमा फूलको नर्सरी र मौसमी फूल खेती गर्दै आउनु भएको थियो ।

जिल्लामा दशैँ तिहारलगायतका पर्व एवं अन्य शुभ कार्यका लागि फूलको माग देखेपछि फूलखेती थालेको बताउनुभयो । ‘मैले शुरु गर्ने बेलामा दाङमा व्यावसायिक रुपमा फूलखेती कतै भएको थिएन, काठमाडौँतिर फूलखेती व्यावसायिक रुपमा गरेको देखेको थिएँ अनि मैले यहाँ गर्दा कसो नहोला र भन्ने सोँच बनाएँ’, रोका मगरले भन्नुभयो । आर्थिक वर्ष २०७६–०७७ मा औपचारिक रुपमा फर्म दर्ता गरेरै उहाँले व्यावसायिक फूल खेतीको थालनी गर्नुभएको छ । जसले गर्दा प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयले पनि व्यवसाय प्रवद्र्धनका लागि केही अनुदान सहयोग गरेको उहाँले बताउनुभयो ।

झिँगौरामा फूलको नर्सरी स्थापना गर्नुभएका रोका मगरले विभिन्न प्रजातिका फूल बिक्रि गर्दै आउनुभएको छ । उहाँको नर्सरीमा घर सजावटका लागि लगाईने विभिन्न जातका फूल पाईने गरेको छ । दैनिक जसको फूल खरीद गर्न स्थानीय तथा विभिन्न स्थानबाट समेत ग्राहक आउने गरेको उहाँले बताउनुभयो । शुरुमा १ लाखबाट शुरु गरेको रोका मगरको फूल खेती अहिले निकै फस्टाई सकेको छ । शुरुवातमा स्थानीय जातको फूल रोपेर फूल खेतीको थालनी गर्नुभएको रोकामगरले अहिले विभिन्न जातका फूल खेती गर्दे आउनुभएको छ । एक वर्ष मालाले बजार पाएन। त्यो बेला बाहिरको भर परिएन। स्थानीयले फूल फुलाए। खेर गयो । १८ कट्ठामा रापेको फूलले २ लाख घाटा भयो ।

उहाँले यस पटक तिहारका लागि भन्दै सयपत्री फूल पनि फुलाई सक्नुभएको छ । अहिले उहाँले भारतको कोलकत्ताबाट अफ्रिकन मेरिगोल्ड जातको सयपत्री फूल फुलाउनु भएको छ । करीव १८ कट्ठामा लगाइएको हजारी (सयपत्री) फूल बारीमा पहेँलपुर भएको छ । यसको सुन्दरताको बयान गरी साध्य छैन । फूल आफैमा सुन्दरताको उपज हो । फूलले मानिसको सौन्दर्यतासँगै सभ्यताको पनि मापन गर्ने गर्छ । यस पटक उहाँको बारीमा पहेँलपुर भएर फुलेको सयपत्री फूल अब घाँटीमा सजिने गरी तयारी अवस्थामा छन् ।

तिहारका लागि भनेर रोपिएको फूलले स्थानीय बजारका मागलाई प्राथमिकता राखेको छ । रोका मगरका अनुसार स्थानीय बजारलाई पहिलो प्राथमिकता दिएर फूल रोपिएको हुँदा यहाँका ग्राहकले नै यस पटक तिहारमा सयपत्री फूलको माला खरीद गर्न सक्नेछन् । उहाँले रोपेको फूलबाट यो पटक करीब सात हजार माला बिक्री गर्ने लक्ष्य राख्नुभएको छ । जिल्ला बाहिरबाट माग आउने गरेको भएपनि स्थानीय बजारमा खपत भईरहेको हुँदा जिल्लालाई प्राथमिकता दिएर फूल रोपेको उहाँ बताउनुहुन्छ ।

उहाँको फूल व्यवसाय प्रवद्र्धनका लागि स्थानीय सरकारले पनि उत्तिकै सहयोग गर्दै आएको छ । जसले गर्दा आफू थप उत्साहित भएको रोकामगर बताउनुहुन्छ । उहाँको फूलबारीमा सिजन अनुसार काम गर्ने मानिस थपेर राख्ने गरेपछि दैनिक रुपमा २ जना कामदारले रोजगारी पाएका छन् । २०७६ मा जलजला पुष्प फर्म नाम दिएर फूल व्यवसाय शुरु गर्नुभएको रोका मगरले फूल व्यवसायमा चुनौति पनि रहेको बताउनुहुन्छ । चिसो र वर्षामा फूल जोगाउन गा¥हो हुने उहाँको अनुभव छ ।

तयारी अवस्थाको फूल टिपेको तीन हप्तासम्म टिकाउन सकिने भएपनि हावापानी र वातावरण नमिल्दा सडेर वा कुहिएर जाने बताउनुभयो । जिल्लामा फूललाई टिपेर लामो समयसम्म राख्न मिल्ने स्टोर नभएको बताउनुभयो । ‘यहाँ फूलका लागि चिस्यान गृह छैन, जसले गर्दा लामो समयसम्म फूललाई जोगाउन कठिन छ, फूलको स्टोर आवश्यक छ,’ उहाँले भन्नुभयो । केही वर्षसम्म भारतीय फूलले दबदबा बनाएको फूलको बजार अब स्थानीय फूले धान्दै गएको छ । उसो त केही वर्ष अघि फूल नपाएर तिहारमा धेरै जसोले प्लास्टिकका माला लगाएर भाइटीका मनाएको उदाहरण पनि छन् ।
अब त प्लाष्टिकका माला कसैले लगाउँदैन । खोजी खोजी फूल लगाउँछन्, उहाँले भन्नुभयो । तिहारका लागि पोखरा, नवलपरासी, नारायणगढ, काठमाडौबाट फूलका बिक्रेताहरुले सम्पर्क गरी तिहारअघि फूल माग गरेपनि स्थानीयलाई नै उहाँले प्राथमिकता दिनुभएको छ । उहाँकाअनुसार अहिले फूलखेती भएको स्थलबाटै फूल धमाधम बिक्री हुन थालेको छ ।
जिल्लामा अहिले तुलसीपुर र घोराहीका अन्य स्थानमा पनि मौसमी रुपमा सयपत्रीको फूल खेती गरिएको छ । घोराहीको १३ र १५ नम्बर वडामा पनि व्यावसायिक फूल खेती गरिएको पाईएको छ । उता, तुलसीपुर– सुर्खेत सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दोघरेमा पनि सयपत्री फूल खेती गरिएको छ । स्थानीय पाँच जना युवा मिलेर संयुक्त लगानीमा फूल खेती गरिएको छ । करीव ७ कठ्ठा क्षेत्रफलमा रोपिएको सयपत्री फूलहरु अहिले फुलेर ढकमक्क बनेको फूल खेती गर्दै आउनुभएको मध्ये झग्गु भण्डारीले बताउनुभयो । भण्डारीका अुनसार पाँच जना युवा मिलेर जग्गा भाडामा लिएर बेलुवामा तीन महिना पहिले सयपत्री फूल खेती गरिएको छ । तिहारलाई लक्षित गरि उनीहरुले फूल खेती गरेको बताएका छन् ।

यस्तै, घोराही १५ भरतपुरस्थित करीव १० कट्ठामा पनि सयपत्री फूल खेती गरिएको फूल व्यवसायी भाष्कर पंगेनीले बताउनुभयो । तिहार लक्षित सयपत्री फूल फुलेर पहेँलपुर भएको उहाँले बताउनुभयो । अहिले विभिन्न स्थानबाट फूलको माग आएको हुँदा माला बनाउने काम पनि शुरु गरिएको उहाँले जानकारी दिनुभयो । करीव ४ हजार ५ सय माला बिक्रि गर्ने लक्ष्यका साथ फूल रोपिएकोमा फूल निकै राम्रासँग फुलेको पंगेनीको भनाई छ । वडा नम्बर १७ मा पनि तिहार लक्षित सयपत्री फूल खेती गरिएको छ ।

फूल उत्पादनको लागि दाङको माटो उपयुक्त भएको र यहाँको फूल धेरै भन्दा धेरै उत्पादन गरेर विदेशमा पनि निर्यात गरेर पनि प्रशस्त आम्दानी गर्न सक्ने संभावना रहेको कृषि विज्ञहरुको भनाई छ । जग्गा बाँझो छोडेर विदेश जानु भन्दा स्वदेशमै बसेर यस्तै फूलखेती गर्न सके त्यसले आयआर्जनको बलियो आधार निर्माण हुनुका साथै देशको अर्थतन्त्रमा सहयोग पुग्ने देखिन्छ ।

