जनप्रतिनिधि आएको चार बर्षमा फोहोरलाई मोहर बनाउने कामलाई प्राथमिकता नदिंदा पालिका फोहोर व्यवस्थापनमा असफल देखिएको हो । अहिले गल्ने, नगल्ने, सिसाका टुक्रा, प्लाष्टिक एकैठाउँमा डम्प गर्ने गरिएको छ जसले गर्दा बन क्षेत्रमा कामका लागि जानेहरुलाई दुर्गन्धले सताउने गरेको छ ।
विमला घर्ती/राप्ती पोष्ट
दाङ/ स्थानीय तह निर्वाचनको समयमा फोहोरलाई मोहर बनाउने सबै दलको चुनावी नारा थियो । निर्वाचित भइसकेपछि पनि जनप्रतिनिधिले फोहोरको उचित व्यवस्थापनको विषय नीति तथा कार्यक्रममा समावेश गरे । तर, स्थानीय पालिकामा जनप्रतिनिधि आएको चार बर्ष हुँदा पनि फोहोर व्यवस्थापनमा उल्लेख्य काम भएको छैन ।
अहिले जिल्लाका कतिपय पालिकामा बजार क्षेत्रका फोहोरलाई उठाएर जंगल क्षेत्र तथा डम्पिङ गर्ने ठाउँमा फाल्नेबाहेक अरु काम हुन सकेका छैनन । दाङको तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले बजार क्षेत्रवाट संकलन गरेको फोहोर डम्पिङ गर्ने ठाउँमा लगेर फाल्ने गर्छन् । उनीहरुले फोहोरलाई फेरी प्रयोग गर्ने योजना बनाएपनि अहिलेसम्म कार्यन्वयन भएको छैन ।
दाङका गाउँपालिकाले चाहिं फोहोरको पुनः प्रयोग गर्न त परै जाओस्, डम्पिङ साइड समेत बनाएका छैनन् । बजार सानो भएकाले कम फोहोर उत्पादन हुने भन्दै चासो नदेखाएको उनीहरुको भनाई छ । गाउँपालिकामा फोहोरमैला ब्यवस्थापन शाखा समेत छैन । अहिले पालिकामा फोहोर व्यवस्थापनमा चासो नदेखाउँदा यत्रतत्र रुपमा फोहोर छरिएका छन् ।
नीतिमा प्राथमिकता, कार्यन्वयनमा शुन्य
व्यवस्थित रुपमा फोहोरको व्यवस्थापन गर्न नसक्दा डम्पिङ साइडमा डम्प गरिएको फोहोर तलसीपुर उपमहानगरपालिका-१२ स्थित पातुखोलाबाट लाग्ने गौरीगाउँ कुलोवाट स्थानीयको खेतवारीमा पुग्ने गरेको छ । यसले गर्दा स्थानीय मर्कामा परेका छन् भने तुलसीपुरमा फोहोर व्यवस्थापन ठुलै समस्याको रुपमा रहेको छ । ‘हाम्रो घर वरिपरि फोहरको डंगुर छ । स्थानीय पालिकामा जनप्रतिनिधि निर्वाचित भएको करिव चार बर्ष पूरा भएको छ । तर, डम्पिङ साइड बनाउने विषय अन्योलमा छ’, पातुखोलाबाट गौरीगाउँ लगिएको कुलो सफा गर्दै स्थानीय भिम बहादुर चौधरीले भने ।
तुलसीपुर उपमहानगरपालिकामा स्थायी डम्पिङ साइड छैन । तुलसीपुर उपमहानगरपालिकामा फोहोर व्यवस्थापनको लागि स्थायी डम्पिङ साइड बनाउने भन्दै करिव एक करोड रुपैँयाँमा तुलसीपुर-१३ फुलवारीमा जग्गा किनिएको छ । बस्ती नजिक रहेको जमिनमा स्थानीयले डम्पिङ साइड बनाउने कुरामा बिरोध गर्दा स्थायी डम्पिङ साइड बनाउन सकिएको छैन । स्थायी डम्पिङ साइड गराउने भन्दै लिएको जग्गा भने उपमहानगरपालिकाले लिजमा दिएको छ । फूलवारीस्थित जग्गा तुलसी गौशालालाई लिजमा दिएको प्रवक्ता सूर्यप्रकास डाँगी (श्याम) ले बताउनुभयो । हाल तुलसीपुर-१२ मा अस्थायी डम्पिङ साइड बनाएर फोहोर फाल्ने गरिएको छ ।
