spot_img
Home Blog Page 57

निर्वाचनमा सवै सहभागि बनौं

सम्पादकीय

स्थानीय तहको निर्वाचन भोली अर्थात बैशाख ३० गतेका दिन हुँदैछ । पाँच बर्ष पछि हुन थालेको यो निर्वाचन स्थानीय तह भइसकेपछिको दोस्रो निर्वाचन पनि हो । निर्वाचनको प्रचार प्रसारका सवै काम सकिएका छन् । मतदाताको बीचमा जाने, मत माग्ने, प्रचार गर्ने कामहरु सकिएका छन् । मौन अवधि सुरु भएको छ । यो अवधि भनेको निर्वाचनको तयारी गर्ने अवधि हो । निर्वाचनका लागि खटिने कर्मचारीहरु मतदान केन्द्रमा पुगेका छन् । स्थानको तयारी गरिरहेका छन् । सुरक्षाकर्मीहरु पुगिसकेका छन् । मत पेटिकाहरु पुगिसकेका छन् । परिचय पत्र वितरण गर्ने काम पनि भइरहेको छ । यस्तै गरेर मतदाता शिक्षाका केही काम पनि यहि बीचमा भइरहेका छन् । निर्वाचनका लागि गर्नुपर्ने जति सवै काम सकिएको निर्वाचन कार्यालयको भनाई छ । अव प्रतिक्षा मात्रै भोलीको छ । मतदाताहरु मतदान गर्नका लागि तम्तयार भएका छन् । कसलाई मतदान गर्ने भन्ने मन बनाइसकेका छन् । कुन उमेदवारलाई जिताउने, कुन पार्टीको उमेदवारलाई जिताउने भन्ने बारेमा पूर्ण तयारीका साथ मतदाताहरु रहेकाछन भन्न सकिन्छ ।

मौन अवधिमा केही घटनाहरु भएका देखिन्छन । मौन अवधि भनेको मतदान स्थलको तयारी हो एक हिसावले भन्ने हो भने । मतदानस्थलमा गर्ने तयारीका कामहरु यहि समयमा गरिन्छ । तर यो समय भनको अलि विवादित हुने समय पनि हो । मतदाताका बीचमा पैसा बाँटिएका, खसी काटिएका, भोज खुवाउने काम गरिएका कुराहरु सुन्नमा आइरहेका छन् । कतिपयले निर्वाचनमा पहिले गरिने प्रचार प्रसारले केही अर्थ राख्दैन अन्तिम तीन दिनमा गरिने प्रचारको अर्थ हुन्छ भनेर व्यङ्ग्य गर्ने गरेका छन् । तर खासमा यस्तो होइन । नेपाली जनता यति अवुझ छैनन् कि अन्तिम समयमा दिइने आवश्वासनले अन्तिम समयमा दिइने लोभले सम्पूर्ण मत प्रभावित गर्ने । नेपाली जनताले लामो समयदेखि निर्वाचनमा भाग लिएका छन् । कुनै बेला केही कुराले प्रभावित गरेको थियो होला । अव त्यस्तो हुँदैन । अव कसैको धाक, धम्कीले कसैलाई गलाउन सक्दैन । कुनै आश्वासनले छुन सक्दैन । कसलाई मतदान गर्ने, कसलाई नगर्ने भन्ने बारेमा सवै हिसाव गरेर मतदाताहरु बसेको समयमा गरिने यस्ता खर्चले नकारात्मक प्रभाव पार्ने खतरा बढी हुन्छ ।

नेपालको निर्वाचनमा तुलनात्मक रुपमा कम मत खसेको हुन्छ । विश्वका कयौं मुलुकमा मानिस जहाँ छ त्यहिबाट मतदान गर्न पाउँछ । जसले गर्दा मत खस्ने प्रतिशत बढी हुन्छ । हामीकहाँ विदेशमा बसेकाहरुले मतदान गर्न पाउँदैनन् । स्वदेशमा रहेको भएपनि कतिपय मतदान गर्न जाँदैनन् । मृत्यु भइसकेकाहरुको नाम कटेको हुँदैन । कतिपय मतदानस्थलसम्म जान पाउँदैनन् । मतदानस्थलमा जानका लागि व्यवस्था गरिएको हुँदैन । मतदानमा बढी भन्दा बढी सहभागिता होस भन्ने गरी नियम बनाइएको छैन । नेपालमा बढी मतदान हुँदा पनि ७० प्रतिशत पुगेको छैन । मतदानको प्रतिशत बढाउनका लागि निर्वाचन आयोगले उत्प्रेरणाका कार्यक्रम संचालन गरेको पाइदैन । निर्वाचन लोकतान्त्रिक अभ्यास हो । निर्वाचनमा बढी भन्दा बढीको सहभागिता होस भन्ने हो भने निर्वाचनमा बढी भन्दा बढी ल्याउनका लागि विशेष शिक्षाको कार्यक्रम संचालन गर्नुपर्छ । मतदानमा बदरको संख्या कम होस भन्ने हो भने पनि शिक्षाको कार्यक्रम संचालन गर्नुपर्छ । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि लगानी गरेको देखिएको छैन । निर्वाचनको शिक्षाका बारेमा जानकारी भएन भनेर मतदाताले मतदान गर्न नजाने गर्नु हुँदैन । जसरी पनि मतदानस्थलमा जाने, आफ्नो अधिकार प्रयोग गर्नुपर्छ । आफ्नो अधिकार प्रयोग गर्ने कुरा नागरिकले उपयोग गर्नुपर्छ । निर्वाचनमा बढी भन्दा बढीको सहभागिता रहन सकोस । सवैले राम्रा उमेदवारहरु छनौट गर्न सकौं । सवै सहभागी बनौं । कुनै भय विना मतदान गरौं । कुनै धाक धम्की र प्रलोभनमा नपरेर मतदान गरौं । निर्वाचन लोकतन्त्रको सुन्दरता हो । निर्वाचनलाई सफल बनाउनु हरेक नागरिकको कर्तव्य हो । निर्वाचनको यो महाउत्सवलाई सफल बनाऔं । स्वच्छ, स्वस्थ र भय रहित निर्वाचन बनाउनका लागि भूमिका खेलौं ।

एमालेले जित्ने धेरै आधारहरु छन् – शंकर पोखरेल

अन्तरर्वार्ता

एमालेले जित्ने धेरै आधारहरु छन् – शंकर पोखरेल

स्थानीय तहको निर्वाचनको मिति नजिक आइसकेको छ । बैशाख ३० गतेको निर्वाचनका लागि मौन अवधि सुरु हुन केही घण्टा मात्रै बाँकी छ । उमेदवारहरुले घरदैलो करिव सकेका छन् । चुनावी सभा पनि करिव सकिएका छन् । २०७४ सालको स्थानीय तहको चुनावमा छ वटा पालिका जिनेको नेकपा एमालेले ल्याउने परिणाम धेरैका लागि प्रतिक्षाको विषय बनेको छ । जिल्लाको चुनावी माहोललाई पार्टीको पक्षमा ल्याउन दाङ आउनुभएका नेकपा एमालेका महासचिव शंकर पोखरेलसंग नेकपा एमालेको चुनावी अभियान र जित्ने आधारका बारेमा गरिएको कुराकानी

स्थानीय तह निर्वाचन मुखैमा छ । जिल्लाको अवस्था कस्तो पाउनुभयो ?
बास्तवमा यतिबेलाको निर्वाचन सत्ता पक्षले चाहेको निर्वाचन होइन । अहिलेको निर्वाचन एक प्रकारले प्रतिपक्षको लगातारको खबरदारीको परिणाम हो । त्यस अर्थमा यो निर्वाचनको परिणाम के भन्ने निर्वाचनको आयोजनाबाटै तय भइसकेको छ । सत्ता पक्षले नचाहेको प्रतिपक्षले बाध्य पारको निर्वाचनका रुपमा आयोजना हुँदैछ ।
अर्कोतर्फ नेपालको लोकतान्त्रिक प्रक्रियामा जुन प्रक्रियाबाट सरकार गठन भयो, त्यो सरकार गठनको प्रक्रिया जनादेशबाट नभई परमादेशको बाटोबाट थियो । यो सरकार बनाउनका लागि जे अनुचित तरिकाहरु प्रयोग गरिए ती तरिकाहरु चाहिँ जनताका बीचमा रुचिका विषय होइनन् । त्यसर्थ हामी जनादेशबाट यसलाई विस्थापन गर्न चाहन्छौं । त्यसको आरम्भ चाहिँ स्थानीय तहको निर्वाचनबाट हुन्छ भन्ने मलाई लाग्छ ।

स्थानीय चुनाव स्वभाविक रुपमा एक प्रकारले राजनीतिक अस्थिरताका विरुद्ध परमादेशका विरुद्ध जनादेशलाई स्थापित गर्ने प्रक्रियाका रुपमा र नेपालको राजनीतिमा अदालतलाई राजनीतिका मुद्दामा प्रवेश गराउने र राजनीति अदालतमा प्रवेश गर्ने प्रकारको विडम्बनापूर्ण स्थिति सिर्जना भएको छ त्यसलाई अन्त्य गर्ने कुराका सन्दर्भमा र अहिले राज्यका तीनवटै अंगहरुलाई सही तरिकाले सञ्चालन गर्नेतर्फ सरकार असफल सावित भएको छ ।

गठबन्धनले चुनौती दिइरहेको छ तपाईहरुको भनाई के छ ?
गठवन्धन हाम्रा लागि चुनौती होइन । हामी सजिलोसंग जित्दैछौं । गठवन्धनले हामीलाई के भन्छ भन्ने कुरा महत्वपूर्ण होइन । हामीले सरकार सञ्चालन गर्दाको मुलुकको अवस्था के थियो अहिले कस्तो छ यहि हेर्दा पनि नेकपा एमालेले खेलेको भूमिका अवगत हुन्छ । नेकपा एमालेले सरकार सञ्चालन गर्दाको समयमा राज्यका सबै अंगहरु प्रभावकारी थिए । जब नेकपा एमालेलाई परमादेशबाट विस्थापन गर्ने काम भयो, त्यसपछि राज्य पलपल सम्झौताका माध्यमबाट सञ्चालन हुन थाल्यो । अझ बुझिने गरी भन्ने हो भने मुलुकमा एक प्रकारको सेटिङ सुरु भयो ।
जो यहाँहरुले देखिहाल्नु भएको छ । अदालतभित्रको अन्तर्संघर्ष बाहिर आएको छ । संसदले आफ्नो भूमिका निर्वाह गर्न सकिरहेको छैन । नेकपा एमालेका समयमा त यी सबै चीजहरु व्यवस्थित थिए । नेकपा एमालेले जनदेश खण्डित भएका बेला नयाँ जनादेशमा जानुपर्छ भन्ने कुरा उठाउँदा उहाँहरुले आपत्तीको विषय ठान्नुभयो । दुनियाको संसदीय लोकतन्त्रमा चुनावमा जाने कुरा चाहिँ संसदीय प्रणालीको विशेषता हो । यदि प्रधानमन्त्रीलाई आफ्ना नीति कार्यक्रम कार्यान्वयनमा बाधा पुग्यो भन्ने ठानेपछि लाग्यो भने जनतामा जान पाउँछ भन्ने कुरा संसदीय मूल्यको कुरा हो । त्यो चिजलाई नेपालमा अपव्याख्या गर्ने खालको कोसिस गरियो र संविधानका नाममा त्यसलाई नियन्त्रित गर्ने कोसिस पनि गरियो । वास्तवमा हामीले जे प्रणाली अनुसरण गरेका छौं यसमा जनतामा जाने भन्ने कुरा गलत हैन भन्ने म ठान्छु ।

