spot_img
Home Blog Page 65

अव मुलुकमा दुई राजनीतिक धार मात्रः महासचिव पोख्रेल

नेकपा एमालेका महासचिवको उद्घोष

छवि पुरी

घोराही/ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा जति नै राजनीतिक दल भएपनि राजनीति दुई ध्रुवमा मात्रै रहेको बताउनुभएको छ । उहाँले एउटा धु्रवको नेतृत्व नेकपा एमालेले गरिरहेको र अर्को धु्रवको नेतृत्व काँग्रेसले गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘समाजबादको यात्रामा जानेहरु एमालेको धु्रवमा आउछन, पूँजीवादी यात्रामा जानेहरु काँग्रेसको धु्रवमा जानेछन, काँग्रेसको पछि लागेर समाजवादको यात्रामा जान सकिदैन ।’

प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले भन्नुभयो–‘अब देशमा केवल दुईटा ध्रुवमा राजनीति ध्रुवीकृत गर्न जरुरी रहेकोछ । एउटा ध्रुवको नेता नेकपा एमाले र अर्को ध्रुवको नेताका रुपमा नेपाली कांग्रेसको नेतृत्वमा रहेका दलहरु हुनेछन । दुई धु्रवमा रहेका दललाई छान्ने जिम्मा जनताको भएको उहाँको तर्क थियो । नेकपा एमालेको नेतृत्वमा समावजादको यात्रामा अघि बढ्ने की नेपाली कांग्रेसको पूँजीवादको यात्रामा अघि बढ्ने भन्ने नै अबको गन्तव्य भएको बताउनुभयोे ।

शंकर पोखरेल

यस्तै, उहाँले माधव नेपाल र प्रचण्डहरु भनेको पूँजीवादका हिमायतीमा रुपमा समर्पित भईसकेका खल पात्र भएको टिप्पणी गर्नुभयो । ‘कुरा कम्युनिष्ट र समाजवादको गर्ने तर व्यवहार पूर्ण रुपमा पूँजीवादको उनीहरुमा छ,’ उहाँले थप्नुभयो, ‘यस्तो अवस्थामा जनताले चिन्ने बेला आएको छ ।’ नेता पोख्रेलले अब जनताको छनौट भनेको समाजवादका लागि एमाले की पूँजीवादका लागि कांग्रेसको नेतृत्व भन्ने हुन आवश्यक रहेकाले नयाँ जनादेश अपरिहार्य रहेको जिकिर गर्नुभयो ।

महासचिव पोख्रेलले अहिलेको पाँच दलीय गठबन्धनको सरकार नेपाल र नेपाली जनताको हितका पक्षमा नरहेको भन्दै गठवन्धनको सरकार हरेक दृष्टिकोणले असफल भएको बताउनुभएको छ । उहाँले राष्ट्रियताको सवालमा इतिहासकै कलंकका रुपमा देखा गठबन्धनको सरकारले भारतले नेपालको सीमा मिच्दा पनि अन्तर्राष्ट्रिय समुदायमा आफ्ना आवाज लैजान नसकेको भन्दै सरकार पूर्ण रुपमा असफल भएको बताउनुभएको हो ।

प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले जति लामो समय यो गठबन्धन जान्छ, त्यति नै धेरै समय देश र जनताको अहीत हुने काममा यो गठबन्धनले भूमिका खेल्ने तर्क गर्नुभयो । महासचिव पोख्रेलले भन्नुभयो, ‘यो गठबन्धनको सरकार नेपाल र नेपाली जनताको पक्षमा उभिन सकेन, देशमा भएका काम र गतिविधिका बारेमा अन्तर्राष्ट्रिय समुदाय सामु आफ्ना कुरा राख्न सकेन, त्यसैले जति लामो समय यो गठबन्धनको सरकार रहन्छ, त्यति नै राष्ट्रको जीवनमा खेर जान्छ । यो गठबन्धन राष्ट्रको अभिसापका रुपमा उभिएको छ ।’

उहाँले अहिलेको गठबन्धन केवल नेकपा एमालेको बढ्दो लोकप्रियता र जनमतलाई रोक्न निर्माण गरिएको गठबन्धन मात्रै भएको तर्क गर्नुभएको छ । गठबन्धनमा सामेल राजनीतिक दलले गरिरहेको कामले यसको पुष्टि गर्ने काम गरेको बताउँदै आफुहरुको स्वार्थसिद्धि हुने कुरामा मिलेर अघि बढ्ने तर, जोखिम हुने कुरामा यो वा त्यो बहाना बनाउँदै राष्ट्रलाई गुमराहमा पार्ने दाउँपेचमा लागेको उल्लेख गर्नुभयो । ‘जस्तो की राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनलाई बलियो आधार मिलेको छ भन्दै चुनाव गराउन अघि सर्ने तर स्थानीय चुनावको मिति तोक्न र निर्वाचनमा जान संविधानको व्याख्याकारमा रुपमा अघि सर्ने काम गठबन्धन दलहरुले गरिरहेका छन्,’ महासचिव पोख्रेलले भन्नुभयो ।

‘कोरोनाको यो बेलामा राष्ट्रिय सभा सदस्यको चुनाव हुनसक्छ भने स्थानीय चुनाव गर्न आखिर के ले छेक्यो ?’ महासचिव पोख्रेलले गठबन्धन दल एमालेसँग चुनाव लड्न डराएको तर्क पनि गर्नुभयो । उहाँले हार्ने डरले संविधानको अपव्याख्या गर्ने काम अहिलेको परमादेशी गठबन्धन सरकारले गरिरहेको बताउँदै कानूनले तोकेको कुरामा गलत अभ्यास गर्नु जनताले किमार्थ स्वीकार नगर्ने धारणा राख्नुभयो । गठनबन्धनका माध्यमबाट कुनै पनि परिणाम निकाल्न सक्ने कुरामा पूरै असफल गठबन्धनका रुपमा मात्रै रहेको ठोकुवा गर्दै लुम्बिनी प्रदेशका विनर्तमान मुख्यमन्त्री समेत रहनुभएको नेता पोख्रेलले लोकतन्त्रका पक्षमा नकारात्मक प्रभाव, विकास र समृद्धिका प्रश्नमा र मुलुकको स्वाधीनता र समृद्धिको प्रश्नमा पनि यो सरकार असफल भईसकेको बताउनुभयो ।

असफलता नै असफलताको भ¥याङ चढिरहेको यो सरकारले आफुलाई टिकाउने भन्दा अब मुलुकको हीतका पक्षमा नयाँ जनादेशमा जानुको विकल्प नरहेको विश्वास व्यक्त गर्नुभयो । ‘मेरो आग्रह के हो भने, अब समय बेकारको खेर नफालौँ, खण्डित भएको जनादेशलाई पुुनस्थापित गर्न देशलाई नयाँ जनादेशमा लैजान आवश्यक छ, उहाँले भन्नुभयो, पाँच दलीय गठबन्धन चुनावसम्म कायम राख्ने हो भने कम्तिमा चुनावको मिति घोषणा गर्न जरुरी छ ।’ उहाँले सत्तामा जान गठबन्धन कायम गर्ने दलहरु चुनावबाट भाग्न नमिल्ने चेतावनी पनि दिनुभयो । ‘नेकपा एमालेलाई पराजित गर्न गठबन्धनको बाटो भएर चुनावको बाटोमा जान तयार हो भने नेकपा एमाले चुनावमा जान तयार छ,’ उहाँले भन्नुभयो ।
सरकारले ६ महिनामा गरेको कामको भूमिका शुन्य प्रायको अवस्थामा रहेको बताउनुभयो । गठबन्धनको यो समय राष्ट्रको जीवनमा असफल भएको बताउँदै मन्त्रिपरिषद पूर्णतामै सय दिन लगाउनुले काम गर्ने गति कस्तो थियो भन्ने प्रष्ट हुने तर्कसमेत गर्नुभयो ।