नगरको फोहरलाई मोहरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न डम्पिङ साइडको व्यवस्था र फोहरलाई वर्गीकरण तथा व्यवस्थापनको लागि वर्षेनी उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा प्राथमिकता दिएको छ । फोहोर संकलन, ढुवानी, फोहोरको प्रकृतिअनुसार छुट्याउने र फोहोरबाट उर्जा, प्राङ्गारिक मल र पुनः उपयोगमा ल्याएर सामाग्री उत्पादन गर्न निजी सरकारी र सामुदायिक क्षेत्रसँग सहकार्य गरिने नीति कार्यक्रममा समावेश छ ।
दैनिक रुपमा उत्पादन हुने घर परिवार तह वा अस्पताल, बिद्यालय, कार्यालयजस्ता सार्वजनिक क्षेत्रबाट संकलन हुने फोहोरलाई ब्यवस्थित रुपमा विसर्जन गर्न वा प्रशोधन गरी विक्रि गरिने, फोहोरमैला प्रशोधन केन्द्रको स्थापना गरिने बुँदालाई प्रत्येक वर्षको नीति तथा कार्यक्रममा निरन्तरता दिइएको छ । तर, सो नीति तथा कार्यक्रम कार्यान्वयन भएको छैन । यो बर्ष पनि उपमहानगरले नगरको फोहरलाई मोहरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न डम्पिङ साइडको व्यवस्था र फोहरलाई वर्गीकरण तथा व्यवस्थापनका लागि १ करोड २५ लाख विनियोजन गरिएको छ ।
हाल उपमहानगरपालिकाले काम चलाउका रुपमा फोहर बिसर्जन तुलसीपुर महेन्द्र स्कुल नजिकै शिवशक्ति टोलको खोल्सामा गर्दैै आएको छ । स्थायी डम्पिङ साइडको अभावका कारण नगरपालिकामा फोहर बिर्सजनमा समस्या हुने गरेको छ । उपमहानगरपालिकाका प्रवक्ता डाँगीले फोहरलाई मोहरमा बदल्न दीर्घकालीन डम्पिङ साइडको व्यवस्थापनका लागि आफूहरु लागेपनि स्थान अभाव भएको बताउनुभयो ।
स्थायी डम्पिङ साइड बनाउने र फोहोरलाई व्यवस्थित रुपमा व्यवस्थापन गर्न जमिनको खोजी गरेको भएपनि उपयुक्त जमिन नभेटिदा समस्या भएको प्रवक्ता डाँगीको भनाई छ । ‘हामीहरुले नीति तथा कार्यक्रममा प्राथमिकता दिएका छौँ र बजेट पनि ल्याएका छौं, स्थान अभावले काम हुन सकेको छैन् हामीहरु जग्गाको खोजीमै छौंँ’, डाँगीले भने । अहिले फोहर वर्गीकरण नहुँदा र स्थायी डम्पिङ साइड नहुँदा समस्या आउने गरेकोे उनले बताए । अहिले तुलसीपुर उपमहानगरपालिकाले फोहर बिसर्जन गर्ने स्थायी ल्याण्डफिल्ड साइड नहुँदा फोहरको बर्गीकरण समेत नगरेर उठाउने गरेको छ ।
तुलसीपुरमा स्थायी डम्पिङ साइड निर्माणका लागि पहल गरिएपनि सो विषय छलफलमा मात्र सीमित भएको छ । डम्पिङ साइड नहुँदा त्यसको प्रत्यक्ष मारमा बजारदेखी दक्षिण क्षेत्रका गाउँ परेका छन् । तुलसीपुर उपमहानगरपालिकाको दक्षिण तर्फका टारिगाउँ, गोलौरा, गोलौरी, गौरीगाउँलगायतका किसानहरुले तुलसीपुर बजार हुँदै बग्ने कुलाको फोहर जाँदा बर्षेनी समस्या ब्यहोर्दै आएका छन् ।