एमाललेले आफूले सम्पादन गरेका कार्यक्रम लिएर जनतासामु पुर्याउन सकेन भनिन्छ नि । के यो साँचो हो ?
यहाँले भनेको कुरा साँचो हो । हामी जनताका बीचमा पुग्नुपर्ने जति पुगेनौं । तर, हामीले यस बीचमा जे काम ग¥यौँ ती कामका प्रभावहरु जनताका बीचमा छन् । नेपाली राजनीतिमा ४ वटा मुद्दाहरु जनताका सरोकारका विषयहरु छन् ।पहिलो विषय राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हीतको प्रश्न हो । यो प्रश्नमा हामी सदैव अब्बल रह्यौं । नारा मात्रै लगाए नौं हामीले त्यसलाई व्यवहारमा पनि पुष्टि ग¥यौँ ।
जस्तो कि नाकाबन्दीको सामना गर्ने कसको नेतृत्वमा भयो ? नेकपा एमालेकै नेतृत्वमा भयो । केपी ओलीकै नेतृत्वमा भयो । त्यो दृढतापूर्वक सामना भयो । अर्कोतर्फ नेपालको गुमेको भूमि समेटेर नक्सा प्रकाशित गर्ने ऐतिहासिक कामको नेतृत्व कसले ग¥यो ? हामीले नै ग¥यौँ । त्यसलाई संविधान संसोधनमार्फत् अनुसूचीमा राख्ने काम हामीले नै ग¥यौँ । त्यतिमात्रै हैन नेपाल र भारतका बीच नसुल्झिएका थुप्रै प्रश्नहरुलाई सुल्झाउने कुराहरुलाई हामीले महत्वका साथ काम ग¥यौँ ।
कलकत्ता पोर्टको विकल्पको कुरा, पेट्रोलियम पदार्थको ढुवानीमा पाइपलाइनको कुरा, १८ घण्टाको लोडसेडिङ अन्त्य गर्नका लागि व्यापार सम्झौता गर्ने कुरा, त्यतिमात्रै हैन नेपाल भारत बीचमा पुराना सन्धी पुनरावलोकन गर्नका लागि विज्ञ समूह गठन गर्ने कुरादेखि लिएर नेपालको सिमावर्ती क्षेत्रको डुवान समस्याको समाधान गर्नका लागि केपी ओली प्रधानमन्त्री हुँदा भएका हुन ।
यसअर्थमा काम गर्न सक्ने को रहेछ भन्ने कुरा दुनियाले बुनियाले बुझिसकेको छ । लामो समय नेपालका दलहरु अधिकारका प्रश्नमा केन्द्रित भए अब विकास र समृद्धिको नेतृत्व कसले ग¥यो त भन्दा एमालेले त्यसकारण पनि अब केपी ओलीको नेतृत्वमा देश बन्छ भन्ने कुरामा जनता ढुक्क छन् ।
अर्को सन्दर्भ नेपालको राजनीतिमा सामाजिक सुरक्षासहितको लोक कल्याणकारी राज्य व्यवस्थातर्फको प्रयास कसले ग¥यो भन्दाखेरि मनमोहनका पालादेखि सुरु भएको सामाजिक सुरक्षा भत्ता, बृद्ध भत्ता कार्यक्रम एकल महिला, अपाङ्ग, अल्पसंख्यक समूदायका लागि भत्ताका रुपमा, सामूदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमका रुपमा र उपचार गर्न नसक्नेहरुका लागि उपचारको विशेष प्रबन्ध गर्ने कुराका रुपमा यो प्रकारको सेवा विस्तार गर्ने काम एमालेको नेतृत्वमा भयो ।
यतिबेला मुलुकलाई भविष्यमा कहाँ लाने भन्ने विषयको सन्दर्भमा देश दुई ध्रुवमा बिभाजित भएको छ । एउटा धु्रवमा एक नेपाली कांग्रेस र अर्को धु्रवमा नेकपा एमाले रहेको छ । जनताहरुले कुन धु्रव रोज्ने भन्ने कुरा स्थानीय तहको निर्वाचनले जनाउने छ । जनताले एमाले रोज्दा मुलुक समाजवादतर्फको यात्रामा अगाडि बढ्छ भने कांग्रेस रोज्दा मुलुक पुँजीवादतर्फको यात्रामा अगाडि बढ्छ ।

मुलुकमा विभिन्न समस्याहरु खडा भएका छन् । यस्तो अवस्थामा एमालेको भूमिका कस्तो रहन्छ ?
निश्तिचरुपमा सबैको भविष्य के कुरामा जोडिन्छ भने राष्ट्रको समृद्धिसँग जोडिन्छ । ‘समृद्ध नेपाल सुखी नेपाली मूल’ लाई राष्ट्रिय आकांक्षा बनाएर एमाले अगाडि बढेको छ । जसलाई कार्यान्वयन गर्नसक्ने सामथ्र्य नेकपा एमालेसँग मात्रै छ । मुलकभित्रका सबैखालका समस्याको समाधान गर्दै समृद्धिको यात्रा तय गरेर एमालेले सबै वर्ग र उमेर समूदायलाई सम्बोधन गर्ने हो ।

नेकपा एमाले यस्तो पार्टी हो बृद्ध बृद्धाहरुका लागि भविष्यको सुरक्षा र संरक्षण गर्ने पार्टी, युवाहरुका लागि मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी, नव युवाहरुको भविष्यको जुन चिन्ता छ यो सुरक्षित गर्ने पार्टी एमाले हो । संविधानले तय गरेको समावेशीताको मुद्दाको बिपक्षमा गठबन्धन उभिएको छ । यहाँहरुले देखिहाल्नुभयो घोराही तुलसीपुरमा नै महिला उपेक्षामा परेका छन ।
संविधानले एक पद महिला भने पनि उनीहरुले उपेक्षा गरेका छन् । समाबेशीताका ठूला कुरा गर्नेले व्यवहारिकतामा समाबेशीतालाई कमजोर पार्ने काम गरेका छन् । यसअर्थमा गठबन्धनले चुनाव जित्नु भनेको समावेशीता पराजीत हुनु हो । यदि उहाँहरु साँच्चै समावेशीताका पक्षमा हुनुहुन्छ भने उहाँहरुले भन्न सक्नुपर्छ जहाँ महिला उम्मेद्वार छैनन् त्यहाँ गठबन्धनले जित्नुहुँदैन भनेर । तबमात्रै समावेशीताका पक्षमा छौं भन्न सुहाउँछ नत्र समावेशीताको वकालत गर्नुको अर्थ हुन्छ ?

मुलुकको अर्थतन्त्र बिग्रदो अवस्थामा छ । व्यापक चिन्ता सुरु भएको छ । एमालेको पालामा अर्थतन्त्र सवल भएको दाबी यहाँहरुको छ । अर्थतन्त्र बिग्रनुको खास कारण केहो ?
गठबन्धनले बजेट प्रतिस्थापन विधयेक ल्याउँदाखेरि दुईवटा काम गरे त्यो दुईटा कामको परिणाम आजको अर्थतन्त्रले भोग्दै छ । एउटा काम लगानी भित्र्याउने काममा स्रोत नखुलाउने सर्तमा लगानी भित्र्याउने कुरा गरे । जसको प्रभाव र परिणाम के भयो भन्दाखेरि कालो धन नेपालमा भित्र्याउने कोसिसहरु भए । डलर जति व्यापारीहरुका हातमा गयो । जसले आयात गर्छन् ।
नेपाली मुद्राजति कालोधन हुनेवालाकोमा गयो । अर्कोतर्फ यिनीहरुले के भने भन्दाखेरि राजश्व दोब्बर गराउने नाममा भन्सार नाकाहरुमा सेटिङ गरियो । आयातमा ह्वात्तै बृद्धि गर्ने खालको काम भयो । जसले गर्दा नेपालको अर्थतन्त्र संकटमा प¥यो । हामीले अर्थतन्त्र छोड्दा सोधानान्तर बचत नाफा थियो आज घटेको अवस्थामा छ । विदेशी मुद्राको सञ्चिती झण्डै १ वर्षको आयात धान्न सक्ने अवस्थामा छोडेका थियौं । आज ६ महिनाको आयात धान्न नसक्ने अवस्था छ ।
हामीले सरकार छोड्दा मुलुकको मूल्यबृद्धि दर ४ प्रतिशत थियो अहिले ७ प्रतिशत भन्दा माथि पुगेको छ । हामीले सरकार छोड्दा रेमिटेन्स बढ्दो क्रममा थियो । बाहिर जाने युवाहरुको संख्या घट्दो थियो । तर, उनीहरुले गर्ने कमाई बढिरहेको थियो । आज युवाहरुको बाहिर जाने संख्या बढ्दो छ कमाई घट्दो छ । अर्कोतर्फ पुँजीगत खर्च हरेक महिनामा हामी १० प्रतिशत पुँजीगत खर्च गर्छौ भन्ने गफ गर्नुभयो चैत महिनासम्म जम्मा २५ प्रतिशत मात्र पुँजीगत खर्च हुन सक्यो ।
र अर्कोतर्फ हाम्रो पालामा आयात निर्यातमा अत्यन्त सकारात्मक टे«ण्ड देखा परेको थियो । आयात घट्दो क्रममा थियो निर्यात बढ्दो क्रममा थियो । अहिले आयात अस्वभाविक ढंगले बढेको छ । निर्यात घट्न थालेको छ । जसले मुलुकको आर्थिक अवस्थालाई संकटग्रस्त बनाएको छ ।
अन्तमा नेकपा एमाले गठबन्धनसँग एक्लै चुनावी प्रतिष्प्रधामा छ, नतिजा कस्तो आउला ?
अहिले उहाँहरुले गठबन्धन गरेका अधिकांश स्थानमा पहिले पनि उहाँहरुकै गठबन्धन थियो र पनि हामीले सानदार विजय हासिल गरेका थियौं । जुन समयमा हाम्रा बिरुद्ध उहाँहरु निर्वाचनमा जानुभएको थियो, त्यो समयमा हामी सरकारमा थिएनौं । तर, अहिले हामीसँग जित्नलाई साढे ३ वर्षको अवधीमा केन्द्र, प्रदेश सरकारमा रहँदा र पाँचवर्ष स्थानीय सरकारमा रहँदा गरेका कामहरु छन् । जुन अवस्थामा हामीले सरकारको नेतृत्व सम्हालेका थियौं त्यो भन्दा धेरै राम्रा कामको असाधारण प्रभावहरु अहिले जनताका बीचमा छन् ।
दाङको सन्दर्भमा भन्नुपर्दा ?
दाङका सन्दर्भमा पूर्वाधार विकासका सन्दर्भमा उल्लेख्य काम भएका छन् । सडक धेरै बनेका छन् । जो भाइरल पनि भएका छन् । सडक बनाउने सन्दर्भमा दामोदरको रेकर्ड एमालेले तोड्ने अवस्था छ । अहिले बाटो कालोपत्रे र पक्की पुल निर्माणको कामको अगुवाई भएको छ । पानीमुनि पुल भएको जिल्ला भनेर चिनिने दाङमा नेपालमै सबैभन्दा धेरै पुल हुने जिल्ला भनेर चिनाउन पुल निर्माणको नेतृत्व लिने काम एमाले सरकारका पालामा भएका छन् । हरेक क्षेत्रमा दाङको विकासमा एमालेको नेतृत्वको सरकारले असाधारण काम गरेको छ । जुन जनताका अगाडि छर्लङ्ग छन् । सबै कामको अवस्था हेर्दा जनताको झुकाव पक्कै पनि एमालेप्रति छ । यिनै कारण हामी गठबन्धन बिरुद्ध सहज जीत निकाल्दै छौं ।

