spot_img
Home Blog Page 66

लुम्विनीबाट एमालेका प्रतिनिधि सर्वसम्मत

लुम्विनीबाट एमालेका प्रतिनिधि सर्वसम्मत

बुटवल, कात्तिक । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । आवश्यकभन्दा तेब्बरसम्म उम्मेदवारी परेपछि निर्वाचन गर्ने तयारी भए पनि अधिकांश स्थानमा सर्वसम्मत प्रतिनिधि चुनिएका हुन् ।

रूपन्देही क्षेत्र नम्बर १, पश्चिम नवलपरासीलगायत केही क्षेत्रमा प्रतिनिधि छनोटका लागि निर्वाचन भए पनि अधिकांश क्षेत्रमा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट भएका हुन् । जसअन्तर्गत क्षेत्र नम्बर १ मा खुलातर्फ यज्ञ गैरे, ध्रुव खरेल, डा कृष्ण न्यौपाने र ऋषिराम सापकोटा चयन भए। महिलातर्फ जगेश्वरी चौधरी र विद्यालक्ष्मी गुरूङ चयन भए। क्षेत्र नम्बर १ मा प्रतिनिधि चयनका लागि निर्वाचन भएको थियो ।

uml logo

यस्तै क्षेत्र नम्बर २ मा खुलातर्फ शिवराज सुवेदी, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, गोपाल राना, वासुदेव घिमिरे र चित्रबहादुर कार्की, मोहन चापागाईं, बाबुराम भट्टराई र बलबहादुर आचार्य चयन भए । महिलातर्फ सावित्रा अर्याल, गोमादेवी आचार्य र ज्ञानु केसी चयन भए ।

क्षेत्र नम्बर ३ मा तुलसी चौधरी, अनुप बराल, हितराज पन्थी, रामप्रसाद रेग्मी, ममता पौडेल, उमा अधिकारी महाधिवेशन प्रतिनिधि बन्न सफल भए। क्षेत्र नम्बर ५ मा खुलातर्फ भूमिलाल सापकोटा, रामचन्द्र यादव, जीवलाल पाण्डे र शिव पौडेल चयन भए । दलिततर्फ कल्पना हरिजन, जोगलाल विक, सुरेन्द्र श्री, कमला विक चयन भए ।

यस्तै पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा मतदान प्रक्रियाबाट प्रतिनिधि चयन भए। केन्द्रीय नेतृत्वले सर्वसम्मत बनाउने कसरत गरे पनि आवश्यक संख्याभन्दा धेरैले मनोनयन दर्ता गरेपछि मतदान भएको थियो। क्षेत्र नम्बर १ बाट खुलातर्फ दीपेन्द्रकुमार अधिकारी, धिरज शर्मा बस्याल, राम अर्याल र बन्द्रीनाथ खनाल चयन भए । महिलातर्फ सरिता खनाल र सिन्धु जलेशा निर्वाचित भए ।

यस्तै निर्वाचन क्षेत्र २ बाट डोलराज भण्डारी, थानप्रसाद गैरे, केशव भण्डारी र लेखनाथ खरेल तथा महिलातर्फ विमला अर्याल र लक्ष्मी क्षत्री निर्वाचित भए । महाधिवेशन प्रतिनिधिको लागि २ जना प्रतिनिधि पाउने दलिततर्फ तुलसी पासी र राज हरिजन सर्वसम्मत रूपमा चयन भएको एमालेले जनाएको छ ।

गुल्मीमा पनि सर्वसम्मत प्रतिनिधि छनोट भए। खुलातर्फ मधुकृष्ण पन्त, बालसिंङ काउछा, सोमनाथ सापकोटा, अमर सिंजापती, कृष्ण भुसाल, प्रेम पराजुली, खिमानन्द पाण्डे, रितबहादुर थापा र चक्रबन्धु भुसाल चयन भए । महिलातर्फ नर्मदा भण्डारी, लक्ष्मी पन्त, सीता भण्डारी र ललिता गौतम चयन भए। दलितबाट जंग नेपाली, कृष्ण सुनार, धर्म विश्वकर्मा र जुना विश्वकर्मा चुनिए ।

सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिएको पाल्पामा खुलातर्फ झपेन्द्र जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, विमल काफ्ले, अशोक शाही, राम राउत, मोहन थापामगर, ओम घर्तीमगर र नवीन थापा चयन भए। महिलातर्फ कुविजा अर्याल, सरस्वती भट्टराई, नारायणी शर्मा र गीता पाण्डे चयन भए। दलितबाट ठाकुर लोहागुन र दीपक विश्वकर्मा चुनिए ।

यस्तै दाङमा रेवतीरमण शर्मा, राममणि पाण्डे, कुल केसी, सहजराम यादव, गंगा थारू सत्गौवा, सरस्वती गौतम, टीकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्र केसी, भेषराज केसी, बली राना, तुलसा केसी, हुमा डीसी, हुकुम बस्नेत, घनश्याम पाण्डे, रामजी मिलन चौधरी, भुवनेश्वर पौडेल, मनोहर बुढाथोकी, कृष्ण भुसाल, कोमल वली, माया आचार्य, धमकली चौधरी, जीतेन्द्रमान नेपाली, मानबहादुर विक, निर्मला विक चयन भए ।
रुकुमपूर्वबाट नन्दलाल शर्मा, टोपबहादुर ओली, लीलामणि गौतम र निर्माण बुढा (रवि), आशा स्वर्णकार, मस्तबहादुर विश्वकर्मा छनोट भए । त्यस्तै प्यूठानबाट खुलातर्फ हरि रिजाल, तुलसीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज विष्ट, डिल थापा मगर चयन भए । महिलातर्फ कमला रिजाल र गोमा रेग्मी तथा दलितबाट झगबहादुर विश्वकर्मा चयन भए ।

कपिलवस्तुमा खुलातर्फ विष्णु पन्थी, झविलाल पोखरेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी, बाबुराम खनाल, उपेन्द्र खनाल र टोपलाल पोखरेल चयन भए। मजदुरबाट सुशीला दर्लामी, महिलातर्फ शान्ति पाण्डे, प्रभा पौडेल, लक्ष्मी न्यौपाने र कमला भुसाल चयन भए ।

त्यस्तै अर्घाखाँचीबाट खुलातर्फ चेतनारायण आचार्य, रामजी घिमिरे, कुटमुदिन अलि, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोज रायमाझी, काशीराम आचार्य र खगिश्वर पन्थी चयन भए । महिलातर्फ जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र विष्णुमाया आचार्य चयन भए । दलितबाट भोजबहादुर गन्धर्व, लिल विक र शिवकला विक चुनिए ।
बाँकेको क्षेत्र नम्बर १ बाट देवराज भार, सूर्य ढकाल, प्रेम भुसाल, वसन्ती अधिकारी र भारती खनाल छानिए । क्षेत्र नम्बर २ बाट पार्टी जिल्ला अध्यक्ष निरक गुरुङ, अशोक कर्माचार्य, हलिम शाहक, विजया धिताल छनोट भए । बाँके क्षेत्र नम्बर ३ बाट पार्टी उपाध्यक्ष किस्मत कक्षपती, सचिव रत्न खत्री, घननाथ खनाल र भूमिसरा धिताल चयन भए । यस्तै रोल्पामा खुलातर्फ कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्त ओली चयन भए । महिलातर्फ जूनमाया बुढा र ईश्वरी जिएम चयन भए । दलितबाट रीमा नेपाली चुनिइन् ।

 

सल्यानमा उत्खनन नहुँदा खानी अलपत्र

सल्यानमा उत्खनन नहुँदा खानी अलपत्र

सल्यान, कात्तिक । सल्यानमा उत्खनन नहुँदा दर्जनभन्दा बढी खानी अलपत्र परेका छन् । विभिन्न स्थानमा रहेका चुनढुंगा, फलाम‚ तामा, कोइला, सिसा लगायतका खानी उत्खनन हुन सकेको छैन ।

