spot_img
spot_img

‘अवैध’ हाइपर फण्डले तहस नहस बनाउँदै आर्थिक गतिविधी

बैंकबाट ओडि लिएर लगानी, सवै गतिविधी गुपचुप, प्रशासनको अनभिज्ञता

छबी पुरी/राप्ती पोष्ट
दाङ ।
एक महिना अघि दाङको घोराहीमा एक युवाले आर्थिक क्षेत्रमा क्रियाशील केही व्यक्तिहरुलाई राखेर रात्रिभोज गरे । उनले रात्रिभोजको सबै खर्च व्यहोरे । करीव तीन घण्टा चलेको रात्रिभोजको खर्च ८० हजार आयो । होटलले थमाएको बिलको भोज आयोजना गर्ने युवाले तिरे । तीन घण्टामा केही युवाहरु बसेर खाएको बील ८० हजार तिरेका ती युवाहरुको आर्थिक हैसियत केही महिना अघिसम्म खासै केही थिएन ।

एकाएक उनी कसरी यसरी फर्माइस गर्ने भए भन्ने धेरैले मुखामुख कुरा गर्न थाले । उनले त्यहाँ भेला गराएर सबैलाई दिएको पार्टीको मुख्य योजना भनेको आफ्नो योजना सुनाउने र आफ्नो योजनामा अरुलाई पनि संलग्न गराउनु थियो । नगद लगानी गरेर छोटो समयमा धेरै पैसा कमाउन सकिने योजना सुनाउँदै ती युवाले हाईपर फण्डका बारेमा जानकारी गराए । उनले यसमा लगानी गर्ने हो भने राता रात धनी हुने योजना सुनाए अनि लगानी गर्न आग्रह गरे । अनि थाहा भयो, उनी हाईपर फण्डवाला रहेछन् । केही समय अघिसम्म सामान्य अवस्थामा रहेका ती युवालाई पनि यस्तै कार्यक्रममा सहभागी भएर आवद्ध हुने अवसर जुरेको बताए । अहिले उनले मासिक रुपमा मोटो रकम कमाउने गरेको उपस्थितहरुलाई सुनाए ।

यति भनि सकेपछि त्यहाँ रहेका धेरैले लगानी गरेर पैसा कमाउने ईच्छा व्यक्त गरे । असोजको पहिलो हप्ता घोराही ८ दुन्द्रामा एक कार्यक्रममा सहभागी भएकाले एक जनाले हाईपर फण्डको कुरा उठाए । उनले आफुले १ लाख लगानी गरेको सुनाउँदै राम्रो प्रतिफल पाईरहेको जनाए । नारायणपुरका एक जनाले १२ लाख एक्लै लगानी गरेर लगानी पनि उठाईसकेको र अहिले मासिक ८० हजार कमाई रहेको जानकारी गराए । घोराहीको एक सामुदायिक विद्यालयमा पढाउने शिक्षकले पनि धेरै शिक्षकहरुलाई यही अभियानमा जोड्दै लगेर महिनामै धेरै कमिशन खाने गरेको बुझिएको छ ।

हाईपर फण्डमा आवद्ध गराउँदा आफुलाई पनि राम्रो कमिशन आउने भएपछि लगानीकर्ता खोज्दै धमाधम पैसा कमाउने होड चलेको छ । तर, यो काम सबै गुपचुपमै चलेको छ । समुदायको भित्रै सम्म गएर अध्ययन गर्ने हो भने दाङमा मात्रै करोडौं रुपैया हाइपर फण्डमा गइसकेको छ । यसको प्रत्यक्ष असर बजारमा पर्न थालेको छ । कतिपय बैंकका प्रवन्धकहरु हाइपरका कारणले गर्दा बजारमा नगदको अभाव भएको भन्न थालेका छन् । छोटो समयमा मोटो रकम कमाउने लोभले मानिसहरु अहिले बैंकमा राखेको पैसा पनि झिक्दै हाईपर फण्डमा लगानी गरिरहेका छन् ।

हाईपर फण्डमा लागनी गर्नेहरुको गतिविधी बुझ्ने प्रयास राप्ती पोष्ट दैनिकले केही समयदेखि गरिरहेको थियो । हाइपरको बैठक नेटवर्किङ शैलीमा गर्ने गरेको पाइएको छ । कसरी सरकारी नियम छलेर लगानी गर्ने, कसरी पैसा कमाउने, कसरी सञ्जाल विस्तार गर्ने र कमाएको पैसा कसरी वैध बाटो छलेर नेपाल ल्याउने विषयमा केन्द्रित देखिन्छ । नेपालभित्रै र प्रवासमा रहेका सयौं नेपाली लगानी अहिले हाईपर फण्डको चंगुलमा परेको देखिन्छ ।

