spot_img
Home Blog Page 22

सेवार खोलाको बाढी बस्तीमा पसेपछि स्थानीय त्रासमा

छबि पुरी/राप्ती पोष्ट

घोराही, असार । श्यामबहादुर वादी दुर्गा भवानी टोलमा बस्न थालेको ११ वर्ष भई सक्यो । यसअघि उहाँलगायत सिंगो दुर्गा भवानी टोलका मानिस हालको सभागृह टोलमा बस्दै आएका थिए । भूमिहीन, सुकुम्बासी बस्तीलाई स्थानान्तरण गरेर घोराही उपमहानगरपालिका वडा नम्बर १३ दुर्गा भवानी टोलमा बसालियो ।

बस्ती सेवार खोलाको किनारमा भएकाले जोखिमयुक्त नै थियो । त्यही जोखिमलाई मध्यनजर गर्दै बस्ती बसाल्ने बेलामा आवश्यक तटबन्ध र सुरक्षाको ग्यारेन्टी दिने कुरा भएको थियो । तर, बुधबार राति सेवार खोलामा आएको बाढीले श्यामबहादुर बादीलगायत सिंगो दलित समुदायको बस्ती नै जोखिममा परेको छ । आउजाउ गर्ने बाटो समेत खोलाले बगाएपछि दुर्गा भवानी टोलसँगको सहज सम्पर्क पनि टुटेको छ ।

‘मैले खाई नखाई, मरी मरी काम गरेर कमाएको पैसाले जोडेको पाँच धुर जग्गामा अहिले खोलाको पानी बगेको छ । जसो तसो गरेर जग्गा किनेको थिएँ । तर बाढीले क्षणभरमै बगाई दियो’ श्यामबहादुरले भन्नुभयो ‘साँझको खाना खाएर बसेको बेला एकाएक आएको बाढीले सबै सपना उडाई दियो । घडेरीमा खोला बगेको छ ।’ बाटोसँग सटेको घडेरी बगेपछि अहिले उहाँ चिन्तामा हुनुहुन्छ ।

बस्तीमा बाढी पस्न थालेपछि रातिको समयमा भागाभाग भएको थियो । बाढीले पानी बस्तीमा आएको थियो । ‘यति ठूलो पानी मैले अहिलेसम्म देखेको थिएन । म मरी गएँ भने त अब सकियो । लालपूर्जामा मैले किनेको जग्गा छ’ श्यामबहादुरले भन्नुभयो ‘तर, खोज्ने हो भने अब खोलामा परेको छ ।’

बस्ती जोखिममा रहेको थाहा पाउँदा पाउँदै समयमा तटबन्ध नगर्दा समस्या निम्तिएको उहाँको भनाई छ । ‘बस्ने बास, खाने गास राम्रो भएको भए गरिव जनताले किन दुख पाउँथे र ?’ उहाँले भन्नुभयो । सोही ठाउँका रवि नेपाली बादी पनि बस्तीमा बाढी पसेपछि निकै चिन्तामा हुनुहुन्छ । बस्ती स्थानान्तरण गर्ने बेलामा उचित तटबन्ध गरिदिने, ढुक्कका साथ बसाल्ने भनेर आश्वासन दिनेहरुले वाचा भुल्दा अहिले आफुहरुले दुख पाएको रविले बताउनुभयो । ‘काम समयमा गरिदिएको भए बस्ती नै जोखिममा पर्नुपर्ने अवस्था आउने थिएन । आज हामीले पाएको दुखमा खै कसले साथ देला र ? बर्खाको बेलामा सेवार खोला बस्तीमा सोझिएको छ । अझ कति क्षति गर्ने हो ठेगान छैन । समयमा ख्याल गरिदिएको भए खाज यो हविगत हुने थिएन’, रविले भन्नुभयो ।

बुधबार रातिको बाढी बस्तीमा बाढी पस्दा रातभर सिंगो गाउँ नै नसुतेको उहाँले बताउनुभयो । सेवार खोलामा आएको बाढी तीव्र गतिमा बग्ने भएकाले क्षति पनि धेरै गरिरहेको उहाँको भनाई छ । गाउँ समाज अहिले विपदमा परेकाले सरोकार सबैले ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । २ सय ५० घरधुरी रहेको दुर्गा भवानी टोलका जनता त्रासमा बसेको उहाँले बताउनुभयो ।
‘बर्खायाम अझै रहेको हुँदा बस्ती जोगाउन नेताहरुले हिजोका दिनमा गरेका वाचा नभुल्न हामी आग्रह गर्छौँ, उहाँले भन्नुभयो ‘हामीलाई तटबन्धन गरेर सुरक्षित बासस्थानको व्यवस्था गर्ने भनेर आश्वासन दिएपनि अहिले धोका भएको छ । यसमा हामी निकै दुखी छौँ ।’

सोही ठाउँकी तारा नेपालीले बस्तीमा सेवार खोलाको बाढी पस्दा सबै त्रासमा रहेको बताउनुभयो । ‘एकाएक आएको बाढीले रातभर भागाभाग बनायो । बालबच्चा, अशक्त, जेष्ठ नागरिकलाई निकै दुृःख भयो । पोका पुन्तरा बोकेर सुरक्षित स्थानमा गयोँ, रातभर निदाएनौँ’ ताराले भन्नुभयो ‘ निकै क्षति भएको छ, हामी त्रासमा छौँ, यसको बारेमा अब राज्यले ध्यान दिनुपर्छ । हामी निकै मारमा परेका छौँ । सिंगो बस्ती नै कति बेला खोलामा जाला भन्ने जस्तो भई सक्यो ।’ बाटो, घडेरी सबै खोलाले बगाएर बस्तीमा पस्ने अवस्था आएको उहाँले बताउनुभयो । रातिको समयमा आएको ठूलो बाढीले गाउँ नै त्रासमा रहेको उहाँले बताउनुभयो । बाढीले लगातार माटो काटिरहेको छ । ढिस्को खसिरहेकाले बस्ती थप जोखिममा परेको छ ।

रातिको बाढीले दुर्गा भवानी टोलमा क्षति गरेपछि बिहान घोराही उपमहानगरपालिकाको विपद व्यवस्थापन शाखाले अस्थायी रुपमा पानीको निकास दिने गरी पूर्व तर्फ पानी मोड्ने काम गरेको छ । पानीको ठूलो भाग पश्चिमतर्फबाट बगिरहेकाले फेरि ठूलो बाढी आए बस्तीमा बाढी पस्ने जोखिम उत्तिकै छ । हालको अवस्थामा पानी विभाजन गरेर दुई तिर बगाउने काम भएको विपद व्यवस्थापन समिति संयोजक भानसिं बुढाले जानकारी दिनुभयो ।

वडा नम्बर १३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेलले वडा नम्बर १३ मा सेवार खोलाले ठूलो असर गरेको बताउनुभयो । रातको समयमा आएको बाढीले क्षति पुर्याएको उहाँले बताउनुभयो । बस्तीमा बाढी पसेको थाहा पाउनासाथ प्रहरी, टोल विकास संस्था, वडा, पालिकालगायतले बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्ने काम भएको उहाँले बताउनुभयो ।

सेवार खोलाले घोराही १३ को बराह खानेपानीको पाईप पनि फुटाई दिएको छ । खानेपानीको पाईप फुटाई दिएपछि अहिले बराह खानेपानी विरतणमा पनि समस्या आएको उहाँले बताउनुभयो । सेवार खोलाले घोराही १६ को सर्रामा पनि उत्तिकै क्षति गरेको छ । घोराही तुलसीपुर सडक खण्ड अन्तरगत सेवार खोलामा बनाईएको अस्थायी डाईभर्सन बगाई दिँदा सडक नै अवरुद्ध बन्न पुगेको छ । अहिले घोराहीको रतनपुर, अटोभिलेज, सेवार खोलामा सडक अवरुद्ध भएपछि सवारीसाधन घोराहीको रतनपुर–अटोभिलेज–बाहुनडाँडा–करौतीडाँडा हुँदै चल्ने गरेका छन् ।

सेवार खोलाले खेतीयोग्य जमिन पनि थुप्रै कटान गरिरहेको घोराही १६ सर्राका भुवन चौधरीले बताउनुभयो । उहाँले भर्खरै छर्नु भएको धानको ब्याडसमेत खोलाले बगाएको छ । खेती गर्न छरेको धानको ब्याड खोलाले बगाएपछि अब खेत बाँझै हुने अवस्था आएको उहाँले बताउनुभयो । ब‘ल्लतल्त खेतीपातीको समय शुरु हुँदै थियो खोलाले ब्याड पनि बगाई दियो । खेत खोला बनेको छ । अब कहाँ धान रोप्ने अनि खाने भन्ने अवस्था आएको छ’, उहाँले भन्नुभयो ‘जोखिम देख्दादेख्दै समयमा तटबन्ध नगरी दिँदा ठूलो क्षति भएको छ । अब कसलाई यो दुख सुनाउनु र ?’  विगत वर्षहरुमा सेवार खोलाले यति क्षति गरेको थिएन । जसका कारण पनि खोला नजिकका बस्तीका मानिस मौन थिए । तर, यो पटकको बाढीले पुर्याएको क्षतिमा सेवार खोला नजिकका बासिन्दा त्रसित बनेका छन् ।