जिल्लाको शारदा नगरपालिका–६ खामेलेकको चुनढुंगा, वडा नम्बर ७ मा रहेको तामा र फलाम खानी, कपुरकोट र सिद्ध कुमाखमा रहेको चुनढुंगा, कुमाख गाउँपालिकामा रहेको फलाम र कालीमाटी गाउँपालिकामा रहेको सिसा खानी उत्खनन हुन सकेको छैन ।

कालीमाटी गाउँपालिकाको कोछट्टेमा रहेको सिसाखानीबाट स्थानीयले २० वर्षअघिसम्म सिसा निकाल्ने गरेपनि सरकारले सिसा निकाल्न प्रतिबन्ध लगाएपछि खानी रहेको क्षेत्र पुरिँदै गएको गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताउनुभयो ।
त्यस्तै कालीमाटीकै मर्चेबारी र घुरचौरमा कोइलाखानी रहेको छ । दुवै खानीबाट कम्तीमा ५० वर्षसम्म कोइला निकाल्न सकिने एक अध्ययनले देखाएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । यता कपुरकोट गाउँपालिकाको पाखापानीमा रहेको कोइला र चुनढुंगा उत्खननका लागि १६ वर्षअघि ठेकेदार दिनेश डाँगीले लाइसेन्स लिनुभएको थियो । तर बस्ती जोखिममा परेको भन्दै स्थानीयले अवरोध गरेपछि काम अघि बढ्न नसकेको उहाँको भनाइ छ ।

यस्तै कुमाख गाउँपालिकामा रहेको फलाम खानी उत्खनन गर्न २०७६ मा सुवास कास्यपती इन्डस्ट्रिज र कपुरकोटको चुनढुंगा उत्खननका लागि शिवस्वरुप खनिज उद्योगले २०६७ मा इजाजत लिएपनि काम अघि बढाएका छैनन । कम्पनीले खानी आफ्नो नाममा राख्ने तर काम नगर्ने परिपाटीले पनि काम अघि बढ्न नसकेको स्थानीयको भनाइ छ ।

त्यस्तै अन्य खानीहरु पनि छन जुन उत्खनन भने हुन सकिरहेका छैनन् । यी खानी उत्खनन गर्न सके स्थानीयस्तरमै धेरै युवाहरुलाई रोजगारी दिन सकिने भएपनि खानी उत्खनन नहुँदा उनीहरुको रोजगारी गुमेको छ ।

सडक निर्माण घोराहीको प्राथमिकतामा

चार बर्षमा एक सय किलोमिटर कालोपत्रे

विमला घर्ती
घोराही, कात्तिक । पालिकाहरुमा जनप्रतिनिधिहरु आएपछि जनताले गरेको धेरै अपेक्षामध्य एउटा सडक निर्माण पनि हो । जनताको अपेक्षा अनुरुप घोराही उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि सडक निर्माणको कामले तिव्रता पाएको छ ।

पहिले बजार क्षेत्रमा सिमित कालोपत्रे सडक यतिवेला गाउँ गाउँसम्म पुगेको छ । नयाँ सडक खोल्ने र पुरानोलाई पिच गर्ने योजनाले प्राथमिकता पाएको घोराही उपमहानगरपालिकाको भनाई छ । सडकलाई कालोपत्रे गर्ने, सडकका नयाँ ट्रयाक खोल्ने, विकट क्षेत्रलाई सडक सञ्जालले जोड्ने कामलाई प्राथमिकता दिइएको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताउनुभयो । उहाँले नगरपालिकाले जलासय निर्माण, सडक पक्की गर्ने, नाला निर्माण गर्ने, कृषिमा अनुदान दिने लगायतका काम गरेको बताउनुभयो ।

घोराही उपमहानगरपालिकाले पनि आर्थिक वर्ष २०७५÷०७६ मा भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको थियो । भौतिक पूर्वाधार विकास गर्दा घोराही उपमहानगरपालिका भित्र चक्रपथ, प्रमुख नदीहरुको दायाँ बायाँ करिडोर र घोराही तुलसीपुर सडक खण्डको उत्तर दक्षिणका क्षेत्र जोड्न सडक निर्माण गरी सबै टोल बस्तीलाई यातायात संजालले जोड्ने कुरालाई प्राथमिकतामा राखिएको थियो । घोराही उपमहानगरपालिकाले सडक निर्माण गर्दा सदरमुकामबाट सबै वडाका केन्द्रहरुलाई जोड्न एक÷एक वटा सडकहरु कालोपत्रे गर्ने योजना अनुरुप धेरै वडाका केन्द्रसम्म पुग्ने सडक कालोपत्रे गरिएको छ ।


घोराही उपमहानगरपालिकाले सवै वडाका केन्द्रमा पक्की सडक पुराउने योजना बनाएको भएपनि वडा नं. ५, ९, १२, १९ वडाका केन्द्रमा पक्की सडक पुराउन सकेको छैन । यस्तै वडा नंं १८ मा यसैबर्ष पक्की सडक पुग्नेछ । वडा नंं १८ को कार्यालय पहिलेको स्थानबाट कटुवा खोलाको पूर्वतर्फ अम्विकेश्वरी मन्दिरको पश्चिम तर्फ निर्माण गरिएको छ ।

१९ वटै वडाका दुर्गम टोल बस्तीलाई बढीमा आधा घण्टाको पैदल हिडेर यातायात सुविधा भेट्ने गरी थप सडकहरु निर्माण गर्ने, घोराही उपमहानगरपालिकाको घना सहरी क्षेत्रमा स्थानीय समुदायको ३० प्रतिशत र घोराही उपमहानगरपालिको ७० प्रतिशत लागत सहभागितामा सडक कालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिइएको छ । यस्तै सहरउन्मुख क्षेत्रमा स्थानीय समुदायको १५ प्रतिशत र उपमहानगरपालिकाको ८५ प्रतिशत लागत सहभागितामा सडक कालोपत्रे गरिएको छ ।

घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भिमबहादुर चौधरीका अनुसार उपमहानगरपालिकामा जनप्रतिनिधि आइसकेपछि ९१ दशमलव ८७ प्रतिशत सडक कालोपत्रे गरिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा १८.३७ किलोमिटर, आर्थिक वर्ष २०७५÷०७६ मा १४.५३ किलोमिटर, आर्थिक वर्ष २०७६÷०७७ मा ३६ दशमलव ५३ किलोमिटर र आर्थिक वर्ष २०७७÷०७८ मा ४१ दशमलव ५३ लिोमिटर सडक कालोपत्रे गरिएको थियो ।

घोराही उपमहानगरपालिकामा चार बर्षमा एक सय आठ किलोमिटर भन्दा बढी सडक ग्राभेल गरिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा १४.२५ किलोमिटर, आर्थिक वर्ष २०७५÷०७६ मा १६ दशमलव ५३ किलोमिटर, आर्थिक वर्ष २०७६÷०७७ मा ३६ दशमलव ५३ किलोमिटर, आर्थिक वर्ष २०७७÷०७८ मा ४१ दशमलव ५३ किलोमिटर सडक ग्राभेल गरिएको हो । यस्तै नयाँ स्थानीय सडक निर्माणको काम भएका छन् । आर्थिक बर्ष २०७४÷०७५ देखि हाल सम्म ९० दशमलव २३ किलोमिटर सडक निर्माणको काम सम्पन्न भैसकेको घोराही उपमहानगरपालिकाको तथ्यांकमा उल्लेख छ ।
यस्तै १९ किलोमिटर सडक मर्मत संभारको काम गरिएको छ । ३८ वटा मोटरेवल पूल कल्भर्ट निर्माण, दुई वटा झोलुंगे पुल निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा पनि सडक निर्माणको कामलाई प्राथमिकता दिइने गरि काम भइरहेको उपमहानगरपालिकाका प्रमुख चौधरीले बताउनुभयो । सडक निर्माणको आवश्यकता भएका तथा हाल सम्म पनि निर्माण गर्न नसकिएको सडकहरुलाई निर्माणको काममा पूर्णता दिने उहाँले बताउनुभयो ।