 

सरकारी कार्यालयका संरचना छैनन अपाङ्गमैत्री

अपाङ्गमैत्री संरचना नहुँदा सेवा लिन कठिनाई

छवि पुरी/ राप्ती पोष्ट
घोराही/कात्तिक । दाङका अधिकांश सरकारी कार्यालय, सार्वजनिक स्थल र सडक पूर्वाधार अपांगमैत्री नहुँदा अपांगता भएका व्यक्तिहरूलाई सरकारी सेवा लिन तथा सडकमा हिँडडूल गर्न निकै सकस हुने गरेको छ । संघीय सरकार कार्यान्वयनको आधा दशक बितिसक्दा पनि स्थानीय तहले समेत अपांगमैत्री भवन र सडक पूर्वाधारमा खासै चासो दिन सकेका छैनन् । जसले गर्दा अपांगता भएकाहरुलाई बारम्बार सास्ती भोग्नु परेको छ । हिजोका दिनमा भन्दा अहिले केही प्रकृयाको थालनी गरिए जस्तो देखिए पनि त्यो केवल औपचारिकतामा सिमित हुने गरेको अपांगता भएकाहरुको अनुभव छ ।

विभिन्न कार्यालयमा सेवा लिन जाँदा होस् वा सार्वजनिक स्थलमा हिँडडूलका लागि जाँदा पनि उनीहरुलाई अरुको सहारा लिनु पर्ने, काममा बाधा व्यहोर्नु पर्ने जस्ता समस्या अघि आई लाग्ने गरेको छ । जिल्लामा झन्डै १२ हजार जना अपांगता भएका व्यक्तिहरू रहेको तथ्यांक छ । त्यसमध्ये ‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिको संख्या पाँच हजार छ  भने बाँकी अन्य समूहका रहेका छन् । पछिल्लो समय बनेका स्थानीय तह र वडा कार्यालयका भवनसमेत अपांगमैत्री बन्न नसकेको नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका सभापति शरद अधिकारीले बताउनुभयो । ‘पहिलेका सरकारी कार्यालयले त अपांगमैत्री संरचना बनाएनन् नै अहिले पछिल्लो समय बनेका वा बन्न लागेका भवन होेस् वा सडकमा अपांगता भएकाहरुलाई सेवा लिन निकै समस्या हुने अवस्थाका छ,’ उहाँले भन्नुभयो ।

सरकारी कार्यालय, अस्पताल, सडकहरू अपांगमैत्री नहुँदा अपांगता भएका व्यक्तिहरू सरकारी सेवाबाटै वञ्चित भएको उदाहरण प्रशस्त रहेको उहाँले गुनासो गर्नुभयो । ‘अपांगता भएकाहरु पहिले सार्वजनिक हुन समेत हिच्किचाउँथे तर अहिले खुलेर बाहिर आउन थालेका छन् तर उनीहरुले लिने सेवाका माध्यम अपांगमैत्री बन्न सकेनन्, जसले गर्दा उनीहरुलाई सेवा लिन निकै सकस पर्ने गरेको छ,’ सभापति अधिकारीले भन्नुभयो, ‘राज्यले मुखले भन्ने तर व्यवहारमा कहिले पनि उदार बन्न सकेन जसले अपांगता भएकाहरुलाई पीडामाथि पीडा थप्ने काम भईरहेको छ ।

उहाँका अनुसार अहिले पनि सरकारी कार्यालय वा सार्वजनिक निकायमा बहिराहरुका लागि दोभाषेको व्यवस्था नहुँदा उनीहरु सेवा पाउन बाटै वञ्चित हुने गरेका छन् । ‘सेवाका लागि पुग्नेहरु कार्यालयमा प्रवेश गर्न सक्ने अवस्था छैन, अनि कसरी नागरिकको मौलिक हक कार्यान्वयन हुन्छ भन्ने हो,’ उहाँले भन्नुभयो । अपांगता भएका व्यक्तिहरू एक्लै सरकारी कार्यालयमा सेवा लिन जाने अवस्था नभएको उहाँको भनाइ छ । ‘अर्काको भरमा सेवा लिन गएकाहरू समेत कार्यालयभित्र पुग्ने अवस्था छैन, जसका कारण अधिकांश अपांगता भएका व्यक्तिहरू सरकारी कार्यालयमा जाँदै जाँदैनन्’ उहाँले दुखेसो पोख्नुभयो ।
यसैगरी, अपांग मानव अधिकार एवं सरोकार मञ्चका निर्वमान अध्यक्ष शिव घर्तीले सरकारी कार्यालयमा हुने भीडभाडमा पनि अपांगता भएकालाई प्राथमिकता नदिने प्रवृत्तिले आफुले निकै सास्ती व्यहोरेको अनुभव सुनाउनुभयो । ‘सरकारी कार्यालयसम्म पुग्न गतिलो सडकसमेत छैन, अरु कुरा त परै जाओस्’ उहाँको दुखेसो छ । उहाँले अहिले पनि नयाँ बन्ने संरचनामा अपांगता भएकाहरुको पहुँच पुग्न नसकेको बताउनुभयो । पूर्वाधार निर्माणको अभ्यासमा सरोकार निकायले मौखिक रुपमा हामी गर्छौँ भने पनि व्यवहारिक कार्यान्वनमा चासो नहुने गरेको उहाँ बताउनुहुन्छ । मुखमा हुन्छ भन्छन् तर जहाँ कहीँ हेर्यो भने अवस्था उही पुरानै छ अनि हामी जस्ता अपांगता भएकाहरुलाई कसरी समावेशी अधिकार मिल्यो भन्नु त, उहाँले प्रश्न गर्दै भन्नुभयो, अब यसका लागि सबै गम्भीर बन्नु पर्ने बेला आएको छ । कति बेलो को के कारणले अपांगताको वर्गमा पर्छ वा घरमा सदस्यको जन्म हुन्छ के ठेगान छ ?’

वैशाखी र ह्विलचियरमा आउजाउ गर्नेहरूलाई नै सरकारी कार्यालयमा आउजाउ गर्न बाधक हुने गरेको बताउँदै अर्का सुमित भण्डारीले आफुले व्यहोरको तीतो अनुभव सुनाउनुभयो । ‘अरु ठाउँको के कुरा गर्नु घोराही १४ बालमन्दिरमा रहेको सार्वजनिक सौंचालयमा गएर हेर्नुस् त, अवस्था के छ थाहा भई हाल्छ नी, अपांगतामैत्री बाहिर लेखिएको छ भित्र जान सक्ने अवस्था नै छैन, अनि कसरी हुन्छ अपांगताको सम्बोधन ?’ उहाँले भन्नुभयो । बहिरा तिलक बस्नेतले स्थानीय वडा कार्यालयमा समस्या लिएर जाँदा दोभाषेको व्यवस्था नहुँदा कुरा राख्नै नसकेको बताउनुभयो । उहाँले अधिकांश कार्यालय प्रमुखका कार्यकक्ष दोस्रो वा माथिल्लो तलामा हुँदा पनि अपांगता भएकाहरूलाई सेवा लिन समस्या भएको बताउनुभयो ।

जिल्लामा रहेका अपांगता भएकाहरुले अपांग परिचयपत्र बनाउने निकाय नै अपांगमैत्री नभएको दुखेसो पोख्ने गरेका छन् । ‘सरकारी कार्यालय र बैंकहरूमा सधैं काम पर्छ,’ अपांगता भएका रामबहादुर घर्तीले भन्नुभयो, ‘तर ह्विलचियरमा जाँदा सास्ती भोग्दै आएको छु ।’ तर, प्रदेश सरकारको मातहतमा रहेको सडक पूर्वाधार कार्यालयले सडक पूर्वाधारहरु अहिले अपांगता मैत्री बनाउँदै लगेको दावी गर्छ ।