डिसीद्वारा जन्मदिनमा शैक्षिक सामग्री सहयोग

राप्ती पोष्ट

घोराही, असार । अनेरास्ववियू केन्द्रीय सदस्य, दाङ महिला जेसीज तालिम निर्देशक एवम् स्वास्थ्यकर्मी भीमा डिसीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ ।

घोराही उपमहानगरपालिा वडा नम्बर १६ सानी अम्बापुरस्थित श्री प्राथमिक विद्यालय सानी अम्बापुरमा अध्ययनरत ६४ जना विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित जन्मदिनको अवसर पारेर बिहीबार कापी, कलम, बिस्कुट, भलिबल, फुटबल सहयोग गर्नुभएको हो ।

जन्मदिन मनाउने नाममा फजुल खर्च गर्ने, भोजभतेर गर्ने चलन बढ्दै गएको बेला विद्यार्थी नेतासमेत रहनुभएकी डिसीले आफ्नो जन्म दिन बालबालिकाहरुसँग मनाउनुभएको हो । जन्मदिन मनाउनुभएकी डिसीले आमा कमलवती डिसी, घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसी, विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद डिसीलाई सम्मान गर्नुभएको थियो । शैक्षिक सामग्रीसहित खेलकुद सामग्री पाउँदा विद्यार्थी हर्षित भएका थिए ।

कार्यक्रममा दाङ महिला जेसीज अध्यक्ष जुनु मगर, पूर्व अध्यक्ष शारदा घर्ती, विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद डिसीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अनेरास्ववियुका सविन पोख्रेलले गर्नुभएको थियो ।

 

बजारका प्लाष्टिकजन्य फोहोर किसानको खेतबारीमा

छबि पुरी /राप्ती पोष्ट

घोराही, असार । बर्षाद लागेसँगै किसान खेत पसेका छन् । प्रमुख बाली धान रोपाइँ गर्न किसानको दैनिकी अचेल खेतबारीमा बित्ने गरेको छ । खेत पसेका किसानको खेतबारी भने शहर बजारबाट निस्कने प्लाष्टिकजन्य फोहोरले भरिने गरेको छ । बजारहुँदै बग्ने कुलो गाउँका खेतमा जाने हुँदा त्यही कुलोमा फालिने प्लाष्टिकजन्य फोहोर किसानको खेतमा भेटिने गरेको छ ।

खासगरी घोराहीको लखवारे कुलोको पानी सात मौजाका किसानले प्रयोग गर्छन् । बाउबाजेको पालादेखि यो कुलोको पानीले खेतीपाती गर्दै आएका घोराहीको पनौरा, गुलरिया, बयरबटुवा, खिरटिया, चोरगाउँ, लखवार, मघैका किसानलाई पछिल्ला वर्षहरु त्यति सहज छैन । हजारौँ विगाहालाई सिंचाई सुविधा पुर्याउने लखवारे कुलो अहिले संकटमा पर्न थालेको छ ।

घोराही १८ को चमै सोतादेखि १७ को पनौराहुँदै वडा नम्बर ६ का विभिन्न ठाउँका किसानले यही कुलाको पानीको भर पर्दै आएकोमा बढ्दो बजारीकरणले समस्या थपेको छ । बजार भएर बग्ने कुलोकोपानीसँगै खेतमा आउने प्लाष्टिकजन्य फोहोरले सताएको किसानहरुको दुखेसो छ ।

‘पहिले बजार सानो थियो, कटुवा खोलाको पानी चमै सोताबाट खेतसम्म पुर्याउँथ्यौँ । बाह्रै महिना पानी हुन्थ्यो तर अहिले मुस्किलले ७ महिना पानी बग्छ’, उहाँले घोराही १७ बयरबटुवाका दुब्लु चौधरीले भन्नुभयो ‘अहिले बजारले गर्दा घरैघर बने । घरबाट निस्कने फोहोर यही कुलोमा फाल्छन् । अनि कुलो बुजिएर पानी बग्ने अवस्था पनि छैन, प्लाष्टिकले खेत भरिएर अर्को हैरानी थप्ने गरेको छ ।’

उसो त, कटुवाखोलाको पानीको स्रोत पनि हिजोको जस्तो छैन । वर्षेनी पानीको श्रोत घट्दै गएको छ । वातावरण संरक्षणमा चासो कम हुँदा कृषि क्षेत्रमा असर पुगेको छ । पर्याप्त मात्रामा कुलोमा पानी आउन नसक्दा सिंचाई सुविधा नपुग्ने अनि खेतीपातीको सिजनमा सहज रुपमा काम गर्न कठिनाई हुने गरेको गुलरियाका अर्का किसान गोविन्द चौधरीको गुनासो छ । ‘बजारतिरका लेखे पढेका भन्नेहरुले नै कुलोमा फोहोर फाल्ने गरेका छन् । त्यही फोहोर, प्लाष्टिक बगेर हाम्रो खेतबारीमा आईपुग्छ, यसले निकै असर गरेको छ’, उहाँले भन्नुभयो, ‘बल्लबल्ल कुलो सफा गरेर खेतबारीसम्म पानी पुर्यायो, त्यही कुलोमा बजारबासीले सबै फोहोर, प्लाष्टिक फाल्ने काम गर्छन् । सिसाजन्य फोहोर पनि खेतमा भेटिन्छ ।’

अहिले बर्षे खेती गर्ने समयमा घोराही उपमहानगरपालिका १६ बयरबटुवाका हरिराम चौधरीलाई खेत र नालामा अड्किएको फोहोर फाल्न समय बित्ने गरेको छ । घोराही बजारबाट कुलोमा फालिएको फोहोर बग्दै खेतबारीमा प्लाष्टिक तथा सिसाजन्य फोहोरले भरिने भएकाले खेती गर्नुभन्दा पहिले बर्षेनी किसानलाई खेतमा भएको फोहोर व्यवस्थापन गर्नुपर्ने चुनौती थपिने गरेको छ ।

धान रोप्नुभन्दा पहिले प्रत्येक वर्ष खेतमा आएको प्लाष्टिकलगायतका फोहोर फाल्नुपर्ने बाध्यता भएको किसान चौधरीको दुखेसो छ । ‘गाउँका सबै मिलेर मेहनतका साथ सिंचाईका लागि कुलो बनाएका हौँ, तर सहरका मानिसले कुलोमा फोहोर फालिदिँदा खेतभरी प्लाष्टिक, सिसाजन्य फोहोरले भरिने गरेको छ’ उहाँले भन्नुभयो । फोहोरले गर्दा किसानलाई खेती गर्नुभन्दा पहिले प्रत्येक वर्ष खेतबारी सफा गर्नुपर्ने चुनौती छ । खोला र कुलाको दुषित पानीले सिंचाई गर्दा अन्नबालीहरुमा नयाँ रोगहरु देखा पर्ने र वर्षेनी उत्पादनसमेत घट्ने समस्या बढ्दै गएको मघैकी नैना चौधरीले बताउनुभयो ।

खेतमा पुगेको फोहोरले खेती गर्नसँगै उत्पादनमा समेत असर गर्ने गरेको घोराही उपमहानगरपालिका ६ चोरगाउँकी लक्ष्मी खत्रीको भनाई छ । ‘सहरमा फोहोर जथाभावी फाल्दा किसानको खेतवारीसँगै सिचाईका लागि प्रयोग हुने खोला र कुलोहरु समेत प्रदुषित हुने गरेको छ, यसतर्फ कसले ध्यान दिने होला’, उहाँले भन्नुभयो ‘पहिले–पहिले खोला तथा नालामा पानी गाईवस्तुलाई खुवाउन र सिचाई गर्न हुन्थ्यो तर अहिले फोहोरले गर्दा खोला, नालामा गाईबस्तुलाई पानी खुवाउनै डर लाग्ने भएको छ ।’

कुलोमा आउने दुषित पानी पिउँदा गाइबस्तु विरामी पर्ने र अन्नबालीमा समेत बर्षेनी रोग देखिने गरेको किसानको भनाई छ । घोराहीको दक्षिणी भेगमा रहेका गाउँका किसानले मात्रै होईन बजारहुँदै कुरा बग्ने ठाउँका किसानले यस प्रकारका समस्या भोग्दै आएका छन् । सहरी क्षेत्रबाट निस्कने फोहोर व्यवस्थित रुपमा व्यवस्थापन नहुँदा गाउँमा प्रदुषण बढाउनुका साथै कृषि उत्पादनमा समेत असर पुर्याइरहेको छ । जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङलगायतका क्षेत्रमा यस प्रकारको समस्या बढ्दै गएको स्थानीय किसानको भनाई छ । गाउँका सिंचाई गर्ने कुलोदेखि खेतबारीसम्म बजारको फोहोरै फोहोरले भरिएपछि गाउँका किसानहरु बजारबासीले गरेको फोहोर सफा गर्न बाध्य छन् ।