तुलसीपुर बजारका वरपर रहेका कुला तथा नालामा फोहर फाल्दा त्यसको प्रत्यक्ष मारमा यहाँका किसानहरु परेका छन् । कुलो तथा नालामा पसलबाट निस्कने फोहर, सुई, सिसा तथा प्लाष्टिकजन्य वस्तु तथा कपडाको टुक्रा जस्ता फोहरहरु जथाभावी फाल्नाले वर्षातको समयमा बाढी आएको बेला सो फोहर किसानको खेतबारीमा सोझै जाने गरेको छ । बर्षातको पानीले सबै फोहरहरु बगाएर किसानको खेत तथा घर आँगनमा थुपारेको हुन्छ । दिनहुँजसो खेतमा प्लाष्टिक र कुलोले बगाएर ल्याएको फोहर टिप्न बाध्य भएको किसानहरु बताउँछन् । खेतैभरि फोहरको डुंगुर जम्मा हुने समस्या रहेको छ ।
खेतमा कुलोले बगाएर ल्याएको प्लाष्टिकले गर्दा खेत जोत्न कठिनाई हुनुका साथै प्लाष्टिकले गर्दा खेतको माटो समेत बिग्रिएको किसानहरु बताउँछन् । त्यसै गरी फोहरले गर्दा खेतीयोग्य जमिनमा असर गर्नुका साथै नोक्सानी पुर्याएको भन्दै गुनासो गर्ने गरेका छन् । पालिकाको स्थायी ल्याण्डफिट साइट नहुँदा जैविक तथा अजैविक फोहर वर्गीकरण नहुँदा पनि यस्तो समस्या उत्पन्न हुने गरेको छ । तर, वडा नम्बर १२ का अध्यक्षसमेत रहेका प्रवक्ता डाँगीले चाहिं समस्याको दीर्घकालीन समाधानका उपायहरुको खोजी भइरहेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधि आउनुभन्दा अगाडी बजारमा जथाभावी रुपमा फोहोर फाल्ने गर्दा बजार दुर्गन्धित तथा कुरुप थियो । तर, जनप्रतिनिधि आइसकेपछि चाहिं बजारको फोहोरलाई उठाउने र सफा गर्ने काम गरिएपनि नीति तथा कार्यक्रममा समावेश भए अनुसार दीर्घकालिन समाधानको उपाय कार्यन्वयनमा आएको छैन ।
फोहोर व्यवस्थापनमा असफल
लमही नगरपालिका पनि फोहोर व्यवस्थापनमा सफल हुन सकेको छैन् । बजार क्षेत्रवाट संकलन भएको फोहोर लमही नगरपालिका – ५ मा रहेको अजम्मरी सामुदायिक बनमा बनाइएको डम्पिङ साइडमा फाल्ने गरिएको छ । जनप्रतिनिधि आएको पहिलो बर्ष गल्ने फोहोरलाई कम्पोष्ट मल बनाउने तथा नगल्ने फोहोरलाई फेरी प्रयोग गर्ने गरी योजना बनाइए पनि चार बर्षसम्म पनि काम हुन सकेको छैन । लमही नगरपालिका वातावरण तथा सरसफाई शाखाकी प्रमुख गायत्री थापाले फोहोर व्यवस्थापनको योजनाअनुसारको काम हुन नसकेको बताउनुभयो ।
तीन बर्षमा फोहोरलाई संकलन गरी फाल्ने काम मात्र गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिना गल्ने र नगल्ने फोहोरलाई छुट्ट्याएर डम्प गर्ने योजनाअनुसार अभ्यास गरिएको थियो । करिव एक महिना गल्ने र नगल्ने फोहोरलाई छुट्याएर उठाउने काम गरियो । तर, पछि बजार क्षेत्रका बासिन्दाले गल्ने र नगल्ने फोहोरलाई छुट्याएर दिन सकेनन् जसले गर्दा यो काम पनि सफल हुन सकेन ।