अहिले देश चरम आर्थिक संकटको अवस्थामा गुज्रिएको बताउँदै बितेको छ महिनालाई आधार मान्ने हो भने मु्ल्य वृद्धि उच्च विन्दुमा पुगेको, मुलुकमा मंहगी बढेको, विकास खर्च हुन नसकेको, मौद्रिक तरलता बढेको, विदेशी मुद्रा संचिती अत्यन्तै कमजोर अवस्थामा पुगेको तथा व्यापार घाटा निरन्तर उकालो लागेको हुँदा देश निकै चुनौतिपूर्ण र सकसपूर्ण अवस्थमा रहेको पुष्टि भएको दावी पनि गर्नुभयो ।

सरकारले सर्वाधिक ध्यान खोप भएपनि यही खोप अभियान बारे पनि सरकार बेखबर अवस्थामा रहेको उल्लेख गर्नुभयो । २६ लाख खोपको अभिलेख नभएको कुरालाई स्मरण गराउँदै कोभिड नियन्त्रण र उपचारका सन्दर्भमा सरकार पूर्ण रुपमा विफल भएको दावी पनि गर्नुभयो । अहिले पनि देशमा कुन विरामी कहाँ कुन अवस्थामा छ भन्ने हेक्का पनि राख्न नसकेको, विदेशबाट आउने नेपालीहरुको कोरोना परिक्षण र उचित व्यवस्थापनमा लापरवाही भएको आरोप लगाउनुभयो
उहाँले सार्वभौम संसदले बनाएको कानूनमा सरकारले प्रश्न उठाउने काम गरिरहेको भन्दै संविधान, संघीयता र लोकतन्त्र खतरामा पार्ने काम अहिलेको गठबन्धन सरकार लागिपरेको बताउनुभयो । ‘संविधानको जगमा सार्वभौम संसदले बनाएको कानूनका आधारमा स्थानीय तहको जुन ऐन नियम बनेको छ त्यो बाध्यात्मक दायित्वबाट सरकारपछि हट्न खोज्दैछ छ, यो निशर्त रुपमा कानून पालना गर्नुपर्छ र निर्वाचनको मिति घोषणा ढिलाई गर्नुहुँदैन,’ उहाँले भन्नुभयो । तर, गठबन्धनमा रहेका दलहरुलाई जनतामाथि भरोसा नभएकाले जनतामा जाँदा दण्डित हुने डरले निर्वाचनमा जान डराएको आरोप लगाउनुभयो । पत्रकार सम्मेलन चौतारी दाङका अध्यक्ष ईन्द्र डिसीको अध्यक्षतामा भएको थियो भने सञ्चालन उपाध्यक्ष प्रेम राम्जाले गर्नुभएको थियो । प्रदेस सांसदका रुपमा नेकपा एमालेका महासचिव पोखरेल राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न दाङ आउनुभएको थियो ।

नाटकिय ढंगले भागेका कैदी भारतबाट पक्राउ

प्रहरीले भन्यो– ‘यो ठूलो सफलता हो’

छवि पुरी

घोराही,  घोराहीबाट एक महिना दुई दिन अघि भागेका एकजना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । घोराहीको कारागारबाट अस्पताल गएका एकजना कैदी प्रहरीकै मोटरसाइकिल लिएर फरार भएका थिए । प्रहरीको आँखा छलेर फरार भएका यामराज परियारलाई दाङ प्रहरीले भारतबाट पक्राउ गरेको हो । भारतमा गएर पक्राउ गरिएको बारेमा प्रहरीले केही खुलाएको छैन । सुरुका दिनदेखि नै प्रहरीले खोजतलास गरिरहेको र भारतमा पुगेर ल्याएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो ।

दाङबाट भागेर भारत पुगेका परियारलाई पक्राउ गर्नु ठूलो सफलता भएको बताइएको छ । कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका परियारलाई पक्राउ गर्नका लागि प्रहरीलाई ठूलो दवाव परेको थियो । प्रहरीले नै सेटिङ गरेर भगाएको भन्ने आरोप लागेपछि खोजतलासका लागि प्रहरीलाई दवाव परेको थियो । दुई दिन अघि पक्राउ परेका परियारलाई ल्याएर प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेको थियो । कारागारका नाईकेसमेत रहेका भागेको प्रकरणमा कारागारका जेलर युवराज परियारलाई समेत अनुसन्धान गरिएको थियो । जेलर परियारको संलग्नता नदेखिएपछि उहाँलाई गत पुस १६ गते नै छोडिएको थियो । परियार जागिरको सिलसिलामा रोल्पा पुग्नुभएको छ ।

छालाको उपचार गर्न भनी कारागारका नाइके कैदी यामराजलाई प्रहरी जवान धनबहादुर चौधरीले गत पुस ८ गते दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर अस्पताल जानुभएको थियो । दुवैजना अस्पताल नगई होटलमा पुगेको र त्यहीबाट भागेको बताइन्छ । त्यस्तै घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारु पाँच हजार धरौटीमा छुटेका छन् । सो प्रकरणमा युवतीलगायत होटलको समेत व्यवस्थापनको काम गरेको आरोपमा घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका–१६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश भएको थियो ।

फरार भएका यामराज परियार

रुप बदलेर फरार

काराकारमा नाइके भएका परियारले त्यतिवेला कपाल र दाढी लामो पालेका थिए । जतिवेला उनि फरार भएका थिए त्यतिवेला उनको हुलिया अहिलेको भन्दा निकै फरक देखिन्थ्यो । प्रहरीलाई झुक्याएर फरार भएका परियारलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । उनि बस्न सक्ने सम्भाव्य स्थानहरु, उनले प्रयोग गर्ने फोन, भाइवर लगायतका एप्सका माध्यमबाट परियारको लोकेसन पत्ता लगाइएको बताइन्छ । पहिले दाढी र कपाल लामो पालेका परियारले कपाल र दाढी फालेपछि प्रहरीलाई पनि चिन्न गाह्रो परेको थियो ।
कारागारमा रहेको समयमा राम्रो छवि बनाएर नाइके बनेका परियारलाई बजार जाउ आउ गर्न छुट थियो । कारागारका कैदीहरुका लागि आवश्यक पर्ने सामानको व्यवस्था गर्ने जिम्मेवारी पनि उनको थियो । एकजना प्रहरीलाई साथमा लगेर उनि जहाँ पनि जान सक्दथे । नाइके भएका कारणले पाएको सुविधालाई दुरुपयोग गरेर परियार भाग्न सफल भएका थिए ।

‘अपरेशन एन्की’ सफल

घोराही कारागारबाट प्रहरीकै मोटरसाईकल लिएर नाटकीय शैलीमा फरार कैदी प्रकरण घटनाको वृहत अनुसन्धानले अन्ततः सार्थकता पाएको छ । ‘अपरेशन एन्की’ नाम दिएर घटना अनुसन्धान अघि बढाएको दाङ प्रहरीले घोराही कारागारबाट भागेका कैदीलाई महिनादिनको अथक प्रयासपछि पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजाल कमाण्डमा अन्य प्रहरी अधिकृत समेत संलग्न रहेको प्रहरी टोलीले कैदी परियारलाई पक्राउ गर्न सफल भयो ।

पक्राउ परेका कैदी परियारलाई सोमबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै प्रहरी प्रमुख काफ्लेले भाग्न सफल भएका परियारले कारागारमा प्रलोभनमा पारेर र आर्थिक श्रोत साधनको प्रयोग गरेर केही व्यक्तिको मिलेमतोमा भागेको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी गराउनुभयो । कैदी फरार प्रकरणको जिल्ला प्रहरी कार्यालयबाट गठित छानबिन तथा खोजतलास समितिका संयोजक र अपरेशन एन्की कमाण्डरका रुपमा प्रहरी नायब उपरीक्षक रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले तालुक प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखामार्फत भारतीय प्रहरी समकक्षीहरुसंगको निरन्तरको समन्वयमा खोजतलास गर्ने क्रममा आईतबार फेला पारेका थियो । कैदी परियारलाई भगाउन सहयोग गरेको अभियोगमा पक्राउ परेका केही पुर्पक्षका लागि कारागार चलान भएका छन् भने केही धरौटीमा छुटेका छन् । घटनामा संलग्न भएको भन्दै नौ जना यसअघि पक्राउ परेका थिए ।
कसरी भागेका थिए