घोराही उपमहानगरले सहरी क्षेत्रमा हरेकदिन फोहोर संकलन हुने गरेको भएपनि कतिपयले फोहोरहरु कटुवा तथा सेवार खोलामा फाल्दा त्यसको असर गाउँका किसानलाई पर्ने गरेको छ । सहरवासीले खोलामा फाल्ने फोहोरका कारण गाउँसम्म प्रदुषण फैलिनुका साथै किसानहरुले समेत समस्या भोग्नुपर्ने समस्या भएको घोराही उपमहानगरपालिका सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारीको भनाई छ ।

सहरको फोहोर गाउँमा गएर खेती गर्नै समस्या हुने अवस्था आएपछि घोराही उपमहानगरपालिकाले फोहोर नफाल्न पटक–पटक सार्वजनिक सुचनासँगै फालेको थाहा पाए कारवाही गर्नेसम्म चेतावनी दिएपनि कम गर्न नसकिएको शाखा प्रमुख अधिकारीको भनाई रहेको छ । ‘फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाले गाडीको प्रयोग गर्दै आएको छ । घरबाट निस्कने फोहोरलाई गाडीमा फाल्न र जथाभावी रुपमा खोला तथा कुलोहरुमा फोहोर नफाल्न आग्रह गर्दै आएका छौँ’, उहाँले भन्नुभयो, ‘तर मानिसहरुले घरमा राखेर गाडी हाल्नेभन्दा कुलामा फाल्ने गरेको पाइएको छ । यसका लागि अब हामीले कानूनी रुपमा अघि बढ्ने तयारी पनि गरेका छौँ । पहिलो कुरा त, सचेतना प्रदान गर्ने हो, त्यसले भएन भने कारवाही गर्नुको विकल्प छैन ।’

घोराहीले सरसफाई तथा प्लाष्टिकजन्य बस्तुको व्यवस्थापनका लागि बारम्बार सरोकारवालाहरुलाई अभिमुखीकरणसमेत गर्दै आएको छ । पालिकाले घोराहीलाई हरित नगर बनाउन प्लाष्टिकमुक्त उपमहानगरको नीति अघि सारेको छ । जस अनुसार आगामी आर्थिक वर्षबाट नीति कार्यान्वयन गर्ने गरी कार्यपालिकाबाट कानून पनि पारित गरेको छ ।
उता, बजारबासीलाई सजक गराउनुका साथै खोला तथा कुलाहरुमा फोहोर फाल्ने जरिवाना समेत गर्ने निर्णय गरेको तुलसीपुर उपमहानगरपालिका सरसफाई व्यवस्थापनका शाखाका माधव पौडेलले बताउनुभयो । जथाभावी फोहोर नफाल्न जानकारीसँगै फाले कारवाही गर्नेसम्मको चेतावनी दिदा पनि कुलाहरुमा फोहोर फाल्ने गरेको किसानले गुनासो गर्दै आएको उहाँ बताउनुहुन्छ ।

‘जथाभावी फोहोर फाल्दा फोहोर गाउँसम्म पुगिरहेको छ । जसले सहरलाई मात्रै होइन गाउँबस्तीमा पनि प्रदुषण गर्ने काम गरिरहेको छ ।’ उहाँले भन्नुभयो ‘पालिकाहरुले जथाभावी फोहोर फाल्नेलाई दुई सयदेखि ५० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ ।’ जिल्लाका प्रमुख घोराही, तुलसीपुर र लमही क्षेत्रमा हरेक दिन फोहोर उठ्ने गरेको छ । घोराही उपमहानगरपालिकामा २०, तुलसीपुर उपमहानगरपालिकामा २५ र लमही नगरपालिकामा ६ टन गरी जिल्लामा दैनिक करिव ५० देखि ५५ टनसम्म फोहोर संकलन हुने गरेको पालिकाहरुको भनाई छ । सहरी क्षेत्रमा फोहोर संकलनका लागि घोराही उपमहानगरपालिकामा १० वटा, तुलसीपुर उपमहानगरपालिकामा ६ वटा र लमही नगरपालिकामा ४ वटा गाडीहरु प्रयोग हुने गरेका छन् ।

त्यसका साथै भालुवाङ, गढवा, नारायणपुर, हापुरेलगायतका सहरी क्षेत्रमा पनि पालिकाहरुले फोहोर संकलनका लागि गाडीहरुको प्रयोग गर्ने गरेका छन् । सहरीबाट उठेको फोहोरहरु पालिकाहरुले ल्याण्ड फिल्ड साइडमा व्यस्थापन गर्दै आएका छन् । तर, ग्रामीण क्षेत्रको फोहोर व्यवस्थापनमा भने पालिकाहरुले चासो देखाएका छैनन् । सहरी क्षेत्रमा हरेकदिन फोहोर उठाइरहँदा पालिकाहरुले ग्रामीण क्षेत्रको फोहोर भने नउठ्ने गरेको स्थानीयबासी बताउँछन् ।
बजार क्षेत्रको फोहोरको भारी अनावश्यक रुपमा गाउँका किसानका खेतबारीमा जानबाट रोक्न उनीहरुको माग छ । यसका लागि गल्ने र नगल्ने फोहोरलाई श्रोतबाट वर्गीकरण गरेर व्यवस्थापन गर्न सबैले सहयोग गर्नुपर्ने पालिकाको भनाई छ ।

 

घोराहीमा प्लाष्टिकजन्य बस्तु न्यूनीकरण गर्ने प्रतिवद्धता

छबि पुरी/राप्ती पोष्ट

घोराही, असार । घोराही उपमहानगरपालिकाभित्र संचालित र अब स्थापना हुने उद्यमलाई वातावरणमैत्री उद्यमका रुपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । सोसेक नेपालको आयोजना तथा घोराही उपमहानगरपालिकाको समन्वय, आईएम नेपालको साझेदारी र मुक्त कमलरी विकास मञ्चको सहकार्यमा ग्रिन ईकोनोमी एक्स्लेरेटर परियोजना अन्तरगत घोराही उपमहानगरपालिकाभित्र हरित उद्यमको बजार सम्भाव्यतालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको हो ।

विगतदेखि हुँदै आएको अभ्यासलाई रुपान्तरण गर्दै हरित उद्यमलाई वातावरण मैत्री योजनाका रुपमा अघि बढाउन सकेमा भोलिको भविष्य सुरक्षित गर्न सकिने आवश्यकता औँल्यार्ईएको छ । हरित उद्यमको बजार सम्भाव्यता अध्ययन प्रारम्भिक प्रतिवेदन माथि सरोकारवाालासँग अन्तरक्रिया तथा अन्तरक्रिया कार्यक्रम घोराही उपमहानगरपालिका र वडा कार्यालयमा प्लाष्टिकजन्य बस्तुको प्रयोग न्यूनीकरण गर्न जनप्रतिनिधि र कर्मचारीबाट शुरुवात गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।

उपप्रमुख हुमा डिसीले पर्यावरण संरक्षण र हरित उद्यमका विषयमा उठेको विषय सान्दर्भिक रहेको भन्दै पालिकाले विषयगत शाखामार्फत कोशिस गरिरहेको हुँदा जनप्रतिनिधि र कर्मचारीबाट प्लाष्टिकजन्य बस्तुको प्रयोग न्यूनीकरणको थालनी गरिने बताउनुभयो ।

पालिकाले प्लाष्टिकजन्य बस्तुको न्यूनीकरण गर्ने नीति लिएको उहाँको भनाई थियो । गल्ने र नगल्ने फोहोरको श्रोतबाट व्यवस्थापन गर्ने कामको थालनी हुँदै आएको बताउँदै हरित उपमहानगरको अवधारणालाई सार्थक बनाउने काममा अब ढिलाई गर्न नहुनेमा जोड दिनुभयो । यसैगरी, पालिकाबाट प्रदान गरिने सीप, तालिम, बीउ, बिजन, बस्तुगत टेवा दिए पनि लक्षित समुदाय वा संस्थाले गरिरहेको कामको अनुगमन हुन नसक्दा समस्या हुने गरेको बताउनुभयो । अब कामको अध्ययन मुल्यांकन गर्न जरुरी रहेको उहाँको भनाई थियो ।