कार्यालयका निमित्त प्रमुख विवशबाबु सदादेवले आफुहरुको नीतिमा नै अपांगमैत्री सडक पूर्वाधारमा जोड दिने उल्लेख रहेको बताउनुहुन्छ । तर, बजेटको सिमितताका कारण अपांगतामैत्री सडक निर्माणका बाधा पुग्ने गरेको स्वीकार गर्नुभयो । खासगरी बजार वा शहर केन्द्रित सडकहरुमा सडक पेटी होस् वा सडकको समग्र अवस्थामा पनि अपांगतामैत्री बनाउनुपर्छ भन्ने योजनाका साथ केही समययता कामको थालनी गरिएको उहाँले बताउनुभयो । सडकपेटीमा अपांगता भएकाहरुको आउजाउ सहज हुने काममा ध्यान दिएको उहाँले बताउनुभयो । यद्दपि, ग्रामीणमुखी सडक पूर्वाधारमा भने अपांगतामैत्री सडक बनाउन नसकिएको स्वीकार गर्नुभयो । ‘बजेट सिमित हुन्छ, काम पूरा गर्नुपर्ने बाध्यताका कारण पनि हामीले चाहेर पनि अपांगतामैत्री सडक बनाउन सकेका छैनौँ,’ निमित्त प्रमुख सदादेवले भन्नुभयो ।

यस्तै, भनाई छ, घोराही उपमहानगरपालिकाका प्रमुख इन्जिनियर युवराज पौडेलको । उहाँले पनि हिजोका दिनमा बनेको पूर्वाधारहरुमा अपांगतामैत्री वातावरण बनाउन नसकेपनि अहिले बन्ने पूर्वाधारहरुमा अपांगतामैत्री बनाउन अपिल गर्नु बाहेक अरु केही गर्न नसकेको स्वीकार्नुभयो । तर, पनि आफु मातहतको पूर्वाधार निर्माणका काममा पछिल्लो समय नीति तथा कार्यक्रमलाई सही ढंगले कार्यान्वन गर्ने लक्ष्यका साथ अपांगतामैत्री कसरी बनाउन सकिन्छ भनेर ध्यान केन्द्रित गरेको बताउनुभयो । ‘विगत ५ वर्षयता हामीले भवन वा सडकको काम होस् वा सार्वंजनिक स्थलहरु अपांगमैत्री हुनुपर्छ भनेरै काम गरिरहेका छौँ, प्रकृया शुरु भएको छ तर गनुूृपर्ने धेरै नै छ भन्ने हामीले महशुस गरेका छौँ,’ प्रमुख इन्जिनियर पौडेलले भन्नुभयो, ‘सरकारी कार्यालय, पालिकाका कार्यालयमा हामीले कामको थालनी गर्ने तयारी गरेका छौँ तर व्यक्तिगत स्थल, सपिङ कम्प्लेक्सहरुमा अपील गर्नु बाहेक केही हुन सकेको छैन ।’

अहिले शारीरिक रुपमा अशक्त भएकाहरुलाई ह्वील चियरमा बसेरै कम्तिमा सेवा कार्यालयको काउन्टरसम्म पुग्ने व्यवस्था कसरी गर्न सकिन्छ भनेर लागि परेको जानकारी गराउनुभयो । उता, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख इन्जिनयर पवनकुमार योगीले .पनि हालसम्म बनेको सबै प्रकारका पूर्वाधारको अवस्था अपांगमैत्री हुन नसकेको बताउनुभयो । ‘हिजोका दिनमा यसतर्फ कोही कसैको चासो गएन, सामान्य रुपमा हेरियो,’ प्रमुख इन्जिनियर योगीले भन्नुभयो, ‘अहिले आएर बल्ल सबैलाई खड्किएको छ ।’

तुलसीपुर उपमहानगरले तय गरेको नीति तथा कार्यक्रमलाई अक्षरशः पालना गर्न एकदमै गम्भीर भएको उहाँको भनाई छ । अहिले यसको केही उदाहरणहरु पनि बनिसकेको उहाँले बताउनुभयो । नगरपालिकाको बन्न लागेको प्रशासनिक भवन, मेट्रो अस्पताल, प्रादेशिक अस्पतालका केही ठाउँ अपांगतामैत्री बनेको उहाँको दावी छ । अधिकांश सरकारी भवन र सडक अपांगमैत्री नभए पनि अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गरिरहेको अहिले जिल्लाका सबै पालिकाहरु दावी गर्छन् । पछिल्लो चरणमा निर्माण हुने सबै सरकारी कार्यालयलाई अपांगमैत्री बनाउन निर्देशन दिएको तुलसीपुर नगरप्रमुख घनश्याम पाण्डेको भनाई छ उहाँले भन्नुभयो ‘अब क्रमशः सबै सरकारी निकायका कामकाज अपांगमैत्री बनाउने गरी योजना बनाइएको छ ।’

‘बदलिँदो संरचनामा हरेक स्थानीय तहले समानुपातिक र समावेशीकरणको अवधारणालाई आत्मसात् गर्दै अपांगता भएकालाई पनि समेट्नुपर्ने अपांगता भएकाहरुको आवाज सबैको आवाज बन्नुपर्ने अपांगताका क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुको भनाई छ । अन्यथा, अपांगतासम्बन्धी कानून र मनवअधिकारको ठाडो उपहास भएको ठहरिने उनीहरु बताउँछन् । जनगणना २०६८ को तथ्यांकअनुसार कुल जनसंख्याको १.९४ प्रतिशत अपांगता भएका व्यक्ति नेपालमा छन् । यो अवस्थामा पनि राज्यले उनीहरुको सवालमा गम्भीरतापूर्वक चासो नलिएको देखिएको छ ।

मिटर व्याजको जरो खोज्दै प्रहरी

३० जना मिटरब्याजीहरु निगरानीमा

छवी पुरी/राप्ती पोष्ट

घोराही/कात्तिक ।

दाङको प्रमुख व्यापारिक केन्द्र घोराही, तुलसीपुर, लमही, भालुवाङ, गढवालगायतका स्थानमा अहिले ढुकुटी र मिटर ब्याजको आतंक बढेर गएपछि प्रहरीले व्यापक रुपमा अनुसन्धान अघि बढाएको छ । अत्यन्तै जोखिम तथा गैरकानूनी काम ठहरिने मिटर ब्याज र ढुकुटीको कारोबारले कति बेला कसको घरबार उठ्ने हो कसैलाई कुनै पत्तो छैन । रातारात धनी बन्ने सपनाले मध्यम वर्गीय परिवारका सदस्यलाई मिटर ब्याज जीवन बर्बादीको कारक बन्दै गएको छ । जिल्लामा अहिले केही ‘माडे’ भनिनेहरुले बिचौलियाको माध्यम बनाएर आफु बाहिर नदेखिने गरी भित्रभित्रै करोडौँ रकम मिटर ब्याजमा लगाउनेहरु अहिले धमाधम प्रहरीको निगरानीमा पर्न थाले पछि घटना एकपछि अर्को गरी क्रमशः बाहिरिँदै गएको छ ।

अत्यावश्यक काम परेको बेला ऋण खोज्न जानेहरु मिटर ब्याजीको फन्दामा पर्ने गरेका छन् । व्यवसाय या कारोबारमा संलग्न मात्र होइन, अप्ठेरोमा परेका कारण मिटर ब्याजमा रकम लिने र सम्पत्ति डुबाउनेको संख्या दाङमा ठूलो छ । विदेश जाँदा चाहिने रकम अभावमा माडे भनिने मिटर ब्याजी कहाँ पुगेर फस्नेहरु होउन् वा व्यापारका लागि लगानी थप गर्न रकम तत्काल आवश्यक पर्नेहरु अहिले सडकमा आएका घटना पनि दाङमा छन् । उनीहरूले घरजग्गा दृष्टिबन्धक गर्ने देखि छिनुवापास गरेर आसामीको शरणमा पुग्न बाध्य हुने गरेका छन् । मिटर ब्याजीहरुले कपाली तमसुक बनाउने, जग्गा छिनुवा पास गर्न लगाउने, ऋणीलाई दवावमा राखेर दुई वटा कागज बनाएर मोटो रकम असुल्ने गरेका छन् ।

