spot_img
spot_img

अव दिगो विकासमा काम गर्नुछ ।

दुजमान भण्डारी (बर्षात)
वडाध्यक्षका उम्मेदवार तुलसीपुर उपमहानगरपालिका– ६

चुनावी तयारी कस्तो भइरहेको छ ?
अहिले घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । हामीले मतदातालाई भेट्ने र उहाँका कुरा सुन्ने, हाम्रा योजना र कार्यक्रम सुनाउने काम गरिरहेका छौं । चुनावी गतिविधि तिव्र पारिएको छ । एक हिसावले भन्ने हो भने हामी निर्वाचनको दिन कुरेर बसिरहेका छौं ।

तपाईको उम्मेदवारी किन ?
तुलसीपुर उपमनपाको वडा नं. ६ केन्द्र भागमै छ । पुरानो बस्ती, अव्यवस्थित बस्तीका कारण व्यवस्थित विकासमा समस्या भएको क्षेत्र हो यो । यस अघि हामीले पाँच वर्षसम्म त्यसलाई धेरै सुधार गरेका छौं । व्यवस्थित बसोवास, दिगो विकासका लागि हाम्रो उम्मेदवारी हो । त्यस्तै खानेपानी, फोहर व्यवस्थापनको समस्या समाधानका लागि पनि हामीले यो वडामा नेतृत्व दावी गरिरहेका छौं । हिजो छिटो छिटो विकास भएको देखाउन केही काम योजनावद्धरुपमा भएनन् । त्यसले गर्दा अहिले समस्या भएको छ । हामीले दिगो विकास, व्यवस्थित विकास गर्दै वडा नं. ६ लाई सुन्दर बनाउने योजना अघि सारेका छौं । दिगो विकास कसरी गर्ने भन्ने होला एउटै उदाहरण यहाँलाई भन्न चाहन्छु । वडामा खानेपानी विस्तार गर्दा सडक भत्काउनुपर्ने, नाला खन्नुपर्ने अवस्था छ । त्यसले गर्दा भएको विकासलाई आफै फुटाउनुपर्ने अवस्थाको अन्त्य गर्ने हाम्रो योजना छ । हामीले कुनै सडक कालोपत्रे भइरहेको छ भने हामी वडाको वजेट लगाएर दुवैतर्फ पाइपको विस्तार गर्छौं । त्यस्तै पोल विस्तार गर्दा व्यवस्थित गर्छौं ।

तपाईले पहिले पनि अत्यधिक मतका साथमा सदस्य जित्नुभएको थियो अव अध्यक्ष भएपछि काम गर्न सकिएला त ?
मेरो पहिलो प्राथमिकता दिगो विकास सहितको सुन्दर वडा निर्माण हो । त्यसका लागि सबै काम हामीले आगामी पाँच वर्षमा गर्छौं । अहिले फोहर व्यवस्थापन मुल एजेण्डाका रुपमा हामीले उठाएका छौं । नागरिकले फोहर फाल्ने कहाँ हो भन्नुहुन्छ ? समस्या यही छ । हामीले फोहर व्यवस्थापनका लागि पोल पोलमा डस्टवीन राख्ने योजना बनाएका छौं । यो वजेटको हिसावले पनि महंगो छैन । त्यस्तै यो अभियानका लागि यहाँका सार्वजनिक संघ, संस्था, विद्यालय र टोल विकास संस्थालाई अग्रसर गराउने काम गर्नेछौं । अहिले सडकमा, नालामा, खेतवारीमा फोहर, प्लाष्टिक भेटिन्छन । यो समस्याकै रुपमा देखिएको छ । तसर्थ हामीले सरसफाई अभियान नै चलाएर ७० वढी टोललाई परिचालन गर्ने र सबै टोल सफा बनाउनेछौं । फोहर नउठ्ने समस्यालाई समाधान गर्न वडाको आफ्नै साधन बनाउने जुन विद्युतियरुपमा चलाउन सकिने सवारी साधन खरिद गर्ने काम गर्नेछौं ।