सो अवसरमा वडा नम्बर ४ का वडा अध्यक्ष मधुसुदन घिमिरेले काम गर्ने इच्छा शक्ति भए हरित उद्यमको अवधारणालाई सार्थक बनाउन सकिने बताउनुभयो । उद्यम प्रवद्र्धन शाखा प्रमुख ईश्वरराज पाण्डेय, सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारी, उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहनसिंह सुनार, पशु शाखा प्रमुख खिमबहादुर बस्नेत, सहकारी शाखा प्रमुख प्रेम केसी, वातावरण तथा विपद व्यवस्थापन शाखाका मदन वली, मुक्त कमलरी विकास मञ्चकि केन्द्रीय अध्यक्ष हिरामोती चौधरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव विकास वलीलगायतले स्वच्छ वातावरण बनाउन बनेको नीति नियमको उचित कार्यान्वयन नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा परामर्शदाता शशी पन्थीले प्रारम्भिक अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै घोराहीमा हालसम्म उत्पादन सम्भाव्यता बारे आवश्यक तथ्यांक कुनै निकायमा नरहेको भन्दै अबका दिनमा पालिकाले व्यवस्थित र वैज्ञानिक रुपमा हरित उद्यमलाई स्थान दिन सकेको अवस्थामा यसबाट धेरै लाभ लिन सकिने बताउनुभयो ।

परामर्शदाता पन्थीले प्रारम्भिक अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै घोराहीमा हालसम्म उत्पादन सम्भाव्यता बारे आवश्यक तथ्यांक कुनै निकायमा नरहेको भन्दै अबका दिनमा पालिकाले व्यवस्थित र वैज्ञानिक रुपमा हरित उद्यमलाई स्थान दिन सकेको अवस्थामा यसबाट धेरै लाभ लिन सकिने बताउनुभयो । उहाँका अनुसार, हरित उद्यम स्थानीय स्तर मै सहज रुपमा सञ्चालन गर्न सकिने, कच्चा पदार्थको सहज उपलब्धता हुने, न्युनतम पूँजी लगानीमा सञ्चालन गर्न सकिने, लगानीको तुलनामा अधिकतम प्रतिफल प्राप्त गर्न सकिने, उपभोक्ताको वृढ्दोे माग र न्युन जोखिम भएको उद्यमका रुपमा रहेको हुँदा यो आवश्यक रहेको छ ।

हरित उद्यमका रुपमा जडिवुटी जन्य वस्तुहरु सुगन्धित तेल, अदुवा, बेसार, टिमुर लगात बस्तुहरु, अर्गानिक तरकारी जन्य वस्तुहरु, च्याउ, दुध तथा दुग्ध जन्य उत्पादित वस्तुहरु, फलफुलहरु, मह, नर्सरी दुना टपरी, फर्निचर सामग्रीहरु, जडिबुटीजन्य उत्पादित वस्तुहरु, अचार, चामल, पिठो, चिया, कफि, होमस्टे, अक्वारियम, माछापालन, सौर्य उर्जा, जैविक उर्जा, कपडा तथा कागजबाट उत्पादित वातावरण मैत्री हाते झोलाहरु, फोहोर व्यवस्थापन तथा पुनः प्रयोगका लागि आवश्यक कार्यहरु स्थानीय स्तरमा गर्न सकिने अध्ययनले देखाएको उहाँले बताउनुभयो ।

उहाँले हरित उद्यम सञ्चालन सुनिश्चितता तथा दिगोपनाका लागि हरित उद्यमको बारेका खुल्ला अभिमुखिकरण वृहत रुपमा गर्नुपर्ने र यसको प्रवद्र्धनका लागि स्थानीय सरकारको बलियो प्रतिवद्धता चाहिने बताउनुभयो । उत्पादित वस्तुहरुको विक्री सुनिश्चितता गर्र्न, स्थानीय संघ, संस्था तथा व्यावसायिक निकायसँगको साझेदारी तथा समुदायसँगको संलग्नता बढाउन, हरित प्रविधीको प्रयोग तथा प्रवद्र्धनका लागि विशेष योजना निर्माण गर्न तथा हरित उद्यम प्रवद्र्धन रणनीति बनाउन स्थानीय सरकारले भुमिका खेल्नुपर्ने परामर्शदाता पन्थीले बताउनुभयो ।

हरित उद्यम प्रवद्र्धनका लागि प्लाष्टिक झोला वन्देज गर्दै वातावरणमैत्री झोला प्रयोगलाई प्राथमिकता दिनुपर्ने, प्लाष्टिक प्लेट तथा गिलास वन्देज गर्नुपर्ने, हाल प्रयोगमा आइरहेको फाइवर झोलाको ठाउँमा बाँसको फाइवर अथवा कागजबाट निर्मित झोला प्रवद्र्धन गर्नुपर्ने, हरित उद्यम पकेट क्षेत्रको घोषणा तथा कार्यान्वयन गर्न वडादेखि पालिका स्तरसम्मको प्रयास सकारात्मक भएको अवथामा सम्भव रहेको उहाँको भनाई छ ।

हरित उद्यम सञ्चालन सुनिश्चितता तथा दिगोपनाका लागि स्थानीय तहमा हरित उद्यम प्रवद्र्धन नीति र बजार विकास तथा प्रवद्र्धन नीति ल्याउन उहाँको सुझाव रहेको छ । सोसेक नेपालका कार्यक्रम संयोजक द्रोर्ण जिसीले विषय प्रवेश गराउनुभएको कार्यक्रको सञ्चालन हीमा कुसुन्डाले गर्नुभएको थियो ।

लायन्स क्लब नारायणपुरद्वारा गुरौंका विद्यार्थीलाई सहयोग

राप्ती पोष्ट

घोराही, असार । लायन्स क्लब अफ दाङ नारायणपुरले घोराही उपमहानगरपालिकाको १२ मा रहेको गुराँस प्राथमिक विद्यालय गुरौंका वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

उपमहानगरपालिका भित्रको विकट क्षेत्रमा रहेको विद्यालयमा अध्ययन गर्ने २६ जना वालवालिकालाई शनिबार एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री वितरण गरिएको हो । क्लबले वालवालिकाहरुका लागि झोला, कापी कलम, पानी पिउने बोत्तल, खेलकुदका सामग्री गरी ५२ हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको क्लबका पूर्व अध्यक्ष शरद गौतमले जानकारी दिनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणबहादुर घर्तीको उपस्थितिमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले विकट वस्तीमा रहेका गरीव परिवारका वालवालिकालाई सामाजिक उत्तरदायित्व वहन गर्दै लायन्स क्लवले सामाजिक कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

क्लबका प्रथम उपाध्यक्ष युवराज पोख्रेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पूर्व अध्यक्षहरु गोपाल लम्शाल, केशब थापा, शरद गौतम, शंकर बस्नेत, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, उपाध्यक्ष बसन्त न्यौपाने, कोषाध्यक्ष नारायण भट्टराई लगायतले विकट विद्यालयका वालवालिकाको शैक्षिक यात्रामा सहयोगी भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गर्नु भएको थियो । क्लबका अध्यक्ष अभियान वस्नेतको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रमको सञ्चालन सचिब कुलप्रसाद रजौरे श्रवणले गर्नु भएको थियो ।

यसैबीच क्लबका अध्यक्ष बस्नेतले विद्यालयमा अध्ययन गर्ने एक जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई १२ कक्षा सम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिले सिफारीस गरेका एक जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई दाङ जिल्लाको जुनसुकै विद्यालयमा अध्ययन गरेपनि अध्ययनको सम्पूर्ण खर्च आफुले व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

आपराधिक गतिविधिमा बालबालिकाको संलग्नता बढ्दो

छबि पुरी/राप्ती पोष्ट

घोराही, असार । घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बसपार्क नजिक रहेको एक पसलमा केही महिना अघि चोरी भयो । चोरीको घटना लगत्तै प्रहरीले अनुसन्धान गरेर केही बालकहरुलाई नियन्त्रणमा लियो । पक्राउ परेका बालकहरुले पसलमा चोरी गरेको स्वीकारे । उनीहरुले पसलबाट चोरेको नगद खर्च गर्न उनीहरु नेपालगंजसम्म पुगेको प्रहरीलाई बताए । नाबालिग उमेरमै अपराध कर्ममा लागेका बालकहरुले गरेको त्यो चोरी भने पहिलो पटक थिएन । उनीहरु पटक पटक चोरीको अभियोगमा प्रहरी नियन्त्रणमा पर्दै आएका थिए ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ शंखेपिपल नजिक गत साउन १० गते रातको करिव पौने १२ बजे अपरिचित व्यक्तिको खुकुरी प्रहार गर्दा घोराही उपमहानगरपालिका १३ लाहुरेडाँडा बस्ने १८ वर्षीय तीर्थबहादुर पुन गम्भीर घाइते हुनुभयो । खुकुरी प्रहारबाट टाउको, अनुहार र बाँया हातको कान्छी औँला बाहेक सबै औँला काटिएको अवस्थामा प्रहरीले तीर्थलाई उद्धार गरेर उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगियो । घटनापछि फरार रहेका अभियुक्तहरुलाई प्रहरीले आशंकामा थुप्रै युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढायो । तर, कसले खुकुरी प्रहार गरेर घाइते बनायो भन्ने खुल्न समय लाग्यो । अन्ततः १४ दिनपछि जिल्ला प्रहरी कार्यालय दाङले घटनामा संलग्न भएकाहरुलाई पक्राउ गर्न सफल भयो ।