घोराही उपमहानगरपालिकाका कतिपय सडक प्रदेश सरकारको बजेटमा बनेका छन भने कतिपय सडकको निर्माण नगरपालिका आफैले गरेको छ । घोराही उपहानगरपालिकाको पहल र प्रदेश सरकारको समन्वयमा पनि कयौं किलोमिटर सडक कालोपत्रे गर्ने काम भएको छ । घोराहीदेखि रामपुर जोड्ने सडक, घोराहीबाट सौडियार जोड्ने सडक, सर्राबाट सौडियार जोड्ने सडक, नारायणपुरबाट हापुर जोड्ने सडक निर्माणका लागि प्रदेश सरकारले बजेट उपलव्ध गराएको थियो । नगरपालिकाले आफ्नो स्रोतबाट र लागत सहभागितामा सडक निर्माण गरेको नगरप्रमुख चौधरीले बताउनुभयो ।

 

गठबन्धन सरकारकाे जनतामारा निर्णय

१२ दिनमा पेट्रोलियम पदार्थमा अत्यधिक मुल्यबृद्दि  काठमाडौँ– बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयाल निगमले १२ दिनपछि फेरि मूल्य बढाएको हो ।

पेट्रोल, डिजेल, मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेको छ । १२ दिन अघि पनि मूल्य बढाइएको थियो । यसरी दुई हप्तामा दुई पटक मूल्य बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै आयल निगमले घाटामा गएको बताउँदै आएको थियो । निगमले पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र खाना पकाउने ग्यास एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँले बढाएको छ ।

बढेको मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ३६ रुपैयाँ लिटर, डिजेल तथा मट्टितेल प्रतिलिटर एक सय १९, आन्तरिक हवाई ईन्धनको मूल्य एक सय एक र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर ८ सय ९५ र एलपी ग्यासको मूल्य एक हजार पाँच सय ७५ पुगेको छ ।

दुर्घटनामा संवेदनशिलता

  1. दुर्घटनामा संवेदनशिलता

हाम्रो नेपाल सडक यातायात धेरै दुर्घटना हुने देश हो । यहाँ दुर्घटना नभएको कुनै दिन हुँदैन । दुर्घटनामा मानिसको मृत्यु नभएको कुनै दिन हुँदैन । हरेक दिन दुःखद दुर्घटनाका समाचारहरु आइरहेका छन् । देशका कुना कन्दरामा पनि दुर्घटनामा भइरहेको सुनिन्छ । नेपालमा दुर्घटना बढी हुनुको कारण खोज्ने काम भएको छैन । नेपालमा दुर्घटना धेरै हुँदा र जनधनको क्षति बढी हुँदा पनि यसका बारेमा धेरै गम्भिरता देखिदैन । नेपालमा हवाई दुर्घटना पनि हुने गरेको छ । हवाई दुर्घटनामा मानविय क्षति भएपछि त्यो विषयलाई बढी चर्चामा ल्याउने काम गरिन्छ । सडक दुर्घटनामा हुने मानविय क्षतिको चर्चा हुँदैन । सडक दुर्घटनामा मानविय क्षति हुँदा पनि त्यसमा संवेदनशिलता हुँदैन । हवाई दुर्घटना हुँदा आयोग बन्छ । छानविन हुन्छ । सडक दुर्घटनामा जति मानविय क्षति भएपनि त्यो छानविनको विषय हुँदैन । छानविनको बिषय बन्दैन । सडकको अवस्थाका कारणले दुर्घटना भएको हो कि ? गाडीको अवस्थाका कारणले यस्तो भएको हो कि ? सडकको अवस्था राम्रो हुँदा कतिपय स्थानमा दुर्घटना भएका छन् । गाडीको अवस्था राम्रो हुँदा दुर्घटना भएका छन् । सडक र गाडी राम्रो हुँदा पनि चालकको कारणले दुर्घटना हुन्छ । कतै सडकमा यात्रुका कारणले दुर्घटना भएको देखिन्छ । कतै छाडा चौपायाया कारणले गर्दा पनि दुर्घटना भएका छन् ।

हिजो आज सडक दुर्घटना बढेका छन् । सडक दुर्घटना नराम्रो बाटोमा बढी हुने गरेको छ भने राम्रो बाटोमा पनि दुर्घटना हुने गरेको छ । राम्रो बाटोमा हुने दुर्घटनाको कारण चालकको लापरवाहीले हो भन्न सकिन्छ । पहाडका सडकको अवस्थाको कुरा गर्ने हो भने अहिले पनि कतिपय स्थानमा पक्की हुन सकेको छैन । पक्की भएका सडकहरु एक बर्षातपछि भत्कने गरेका छन् । सडक निर्माणमै लापरबाही हुने गरेको छ । सडक निर्माणका लागि जिम्मेवारी लिनेले समयमा काम गरेका छैनन् । सडकमा मर्मत गरेका छैनन् । सवै जिल्लाका सदरमुकामा राम्रो बाटो रहेको छैन । भन्नलाई त पालिकाको कार्यालयमा जाने सडक बनाउने कुरा चल्ने गरेको छ । पालिकाको कार्यालयमा जाने सडक त टाढाको कुरा जिल्ला सदरमुकाममा जाने सडकको अवस्था राम्रो रहेको छैन । पहाडी र हिमाली जिल्लामा सडक राम्रो नहुँदा नेपालीले निकै दुःख पाएको अवस्था छ । हिमाल र पहाडमा उत्पादन हुने बस्तु तराईमा ल्याउनका लागि समस्या छ । पहाड र तराईमा उत्पादन हुने बस्तुलाई हिमालमा पु¥याउन गाह्रो रहेको छ । हाम्रो देशको विशेषता विश्वमै अनुपम रहेको छ । यति सानो मुलुकमा यति विविधता रहेको छ । विश्वमै नेपाल जस्तो देश अर्को छैन । नेपाल पर्यटनको राम्रो सम्भावना रहेको छ । नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा धेरै धार्मिक स्थल रहेका छन् । हिमाली क्षेत्रमा पर्यटनको सम्भावना रहेको छ । तर यातायातको व्यवस्था राम्रो नहुँदा हाम्रो देशले सभ्भावना गुमाइरहेको छ ।

जव सडकमा दुर्घटना बढ्छ तव सडक दुर्घटना रोक्नका लागि बहस चल्ने गर्दछ । सडक दुर्घटना बढेको समयमा मात्रै होइन कि अन्य समयमा पनि दुर्घटना रोक्ने बारेमा छलफल गर्नुपर्छ । योजना बनाउनुपर्छ । दुर्घटना रोक्नका लागि सडक सुधार्ने कि ? यातायातका साधनहरु राम्रो बनाउने कि ? चालकहरुलाई दक्ष बनाउने कि ? नेपालमा दुर्घटना रोक्नका लागि ठोस योजना ल्याउने काम भएको छैन । दुर्घटना रोक्नका लागि सडक फराकिलो बनाउने काम गर्नुप¥यो । दुर्घटना रोक्नका लागि सडकको छेंउमा राम्रो बार लगाउनुप¥यो । दुर्घटना रोक्नका लागि गर्नुपर्ने धेरै कामहरु रहेका छन् । हाम्रो देशमा सवैभन्दा बढी सवारीका साधन कुद्ने सडक भनेको नारायणगढबाट काठमाडौं जाने सडक हो । यो सडकमा हुने दुर्घटनाबाट हरेक बर्ष सयौंको ज्यान जाने गरेको छ । यो सडकमा कुनै साधन दुर्घटनामा प¥यो भने एकै पटक त्रिशुलीमा पुग्छ । नेपालमा ठूला दुर्घटना यहाँ भएका छन् । यस बाहेक पूर्व र पश्चिमका पहाडी जिल्लामा पनि दुर्घघना हुने गरेका छन् । सल्यानको कुरा गर्ने हो भने धेरै दुर्घटना हुने सडकका रुपमा यो रहेको छ । यो सडकमा ठूला दुर्घटना हुँदा पनि दुर्घटना रोक्नका लागि संवेदनशिलता देखिएको छैन । सडकमा हिड्ने साधनको अवस्था के कस्तो छ भन्ने बारेमा बढी निगरानी गर्नुपर्नेछ । यात्रुहरुको संख्या ठिक्क मात्रै राख्ने नियम पालना भएको छैन । जतिपनि यात्रु राखिदिने गरेको देखिन्छ । सडक दुर्घटना रोक्नका लागि संवेदनशिलता देखिएको छैन । नीति निर्माण गर्नेहरुमा यस्तो कुरामा संवेदनशिलता छैन । अहिले तीन तहका सरकार छन् । नेपालमा संघीयता आएको वा भनौं संघीय संरचना अन्तरगत सरकार बनेको चार बर्ष पुग्न थाल्यो । अहिलेसम्म यस्ता सडक सुधार्ने काम भएको छैन् । सडकप्रतिको संवेदनशिलता दुर्घटनाको बेलामा मात्रै देखाउने काम नगरौं । गम्भिर विषयलाई गम्भिर रुपमा लागाै ।

