spot_img
spot_img

गुरुकुल ऐकेडेमी घोराहीको फरक अभ्यास

सामाजिक र आर्थिक जीवन पढ्न ‘ग्रामीण जीवन’ मा

छवि पुरी
बंगलाचुली(मर्पेस) । किताबी ज्ञानले दिने शिक्षा सैद्धान्तिक हुन्छ त्यही ज्ञानलाई व्यवहारिक बनाएर विद्यार्थीहरु समावेश गराउन सकियो भने पटक पटक घोकेर पढिरहनु पर्दैन । अर्थात, शिक्षामा व्यवहारिक अभ्यास आवश्यक हुनुपर्छ ।
घोराहीस्थित गुरुकुल एकेडेमीले आफ्ना विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान दिन नवीन शैलीमा पठनपाठनको अवधारणा कार्यान्वयनमा ल्याएको छ । सम्भवतः जिल्लामा यसरी व्यवहारिक शिक्षा प्रदान गर्ने सायदै पहिलो पहिलो विद्यालय हो । किताबमा पढेका, गुनेका कुरालाई आफ्नै हातले वा व्यवहारले दैनिक जीवनमा कार्यान्वन गर्दा त्यो शिक्षा जीवन्त हुने र यसरी गरिएको सिकाईले विद्यार्थीमा ज्ञान, सीप र धारणाको विकास हुने विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरी बताउनुहुन्छ ।

विद्यालयमा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई विभिन्न व्यहारिक र संस्कारका कुरा सिकाउँदै पठनपाठन गर्दै आएको गुरुकुलले मानिसको जीवन र समाज चिनाउने प्रयास गर्ने गरेको छ । जसका लागि समय समयमा धान रोप्न सिकाउने, कला, सीपका कुरामा जोड दिने, खेलकुदमा सहभागी गराउने, शहर र ग्रामीण जीवनको अनुभव दिलाउने, कितावमा हुने कुरालाई आफ्नै व्यवहारिक जीवनमा उतारेर ज्ञान आर्जन गर्न लगाउने जस्ता असल अभ्यासले गर्दा बालबालिकामा पठन संस्कृतिको विकास हुने र सैद्धान्तिक ज्ञानमा व्यवहारिक ज्ञानलाई भोलिका दिनमा कार्यान्वयनमा लैजान सहज हुने विश्वास लिईएको सहायक प्रअ गिरीले बताउनुभयो ।

हरेक वर्ष कक्षा ९ मा अध्ययन गर्ने आफ्ना विद्यार्थीहरुलाई शहरको जीवनभन्दा पनि बाहिर मानिसको जीवन चलेको छ, त्यो जीवन कसरी चलिरहेको छ भन्ने कुराको बोध गराउन उनीहरुकै जीवनशैलीमा साताव्यापी ज्ञान आर्जन गराउने गरेको छ । कात्तिक ९ गतेदेखि सुरु भएको क्लोज क्याम्प आज अर्थात सोमबारसम्म चल्नेछ । जसमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु घोराहीबाट उत्तर पूर्वमा रहेको पहाडी क्षेत्र बंगलाचुलीको मर्पेसका ‘क्लोज क्याम्प’मा बसेर ग्रामीण जीवन र उनीहरुको दैनिकीलाई बुझिरहेका छन् । कक्षा ९ मा अध्ययनरतमध्ये ३२ जना छात्रछात्राहरु अहिले खाडा, मर्पेसको डाँडामा दिनरात बसेर ग्रामीण जीवन, उठबस, त्यहाँको अवस्था, समस्या, अवसर र चुनौतिका बारेमा नजिकबाट नियालिरहेका छन् ।