पहिचान खुलेकाहरुलाई यो बीचमा सोधपुछ गर्दा उनीहरुले सकारेका थिएनन् । तर, अनेक प्रयासपछि साउन २४ गते घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाई छ । उक्त घटनामा प्रयोग भएको एक थान खुकुरीसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेहरु १५ देखि १७ वर्ष उमेरका रहेका थिए ।

दाङमा नाबालिगहरु पनि विभिन्न खालका अपराधका घटनामा संलग्न हुने क्रम बढ्दै गएको जिल्ला प्रहरी कार्यालयको भनाई छ । तथ्यांक अनुसार जिल्लामा वर्षेनी अपराधका घटना बढ्दै गएको देखिएको छ । समाजमा बढ्दो अपराधका घटनामा बालकहरुको संलग्नता हुनु निकै चिन्ताको विषय रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले बताउनुभयो ।

उहाँका अनुसार, जिल्लामा यो आर्थिक वर्षमा १ हजार १ सय बढी अपराधका घटना भएका छन् । गत आर्थिक वर्ष २०७९–०८० मा १ हजार २ सय वटा अपराधका घटना प्रहरी कार्यालयमा दर्ता भएका थिए । ज्यान सम्बन्धी अपराधका घटना जिल्लामा सबैभन्दा बढी भएका छन् । यो वर्षको जेठमसान्तसम्म आत्महत्याका घटना धेरै छन् । यसैगरी कर्तव्य ज्यान सम्बन्धी घटना पनि धेरै रहेको प्रहरीले जनाएको छ । महिला बालबालिका सम्बन्धी कसुरका घटना पनि अत्यधिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मल्लले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०७९–०८० को एक आर्थिक वर्षमा ज्यान सम्बन्धी २ सय ३४ वटा घटना प्रहरी कार्यालयमा दर्ता भएको थियो । यसैगरी, आत्महत्या सम्बन्धी घटना २ सय १४ वटा, संगठित तथा आर्थिक अपराध सम्बन्धी २ सय २७ वटा, सामाजिक अपराधका २ सय ७ वटा घटना जिल्लामा भएका थिए । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार, महिला तथा बालबालिका सम्बन्धी अपराधमा १ सय ९१ वटा, सवारी ज्यानका ५९ वटा, बैंकिङ कसुर, हातहरियार खरखजाना, बोक्सी आरोप लगायत ४४ वटा घटना गरी १ हजार २ सय घटना प्रहरीको रेकर्डमा छ ।

जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७८–०७९ मा १ हजार २ सय २३ वटा अपराधजन्य घटना भएका थिए । यसैगरी, आर्थिक वर्ष २०७७–०७८ मा १ हजार ४७ वटा घटना भएका थिए भने आर्थिक वर्ष २०७६–०७७ मा ८ सय ३५ वटा अपराधका घटना भएका प्रहरीको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०६६–०६७ मा ४ सय ३४ वटा, २०६७–०६८ मा ४ सय ४९ वटा, २०६८–०६९ मा ४ सय ६८ वटा, २०६९–०७० मा ४ सय ८५ वटा, २०७०–०७१ मा ५ सय ९५ वटा, २०७१–०७२ मा ५ सय ८७, २०७२–०७३ मा ५ सय ३९ वटा, २०७३–०७४ मा ८ सय १ वटा, २०७४–०७५ मा ९ सय २८ वटा तथा २०७५–०७६ मा ९ सय ५७ वटा अपराधका घटनाहरू जिल्ला प्रहरीमा दर्ता भएको छ ।

जिल्लामा हुने अपराधका घटना अन्तरगत लागुऔषधको प्रयोग, ओसारपसारदेखि मारकाट, चोरी लुटपाटसम्मका घटनामा बालबालिकाहरुको उपस्थिती बढ्दै जानुले समाजको सुरक्षामा चुनौति थपिँदै गएको प्रहरीले जनाएको छ ।
युवतीको विषयलाई लिएर विवाद सिर्जना हुने र अन्ततः साथीभाईमा कुटपीटदेखि ज्यान जानेसम्मका घटना पनि हुने गरेका छन् । अपराधका घटनामा पक्राउ पर्ने गरेका अधिकांश बालबालिकाहरुको मनोवृत्ति खतरनाक अपराधीको भन्दा कम नभएको प्रहरी अनुसन्धानले बताउने गरेको छ । जुन अहिलेको अवस्थामा पत्याउन समेत मुस्किल पर्छ । फिल्मी दृश्यजस्तै ग्याङ फाइट गर्ने र जीउज्यानको परवाह नगरी हातहतियारको प्रयोगमा उत्रने गरेका थुप्रै घटना प्रहरी कार्यालयमा आउने गरेको प्रहरी नायव उपरीक्षक मल्ले बताउनुभयो ।

यो उमेरमै पेशेवर अपराधीजस्तै ग्याङ फाइटमा उत्रने निर्दयीपना कसरी उब्जियो भन्ने बारे प्रहरीले आफ्नै ढंगले अनुसन्धान गर्दै आएको छ । यस प्रकारको अपराधको श्रृंखला बढ्दै जानुमा सूचना प्रविधिको दुरुपयोग अनि अभिभावकको लापरवाही पनि कारक मानिएको उहाँले बताउनुभयो । किशोर उमेरमै यस्ता भयानक आपराधिक गतिविधितिर उन्मुख हुनुले भविष्यमा मुलुक हाँक्ने शक्ति कतातिर लम्कँदै छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । काँचो उमेरमै उनीहरूमा हानिकारक मनोवृत्तिको विकास हुनु कालान्तरमा समाज असुरक्षित र असन्तुलित दिशातिर अग्रसर हुने खतरा पनि बढ्दै गएको छ ।

अभिभावकको साथ गुमाएका, अभिभावकको निगरानीमा नरहेका, बाबुआमाको सम्बन्ध राम्रो नभएका, प्राय प्रसस्त धन सम्पत्ति भए पनि असल संस्कार नपाएका बालकहरु अहिले गलत बाटोमा लाग्ने गरेको पाईएको प्रहरी अनुसन्धानले देखाएको छ । साथीभाइको लहैलहैमा लागेर पनि किशोर उमेरमै अपराध कर्ममा फस्नेहरुको संख्या बढ्दै गएको छ ।
बालबालिकाहरु कडा खालका लागूऔषधको सिकार पनि बन्दै गएका छन् । लागू औषध दुव्र्यसनीमध्ये झन्डै ८० प्रतिशत अपराधमा लाग्ने गरेको प्रहरीको अनुमान छ । लत बस्दै गएपछि आफ्नै साथी, नातेदारदेखि अभिभावकको समेत हत्या गर्न पछि नपरेका निर्दयी घटना उल्लेख्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मल्लले बताउनुभयो ।

किशोरकिशोरीको ऊर्जाशील समय बर्बादीको बाटोमा अग्रसर हुँदै जानुमा पारिवारिक, सामाजिक, सांस्कृतिक र राज्यका संयन्त्रहरू खुकुलो बन्दै जानु पनि एक कारण रहेको समाजशास्त्रका अध्येयताको भनाई छ । बालबालिकाहरुलाई जीवनका मूल्य–मान्यताहरू सिकाउने नैतिक ज्ञानको संयन्त्र कमजोर हुँदा पनि बालबालिकामा खराब आचरण बढ्दै गएको उहाँको भनाई छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले २०७२ मा गरेको अपराधसम्बन्धी बेसलाइन सर्वेक्षणमा पनि १६ वर्षभन्दा मुनिका १ दशमलव ७ प्रतिशत बालबालिका अपराधमा संलग्न भएको देखिएका थिए ।

१६ देखि १९ वर्ष उमेरका १४ दशमलव १ प्रतिशत संलग्न भएको देखिएका थिए । यसैगरी, २० देखि २४ वर्षका ३४ दशमलव २ प्रतिशत अपराधमा लागेको उक्त सर्वेक्षणमा उल्लेख छ । २४ वर्षसम्मलाई यौवनकाल मान्ने हो भने यो उमेरकाबाट अपराध हुने क्रम बढी देखिन्छ ।

ब्रह्म र जगतको परिभाषा र अन्तर सम्बन्ध

 