प्रस्तुतीः सन्तोष खनाल

सवैमा संयमता आवश्यक

सम्पादकीय

सवैमा संयमता आवश्यक


निर्वाचनको मिति आउन केही घण्टा मात्रै बाँकी छ । अव समय घण्टामा हिडिसकेको छ । निर्वाचनको प्रचार प्रसारमा हिडेका उमेदवारहरुले प्रचार गर्न नपाउने समय सुरु हुँदैछ । निर्वाचनको मिति नजिक आइरहेको सन्दर्भमा विभिन्न पक्षबाट आचार संहिता पालना नगरिएका समाचारहरु आइरहेका छन् । कतिसम्म भने आचार संहिता पालना नगरिएका समाचार लेख्नेहरुले नै आचार संहिता पालना गरिरहेका छैनन । कसैको पक्षमा लेख्ने कुरा एउटा होला तर कसैको विपक्षमा लेख्ने काम भइरहेको छ । अथवा यसको पक्षमा मतदान गर्नुपर्छ भनेर दवाव दिने खालका विज्ञप्तीको बाढी लागेको छ । निर्वाचनको प्रचार प्रसारमा हिड्नेहरुले मत दिनका लागि आह्वान मात्रै होइन धम्की नै दिन थालेका छन् । मतदाताले भयरहित बातावरणमा मतदान गर्न पाउनुपर्छ । मतदाताले यतिवेला धम्की आइरहेका छन् । आफ्नो निर्वाचन चिन्हमा मतदान गर्नैपर्ने बाध्यकारी जस्तो भाषण नेताहरुबाट आइरहेका छन् । संचारले आचार संहिता पालना नगर्ने, राजनीतिक दल र उमेदवारहरुले आचार संहिता पालना नगर्ने हो भने निर्वाचन कसरी स्वतन्त्र, भय रहित र निश्पक्ष हुन सक्ला र ?


निर्वाचनका सन्र्दभमा सवै गम्भिर बन्नुपर्छ । यसैपनि निर्वाचन भड्किलो बन्दै गएको छ । निर्वाचन खर्चिलो बन्दै गएको छ । निर्वाचनको प्रसार प्रसारमा दिनभर हिड्ने अनि बेलुका कतै भट्टीमा छिर्ने कुरा आम जस्तै भएको छ । यसले निर्वाचनलाई महङ्गो बनाइरहेको छ । निर्वाचन आयोगले निर्वाचनलाई कसरी कम खर्चमा सम्पन्न गर्न सकिन्छ भन्नका लागि अनेकन नियम बनाएको छ । उमेदवारले बढी खर्च गरिरहेको छ कि ? भन्ने कुरालाई नियमन गर्नका लागि संयन्त्र बनाएको छ । आचार संहिता पालनाका लागि निर्वाचन आयोगले विभिन्न निकायसंग समन्वय गरिरहेको छ । निर्वाचनलाई नजिक आएको सन्दर्भमा आचार संहिता पालना नगर्ने खतरा बढी हुन्छ । यदी आचार संहितामा कडाई गरिएन भने यसले आगामी दिनमा कुनै पनि उमेदवारले निर्वाचनमा उमेदवार हुने कुरा कल्पना गर्न सक्दैन । निर्वाचनमा उमेदवार हुनका लागि लडाउनुपर्ने अवस्था आउनु भनेको निकै दुःखद विषय हो । निर्वाचनलाई महङ्गो बनाउनका लागि भूमिका खेल्नेहरु हामी आफै पनि हौं । निर्वाचनमा उमेदवारसंग अनावश्यक अपेक्षा गर्ने, खानपीनमा ध्यान दिने, एक छिनको रमाइलोलाई मात्रै ध्यान दिने कुराले जिन्दगीभर पछुताउनुपर्ने अवस्था आउँछ भन्ने बुझ्नुपर्छ ।


निर्वाचनको समय जति नजिक आउँछ त्यति सवैमा संयमता आवश्यक हुन्छ । निर्वाचनको मौन अवधी आउँदै गर्दा अनेकन चलखेल हुन्छन भन्ने कुरा नेपालको राजनीतिमा चर्चा भइरहने विषय हो । निर्वाचनको प्रचार प्रसार पहिले गरेर केही हुँदैन अन्तिम दुई दिनमा हुन्छ प्रचार भन्ने चर्चा पुरानो होइन । यस्तो किन गरिन्छ । निर्वाचनमा मतदातालाई प्रभावित गर्नका लागि यस्तो किन गरिन्छ । निर्वाचनलाई निश्पक्ष बनाउनका लागि बनाइएका नियम पालना गरिएन भने निर्वाचनप्रतिको विश्वास उठ्दै जान्छ । अर्को कुरा मतदाताहरु संयमित हुनुपर्ने समय यहि हो । मतदाताहरु यतिवेला कुनै प्रलोभनमा पर्ने हो भने पाँच बर्ष पछुताउनुपर्छ । अहिले नै संयमता अपनाउन सकियो । यतिवेला उमदेवार चिन्न सकियो । विकासको पक्षमा को छ वा को छैन भन्ने कुरा थाहा पाउन सकियो भने त्यसले आगामी पाँच बर्ष निरर्थक हुँदैन । होइन भने आगामी दिनहरु निरर्थक हुन्छन । मतदाताहरु क्षणिक लोभ वा मोहमा फस्ने होइन । निर्वाचनको समयमा आचार संहिता पालना गर्ने कुरा उमेदवारको कुरा मात्रै होइन सवैभन्दा बढी गम्भिरता आम मतदातामा हुनुपर्छ । कुनै उमेदवारले गलत गरिरहेको छ भने त्यसको बारेमा जानकारी दिने, त्यस्तो कार्यलाई रोक्ने गर्नुपर्छ । निर्वाचनलाई भय रहित बनाउने कुरा निर्वाचन आयोगलाई जानकारी गराउने, संचार माध्यमले आचार संहिता पालना नगरेको भए सम्वन्धित निकायलाई झक्झक्याउने गर्नुपर्छ । निर्वाचनको समयमा सवै गम्भिर बन्नुपर्छ । सवै संयमित बन्नुपर्छ ।

अव दिगो विकासमा काम गर्नुछ ।

दुजमान भण्डारी (बर्षात)
वडाध्यक्षका उम्मेदवार तुलसीपुर उपमहानगरपालिका– ६

चुनावी तयारी कस्तो भइरहेको छ ?
अहिले घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । हामीले मतदातालाई भेट्ने र उहाँका कुरा सुन्ने, हाम्रा योजना र कार्यक्रम सुनाउने काम गरिरहेका छौं । चुनावी गतिविधि तिव्र पारिएको छ । एक हिसावले भन्ने हो भने हामी निर्वाचनको दिन कुरेर बसिरहेका छौं ।

तपाईको उम्मेदवारी किन ?
तुलसीपुर उपमनपाको वडा नं. ६ केन्द्र भागमै छ । पुरानो बस्ती, अव्यवस्थित बस्तीका कारण व्यवस्थित विकासमा समस्या भएको क्षेत्र हो यो । यस अघि हामीले पाँच वर्षसम्म त्यसलाई धेरै सुधार गरेका छौं । व्यवस्थित बसोवास, दिगो विकासका लागि हाम्रो उम्मेदवारी हो । त्यस्तै खानेपानी, फोहर व्यवस्थापनको समस्या समाधानका लागि पनि हामीले यो वडामा नेतृत्व दावी गरिरहेका छौं । हिजो छिटो छिटो विकास भएको देखाउन केही काम योजनावद्धरुपमा भएनन् । त्यसले गर्दा अहिले समस्या भएको छ । हामीले दिगो विकास, व्यवस्थित विकास गर्दै वडा नं. ६ लाई सुन्दर बनाउने योजना अघि सारेका छौं । दिगो विकास कसरी गर्ने भन्ने होला एउटै उदाहरण यहाँलाई भन्न चाहन्छु । वडामा खानेपानी विस्तार गर्दा सडक भत्काउनुपर्ने, नाला खन्नुपर्ने अवस्था छ । त्यसले गर्दा भएको विकासलाई आफै फुटाउनुपर्ने अवस्थाको अन्त्य गर्ने हाम्रो योजना छ । हामीले कुनै सडक कालोपत्रे भइरहेको छ भने हामी वडाको वजेट लगाएर दुवैतर्फ पाइपको विस्तार गर्छौं । त्यस्तै पोल विस्तार गर्दा व्यवस्थित गर्छौं ।

