spot_img
spot_img

फोरलेन सडकको काम कछुवा गतीमा पनि भएन

निर्माण सकिनुपर्ने समयमा सात प्रतिशत मात्रै काम

राप्ती पोष्ट समाचारदाता

निर्माण सम्पन्न हुनुपर्ने समयमा करिव सात प्रतिशत मात्रै काम सकिएको कुहिरेपानी तुलसीपुर सडक खण्ड फोर लेनको काम अघि बढ्ने भएको छ । मुख्य ठेकेदार भारतीय कम्पनीबाट सडक निर्माणको जिम्मेवारी पाएका दाङका निर्माण व्यवसायीले काम गर्न नसकेपछि अर्का निर्माण व्यवसायीले कामको जिम्मेवारी लिएका छन् । सोही अनुसार फोर लेन सडकको काम अघि बढ्न थालेको हो ।

अमेरिकी डलरमा एक करोड ११ लाख ४२ हजार तीन सय रुपैयामा भारतीय निर्माण कम्पनीले निर्माणको जिम्मेवारी पाएको थियो । सुरुमा भएको सँझौता अनुसार आगामी पुसमा सकिसक्नुपर्ने काम हालसम्म करिव सात प्रतिशत मात्रै सकिएको छ । निर्माणको काम २०१९ जनवरी अर्थात २०७५ पुस १४ गतेबाट सुरु भएको थियो । त्यतिवेला सुरु भएको काम ११ अगष्ट २०२१ अर्थात आगामी साउन २७ गते सकिसक्नुपर्ने थियो । निर्माणको जिम्मेवारी लिएका व्यक्तिहरुले काम समयमा नगरेका कारणले गर्दा फोरलेन सडकको काम समयमा सम्पन्न हुन सकेन ।

फोरलेन सडकको काम सुरु भएर टुङ्गोमा नपुग्दा घोराही तुलसीपुर सडकमा यात्रा गर्नेहरुले निकै सास्ती खेप्दै आएका छन् । फोरलेन सडक भनिएपनि कतै दुई लेन त कतै चार लेन रहेको निर्माण कन्सल्टेन्सीका इञ्जिनियर आशिष कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कुहिरेपानी देखि तुलसीपुरम्म गरेर करिव २९ किलोमिटर सडक विस्तारको आयोजनामा परेको छ । ववई नदीदेखि घोराहीको डिके पेट्रोलपम्पसम्मको सडक एक खण्ड रहेको छ भने अर्को खण्ड घोराही देखि तुलसीपुरसम्मको रहेको छ ।

घोराहीको डिके पेट्रोलपम्पसम्मको सडक दुई लेनको मात्रै रहेको छ । यस्तै डिके पेट्रोलपम्पदेखि सर्रा चोकसम्मको सडक चारलेन रहेको छ । यस्तै सर्रा चोकबाट नारायणपुरको झारवैरा चोकसम्मको सडक दुई लेन रहेको छ । त्यसउता खैरा चोकसम्मको सडक चारलेनको हुनेछ । खैराबाट दुधरासम्मको सडक दुईलेन मात्रै हुनेछ भने दुधरासदेखि तुलसीपुरको हात्तीखौवासम्मको सडक चारलेन हुनेछ । यसरी कुहिरेपानी घोराहीसम्मको सडक साढे छ किलोमिटर रहेको छ भने घोराही देखि तुलसीपुरसम्मको सडक २१.६६ किलोमिटर रहेको छ ।