राजपुर गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका २९ वर्षीय परियार गएको पुस ८ गते बिहान ११ बजे छाला सम्बन्धि बिरामी भई उपचारको लागी जाने क्रममा घोराही बजारको बिपी चोकस्थित थकाली भान्सा घर एण्ड लजमा गई खाजा खाने क्रममा उनीसँगै उपचारको लागि अस्पताल ल्याउन लैजान भनी खटिएका प्रहरी जवान धन बहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाईकल लिई फरार भएका थिए । परियारले प्रयोग गरेको मोटसाईकल लमहीको बेलदमार जंगलमा फेला परेको थियो । सो घटनामा संलग्न भएका भनिएकाहरुलाई नियन्त्रणमा लिई घटना अनुसन्धान अघि बढाइएको छ । यस्तै, यस घटना हाल अदालतमा विचाराधीन अवस्थामा रहेको छ । कारागारमा रहेका कैदी भागेकाले यो विषय कारागार ऐन अनुसार कानूनी कारवाही अघि बढ्ने प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो । प्रहरीको काम घटनाभएपछि फरार व्यक्ति पक्राउ गर्ने भएकाले आफुहरुको काम सफल भएको बताउँदै बाँकी कानूनी प्रकृया कारागार ऐनले सम्बोधन गर्ने तथा अदालतमा विचारधीन मुद्धाका रुपमा स्थापित भर्एकाले अबको काम अदालतले अघि बढाउने बताउनुभयो ।

अन्तिम फैसला अदालतको

फरार मुख्य व्यक्ति पक्राउ परिसकेकाले अदालतले यसबारेमा अन्तिम फैसला गर्ने हुँदा घटनाका बारेमा सबै कुरा भन्न नमिल्ने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो । घटनाका विषयमा जसरी गम्भीरतापूर्वक छानबीन गर्ने, अनुसन्धान गर्ने तथा फरार दोषीलाई पक्राउ गर्न भूमिका खेल्ने सम्पूर्ण प्रहरी युनिट प्रशंसाको पात्र रहेको भन्दै आभार प्रकट गर्नुभयो । यस्तै, घटनाका बारेमा हरेक कुराको नागरिकमा सूचना प्रवाहमा भूमिका खेलेको भन्दै संचारमाध्यमलाई पनि धन्यवाद दिनुभयो । करीव एक महिनाको यो प्रयासले प्रहरीले पाएको सफलता ऐतिहासिक भएको उहाँको भनाई थियो । ‘कैदी भागेपछि जुन प्रकारको प्रहरी संगठनको सुरक्षामाथि प्रश्न उठेको थियो, यसको जवाफ मिलि सकेको छ, फरार कैदी पक्राउ गर्न सफल हुनु सिंगो प्रहरीका लागि ऐतिहासिक उपलब्धी हो, यो काममा सफलता दिलाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो ।

परियारको कैद सजाय र अपराध कसुर अनुसार कारागार ऐन २०१९ को दफा २४ को ३ मा कैद म्याद तोेकिएको कैदी भागेमा पक्रिएपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।

 

नेपाल अपाङ्ग संघका संस्थापक अध्यक्ष खगेन्द्र बहादुर बस्नेतको सँझना

घोराही, माघ । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक अध्यक्ष खगेन्द्र बहादुर बस्नेतको ९४ औं जन्म जयन्ती दाङमा पनि मनाइयो ।

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र दाङ शाखाले आयोजना गरेको कार्यक्रममा नेपालमा शारिरिक अपाङ्गता भएकाहरुको अधिकारका लागि खगेन्द्र बहादुर बस्नेतले खेलेको भूमिकाको चर्चा गरिएको थियो ।

नेपाल अपाङ्ग संघमा आवासिय रुपमा रहेका अपाङ्गहरु

नेपाल अपाङ्ग संघ दाङका अध्यक्ष शरद अधिकारीले खगेन्द्र बहादुर बस्नेतको व्यक्तित्व र जीवनीको चर्चा गर्नुभएको थियो । विक्रम सम्वत १९८५ सालमा जन्मिएर ४९ बर्षमात्रै जिवित रहनुभएका खगेन्द्र बहादुर बस्नेतले शारिरीक अपाङ्गता भएकाहरुका लागि गरेको योगदानको अधिकारीले चर्चा गर्नुभएको थियो ।

जन्मदा सांग भएपनि २२ बर्षको उमेरमा अपाङ्ग हुनुभएका खगेन्द्र बहादुर बस्नेतले काठमाडौंको जोरपाटीमा अपाङ्ग पुनःस्थापना केन्द्र संचालन गरेर देशभरका अपाङ्गहरुको हितमा काम गरेको धारणा कार्यक्रमका बक्ताहरुको थियो ।
कार्यक्रममा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका उप महासचिव चिन्तामणि पौडेलले अपाङ्ग संघले गरिरहेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । यस्तै दाङ शाखाका निवर्तमान सभापति श्रीमण न्यौपानेले अपाङ्गता भएकाहरुको क्षेत्रमा काम गर्नु कठिन कार्य भएको भन्दै खगेन्द्र बहादुर बस्नेतले महत्वपूर्ण योगदान गर्नुभएको चर्चा गर्नुभएको थियो ।

शाखा सचिव भुमा चौधरीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत शाखाका उप सचिव निशान्त आचार्यले गर्नुभएको थियो । नेपाल अपाङ्ग संघले संस्थापक अध्यक्ष बस्नेतको सँझनामा हरेक बर्ष माघको ५ गतेका दिन कार्यक्रम गर्ने गरेको छ ।

 

एमाले दाङको नेतृत्वद्वारा पदभार ग्रहण

दाङ, माघ । नेकपा एमाले दाङको नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ । पुस २३ मा सुरु भइ २४ गतेका दिन सर्वसम्मत रुपमा चयन भएको नेतृत्वले बुधबार मात्रै पदभार ग्रहण गरेको हो ।

अधिवेशनबाट हुकुमबहादुर बस्नेतको अध्यक्षतामा एक सय २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको थियो । नेकपा एमाले दाङ इन्चार्ज नरुलाल चौधरीले पार्टी अध्यक्ष बस्नेतलाई पदभार गराउनुभएको थियो । यस्तै पार्टी अध्यक्ष बस्नेतले उपाध्यक्ष राममणि पाण्डे, सचिव मनोहर बुढाथोकी, उपसचिव कृष्ण प्रसाद भुषाल र हिरादेवी पुनलाई पदभार गराउनुभएको थियो ।

जिल्ला इञ्चार्ज नरुलाल चौधरी र सह इञ्चार्ज शान्ता चौधरीका साथमा नव निर्वाचित पदाधिकारीहरु

पदभारसँगै अध्यक्ष बस्नेतले माघ १६ गते जिल्ला कमिटीको प्रथम बैठक बोलाउने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । यो हस्ताक्षरसँगै एमाले दाङको प्रथम बैठक सहिद दिवसको दिन माघ १६ मा बस्ने भएको छ ।

पदभार कार्यक्रममा सांसद तथा पार्टीका पोलिटव्यूरो सदस्य शान्ता चौधरी, केन्द्रिय लेखा आयोगका सदस्य रेवतीरमरण शर्मा, पार्टीको प्रदेश कमिटीका सदस्य तथा जिल्ला कमिटीका सदस्यहरुको सहभागिता थियो ।

नयाँ नेतृत्व चयन पछि केही पदाधिकारीमा कोरोनाको संक्रमण देखिएपछि पदभार ग्रहणको कार्यक्रम केही ढीलो भएको सचिव बुढाथोकीले बताउनुभयो । उहाँले अव पदाधिकारी बैठक बसेर जिल्ला कमिटीको बैठकका एजेण्डा तय गर्ने र त्यसपछि बाँकी कामहरु अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