पं.श्री.अमृतशरण देवाचार्य

ब्रह्म ः बोल्न उच्चारण गर्न मात्र नभइ बुझ्न पनि त्यती सहज छैन ‘बृहन्तो ह्यस्मिम् गुणा इति ब्रह्म’ बृह धातुबाट बनेको बृहत्तर अर्थात सबै भन्दा ठुलो अर्थ बुझिने ब्रह्म शब्द आफैमा सगुण सत्य शक्ति युक्त तत्व हो यहि शब्द भित्रै सगुण भाव भरिएको हुन्छ । वेद पुराण उपनिषद् ग्रन्थ एवं धर्म प्रचारक प्रवचन कर्ताले ब्रह्म शब्दको विभिन्न अर्थमा प्रयोग गर्ने गरेको पाइन्छ । त्यस बाहेक ‘ब्रह्म प्रथमजं ज्ञान’ यसरी ब्रह्म वेद हो भनेर पनि बुझ्न सकिन्छ छन्दोग्य आदि उपनिषद् ले परमात्मा अन्तर आत्मा मात्र नभइ देवता चित्रण गरेको छ भने बृहदारण्यक उपनिषद् मा ब्रह्मलाइ सत् अर्थमा बुझाइएको छ कि सत्य वा जीवको उत्पत्ति जीवन र समर्पण रुप नै त्यहि भएको प्रष्ट धार्मिक अर्थमा बुझाउदा पृथ्वी वायु जल ताप र आकाश (प्राण) भनेर भन्न सकिन्छ । गार्गी र यज्ञवल्क्य ऋषिलाई सोधेको शव्द विषयक प्रश्नमा यज्ञवल्क्यले महान प्रश्नको नाम दिएर यसको अर्थ रहस्यमय तत्व बताएका थिए अन्य विभिन्न ऋषिहरुका अनुसार तपस्या, सत्य, योग, साधना आदि अनेकन अर्थ बुझाइएको पाइन्छ । ब्रह्म शब्दलाइ शुत्र भावमा बुझाउनुपर्दा यो तत्व हो जुन अनादि अविनाशी चैतन्य आदि स्वरुपमा रहेको छ । यश शब्दलाइ प्राप्ति भावले बुझ्ने हो भने यो त्यस्तो चीज हो यसलाइ पाए अरु कुनै सुख प्राप्तिको चाहना नै हुदैन यश शब्द ज्ञान भएपछि अन्य कुनैपनि ज्ञान जिज्ञासा रहदैन यो चराचर जगतमा व्याप्त छ तर देखिदैन जसरि जल वायुमा शक्ति उखुमा चिनी लुके झै अदृश्य रुपमा सर्व व्यापि रहेको छ ।
जगत ः गरेका कामको प्रतिफल अनुभव वा भोग गराउने परमेश्वर नाम स्वरुप एवं परमात्माका छिद्र कर्ण अवस्थित जीवात्माहरुको अनेक अनेक तत्वहरुलाइ सामुहिक रुपमा जगत भनिन्छ जगतमा मनुष्यहरु मात्र नभई जीव बनसपति आदि सबै दुःख सुख मिश्रित भोग गर्दछन । जगत शब्दका पनि विभिन्न तर्क र विचारहरु रहेका छन न्याय शास्त्र विशेष ग्रन्थहरुले प्रकृतिको विकासको जगत मान्छछन भने सांख्य शास्त्रानुसार यो प्रकृतिको परिणाम जड छ भनेर पुरुष र प्रकृतिलाई छुट्टै विशेष तत्वका रुपमा बताइएको छ । आचार्य अनुसार पनि रामानुजले जगत ब्रह्मको अभिव्यक्ति हो भन्दछन भने शंकराचार्यले ब्रह्मको विवर्त बताउछन् ।

ब्रह्म र जगतको अन्तरसम्बन्ध ः कसैले संसारलाइ नै इश्वरको स्वरुप मान्दछन कसैले उनले गरेको श्रृष्टि कसैले भ्रम त कसैले कर्मको फल भोग्ने ठाउँ त कसैले आफुनै इश्वरको लिलाको लागि प्रस्तुत खेलौना परिभाषित गर्दछन कसैले जगतलाइ नै इश्वरको प्रकृति भन्दछन तर यो जति संसार छ कहिल्यै श्रृष्टि भएको होइन संसार बाहेक अरु केहिपनि नभएकोले यो कसैले श्रीष्टि गरेको होइन भनेर व्याख्या गरेको पाइन्छ फेरि कसैले श्रीष्टि गरेको होइन भने वेद पुराण ग्रन्थको भनाइ झुट होत भन्ने प्रति प्रश्नमा योगि एवं ऋषिहरुले जसले संसार बाहेक केही छैन भन्दछन उनलाइ संझाउन बुझाउन र त्यो पाथीको तत्व बुझाउन उपनिषद् हरुमा श्रीष्टि बिधानको कल्पना वा बिवेचना गरिएको भने सत्य हो । पुराण मिमांश न्याय शास्त्र शुक्त पुरुष शुक्तमा जगतको प्रलय र उत्पत्ति वा श्रीष्टिको कुरामा विश्वास गरिन्छ बिज्ञानबादिहरु जगतको श्रीजना भएको होइन र प्रलय पनि हुदैन भन्दछन यी सब भ्रम हुन भन्दछन तर त्यो अज्ञानताको पराकाष्ठा मात्र हो ।

द्वैतवादि चिन्तकहरुले जगतको यथार्थतामाथी विश्वास गर्दछन किनकि; जगत ÷संसार अस्तित्व रहित भने होइन शंकराचार्य एवं अन्य आचार्यको मत रहित तटस्थ भावले बिश्लेषण गर्नेहो भने ब्रह्म र माया दुबैको मिश्रणलाइ जगत भनिन्छ यी दुई तत्व जगत उत्पादनका कारण बनेका छन । यी भिन्न विचारहरुलाइ समिश्रित एकाग्रता ल्याउन संसार र जगत दुई पद फरक फरक मानेर शरिर अनित्य जगत नित्य मान्ने गर्दछन उपनिषद् को दृष्टि निचोड अनुसार जगतको निमित्त र कारण इश्वर नै भएकाले जगतमा देखिएका दृश्यात्मक भावात्मक र अनुभवात्मक हर कुरा ईश्वरीय रुप हुन् । अर्को अर्थमा भन्नेहो भने जगत ब्रह्मकै अभिव्यक्ति हो ब्रह्म र जगत दुबै अनादिकालिन हुन भन्ने भावलाइ प्रधान मान्नेहो भने एउटालाइ यथार्थ माने अर्को प्रतिभाषिक हुनजान्छ । सबै लोकहरु प्रलयसमय नष्ट हुने हुनाले यो जगत मात्र सान्त छ । हाम्रै देहलाइ आधार मान्नेहो भने देह पनि क्षणभङ्गुर छ इन्द्रिय पनि फेरिइरहन्छन अर्थात कसैको नित्य सत्ता छैन सबै बिनासि भएको हुदा ब्रह्म र जगत नै अबिनाशी भाव हो ।

म आफैले बिभिन्न उपनिषद् पढेर निचोड निकाल्दा ब्रह्म सत्य हो जगत मिथ्या हो भन्ने भाव श्रीजना गरेको छु तर त्यसो भन्दा जगतप्रति बैरभाव राखेको भनेर बुझ्न सकिने तर्क आफै भित्र छैन । हुन त उपनिषदमा ऋषिहरुले जगत मिथ्या भनेर ठेट भाव प्रस्तुत गरेका भने छैइनन् । श्वेत, तैतरीय आदि उपनिषदको निचोड र तत्व भाव लिनेहो भने ब्रह्म नै विश्व भएको पाइन्छ र चर अचर जड चेतन यी चार स्वरुप ब्रह्म रुप भनेर बुझ्नु उपयुक्त मानिन्छ यीनै भावलाइ प्रधान मान्नेहो भने ब्रह्मबाट नै जगतको श्रीष्टि भएको विषयलाइ जोड दिन सकिन्छ ।