 

 

कारागारलाई सुधारगृहका रुपमा विकास गर्नुपर्ने

प्रमुख जिल्ला अधिकारी रेग्मी कारागारको अनुगमनमा

तुलसीपुर/ कात्तिक । दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कारागारहरुलाई सुधारगृहका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । कारागारहरुमा रहेको सेवा सुविधाको अवस्था अवलोकनपछि सोमबार प्रजिअ रेग्मीले यस्तो बताउनुभएको हो ।

उहाँले जिल्लामा रहेका कारागारहरुको अबस्था सुधार हुँदैजाने पनि बताउनुभयो । सोमबार तुलसीपुरमा रहेको कारागारको निरिक्षण पछि प्रजिअ रेग्मीले समय अनुसार कारागारको भौतिक अबस्था, ब्यबस्थापन पक्ष र सेवा सुबिधाहरु डिजिटल प्रणाली अनुसार परिमार्जन गर्दै लैजानु पर्ने बताउनु भयो ।

उहाँले पुरानो कारागार ऐन लाई परिमार्जन गरेर नयाँ ऐन ल्याउनुपर्ने समेत बताउनु भयो । कारागारमा रहेका कैदी बन्दिहरुलाई सिपमुलक कार्यमा लाग्न राज्यले प्रोत्साहन गर्नुपर्नेमा समेत उहाँको जोड थियो । कारागार भित्र रहेका कैदि बन्दिहरुको सिप र क्षमतालाई राज्यले समयमै चिनेर उनिहरुको सिपको कदर गर्नु पर्ने बेला आएको समेत उहाँले आंैल्याउनुभयो ।

कारागार भित्र कुनै पनि कमी कमजोरी हुन नहुने भन्दै प्रजिअ रेग्मीले कारागारमा रहेका असुविधाका बारेमा सम्वन्धित निकायमा पुर्‍याएर समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो-‘कुनै समस्या परेको खण्डमा ति समस्याहरुलाई समाधान गर्न हामी तयार छौं ।’ कारागार हरुलाई सुधार गृहको रुपमा बिकास गर्दै अगाडि बढनुपर्ने भन्दै प्रजिअ रेग्मीले उनिहरुको सिप र क्षमतालाई राज्यले समयमै पहिचान गरेर उत्पादनसँग जोडदै लैजानुपर्ने बताउनु भयो ।

तुलसीपुर कारागारमा २८ जना महिला तीन जना बालबालिका १३ जना बिदेशी नागरिक सहित जम्मा चार सय ९७ जना कैदि बन्दीहरु रहेका छन् ।

सल्यानमा दुखद दुर्घटना

भाईटिकाबाट फर्कदै गरेकाहरुकाे गयाे ज्यान
दाङ/ कात्तिक । सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस दुर्घटना हुँदा ज्यान जानेकाे सख्या १२ पुगेकाे छ ।आइतबार बिहान पौने ११ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ५ खारखोला नजिकै दुर्घटनामा पर्दा घटनास्थमा ८ जनाकाे र उपचारका क्रममा थप चार जनाकाे ज्यान गएकाे थियाे ।

बस दुर्घटनामा परेर मृत्यु भएका १२ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । मृत्यु हुनेहरू अधिकांश तिहार मानेर फर्कंदै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोबिन्द थापाले बताउनु भयाे । दुर्घटनामा दश महिला र दुई पुरुषको बस मृत्यु भएको थापाले बताउनुभयाे । दुई बालबालिकासहित थप दुई मृतकको सनाखत हुन बाँकी छ ।

दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ८ की ३५ वर्षीया सावित्रा केसी र शान्तिनगर ६ कोरबाङका ५ वर्षीय सुरज वलीको मृत्यु भएको छ । यस्तै सल्यानको शारदा नगरपालिका वडा नम्बर २ की ६१ वर्षीया मीना डाँगी, शारदा ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका वडा नम्बर १ काभ्राकी २४ वर्षीया मीना शाही र क्षत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वलीको मृत्यु भएको छ।
प्रहरिका अनुसार सल्यान शारदा नगरपालिका वडा नम्बर १२ घर घई हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, दाङको बबई गाउँपालिका वडा नम्बर ४ की ६० वर्षीया डुली रेउले, बबई ६ पञ्कुलेकी ७० वर्षीया कलाबती बुढाथोकी, घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारीको दुर्घटनामा परेर मृत्यु भएको छ।

सात जना घाइतेलाई थप उपचारको लागि बाँके जिल्लाका अस्पतालहरुमा रिफर गरिएको छ। केही घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ।
त्यस्तै थप ७ जना घाइतेको सल्यानमै उपचार जारी रहेको छ। बसमा ३० यात्रु सवार रहेका थिए । चालक अहिलेसम्म सम्पर्कविहीन छन् । सडकको खराब अवस्था र तीब्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान प्रहरीको छ।