चोरीका सामान सहित दुई जना पक्राउ

यस्तो सम्म पनि चोर्न भ्याएका रहेछन ।

तुलसीपुर, माघ । तुलसीपुर प्रहरीले चोरीका सामान सहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालका अनुसार तुलसीपुर उपमहानगर पालिका वडा नं. ५ घरभई हाल वडा न. ६ रजौरामा डेरा कोठा गरी बस्ने बर्ष २० को दिलिप परियार र जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर घर भई हाल तुलसीपुर उपमहानगर पालिका वडा नं. ६ रजौरामा डेरा कोठा गरी बस्ने बर्ष १९ को बिशाल परियारलाई पक्राउ गरिएको हो ।

बिभिन्न स्थानमा चोरी कार्यमा संलग्न रहेको उजुरीका आधारमा उनिहरु बस्ने कोठाबाट लुकीछिपी बसिरहेको अवस्थामा मंगलबार पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक प्रसाद शर्माको अगुवाईमा गएको टोलीले उनिहरुको डेराकोठा खानतलासी गर्दा विभिन्न सामानहरु फेला पारेको थियो ।

उनिहरुको साथमा माछा जस्तो आकार भएको दाप सहितको खुकुरी, राप्ती खुकुरी उद्योगको स्ट्याम्प छाप, बच्चाले हातमा लगाउने चाँदिको जस्तो देखीने बाला, चाँदीको जस्तो देखीने सिक्री एक थान, फलामको हतियार नोख, फलामको ३ फिट ३ ईन्च लामो छट (सरिया) थान १, रा १ प ५४७३ न.को मोटरसाइकिलको दर्ता किताब र दुईथान विभिन्न व्यक्तिका राहदानी, कानमा लगाउने पहेलो रङ्गको गहना दुई जोडी, पहेलो रङ्गको मंगलसुत्र एक थान, पहेलो रङ्गको दुई थान चुरा र एउटा फुटेको मोवाइल पनि प्रहरीले फेला पारेको छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

घोराहीमा खाम भाषा संरक्षण थालियो

वडा नं. १४ को यस्तो पहल

दाङ, माघ । मगर समुदायले बोल्ने खामभाषा लोपहुँदै गएको छ । परम्परागत खाम भाषा बोल्ने भाषिक समुदायको अभाव हुँदा यो भाषा लोप हुदै गएको हो । यो भाषा बोल्ने पुराना व्यक्तिको मृत्यु हुनु र नयाँ पुस्तामा भाषा स्थान्तरण नहुँदा लोप हुँदै गएको छ ।

गुल्मीको रिडी पश्चिमभाग दाङ हुँदै कर्णाली प्रदेश सम्म बोलिने १८ मगरातको (खाम) रिडीको पूर्वभागमा बोलिने १२ मगरातको (मैढुट) र सुदुरपश्चिममा बोलिने (काईकेल) भाषा मगर समुदायका प्रमुख भाषीका हुन ।

यी तीनवटै भाषा बोल्ने मानिसको संख्या थोरै मात्र रहेको खाम भाषाका प्रशिक्षक कृतिमान पूनको भनाई छ । पुराना व्यक्तिमा भाषा ज्ञानको भएपनि यूवा पिढीले यसमा चासो नदिदा समस्या देखिएको पुनको भनाई छ । यूवा पिढीले खाम भाषा सिक्न ध्यान नदिदा अहिले मगर भाषा नै गाउँ समाजबाट हराउँदै गएको अर्का भाषा प्रशिक्षक बईनसरी पुन बताउनु हुन्छ ।

रोल्पाबाट दाङ बसाई सराई गरि आएका मगर समुदायको मुख्य भाषा खाँम भएपनि यो समुदायमा नेपाली भाषाको प्रभाव धेरै रहेको उहाँको भनाई छ । बाल बच्चाले नै पहिलो भाषाका रुपमा नेपाली भाषामा बोलचाल गर्न थालेसंगै खाँम पुरै लोप हुने अबस्थामा छ पुनले भन्नुभयो ।

परम्परा बचाउँन भाषाको ठुलो काम हुने भन्दै पछिल्लो समय मगर समुदायको कला, संस्कृति, भेषभुषा पनि कतै हराउँछ की भन्ने प्रश्न उव्जिएको देखिन्छ । मगर महिलाले लगाउँने गुन्यू चोलो, पुरुषले लगाउँने पहिरण मेला महोत्सव र चाडपर्वमा मात्र सिमित भएको घोराही १४ की दीलकुमारी बुढाको अनुभव छ । बुढाले लोप हुन थालेको खाँम भाषा बचाउँने अभियानमा आफूहरु जुटेको उहाँको भनाई छ ।

यसैबीच घोराही उपमहानगरपालिका वडा नं. १४ ले आयोजना गरेको सात दिने खामभाषाको तालिम समापन गरिएको छ । मगर समुदायको परम्परागत भाषाका रुपमा रहेको भाषा सिकाउन तालिम आयोजना गरिएको थियो । मगर समुदायको खाँम भाषा लोप हुने अबस्थामा रहेकोले यसको संरक्षण र प्रवद्र्धन गर्न तालिम आयोजना गरिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

तालिम समापनमाका अबसरमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य हरिमान पुन (बरुण) नेपाल मगरमुक्ती मोर्चाका पूर्व उपाध्यक्ष भिमकुमारी बुढा, कल्पुर्धशालाका सचिव बसन्त गुप्ता लगायतले बोल्नुभएको थियो । तालिममा मगर, दलित, मुस्लिम र मधेशी समुदायका करिब २० जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो । नेपाल मगर महिला सेवा समितिका अध्यक्ष बईनशरी पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दीलकुमारी बुढाले गर्नु भएको थियो

महेन्द्र बहुमुखी क्याम्पसमा नयाँ विषयको पढाइ हुँदै

दाङ जिल्लामा नभएको विषयको के छ तयारी ?

घोराही÷माघ । पश्चिम नेपालकै जेठो क्याम्पसका रुपमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा नयाँ विषयको पढाइ हुने भएको छ । डिप्लोमा तहमा विएस्सी सिएसआटी नामक विषयको पठन पाठनको तयारी गरिएको क्याम्पसले जानकारी दिएको छ ।

क्याम्पसले मंगलबार पत्रकार भेटघाट आयोजना गरेर यस्तो जानकारी दिएको हो । बजारमा विज्ञान र प्रविधिको जनशक्तिको माग भएका कारणले गर्दा विएस्सी सिएसआटी विषय पढाउन थालिएको क्याम्पस प्रमुख भरतराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार विएस्सी सिएसआटी अध्ययन गरेका विद्यार्थीहरु बैंकिङ क्षेत्रमा, अध्यापनको क्षेत्रमा, दुर सञ्चारको क्षेत्रमा सजिलोसंग रोजगार पाउन सक्नेछन ।

क्याम्पसमा नयाँ विषय ल्याएर यहाँका विद्यार्थीको चाहना पुरा गर्न थालिएको भन्दै क्याम्पस प्रमुख न्यौपानेले यस अघि पनि विभिन्न विषयमा अध्यापन गराइरहेको जानकारी दिनुभयो । यस बर्ष पहिलो समेस्टरमा ३६ जना विद्यार्थीहरुलाई मात्रै भर्ना गरिनेछ । आठ सेमेस्टरमा पढाइ हुने यो विषय अध्ययन गर्नका लागि विद्यार्थीहरुले करिव चार लाख रुपैया खर्च गर्नुपर्नेछ । पहिलो पटक विएस्सी सिएसआटी कक्षा संचालन गर्न थालिएको भएपनि पढाउनका लागि आवश्यक जनशक्ति रहेको जानकारी पनि क्याम्पस प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

सहायक क्याम्पस प्रमुख कुलविर चौधरीका अनुसार महेन्द्र बहुमुखी क्याम्पसमा हाल करिव चार हजार पाँच सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन । क्याम्पसमा डिप्लोमा र डिग्री तहका कक्षाहरु संचालन भइरहेका छन । चौधरीका अनुसार हाल क्याम्पसले विविएस, विए, विएड, विएस्सी र बिबिएका कक्षाहरु संचालन गरिरहेको छ ।

