spot_img
spot_img

२०५१ सालमा भएको विजौरी काण्डका घाइते भुवन देवकोटा (शरद)को अनुभव

त्यो रगत कसका लागि बगेको थियो ?

शरद देवकोटा

विसं.२०५१ सालको कात्तिकको महिना १७ गतेका दिन चारैतिर चुनावी वातावरण थियो । मध्यावधि निर्वाचनले सबैतिर छोएको थियो । कतै चुनावी सभा भइरहेका थिए । कतै घरदैलो कार्यक्रम भइरहेका थिए । उमेदवारहरुलाई भ्याइनभ्याइ थियो । पर्चा र चुनावी घोषणा पत्रलाई मतदातासम्म पु¥याउन हतार भएको अवस्था थियो । यस्तो लाग्दथ्यो कतै मतदाताको मन जित्न हतार भइरहेको छ । कतै मतदाताको मताधिकार खोस्न हतार भइरहेको छ । सत्तासीन दलमा पद र पैसाको घमण्ड व्याप्त थियो । प्रहरी प्रशासनको दुरुपयोग उस्तै थियो । मुलुकमा प्रजातन्त्रको पुनस्थापना भएपछिको त्यो दोश्रोपटकको चुनाव भएकाले प्रचार प्रसारको काममा सबै लागेका थिए । उमेदवारमा उत्साह थियो । मतदातामा उमंग थियो । एकातिर निर्वाचनको चटारो चलिरहेको थियो भने अर्कोतिर धान भित्र्याउने चटारो चलिरहेको थियो । यसै समयमा आएको तिहारको झिलिमिलीले सबैको मन तानिरहेको थियो । भैलो देउसीको मीठो स्वर जताकतै । राम्रा साँसद चुन्ने धुनमा मतदाता थिए । चुनावी वातावरणले सबैको मनलाई नजिकबाट छुन थालिसकेको थियो ।

आजभन्दा ठीक २७ वर्ष पहिले अर्थात २०५१ साल कात्तिक १७ गते । लक्ष्मी पूजाको दिन थियो । बिजौरीमा तत्कालीन नेकपा एमालेको चुनावी सभाको तयारी हुँदै थियो । त्यतिबेला चार वटा निर्वाचन क्षेत्र थिए । चार मध्ये क्षेत्र नं. ३ का उमेदवार हुनुहुन्थ्यो शंकर पोखरेल ।। विजौरी क्षेत्र नं. ३ को केन्द्रका रुपमा रहेको थियो । त्यसैले पार्टीले एक हिसावले त्यो दिन बिजौरीमा केन्द्रीत गरेको थियो । दुई दिन पछि तिहार छ । त्यसपछि लगत्तै निर्वाचन छ । निर्वाचन जसरी भए पनि जित्नु छ । मतदाताको मनमा बस्नुछ । एमालेले राम्रो गर्न सक्छ । एमालेका उमेदवारलाई जिताउनुस भन्नु छ । बिजौरीमा हजारौं नेता कार्यकर्ताहरुको भेला भएको थियो । जुन भेलालाई उमेदवार शंकर पोखरेललगायतले संबोधन गर्ने कार्यक्रम थियो । त्यही कार्यक्रमलाई सफल बनाउने निर्देशनअनुसार जिल्लाका विभिन्न स्थानबाट गएका सहभागीसंगै म पनि गएको थिएँ ।

शुरुमा हाडिमेबाट जुलुस निस्कियो । अहिले त बिजौरीमा राम्रै बजार बसेको छ । त्यतिबेला बजार खासै थिएन । मानपुर जाने बाटो नजिकै अहिले जहाँ बजार छ त्यहाँ बार लगाइएको थियो । त्यो देखि उता बारी थियो । बारीमा तोरी फुलेको देखिन्थ्यो । तर बारदेखि उता नजिकमा के भइरहेको छ मानिसहरु छन् कि को छन् भन्ने खासै देखिदैनथ्यो । निर्वाचनको प्रचार प्रसारको माहौल भएकाले खासै ध्यान गएन । हाडिमेबाट निस्किएको जुलुस आयुर्बेद अस्पतालनेर पुग्दानपुग्दै प्रहरीले रोक्नथाल्यो । तर अवरोधले जुलुसलाई रोक्न सकेन । जुलुस अघि बढ्नथाल्यो । त्यही क्रममा अचानक र अप्रत्यासितरुपमा गोली चलेको आवाज आउन थाल्यो । हेर्दाहेर्दै जुलुसमा सहभागीहरु गोली लागेर सडकमै ढल्न थाले । त्यही घटनामा परेर घटनास्थलमै नारायण चौधरी र पछि पुष्प घिमिरे र कृष्ण चौधरीको निधन भयो । ३६ जना घाइते भए । तत्कालीन सरकारका यातायात मन्त्री खुमबहादुर खड्काको निर्देशनमा त्यो गोली काण्ड भएको एमालेले ठहर ग¥यो । घटनाको विरोधमा वक्तव्य आए । दोषीलाई कारबाहीको कुरा जोडतोडले उठाउने काम भयो ।