जनादेश बिपरित सत्तामा जानेले जनमतकाे अनादर गरे-पाेख्रेल

जनादेश बिपरित सत्तामा जानू जनताकाे अपमान      छवि पुरि  घाेराहि/कात्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पाेख्रेलले हिजाेका दिनमा सरकारमा जाने जनादेश छैन भन्नेहरु जनादेश विपरीत सरकारमा सहभागी भएकाे आराेप लगाउनुभएकाे छ ।
जनमत पाएकाे दललाई अनेकन षड्यन्त्र रचेर भागबण्डा गरेर अहिलेको गठबन्धन सत्तालिप्सामा लागेकाे उहाँको भनाई छ । बिहीबार दाङकाे घाेराहीमा प्रेस चाैतारी नेपाल जिल्ला शाखा दाङले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका नेता पाेख्रेलले भन्नुभयाे,’ अनेक खालका षड्यन्त्र रचेर पार्टी फुटाएर, दल विभाजन अध्यादेशकाे नाटक प्रस्तुत गरेर सत्तामा जाने अलाेकतान्त्रिक काम गर्नेहरुसँग असुहाउँदा जवाफ रहेकाे छ, अझ देशकाे नेतृत्व सम्हाल्न पुगेका शेरबहादुर जीसँग यस्ताे किन गरेकाे भन्ने बारे जवाफ नै छैन, काम गर्ने याेजना बनाएर सहमति सहकार्यका साथ अघि बढेकाे भए बेग्लै कुरा हुन्थ्यो ।’
सरकारमा जान विभिन्न खालका षडयन्त्र रचिएको उदाहरण एकपछि अर्काे गर्दै बाहिरिरहेकाले उनीहरुकाे नियम कस्ताे रहेछ भन्ने प्रष्ट हुँदै गएकाे बताउनुभयाे।’ तक्मा काण्ड, ज्वाइँ जेठान काण्ड, दल विभाजन
परमादेश जारी गर्न सम्मिलित अाधार हुन्, यस्ता धेरै काण्ड अझै सार्वजनिक हुँदै जाने र जनताकाे बिचमा नांगिने कुनै समय नलाग्ने जिकिर गर्नुभयाे ।
सर्वाेच्च अदालतकाे परमादेशपछि उत्पन्न परिस्थितिमा न्यायाधीशहरु नै विभाजन भई अान्दोलनकाे अवस्थामा पुग्नु भनेकाे लाेकतन्त्र कमजाेर बनाउने खेल भएको तर्क गर्नुभयो ।
नेता पाेख्रेलले भन्नुभयाे, ‘ सर्वाेच्चका प्रधानन्यायाधीशले मन्त्री पदसँग गरेकाे लेनदेनले न्यायलयमाथिकाे विश्वास गुम्ने खतरनाक अवस्थामा पुगेकाे छ। कानुन पढेका बुझेका, जानेकाहरुले न्यायालयलाई बन्दी बनाउन हुदैन भन्ने हाम्राे ठहर हाे ।’
यस्तै उहाँले संसदीय व्यवस्थामा जनादेशलाई अाधारमान्ने हाे भने बहुमतदलले नेतृत्व गर्ने भएपनि अहिले जसरी पनि सत्ता पुग्न खाेज्ने गलत साेँच भएका राजनीतिक दलकाे अभ्यासले लाेकतन्त्र कता जाँदैछ भन्ने गम्भीर प्रश्न खडा गरेकाे बताउनुभयाे ।
यसैगरी नेता पाेख्रेलले अहिलेकाे ५ दलकाे गठबन्धन अवसरवादकाे गठबन्धन भएको अाराेप लगाउनुभयाे। अघिल्लाे सरकारले देशमा ल्याएकाे विकासकाे लहर देख्न नसकि लाेकतन्त्रलाई धरापमा पार्ने गरि उल्टाे बाटाे हिँडेकाे तर्क गर्नुभयाे।
जनताकाे अावश्यकता, दीर्घकालीन विकास निर्माण, पूर्वाधारका क्षेत्रमा केपी शर्मा अाेली नेतृत्वको सरकारले गरेकाे ऐतिहासिक प्रगतिमा अहिलेकाे अलाेकतान्त्रिक गठबन्धनले राेक लगाउने काम गरेकाले अाम जनतामा निराशा छाएकाे बतमउनुभयाे ।
नेता पाेख्रलेलले भन्नुभयाे, भ्रष्टाचारमा एकपछि अर्काे गरि यति छाेटाे समयमा फस्दै गएकाे विकास विराेधी गठबन्धनकाे सरकार हाे। अाेली नेतृत्वकाे सरकारले ल्याएकाे १४ सय सडक अायाेजना खारेज गर्दा त्यसकाे असर समग्र अर्थतन्त्रमा परेको बताउनुभयाे ।
‘विकास निर्माण र दीर्घकालीन पूर्वाधार अायाेजनाका कामले श्रम क्षेत्रमा दिने अवसर प्रसस्त थियाे । यसले देशकाे समृद्धि कति माथि उठ्थ्याे भन्ने बारे ख्याल गरेन,’ उहाँले भन्नुभयाे, काेराेना प्रभावित जनतमलाई १० हजार बाँड्ने अाश्वासन दिएर जनता अल्मल्याउने काम बाहेक केही गरेन।’
यस्तै, अघिल्लो सरकारले अघि बढाएकाे गरिव, सुकुम्बासी, भूमिहीनकाे अधिकार स्थापनाका लागि गठन गरेकाे भूमि अायाेगमा प्रहार गरेर ठूलाे गल्ती गरेकाे बताउनुभयाे। विकास विराेधी र सामाजिक अस्थिरता निम्त्याउने काम
परमादेशी गठबन्धनको सरकार जति लामाे समय रहन्छ, मुलुक अन्धकारमा जाने उहाँको तर्क छ ।
देशलाई अस्थिरताबाट छुटकारा दिलाउन अब नयाँ जनादेशमा जानुकाे विकल्प नरहेको उल्लेख गर्नुभयाे ।
‘गठबन्धनका नेताहरुकाे गलत अभ्यासका कारण तिनै तहका अंग अप्ठ्यारोमा रहेका बेला नयाँ जनादेशका लागि जनतामा जानुकाे विकल्प छैन, यसका लागि एमाले तयार छ,’ उहाँले भन्नुभयाे ।
पार्टीकाे अहिलेकाे सन्दर्भ बारे जानकारी गराउँदै नेता पाेख्रेलले लाेकतन्त्रमा विश्वास गर्ने दलहरुले देशमा सुशासन कायम राख्न लाेकतान्त्रिक हुनुपर्ने बताउँदै याे अभ्यासमा नेकपा एमालेले उदाहरण प्रस्तुत गरिरहेकाे बताउनुभयाे।
एमाले जनताकाे जनमतलाई उच्च सम्मान गरेर अघि बढेकाे हुँदा सरकार बाहिर रहेपनि जनताकै साथमा रहेकाे बताउनुभयाे । ‘अहिले नेकपा एमाले दशाैँ महाधिवेशनमा केन्द्रित छ, पार्टी एकजुट छ भन्ने कुराकाे सन्देश हालै सम्पन्न देशभर वडा र पालिका अधिवेशन एकै पटक गरेर उदाहरण दिएको छ । एमालेले देखाएको व्यवस्थापन अरु दलले देखाउन सक्छन् कि सक्दैनन् भन्न् विषय चुनाैतिपूर्ण छ,’ उहाँले भन्नुभयाे।

विधान अधिवेशन, नीति निर्माण सँगै नेतृत्व निर्माणका लागि अासन्न दशाैँ महाधिवेशनकाे प्रकृया अघि बढेकाे हुँदा नेकपा एमाले थप बलियाे, संगठित बनेर अघि बढ्ने संकल्प गरेकाे बताउनुभयाे।

फरक प्रसंगमा नेता पाेख्रेलले जनादेशलाई बाईपास गरेका दलसँग अागामि निर्वाचनमा सहकार्यकाे नहुने तर अन्य दलहरुसँग सहकार्य हुनुसक्ने सम्भमवना रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे,’ माधव नेपाल र पुष्पकमल दाहालले अाफुले गरेका गलत काम र गतिविधिकाे अात्मालाेचना वा समीक्षा गरेर अाए साेँच्न सकिन्छ तर अहिले उनीहरु फरक बाटाेमा छन् ।’
पत्रकार सम्मेलन चाैतारीका उपाध्यक्ष ईन्द्र डिसीकाे अध्यक्षतामा भएको थियाे भने सहजीकरण सचिव प्रेमबहादुर राम्जाले गर्नुभएको थियाे ।

२०५१ सालमा भएको विजौरी काण्डका घाइते भुवन देवकोटा (शरद)को अनुभव

त्यो रगत कसका लागि बगेको थियो ?

शरद देवकोटा

विसं.२०५१ सालको कात्तिकको महिना १७ गतेका दिन चारैतिर चुनावी वातावरण थियो । मध्यावधि निर्वाचनले सबैतिर छोएको थियो । कतै चुनावी सभा भइरहेका थिए । कतै घरदैलो कार्यक्रम भइरहेका थिए । उमेदवारहरुलाई भ्याइनभ्याइ थियो । पर्चा र चुनावी घोषणा पत्रलाई मतदातासम्म पु¥याउन हतार भएको अवस्था थियो । यस्तो लाग्दथ्यो कतै मतदाताको मन जित्न हतार भइरहेको छ । कतै मतदाताको मताधिकार खोस्न हतार भइरहेको छ । सत्तासीन दलमा पद र पैसाको घमण्ड व्याप्त थियो । प्रहरी प्रशासनको दुरुपयोग उस्तै थियो । मुलुकमा प्रजातन्त्रको पुनस्थापना भएपछिको त्यो दोश्रोपटकको चुनाव भएकाले प्रचार प्रसारको काममा सबै लागेका थिए । उमेदवारमा उत्साह थियो । मतदातामा उमंग थियो । एकातिर निर्वाचनको चटारो चलिरहेको थियो भने अर्कोतिर धान भित्र्याउने चटारो चलिरहेको थियो । यसै समयमा आएको तिहारको झिलिमिलीले सबैको मन तानिरहेको थियो । भैलो देउसीको मीठो स्वर जताकतै । राम्रा साँसद चुन्ने धुनमा मतदाता थिए । चुनावी वातावरणले सबैको मनलाई नजिकबाट छुन थालिसकेको थियो ।