जिल्लामा अहिले यस प्रकारको गैरकानूनी गतिविधिको सिलसिला निकै बढेर गएको समाचार प्रकाशित भएपछि प्रहरीले चासो लिएको छ । राप्ती पोष्ट दैनिकले गत असोज १९ गतेको अंकमा दाङमा मिटर ब्याजीको धन्दा मौलाउँदै भन्ने समाचार प्रकाशन गरेको थियो । यसपछि जिल्ला प्रहरी कार्यालयले घटनाका बारेमा बृहत अनुसन्धान अघि बढाएको छ । जिल्लामा मिटर ब्याजको गैरकानूनी कारोबार गर्नेहरु प्रहरीको निशानामा परेका छन् । अहिले दैनिक जसो प्रहरीले मिटर ब्याजको कारोबार गर्ने गरेको आशंकामा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई घटना अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका लागि नियन्त्रणमा पर्नेहरु लब्ध प्रतिष्ठित व्यक्तिदेखि कानून व्यवसायी, उद्योगी व्यवसायीसमेत रहेका छन् । उनीहरुले छोटो समयमा मोटो रकम कमाउने लोभमा अरुको घरबार उठाउने दुस्साहस गरेको पाईएको छ । ‘घटनाका विषयमा हामी अत्यन्तै गम्भीर रुपमा अघि बढेका छौंँ,’ प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लले भन्नुभयो, ‘बृहत अनुसन्धानमा छौँ । पीडितवालाले जाहेरी नदिँदा पनि अनुसन्धानमा केही बाधा पुगेको छ ।’

उहाँका अनुसार अहिलेसम्म ३० जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्ने काम भईसकेको छ । उहाँले घटनाको शुरुवात कसरी हुन्छ भन्ने यकिन गर्न नसक्दा समस्या कहाँबाट थालनी भएको हो भन्नेमा हामीलाई जडसम्म पुग्न अप्ठ्यारो परेको बताउनुभयो । तर, अनुसन्धान धेरै अघि बढि सकेकाले त्यसकै आधारमा मोटो रकम मिटर ब्याजमा लगानी गर्नेहरु प्रहरीको फन्दामा पर्ने सम्भावना बढेर गएको छ । ‘केही बलिया आधार पत्ता लागि सक्यो, अब ढिलो चाँडो हामी ठूला माछा समात्ने ठाउँमा पुग्दैछौँ,’ प्रहरी उपरीक्षक काफ्लेले भन्नुभयो ।

मिटर ब्याजमा संलग्नहरुको पहिचान गर्न सम्भावितहरुलाई अनुसन्धानको दायरामा ल्याउने र सोधपुछ गरि निगरानीमा राख्ने काम निरन्तर जारी रहेकाले यो विषय प्रहरीका लागि पनि उत्तिकै जिम्मेवारीपूण अवस्था पुगेको बताउनुभयो । प्रहरीले मिटर ब्याजी गिरोहको संजाललाई नै निरुत्साहित गर्न कुनै कसर बाँकी नराख्ने उहाँको भनाई छ । ‘अहिलेसम्म ३० जना आशंका गरिएकाहरु प्रहरीको अनुसन्धानमा परिसकेका छन् । उनीहरुमाथि अहिले पनि कडा निगरानी राखिएको छ,’ प्रहरी उपरीक्षक काफ्लेले भन्नुभयो, ‘केही ठूला व्यापारीदेखि सामाजिक प्रतिष्ठा बोकेका भनिएकाहरु पनि निगरानीमा परेका छन् ।’

अनुसन्धानका क्रममा नियन्त्रणमा लिईएकाहरुले पीडितलाई कम रकम दिएर माटो रकमको तमसुक बनाउने गरेको, कमिसन अत्यधिक लिने गरेको, ब्याज दर अस्वाभाविक रुपमा असुल्ने गरेको पाईएको छ । तर रकमको कारोबार गर्दा तमसुक गर्ने गरिएको प्रसस्त आधार भेटिएकाले तमसुकको विषय फौजदारी हुने हुँदा यो विषय अदालतले हेर्ने हुँदा घटना अनुसन्धानमा केही समस्या आएको बताउनुभयो । ‘कुनै पनि अभियुक्तलाई ६ दिनमात्रै हामीले नियन्त्रणमा लिएर राख्न मिल्छ। यसले पनि बृहत् अनुसन्धानमा बाधा पुग्ने गरेको छ, यसलाई वैकल्पिक विधि अपनाएर भएपनि निचोडमा पुग्ने गरी हामी अघि बढेका छौँ,’ प्रहरी उपरीक्षक काफ्लेले भन्नुभयो ।

पीडितलाई थोरै रकम दिएर तमसुकमा मोटो रकमको समझदारी गराउने गिरोहका कारण रकम तिर्न नसकी घरबार बिहिनको अवस्था सम्म पुग्ने गरेका छन् । नियन्त्रणमा परेकाहरुको बयानका आधारमा एकै जनालाई ४० लाख रुपैयाँसम्मको तमसुक गराईएको छ । गैरकानूनी कामलाई निरुत्साहित गर्न प्रहरीले थालेको अनुसन्धानमा पीडितवालाहरुले साथ दिनु पर्ने उहाँको अपिल छ । कुनै बेला मिटर ब्याज कारोबारीको जिल्लामा दबदबा रहेपनि अब यो काममा उनीहरु हच्किन थालेका छन् । उनीहरुसम्म पुग्नका लागि प्रहरी आफैले पनि विभिन्न विकल्प अपनाई अघि बढेको छ ।

अहिले प्रहरीको सक्रियताका कारण यो घटनामा नयाँ समस्या नथपिए पनि पुराना घटनाले पीडित हुनहरु अनौपचारिक रुपमा प्रहरीको सम्पर्कमा पुगेर न्यायको याचना गर्नेहरु बढ्दैछन् । सामाजिक प्रतिष्ठा, साहुको दबावका कारण पनि पीडित पक्ष आफु ऋणले गर्दा आफु नांगिए पनि हत्तपत्त समस्या बाहिर ल्याउन चाहेको देखिएन । यसले गर्दा पनि अनुसन्धानमा समस्या हुने गरेको छ ।

प्रहरीका अनुसार मिटर ब्याज कारोबारमा तीन थरीका गिरोह संलग्न छन् । पहिलो गिरोह, यसमा लगानी गर्न प्रोत्साहित गर्नेको छ । व्यावसायिक रूपमा नजिक रहेका, चिनजान भएका आधारमा र सानोतिनो व्यावसायिक सम्बन्ध भएकाले नै एकअर्कालाई यो धन्दामा लगानी गर्न प्रोत्साहित गर्छन् । अर्को गिरोह वित्तीय संस्थामा ऋण धितो राखेर रकम निकाल्नेको छ । विभिन्न व्यावसायिक फर्म दर्ता गरी धितो बन्धकी राखेर वित्तीय संस्थाबाट ऋण निकाल्ने र सुरुसुरुमा आकर्षक ब्याज दिई विश्वास दिलाउने काम यही गिरोहले गर्छ । बिस्तारै लगानीकर्ताको विश्वास जितेपछि एकैपटक ठूलो रकम लगानी हुन्छ । तेस्रो गिरोहले लगानी भएको रकम संकलन गर्ने, कमिसन दिनुपर्ने ठाउँमा दिने, राजनीतिक संरक्षणका लागि पहल गर्ने काम गर्छ । यसरी संस्थागत रूपमा भइरहेको ठगीमा परेकाहरूले उजुरी दिन थालेपछि मुख्य व्यक्तिलाई भगाउने र सबै दोष उसैमाथि खन्याएर आफ्नो हिस्सामा आएको रकम लिने गरिएको छ ।

मिटर ब्याज कारोबारको जालो वित्तीय संस्थासम्म फैलिएको छ । सामान्य कारोबारका लागि ऋण दिन धेरै सास्ती भोग्नुपरे पनि मिटर ब्याज कारोबारीलाई भने वित्तीय संस्थाले सजिलै ऋण दिन्छन् । सरकारी तथा निजी क्षेत्रका बैंकका कर्मचारी यो धन्दामा संलग्न छन् । यहाँ मिटर ब्याजमा कारोबार गर्ने अधिकांशका नाममा विभिन्न बैंकमा ठूला–ठूला व्यावसायिक कर्जा छन् । तर तिनको व्यवसाय कहीँकतै केही पनि देखिँदैन । बैंकका कर्मचारीलाई आकर्षक कमिसन दिएर यसरी कर्जा लिने र मिटर ब्याजमा लगानी गर्ने गरिएको छ । बैंकका कर्मचारीमार्फत सहज तरिकाले ऋण निकाल्ने र मिटर ब्याजमा लगाउने प्रवृत्तिले गर्दा व्यवसाय गर्न कर्जा पाउनेहरूका लागि ऋण लिन निकै गाह्रो हुँदै गएको सेवाग्राहीको गुनासो छ ।