ऋषिहरुका मत अनुसार अब सरल तरिकाले ब्रह्म र जगतको सम्बन्ध बुझाउदा जस्तैः– पानीबाट करेन्ट निस्कन्छ करेन्ट बाट पानी होइन करेन्ट परम तत्व होइन तर करेन्टको कारण भने पानी अवस्य हो भनेर बुज्न सकिन्छ यसरी ब्रह्म नै जगतको कारण भएको शंकराचार्यको मत पाइन्छ । निचोडमा के भन्न सकिन्छ भने चराचर विश्व ब्रह्माण्डका जड् र चैतन्यपरक कार्त व्यवहार गतिबिधि समग्रमा ब्रह्मकै अभिव्यक्ति हुन जान्छ जसरी माकुराले आफुले बनाएको जालोलाई बिस्तार गरेर त्यसैमा घुम्दछ आफैले बनाएको जालो भएपनि आफु त्यसैमा घुमिरहन्छ त्यसै गरेर यो जगत ब्रह्मकै श्रीजनात्मक अभिव्यक्ति हो । निराकार निर्गुण ब्रह्म व्यवहारअवस्थामा अग्राह्य अचिन्त्य आदि स्वभावयुक्त हुनाले उपासनामा आउन नसकिने हुदा व्यवहारिक दिशामा द्वैतवादी विचार अनुसार जगतलाइ सगुण ब्रह्म इश्वर देखि बेग्लै तत्वका रुपमा स्विकार गर्दै दुबैपक्षको एक मत भएको भाव प्रष्ट पार्न सकिन्छ जगत एवं सृष्टि ब्रह्मको प्रस्फुटित विचार चाहना सङ्कल्प आदि रुपमा भ्रम दृष्टिले वर्णित भएपनि अन्तिम सत्यको सक्षात्कार एवं आत्मबोध नभए सम्म कगत अस्तित्वकोअनुभव भइरहने र ब्रह्म जगत अनादि सम्बन्ध देखा पर्न आउँछ ।
(लेखक अन्तराष्ट्रिय स्वर्णपदक बिभूषित एवं फलित ज्योतिषाचार्य एवं १८ पुराण प्रवक्ता हुनुहुन्छ ।)

विपदमा लैंगिक हिंसाको जोखिम धेरै

राप्ती पोष्ट

घोराही, असार । विपदका बेलामा लैंगिक हिंसाका घटना अझ बढ्ने हुँदा यसको न्यूनीकरणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिईएको छ । विपदको बेला सबैको ध्यान उद्धार, राहत र पुनस्र्थापना जाँदा लैंगिक हिंसा तथा स्वास्थ्य सेवाका आधारभुत विषय ओझेलमा परेर विभिन्न खालमा समस्या निम्तने हुँदा यसतर्फ सबै गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याईएको छ ।

नेपाल परिवार नियोजन संघ दाङ शाखा स्प्रिन्ट परियोजनाको आयोजनामा बुधबार स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुका लागि लैंगिक हिंसा र यसले पार्ने प्रभाव बारे आयोजित अभिमुखीकरणमा लैंगिक हिंसाका घटना विपदमा अझ धेरै हुने भएकाले नियामक निकायबाट योजना बनाएर निरुपणको काम गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल परिवार नियोजन संघ दाङ शाखा सभापति भरतराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुृख राधा पौडेलले हिंसाका घटना न्यूनीकरण गर्न समुदायमा क्रियाशील सबै संघसंस्थाहरु बीच समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो । प्राय सबैको ध्यान ठूला कुरामा जाने तर साना कुरामा चासो नराख्दा यसले पछि ठूलो असर गर्ने हुँदा सबै चनाखो हुनुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दाङको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी सहायक निरिक्षक निमा डिसीले विपदमा परेका जुन सुकै हिंसा पीडितको न्यायमा सबै गम्भीर हुन आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्लामा हरेक वर्ष हिंसाका घटना बढ्दै गएको तथ्यांकसमेत प्रस्तुत गर्नुभएको थियो ।

स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य नर्सिङ रिता न्यौपानेले पीडितले समयमा न्याय नपाउने तथा कतिपय न्यायको पहुँचमा पुग्न नसकेको अवस्था रहेको बताउनुभयो । महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुशीला पौडेलले विषय सम्वेदनशील भए पनि नीतिगत रुपमा काम गर्ने वातावरण बन्न नसकेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमले विपदमा परेकाहरुलाई मनोविमर्श र सामाजिक न्यायमा पहुँच वृद्धि गर्ने काममा छुट्टै संयन्त्र बनाउनुपर्ने बताउनुभयो । अहिले भईरहेका अभ्यास प्रभावकारी बनाउन नसक्दा पनि समस्या थपिँदै गएको उहाँको भनाई थियो ।

महिला स्वास्थ्य स्वयंसेविका बिना खनाल, धना जिसी, कमला गिरीलगायतले परिवारबाट पीडित भएकाहरु अझ बढी मारमा पर्ने गरेको बताउँदै उनीहरुको न्याय र पुनस्र्थापनामा सबैको ध्यान जानुपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले गर्नु भएको थियो ।

दाङमा अपराधका घटना डरलाग्दो, थपिँदै सुरक्षा चुनौति

छबि पुरी/राप्ती पोष्ट

घोराही, असार । शान्तिनगर गाउँपालिका ७ का २३ वर्षीय दामु भन्ने दामुदर पुनले १६ वर्षीया बालिकालाई २०८१ वैशाख २० गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख २१ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए । पीडितको स्वास्थ्य परीक्षण वैशाख २१ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भयो । प्रहरीले आरोपितलाई वैशाख २१ गते घरबाटै गिरफ्तार गरी जेठ १३ गते बलात्कार प्रयाससम्बन्धी मुद्धा चलाएकोमा जिल्ला अदालतले जेठ १४ गते २ लाख धरौटीमा हिरासतमुक्त गर्याे ।

२०८० चैत १३ गते घोराही उपमहानगरपालिका वडा नम्बर १६ का ४५ वर्षीय गोपाल विकले ५० वर्षीया महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १४ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिए । पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भयो । प्रहरीले आरोपितलाई चैत १५ गते घरवाटै गिरफ्तार गरी बैशाख ९ गते जवरजस्तीकरणी सम्बन्धी मुद्दा चलाएकोमा जिल्ला अदालतले वैशाख १० गते पुर्पक्षका लागि कारागार पठायो ।

घोराही उपमहानगरपालिका ८ का ३० वर्षीया सरिता विकलाई २०८० पुस २४ गतेसम्म पटक–पटक सोही वडाका ५० वर्षीय बसन्त बुढाथोकीले जातीय विभेद गरेको भन्दै पीडित पक्षले पुस २५ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिनुभयो । उजुरीलगत्तै आरोपित फरार भए । प्रहरीले आरोपितविरुद्ध २०८० माघ १० गते जातीय छुवाछुतसम्बन्धी मुद्धा चलाएकोमा चैत १६ गते आरोपित अदालतमा हाजिर भएपछि जिल्ला न्यायाधीश लोकवहादुर हमालको इजलासले बुढाथोकीलाई चैत १६ गते ३० हजार धरौटीमा छोड्यो ।

एक १५ वर्षीया बालिकालाई २०८० माघ २४ गते घोराही उपमहानगरपालिका ५ का १७ बर्षीय बालकले बालविवाह गरेको भन्दै पीडित पक्षले माघ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । ललाइफकाई विवाह गरेको पीडितले बताउनुभयो । प्रहरीले आरोपितलाई फागुन १ गते घरबाटै गिरफ्तार गरी फागुन २२ गते बालविवाहसम्बन्धी मुद्धा चलाएकोमा जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासले २०८१ जेठ १६ गते दोषी ठहर गर्दै १० दिन कैद ५ हजार जरिवाना र २ सय पीडित राहत कोषमा क्षतिपूर्ति भराउने फैसला गर्यो ।

सिस्ने गाउंपालिका वडा नम्बर ६ रुकुमपूर्व घर भइ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा डेरा गरी बस्ने २१ वर्षीया पूर्वपत्नी टीका रावतलाई २०८१ जेठ २५ गते कपुरकोट गाउँपालिका वडा नम्बर ६ घर भई ज्वाला दलगण बारामा कार्यरत नेपाली सेनाका सहायक अमलदार २६ वर्षीय शालिकराम बुढाथोकीले हत्या गरेको भन्दै पीडित पक्षले जेठ २५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए । शवको पोष्टमार्टम जेठ २६ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरि शव आफन्तले बुझेर जेठ २६ गते परम्पराअनुसार अन्तष्टि गरे । प्रहरीले आरोपित बुढाथोकीलाई जेठ २५ गते तुलसीपुरबाटै गिरफ्तार गरी अनुसन्धान थालेको छ ।

दाङमा विभिन्न प्रकारका अपराधजन्य घटना अस्वाभाविक रुपमा बढेको छ । पछिल्लो ६ महिनाको अवधिमा १ सय ३७ वटा मानवअधिकार सम्बन्धि घटना भएको पाईएको छ । सभ्य, सुरक्षित तथा मर्यादित समाजको परिकल्पना गरिए पनि समाजमा दैनिक जसो अपराधका घटना हुँदा जनधनको ठूलो क्षति भईरहेको छ । अर्कोतिर सुरक्षा चुनौति पनि थपिँदै गएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि दाङमा अभिलेख गरिएका घटनाहरुको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार विगतको भन्दा यो पटक मानवअधिकार सम्बन्धि अपराधका घटना अझ बढेको छ । जिल्लामा अपराधजन्य घटनामा सबैभन्दा धेरै जबरजस्ती करणीका घटना भएका छन् ।