तपाईले पहिले पनि अत्यधिक मतका साथमा सदस्य जित्नुभएको थियो अव अध्यक्ष भएपछि काम गर्न सकिएला त ?
मेरो पहिलो प्राथमिकता दिगो विकास सहितको सुन्दर वडा निर्माण हो । त्यसका लागि सबै काम हामीले आगामी पाँच वर्षमा गर्छौं । अहिले फोहर व्यवस्थापन मुल एजेण्डाका रुपमा हामीले उठाएका छौं । नागरिकले फोहर फाल्ने कहाँ हो भन्नुहुन्छ ? समस्या यही छ । हामीले फोहर व्यवस्थापनका लागि पोल पोलमा डस्टवीन राख्ने योजना बनाएका छौं । यो वजेटको हिसावले पनि महंगो छैन । त्यस्तै यो अभियानका लागि यहाँका सार्वजनिक संघ, संस्था, विद्यालय र टोल विकास संस्थालाई अग्रसर गराउने काम गर्नेछौं । अहिले सडकमा, नालामा, खेतवारीमा फोहर, प्लाष्टिक भेटिन्छन । यो समस्याकै रुपमा देखिएको छ । तसर्थ हामीले सरसफाई अभियान नै चलाएर ७० वढी टोललाई परिचालन गर्ने र सबै टोल सफा बनाउनेछौं । फोहर नउठ्ने समस्यालाई समाधान गर्न वडाको आफ्नै साधन बनाउने जुन विद्युतियरुपमा चलाउन सकिने सवारी साधन खरिद गर्ने काम गर्नेछौं ।

अन्य कामहरु के छन बढी महत्वपूर्ण ?
स्वास्थ्यको क्षेत्रमा काम गर्नुछ । गोलौरामा रहेको स्वास्थ्य केन्द्रको स्तरवृद्धि गर्ने, पाठेघरको निशुल्क उपचार सेवा दिने, वडामा १० वटा गाउँ छन । सबै गाउँमा वेला वेलामा आवस्यकताका आधारमा स्वास्थ्य शिविर गर्नेछौं । त्यस्तै शुद्ध खानेपानीको व्यवस्थापन गर्न वडाभर पाइप विस्तार गर्ने, त्यस्तै जनप्रतिनिधिसँग बालवालिका, जनप्रतिनिधिसँग महिलालगायत लक्षित समुदायका युवा, बालवालिकाहरुलाई प्रशिक्षण दिनेकाम गर्नेछौं । वडाका विभिन्न टोलमा संस्कारयुक्त कक्षा चलाउने जसले अहिले बढ्दै गएको कुलत, कुसँस्कारको अन्त्य गर्ने काम हामीले गर्नेछौं । समाजमा नमूना काम गरेका व्यक्तित्वलाई ल्याएर त्यो प्रशिक्षण चलाउनेछौं । त्यस्तै पढेलेखेका युवाहरु विदेश जानुपर्ने अवस्था छ । त्यसैले उहाँहरुलाई प्रमाणपत्रमात्रै होइन सीप, उद्यममा लगाउने र सक्षम बनाउने काम गर्नेछौं । त्यस्तै स्वस्थ हुनका लागि खेल, योग र व्यायामलाई संस्थागत गर्ने काम गर्नेछौं । खेलमैदान र आवस्यक भौतिक पूर्वाधारको विकास गर्ने, सार्वजनिक जग्गाको पहिचान गरेर खुल्ला व्यायामशाला निर्माण गर्ने योजना हामीले ल्याएका छौं । त्यसैगरी जग्गा व्यवस्थापन भएका टोलहरुलाई भवन निर्माण गर्न वडाबाट वजेटको व्यवस्थापन गर्नेछौ ।

अग्रजहरु हुँदाहुँदै युवा नेतृत्व किन ?
अग्रजहरुको सल्लाह सुझाव लिदै काम गर्ने मेरो योजना छ । पुरानालाई बाहिर राखिएको भन्ने कुरा होइन । मैले एक अवधी सदस्यका रुपमा जे अनुभव गरे अव त्यो भन्दा बढी तिव्रताका साथ काम गर्नेछु । मलाई अग्रजहरुको आशिर्वाद रहेको छ । अवको नेतृत्व युवाहरुले नै हो । यो मैले भनेको होइन । अग्रजहरुले नै भन्नुहुन्छ । किनभने उमेरले जुनखालको क्रियाशीलता चाहिने हो त्यो क्रियाशीलता युवामा हुन्छ । सांसद बनेजस्तो होइन स्थानीय तहको प्रतिनिधि बन्ने कुरा । रात दिन नभनी जनतालाई जतिबेला समस्या पर्छ हाजिर हुनुपर्छ । मेरो पाँच वर्षे अनुभव हो यो । तसर्थ अग्रजहरुले नै युवाहरुलाई अघि सार्नु भएको छ । युवासँग समय छ । युवासँग जोश जाँगर छ । युगअनुसार चल्ने क्षमता छ । प्रविधिसँग खेल्न सक्छ । त्यसो भएर युवाहरुलाई नेतृत्वमा स्थापित गर्नुपर्छ भन्ने हिसावले पार्टीले पनि उम्मेदवार बनाएको छ । यो अभिभारालाई आत्मसात गरेर नेतृत्वका लागि म अघि सरेको छु । अव मतदाताको साथ सहयोगको खाँचो छ । मलाई आशा छ वैशाख ३० गते पुरा हुनेछ ।

अन्त्यमा के भन्नुहुन्छ नि ?
तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ६ महत्वपूर्ण वडा हो । यो बजार क्षेत्र भएको वडा हो । यो वडामा काम गर्नका लागि मैले दिर्घकालिन योजना बनाएको छु । नेकपा एमालेले मात्रै विकास र समृद्धिको नेतृत्व गर्न सक्छ भन्ने कुरा सवैलाई थाहा भइसकेको छ । आम मतदाताले पनि हामीलाई जितको शुभकामना दिइसक्नुभएको छ । मैले विगतमा संचारमा रहेर काम गरें । त्यहाँ रहेर हासिल गरेको अनुभवले पनि काम गर्न निकै सजिलो हुने ठानेको छु । अन्त्यमा मलाई सहयोग गर्ने सवैलाई धन्यवाद ।

एमालेले हार्दा विकास हुन सकेन

 

सुदन केसी
वडाध्यक्षकाउम्मेदवार घोराहीउपमहानगरपालिका– १०

घोराही उपमहानगरपालिकामा दोस्रो ठूलो बजारका रुपमा रहेको नारायणपुरको चुनाव सवैको चासोको विषयका रुपमा रहेको छ । वडा नं. १० मा समाजसेवाको क्षेत्रमा समेत राम्रो पहिचान बनाउनुभएका सुदन केसी वडाध्यक्षको उमेदवार हुनुहुन्छ । निर्वाचनको सन्दर्भमा केसीसंग गरिएको कुराकानी (सम्पादक)

चुनाव निकै नजिक आएको छ तयारी कस्तो छ ?
निर्वाचन आउन अव केही दिन मात्रै छ । हामी निर्वाचनको सन्दर्भमा मतदातासमक्ष पुग्ने काम सकेका छौं । घरदैलो सकिएको छ । विभिन्न स्थानमा दर्जनौं सभाहरु पनि गरिसक्यौं । अव व्यक्तिगत भेटघाटका कामहरु हुनेछन् । हामी हाम्रा मतदातालाई सुरक्षित रुपमा मतदानकेन्द्रसम्म पुराउने योजनामा छौं ।

मतदाताको प्रतिक्रिया कस्तो छ नि ?
वडा नं. १० का सवै मतदाता उत्साहित हुनुहुुन्छ । हामीले मतदातालाई जागृत गराउने कामपनि गरेका छौं । हिजो यस वडामा एमालेका उम्मेदवारले हार्दा जसरी समस्या भयो अव त्यो समस्या फेरि नदोहोर्याउने कुरा गरिरहनुभएको छ । अघिल्लो पटक निर्वाचन हार्दा वडा नं. १० मा हुनुपर्ने जति विकास भएन । विकासको नेतृत् वगर्नेले हार्दा समस्या हुने रहेछ भन्ने कुरा गरिरहनुभएको छ । यसकारणले गर्दा हामी पनि उत्साहित भएका छौं । बृद्ध आमा बुवाहरुदेखि लिएर युवाहरुमा ठूलो उत्साह रहेको छ । नेकपा एमालेले मात्रै बृद्ध बृद्धाको समस्या बुझ्न सक्छ । युवालाई उत्साहित गर्न सक्छ भनेर हामीलाई उत्साहित बनाउनुभएको छ ।

तपाईलाई किन मत दिने त ?
पहिलो कुरा वडाका हरेक गतिविधिमा सुशासन र पारदर्शीता कायम गर्न, पूर्वाधार विकासलाई तीब्रता दिन, सार्वजनिक जमिनको संरक्षण गर्न, जनता नेताको सेवामा होइन जनताको सेवामा लाग्नका लागि हामीलाई मत दिनुपर्छ । अर्को कुरा नारायणपुर क्षेत्रमा रहेर मैले जसरी काम गरिरहेको छु । हिजो गाविस हुँदा पनि म प्रतिनिधिका रुपमा जाने गर्दथे । पछि त्रिपुर नगरपालिका हुँदा पनि मैले विकास निर्माणको नेतृत्व गरेको थिए । नारायणपुर क्षेत्रमा कस्ता विकासका कार्यक्रम अघि बढाउनुपर्नेछ भन्ने कुरा मैले र मेरो पार्टीले राम्रोसंग बुझेको छ । त्यसैगरी वडास्तरीय फोहर संकलन तथा व्यवस्थापन गर्ने काम, युवा रोजगार र हरियाली वडा निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई प्रभावकारी कार्यान्वयन गर्न, विपत राहतकोष स्थापनागर्न, महिलालाई उद्यमशिल बनाउन, नारायणपुर बजारको सुरक्षाका लागि सिसी टिभी जडान गर्न, कौशी खेतीको अवधारणा विकास गर्न, दलित, जनजाति लगायत सिमान्तकृत समुदायको विकासकालागि क्षमता विकास लगायत विशेष कार्यक्रम ल्याएर कामगर्न हामीलाई मतदान गर्नुपर्नेछ ।