लगानी गरिसकेका, गर्न खुट्टा उचालेका र लगानी गरेर धेरथोर प्रतिफल चाखिसकेकाहरू हाइपर फन्डमा मात्रै आकर्षित छैनन्, यस्तै भर्चुअल शैलीका जोसियल, सोलेम्याक्स, क्राउड वान, सीआरयू, विन्टर जस्ता दर्जनभन्दा बढी प्लेटफर्मतर्फ तानिइरहेका छन्  । पछिल्लो समय अन्य प्लेटफर्मभन्दा हाइपर फन्डमा आकर्षित हुने नेपालीको संख्या बढिरहेको छ । डलरमा लगानी गर्नुपर्ने भएपनि नेपालभित्रै र प्रवासमा रहेका नेपालीमाझ यसको आकर्षण बढ्दो छ ।

‘मुनाफाको कुनै कानुनी ग्यारेन्टी नभएको यस्तो अवैध खेलमा धेरै नेपाली फस्ने जोखिम उच्च छ । देशमा बैंकिङ तरलता बढेर जाँदा पनि यस विषयमा भने राज्य पक्षकातर्फबाट गम्भीरतापूर्वक छानबीन भएको देखिदैन । त्यसले पनि ठूला लगानीकर्ताहरु पनि यसमा आवद्ध भएको हुन सक्ने आशंका गरिएको छ । दाङमा पनि यो संख्या निकै धेरै पुगिसकेको छ । चिया पसल, चोक, चौतारो, धारो, गाउँठाउँमा पनि अहिले हाईपर फण्डको चर्चा चल्ने गरेपनि प्रहरी प्रशासनले भने यस विषयमा अनभिज्ञता प्रकट गरेको छ ।

हाइपर फन्डलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विभिन्न देशका सरकारले, अर्बपतिहरूले, तीन ठूला कम्पनी ब्लकचेन ग्लोबल, कोलिन स्टार र एचक्यास र छ विभिन्न विश्वविद्यालयले सहयोग पु¥याइरहेको देखिन्छ । करीव दुई महिनाको राप्ती पोष्टको अध्ययनले ३० करोडभन्दा धेरै सदस्यता रहेको हाइपर फन्डमा सदस्य बनेर लगानी गरेपछि आफ्नो डिजिटल प्रोफाइलमा हरेक दिन नाफा देखिने गरेको पाएको छ । त्यस्तो नाफालाई बैंक खातामा सार्न सकिन्छ । तर कसैले पनि बैंकमा सारेका देखिदैन । क्वाइनको किनबेच व्यक्तिबाट व्यक्तिमा हुने गरेको छ । स्वदेशमै रहेकाहरूले पनि यस्तै खालका अनेकन भर्चुअल प्लेटफर्ममा डलर लगानी गरेर सदस्यता बनिरहेका छन् । दाङ जिल्लामा उद्योग बाणिज्य संघको नेतृत्वमा रहेकाहरुको पनि संलग्नता रहेको गाई गुँइ सुनिन थालेको छ ।

हाइपर फन्ड भनेर सर्च गरियो भने दर्जनौं फेसबुक पेज र प्रोफाइल मात्रै खुल्दैनन्, यसमा लगानी गर्न प्रोत्साहित गरिएका कैयौं भिडियो सामग्री युट्युबमा भेटिन्छन । कानुनले अवैध भने पनि हाइपर फन्ड जस्ता प्लेटफर्ममा डलरमा लगानी गर्ने क्रम व्यापक बन्दै गइरहेको छ । यस्तो व्यापकताले सरकारले अवैध भने पनि दसौं हजार नेपालीको लगानी जोखिममा छ । यस्ता अवैध अभ्यासले हुन्डीको कारोबार फस्टाउने, कालोधनको ओसारपसार सजिलो हुने र क्राउड वानले अफ्रिका महादेशका दसौं हजारलाई फसाइदिएकै शैलीमा नेपालीको लगानी डुब्ने खतरा पनि उत्तिकै छ ।

नेपाली बैंक वा ईसेवा, खल्ती अथवा कनेक्ट आईपीएस जस्ता डिजिटल पेमेन्ट सेवा प्रदायकबाट प्याक्सफुल डटकमका एजेन्टको नेपाली खातामा रकम हालिदिएपछि उसले उक्त रकम बराबरको डलर प्याक्सफुल डटकमको खातामा देखाइदिन्छ । त्यसबाट सोझै हाइपर फन्ड जस्ता माध्यममा लगानी गर्न अथवा बिनेन्स जस्ता क्रिप्टोकरेन्सीको कारोबारमा सघाउने साइटमा डलर सारेर क्रिप्टोकरेन्सी किन्न सकिन्छ ।