क्याम्पसले आयोजना गरेको पत्रकार सम्मेलनमा राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारीले राप्तीको जेठो र पुरानो क्याम्पससंग नागरिकका अनेकन अपेक्षा रहेको भन्दै नागरिकका अपेक्षा पुरा गर्नका लागि क्याम्पसले तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा राम्रो गर्नका लागि क्याम्पस प्रशासनले भूमिका खेल्नुपर्ने बताउनुभयो । उक्त अवसरमा अर्का सहायक क्याम्पस प्रमुख मनोज चौधरीले पनि क्याम्पसले नयाँ विषयमा अध्यापन गर्न थालेको भन्दै सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

नकआउट फुटबल प्रतियोगिता घोराहीमा सुरु

बडहराको विजयी शुरुवात

घोराही/ अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला फुटबल नकआउट प्रतियोगितामा घोराही १३ को बडहरा युवा क्लवले विजयी शुरुवात गरेको छ ।

घोराही १८ नवलपुर फुटबल मैदानमा आईतबार भएको पहिलो खेलमा मेघा स्पोट्र्स क्लवलाई ४—२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै क्लवले दोश्रो हाफमा गोल गरेका थिए । बडहरालाई जीत दिलाउन रविकिरण बुढाले २ गोल गर्दा उपेन्द्र पुन र सन्दीप थारुले १—१ गोल गरे ।

मेघा स्पाट्र्स क्लवका तर्फबाट मनिष चौधरी र अभियान थापाले १-१ गोल गरेपनि हार टार्न सकेनन् । २०५१ सालमा स्थापित दाङ जिल्ला फुटबल संघले एन्फाको कार्यक्रममा २८ वर्षपछि पहिलो पटक प्रतियोगिता गरिरहेको छ । यसअघि विभिन्न प्रतियोगिता हुने गरेपनि एन्फाको कार्यक्रममा जिल्ला फुटबल नकआउट प्रतियोगिता हुन सकेको थिएन । आईतबारबाट शुरु भएको खेल पुस १ गतेसम्म संचालन हुने दाङ जिल्ला फुटबल संघका महासचिव नरेन्द्र पुनले जानकारी दिनुभयो ।

प्रतियोगितामा सात वटा क्लबले भाग लिएका छन् । दुई पोलमा खेल विभाजन गरिएको छ । प्रतियोगितामा टरीगाउँ युवा क्लब, ज्ञानज्योति इनोभेटिभ एकेडेमी, सक्रिय युवा क्लब बबई, हापुरको अटल युवा क्लब, कपासीको मेघा स्पोर्ट्स युवा क्लब र घोराही १३ को बडहरा युवा क्लबले प्रतियोगितामा भाग लिएका छन् ।

आज सोमबारको खेलमा घोराही एफसी र अटल युवा क्लवबीच प्रतिष्पर्धा हुने भएको प्रतियोगिता संयोजक भीम चौधरीले बताउनुभयो । उक्त खेल दिउँसो १२ बजेबाट शुरु हुने दाङ जिल्ला फुटबल संघले जनाएको छ । जारी प्रतियोगितामा उत्कृष्ट हुने २ वटा क्लबले जिल्ला फुटबल लिगमा स्थान बनाउने छन् । दाङमा जिल्ला फुटबल संघमा हाल १० वटा क्लब आवद्ध छन् । ती क्लवको स्तर अब जिल्ला लिगबाट निर्धारण हुने भएको छ । जिल्लामा दर्ता भएका क्लबहरुको स्तर जिल्ला लिगले निर्धारण गर्ने गरी एन्फाले नयाँ नियम बनाएकाले क्लबहरु अब सक्रिय हुन थालेका र खेलाडी उत्पादनमा केन्द्रित भएका महासचिव पुनले बताए ।

जारी प्रतियोगिताको नकआउट खेल पछि जिल्ला लिग हुनेछ । जिल्ला लिग खेल्नु पर्ने नियम बनेसँगै आफु रेलिगेशनमा झर्ने डरले क्लबहरु क्लबमा लगानी गर्ने, राम्रा खेलाडीलाई स्थान दिने, क्लबको कागजी प्रकृया चुस्त दुरुस्त राख्नेलगायत काममा ध्यान केन्द्रित हुन थालेका महासचिव पुनले बताउनुभयो । जिल्ला नकआउट प्रतियोगिताबाट उत्कृष्ट भएका दुई क्लबले अर्को वर्ष हुने जिल्ला लिगमा स्थान बनाउने छन् । जिल्लामा यस अघि नै १० वटा क्लव रहेकाले नकआउट प्रतियोगिता खेलेर आएका २ क्लबले लिगमा स्थान बनाउने हुँदा जिल्ला लिगबाट पुछारको क्लब रेलिगेशनमा जाने छ ।

खेलकुदको विकासका लागि स्थानीय सरकार गम्भीर छ-अर्याल
जिल्ला फुटबल नकआउट प्रतियोगिताको घोराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमु्ख भरत अर्यालले उदघाटन गर्नुभयो । जिल्ला फुटबल संघका उपाध्यक्ष बुद्धि पुनको अध्यक्षतामा भएको उदघाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष अर्यालले खेलकुदका माध्यमबाट स्वस्थ नागरिक उत्पादनमा सहयोग पुग्ने हुँदा सरकारले खेलकुदका क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो ।

स्थानीय सरकारका तर्फबाट पनि पालिकामा प्रतिभावान खेलाडी उत्पादन गर्न थुप्रै खेलकुदका कार्यक्रम रहेको बताउँदै आगामी दिनमा आफु र पालिकाको तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । उदघाटन समारोहमा लुम्बिनी प्रदेश फुटबल संघका कार्यसमिति सदस्य शिवकुमार श्रेष्ठ, नवलपुर फुटबल एकेडेमीका दीपक पुन, राप्ती क्लकका बसन्त पुरी, सन्देश श्रेष्ठलगायतको उपस्थिती थियो । उद्घाटन समारोहको सहजीकरण दाङ जिल्ला फुटबल संघका महासचिव नरेन्द्र पुनले गर्नुभएको थियो ।

‘अवैध’ हाइपर फण्डले तहस नहस बनाउँदै आर्थिक गतिविधी

बैंकबाट ओडि लिएर लगानी, सवै गतिविधी गुपचुप, प्रशासनको अनभिज्ञता

छबी पुरी/राप्ती पोष्ट
दाङ ।
एक महिना अघि दाङको घोराहीमा एक युवाले आर्थिक क्षेत्रमा क्रियाशील केही व्यक्तिहरुलाई राखेर रात्रिभोज गरे । उनले रात्रिभोजको सबै खर्च व्यहोरे । करीव तीन घण्टा चलेको रात्रिभोजको खर्च ८० हजार आयो । होटलले थमाएको बिलको भोज आयोजना गर्ने युवाले तिरे । तीन घण्टामा केही युवाहरु बसेर खाएको बील ८० हजार तिरेका ती युवाहरुको आर्थिक हैसियत केही महिना अघिसम्म खासै केही थिएन ।

एकाएक उनी कसरी यसरी फर्माइस गर्ने भए भन्ने धेरैले मुखामुख कुरा गर्न थाले । उनले त्यहाँ भेला गराएर सबैलाई दिएको पार्टीको मुख्य योजना भनेको आफ्नो योजना सुनाउने र आफ्नो योजनामा अरुलाई पनि संलग्न गराउनु थियो । नगद लगानी गरेर छोटो समयमा धेरै पैसा कमाउन सकिने योजना सुनाउँदै ती युवाले हाईपर फण्डका बारेमा जानकारी गराए । उनले यसमा लगानी गर्ने हो भने राता रात धनी हुने योजना सुनाए अनि लगानी गर्न आग्रह गरे । अनि थाहा भयो, उनी हाईपर फण्डवाला रहेछन् । केही समय अघिसम्म सामान्य अवस्थामा रहेका ती युवालाई पनि यस्तै कार्यक्रममा सहभागी भएर आवद्ध हुने अवसर जुरेको बताए । अहिले उनले मासिक रुपमा मोटो रकम कमाउने गरेको उपस्थितहरुलाई सुनाए ।

