spot_img
spot_img

तीहार आउन थालेसंगै फूलको चर्चा सुरु

दाङ जिल्लामा पनि व्यावसायिक फूल खेतीमा आकर्षण

छवि पुरी÷राप्ती पोष्ट

घोराही, कात्तिक । एक दशकअघि रोजगारीको सिलसिलामा कतार पुगेर फर्किउनुभएका घोराहीका लोकेन्द्र रोका मगरको दैनिकी अहिले फेरिएको छ । कतारमा करीव सात वर्ष एक निर्माण कम्पनीमा काम गरेर स्वदेश फर्किएपछि अब के गर्ने भन्ने अन्योल रोका मगरमा थियो । त्यही बेला उहाँलाई दाङमा केही नयाँ व्यवसाय गर्ने सोँँच पलायो ।

रोल्पा जेलवाङ (हाल सुन छहरी गाउँपालिका –७) मा जन्मिनुभएका रोका मगरले विदेशमा श्रमको मूल्य बुझेपछि स्वदेशमै त्यही श्रम खर्च गर्न सके यही सुन फलाउन सक्ने अठोट बनाउनुभयो । त्यही बेला उहाँको मनमा फूल खेती गर्ने अनौठौ योजना बन्यो । शुरुमा उहाँलाई पनि फूल खेतीले टाट पल्टाउँछ की भन्ने लागेको थियो तर बजारको माग र अवस्था बुझेर काम शुरु गरेपछि पछि फर्केर हेर्नु परेन । सात वर्ष अघि घोराहीमा ६ कट्ठा जग्गा भाडामा लिएर परिक्षणका लागि १ कट्ठाबाट फूल खेती शुरु गर्नुभएको रोका मगरको व्यवसाय फूल फक्रिए जसरी फक्रिदै गएको छ ।
शुरुवाती चरणमा बजारमा फूल बिक्रिका लागि लैजाँदा फूल पनि बेच्छन् र भन्नेहरु अहिले ग्राहक बनेको बताउनुहुन्छ । फूल टिप्नु हुँदैन, पाप लाग्छ भन्ने समाजमा रहेको गलत मान्यतालाई चिर्दै फूलको व्यावसायिक खेतीमा थालेको उहाँका कदम अहिले सफल फूल व्यवसायीको परिचय बनेको छ ।

घोराही १४ झिंगौरामा अहिले रोका मगरले करीव १ विगाहा क्षेत्रफलमा व्यावसायिक फूल खेती एक्लै गर्दै आउनुभएको छ । लगातारको परिश्रम, काममा विश्वास र श्रमको सम्मान गर्दै जाँदा अहिले फूल व्यवसायी बनेर परिचित हुन पाउँदा आफुलाई मनमा निकै सन्तोष मिल्ने गरेको बताउनुहुन्छ । शुरुशुरुमा फूल संस्कृतिको विकास गर्न चुनौति सामना गर्नुपर्यो, बिस्तारै सबैले यसको महत्व बुझ्दै जानुभयो, अब त राम्रो भएको छ, यसले पनि मलाई काम गर्नमा थप हौसला मिल्यो, पहेँलपुर फुलेका सयपत्री फूलको बगैँचामा काम गर्दै रोका मगरले भन्नुभयो । उहाँले शुरुवाती चरणमा फूलको नर्सरी र मौसमी फूल खेती गर्दै आउनु भएको थियो ।

जिल्लामा दशैँ तिहारलगायतका पर्व एवं अन्य शुभ कार्यका लागि फूलको माग देखेपछि फूलखेती थालेको बताउनुभयो । ‘मैले शुरु गर्ने बेलामा दाङमा व्यावसायिक रुपमा फूलखेती कतै भएको थिएन, काठमाडौँतिर फूलखेती व्यावसायिक रुपमा गरेको देखेको थिएँ अनि मैले यहाँ गर्दा कसो नहोला र भन्ने सोँच बनाएँ’, रोका मगरले भन्नुभयो । आर्थिक वर्ष २०७६–०७७ मा औपचारिक रुपमा फर्म दर्ता गरेरै उहाँले व्यावसायिक फूल खेतीको थालनी गर्नुभएको छ । जसले गर्दा प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयले पनि व्यवसाय प्रवद्र्धनका लागि केही अनुदान सहयोग गरेको उहाँले बताउनुभयो ।