निजी बैंकले त मिटर ब्याजमा संलग्न व्यक्तिहरूका नाममा भएको कम्पनीविरुद्ध प्रहरीमा उजुरीसमेत गरेको पाइएको छ । बैंकले शंकास्पद रहेको धितोमा फर्जी कागजपत्र तयार गरेको भन्दै छानबिनका लागि प्रहरीमा उजुरी गरेको पाइएको हो । तर पीडितले भने बैंकको मिलोमतोमा ठूलो रकम धितोवालाको सहमतिबिना नै कर्जा दिएको आरोप लगाउँदै आएका छन् । मिटर ब्याज भनेको मिटर घुमेजस्तै ब्याज रकम फनफनी घुमेर जोडिने रकम हो । बैंकहरुले प्रवाह गरेको ऋणको ब्याज दर राष्ट्र बैंकले निर्धारण गरेको ‘पोर्ट फोलियो’ का आधारमा तय हुने हुँदा पछि गएर ऋणिले शुरुवाती चरणमा सम्झौता गरेभन्दा ठूला अन्तर पर्ने गरी ब्याज भुक्तानी गर्नु नपर्ने व्यवस्था भएपनि मिटर ब्याजमा सबै मोटो रकम बुझाउनुपर्छ । जसले गर्दा ऋण लिनेहरु प्राय सडकमा आउन बाध्य हुने गरेका छन् । चर्को ब्याज दरमा अनाधिकृत र गैरकानूनी रुपमा रकम लगानी गरी व्यक्तिलाई ‘उठीबास’ लगाउने गरी ‘मिटर ब्याजको धन्दा’ चलेपछि यो घटना अहिले सतहमा आएको प्रहरीले बताएको छ ।

फोहोर मैला व्यवस्थापनको कसम खाएका पालिकाहरुलाई व्यवस्थापनको सकस

जनप्रतिनिधि आएको चार बर्षमा फोहोरलाई मोहर बनाउने कामलाई प्राथमिकता नदिंदा पालिका फोहोर व्यवस्थापनमा असफल देखिएको हो । अहिले गल्ने, नगल्ने, सिसाका टुक्रा, प्लाष्टिक एकैठाउँमा डम्प गर्ने गरिएको छ जसले गर्दा बन क्षेत्रमा कामका लागि जानेहरुलाई दुर्गन्धले सताउने गरेको छ ।

विमला घर्ती/राप्ती पोष्ट
दाङ/ स्थानीय तह निर्वाचनको समयमा फोहोरलाई मोहर बनाउने सबै दलको चुनावी नारा थियो । निर्वाचित भइसकेपछि पनि जनप्रतिनिधिले फोहोरको उचित व्यवस्थापनको विषय नीति तथा कार्यक्रममा समावेश गरे । तर, स्थानीय पालिकामा जनप्रतिनिधि आएको चार बर्ष हुँदा पनि फोहोर व्यवस्थापनमा उल्लेख्य काम भएको छैन ।

अहिले जिल्लाका कतिपय पालिकामा बजार क्षेत्रका फोहोरलाई उठाएर जंगल क्षेत्र तथा डम्पिङ गर्ने ठाउँमा फाल्नेबाहेक अरु काम हुन सकेका छैनन । दाङको तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले बजार क्षेत्रवाट संकलन गरेको फोहोर डम्पिङ गर्ने ठाउँमा लगेर फाल्ने गर्छन् । उनीहरुले फोहोरलाई फेरी प्रयोग गर्ने योजना बनाएपनि अहिलेसम्म कार्यन्वयन भएको छैन ।

दाङका गाउँपालिकाले चाहिं फोहोरको पुनः प्रयोग गर्न त परै जाओस्, डम्पिङ साइड समेत बनाएका छैनन् । बजार सानो भएकाले कम फोहोर उत्पादन हुने भन्दै चासो नदेखाएको उनीहरुको भनाई छ । गाउँपालिकामा फोहोरमैला ब्यवस्थापन शाखा समेत छैन । अहिले पालिकामा फोहोर व्यवस्थापनमा चासो नदेखाउँदा यत्रतत्र रुपमा फोहोर छरिएका छन् ।

नीतिमा प्राथमिकता, कार्यन्वयनमा शुन्य
व्यवस्थित रुपमा फोहोरको व्यवस्थापन गर्न नसक्दा डम्पिङ साइडमा डम्प गरिएको फोहोर तलसीपुर उपमहानगरपालिका-१२ स्थित पातुखोलाबाट लाग्ने गौरीगाउँ कुलोवाट स्थानीयको खेतवारीमा पुग्ने गरेको छ । यसले गर्दा स्थानीय मर्कामा परेका छन् भने तुलसीपुरमा फोहोर व्यवस्थापन ठुलै समस्याको रुपमा रहेको छ । ‘हाम्रो घर वरिपरि फोहरको डंगुर छ । स्थानीय पालिकामा जनप्रतिनिधि निर्वाचित भएको करिव चार बर्ष पूरा भएको छ । तर, डम्पिङ साइड बनाउने विषय अन्योलमा छ’, पातुखोलाबाट गौरीगाउँ लगिएको कुलो सफा गर्दै स्थानीय भिम बहादुर चौधरीले भने ।
तुलसीपुर उपमहानगरपालिकामा स्थायी डम्पिङ साइड छैन । तुलसीपुर उपमहानगरपालिकामा फोहोर व्यवस्थापनको लागि स्थायी डम्पिङ साइड बनाउने भन्दै करिव एक करोड रुपैँयाँमा तुलसीपुर-१३ फुलवारीमा जग्गा किनिएको छ । बस्ती नजिक रहेको जमिनमा स्थानीयले डम्पिङ साइड बनाउने कुरामा बिरोध गर्दा स्थायी डम्पिङ साइड बनाउन सकिएको छैन । स्थायी डम्पिङ साइड गराउने भन्दै लिएको जग्गा भने उपमहानगरपालिकाले लिजमा दिएको छ । फूलवारीस्थित जग्गा तुलसी गौशालालाई लिजमा दिएको प्रवक्ता सूर्यप्रकास डाँगी (श्याम) ले बताउनुभयो । हाल तुलसीपुर-१२ मा अस्थायी डम्पिङ साइड बनाएर फोहोर फाल्ने गरिएको छ ।
नगरको फोहरलाई मोहरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न डम्पिङ साइडको व्यवस्था र फोहरलाई वर्गीकरण तथा व्यवस्थापनको लागि वर्षेनी उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा प्राथमिकता दिएको छ । फोहोर संकलन, ढुवानी, फोहोरको प्रकृतिअनुसार छुट्याउने र फोहोरबाट उर्जा, प्राङ्गारिक मल र पुनः उपयोगमा ल्याएर सामाग्री उत्पादन गर्न निजी सरकारी र सामुदायिक क्षेत्रसँग सहकार्य गरिने नीति कार्यक्रममा समावेश छ ।
दैनिक रुपमा उत्पादन हुने घर परिवार तह वा अस्पताल, बिद्यालय, कार्यालयजस्ता सार्वजनिक क्षेत्रबाट संकलन हुने फोहोरलाई ब्यवस्थित रुपमा विसर्जन गर्न वा प्रशोधन गरी विक्रि गरिने, फोहोरमैला प्रशोधन केन्द्रको स्थापना गरिने बुँदालाई प्रत्येक वर्षको नीति तथा कार्यक्रममा निरन्तरता दिइएको छ । तर, सो नीति तथा कार्यक्रम कार्यान्वयन भएको छैन । यो बर्ष पनि उपमहानगरले नगरको फोहरलाई मोहरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न डम्पिङ साइडको व्यवस्था र फोहरलाई वर्गीकरण तथा व्यवस्थापनका लागि १ करोड २५ लाख विनियोजन गरिएको छ ।
हाल उपमहानगरपालिकाले काम चलाउका रुपमा फोहर बिसर्जन तुलसीपुर महेन्द्र स्कुल नजिकै शिवशक्ति टोलको खोल्सामा गर्दैै आएको छ । स्थायी डम्पिङ साइडको अभावका कारण नगरपालिकामा फोहर बिर्सजनमा समस्या हुने गरेको छ । उपमहानगरपालिकाका प्रवक्ता डाँगीले फोहरलाई मोहरमा बदल्न दीर्घकालीन डम्पिङ साइडको व्यवस्थापनका लागि आफूहरु लागेपनि स्थान अभाव भएको बताउनुभयो ।
स्थायी डम्पिङ साइड बनाउने र फोहोरलाई व्यवस्थित रुपमा व्यवस्थापन गर्न जमिनको खोजी गरेको भएपनि उपयुक्त जमिन नभेटिदा समस्या भएको प्रवक्ता डाँगीको भनाई छ । ‘हामीहरुले नीति तथा कार्यक्रममा प्राथमिकता दिएका छौँ र बजेट पनि ल्याएका छौं, स्थान अभावले काम हुन सकेको छैन् हामीहरु जग्गाको खोजीमै छौंँ’, डाँगीले भने । अहिले फोहर वर्गीकरण नहुँदा र स्थायी डम्पिङ साइड नहुँदा समस्या आउने गरेकोे उनले बताए । अहिले तुलसीपुर उपमहानगरपालिकाले फोहर बिसर्जन गर्ने स्थायी ल्याण्डफिल्ड साइड नहुँदा फोहरको बर्गीकरण समेत नगरेर उठाउने गरेको छ ।
तुलसीपुरमा स्थायी डम्पिङ साइड निर्माणका लागि पहल गरिएपनि सो विषय छलफलमा मात्र सीमित भएको छ । डम्पिङ साइड नहुँदा त्यसको प्रत्यक्ष मारमा बजारदेखी दक्षिण क्षेत्रका गाउँ परेका छन् । तुलसीपुर उपमहानगरपालिकाको दक्षिण तर्फका टारिगाउँ, गोलौरा, गोलौरी, गौरीगाउँलगायतका किसानहरुले तुलसीपुर बजार हुँदै बग्ने कुलाको फोहर जाँदा बर्षेनी समस्या ब्यहोर्दै आएका छन् ।
तुलसीपुर बजारका वरपर रहेका कुला तथा नालामा फोहर फाल्दा त्यसको प्रत्यक्ष मारमा यहाँका किसानहरु परेका छन् । कुलो तथा नालामा पसलबाट निस्कने फोहर, सुई, सिसा तथा प्लाष्टिकजन्य वस्तु तथा कपडाको टुक्रा जस्ता फोहरहरु जथाभावी फाल्नाले वर्षातको समयमा बाढी आएको बेला सो फोहर किसानको खेतबारीमा सोझै जाने गरेको छ । बर्षातको पानीले सबै फोहरहरु बगाएर किसानको खेत तथा घर आँगनमा थुपारेको हुन्छ । दिनहुँजसो खेतमा प्लाष्टिक र कुलोले बगाएर ल्याएको फोहर टिप्न बाध्य भएको किसानहरु बताउँछन् । खेतैभरि फोहरको डुंगुर जम्मा हुने समस्या रहेको छ ।
खेतमा कुलोले बगाएर ल्याएको प्लाष्टिकले गर्दा खेत जोत्न कठिनाई हुनुका साथै प्लाष्टिकले गर्दा खेतको माटो समेत बिग्रिएको किसानहरु बताउँछन् । त्यसै गरी फोहरले गर्दा खेतीयोग्य जमिनमा असर गर्नुका साथै नोक्सानी पुर्‍याएको भन्दै गुनासो गर्ने गरेका छन् । पालिकाको स्थायी ल्याण्डफिट साइट नहुँदा जैविक तथा अजैविक फोहर वर्गीकरण नहुँदा पनि यस्तो समस्या उत्पन्न हुने गरेको छ । तर, वडा नम्बर १२ का अध्यक्षसमेत रहेका प्रवक्ता डाँगीले चाहिं समस्याको दीर्घकालीन समाधानका उपायहरुको खोजी भइरहेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधि आउनुभन्दा अगाडी बजारमा जथाभावी रुपमा फोहोर फाल्ने गर्दा बजार दुर्गन्धित तथा कुरुप थियो । तर, जनप्रतिनिधि आइसकेपछि चाहिं बजारको फोहोरलाई उठाउने र सफा गर्ने काम गरिएपनि नीति तथा कार्यक्रममा समावेश भए अनुसार दीर्घकालिन समाधानको उपाय कार्यन्वयनमा आएको छैन ।