जनप्रतिनिधि आएको चार बर्षमा फोहोरलाई मोहर बनाउने कामलाई प्राथमिकता नदिदा पालिका फोहोर व्यवस्थापनमा असफल देखिएको हो । अहिले गल्ने, नगल्ने, सिसाका टुक्रा, प्लाष्टिक एकैठाउँमा डम्प गर्ने गरिएको छ जसले गर्दा बन क्षेत्रमा कामका लागि जानेहरुलाई दुर्गन्धले सताउने गरेको छ । लमहीकी स्थानीय सरिता चौधरीले गाई भैसीका लागि घाँस काट्न तथा अन्य कामका लागि जंगल जाँदा दुर्गन्धले सताउने गरेको बताउनुभयो । बजार क्षेत्रमा खासै फोहोर नभएपनि जंगल भने फोहोर बन्दै गएको चौधरीको भनाई छ ।
फोहोर व्यवस्थापनको लागि सचेत हुन आवश्यक भएको भन्दै नगरपालिकाले पालिकाका एक सय ३ टोल विकास संस्थाका पदाधिकारीलाई तालिम दिएको छ । नगरबासीमा भएको चेतनाको अभावका कारण फोहोर व्यवस्थापनमा चुनौती भएको भन्दै तालिम दिने काम गरिएको सरसफाई शाखा प्रमुख थापाले बताइन् । फोहोर व्यवस्थापन गर्न भन्दै यो बर्ष ७५ लाख रुपैँया बिनियोजन गरिएको पनि उहाँले जानकारी दिनुभयो । पहिले बजार तथा बसपार्क क्षेत्रमा अत्याधिक फोहोर हुने गरेको भएपनि पछिल्लो समयमा भने बजारको फोहोरलाई उठाउने र नियमित सफा गर्ने काम गरिएको छ । तर, फोहोर उठाएपनि त्यसलाई फेरी प्रयोग गरिने योजना अनुसारको काम भने गर्न सकिएको छैन । फेरी प्रयोग गर्ने विषय पालिकाको प्राथमिकतामा नपरेको हुँदा समस्या भएको हो ।
फोहोर व्यवस्थापनमा सकस
उता दाङको पश्चिम बबई गाउँपालिकामा डम्पिङ साइड बनाउन सकिएको छैन । डम्पिङ साइड नहुँदा फोहोर व्यवस्थापनमा सकस परेको छ । बजार क्षेत्रवाट उत्पादन हुने फोहोर व्यक्तिलेनै व्यवस्थापन गर्ने गरेका छन् जसले गर्दा बजार नजिक बस्ती, खाली जमिनमा तथा बजार क्षेत्रमा फोहोर देखिने गर्छ । बजार क्षेत्र सानो भएकाले फोहोर खासै संकलन नहुँने भन्दै फोहोर व्यवस्थापनको बिषयलाई पालिकाले प्राथमिकता नदिएको हो ।
गाउँपालिका सुचना अधिकारी भुवन चन्द (बालान) ले यो बर्ष डम्पिङ साइड बनाउने प्रक्रिया अगाडी बढेको जानकारी दिए । त्यसका लागि बजेटको व्यवस्थापन समेत गरिएको छ । ल्याण्डफिल साइटका लागि १० लाख रुपैँयाँ, फोहोर व्यवस्थापन शीर्षकमा ४ लाख रुपैँया तथा फोहोर उठाउने ट्याक्टर खरिदका लागि २० लाख रुपैँया बजेट बिनियोजन गरिएको बताए । आगामी बर्षसम्म फोहोर व्यवस्थापनको सबै कामहरु गरिने चन्दको भनाई छ ।
जंगलमा फाल्दै फोहोर