बंगलाचुली गाउँपालिकाको वडा नम्बर २ स्थित क्लोज क्याम्पमा बसेर ग्रामीण जीवनको अनुभव लिन गएका विद्यार्थीहरुले आफुले जीवनको नौलो अनुभूति गर्न पाएको बताएका छन् । ६ दिनसम्म आफु बसेको ठाउँको अवस्था, समुदायको जीवन, मानिसको जीवनशैली, पूर्वाधार, सेवाका बारेमा प्रत्यक्ष अनुभव गर्न पाउँदा वास्तवमै नौलो अनुभव भएको बताएका छन् । शहरभन्दा पनि बाहिर मानिसको जीवन चलेको छ, तर यो जीवन कसरी चलेको रहेछ भन्ने कुरा नजिकबाट नियाल्न पाउँदा समाजबीचको अन्तर निकै ठूलो रहेका आफुले पाएको विद्यार्थी एन्जल घर्तीले बताउनुभयो ।
आफ्ना अनुभव र अनुभूति सबैसामु बाँड्दै उहाँले आफ्नो घरपरिवारमा पाएको स्याहार, मायाममता ग्रामीण जीवनमा पाउन करिव असम्भव रहेका बताउनुभयो । आफु बाँच्नका लागि कति संघर्ष गर्नपर्ने रहेको भन्ने कुरा गाउँमा आएर सामाजिक जीवन बुझ्न पाएको बताउनुभयो । शुरुमा दिनमा खाना पकाउँदा डेढ घण्टा पाएको समय पनि कम भएको अनुभव आफुसँग रहेको बताउनुभयो । सरहरुले खाना पकाउने समय निर्धारण गर्नुहुन्छ, तरकारी कसरी पकाउने, भात कसरी पकाउने, पानीको व्यवस्थापन कसरी गर्ने जस्ता आधारभूत कुरा सैद्धान्तिक रुपमा सिकाउनुभयो, त्यही अनुसार व्यवहारमा जाँदा त्यसो हुन सक्दो रहेछन कारण हामीमा अध्यास र अनुभव थिएन । खाना पकाउन दिइएको समय व्यवस्थापन गर्न नसक्नु, खानेपानी कसरी जोगाएर प्रयोग गर्ने भन्ने बारेमा जानकारी अभाव हुनु जस्ता कुरा यही अभ्यासबाट सिक्दै गएको उहाँको भनाई थियो ।


यसैगरी, शुभम पोख्रेलले शहरमा बस्दा कुनै कुरामा पनि आफुले अभाव महसुस नगरेको हुँदा ग्रामीण जीवनमा पाईला पाईलामा अभाव देखेको बताउनुभयो । खानकै लागि गर्नुपर्ने संघर्ष नै ग्रामीण जीवनको दुखको पक्ष रहेको बताउनुभयो । ‘यहाँका मानिसले सबैभन्दा बढी दुख व्यहोरेका छन् भने त्यो हो खानेपानीको,’ उहाँले आफ्ना अनुभव सुनाउँदै भन्नुभयो, ‘बजारमा पानीको अभाव मैले कहिले व्यहोरेको थिएन तर यहाँ हात धुनका लागि पनि पानी खेर फाल्दा धेरै सोँच्नुपर्छ ।’ पानी अभावमा खेतीपाती गर्न समस्या भएको, रोजगारीका लागि विदेशिनु पर्ने पीडा, स्वास्थ्यको अवस्था कमजोर रहेको आफले महसुस गरेको बताउनुभयो ।

अर्का अनुराधा पोख्रेलले आफुले आमाबुवाले भन्नुभएका हिजोका कुरालाई सामान्य रुपमा लिने गरेकामा अहिले एकसाता क्लोज क्याम्पमा आएर बिताउँदा सिंगो जीवनको दर्शन गर्न पाएको बताउनुभयो । ‘वास्तवमै ग्रामीण जीवनशैली यहाँको प्राकृतिक सुन्दरतामा रमाउन पाएका रहेनछन्, हामीले बाहिरबाट हेर्दा जति खुशी देखेका थियो त्यो नजिकबाट नियाल्दा बिल्कुलै फरक रहेछ,’ उहाँले आफ्ना अनुभवका पोका फुकाउँदै भन्नुभयो, ‘आखिर कोही कसैलाई पढ्न, खेल्न, खान, लगाउन अनि केही गर्न मन नलाग्ने हुन्छ र ? यहाँको जीवनले वास्तवमै सामाजिक र आर्थिक जीवनलाई सँधैका लागि आँखा खोल्ने गरी खुला किताव पढेको महसुस गरायो ।’

अर्का विद्यार्थी संयम थापाले आफुले घरमा बस्दा ग्यास पनि नबालेको हुँदा केही अनुभव नहुँदा खाना पकाउने बेलामा धेरै कुराको ज्ञान लिन पाएको बताउनुभयो । ‘ग्यासमा पनि नपकाएको मलाई यहाँ दाउराले खाना पकाउनु त सपना जस्तै थियो तर प्रयास गरेपछि हुँदो रहेछ, ग्रामीण जीवनमा यो त दैनिकी हो, उनीहरु कसरी जीवन बिताईरहेका छन् भन्ने कुरा एक साताको अनुभवले धेरै सिकायो’ संयमले भन्नुभयो । यसैगरी समुदायको चरित्र र उनीहरुले बाँच्नका लागि गरेका संघर्ष पनि वास्तवमै कहाली लाग्दो रहेको पाईएको बताउनुभयो ।