फोहोर व्यवस्थापनमा असफल

लमही नगरपालिका पनि फोहोर व्यवस्थापनमा सफल हुन सकेको छैन् । बजार क्षेत्रवाट संकलन भएको फोहोर लमही नगरपालिका – ५ मा रहेको अजम्मरी सामुदायिक बनमा बनाइएको डम्पिङ साइडमा फाल्ने गरिएको छ । जनप्रतिनिधि आएको पहिलो बर्ष गल्ने फोहोरलाई कम्पोष्ट मल बनाउने तथा नगल्ने फोहोरलाई फेरी प्रयोग गर्ने गरी योजना बनाइए पनि चार बर्षसम्म पनि काम हुन सकेको छैन । लमही नगरपालिका वातावरण तथा सरसफाई शाखाकी प्रमुख गायत्री थापाले फोहोर व्यवस्थापनको योजनाअनुसारको काम हुन नसकेको बताउनुभयो ।

तीन बर्षमा फोहोरलाई संकलन गरी फाल्ने काम मात्र गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिना गल्ने र नगल्ने फोहोरलाई छुट्ट्याएर डम्प गर्ने योजनाअनुसार अभ्यास गरिएको थियो । करिव एक महिना गल्ने र नगल्ने फोहोरलाई छुट्याएर उठाउने काम गरियो । तर, पछि बजार क्षेत्रका बासिन्दाले गल्ने र नगल्ने फोहोरलाई छुट्याएर दिन सकेनन् जसले गर्दा यो काम पनि सफल हुन सकेन ।

जनप्रतिनिधि आएको चार बर्षमा फोहोरलाई मोहर बनाउने कामलाई प्राथमिकता नदिदा पालिका फोहोर व्यवस्थापनमा असफल देखिएको हो । अहिले गल्ने, नगल्ने, सिसाका टुक्रा, प्लाष्टिक एकैठाउँमा डम्प गर्ने गरिएको छ जसले गर्दा बन क्षेत्रमा कामका लागि जानेहरुलाई दुर्गन्धले सताउने गरेको छ । लमहीकी स्थानीय सरिता चौधरीले गाई भैसीका लागि घाँस काट्न तथा अन्य कामका लागि जंगल जाँदा दुर्गन्धले सताउने गरेको बताउनुभयो । बजार क्षेत्रमा खासै फोहोर नभएपनि जंगल भने फोहोर बन्दै गएको चौधरीको भनाई छ ।

फोहोर व्यवस्थापनको लागि सचेत हुन आवश्यक भएको भन्दै नगरपालिकाले पालिकाका एक सय ३ टोल विकास संस्थाका पदाधिकारीलाई तालिम दिएको छ । नगरबासीमा भएको चेतनाको अभावका कारण फोहोर व्यवस्थापनमा चुनौती भएको भन्दै तालिम दिने काम गरिएको सरसफाई शाखा प्रमुख थापाले बताइन् । फोहोर व्यवस्थापन गर्न भन्दै यो बर्ष ७५ लाख रुपैँया बिनियोजन गरिएको पनि उहाँले जानकारी दिनुभयो । पहिले बजार तथा बसपार्क क्षेत्रमा अत्याधिक फोहोर हुने गरेको भएपनि पछिल्लो समयमा भने बजारको फोहोरलाई उठाउने र नियमित सफा गर्ने काम गरिएको छ । तर, फोहोर उठाएपनि त्यसलाई फेरी प्रयोग गरिने योजना अनुसारको काम भने गर्न सकिएको छैन । फेरी प्रयोग गर्ने विषय पालिकाको प्राथमिकतामा नपरेको हुँदा समस्या भएको हो ।

फोहोर व्यवस्थापनमा सकस

उता दाङको पश्चिम बबई गाउँपालिकामा डम्पिङ साइड बनाउन सकिएको छैन । डम्पिङ साइड नहुँदा फोहोर व्यवस्थापनमा सकस परेको छ । बजार क्षेत्रवाट उत्पादन हुने फोहोर व्यक्तिलेनै व्यवस्थापन गर्ने गरेका छन् जसले गर्दा बजार नजिक बस्ती, खाली जमिनमा तथा बजार क्षेत्रमा फोहोर देखिने गर्छ । बजार क्षेत्र सानो भएकाले फोहोर खासै संकलन नहुँने भन्दै फोहोर व्यवस्थापनको बिषयलाई पालिकाले प्राथमिकता नदिएको हो ।