अन्य कामहरु के छन बढी महत्वपूर्ण ?
स्वास्थ्यको क्षेत्रमा काम गर्नुछ । गोलौरामा रहेको स्वास्थ्य केन्द्रको स्तरवृद्धि गर्ने, पाठेघरको निशुल्क उपचार सेवा दिने, वडामा १० वटा गाउँ छन । सबै गाउँमा वेला वेलामा आवस्यकताका आधारमा स्वास्थ्य शिविर गर्नेछौं । त्यस्तै शुद्ध खानेपानीको व्यवस्थापन गर्न वडाभर पाइप विस्तार गर्ने, त्यस्तै जनप्रतिनिधिसँग बालवालिका, जनप्रतिनिधिसँग महिलालगायत लक्षित समुदायका युवा, बालवालिकाहरुलाई प्रशिक्षण दिनेकाम गर्नेछौं । वडाका विभिन्न टोलमा संस्कारयुक्त कक्षा चलाउने जसले अहिले बढ्दै गएको कुलत, कुसँस्कारको अन्त्य गर्ने काम हामीले गर्नेछौं । समाजमा नमूना काम गरेका व्यक्तित्वलाई ल्याएर त्यो प्रशिक्षण चलाउनेछौं । त्यस्तै पढेलेखेका युवाहरु विदेश जानुपर्ने अवस्था छ । त्यसैले उहाँहरुलाई प्रमाणपत्रमात्रै होइन सीप, उद्यममा लगाउने र सक्षम बनाउने काम गर्नेछौं । त्यस्तै स्वस्थ हुनका लागि खेल, योग र व्यायामलाई संस्थागत गर्ने काम गर्नेछौं । खेलमैदान र आवस्यक भौतिक पूर्वाधारको विकास गर्ने, सार्वजनिक जग्गाको पहिचान गरेर खुल्ला व्यायामशाला निर्माण गर्ने योजना हामीले ल्याएका छौं । त्यसैगरी जग्गा व्यवस्थापन भएका टोलहरुलाई भवन निर्माण गर्न वडाबाट वजेटको व्यवस्थापन गर्नेछौ ।

अग्रजहरु हुँदाहुँदै युवा नेतृत्व किन ?
अग्रजहरुको सल्लाह सुझाव लिदै काम गर्ने मेरो योजना छ । पुरानालाई बाहिर राखिएको भन्ने कुरा होइन । मैले एक अवधी सदस्यका रुपमा जे अनुभव गरे अव त्यो भन्दा बढी तिव्रताका साथ काम गर्नेछु । मलाई अग्रजहरुको आशिर्वाद रहेको छ । अवको नेतृत्व युवाहरुले नै हो । यो मैले भनेको होइन । अग्रजहरुले नै भन्नुहुन्छ । किनभने उमेरले जुनखालको क्रियाशीलता चाहिने हो त्यो क्रियाशीलता युवामा हुन्छ । सांसद बनेजस्तो होइन स्थानीय तहको प्रतिनिधि बन्ने कुरा । रात दिन नभनी जनतालाई जतिबेला समस्या पर्छ हाजिर हुनुपर्छ । मेरो पाँच वर्षे अनुभव हो यो । तसर्थ अग्रजहरुले नै युवाहरुलाई अघि सार्नु भएको छ । युवासँग समय छ । युवासँग जोश जाँगर छ । युगअनुसार चल्ने क्षमता छ । प्रविधिसँग खेल्न सक्छ । त्यसो भएर युवाहरुलाई नेतृत्वमा स्थापित गर्नुपर्छ भन्ने हिसावले पार्टीले पनि उम्मेदवार बनाएको छ । यो अभिभारालाई आत्मसात गरेर नेतृत्वका लागि म अघि सरेको छु । अव मतदाताको साथ सहयोगको खाँचो छ । मलाई आशा छ वैशाख ३० गते पुरा हुनेछ ।

अन्त्यमा के भन्नुहुन्छ नि ?
तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ६ महत्वपूर्ण वडा हो । यो बजार क्षेत्र भएको वडा हो । यो वडामा काम गर्नका लागि मैले दिर्घकालिन योजना बनाएको छु । नेकपा एमालेले मात्रै विकास र समृद्धिको नेतृत्व गर्न सक्छ भन्ने कुरा सवैलाई थाहा भइसकेको छ । आम मतदाताले पनि हामीलाई जितको शुभकामना दिइसक्नुभएको छ । मैले विगतमा संचारमा रहेर काम गरें । त्यहाँ रहेर हासिल गरेको अनुभवले पनि काम गर्न निकै सजिलो हुने ठानेको छु । अन्त्यमा मलाई सहयोग गर्ने सवैलाई धन्यवाद ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img