झिँगौरामा फूलको नर्सरी स्थापना गर्नुभएका रोका मगरले विभिन्न प्रजातिका फूल बिक्रि गर्दै आउनुभएको छ । उहाँको नर्सरीमा घर सजावटका लागि लगाईने विभिन्न जातका फूल पाईने गरेको छ । दैनिक जसको फूल खरीद गर्न स्थानीय तथा विभिन्न स्थानबाट समेत ग्राहक आउने गरेको उहाँले बताउनुभयो । शुरुमा १ लाखबाट शुरु गरेको रोका मगरको फूल खेती अहिले निकै फस्टाई सकेको छ । शुरुवातमा स्थानीय जातको फूल रोपेर फूल खेतीको थालनी गर्नुभएको रोकामगरले अहिले विभिन्न जातका फूल खेती गर्दे आउनुभएको छ । एक वर्ष मालाले बजार पाएन। त्यो बेला बाहिरको भर परिएन। स्थानीयले फूल फुलाए। खेर गयो । १८ कट्ठामा रापेको फूलले २ लाख घाटा भयो ।

उहाँले यस पटक तिहारका लागि भन्दै सयपत्री फूल पनि फुलाई सक्नुभएको छ । अहिले उहाँले भारतको कोलकत्ताबाट अफ्रिकन मेरिगोल्ड जातको सयपत्री फूल फुलाउनु भएको छ । करीव १८ कट्ठामा लगाइएको हजारी (सयपत्री) फूल बारीमा पहेँलपुर भएको छ । यसको सुन्दरताको बयान गरी साध्य छैन । फूल आफैमा सुन्दरताको उपज हो । फूलले मानिसको सौन्दर्यतासँगै सभ्यताको पनि मापन गर्ने गर्छ । यस पटक उहाँको बारीमा पहेँलपुर भएर फुलेको सयपत्री फूल अब घाँटीमा सजिने गरी तयारी अवस्थामा छन् ।

तिहारका लागि भनेर रोपिएको फूलले स्थानीय बजारका मागलाई प्राथमिकता राखेको छ । रोका मगरका अनुसार स्थानीय बजारलाई पहिलो प्राथमिकता दिएर फूल रोपिएको हुँदा यहाँका ग्राहकले नै यस पटक तिहारमा सयपत्री फूलको माला खरीद गर्न सक्नेछन् । उहाँले रोपेको फूलबाट यो पटक करीब सात हजार माला बिक्री गर्ने लक्ष्य राख्नुभएको छ । जिल्ला बाहिरबाट माग आउने गरेको भएपनि स्थानीय बजारमा खपत भईरहेको हुँदा जिल्लालाई प्राथमिकता दिएर फूल रोपेको उहाँ बताउनुहुन्छ ।

उहाँको फूल व्यवसाय प्रवद्र्धनका लागि स्थानीय सरकारले पनि उत्तिकै सहयोग गर्दै आएको छ । जसले गर्दा आफू थप उत्साहित भएको रोकामगर बताउनुहुन्छ । उहाँको फूलबारीमा सिजन अनुसार काम गर्ने मानिस थपेर राख्ने गरेपछि दैनिक रुपमा २ जना कामदारले रोजगारी पाएका छन् । २०७६ मा जलजला पुष्प फर्म नाम दिएर फूल व्यवसाय शुरु गर्नुभएको रोका मगरले फूल व्यवसायमा चुनौति पनि रहेको बताउनुहुन्छ । चिसो र वर्षामा फूल जोगाउन गा¥हो हुने उहाँको अनुभव छ ।