यति भनि सकेपछि त्यहाँ रहेका धेरैले लगानी गरेर पैसा कमाउने ईच्छा व्यक्त गरे । असोजको पहिलो हप्ता घोराही ८ दुन्द्रामा एक कार्यक्रममा सहभागी भएकाले एक जनाले हाईपर फण्डको कुरा उठाए । उनले आफुले १ लाख लगानी गरेको सुनाउँदै राम्रो प्रतिफल पाईरहेको जनाए । नारायणपुरका एक जनाले १२ लाख एक्लै लगानी गरेर लगानी पनि उठाईसकेको र अहिले मासिक ८० हजार कमाई रहेको जानकारी गराए । घोराहीको एक सामुदायिक विद्यालयमा पढाउने शिक्षकले पनि धेरै शिक्षकहरुलाई यही अभियानमा जोड्दै लगेर महिनामै धेरै कमिशन खाने गरेको बुझिएको छ ।

हाईपर फण्डमा आवद्ध गराउँदा आफुलाई पनि राम्रो कमिशन आउने भएपछि लगानीकर्ता खोज्दै धमाधम पैसा कमाउने होड चलेको छ । तर, यो काम सबै गुपचुपमै चलेको छ । समुदायको भित्रै सम्म गएर अध्ययन गर्ने हो भने दाङमा मात्रै करोडौं रुपैया हाइपर फण्डमा गइसकेको छ । यसको प्रत्यक्ष असर बजारमा पर्न थालेको छ । कतिपय बैंकका प्रवन्धकहरु हाइपरका कारणले गर्दा बजारमा नगदको अभाव भएको भन्न थालेका छन् । छोटो समयमा मोटो रकम कमाउने लोभले मानिसहरु अहिले बैंकमा राखेको पैसा पनि झिक्दै हाईपर फण्डमा लगानी गरिरहेका छन् ।

हाईपर फण्डमा लागनी गर्नेहरुको गतिविधी बुझ्ने प्रयास राप्ती पोष्ट दैनिकले केही समयदेखि गरिरहेको थियो । हाइपरको बैठक नेटवर्किङ शैलीमा गर्ने गरेको पाइएको छ । कसरी सरकारी नियम छलेर लगानी गर्ने, कसरी पैसा कमाउने, कसरी सञ्जाल विस्तार गर्ने र कमाएको पैसा कसरी वैध बाटो छलेर नेपाल ल्याउने विषयमा केन्द्रित देखिन्छ । नेपालभित्रै र प्रवासमा रहेका सयौं नेपाली लगानी अहिले हाईपर फण्डको चंगुलमा परेको देखिन्छ ।

लगानी गरिसकेका, गर्न खुट्टा उचालेका र लगानी गरेर धेरथोर प्रतिफल चाखिसकेकाहरू हाइपर फन्डमा मात्रै आकर्षित छैनन्, यस्तै भर्चुअल शैलीका जोसियल, सोलेम्याक्स, क्राउड वान, सीआरयू, विन्टर जस्ता दर्जनभन्दा बढी प्लेटफर्मतर्फ तानिइरहेका छन्  । पछिल्लो समय अन्य प्लेटफर्मभन्दा हाइपर फन्डमा आकर्षित हुने नेपालीको संख्या बढिरहेको छ । डलरमा लगानी गर्नुपर्ने भएपनि नेपालभित्रै र प्रवासमा रहेका नेपालीमाझ यसको आकर्षण बढ्दो छ ।

‘मुनाफाको कुनै कानुनी ग्यारेन्टी नभएको यस्तो अवैध खेलमा धेरै नेपाली फस्ने जोखिम उच्च छ । देशमा बैंकिङ तरलता बढेर जाँदा पनि यस विषयमा भने राज्य पक्षकातर्फबाट गम्भीरतापूर्वक छानबीन भएको देखिदैन । त्यसले पनि ठूला लगानीकर्ताहरु पनि यसमा आवद्ध भएको हुन सक्ने आशंका गरिएको छ । दाङमा पनि यो संख्या निकै धेरै पुगिसकेको छ । चिया पसल, चोक, चौतारो, धारो, गाउँठाउँमा पनि अहिले हाईपर फण्डको चर्चा चल्ने गरेपनि प्रहरी प्रशासनले भने यस विषयमा अनभिज्ञता प्रकट गरेको छ ।

हाइपर फन्डलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विभिन्न देशका सरकारले, अर्बपतिहरूले, तीन ठूला कम्पनी ब्लकचेन ग्लोबल, कोलिन स्टार र एचक्यास र छ विभिन्न विश्वविद्यालयले सहयोग पु¥याइरहेको देखिन्छ । करीव दुई महिनाको राप्ती पोष्टको अध्ययनले ३० करोडभन्दा धेरै सदस्यता रहेको हाइपर फन्डमा सदस्य बनेर लगानी गरेपछि आफ्नो डिजिटल प्रोफाइलमा हरेक दिन नाफा देखिने गरेको पाएको छ । त्यस्तो नाफालाई बैंक खातामा सार्न सकिन्छ । तर कसैले पनि बैंकमा सारेका देखिदैन । क्वाइनको किनबेच व्यक्तिबाट व्यक्तिमा हुने गरेको छ । स्वदेशमै रहेकाहरूले पनि यस्तै खालका अनेकन भर्चुअल प्लेटफर्ममा डलर लगानी गरेर सदस्यता बनिरहेका छन् । दाङ जिल्लामा उद्योग बाणिज्य संघको नेतृत्वमा रहेकाहरुको पनि संलग्नता रहेको गाई गुँइ सुनिन थालेको छ ।

हाइपर फन्ड भनेर सर्च गरियो भने दर्जनौं फेसबुक पेज र प्रोफाइल मात्रै खुल्दैनन्, यसमा लगानी गर्न प्रोत्साहित गरिएका कैयौं भिडियो सामग्री युट्युबमा भेटिन्छन । कानुनले अवैध भने पनि हाइपर फन्ड जस्ता प्लेटफर्ममा डलरमा लगानी गर्ने क्रम व्यापक बन्दै गइरहेको छ । यस्तो व्यापकताले सरकारले अवैध भने पनि दसौं हजार नेपालीको लगानी जोखिममा छ । यस्ता अवैध अभ्यासले हुन्डीको कारोबार फस्टाउने, कालोधनको ओसारपसार सजिलो हुने र क्राउड वानले अफ्रिका महादेशका दसौं हजारलाई फसाइदिएकै शैलीमा नेपालीको लगानी डुब्ने खतरा पनि उत्तिकै छ ।

नेपाली बैंक वा ईसेवा, खल्ती अथवा कनेक्ट आईपीएस जस्ता डिजिटल पेमेन्ट सेवा प्रदायकबाट प्याक्सफुल डटकमका एजेन्टको नेपाली खातामा रकम हालिदिएपछि उसले उक्त रकम बराबरको डलर प्याक्सफुल डटकमको खातामा देखाइदिन्छ । त्यसबाट सोझै हाइपर फन्ड जस्ता माध्यममा लगानी गर्न अथवा बिनेन्स जस्ता क्रिप्टोकरेन्सीको कारोबारमा सघाउने साइटमा डलर सारेर क्रिप्टोकरेन्सी किन्न सकिन्छ ।