गाउँपालिका सुचना अधिकारी भुवन चन्द (बालान) ले यो बर्ष डम्पिङ साइड बनाउने प्रक्रिया अगाडी बढेको जानकारी दिए । त्यसका लागि बजेटको व्यवस्थापन समेत गरिएको छ । ल्याण्डफिल साइटका लागि १० लाख रुपैँयाँ, फोहोर व्यवस्थापन शीर्षकमा ४ लाख रुपैँया तथा फोहोर उठाउने ट्याक्टर खरिदका लागि २० लाख रुपैँया बजेट बिनियोजन गरिएको बताए । आगामी बर्षसम्म फोहोर व्यवस्थापनको सबै कामहरु गरिने चन्दको भनाई छ ।

जंगलमा फाल्दै फोहोर

राप्ती गाउँपालिकामा डम्पिङ साइड बनाइएको छैन । बजार क्षेत्र सानो भएकाले डम्पिङ साइड बनाउने काम प्राथमिकतामा नपरेको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए । गाउँपालिकाले स्थायी डम्पिङ साइड नबनाएर पुरानो भालुवाङ क्षेत्रस्थित जंगलमा बजारको फोहोर जथाभावी फाल्ने गरेको छ । गाउँपालिकामा भएको एउटा ट्याक्टरले फोहोर संकलन गरेको छ । पालिकामा फोहोर मैला ब्यवस्थापन शाखा हुनुपर्ने भएपनि राप्तीमा छैन । उता गढवा गाउँपालिकाले चाहिं वडा नं. ५ को जंगलमा फाल्ने गरेको छ ।

पालिकाहरु फोहोरमैला व्यवस्थापन ऐन विपरित

फोहोरमैला ऐन २०६८ ले फोहरमैला व्यवस्थापन गर्ने गराउने दायित्व स्थानीय तहलाई तोकेको छ । फोहरमैलाको व्यवस्थापन गर्न स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेशन), ल्याण्डफिल साइट, प्रशोधन प्लाण्ट, कम्पोष्ट प्लाण्ट, बायो ग्यास प्लाण्टलगायत फोहरमैलाको संकलन, अन्तिम विसर्जन तथा प्रशोधनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचनाको निर्माण र सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहको हुने ऐनमा समेटिएको छ ।

डम्पिङ साइड बनाउने र डम्पिङ साइड बनाउँदा जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपर्ने गरी बनाउनुपर्ने छ भने त्यस स्थानमा दुर्गन्ध नआउने गरी आवश्यक व्यवस्था समेत गर्नुपर्ने ऐनमा उल्लेख छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्र संकलन भएको फोहरमैलालाई व्यवस्थापन तथा स्थायी रुपमा विसर्जन गर्नको लागि वातावरणसम्बन्धी प्रचलित कानूनको अधीनमा रही फोहरमैला व्यवस्थापन स्थल (स्यानिटरी ल्याण्डफिल साइट) तोक्न सक्ने, जथाभावी रुपमा फाहोरमैला फाल्न नहुने ऐनमा उल्लेख छ ।

मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रका संस्थापक अध्यक्ष तथा बातावरणविद् श्रीमन न्यौपाने जंगलमा जथाभावी रुपमा फोहोरमैला फाल्न नहुँने बताउनुहुन्छ । यो फोहोरमैला ऐन तथा नियमावली विपरितको कार्य भएको बताउनुभयो । जंगलमा जथाभावी रुपमा फोहोर फाल्दा बोटविरुवा रुखहरुलाई असर गर्ने, खोलानाला नजिकै भए बगेर खेतवारी तथा जमिनमा प्रदुषण हुने, जैबिक बिबिधतालाई असर गर्ने पनि उहाँले बताउनुभयो । जंगली जनावर चराचुरुङ्खीलाई असर गर्ने भन्दै बातावरणका हिसावले बनक्षेत्र भन्दैमा जहाँ मन लाग्यो त्यहाँ फोहोर फाल्न नहुँने न्यौपानेको भनाई छ । दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका तथा लमही नगरपालिकाले फोहोर मैला ब्यबस्थापन कार्यबिधि बनाएको भएपनि अन्य गाउँपालिकाले भने कार्यबिधि नै बनाएका छैनन् । जसले गर्दा दाङका गाउँपालिकाले अहिलेसम्म उचित रुपले फोहोरको व्यवस्थापन गर्न सकेका छैनन् ।

 

फोरलेन सडकको काम कछुवा गतीमा पनि भएन

निर्माण सकिनुपर्ने समयमा सात प्रतिशत मात्रै काम

राप्ती पोष्ट समाचारदाता

निर्माण सम्पन्न हुनुपर्ने समयमा करिव सात प्रतिशत मात्रै काम सकिएको कुहिरेपानी तुलसीपुर सडक खण्ड फोर लेनको काम अघि बढ्ने भएको छ । मुख्य ठेकेदार भारतीय कम्पनीबाट सडक निर्माणको जिम्मेवारी पाएका दाङका निर्माण व्यवसायीले काम गर्न नसकेपछि अर्का निर्माण व्यवसायीले कामको जिम्मेवारी लिएका छन् । सोही अनुसार फोर लेन सडकको काम अघि बढ्न थालेको हो ।

अमेरिकी डलरमा एक करोड ११ लाख ४२ हजार तीन सय रुपैयामा भारतीय निर्माण कम्पनीले निर्माणको जिम्मेवारी पाएको थियो । सुरुमा भएको सँझौता अनुसार आगामी पुसमा सकिसक्नुपर्ने काम हालसम्म करिव सात प्रतिशत मात्रै सकिएको छ । निर्माणको काम २०१९ जनवरी अर्थात २०७५ पुस १४ गतेबाट सुरु भएको थियो । त्यतिवेला सुरु भएको काम ११ अगष्ट २०२१ अर्थात आगामी साउन २७ गते सकिसक्नुपर्ने थियो । निर्माणको जिम्मेवारी लिएका व्यक्तिहरुले काम समयमा नगरेका कारणले गर्दा फोरलेन सडकको काम समयमा सम्पन्न हुन सकेन ।

फोरलेन सडकको काम सुरु भएर टुङ्गोमा नपुग्दा घोराही तुलसीपुर सडकमा यात्रा गर्नेहरुले निकै सास्ती खेप्दै आएका छन् । फोरलेन सडक भनिएपनि कतै दुई लेन त कतै चार लेन रहेको निर्माण कन्सल्टेन्सीका इञ्जिनियर आशिष कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कुहिरेपानी देखि तुलसीपुरम्म गरेर करिव २९ किलोमिटर सडक विस्तारको आयोजनामा परेको छ । ववई नदीदेखि घोराहीको डिके पेट्रोलपम्पसम्मको सडक एक खण्ड रहेको छ भने अर्को खण्ड घोराही देखि तुलसीपुरसम्मको रहेको छ ।

घोराहीको डिके पेट्रोलपम्पसम्मको सडक दुई लेनको मात्रै रहेको छ । यस्तै डिके पेट्रोलपम्पदेखि सर्रा चोकसम्मको सडक चारलेन रहेको छ । यस्तै सर्रा चोकबाट नारायणपुरको झारवैरा चोकसम्मको सडक दुई लेन रहेको छ । त्यसउता खैरा चोकसम्मको सडक चारलेनको हुनेछ । खैराबाट दुधरासम्मको सडक दुईलेन मात्रै हुनेछ भने दुधरासदेखि तुलसीपुरको हात्तीखौवासम्मको सडक चारलेन हुनेछ । यसरी कुहिरेपानी घोराहीसम्मको सडक साढे छ किलोमिटर रहेको छ भने घोराही देखि तुलसीपुरसम्मको सडक २१.६६ किलोमिटर रहेको छ ।

पुरानो निर्माण व्यवसायी अनुप पाण्डेले काम अघि बढाउन नसकेपछि आफूहरुले कामको जिम्मेवारी लिएको निर्माण व्यवसायी द्रोण दुलालले बताउनुभयो । उहाँले अहिले हिसाव किताव दिने लिने काम सुरु भएको जानकारी दिदै करिव ८० प्रतिशत काम सकिएको बताउनुभयो । उहाँले आगामी १८ महिनामा सडकलाई पूणर्ता दिने विश्वास दिलाउनुभयो ।
सोमबार जिल्ला प्रशासनमा कार्यालयमा आउनुभएका निर्माण व्यवसायी दुलालले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अघिल्तिर पत्रकाहरुलाई भन्नुभयो-‘निर्माणका लागि आवश्यक पर्ने सामग्री उपलव्ध हुन सक्यो भने केही महिनामा नै देखिने गरी काम गर्नेछु ।’ उहाँले अवको केही महिनामा कम्तीमा पनि आठ किलोमिटर सडक पिच गर्ने गरी काम अघि बढाउने योजना सुनाउनुभयो ।