वडामा अरु के के कामगर्ने योजना छ ?
वडाको समग्र विकासकालागि हामीले कामगर्नेछौं । अहिले घोराहीबजारबाट फर्किदा नारायणपुरबासीले बसमा सिट नपाउने अवस्था छ । सबै चढेपछि झुण्डीएर, उभिएर यात्रागर्नुपर्ने वाध्यता छ । हामीले यो समस्या तत्काल समाधानगर्नेछौं । नगरबस सञ्चालनगर्ने र वडा नं. १० का वासिन्दालाई पनि आरामदायी सीटमा बसेर यात्रागर्ने वातावरण सिर्जना गर्नेछौं । वडाबाट छनौट हुने पूर्वाधार विकाशका कार्यक्रमहरुलाई १० नंं. वडाका सबै टोलमा समान हिसावले वितरण गर्नेछौं । हरेक टोलबाट वडाको केन्द्र आउने सडक, बाटाहरुलाई हरेक वर्ष प्राथमिकतामा राखेर पालैपालो स्तरोन्नतिगर्ने, वडाका दुर्गम क्षेत्रमा खानेपानी, सिंचाई, बाटो पुर्याउने कामगर्ने र ज्येष्ठ नागरिक, अपाङग र अशक्तहरुलाइ घरमै स्वास्थ्य जाँचको व्यवस्थागर्ने, कृत्रिम जलाशयको निर्माण गर्ने, डावर, लम्डरुवा र अर्घुमा खानेपानी र सिंचाईको व्यवस्थागर्ने काम हामीले गर्नेछौं ।

तर गठवन्धनको चुनौति छ कसरी सामाना गर्नुहुन्छ ?
यतिवेला देशव्यापी रुपमा नेकपा एमालेको पक्षमा माहौल बनेको छ । आम मतदाता नेकपा एमालेको साथमा हुनुहुन्छ । यस्तो बेला मैले त केही नि चुनौती देखेको छैन । केन्द्रबाट लादिएको गठवन्धनले हामीलाई कुनै समस्या पार्न सक्दैन । समर्थक, शुभेच्छुकले पनि गठवन्धन छोडेर एमालेतिर आइरहनुभएको छ । हाम्रो नीति, विचार, कार्यक्रम र विकासको अवधारणालाई पछ्याउने दिन प्रतिदिन बढिरहनुभएको छ । यसर्थ हामीलाई जनताको साथहुँदासम्म कसैको चुनौतिवा समस्याहुदैन । छैन ।

मतदातालाई के भन्न चाहानुहुन्छ ?
०७४ को निर्वाचनमा हामी जनतामाझ जाँदा गरेका बाचा पुरा गर्न पाएनौं । थोरै मतले हामीले हा¥यौ । नेकपा एमालेले हार्दा र अरुले जित्दा के हुने रहेछ भन्ने कुरा यहाँका मतदाताले राम्रोसंग बुझ्नुभएको छ । जनताले एमालेले हार्दा समस्या भोग्नुपर्ने रहेछ । अरुले विकासका कुरा मात्रै गर्दोरहेछन नेकपा एमालेले मात्रै विकास र समृद्धिलाई अघि बढाउँदो रहेछ भन्ने स्पष्ट भइसकेको छ । विगतमा नेकपा एमालेको प्रभाव रहेको वडाका टोलमा छानी छानी बजेट रोक्ने कामभएको छ । विभेद गरिएको छ । तर हामी आउँदा वडावासी कसैलाई पनि विभेद गर्नेछैनौं । समान हिसावले अभिभावकत्व प्रदानगर्ने र यस वडाको विकासमाहामी रातदिन खट्नेछौं । वडावासीलाई थाहै छ । हामी पराजित भएर भागेनौं । जनताकै सेवामा थियौं । अव जितेर पनि २४ सै घण्टा सेवामा खट्नेछौ । त्यसकालागि एमालेका उम्मेदवारहरुलाई विजय गराउनुहुनेछ भन्ने हाम्रो विश्वास छ ।

एमालेलाई जिताउन मतदाता आतुर छन् –पोख्रेल

जगतप्रसाद पोख्रेल
अध्यक्ष पदका उम्मेदवार
नेकपा एमाले, राप्ती गाउँपालिका

जगत प्रसाद पोखरेल समाजसेवा र व्यवसायीको क्षेत्रमा परिचित नाम हो । राजनीति भन्दा केही टाढा रहेर व्यावसायिक यात्रामा रहनुभएका पोखरेल यतिवेला राप्ती गाउँपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्ष पदको उमेदवार बन्नुभएको छ । व्यावसायिक रुपमा राम्रो छवि बनाउनुभएका पोखरेलसंग निर्वाचनको सन्दर्भमा गरिएको कुराकानी प्रस्तुत छ ।(सम्पादक)

निर्वाचन नजिक आएको छ प्रचार प्रसार कसरी चलिरहेको छ ?
निर्वाचन नजिक हुँदै जाँदा प्रचार प्रसारलाई व्यापक बनाएका छौं । घरदैलो अभियान र विभिन्न स्थानमा भेला सभा गर्ने काम गरिरहेका छौं । पहिलो चरणमा हामीले घरदैलो अभियान थाल्यौं यो अव अन्तिम चरणमा पुगेको छ । यसपछि अलि मसिनोगरी दोस्रो चरणको घरदैलो अभियान गर्दैछौं । मतदाता संग भेट गर्ने, उहाँहरुका कुराहरु सुन्ने काम भइरहेको छ ।

कस्तो छ माहौल ?
पाँच बर्ष पछि भइरहेको निर्वाचनले सबै क्षेत्रमा उत्साह थपेको छ । प्रचार अभियान लगेर जाँदा मतदाताले अत्यन्त राम्रो समर्थन गर्नुभएको छ । वडा वडामा राम्रो प्रतिक्रिया आइरहेको छ । कार्यकर्ताको परिचालन अत्यन्त व्यवस्थित तरिकाले गरेका छौं । हामीले टोल कमिटी समेत बनाएर प्रचार अभियान चलाएका छौं । निर्वाचनमा मत माग्न जाँदा हामीलाई निकै आम मतदाताको आर्शिवाद रहेको छ । जहाँ जहाँ पुगेका छौं त्यहा सवैले हामीलाई राम्रो सल्लाह, सुझाव र प्रतिक्रिया दिनुभएको छ ।

तपाई त व्यावसायिक क्षेत्रमा क्रियाशिल हुनुहुुन्थ्यो निर्वाचनमा जाँदा कस्तो लागिरहेको छ त ?
म व्यावसायिक क्षेत्रमा रहेको भएपनि निर्वाचन त त्यहाँ पनि हुन्थ्यो । व्यावसायिक रुपमा भएको निर्वाचनमा पनि जितेर आएको व्यक्ति हुँ म । जहाँसम्म राजनीतिको कुरा छ म नेकपा एमालेमा थिएन तर अर्को दलमा थिए । जुन दलमा रहेको भएपनि म जनताको बीचमा थिए । समाजका लागि आवश्यक पर्ने विषयमै थिए । म जहिले पनि जनताको बीचमा थिए भन्ने कुरा बुझ्नुपर्छ । मैले राजनीतिक दलको कार्यकर्ताका रुपमा निर्वाचन पहिलो भएपनि निर्वाचनका हिसावले यो पहिलो होइन । म आफै उत्साहित भएको छु । कार्यकर्ता र मतदाताको सक्रृयताले थप उत्साहित बनाएको छ ।

निर्वाचनको प्रचारमा जाँदा तपाईका एजेण्डा के कस्ता छन ?
पहिलो कुरा त राप्ती गाउँपालिका लुम्विनी प्रदेशको राजधानी क्षेत्रका रुपमा रहेको छ । यसकारणले गर्दा राजधानी रहेको गाउँपालिकाको प्रमुख यसको नेतृत् वगर्न सक्ने हुनुपर्छ । दाङमा राजधानी ल्याउनका लागि पहल गर्ने नेकपा एमाले थियो भन्ने कुरा दुनियालाई थाहा छ । अव म नेकपा एमालेमा रहेर राप्ती गाउँपालिकालाई राजधानी क्षेत्रका रुपमा समृद्ध रुपमा अघि बढाउन चाहन्छौं । हाम्रो पहिलो प्राथमिकता हो । हामी सुन्दर राप्ती गाउँपालिकालाई सबै क्षेत्रमा समृद्ध बनाउन चाहन्छौं । आधारभुत सेवा सुविधाको सहज वितरण र सेवा प्रदान गर्दै समृद्ध राप्तीको योजना निर्माण गरेर कार्यान्वयनमा लग्ने योजना बनाएका छौं । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्र भएकाले पनि यस पालिकामा सञ्चालन हुने योजना महत्वपूर्ण र उपलब्धी मुलक हुने छन् । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले सम्पन्न गरेको गुरुयोजनालाई आधार मानेर हामीले पालिका तहबाट त्यस अनुरुप पालिका तहबाट सञ्चालन गरिने योजनाहरु अघि सार्ने छौं ।

राप्तीमा के कस्ता समस्याहरु रहेका छन् ?
हाम्रो के दावी छ भने विगतमा राप्तीमा हुनुपर्ने जति विकास भएन । राप्ती सम्भावना भएको पालिका हो तर अव हाम्रो दावी के छ भने राप्ती गाउँपालिकाबासीले विगतका जस्ता समस्या भोग्नुपर्ने छैन् । पालिकाले प्रदान गर्ने सेवा सुविधा चुस्त र छिटो छरीताको साथै आवश्यकतामा आधारित योजनाहरु तर्जुमा गर्ने कुरा पहिलो आवश्यकता हो । हामीले यसपालीको निर्वाचनको सोच जनताको आर्थिक सवलताका लागि योजना वद्ध पुर्वाधार निर्माण÷उत्पादकत्वमा बृद्धि तथा सुशासन युक्त संस्थागत विकास गर्दै स्वीकृत गुरु योजना बमोजिमको नमुना प्रदेश राजधानी निर्माण गरी प्रभावकारी सेवा संचालन गराइ सुन्दर शहर स्थापनाको गर्नेछौं ।