तयारी अवस्थाको फूल टिपेको तीन हप्तासम्म टिकाउन सकिने भएपनि हावापानी र वातावरण नमिल्दा सडेर वा कुहिएर जाने बताउनुभयो । जिल्लामा फूललाई टिपेर लामो समयसम्म राख्न मिल्ने स्टोर नभएको बताउनुभयो । ‘यहाँ फूलका लागि चिस्यान गृह छैन, जसले गर्दा लामो समयसम्म फूललाई जोगाउन कठिन छ, फूलको स्टोर आवश्यक छ,’ उहाँले भन्नुभयो । केही वर्षसम्म भारतीय फूलले दबदबा बनाएको फूलको बजार अब स्थानीय फूले धान्दै गएको छ । उसो त केही वर्ष अघि फूल नपाएर तिहारमा धेरै जसोले प्लास्टिकका माला लगाएर भाइटीका मनाएको उदाहरण पनि छन् ।
अब त प्लाष्टिकका माला कसैले लगाउँदैन । खोजी खोजी फूल लगाउँछन्, उहाँले भन्नुभयो । तिहारका लागि पोखरा, नवलपरासी, नारायणगढ, काठमाडौबाट फूलका बिक्रेताहरुले सम्पर्क गरी तिहारअघि फूल माग गरेपनि स्थानीयलाई नै उहाँले प्राथमिकता दिनुभएको छ । उहाँकाअनुसार अहिले फूलखेती भएको स्थलबाटै फूल धमाधम बिक्री हुन थालेको छ ।
जिल्लामा अहिले तुलसीपुर र घोराहीका अन्य स्थानमा पनि मौसमी रुपमा सयपत्रीको फूल खेती गरिएको छ । घोराहीको १३ र १५ नम्बर वडामा पनि व्यावसायिक फूल खेती गरिएको पाईएको छ । उता, तुलसीपुर– सुर्खेत सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दोघरेमा पनि सयपत्री फूल खेती गरिएको छ । स्थानीय पाँच जना युवा मिलेर संयुक्त लगानीमा फूल खेती गरिएको छ । करीव ७ कठ्ठा क्षेत्रफलमा रोपिएको सयपत्री फूलहरु अहिले फुलेर ढकमक्क बनेको फूल खेती गर्दै आउनुभएको मध्ये झग्गु भण्डारीले बताउनुभयो । भण्डारीका अुनसार पाँच जना युवा मिलेर जग्गा भाडामा लिएर बेलुवामा तीन महिना पहिले सयपत्री फूल खेती गरिएको छ । तिहारलाई लक्षित गरि उनीहरुले फूल खेती गरेको बताएका छन् ।

यस्तै, घोराही १५ भरतपुरस्थित करीव १० कट्ठामा पनि सयपत्री फूल खेती गरिएको फूल व्यवसायी भाष्कर पंगेनीले बताउनुभयो । तिहार लक्षित सयपत्री फूल फुलेर पहेँलपुर भएको उहाँले बताउनुभयो । अहिले विभिन्न स्थानबाट फूलको माग आएको हुँदा माला बनाउने काम पनि शुरु गरिएको उहाँले जानकारी दिनुभयो । करीव ४ हजार ५ सय माला बिक्रि गर्ने लक्ष्यका साथ फूल रोपिएकोमा फूल निकै राम्रासँग फुलेको पंगेनीको भनाई छ । वडा नम्बर १७ मा पनि तिहार लक्षित सयपत्री फूल खेती गरिएको छ ।

फूल उत्पादनको लागि दाङको माटो उपयुक्त भएको र यहाँको फूल धेरै भन्दा धेरै उत्पादन गरेर विदेशमा पनि निर्यात गरेर पनि प्रशस्त आम्दानी गर्न सक्ने संभावना रहेको कृषि विज्ञहरुको भनाई छ । जग्गा बाँझो छोडेर विदेश जानु भन्दा स्वदेशमै बसेर यस्तै फूलखेती गर्न सके त्यसले आयआर्जनको बलियो आधार निर्माण हुनुका साथै देशको अर्थतन्त्रमा सहयोग पुग्ने देखिन्छ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img