हाइपर फण्डका विषयमा जिल्ला प्रहरी कार्यालय दाङमा बुझ्दा प्रहरीले यो विषयमा आफु अनभिज्ञ रहेको प्रतिक्रिया दिएको छ । जिल्लामा यस प्रकारको कुनै पनि गतिविधि भएको सम्बन्धी गुनासो वा उजुरी नपरेका तथा केन्द्रबाट पनि कुनै सर्कुलर जारी नभएको बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जिल्लामा हाइपर फण्ड सम्बन्धमा आफुहरु जानकार नरहेको प्रतिक्रिया दिनुभयो । यो विषय बारे आफुले अब के रहेछ भनेर अनसन्धान अघि बढाउने बताउनुभयो । यसअघि लटरी चिट्ठा परेको भनेर अवैध धन्दा गर्नेहरुलाई मात्रै नियन्त्रणमा लिएको अवगत गराउँदै समाजबाट कोही व्यक्ति अपाmु पीडित भएँ भनेर नआउँदासम्म सबै यथार्थ जानकारी दिन कठिन हुने उहाँको भनाई थियो । ‘समाजमा हुने सबै कुरा सार्वजनिक नहुँदासम्म हरेक व्यक्तिको बारेमा जानकारी लिन नसकिने हुन्छ । मानिस सजिलो गरी मुनाफा कमाउन खोज्दा यस्ता अवैध बाटोमा फस्छन् आशा गरौँ ढिलो चाँडो यथार्थता बाहिर आउला,’ डिसपी रिजालले भन्नुभयो ।

यतिवेला बैंकहरुमा अहिले तरलताको अभाव बढेर गएको छ । बैंकिङ तरलता अभावका कारण निक्षेप प्रशस्त संकलन हुन छाडेपछि ऋण लगानी समेत रुकेको अवस्था छ । नेपाल बैंक लिमिटेड घोराही शाखा प्रमुख सरोज उपाध्यायले निक्षेप संकलन औसतमा भएपनि टार्गेट अनुसार हुन नसकेको बताउनुभयो । यस्तै अवस्था घोराहीस्थित एनआईसी एशियाका शाखा प्रमुख प्रदिप भुसालको भनाई छ । नियमित डिपोजिट गर्ने र निकाल्ने क्रम चलिरहन्छ तर यसको बृहत अध्ययनबाट मात्रै थाहा हुनेहो रकम कुन ढंगबाट परिचालन भईरहेको छ भनेर । यो राष्ट्र बैंकको अध्ययनको विषय भएको उहाँको प्रतिक्रिया थियो । जिल्लामा अहिले सबै बैंकहरुले ऋण लगानी गर्न आनाककानी गरिरहेका छन् । निक्षेप संकलनमा गिरावट आएसँगै यसको असर बजारमा परेको छ । सबै लगानी हाईपर फण्ड जस्तै अवैध कारोबारमा मानिस आकर्षित भएपछि बैंक तथा वित्तिय क्षेत्रमा प्रभाव पर्न थालेको छ ।

बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव गहिरिँदै गएको छ । दसैंपछि बैंकहरुले तरलता अभाव भएपछि कर्जा लगानी नै रोकेका छन् । नेपाल बैंकर्स संघले उपलब्ध गराएको पछिल्लो साताको तथ्याङ्क हेर्ने हो भने वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात सीडी रेसियो औसतमा नै करिब ९० प्रतिशतको हाराहारीमा पुगेको छ । नेपाली मुद्राको निक्षेप केही मात्रै गायब भए पनि बैंकिङ प्रणालीबाट १६ अर्ब विदेशी मुद्राको निक्षेप गायब भएको छ । असोज मसान्तमा १ खर्ब ५१ अर्ब रहेको विदेशी मुद्राको निक्षेप कात्तिक महिनामा २ खरवमा सीमित भएको छ । भदौ अन्तिमतिर बैंकहरुले विदेशी मुद्राको नक्कली निक्षेप सिर्जना गर्न लागेपछि राष्ट्र बैंकले परिपत्र जारी गरेर त्यसलाई नियन्त्रण गरेको थियो । निक्षेप वृद्धि नहुने हो भने कर्जा दिने सक्ने अवस्था नरहेको बैंकर्सहरु बताउँछन् ।

संघर्षशिल योद्धा मेघबहादुर विसीलाई सँझना गर्दा

संघर्षशिल योद्धा ‘विसी’प्रति श्रद्धाञ्जली

शरद अधिकारी
दाङ÷ दङाली कम्युनिष्ट आन्दोलनका संघर्षशिल व्यक्तित्व मेघबहादुर विसीको निधन भएको छ । २००२ साल माघ सात गतेका दिन हालको तुलसीपुर उपहानगरपालिका वडा नं. १७ बनकट्टामा जन्मनुभएका विसीले कम्युनिष्ट आन्दोलनका लागि पु¥याएको योगदान अविश्मरणिय रहेको छ । दाङ जिल्लामा जन्मिएर पनि विसीले नेपालका सवै कुना कन्दरमा बसेका कम्युनिष्टहरुले थाहा पाउने गरी योगदान गर्नुभएको छ । पंचायती व्यवस्थाको अन्त्यका लागि भूमिगत राजनीतिक यात्रा थाल्नुभएका विसी कमिटीगत रुपमा नेकपा एमालेको दाङ जिल्ला कमिटी सचिव, अंचल कमिटी सदस्य, केन्द्रिय सल्लाहकार परिषद सदस्यका रुपमा रहनुभयो । राजकिय सत्ताको कुरा गर्ने हो भने उहाँले सुकुम्वासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष हुनु बाहेक अन्य कुनै जिम्मेवारी पाउनुभएको थिएन ।

मेघबहादुर विसी ३०३४ सालदेखि भूमिगत राजनीतिक यात्रा थाल्नुभएको थियो । स्थानीय शोषक सामन्तको विरोध गर्दा व्यवस्था विरोधीको आरोप लागेपछि उहाँले आफूलाई भूमिगत रुपमा परिचालन गर्नुभएको थियो । दङाली कम्युनिष्ट आन्दोलनका नक्षत्र नेत्रलाल पौडेल अभागीको प्रेरणाबाट उहाँ राजनीतिमा होमिनुभएको थियो । दाङ जिल्लामा क्षेत्रिहरुको बाहुल्यता रहेको तर क्षेत्रि समुदायबाट राजनीतिमा सहभागिता कम रहेको पाएपछि नेत्रलाल पौडेल अभागीले मेघबहादुर विसी लगायतलाई राजनीतिक सचेतना दिनुभएको थियो । नेत्रलाल पौडेलले नै विसीलाई शोषण, अन्याय र अत्याचारको विरुद्धमा लाग्नका लागि प्रेरणा दिनुभयो । जसको फलस्वरुप विसीले आफूलाई भूमिगत रुपमा राजनीतिमा सक्रिय गराउनुभयो । २०४१ सालमा नेत्रलाल पौडेलको निधन भएपछि मेघबहादुर विसी लगायतलनै दाङको कम्युनिष्ट आन्दोलनको मुल प्रवाहलाई अघि बढाउनुभएको थियो ।

राजनीतिक यात्राको क्रममा मेघबहादुर विसी विभिन्न स्थानमा पुग्नुभयो । उहाँ दाङबाट निर्वाचन लड्नका लागि सल्यान पनि पुग्नुभएको थियो । २०३५ सालमा नेकपा माले गठन हुनुुभन्दा पहिले देखि नै विसी राजनीतिमा सक्रिय भइसक्नुभएको थियो । नेत्रलाल पौडेलको नेतृत्वमा रहेको सन्देश समुहमा आवद्ध रहनुभएको थियो । २०३५÷०३६ सालमा चलेको किसान आन्दोलनको समयमा मेघबहादुर विसी आन्दोलनमा सहभागि हुनुभयो । आन्दोलनमा सहभागि भए बापत उहाँलाई पनि वारेन्ट काटिएको थियो । तत्कालिन सत्ताले उहाँहरुलाई खुवै खोज्यो । त्यतिवेला केही भूमिगत हुन नसकेर खुल्ला भए अर्थात सत्तासंग समर्पण गरे । तर विसीले आन्दोलनलाई घात गर्नुभएन । २०३५÷०३६ सालतिर जिल्ला कमिटीमा रहेका ५ जनामध्य सवै भूमिगत जान सक्ने अवस्था रहेन । त्यतिवेला कार्यकर्ता भेला आयोजना गरेर अनुचित क्रियाकलाप विरुद्ध बैचारिक संघर्ष गर्दै पार्टी पङ्तीलाई रक्षा गरेर जाने बारेमा छलफल भयो । अराजक पङ्तिलाई पार्टीबाट निकाल्ने काम पनि त्यतिवेला गरियो । यस्तो कठिन काम गर्दा नेत्रलाल जिल्ला पार्टीको सचिव र केन्द्रिय सदस्यका रुपमा हुनुुहुन्थ्यो । जिल्ला कमिटीमा जम्मा तीन जनाको संख्या बचेको थियो । जसमा नेत्रलाल पौडेल अभागी, मेघबहादुर विसी र फर्साराम देवकोटा मात्रै हुनुुहुन्थ्यो ।