निर्वाचनमा मुख्य मुद्दाहरु के छन ?
राजधानी क्षेत्रको गुरु योजना बमोजिमको प्रदेश राजधानी निर्माण गरी नागरिक सेवा संचालन गर्नुपर्ने हाम्रो पहिलो मुद्दा रहेको छ । अव राजधानी क्षेत्रको पूर्वाधार विकासका लागि काम गर्नुपर्नेछ । अर्को कुरा राप्ती गाउँपालिकाका सम्पुर्ण गरिखाने बर्गका लागि आर्थिक सामाजिक सवलताका लागि स्वरोजगार र उद्यमसिलताका कार्यक्रम संचालन गर्नुपर्नेछ । गाउँपालिकास्तरवाट प्रवाह हुने सेवा र नागरिक सहभागितालाई जनमैत्री तथा प्रविधियुक्त बनाइ सुशासन र पारदर्शिता कायम गरी स्थानीय सरकारले जनतामा सरकारको अनुभुति प्रदान गराउने योजना हाम्रो छ । पालिकाका लागि विनियोजन गरिने बजेटमध्य ३५% आर्थिक विकास, ३०% पुर्वाधार विकास, २०% सामाजिक विकास र १५% बजेट संस्थागत सुशासन र विकासमा बजेट बिनियोजन गर्ने नीतिका साथ अघि बढ्नेछौं ।

निर्वाचनको सन्दर्भमा धेरै आश्वासनहरु आउँछन् कार्यान्वयन होला त ?
राप्तीको आर्थिक विकासको लागि ‘जनताको आर्थिक सवलता राप्ति गाउँपालिको अव्वलता’ भन्ने मुल नारा तय गरेका छौं । हामीले जे जस्ता योजना अघि सारेका छौं यि योजना कार्यान्वयन हुन नसक्ने खालका छैनन् । हामीले आश्वासन दिने मात्रै गर्दैनौ पुरा हुने कुरा गर्दछौं । हामीले स्वास्थ्य सेवाको सुधारको कुरा गरेका छौं । पालिकालाई तरकारी, माछामासु, दुध र फलफुल उत्पादन बृद्धिकालागि एक वडा एक पकेट क्षेत्र निर्धारण गरी किसानसँग कृषि प्राविधिक कार्यक्रम लागु गराइ उत्पादनमा अनुदान कार्यक्रम संचालन गर्ने योजना बनाएका छौं यो कसरी आश्वासन मात्रै भयो । हामीले आश्वासन होइन यथार्थ कुराहरु राखेका छौं ।

तपाईका एजेण्डा त धेरै राख्नुभएको छ कार्यान्वयनमा आउछन् त ?
मैले अघि सारेका कुराहरु मध्य धेरै कुराहरु छुटेका पनि छन् । हामीले चुनावी घोषणा पत्रमा धेरै बिषयहरु समेटेका छौं । यि बिषयहरु समेट्नको लागी मात्रै समेटिएको होइन, हामीले समेटेका बिषयहरु स्थानीय सरकारले कार्यान्वयन गर्न सक्ने बिषयहरु छन् । हामीले हाम्रो पालिकालाई सुन्दर बनाउनको लागि विनिन्न योजना बनाएका छौं । गर्न नसकिने भन्ने कुरानै छैन् । हामीले कार्यान्वयन गरेर देखाउछौं । त्यसकारणले हामीले यो बिषयहरुलाई प्राथमिकताका साथ समेटेका हौं । हामीले राखेका एजेण्डाहरु बस्तुनिष्ठ रहेका छन् । सत्यमा आधारित छन । धेरै छलफल गरेर अघि बढाएका छौं ।

तपाइले चुनाव जित्ने आधार के ?
हामीले निर्वाचन जितिसकेको आभाष भएको छ । नेकपा एमालेले विगतमा गरेका काम र आगामी दिनमा गर्ने योजनाहरु नै हामीले चुनाव जित्ने आधारहरु हुन् । अर्को कुरा हामीले जनतालाई विश्वास गरेका छौं । जुन विश्वास हामीले प्राप्त गर्दैछौं । लुम्बिनी प्रदेशको स्थायी राजधानी जसरी यहाँ आईपुगेका छ । यो राजधानीलाई व्यवस्थापन गर्ने जिम्मेवारी हामीहरुले लिन चाहन्छौं । सुन्दर राप्ती गाउँपालिका बनाउने चाहनाका साथ हामीले घोषणापत्र तयार पारेका छौं । सबै हिसावले मतदाताको विश्वासनै हाम्रो चुनाव जीत्ने आधार हो ।

अन्त्यमा के भन्नुहुुन्छ ?
राप्ती गाउँपालिका भनेको साविक राप्तीको द्वारका रुपमा रहेको छ । यहाँको विकासले अन्य क्षेत्रको विकासको नेतृत् वगर्न सक्छ । अर्को कुरा राप्ती राजधानी क्षेत्र हो । राजधानी क्षेत्रका रुपमा रहेको राप्ती गाउँपालिकाको समग्र विकासका लागि हामी काम गर्न चाहन्छौं । यसमा जनताको पनि साथ रहेको छ । निर्वाचनको सन्दर्भमा मात्रै होइन हामी जहिले पनि जनताको बीचमा थियौं । जनता बैशाख ३० गते कहिले आउला र नेकपा एमालेलाई जिताउन पाइएला भनेर आतुर हुुनुहुन्छ । जनताको विश्वासको जगमा हामी अघि बढीरहेका छौं । जनतालाई निरास हुन दिने छैनौं ।

ववईको विकासका लागि अपरिहार्य भुवनेश्वर

ववईको विकासका लागि किन भुवनेश्वर चाहन्छन मतदाताहरु

राप्ती पोष्ट

दाङ, बैशाख । नेकपा एमालेले २०७४ सालमा दाङका छ वटा पालिकामा जित हासिल गरेको थियो । छ वटा पालिकामा जित निकाल्दा सवैभन्दा सानदार मतका साथ जित हासिल गरेको पालिका थियो ववई गाउँपालिका । त्यहि बवई गाउँपालिकामा अध्यक्षको रुपमा उमेदवार बन्नुभएको थियो भुवनेश्वर पौडेल । भुवनेश्वर पौडेल ववईका लागि त्यतिवेला नौलो नाम थिएन । कतै कुनै समस्या परेको अवस्थामा सवैले सँझने नाम थियो उहाँको । कतै बाढी पस्यो, कतै कटान भयो । कतै पैह्रो गयो । कतै कुनै विपत्ती आइलाग्यो भने सवैले भुवनेश्वरलाई सँझन्थे । गाउँघरमा बसेर सवैका लागि काम गरेका कारणले नै उहाँलाई जितको नजिक पु¥यायो । अहिले उहाँले पुनः उमेदवारी पाउनुभएको छ । जितेका छवटा पालिका मध्य प्रमुख दोहो¥याउने तीनवटा पालिकामध्य ववई पनि एक हो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बबई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि उहाँले ववईमा विकासको लहर ल्याउनका लागि भूमिका खेल्नुभयो । दाङको कर्णालीका रुपमा भनिने ववईलाई विकासको मुलप्रवाहमा ल्याउनका लागि भुवनेश्वरको टिमले भूमिका खेल्यो । भुवनेश्वरका पालामा भएका धेरै कामहरु छन् । उहाँले बाटो घाटो विस्तारमा गरेको काम, विद्युत विस्तारका लागि गरेका काम, लालपुर्जा वितरणका लागि गरेको काम, शिक्षाको क्षेत्रमा गरेको काम पछिसम्मका लागि सँझना रहनेछन् । पाँच बर्षको अवधिमा गर्न बाँकी कतिपय कामहरुलाई पुरा गर्नका लागि भनेर भुवनेश्वर पुनः उमेदवार बन्नुभएको छ । अझै एक अवधि काम गरेर ववईलाई विकासको रफ्तारमा अघि बढाउने योजना उहाँ सुनाउनुहुन्छ ।

ववईबाट करिब २३ किलोमिटरको दुरीमा रहेको गँगटेमा विद्युत पु¥याउने कुरा चानचुने कुरा थिएन् । त्यतिवेला कतिपय काम गर्न खोज्दा केही मानिसले भुवनेश्वर बहुलायो । नहुने काम गर्न थाल्यो । वन क्षेत्र छिचोल्दै दुगर्म बस्ती गङटेमा विद्युत पु¥याउने काम असंभव हो भन्नेहरु थिए तर उहाँले त्यो काम गर्नुभयो । ववईमा रहेको जनकल्याण माध्यमिक विद्यालय पदमपुरमा कृषि प्राविधिक विषय पढ्न पाउने व्यवस्था गर्न सफल हुनुभयो । पालिकाका कयौं बाटाहरु कालोपत्रे भएका छन् र हुँदैछन् । साच्चिकै भुवनेश्वरले पाँच बर्षमा विकासको जग बसालेको भन्ने देखिएको छ ।

जनताको काम गर्दा कयौं पटक भोकै पेट सुत्नु परेको छ । कयौं पटक धम्की खानु परेको छ । तर उहाँले कुनै कुरा प्रवाह गर्नुभएन । साविक पुरन्धारा नेकपा गाउँ कमिटीको अध्यक्ष हुँदै जिल्ला कमिटी सदस्य भएर जनताको बीचमा काम गर्नुभयो । उहाँ जिल्ला कमिटीमा पुगेर फेरि गाउँ पार्टीमा फर्कदा धेरैले भुवनेश्वरले के गरेको होला यस्तो सम् मभने । तर उहाँले अरुले के भन्छन भन्ने कुराको प्रवाह नगरेर काम गर्नुभयो । २०७४ सालको निर्वाचनमा उहाँ अध्यक्षमा उठ्नुभयो । जनताको अपार माया पाउनुभयो ।

भुवनेश्वरलाई राम्रोसंग अभाव के हो भन्ने थाहा छ । गरिबी के हो भन्ने पनि थाहा छ । विकासका लागि जनतालाई कसरी परिचालन गर्नुपर्छ भन्ने पनि थाहा छ । आफ्नो घरायसी काम गर्नका लागि समय मिलाउँदै, पालिकामा पुगेर काम गर्ने र जनताको सुख दुखमा सहभागि हुने उहाँको दैनिकी हो । श्रम गर्दा लाज मान्नुहुँदैन भन्ने उहाँको मान्यता छ । दुई बर्ष अघि कोरोना कहरको बेलामा पीडितका घरमा आफै पुगेर उपचारका लागि लैजानेसम्मको काम उहाँले गर्नुभयो । भुवनेश्वरको सक्रियता देखेर धेरैले भन्थे जनप्रतिनिधि हुनु त भुवनेश्वर जस्तो ।

जनताको मनमा बस्न सफल भुवनेश्वर पुनः एक पटक गाउँपालिकाको अध्यक्षमा उमेदवार बन्नुभएको छ । २०७४ सालमा निर्वाचित भएपछि केही समय कानुन निर्माणमै बित्यो त्यति मात्रै होइन कोरोना संक्रमणले करिब तीन वर्ष देशमा सन्नाटा छायो । पालिकामा अनेकौं रामा कामहरु भए । काम गर्दा गर्दै निर्वाचन आयो । ववईले विकासका लागि फेरि भुवनेश्वरलाई खोजेको छ ।