गोली काण्डको उक्त घटनामा मलाई कतिबेला गोली लाग्यो पत्तै पाइन । निर्वाचनको जोस थियो । जित्ने आकांक्षा थियो । गोली लागिसकेको रहेछ । गोली लागेपछि पनि रगत चुहाउँदै नारा लगाइयो । गोली हान्नेहरुको विरोध गरियो । निरङ्कुशताको विपक्षमा आवाज वुलन्द पारियो । आफूलाई गोली लागेको कुरा अरुले भनेपछि मात्रै थाहा भयो । निर्वाचनको जोस यस्तो हुँदो रहेछ । गोलीका छर्राहरु निरन्तर रुपमा आइरहेका थिए । को कता गयो केही थाहा नहुने । लक्ष्मी पूजाको दिन भएको घटना पछि घाइते भएका मसमेत ३६ जनालाई उपचारका लागि घोराही हुँदै नेपालगन्ज लगियो । तिहारको दिन अप्रेसन भयो । गोली लागेको ठाउाबा गोल र छर्राका ठूला टुक्रा निकाल्ने काम भयो । साना साना त अहिले पनि घाउ भित्रै पुरिउका छन् । पनि अस्पतालको बेडमै बित्यो । त्यतिवेला दङाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्व अघिल्लो निर्वाचनमा विजयी हुनुभएका शिवराज गौतम पनि घाइते हुनुभयो । एमाले दाङका अगुवा नेता श्रीमणि आचार्य पनि घाइते हुनुभयो । गोली कस कसलाई लाग्यो । कहाँ कहाँ लाग्यो कुनै लेखा जोखा भएन । गोली हान्नेहरुले निर्ममतापूर्वक गोली हानिरहे । योद्धाहरु ढलिरहे ।

निर्वाचनको ठिक अघिल्तिर यस्तो घटना भए पनि त्यो क्षेत्रको चुनावी परिणाम पार्टीको पक्षमा आयो । अन्य क्षेत्रमा काँग्रेसले जित्यो । निर्वाचन पछि नेकपा एमाले सवैभन्दा ठूलो दल भयो । जसका कारण नेकपा एमालेको नेतृत्वमा सरकार बन्यो । दोषीलाई कारबाहीको कुरा व्यवहारमा नभएर कुरामै सीमित भयो । आज २७ वर्षपछि पनि त्यही क्रम दोहोरिदै आएको छ । कहिले सत्ता समीकरणले खास मुद्दा ओझेलमा पर्दछ । कहिले सत्ता र शक्तिका कारणले कारबाही गर्ने विषय ओझेलमा पर्दछ । चुनावबाट सत्तामा पुगेर धरातल र मतदाताको पीडा र योगदानलाई एमाले हौं भन्नेहरुले कहिल्यै पनि बिर्सन हुँदैनथ्यो । पार्टीमा अहिले योगदानको भन्दा पनि नेताको नजिक हुनेहरुको हित हुने गरेको चर्चा अहिले पनि चलिरहेको छ । राजनीतिमा अपराधीकरण भित्रिएको बिजौरीको त्यो घटना पीडितहरुलाई बिझाइरहने र पीडकहरुलाई खुच्चिङ भन्ने मेलोमेसो जुटिरहेको छ । मान्छे मार्ने घटनालाई सामान्य रुपमा लिने प्रबृत्तिको विकास गर्ने काम तत्कालीन सत्ताधारी दलले नै गरेको थियो । बेलाबखत त्यस्तो प्रबृत्ति राजनीतिमा अहिले पनि देखापर्दै आएको छ । दण्डहीनता मौलाइरहेको यस्तो परिवेशमा बिजौरी काण्डका दोषीलाई कारबाही हुनुपर्छ भन्ने नाराले पीडितहरुलाई सान्त्वना हैन झनझन पीडा थप्ने काम गर्दै आएको छ । सत्ता भनेकै विगतलाई बिर्सने, भुल्ने र उपेक्षा गर्ने कामलाई आरती गर्दैजाने हो त कामरेडहरु ? यदि त्यसो भयो भने सहिदहरुप्रति मान गरिएको मान्न कतिजना सहमत हुनुहुन्छ ? म त पटक्कै सहमत छैन । त्यो गोली काण्डपछि भएको निर्वाचनमा त्यो क्षेत्रबाट एमालेका उमेदवार विजयी

भए । देशव्यापि एमालेको लहर थियो । लगत्तै उसले सरकार पनि चलायो । सरकार गठन भएपछिको समयमा उक्त गोली काण्डमा घाइते भएकाहरुको अवस्था हेरेर औषधि उपचार खर्च दिएको भर्पाइमा मैले पनि रकम बुझिलिएँ भनी दस्तखत गरिदिएँ । रकम कति थियो मैले गन्न र सोध्न आवश्यक ठानिन । किनभने त्यो रकम पार्टीको लागि भन्दै जिम्मेवार नेताले गनेर गोजीमा राखेको मैले आफ्नै आँखाले देखेको थिएँ । अहिले गोली लागेको घाउ बेलाबखत दुख्ने गर्छ र ओषधि किनेर खाने गर्छु । मलाई त यस्तो छ भने मेरो भन्दा ठूला घाउ भएकाहरु र परिवारको सदस्य गुमाएकाहरुको घरपरिवारको अवस्था कस्तो होला ? पटक पटक सोचमग्न हुने गरेको छु । नेताहरुलाई हेर्छु उनीहरुका अनुहार हँसिला र सुकिला छन् । नमस्कार गर्दा देखेको नदेख्यै गर्छन् । हरेक वर्षको कात्तिक १७ गते उक्त गोली काण्डको स्मृतिमा भाषण हुन्छ । मौनधारण गरिन्छ । घाइतेहरुको भन्दा नघाइतेहरुले उक्त गोली काण्डको बयान गर्ने सिलसिला अहिले छ कि छैन मैले थाहा पाएको छैन । किनभने मलाई उक्त कार्यक्रममा बोलाउने हेक्का कसलाई पो हुँदोरहेछ र ! अहिले मनमनै आफैसंग प्रश्न गर्छु मैले पनि आखिर कसका लागि रगत बगाएको रहेछु हँ ?

( लेखक देवकोटा गोली काण्डका घाइतेमध्ये एकजना हुनुहुन्छ ।)

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img