दाङ जिल्लाको कम्युनिष्ट आन्दोलनलाई आजको अवस्थामा ल्याउनका लागि भूमिका खेल्ने थोरैमध्य मेघबहादुर विसीलाई विर्सन मिल्दैन । २०११ सालमा कम्युनिष्ट पार्टी स्थापना गरेर नारायणप्रसाद शर्मा, माणिकलाल गौतम, केशवराज गौतम, रामप्रसाद देवकोटा लगायतको नाम आउँछ भने पछि पछि सन्देश समुहका रुपमा दाङबाट कम्युनिष्ट पार्टीको झण्डालाई उचो बनाउने नामहरुमा नेत्रलाल, मेघबहादुर, फर्साराम लगायतको नाम आउँछ । यो अभियानमा पछि धेरै नेताहरु जोडिनुभयो जो यहाँ उल्लेख गर्नु सम्भव हुँदैन ।

मेघबहादुर विसीले पंचायती व्यवस्थाको विरुद्धमा आफूलाई उभ्याउनुभयो । बहुदलिय व्यवस्थाको आगमन पछि पनि पार्टीले जता भन्यो त्यतै जानुभयो । पार्टीले दिएको जिम्मेवारीलाई सहजताका साथ आत्मसाथ गर्नुभयो । पार्टी कामको शिलशिलामा उहाँ अछामसम्म पुग्नुभएको थियो । हाल नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष भिम रावललाई कम्युनिष्ट पार्टीको सदस्यता दिएको कुरा विसीले पछिसम्म पनि गर्नुहुन्थ्यो । दाङ जिल्लाबाट राजनीतिक यात्रा थालेको भएपनि संगठन निर्माणका लागि विभिन्न जिल्लामा पुग्नुभयो । अनेकन आरोह अवरोह झेल्नुभयो । राजनीतिक रुपमा लाभ लिनुभएन । सादगीपुर्ण र साधारण जीवन बाँच्नुभयो । २०४८ सालमा निर्वाचनमा होमिनुभयो । जित्नु भएन । त्यतिवेला जित्ने अवस्था पनि थिएन । भर्खर पार्टी खुला भएको थियो । जनताको बीचमा संगठन बनिसकेको थिएन । २०५४ सालमा भएको स्थानीय निर्वाचनपछि मेघबहादुर विसी जिल्ला सभापतीका रुपमा उमेदवार बन्नुभयो । त्यतिवेला पार्टी विभाजित थियो । उहाँ नेकपा मालेमा हुनुहुन्थ्यो भने छविलाल वली एमालेका तर्फबाट उमेदवार बन्नुभएको थियो । भूमिगत रुपमा संगै जस्तो राजनीतिक यात्रा थालेका दुई योद्धाहरु आपसमा लड्दा विपक्षीले जित्ने त स्वभाविक थियो । त्यसपछि विसी कुनै पनि निर्वाचनमा सहभागि हुनुभएन । सायद अपेक्षा पनि गर्नुभएन ।

पछिल्लो समय उहाँलाई सुगर र प्रेसरको समस्या थियो । पारिवारिक रुपमा पनि उहाँलाई समस्या परेको थियो । श्रीमतीको निधनपछि विसी एक्लो जस्तै हुनुभएको थियो । श्रीमतीको अभावलाई मेटाउन दोस्रो विवाह गर्नुभयो । राजनीतिमा लागेर उहाँले आफूलाई सामाजिक रुपमा कति उभ्याउन सक्नुभयो त्यो समाजले मूल्याङ्कन गर्ने कुरा हो तर आर्थिक रुपमा जर्जर बन्नुभयो । एक समय छोरालाई बस किनिदिनुभएको थियो त्यो पनि पछि चलेन । गाउँको जमिन बेचेर राजनीतिक यात्रामा लाग्नुभयो । आफूलाई एक हिसावले आर्थिक रुपमा धरासायी बनाउनुभयो । पछिल्लो समय उहाँलाई औषधी उपचार गर्नका लागि पनि समस्या परेको थियो । विभिन्न व्यक्तिहरुले सदभावका साथ दिएको रकमबाट उहाँले आफ्नो दैनिक खर्च चलाउन थाल्नुभएको थियो । राजनीतिमा लामो समय विताएको योद्धाले जीवनको उत्तरार्धमा भने अलि बढी दुःख पाएको देखिएको थियो । राजनीतिक रुपमा सक्रिय हुन सक्ने अवस्था नरहेको र पार्टीले पनि खोजतसाल नगरेको जस्तो उहाँको अवस्था भएको थियो ।

मेघबहादुर विसी अव हाम्रा माझमा हुनुुहुन्न । उहाँले देखाएको बाटो र उहाँको योगदान मात्रै बचेको छ । उहाँले राजनीतिमा जुन त्याग गर्नुभयो, आफूलाई समर्पित गर्नुभयो त्यो सवैका लागि अनुकरणिय रहनेछ । राजनीति भनेको लाभका लागि मात्रै हो भन्नेहरुका लागि मेघबहादुर विसीले गरेको राजनीति पक्कै झटारो हुनेछ । विसीले राजनीतिका रुपमा गरेको त्यागलाई कसैगरी भूल्न सकिनेछैन । उहाँले निष्ठाका साथ आफूलाई प्रस्तुत गर्नुभयो । इमान्दार राजनीतिज्ञका रुपमा आफूलाई प्रस्तुत गर्नुभयो । उहाँ अध्ययनशिल व्यक्तित्व हुनुुहुन्थ्यो । चिनिया क्रान्तिको विषयमा, रुसमा भएको अक्टोबर क्रान्तिका बारेमा विसीलाई राम्रो ज्ञान थियो । उहाँका कुरालाई कार्यकर्ताले चाखपूर्वक सुन्दथे । उहाँको आफ्नै शैली थियो । राजनीतिक रुपमा आफूले जानेको कुरा सिकाउने, बर्तमान सन्दर्भका बारेमा भन्ने गर्नुहुन्थ्यो । पछिल्लो समय नेकपा एमालेमा आएको विभाजन पटक्कै मन परेको थिएन । उहाँलाई कुनै राजनीतिक दलले कुनै पद दिएर यो हुनुुहुुन्थ्यो वा उ हुनुहुन्थ्यो भन्न जरुरी नै छैन । उहाँको योगदानलाई समग्रमा मूल्याङ्कन गर्नुपर्छ । पछिल्ला केही बर्ष त उहाँ राजनीतिमा सक्रिय नै हुनुुहुन्थेन । मात्रै उहाँलाई चिन्ता थियो आफूले समेत लडेर ल्याएको गणतन्त्र केही त हुँदैन । आफूले पसिना र परिश्रम गरेर बनाएको कम्युनिष्ट पार्टीमा समस्या आउने त होइन । आजको दिनमा मेघबहादुर विसीलाई दङाली कम्युनिष्ट आन्दोलनका निष्ठाबान नेता भन्दा फरक पर्दैन । उहाँले नेपालको राजनीतिक आन्दोलनमा जे योगदान दिनुभयो त्यो सदा सदा उच्च रहनेछ । कमरेड मेघबहादुर विसीलाई भावपूर्ण श्रद्धाञ्जली ।