बबईमा विकासको जग बनिसकेको छ अव घर निर्माण गर्नुछ । शिक्षाको क्षेत्रमा काम गर्नुछ । पूर्वाधार निर्माणका लागि काम गर्नुछ । स्वास्थ्यको क्षेत्रमा काम गर्नुछ । गरीव, विपन्न समुदायका बालबालिकाहरुका लागि आवासीय विद्यालयको व्यवस्था गर्नुपर्छ । प्रत्येक घरमा खानेपानी, गाउँमै उद्यमका अवसरहरु दिलाउनुपर्छ । ट्वाङ खोला र च्याटी खोलामा ड्याम बनाएर बबईलाई बाह्रै महिना हरियाली बनाउनुछ । बजार विस्तार हुँदै गएको हापुरेमा सुरक्षा व्यवस्था मजबुत र व्यवस्थित शहरीकरणको अवधारणा अघि सार्नुछ । यहाँका अधिकाशं युवाहरु भारतसहित तेस्रो मुलुकतर्फ आकर्षित भइरहेका छन् । यहाँको पानी र जवानीलाई यही खर्चिने व्यवस्था गर्नुपर्छ । ठुला सपना होइन साना र सुन्दर सपनाबाटै बबईको मुहान फेरिनुपर्छ भन्ने मान्यताका साथ भुवनेश्वर पुनः निर्वाचनको मैदानमा हुनुहुन्छ ।

निर्वाचनमा प्रतिष्पर्धी को छन ? भन्ने बारेमा उहाँलाई कुनै चासो छैन । ववईको विकासका लागि निर्विकल्प विकल्पका रुपमा भुवनेश्वरलाई यहाँका नागरिकले खोजिरहेका छन् । साविक पुरन्धारा र पञ्चकुले गाविसलाई मिलाएर बनाइएको ववई गाउँपालिकामा रहेका अनेकन सम्भावना उजागर गर्नुछ । ववईमा रहेको झरनालाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचित गराउनुछ । यहाँ रहेका गुफाहरुको प्रचार प्रसार गर्नुछ । पर्यटकिय गन्तव्यका रुपमा ववईलाई चिनाउनुछ । बंगलाचुली भएर बगेको ववई नदीमा अनेकन सम्भावनाहरु खोज्नुछ । ववई गाउँपालिकालाई जिल्लाकै मात्र होइन देशकै नमूना पालिकाका रुपमा विकास गर्नुछ । ववईको विकासका लागि निर्विकल्प विकल्पका रुपमा अघि आउनुभएका भुवनेश्वर पुनः एकपटक जनताको बीचमा जानुभएको छ । जनताले गर्ने फैसला आफ्ना लागि मान्य हुने उहाँको भनाई छ । अघिल्लो पटकको भन्दा पनि अझ धेरै मतका साथ जित्ने योजनाका साथ निर्वाचनमा होमिएको उहाँ बताउनुहुुन्छ । ववईमा यस अघि उपाध्यक्ष रुपमा रहेर सफल नेतृत्व गर्नुभएकी सावित्रा विश्वकर्मा नै उपाध्यक्षको उमेदवार बन्नुभएको छ । यस अघि भएको निर्वाचनमा ववईका सात वडामध्य पाँच अध्यक्ष पनि एमालेले जितेको थियो ।

गठवन्धनले महिलालाई पुरै उपेक्षा गरेको छ ।

स्यानी चौधरी
उपप्रमुखको उमेदवार तुलसीपुर उपमहानगरपालिका नेकपा एमाले

कुनै बेला थियो छोरीहरुले पढ्न पाउँदैनथे । त्यसमापनि थारु समुदायमा छोरीहरुले पढ्ने कुरा निकै टाढाको कुरा थियो । छोरीले पढ्नु हुँदैन भन्ने सोचाईलाई तोड्दै र संघर्ष गर्दै आफूलाई अव्वल सावित गर्ने अभियन्ताको नाम हो स्यानी चौधरी । अनेकन अन्धविश्वास र गलत मान्यतालाई छिचोल्दै स्यानीले विद्यालय शिक्षा पुरा गर्नुभयो । एसएलसी उत्तीर्णसँगै स्यानीले जापान, अमेरिका र डेनमार्कमा छात्रवृत्तिमा पढ्ने अवसर पाउनुभयो । राजनीति शास्त्र र समाज शास्त्रमा एमए गर्नुभएकी चौधरीलाई अहिले नेकपा एमालेले तुलसीपुर उपमहानरपालिकामा उपमेयरको उम्मेदवार बनाएको छ । प्रस्तुत छ चौधरीसँग गरिएको कुराकानी । (सम्पादक)

निर्वाचन नजिक आएको छ प्रचार प्रसार कस्तो चलिरहेको छ ?
निर्वाचन नजिक आएको छ । हामी प्रचार प्रसारमा जुटिरहेका छौं । यतिवेला जनताको घरमा पुग्ने, मत माग्ने, एजेण्डा सुनाउने गरिरहेका छौं । पार्टीका कमिटी सभा, वैठक, भेला पनि चलिरहेका छन । विहानदेखि साँझैसम्म व्यवस्थितरुपले प्रचार प्रसार, मतदाता भेटघाट र दिनभरी भएका गतिविधिको विषयमा साँझ समीक्षा पनि हुँदै आएको छ ।
तुलसीपुरमा एक्कासी उपमेयरमा उम्मेदवारी दिने अवसर पाउनुभयो भनिन्छ नि ?
यस्तो होइन । वास्तवमा म जीवनमा धेरै संघर्ष गरेर यहाँसम्म आइपुगेको हुँ । खासगरी यस क्षेत्रका दिदी वहिनीहरुको नेतृत्व विकास, क्षमता विकासमा मैले लामो समय काम गरे । सामाजिक क्षेत्रमा लामो समय काम गरेपछि यसलाई अझ व्यापक बनाउन स्थानीय सरकारको नेतृत्वका लागि मेरो उम्मेदवारी हो । सरकार राम्रो हुनका लागि नेतृत्व राम्रो हुनुपर्छ । त्यो हैसियत लामो समय सामाजिक क्षेत्रमा काम गरेको अनुभवले समग्र नगरबासीको काम गर्न मैले उम्मेदवारी दिएको हुँ । पार्टीले मलाई विश्वास गरेर नेतृत्वका लागि अवसर दिएको छ । यो अवसरलाई मैले उपयोग गरेर आम मतदाताको विश्वास जित्नेछु । पाँच बर्षसम्म केही राम्रा काम गरेर देखाउनेछु । मैले पाएको उमेदवारी तमाम महिलाहरुको प्रतिनिधित्व हो ।
चुनावमा कस्ता योजना लगेर गइरहनुभएको छ ?
तुलसीपुरलाई नमूना उपमहानगरपालिका बनाउने पहिलो शर्त हो । त्यसैले हाम्रो ध्यान सरकारी तवरबाट दिइने सेवा सुविधालाई छिटो छरितो र नागरिकमैत्री बनाउनु रहनेछ । सरकारी सेवा प्रवाहमा सुधार गर्ने कुरामा हाम्रो पहिलो ध्यान जानेछ । यस्तै साना जस्ता लाग्ने तर जनताको सेवामा तिनै साना साना सुधारका काम गर्न सकियो भने सेवा प्रवाहमा सहजता ल्याउन सकिने थुप्रै काम गर्न सकिन्छ भन्ने मलाई लाग्छ । मैले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा हासिल गरेको अनुभवले नागरिक सेवामा परिवर्तन ल्याउनुपर्छ भन्ने लागेको छ । यस्तै किशोरी शिक्षा, सडक बालवालिकाको संरक्षण गर्न सकिन्छ । यही कुरा मैले व्यक्तिगतरुपमा गरिरहेको छु । २४ जना त्यस्ता वालवालिकाहरुलाई मैले संरक्षण गरिरहेकी छु । तर, स्थानीय तहको नेतृत्व गर्ने अवसर मिल्यो भने सबै महिला, बालबालिका, नगरबासी दाजुभाइ दिदीबहिनी, वर्ग, समुदायको संरक्षण, सेवामा लाग्नेछु । त्यसैगरी गुणस्तीय शिक्षाका लागि काम गर्ने र हरेक बालबालिकाहरूलाई यो देशको सक्षम नागरिक बनाउने योजना छ । त्यस्तै सडक मानवमुक्त बनाउन घरवास नभएका असहाय, हिंसापीडितहरुलाई सुरक्षित आवासको व्यवस्था गर्ने, ज्येष्ठ नागरिकहरुको संरक्षण, सरकारी विद्यालयमा शैक्षिक गुणस्तर बढाउन स्थानीय सरकारको लगानीलाई ध्यान दिने र हरेक नागरिकहरुलाई सक्षम बनाएर यही देशमा केही गर्न सक्ने वातावरण सिर्जना गर्ने योजना छ ।
अरुले उठाएका भन्दा फरक योजना के छन नि ?
पहिलो कुरा त म आधा भन्दा बढी जनसंख्या रहेको महिलाको प्रतिनिधि हुँ । त्यसो भएर जसरी आमाले परिवारमा समभाव राखेर मातृत्व प्रदान गर्नुहुन्छ त्यसैगरी मैले उपमहानगरवासीको विकासमा आग्रहपूर्वाग्रह नराखेर काम गर्नेछु । नेतृत्व प्रदान गर्नेछु । मलाई जापान, अमेरिका, डेनमार्कलगायत विकसित देशहरुको सुशासन, विकासको अनुभव छ । त्यो अनुभवलाई यो उपमहानगरको विकासका लागि आम नगरबासीको सुझावका आधारमा काम गर्ने र सुशासनयुक्त प्रणालीको विकास गर्ने काम मैले गर्नेछु ।
एकातिर पाँच दलिय गठबन्धन छ, अर्कोतिर तपाईहरु एक्लै निर्वाचनमा गइरहनुभएको छ कसरी सामना गर्नुहुन्छ ?
मलाई त त्यस्तो लाग्दैन । गठवन्धनले महिला प्रतिनिधित्वलाई बेवास्ता गरेको छ । यो कुरामा सवै महिलाई सचेत हुनुहुन्छ । संविधानले नै प्रमुख दुई पदमा एकजना महिलाको उमेदवारी हुनुपर्छ भनेको छ । अहिले गठवन्धनले महिलालाई पुरै उपेक्षा गरेको छ । म आम नगरबासीको साझा उम्मेदवार हुँ । एमालेले मलाई टिकट दिए पनि उपमेयरमा महिला उम्मेदवार म नै हुँ । आम नगरवासीको साझा उम्मेदवार भएकाले मलाई चुनौती होइन अझ सहज भएको छ ।
उपमेयरको काँधमा परिभाषित जिम्मेवारीहरु रहेका छन् कसरी दायित्व पूरा गर्नहुन्छ ?
संविधानले दिएको जिम्मेवारी पूरा गर्ने आँटका साथ चनुावी मैदानमा छु । मलाई किन पनि सजिलो छ भने हिंसामा परेका महिला, बालवालिकालगायत आम नागरिकहरुको सेवामा यसअघि नै मैले झण्डै ३० वर्ष गुजारेको छु । यसर्थ मलाई न्याय निरुपणमा गाह्रो हुने छैन । मुख्य त नेतृत्व गर्ने कुरा हो । पीडितहरूको न्यायका लागि काम गर्न सक्षम छु । मैले यो जिम्मेवारीलाई समाज सेवाकै रुपमा लिएको छु । यो सेवा गर्ने अवसर आम नगरवासीहरूले दिनुहुनेछ भन्ने विश्वास छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
मलाई नेकपा एमालेले विश्वास गरेर उपप्रमुख पदमा उमेदवार बनाएको छ । यो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नसक्छु भन्ने विश्वास छ । आम मतदाताहरु सचेत हुनुहुन्छ । कसले विकास र समृद्धिको नेतृत्व गर्न सक्छ भन्ने बारेमा सवैलाई थाहा भइरहेको छ । नेकपा एमालेले मात्रै सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्न सक्छ । यसर्थ यहि बैशाखको ३० गतेका दिन हुने निर्वाचनमा म लगायत नेकपा एमालेका सूर्यध्वजावाहक उमेदवारलाई विजयी गराउनुहुन आह्वान गर्दछु ।