अर्का आस्था अधिकारीले गाउँमा खानेपानीको अभाव वास्तवमा शब्दमा भन्ने नसक्ने अवस्थामा रहेको सुनाउनुभयो । ‘शुरुमा आउँदा जे अपेक्षा लिएर आएको थिएँ, त्यसो रहेनछ । शुरुमा पानी खोज्न नै समस्या भयो, खानेपानी दिन जाँदा १ घण्टाको बाटो तय गर्दाको बाधा वास्तवमा ग्रामीण जीवनको दुख के रहेछ भन्ने बोध गर्न पाएँ,’ उहाँले भन्नुभयो । ‘हामीले शुरुमा आफु बस्ने स्थानको बारेमा ज्ञान लियौँ, खाना पकाउने भाँडा के के हुन्, दाउरा कसरी संकलन गर्छन्, कुन दाउराले खाना पकाउने, तरकारी कसरी काट्ने, भात कसरी पकाउने, भाँडा कसरी धाई पखाली गर्ने, आफु र आफ्नो वरपरको वातावरण कसरी सफा राख्ने जस्ता व्यवहारिक ज्ञान सिक्ने सुनौलो अवसर पाएका छौँ, त्यो भन्दा बढी गाउँले जीवनलाई अन्तन्तै नजिकबाट नियाल्दा यहाँको दुख निकै रहेछ भन्ने महसुुस भएको छ’ उहाँले भन्नुभयो ।

अर्का अभय गुप्ताले ग्रामीण जीवनको भित्री पाटो अझ दर्दनाक रहेको आफुहरुले नजिकबाट नियाल्न पाएको बताउनुभयो । गाउँका छोराछोरीलाई हेर्ने दृष्टिकोण, गरिने व्यवहार अत्यन्तै दुखद रहेको बताउनुभयो । छोरालाई घरको हलुका काममा लगाउने, पढ्न पठाउने तर छोरीलाई गाई ग्वाला पठाउने, घरको सबै कामको जिम्मेवारी दिने जस्ता विभेद देख्दा यस प्रकारको असमानता हटाउन केही योजना लिएर आउने अठोट लिएको बताउनुभयो । यसैगरी, पुरुषले बहुविवाह गरेका धेरै उदाहरण पनि गाउँमा पाएको बताउनुभयो । आफ्नो क्लोज क्यापको बसाईले दिएको शिक्षाले भोलिका दिनमा जीवन जिउन निकै सहज हुने आफुले विश्वास लिएको अभयको भनाई थियो । घरमा ग्यास बाल्न नसिकेको मान्छेलाई दाउरा बालेर खाना पकाउँदा पाएको दुखले धेरै पाठ सिकाएको बताउनुभयो । गाउँले जीवनको अवस्था बुझ्न गएको बेलामा भर्खर श्रीमान गुमाएर कुनाबाट भर्खर बाहिर आएकी एक महिलाको चित्कार अझ दर्दनाक रहेको पाएको उहाँले बताउनुभयो । कोखमा भर्खरको बच्चा, खानका लागि गर्नुपर्ने दुख, श्रीमान गुमाउँदाको पीडाले आफु र आफ्ना साथीको दिमागमा निकै गहिरो छाप छोडेको बताउनुभयो ।

अहिले त हरेक ठाउँमा सरकार छ भन्छन्, उनीहरुले पनि काम गरिरहेका छौँ भनेको सुनिन्छ तर हामीले देखेको, नजिकबाट नियालेको यति सानो समुदायको चित्र र सामाजिक जीवन यति पीडादायी छ भने समग्र समाजको अवस्था कस्तो होला भन्ने मनमा अनेकन प्रश्न उब्जिएको क्लोज क्याम्पमा सहभागीहरुको साझा धारणा थियो । त्यहाँ विद्यार्थी र शिक्षकहरु गरी ४० जनाको टीम सामाजिक जीवन र आर्थिक जीवनलाई नियाल्न सहज होस् तथा व्यवहारिक ज्ञान आर्जन गर्न टेवा पुगोस् भनेर ७ रात आठ दिन बसेको हो । गुरुकुलले ३ वर्षयता कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई व्यहारिक शिक्षाका लागि घरपरिवार, आफु बसेको समाजभन्दा बाहिर लगेर बाहिरी दुनियाँ कस्तो छ भनेर पढाउने गरेको छ । २०७५ सालबाट थालिएको यस प्रकारको सकारात्मक अभ्यास गत वर्ष भने कोरोना महामारीको प्रभावले हुन सकेको थिएन ।

क्लोज क्याम्पमा रहेका छात्रछात्राहरु अब भोलि १६ गते एक साताको बसाईमा संगालेका तीतामीठा र जीवनदर्शनका विविध आयामका पक्षलाई भोलिका दिनमा असल अभ्यासमा लागू गर्न सक्ने भएर फर्किने छन् । उनीहरुको बसाइँ, सिकेको कुरा, भोगेका सुखद दुखद पक्ष र समाजको सिंगो जीवनका अवस्था कसरी अनुभव गर्न पाएका छन् भनेर पत्रकारको टोली त्यहाँ पुगेर अवस्थाबारे जानकारी लिएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img