राप्ती गाउँपालिकामा डम्पिङ साइड बनाइएको छैन । बजार क्षेत्र सानो भएकाले डम्पिङ साइड बनाउने काम प्राथमिकतामा नपरेको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए । गाउँपालिकाले स्थायी डम्पिङ साइड नबनाएर पुरानो भालुवाङ क्षेत्रस्थित जंगलमा बजारको फोहोर जथाभावी फाल्ने गरेको छ । गाउँपालिकामा भएको एउटा ट्याक्टरले फोहोर संकलन गरेको छ । पालिकामा फोहोर मैला ब्यवस्थापन शाखा हुनुपर्ने भएपनि राप्तीमा छैन । उता गढवा गाउँपालिकाले चाहिं वडा नं. ५ को जंगलमा फाल्ने गरेको छ ।
पालिकाहरु फोहोरमैला व्यवस्थापन ऐन विपरित
फोहोरमैला ऐन २०६८ ले फोहरमैला व्यवस्थापन गर्ने गराउने दायित्व स्थानीय तहलाई तोकेको छ । फोहरमैलाको व्यवस्थापन गर्न स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेशन), ल्याण्डफिल साइट, प्रशोधन प्लाण्ट, कम्पोष्ट प्लाण्ट, बायो ग्यास प्लाण्टलगायत फोहरमैलाको संकलन, अन्तिम विसर्जन तथा प्रशोधनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचनाको निर्माण र सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहको हुने ऐनमा समेटिएको छ ।
डम्पिङ साइड बनाउने र डम्पिङ साइड बनाउँदा जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपर्ने गरी बनाउनुपर्ने छ भने त्यस स्थानमा दुर्गन्ध नआउने गरी आवश्यक व्यवस्था समेत गर्नुपर्ने ऐनमा उल्लेख छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्र संकलन भएको फोहरमैलालाई व्यवस्थापन तथा स्थायी रुपमा विसर्जन गर्नको लागि वातावरणसम्बन्धी प्रचलित कानूनको अधीनमा रही फोहरमैला व्यवस्थापन स्थल (स्यानिटरी ल्याण्डफिल साइट) तोक्न सक्ने, जथाभावी रुपमा फाहोरमैला फाल्न नहुने ऐनमा उल्लेख छ ।
मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रका संस्थापक अध्यक्ष तथा बातावरणविद् श्रीमन न्यौपाने जंगलमा जथाभावी रुपमा फोहोरमैला फाल्न नहुँने बताउनुहुन्छ । यो फोहोरमैला ऐन तथा नियमावली विपरितको कार्य भएको बताउनुभयो । जंगलमा जथाभावी रुपमा फोहोर फाल्दा बोटविरुवा रुखहरुलाई असर गर्ने, खोलानाला नजिकै भए बगेर खेतवारी तथा जमिनमा प्रदुषण हुने, जैबिक बिबिधतालाई असर गर्ने पनि उहाँले बताउनुभयो । जंगली जनावर चराचुरुङ्खीलाई असर गर्ने भन्दै बातावरणका हिसावले बनक्षेत्र भन्दैमा जहाँ मन लाग्यो त्यहाँ फोहोर फाल्न नहुँने न्यौपानेको भनाई छ । दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका तथा लमही नगरपालिकाले फोहोर मैला ब्यबस्थापन कार्यबिधि बनाएको भएपनि अन्य गाउँपालिकाले भने कार्यबिधि नै बनाएका छैनन् । जसले गर्दा दाङका गाउँपालिकाले अहिलेसम्म उचित रुपले फोहोरको व्यवस्थापन गर्न सकेका छैनन् ।