 

हाम्रो जित निश्चित भइसकेको छ

विष्णुबहादुर केसी
अध्यक्षका उमेदवार, शान्तिनगर गाउँपालिका नेकपा एमाले

देशका सवै पालिकामा जस्तै पश्चिम दाङको शान्तिनगर गाउँपालिकामा पनि निर्वाचनको माहौल तिव्र बनेको छ । यसपटक पहिलेको भन्दा आफ्नो स्थिति राम्रो बनाएको भन्दै नेकपा एमालेबाट उमेदवार बन्नुभएका विष्णु केसी निर्वाचनमा होमिनुभएको छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा होमिनुभएका केसीसंग निर्वाचन अभियानका बारेमा गरिएको कुराकानी ।(सम्पादक)

निर्वाचनको अभियान कसरी चलिरहेको छ ?

निर्वाचनको अभियान स्वस्थ, स्वच्छ र मैत्रिपूर्ण रुपमा चलिरहेको छ । निर्वाचनको अभियानलाई हामीले घरदैलो र सभामा केन्द्रित गरेका छौं । निर्वाचनको मिति जति नजिक आउँदैछ त्यति सवैको चासो बढेर गएकोछ । निर्वाचनलाई भयरहित बनाउने, बढी भन्दा बढीलाई मतदानस्थलसम्म ल्याउने, निर्वाचनमा मतदान कसरी गर्ने भन्ने बारेमा पनि सिकाइरहेका छौं ।

यसपटक के विषय उठाउनुभएको छ ?
विकशित समृद्ध शान्तिनगर, नेकपा एमालेको अभियान भन्ने नाराका साथ हामी जनताको बीचमा गएका छौं । शान्तिनगर प्रचुर सम्भावना बोकेको पालिका हो । यहाँ सम्भावना भएर पनि त्यसको उपयोग हुन सकेको छैन । शान्तिनगर गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने अभियान हाम्रो हुनेछ । यस्तै अघिल्लो निर्वाचनमा हामीले अवसर नपाउँदा शान्तिनगर विकास र समृद्धिको दिशामा अघि बढ्न सकेन । गाउँपालिकामा अनेकन समस्याहरु रहेका छन् । स्वास्थ्यको कुरा गर्ने हो भने एउटा अस्पताल छैन । राम्रो विद्यालय छैन । बाटो घाटोको अवस्था अन्य पालिकाभन्दा कमजोर रहेको छ । हामीले यस पटक शान्तिनगर गाउँपालिकालाई कसरी अघि बढाउने भन्ने बारेमा गम्भिर छलफल गरेका छौं ।

सम्भावनाको कुरा गर्नुभयो यहाँ के कस्ता सम्भावना छन् ?
शान्तिनगर गाउँपालिकामा ऐतिहासिक÷सांस्कृतिक÷धार्मिक÷ र पर्या पर्यटनका हिसावले उत्कृष्ठ रहेको छ । यहाँ कृषिको राम्रो सम्भावना रहेको छ । खेतीपातीका लागि राम्रो रहेको छ । फलफूल उत्पादन गर्न सकिने अवस्था छ । पशुपालनका लागि निकै राम्रो रहेको छ । हामीले गाउँपालिकाका तर्फबाट किसानलाई सहयोग गर्न सक्ने हो भने शान्तिनगरमा निकै राम्रो हुने थियो । सिचाईको व्यवस्था गर्न सक्ने हो भने उत्पादन बढाउन सकिन्छ । हामीकहाँ काम गर्छु भन्नेले पनि अवसर पाएका छैनन् । सुविधा पाएका छैनन् ।

शान्तिनगरमा समस्याहरु के कस्ता छन त ?
शान्तिनगर गाउँपालिकामा शिक्षाको अवस्था कमजोर रहेको छ । शिक्षामा लगानी गरिएको छैन । पालिकामा एउटा पनि प्राविधिक शिक्षालय रहेको छैन । स्वास्थ्यको कुरा गर्ने हो भने ठूलो समस्या छ । एउटा राम्रो अस्पताल रहेको छैन । भएको स्वास्थ्य संस्थामा राम्रो सुविधा रहेको छैन । पालिकामा राम्रो स्वास्थ्य संस्था नहुँदा दुःख हुने रहेछ भन्ने कुरा केही बर्ष अघि झाडा पखालाको महामारी फैलिएको कुरालाई लिन सकिन्छ । संचारको कुरा गर्नुहुन्छ भने अहिले गाउँपालिका रहेको क्षेत्रमा फोनले काम गर्दैन । संचारका लागि विभिन्न स्थानमा टावरहरु राख्नुपर्ने छ । विभिन्न गाउँ बस्तीमा विद्युत पुगेको छैन । विद्युत पु¥याउनुपर्नेछ ।

गठवन्धनको कुरा पनि सुनिन्छ यहाँ के अवस्था छ ?
यहाँ गठवन्धन छैन । सवै दलका उमेदवारहरु निर्वाचनको मैदानमा रहेका छन् । पहिलो कुरा गठवन्धन भएपनि हामीलाई केहि फरक पर्नेवाला थिएन । अर्को कुरा यहाँ गठवन्धन नै छैन । यो गठवन्धनको अर्थ पनि छैन । स्थानीय तहको निर्वाचनमा गठवन्धन गरिएको कसैलाई चित्त बुझेको पनि छैन । गठवन्धन भएपनि हामी सामना गर्नेवाला थियौं । यहाँ गठवन्धन छैन । नेकपा एमालेको पक्षमा जनलहर उर्लिएको छ । अरुले के गरेका छन् । कसरी गरेका छन् यो कुरामा हामीले चासो दिएका पनि छैनौ ।

तपाईले जित्ने आधारहरु के छन् ?
शान्तिनगर गाउँपालिकाको विकासका लागि नेकपा एमालेले नेतृत् वगर्न सक्छ भन्ने कुरामा गाउँबासी विश्वस्त हुनुुहुन्छ । विगतमा हामीले जितको परिणाम हासिल गर्न सकेनौं । जसले गर्दा शान्तिनगर विकासका हिसावले पछि प¥यो । शान्तिनगरमा हुनुपर्ने काम भएन । अव हामीले नेतृत्व लिएर शान्तिनगरपालिकालाई तिव्र विकासको गतीमामा अघि बढाउनेछौं । हामी जसरी आम मतदाताको बीचमा गइरहेका छौं त्यहाँ जाँदा हामीले जित हासिल गरिसकेको अवस्था छ । सवैतिर उत्साह छ । उमङ्ग छ । नेकपा एमालेको पक्षमा माहौल रहेको छ । निर्वाचन भएको छैन तर जितिसकेको अवस्था रहेको छ । मतदाताले यति उर्जा हामीलाई दिनुभएको छ कि निर्वाचनको दिन कुर्न मात्रै बाँकी छ ।

शान्तिनगर गाउँपालिकामा विकासका लागि तत्कालै गर्ने काम के छन ?
शान्तिनगरबाट रोल्पा जोडिएको छ । यहाँबाट रोल्पा जोड्ने नाका खोल्न सकियो भने शान्तिनगरको विकासका लागि कोशेढुङ्गा हुन सक्छ । पश्चिम दाङका तीनवटा पालिकामध्य शान्तिनगर गाउँपालिकाको विकासका लागि धेरै काम गर्नुपर्ने छ । तुलसीपुरबाट पश्चिम जाने हो भने शान्तिनगर आउने बाटोमा कुनै खोलामा पुल छैनन् । जनप्रतिनिधिहरुले पहल गरेको भए हुन सक्थ्यो भन्ने हामीलाई लाग्छ । शान्तिनगर गाउँपालिकाको विकासका लागि यहाँका बुद्धिजिविहरु, यहाँका शिक्षकहरु, यहाँको नागरिक समाज सवैसंग मिलेर जाने योजना हाम्रो रहेको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
शान्तिनगर गाउँपालिका दाङका १० पालिकामध्य पछि परेको पालिका हो । यो पालिकामा गर्नुपर्ने धेरै काम छन् । हामी विकास र समृद्धिको सवालमा शान्तिनगरलाई अघि बढाउन चाहन्छौं । यो अभियानमा सवैलाई जोड्न चाहन्छौं । सञ्चारलाई पनि जोड्न चाहन्छौं । अन्त्यमा आउँदै गरेको निर्वाचनमा नेकपा एमालेलाई विकास र समृद्धिको नेतृत्वका लागि मतदान गर्नुहोस भन्ने आग्रह गर्दछु । विचार राख्न दिनुभएकोमा धन्यवाद दिन्छु ।