हाइपर फण्डका विषयमा जिल्ला प्रहरी कार्यालय दाङमा बुझ्दा प्रहरीले यो विषयमा आफु अनभिज्ञ रहेको प्रतिक्रिया दिएको छ । जिल्लामा यस प्रकारको कुनै पनि गतिविधि भएको सम्बन्धी गुनासो वा उजुरी नपरेका तथा केन्द्रबाट पनि कुनै सर्कुलर जारी नभएको बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जिल्लामा हाइपर फण्ड सम्बन्धमा आफुहरु जानकार नरहेको प्रतिक्रिया दिनुभयो । यो विषय बारे आफुले अब के रहेछ भनेर अनसन्धान अघि बढाउने बताउनुभयो । यसअघि लटरी चिट्ठा परेको भनेर अवैध धन्दा गर्नेहरुलाई मात्रै नियन्त्रणमा लिएको अवगत गराउँदै समाजबाट कोही व्यक्ति अपाmु पीडित भएँ भनेर नआउँदासम्म सबै यथार्थ जानकारी दिन कठिन हुने उहाँको भनाई थियो । ‘समाजमा हुने सबै कुरा सार्वजनिक नहुँदासम्म हरेक व्यक्तिको बारेमा जानकारी लिन नसकिने हुन्छ । मानिस सजिलो गरी मुनाफा कमाउन खोज्दा यस्ता अवैध बाटोमा फस्छन् आशा गरौँ ढिलो चाँडो यथार्थता बाहिर आउला,’ डिसपी रिजालले भन्नुभयो ।

यतिवेला बैंकहरुमा अहिले तरलताको अभाव बढेर गएको छ । बैंकिङ तरलता अभावका कारण निक्षेप प्रशस्त संकलन हुन छाडेपछि ऋण लगानी समेत रुकेको अवस्था छ । नेपाल बैंक लिमिटेड घोराही शाखा प्रमुख सरोज उपाध्यायले निक्षेप संकलन औसतमा भएपनि टार्गेट अनुसार हुन नसकेको बताउनुभयो । यस्तै अवस्था घोराहीस्थित एनआईसी एशियाका शाखा प्रमुख प्रदिप भुसालको भनाई छ । नियमित डिपोजिट गर्ने र निकाल्ने क्रम चलिरहन्छ तर यसको बृहत अध्ययनबाट मात्रै थाहा हुनेहो रकम कुन ढंगबाट परिचालन भईरहेको छ भनेर । यो राष्ट्र बैंकको अध्ययनको विषय भएको उहाँको प्रतिक्रिया थियो । जिल्लामा अहिले सबै बैंकहरुले ऋण लगानी गर्न आनाककानी गरिरहेका छन् । निक्षेप संकलनमा गिरावट आएसँगै यसको असर बजारमा परेको छ । सबै लगानी हाईपर फण्ड जस्तै अवैध कारोबारमा मानिस आकर्षित भएपछि बैंक तथा वित्तिय क्षेत्रमा प्रभाव पर्न थालेको छ ।

बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव गहिरिँदै गएको छ । दसैंपछि बैंकहरुले तरलता अभाव भएपछि कर्जा लगानी नै रोकेका छन् । नेपाल बैंकर्स संघले उपलब्ध गराएको पछिल्लो साताको तथ्याङ्क हेर्ने हो भने वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात सीडी रेसियो औसतमा नै करिब ९० प्रतिशतको हाराहारीमा पुगेको छ । नेपाली मुद्राको निक्षेप केही मात्रै गायब भए पनि बैंकिङ प्रणालीबाट १६ अर्ब विदेशी मुद्राको निक्षेप गायब भएको छ । असोज मसान्तमा १ खर्ब ५१ अर्ब रहेको विदेशी मुद्राको निक्षेप कात्तिक महिनामा २ खरवमा सीमित भएको छ । भदौ अन्तिमतिर बैंकहरुले विदेशी मुद्राको नक्कली निक्षेप सिर्जना गर्न लागेपछि राष्ट्र बैंकले परिपत्र जारी गरेर त्यसलाई नियन्त्रण गरेको थियो । निक्षेप वृद्धि नहुने हो भने कर्जा दिने सक्ने अवस्था नरहेको बैंकर्सहरु बताउँछन् ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार