सम्पादकीय
स्थानीय तहको निर्वाचन भोली अर्थात बैशाख ३० गतेका दिन हुँदैछ । पाँच बर्ष पछि हुन थालेको यो निर्वाचन स्थानीय तह भइसकेपछिको दोस्रो निर्वाचन पनि हो । निर्वाचनको प्रचार प्रसारका सवै काम सकिएका छन् । मतदाताको बीचमा जाने, मत माग्ने, प्रचार गर्ने कामहरु सकिएका छन् । मौन अवधि सुरु भएको छ । यो अवधि भनेको निर्वाचनको तयारी गर्ने अवधि हो । निर्वाचनका लागि खटिने कर्मचारीहरु मतदान केन्द्रमा पुगेका छन् । स्थानको तयारी गरिरहेका छन् । सुरक्षाकर्मीहरु पुगिसकेका छन् । मत पेटिकाहरु पुगिसकेका छन् । परिचय पत्र वितरण गर्ने काम पनि भइरहेको छ । यस्तै गरेर मतदाता शिक्षाका केही काम पनि यहि बीचमा भइरहेका छन् । निर्वाचनका लागि गर्नुपर्ने जति सवै काम सकिएको निर्वाचन कार्यालयको भनाई छ । अव प्रतिक्षा मात्रै भोलीको छ । मतदाताहरु मतदान गर्नका लागि तम्तयार भएका छन् । कसलाई मतदान गर्ने भन्ने मन बनाइसकेका छन् । कुन उमेदवारलाई जिताउने, कुन पार्टीको उमेदवारलाई जिताउने भन्ने बारेमा पूर्ण तयारीका साथ मतदाताहरु रहेकाछन भन्न सकिन्छ ।
मौन अवधिमा केही घटनाहरु भएका देखिन्छन । मौन अवधि भनेको मतदान स्थलको तयारी हो एक हिसावले भन्ने हो भने । मतदानस्थलमा गर्ने तयारीका कामहरु यहि समयमा गरिन्छ । तर यो समय भनको अलि विवादित हुने समय पनि हो । मतदाताका बीचमा पैसा बाँटिएका, खसी काटिएका, भोज खुवाउने काम गरिएका कुराहरु सुन्नमा आइरहेका छन् । कतिपयले निर्वाचनमा पहिले गरिने प्रचार प्रसारले केही अर्थ राख्दैन अन्तिम तीन दिनमा गरिने प्रचारको अर्थ हुन्छ भनेर व्यङ्ग्य गर्ने गरेका छन् । तर खासमा यस्तो होइन । नेपाली जनता यति अवुझ छैनन् कि अन्तिम समयमा दिइने आवश्वासनले अन्तिम समयमा दिइने लोभले सम्पूर्ण मत प्रभावित गर्ने । नेपाली जनताले लामो समयदेखि निर्वाचनमा भाग लिएका छन् । कुनै बेला केही कुराले प्रभावित गरेको थियो होला । अव त्यस्तो हुँदैन । अव कसैको धाक, धम्कीले कसैलाई गलाउन सक्दैन । कुनै आश्वासनले छुन सक्दैन । कसलाई मतदान गर्ने, कसलाई नगर्ने भन्ने बारेमा सवै हिसाव गरेर मतदाताहरु बसेको समयमा गरिने यस्ता खर्चले नकारात्मक प्रभाव पार्ने खतरा बढी हुन्छ ।
नेपालको निर्वाचनमा तुलनात्मक रुपमा कम मत खसेको हुन्छ । विश्वका कयौं मुलुकमा मानिस जहाँ छ त्यहिबाट मतदान गर्न पाउँछ । जसले गर्दा मत खस्ने प्रतिशत बढी हुन्छ । हामीकहाँ विदेशमा बसेकाहरुले मतदान गर्न पाउँदैनन् । स्वदेशमा रहेको भएपनि कतिपय मतदान गर्न जाँदैनन् । मृत्यु भइसकेकाहरुको नाम कटेको हुँदैन । कतिपय मतदानस्थलसम्म जान पाउँदैनन् । मतदानस्थलमा जानका लागि व्यवस्था गरिएको हुँदैन । मतदानमा बढी भन्दा बढी सहभागिता होस भन्ने गरी नियम बनाइएको छैन । नेपालमा बढी मतदान हुँदा पनि ७० प्रतिशत पुगेको छैन । मतदानको प्रतिशत बढाउनका लागि निर्वाचन आयोगले उत्प्रेरणाका कार्यक्रम संचालन गरेको पाइदैन । निर्वाचन लोकतान्त्रिक अभ्यास हो । निर्वाचनमा बढी भन्दा बढीको सहभागिता होस भन्ने हो भने निर्वाचनमा बढी भन्दा बढी ल्याउनका लागि विशेष शिक्षाको कार्यक्रम संचालन गर्नुपर्छ । मतदानमा बदरको संख्या कम होस भन्ने हो भने पनि शिक्षाको कार्यक्रम संचालन गर्नुपर्छ । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि लगानी गरेको देखिएको छैन । निर्वाचनको शिक्षाका बारेमा जानकारी भएन भनेर मतदाताले मतदान गर्न नजाने गर्नु हुँदैन । जसरी पनि मतदानस्थलमा जाने, आफ्नो अधिकार प्रयोग गर्नुपर्छ । आफ्नो अधिकार प्रयोग गर्ने कुरा नागरिकले उपयोग गर्नुपर्छ । निर्वाचनमा बढी भन्दा बढीको सहभागिता रहन सकोस । सवैले राम्रा उमेदवारहरु छनौट गर्न सकौं । सवै सहभागी बनौं । कुनै भय विना मतदान गरौं । कुनै धाक धम्की र प्रलोभनमा नपरेर मतदान गरौं । निर्वाचन लोकतन्त्रको सुन्दरता हो । निर्वाचनलाई सफल बनाउनु हरेक नागरिकको कर्तव्य हो । निर्वाचनको यो महाउत्सवलाई सफल बनाऔं । स्वच्छ, स्वस्थ र भय रहित निर्वाचन बनाउनका लागि भूमिका खेलौं ।