आजभन्दा ठीक २७ वर्ष पहिले अर्थात २०५१ साल कात्तिक १७ गते । लक्ष्मी पूजाको दिन थियो । बिजौरीमा तत्कालीन नेकपा एमालेको चुनावी सभाको तयारी हुँदै थियो । त्यतिबेला चार वटा निर्वाचन क्षेत्र थिए । चार मध्ये क्षेत्र नं. ३ का उमेदवार हुनुहुन्थ्यो शंकर पोखरेल ।। विजौरी क्षेत्र नं. ३ को केन्द्रका रुपमा रहेको थियो । त्यसैले पार्टीले एक हिसावले त्यो दिन बिजौरीमा केन्द्रीत गरेको थियो । दुई दिन पछि तिहार छ । त्यसपछि लगत्तै निर्वाचन छ । निर्वाचन जसरी भए पनि जित्नु छ । मतदाताको मनमा बस्नुछ । एमालेले राम्रो गर्न सक्छ । एमालेका उमेदवारलाई जिताउनुस भन्नु छ । बिजौरीमा हजारौं नेता कार्यकर्ताहरुको भेला भएको थियो । जुन भेलालाई उमेदवार शंकर पोखरेललगायतले संबोधन गर्ने कार्यक्रम थियो । त्यही कार्यक्रमलाई सफल बनाउने निर्देशनअनुसार जिल्लाका विभिन्न स्थानबाट गएका सहभागीसंगै म पनि गएको थिएँ ।

शुरुमा हाडिमेबाट जुलुस निस्कियो । अहिले त बिजौरीमा राम्रै बजार बसेको छ । त्यतिबेला बजार खासै थिएन । मानपुर जाने बाटो नजिकै अहिले जहाँ बजार छ त्यहाँ बार लगाइएको थियो । त्यो देखि उता बारी थियो । बारीमा तोरी फुलेको देखिन्थ्यो । तर बारदेखि उता नजिकमा के भइरहेको छ मानिसहरु छन् कि को छन् भन्ने खासै देखिदैनथ्यो । निर्वाचनको प्रचार प्रसारको माहौल भएकाले खासै ध्यान गएन । हाडिमेबाट निस्किएको जुलुस आयुर्बेद अस्पतालनेर पुग्दानपुग्दै प्रहरीले रोक्नथाल्यो । तर अवरोधले जुलुसलाई रोक्न सकेन । जुलुस अघि बढ्नथाल्यो । त्यही क्रममा अचानक र अप्रत्यासितरुपमा गोली चलेको आवाज आउन थाल्यो । हेर्दाहेर्दै जुलुसमा सहभागीहरु गोली लागेर सडकमै ढल्न थाले । त्यही घटनामा परेर घटनास्थलमै नारायण चौधरी र पछि पुष्प घिमिरे र कृष्ण चौधरीको निधन भयो । ३६ जना घाइते भए । तत्कालीन सरकारका यातायात मन्त्री खुमबहादुर खड्काको निर्देशनमा त्यो गोली काण्ड भएको एमालेले ठहर ग¥यो । घटनाको विरोधमा वक्तव्य आए । दोषीलाई कारबाहीको कुरा जोडतोडले उठाउने काम भयो ।

गोली काण्डको उक्त घटनामा मलाई कतिबेला गोली लाग्यो पत्तै पाइन । निर्वाचनको जोस थियो । जित्ने आकांक्षा थियो । गोली लागिसकेको रहेछ । गोली लागेपछि पनि रगत चुहाउँदै नारा लगाइयो । गोली हान्नेहरुको विरोध गरियो । निरङ्कुशताको विपक्षमा आवाज वुलन्द पारियो । आफूलाई गोली लागेको कुरा अरुले भनेपछि मात्रै थाहा भयो । निर्वाचनको जोस यस्तो हुँदो रहेछ । गोलीका छर्राहरु निरन्तर रुपमा आइरहेका थिए । को कता गयो केही थाहा नहुने । लक्ष्मी पूजाको दिन भएको घटना पछि घाइते भएका मसमेत ३६ जनालाई उपचारका लागि घोराही हुँदै नेपालगन्ज लगियो । तिहारको दिन अप्रेसन भयो । गोली लागेको ठाउाबा गोल र छर्राका ठूला टुक्रा निकाल्ने काम भयो । साना साना त अहिले पनि घाउ भित्रै पुरिउका छन् । पनि अस्पतालको बेडमै बित्यो । त्यतिवेला दङाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्व अघिल्लो निर्वाचनमा विजयी हुनुभएका शिवराज गौतम पनि घाइते हुनुभयो । एमाले दाङका अगुवा नेता श्रीमणि आचार्य पनि घाइते हुनुभयो । गोली कस कसलाई लाग्यो । कहाँ कहाँ लाग्यो कुनै लेखा जोखा भएन । गोली हान्नेहरुले निर्ममतापूर्वक गोली हानिरहे । योद्धाहरु ढलिरहे ।

निर्वाचनको ठिक अघिल्तिर यस्तो घटना भए पनि त्यो क्षेत्रको चुनावी परिणाम पार्टीको पक्षमा आयो । अन्य क्षेत्रमा काँग्रेसले जित्यो । निर्वाचन पछि नेकपा एमाले सवैभन्दा ठूलो दल भयो । जसका कारण नेकपा एमालेको नेतृत्वमा सरकार बन्यो । दोषीलाई कारबाहीको कुरा व्यवहारमा नभएर कुरामै सीमित भयो । आज २७ वर्षपछि पनि त्यही क्रम दोहोरिदै आएको छ । कहिले सत्ता समीकरणले खास मुद्दा ओझेलमा पर्दछ । कहिले सत्ता र शक्तिका कारणले कारबाही गर्ने विषय ओझेलमा पर्दछ । चुनावबाट सत्तामा पुगेर धरातल र मतदाताको पीडा र योगदानलाई एमाले हौं भन्नेहरुले कहिल्यै पनि बिर्सन हुँदैनथ्यो । पार्टीमा अहिले योगदानको भन्दा पनि नेताको नजिक हुनेहरुको हित हुने गरेको चर्चा अहिले पनि चलिरहेको छ । राजनीतिमा अपराधीकरण भित्रिएको बिजौरीको त्यो घटना पीडितहरुलाई बिझाइरहने र पीडकहरुलाई खुच्चिङ भन्ने मेलोमेसो जुटिरहेको छ । मान्छे मार्ने घटनालाई सामान्य रुपमा लिने प्रबृत्तिको विकास गर्ने काम तत्कालीन सत्ताधारी दलले नै गरेको थियो । बेलाबखत त्यस्तो प्रबृत्ति राजनीतिमा अहिले पनि देखापर्दै आएको छ । दण्डहीनता मौलाइरहेको यस्तो परिवेशमा बिजौरी काण्डका दोषीलाई कारबाही हुनुपर्छ भन्ने नाराले पीडितहरुलाई सान्त्वना हैन झनझन पीडा थप्ने काम गर्दै आएको छ । सत्ता भनेकै विगतलाई बिर्सने, भुल्ने र उपेक्षा गर्ने कामलाई आरती गर्दैजाने हो त कामरेडहरु ? यदि त्यसो भयो भने सहिदहरुप्रति मान गरिएको मान्न कतिजना सहमत हुनुहुन्छ ? म त पटक्कै सहमत छैन । त्यो गोली काण्डपछि भएको निर्वाचनमा त्यो क्षेत्रबाट एमालेका उमेदवार विजयी