कुहिरेपानी तुलसीपुर सडक विस्तारको काम आगामी साउन २७ गते सकिनुपर्नेमा समयमा काम नभएपछि पहिलो पटक एक सय ४५ दिन म्याद थप भएको थियो । अघिल्लो पटकको लकडाउन आदी इत्यादी कारणले समय थप गरिएको थियो । त्यतिवेला थपिएको समयमा पनि निर्माण व्यवसायीले काम गर्न सकेनन् । पहिलो पटक थपिएको म्यादमा काम गर्न नसकेपछि पुन एक सय २९ दिन म्याद थपिएको थियो । पहिलो पटक थपिएको समय अनुसार निर्माण सक्ने समय आगामी पुस १९ गतेसम्म छ । पहिलो पटक थपिएको म्यादमा पनि काम सकिने नभएपछि दोस्रो पटक म्याद थप गरिएको थियो । दोस्रो पटक थपिएको म्याद अनुसार आगामी २०७९ साल जेठ ५ गतेसम्म रहेको छ ।

जति नै म्याद थप गरिएपनि सडक विस्तारको काम सुन्य जस्तै भएपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पहल थाल्नुभएको छ । उहाँले दाङ जिल्लाका लागि सवैभन्दा ठूलो योजनाका रुपमा रहेको फोरलेन सडकको अवस्थाका बारेमा सवैको चासो रहेको बताउनुभयो । उहाँले आफू दाङ आएदेखि नै फोरलेन सडकका बारेमा चासो राखेको भन्दै फोरलेन सडकको कामलाई कुनै पनि हालतमा अघि बढाउनुपर्ने बताउनुभयो । दुई पटकको लकडाउनको समयमा फोरलेन सडकको काम तिव्रताका साथ हुनुपर्नेमा यसो नभएको गुनासो गर्नुभयो । अघिल्लो पटकको लकडाउनको समयमा आफू बाँके जिल्लामा रहेको र त्यहाँ कतिपय कामलाई तिव्रता दिइएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनुभयो ।
फोरलेन सडकका लागि ७३ प्रतिशत समय सकिएको र काम भने सात प्रतिशत भएको छैन । जवकी यो समयमा कम्पतीमा पनि ३६ प्रतिशत काम सकिनुपर्र्ने थियो । निर्माण व्यवसायीले पहिलो चरणमा १० लाख ६३ हजार डलर, दोस्रो चरणमा तीन लाख १९ हजार डलर र तेस्रो चरणमा दुई लाख १ हजार डलर बुझिसकेका छन् । तेस्रो चरणमा काम अत्यन्त सुस्त भएपछि निर्माण व्यवसायीलाई भ्याट बापतको पैसा मात्रै दिइएको कन्सल्टेन्सी इञ्जिनियर कँडेलले बताउनुभयो ।

दाङबासीका लागि अहिले सवैभन्दा चासोको सडक भनेको यहि फोर लेन सडक रहेको छ । फोरलेन सडकको काममा लुम्विनी प्रदेशका मुख्यमन्त्रीको पनि चासो रहेको छ । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कुहिरेपानी-तुलसीपुर सडकमा निर्माण गर्न थालिएको फोरलेन सडकको कामलाई तिव्रता दिनका लागि निर्माण व्यवसायी, स्थानीय प्रशासनलाई ताकेता गरिरहनुभएको छ ।

लागुऔषध नियन्त्रणमा प्रहरीको सक्रियता

नौ किलो चरेश र ब्राउन सुगर सहित पाँच जना पक्राउ

विमला घर्ती / राप्ती पोष्ट

घोराही / लागुऔषध नियन्त्रण गर्नका लागि प्रहरीले सक्रियता बढाएको छ । दाङ जिल्लालाई सेफ जोनका रुपमा लिएर कारोबार गर्दे आएकाहरुलाई नियन्त्रण गर्न थालिएको प्रहरीले बताएको छ ।

यसका लागि योजनानै बनाएर अगाडी बढेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले बताउनुभयो । पछिल्लो समय दैनिक जसो लागुऔषध कारोबारीहरुलाई पक्राउ गर्न थालिएको छ । बिहीबार नौ किलो नौ सय ३० ग्राम अबैध लागुऔषध चरेश सहित दुई जनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ । उनिहरुलाई ६ गते गढवा गाउँपालिका एक धानखोला स्थित हुम्ला रलिङ होटेलवाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बाग्लुङ जिल्ला सिनिखोला गाउँपालिका वडा नं. एकका २१ बर्षका सुदिप सिंजाली मगर र साही गाउँपालिका २ का ३० बर्षिय रेम वहादुर भुजेल रहेका छन् । बुधवार दिउँसो ३ बजेतिर गढवा गाँउपालिका वडा नंं १ धानखोला स्थित हुम्ला रलिङ्ग होटलमा चरेशको कारोवार भईरहेको सूचनाका आधारमा खानतलासी गर्दा सेतो प्लाष्टिकमा बेरी ईट्टा आकारको २० थान फेला परेको प्रवक्ता रिजालले जानकारी दिनुभयो । दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद-३ को दफा १४ को खण्ड (घ) को ४ मा भएको व्यवस्था वमोजिम दुई किलो ग्राम देखि दश किलो ग्राम सम्मको परिमाण भए एक वर्ष देखि ३ वर्ष सम्म कैद र पाँच हजार रुपैया देखी पच्चिस हजार रुपैया सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

यस्तै लागुऔषध ब्राउनसुगरसहित तीन जना एकैदिन पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना महिला र दुई जना पुरुषहरु रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले बुधवार फरक फरक ठाउँबाट उनीहरुलाई पक्राउ परेको हो । प्रहरीले तुलसीपुर उपमहानगरपालिका-१३ डम्वरगाँउमा खटिएको इलाका प्रहरी कायालय तुलसीपुरको चेकिङमा टोलीले चेकजाचका क्रममा तुलसीपुर-१ पैयाखोरे निवासी १८ बर्षीय प्रेमप्रकाश विक र तुलसीपुर ५ निवासी १४ बर्षीय किरण विकलाई पक्राउ गरेको हो ।

प्रहरीले प्रेमप्रकाश विकले चलाएको रा ५ प ८५१५ नम्वरको नेपालगंजबाट तुलसीपुरतर्फ जाँदै गरेको मोटरसाइकल रोकी चेकजाच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको थियो । चेकजाँचका क्रममा किरण बिकले लगाएको मास्कभित्र लुकाईछिपाई राखेको अवस्थामा ३ वटा पुरिया दुई ग्राम लागुऔषध ब्राउन सुगरसहित उनीलाई पक्राउ गरेको प्रवक्ता रिजालले जानकारी दिनुभयो । त्यसैगरी प्रहरीले बुधवार नै तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाँउबाटै सात ग्राम लागुऔषध ब्राउनसुगरसहित एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले नियमित चेकजाचका क्रममा नेपालगंजबाट तुलसीपुरतर्फ आउदै गरेको ना ४ ख ७२९४ नं.को बसमा तुलसीपुरतर्फ आउँदै गरेकी तुलसीपर उपमहानगरपालिका-६ भिआईपी टोल निवासी ४५ बर्षीय चामुकुमारी विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रिजालले जानकारी दिनुभयो । आफुले बोकेको लेडिज ब्यागभित्र लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले ७ ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित पक्राउ गरेको थियो । उनलाई थुनामा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक सुरेश प्रसाद काफ्लेले दाङ जिल्लामा लागु औषधको कारोवार रोक्नका लागि सवैको सहयोग आवश्यक परेको बताउनुभएको छ । उहाँले दाङ जिल्लामा लागु औषध सेवन गर्नेहरुको संख्या अत्यधिक रहेको भन्दै यसलाई रोक्नका लागि सवैको सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्लामा लागु औषध ओसार पसार रोक्नका लागि जिल्लाका सवै प्रहरी संयन्त्र परिचालन गरिएको बताउनुभयो । सवैठाउँमा चेकजाँचलाई कडा बनाइएको र सम्भावित स्थानमा खोजतलास गर्ने कामलाई निरन्तरता दिइएको पनि प्रहरी उपरिक्षक काफ्लेले बताउनुभयो ।