पुरानो निर्माण व्यवसायी अनुप पाण्डेले काम अघि बढाउन नसकेपछि आफूहरुले कामको जिम्मेवारी लिएको निर्माण व्यवसायी द्रोण दुलालले बताउनुभयो । उहाँले अहिले हिसाव किताव दिने लिने काम सुरु भएको जानकारी दिदै करिव ८० प्रतिशत काम सकिएको बताउनुभयो । उहाँले आगामी १८ महिनामा सडकलाई पूणर्ता दिने विश्वास दिलाउनुभयो ।
सोमबार जिल्ला प्रशासनमा कार्यालयमा आउनुभएका निर्माण व्यवसायी दुलालले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अघिल्तिर पत्रकाहरुलाई भन्नुभयो-‘निर्माणका लागि आवश्यक पर्ने सामग्री उपलव्ध हुन सक्यो भने केही महिनामा नै देखिने गरी काम गर्नेछु ।’ उहाँले अवको केही महिनामा कम्तीमा पनि आठ किलोमिटर सडक पिच गर्ने गरी काम अघि बढाउने योजना सुनाउनुभयो ।

कुहिरेपानी तुलसीपुर सडक विस्तारको काम आगामी साउन २७ गते सकिनुपर्नेमा समयमा काम नभएपछि पहिलो पटक एक सय ४५ दिन म्याद थप भएको थियो । अघिल्लो पटकको लकडाउन आदी इत्यादी कारणले समय थप गरिएको थियो । त्यतिवेला थपिएको समयमा पनि निर्माण व्यवसायीले काम गर्न सकेनन् । पहिलो पटक थपिएको म्यादमा काम गर्न नसकेपछि पुन एक सय २९ दिन म्याद थपिएको थियो । पहिलो पटक थपिएको समय अनुसार निर्माण सक्ने समय आगामी पुस १९ गतेसम्म छ । पहिलो पटक थपिएको म्यादमा पनि काम सकिने नभएपछि दोस्रो पटक म्याद थप गरिएको थियो । दोस्रो पटक थपिएको म्याद अनुसार आगामी २०७९ साल जेठ ५ गतेसम्म रहेको छ ।

जति नै म्याद थप गरिएपनि सडक विस्तारको काम सुन्य जस्तै भएपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पहल थाल्नुभएको छ । उहाँले दाङ जिल्लाका लागि सवैभन्दा ठूलो योजनाका रुपमा रहेको फोरलेन सडकको अवस्थाका बारेमा सवैको चासो रहेको बताउनुभयो । उहाँले आफू दाङ आएदेखि नै फोरलेन सडकका बारेमा चासो राखेको भन्दै फोरलेन सडकको कामलाई कुनै पनि हालतमा अघि बढाउनुपर्ने बताउनुभयो । दुई पटकको लकडाउनको समयमा फोरलेन सडकको काम तिव्रताका साथ हुनुपर्नेमा यसो नभएको गुनासो गर्नुभयो । अघिल्लो पटकको लकडाउनको समयमा आफू बाँके जिल्लामा रहेको र त्यहाँ कतिपय कामलाई तिव्रता दिइएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनुभयो ।
फोरलेन सडकका लागि ७३ प्रतिशत समय सकिएको र काम भने सात प्रतिशत भएको छैन । जवकी यो समयमा कम्पतीमा पनि ३६ प्रतिशत काम सकिनुपर्र्ने थियो । निर्माण व्यवसायीले पहिलो चरणमा १० लाख ६३ हजार डलर, दोस्रो चरणमा तीन लाख १९ हजार डलर र तेस्रो चरणमा दुई लाख १ हजार डलर बुझिसकेका छन् । तेस्रो चरणमा काम अत्यन्त सुस्त भएपछि निर्माण व्यवसायीलाई भ्याट बापतको पैसा मात्रै दिइएको कन्सल्टेन्सी इञ्जिनियर कँडेलले बताउनुभयो ।

दाङबासीका लागि अहिले सवैभन्दा चासोको सडक भनेको यहि फोर लेन सडक रहेको छ । फोरलेन सडकको काममा लुम्विनी प्रदेशका मुख्यमन्त्रीको पनि चासो रहेको छ । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कुहिरेपानी-तुलसीपुर सडकमा निर्माण गर्न थालिएको फोरलेन सडकको कामलाई तिव्रता दिनका लागि निर्माण व्यवसायी, स्थानीय प्रशासनलाई ताकेता गरिरहनुभएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img