भए । देशव्यापि एमालेको लहर थियो । लगत्तै उसले सरकार पनि चलायो । सरकार गठन भएपछिको समयमा उक्त गोली काण्डमा घाइते भएकाहरुको अवस्था हेरेर औषधि उपचार खर्च दिएको भर्पाइमा मैले पनि रकम बुझिलिएँ भनी दस्तखत गरिदिएँ । रकम कति थियो मैले गन्न र सोध्न आवश्यक ठानिन । किनभने त्यो रकम पार्टीको लागि भन्दै जिम्मेवार नेताले गनेर गोजीमा राखेको मैले आफ्नै आँखाले देखेको थिएँ । अहिले गोली लागेको घाउ बेलाबखत दुख्ने गर्छ र ओषधि किनेर खाने गर्छु । मलाई त यस्तो छ भने मेरो भन्दा ठूला घाउ भएकाहरु र परिवारको सदस्य गुमाएकाहरुको घरपरिवारको अवस्था कस्तो होला ? पटक पटक सोचमग्न हुने गरेको छु । नेताहरुलाई हेर्छु उनीहरुका अनुहार हँसिला र सुकिला छन् । नमस्कार गर्दा देखेको नदेख्यै गर्छन् । हरेक वर्षको कात्तिक १७ गते उक्त गोली काण्डको स्मृतिमा भाषण हुन्छ । मौनधारण गरिन्छ । घाइतेहरुको भन्दा नघाइतेहरुले उक्त गोली काण्डको बयान गर्ने सिलसिला अहिले छ कि छैन मैले थाहा पाएको छैन । किनभने मलाई उक्त कार्यक्रममा बोलाउने हेक्का कसलाई पो हुँदोरहेछ र ! अहिले मनमनै आफैसंग प्रश्न गर्छु मैले पनि आखिर कसका लागि रगत बगाएको रहेछु हँ ?

( लेखक देवकोटा गोली काण्डका घाइतेमध्ये एकजना हुनुहुन्छ ।)

गुरुकुल ऐकेडेमी घोराहीको फरक अभ्यास

सामाजिक र आर्थिक जीवन पढ्न ‘ग्रामीण जीवन’ मा

छवि पुरी
बंगलाचुली(मर्पेस) । किताबी ज्ञानले दिने शिक्षा सैद्धान्तिक हुन्छ त्यही ज्ञानलाई व्यवहारिक बनाएर विद्यार्थीहरु समावेश गराउन सकियो भने पटक पटक घोकेर पढिरहनु पर्दैन । अर्थात, शिक्षामा व्यवहारिक अभ्यास आवश्यक हुनुपर्छ ।
घोराहीस्थित गुरुकुल एकेडेमीले आफ्ना विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान दिन नवीन शैलीमा पठनपाठनको अवधारणा कार्यान्वयनमा ल्याएको छ । सम्भवतः जिल्लामा यसरी व्यवहारिक शिक्षा प्रदान गर्ने सायदै पहिलो पहिलो विद्यालय हो । किताबमा पढेका, गुनेका कुरालाई आफ्नै हातले वा व्यवहारले दैनिक जीवनमा कार्यान्वन गर्दा त्यो शिक्षा जीवन्त हुने र यसरी गरिएको सिकाईले विद्यार्थीमा ज्ञान, सीप र धारणाको विकास हुने विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरी बताउनुहुन्छ ।

विद्यालयमा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई विभिन्न व्यहारिक र संस्कारका कुरा सिकाउँदै पठनपाठन गर्दै आएको गुरुकुलले मानिसको जीवन र समाज चिनाउने प्रयास गर्ने गरेको छ । जसका लागि समय समयमा धान रोप्न सिकाउने, कला, सीपका कुरामा जोड दिने, खेलकुदमा सहभागी गराउने, शहर र ग्रामीण जीवनको अनुभव दिलाउने, कितावमा हुने कुरालाई आफ्नै व्यवहारिक जीवनमा उतारेर ज्ञान आर्जन गर्न लगाउने जस्ता असल अभ्यासले गर्दा बालबालिकामा पठन संस्कृतिको विकास हुने र सैद्धान्तिक ज्ञानमा व्यवहारिक ज्ञानलाई भोलिका दिनमा कार्यान्वयनमा लैजान सहज हुने विश्वास लिईएको सहायक प्रअ गिरीले बताउनुभयो ।

हरेक वर्ष कक्षा ९ मा अध्ययन गर्ने आफ्ना विद्यार्थीहरुलाई शहरको जीवनभन्दा पनि बाहिर मानिसको जीवन चलेको छ, त्यो जीवन कसरी चलिरहेको छ भन्ने कुराको बोध गराउन उनीहरुकै जीवनशैलीमा साताव्यापी ज्ञान आर्जन गराउने गरेको छ । कात्तिक ९ गतेदेखि सुरु भएको क्लोज क्याम्प आज अर्थात सोमबारसम्म चल्नेछ । जसमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु घोराहीबाट उत्तर पूर्वमा रहेको पहाडी क्षेत्र बंगलाचुलीको मर्पेसका ‘क्लोज क्याम्प’मा बसेर ग्रामीण जीवन र उनीहरुको दैनिकीलाई बुझिरहेका छन् । कक्षा ९ मा अध्ययनरतमध्ये ३२ जना छात्रछात्राहरु अहिले खाडा, मर्पेसको डाँडामा दिनरात बसेर ग्रामीण जीवन, उठबस, त्यहाँको अवस्था, समस्या, अवसर र चुनौतिका बारेमा नजिकबाट नियालिरहेका छन् ।

बंगलाचुली गाउँपालिकाको वडा नम्बर २ स्थित क्लोज क्याम्पमा बसेर ग्रामीण जीवनको अनुभव लिन गएका विद्यार्थीहरुले आफुले जीवनको नौलो अनुभूति गर्न पाएको बताएका छन् । ६ दिनसम्म आफु बसेको ठाउँको अवस्था, समुदायको जीवन, मानिसको जीवनशैली, पूर्वाधार, सेवाका बारेमा प्रत्यक्ष अनुभव गर्न पाउँदा वास्तवमै नौलो अनुभव भएको बताएका छन् । शहरभन्दा पनि बाहिर मानिसको जीवन चलेको छ, तर यो जीवन कसरी चलेको रहेछ भन्ने कुरा नजिकबाट नियाल्न पाउँदा समाजबीचको अन्तर निकै ठूलो रहेका आफुले पाएको विद्यार्थी एन्जल घर्तीले बताउनुभयो ।
आफ्ना अनुभव र अनुभूति सबैसामु बाँड्दै उहाँले आफ्नो घरपरिवारमा पाएको स्याहार, मायाममता ग्रामीण जीवनमा पाउन करिव असम्भव रहेका बताउनुभयो । आफु बाँच्नका लागि कति संघर्ष गर्नपर्ने रहेको भन्ने कुरा गाउँमा आएर सामाजिक जीवन बुझ्न पाएको बताउनुभयो । शुरुमा दिनमा खाना पकाउँदा डेढ घण्टा पाएको समय पनि कम भएको अनुभव आफुसँग रहेको बताउनुभयो । सरहरुले खाना पकाउने समय निर्धारण गर्नुहुन्छ, तरकारी कसरी पकाउने, भात कसरी पकाउने, पानीको व्यवस्थापन कसरी गर्ने जस्ता आधारभूत कुरा सैद्धान्तिक रुपमा सिकाउनुभयो, त्यही अनुसार व्यवहारमा जाँदा त्यसो हुन सक्दो रहेछन कारण हामीमा अध्यास र अनुभव थिएन । खाना पकाउन दिइएको समय व्यवस्थापन गर्न नसक्नु, खानेपानी कसरी जोगाएर प्रयोग गर्ने भन्ने बारेमा जानकारी अभाव हुनु जस्ता कुरा यही अभ्यासबाट सिक्दै गएको उहाँको भनाई थियो ।


यसैगरी, शुभम पोख्रेलले शहरमा बस्दा कुनै कुरामा पनि आफुले अभाव महसुस नगरेको हुँदा ग्रामीण जीवनमा पाईला पाईलामा अभाव देखेको बताउनुभयो । खानकै लागि गर्नुपर्ने संघर्ष नै ग्रामीण जीवनको दुखको पक्ष रहेको बताउनुभयो । ‘यहाँका मानिसले सबैभन्दा बढी दुख व्यहोरेका छन् भने त्यो हो खानेपानीको,’ उहाँले आफ्ना अनुभव सुनाउँदै भन्नुभयो, ‘बजारमा पानीको अभाव मैले कहिले व्यहोरेको थिएन तर यहाँ हात धुनका लागि पनि पानी खेर फाल्दा धेरै सोँच्नुपर्छ ।’ पानी अभावमा खेतीपाती गर्न समस्या भएको, रोजगारीका लागि विदेशिनु पर्ने पीडा, स्वास्थ्यको अवस्था कमजोर रहेको आफले महसुस गरेको बताउनुभयो ।

अर्का अनुराधा पोख्रेलले आफुले आमाबुवाले भन्नुभएका हिजोका कुरालाई सामान्य रुपमा लिने गरेकामा अहिले एकसाता क्लोज क्याम्पमा आएर बिताउँदा सिंगो जीवनको दर्शन गर्न पाएको बताउनुभयो । ‘वास्तवमै ग्रामीण जीवनशैली यहाँको प्राकृतिक सुन्दरतामा रमाउन पाएका रहेनछन्, हामीले बाहिरबाट हेर्दा जति खुशी देखेका थियो त्यो नजिकबाट नियाल्दा बिल्कुलै फरक रहेछ,’ उहाँले आफ्ना अनुभवका पोका फुकाउँदै भन्नुभयो, ‘आखिर कोही कसैलाई पढ्न, खेल्न, खान, लगाउन अनि केही गर्न मन नलाग्ने हुन्छ र ? यहाँको जीवनले वास्तवमै सामाजिक र आर्थिक जीवनलाई सँधैका लागि आँखा खोल्ने गरी खुला किताव पढेको महसुस गरायो ।’

अर्का विद्यार्थी संयम थापाले आफुले घरमा बस्दा ग्यास पनि नबालेको हुँदा केही अनुभव नहुँदा खाना पकाउने बेलामा धेरै कुराको ज्ञान लिन पाएको बताउनुभयो । ‘ग्यासमा पनि नपकाएको मलाई यहाँ दाउराले खाना पकाउनु त सपना जस्तै थियो तर प्रयास गरेपछि हुँदो रहेछ, ग्रामीण जीवनमा यो त दैनिकी हो, उनीहरु कसरी जीवन बिताईरहेका छन् भन्ने कुरा एक साताको अनुभवले धेरै सिकायो’ संयमले भन्नुभयो । यसैगरी समुदायको चरित्र र उनीहरुले बाँच्नका लागि गरेका संघर्ष पनि वास्तवमै कहाली लाग्दो रहेको पाईएको बताउनुभयो ।

अर्का आस्था अधिकारीले गाउँमा खानेपानीको अभाव वास्तवमा शब्दमा भन्ने नसक्ने अवस्थामा रहेको सुनाउनुभयो । ‘शुरुमा आउँदा जे अपेक्षा लिएर आएको थिएँ, त्यसो रहेनछ । शुरुमा पानी खोज्न नै समस्या भयो, खानेपानी दिन जाँदा १ घण्टाको बाटो तय गर्दाको बाधा वास्तवमा ग्रामीण जीवनको दुख के रहेछ भन्ने बोध गर्न पाएँ,’ उहाँले भन्नुभयो । ‘हामीले शुरुमा आफु बस्ने स्थानको बारेमा ज्ञान लियौँ, खाना पकाउने भाँडा के के हुन्, दाउरा कसरी संकलन गर्छन्, कुन दाउराले खाना पकाउने, तरकारी कसरी काट्ने, भात कसरी पकाउने, भाँडा कसरी धाई पखाली गर्ने, आफु र आफ्नो वरपरको वातावरण कसरी सफा राख्ने जस्ता व्यवहारिक ज्ञान सिक्ने सुनौलो अवसर पाएका छौँ, त्यो भन्दा बढी गाउँले जीवनलाई अन्तन्तै नजिकबाट नियाल्दा यहाँको दुख निकै रहेछ भन्ने महसुुस भएको छ’ उहाँले भन्नुभयो ।

अर्का अभय गुप्ताले ग्रामीण जीवनको भित्री पाटो अझ दर्दनाक रहेको आफुहरुले नजिकबाट नियाल्न पाएको बताउनुभयो । गाउँका छोराछोरीलाई हेर्ने दृष्टिकोण, गरिने व्यवहार अत्यन्तै दुखद रहेको बताउनुभयो । छोरालाई घरको हलुका काममा लगाउने, पढ्न पठाउने तर छोरीलाई गाई ग्वाला पठाउने, घरको सबै कामको जिम्मेवारी दिने जस्ता विभेद देख्दा यस प्रकारको असमानता हटाउन केही योजना लिएर आउने अठोट लिएको बताउनुभयो । यसैगरी, पुरुषले बहुविवाह गरेका धेरै उदाहरण पनि गाउँमा पाएको बताउनुभयो । आफ्नो क्लोज क्यापको बसाईले दिएको शिक्षाले भोलिका दिनमा जीवन जिउन निकै सहज हुने आफुले विश्वास लिएको अभयको भनाई थियो । घरमा ग्यास बाल्न नसिकेको मान्छेलाई दाउरा बालेर खाना पकाउँदा पाएको दुखले धेरै पाठ सिकाएको बताउनुभयो । गाउँले जीवनको अवस्था बुझ्न गएको बेलामा भर्खर श्रीमान गुमाएर कुनाबाट भर्खर बाहिर आएकी एक महिलाको चित्कार अझ दर्दनाक रहेको पाएको उहाँले बताउनुभयो । कोखमा भर्खरको बच्चा, खानका लागि गर्नुपर्ने दुख, श्रीमान गुमाउँदाको पीडाले आफु र आफ्ना साथीको दिमागमा निकै गहिरो छाप छोडेको बताउनुभयो ।

अहिले त हरेक ठाउँमा सरकार छ भन्छन्, उनीहरुले पनि काम गरिरहेका छौँ भनेको सुनिन्छ तर हामीले देखेको, नजिकबाट नियालेको यति सानो समुदायको चित्र र सामाजिक जीवन यति पीडादायी छ भने समग्र समाजको अवस्था कस्तो होला भन्ने मनमा अनेकन प्रश्न उब्जिएको क्लोज क्याम्पमा सहभागीहरुको साझा धारणा थियो । त्यहाँ विद्यार्थी र शिक्षकहरु गरी ४० जनाको टीम सामाजिक जीवन र आर्थिक जीवनलाई नियाल्न सहज होस् तथा व्यवहारिक ज्ञान आर्जन गर्न टेवा पुगोस् भनेर ७ रात आठ दिन बसेको हो । गुरुकुलले ३ वर्षयता कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई व्यहारिक शिक्षाका लागि घरपरिवार, आफु बसेको समाजभन्दा बाहिर लगेर बाहिरी दुनियाँ कस्तो छ भनेर पढाउने गरेको छ । २०७५ सालबाट थालिएको यस प्रकारको सकारात्मक अभ्यास गत वर्ष भने कोरोना महामारीको प्रभावले हुन सकेको थिएन ।

क्लोज क्याम्पमा रहेका छात्रछात्राहरु अब भोलि १६ गते एक साताको बसाईमा संगालेका तीतामीठा र जीवनदर्शनका विविध आयामका पक्षलाई भोलिका दिनमा असल अभ्यासमा लागू गर्न सक्ने भएर फर्किने छन् । उनीहरुको बसाइँ, सिकेको कुरा, भोगेका सुखद दुखद पक्ष र समाजको सिंगो जीवनका अवस्था कसरी अनुभव गर्न पाएका छन् भनेर पत्रकारको टोली त्यहाँ पुगेर अवस्थाबारे जानकारी लिएको थियो ।