इन्सेक दाङ प्रतिनिधि जेएन सागरका अनुसार जिल्लामा जबरजस्ती करणीका ४७ वटा, घरेलुु हिंसाका ५० वटा, हत्याको नौ वटा, दुव्र्यवहारका पाँचवटा, यौन दुव्र्यवहारका पाँचवटा, बहुविवाहका चार वटा, बन्द हड्तालका पाँच वटा, कुटपिटका तीन वटा तथा जातीय भेदभाव, धरपकड, हत्या प्रयास, आगजनीका एक÷एक वटा घटना भएका छन् । जिल्लामा बितेको ६ महिनामा लैंगिक हिंसा, बलात्कारजन्य घटना उल्लेख्य भएका तथ्यांकले देखाएको छ । लैंगिक हिंसाका घटनामा परिवारभित्रैका व्यक्ति संलग्न रहेको पाईएको छ । सबैभन्दा धेरै पतिले पत्नीमाथि हिंसा गरेको पाइएको छ भने यही अवधिमा पतिले सात जना पत्नीको हत्या गरेका छन् । जसमा तीन जना सुरक्षा निकायकै व्यक्ति संलग्न भएको समेत तथ्यांकमा उल्लेख छ ।

जिल्लामा भएका घटना बाहेक विद्यार्थीमाथि दुव्र्यवहार, सिमेन्ट कारखानाबाट सिर्जित धुलो, धुवाँ र ध्वनीले मानवीय स्वास्थ्यको जोखिम, सार्वजनिक यातायातमा महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार, मोही किसानका समस्या, आन्दोलन र उनीहरुमाथि गरिएको दुव्र्यवहार, सहकारी र वैदेशिक रोजगारीका नाममा हुने ठगीजस्ता घटना पनि जिल्लामा उल्लेख्य रुपमा भएको तथ्यांकमा रहेको छ ।

मानव अधिकार सञ्जाल दाङका कार्यवाहक अध्यक्ष श्रीमन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अदालत दाङका श्रेस्तेदार दामोदर घिमिरेले दाङमा मानव अधिकार उल्लंघनका घटना वास्तवमै बढेको बताउनुभएको छ । समाजमा बढ्दो अपराध रोक्न सचेतनासँगै कानुनी साक्षरता व्यापक बनाउन संवेदनशील हुनुपर्ने बताउनुभयो ।
नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले मानव अधिकार लागू गर्ने निकाय सम्वेदनशील हुन नसक्दा समाजमा अपराध बढिरहेको तर्क गर्नुभयो । उहाँले मानव अधिकार हनन्का घटना रोक्न सबै पक्ष गम्भीर हुनुको विकल्प नरहेको बताउनुभयो ।

वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले पीडितलाई न्याय दिलाउन प्रहरी प्रतिवद्ध रहेको जनाउँदै पीडामा महिलाहरु धेरै पर्ने भएकाले गोपनीयता कायम गर्दै महिलामैत्री वातावरणमा सेवा दिने काम भईरहेको बताउनुभयो । घोराही कारागारका प्रमुख योगेन्द्र रिजालले अपराध अनुसारको सजाय भुक्तान गर्न आएको कैदीबन्दीहरुलाई व्यवस्थापन गर्न कारागार प्रशासनलाई समेत चुनौति थपिएको बताउनुभयो ।

घोराहीले ल्यायो दुई अर्ब ४२ करोड रुपैयाको बजेट

राप्ती पोष्ट

घोराही, असार । घोराही उपमहानगरपालिकाले पूर्वाधार, कृषि, शिक्षा, सामाजिक विकासलगायत क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि दुई अर्व ४२ करोड बढी रुपैयाको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक हुमाकुमारी डिसीले आईतबार पन्ध्रौँ नगरसभामा आगामी आर्थिक वर्षका लागि दुई अर्ब ४२ करोड ७७ लाख १८ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो ।
घोराहीले चालु आर्थिक वर्षभन्दा २६ करोड ९४ लाख १८ हजार रुपैयाँ बढीको बजेट ल्याएको छ । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ का लागि २ अर्व १५ करोड ८३ लाख रुपैया बजेट बिनियोजन गरेको छ ।
नगर सभामा उपप्रमुख एवम् कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक डिसीले कुल बिनियोजित रकम मध्ये संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदान ८२ करोड ९७ लाख ५८ हजार मध्ये ११ करोड ६३ लाख २० हजार अर्थात १४ दशमलव ०२ प्रतिशत पूँजीगत खर्च र ७१ करोड ३४ लाख ३८ हजार अर्थात ८५ दशमलव ९८ प्रतिशत चालु खर्च रहेको उहाँले बताउनुभयो । त्यस्तै प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुदान तीन करोड ६४ लाख ६२ हजार मध्ये तीन करोड ६० लाख अर्थात ९८ दशमलव ७३ प्रतिशत पूँजीगत खर्च र चार लाख ६२ हजार अर्थात एक दशमलव २७ प्रतिशत चालु खर्च रहेको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान, राजश्व बाँडफाँड र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय घर जग्गा रजिष्ट्रेशन, बैंक मौज्दात समेतबाट विनियोजन गरिएको बजेट एक अर्ब ५६ करोड १४ लाख ९८ हजार मध्ये ५५ करोड ७१ लाख १२ हजार अर्थात ३५ दशमलव ६८ प्रतिशत चालु खर्च र एक अर्ब ४३ लाख ८६ हजार अर्थात ६४ दशमलव ३२ प्रतिशत पूँजीगत खर्च रहेको उपप्रमुख डिसीले जानकारी दिनुभयो ।

प्रस्तुत भएको कुल बजेटमध्ये एक अर्ब २७ करोड १० लाख १२ हजार अर्थात ५२ दशमलव ३५ प्रतिशत चालु खर्च र एक अर्व १५ करोड ६७ लाख छ हजार अर्थात ४७ दशमलव ६५ प्रतिशत पूजिगत खर्च रहेको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक आयबाट ५५ करोड ८८ हजार, संघीय वित्तीय समानिकरण अनुदानबाट ३० करोड ३१ लाख, संघीय राजश्व बाँडफाँडबाट २६ करोड ७० लाख २६ हजार ६०१, संधीय रोयल्टी बाँडफाँडबाट नौ लाख ७३ हजार ३९९ संघीय सशर्त अनुदानबाट ८२ करोड २२ लाख ५८ हजार, र संघीय बिशेष अनुदानबाट ७५ लाख व्यहोरिने भएको छ ।

त्यस्तै प्रदेश समानिकरण अनुदानबाट दुई करोड २० लाख ४७ हजार, प्रदेश राजश्व बाँडफाँडबाट दुई करोड ८२ लाख ६३ हजार, प्रदेश सशर्त अनुदानवाट दुई करोड २४ लाख ६२ हजार र प्रदेश समपुरक अनुदानबाट एक करोड ४० लाख व्यहोरिने गरी उपमहानगरले बजेट विनियोजन गरेको हो ।

कुन क्षेत्रका लागि कति बजेट ?

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि सार्वजनिक गरेको दुई अर्व ४२ करोड बढि बजेटमध्ये सामाजिक विकास महाशाखा अन्तरगत शिक्षा, विद्यालय पूर्वाधार विकास तथा मर्मत एवम् खेलकुदका सबै कार्यक्रमका लागि ८४ करोड ८४ लाख ४७ हजार रुपैयाँ विनियोजन गरेको छ । पूर्वाधार विकास अन्तरगत ८१ करोड ५३ लाख ४५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी स्वास्थ्य प्रवद्र्धन अन्तरगत नौ करोड २६ लाख ८५ हजार रुपैयाँ, कृषि प्रवद्र्धन अन्तरगत तीन करोड दुई लाख ७५ हजार रुपैयाँ, वन वातावरण तथा विपद व्यवस्थापन अन्तरगत दुई करोड पाँच लाख ७५ हजार रुपैयाँ, आर्थिक विकास अन्तरगत दुई करोड ६० लाख रुपैयाँ, उपभोक्ताहीत संरक्षण शाखा अन्तरगत १६ लाख ९५ हजार रुपैयाँ, सहकारी तथा रोजगार प्रवद्र्धन अन्तरगत १० लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

उद्योग प्रवद्र्धन अन्तरगत २१ लाख ५० हजार रुपैयाँ, सूचना तथा संचार प्रविधि अन्तरगत ७० लाख १५ हजार रुपैयाँ, पर्यटन तथा संस्कृति प्रवद्र्धन अन्तरगत १४ लाख ७५ हजार रुपैयाँ, महिला बालबालिका तथा समाज कल्याण अन्तरगत ९८ लाख ३० हजार रुपैयाँ, कानूनी मामिला अन्तरगत २२ लाख ६० हजार रुपैयाँ, पशु सेवा अन्तरगत ५३ लाख ८० हजार रुपैयाँ, सरसफाई व्यवस्थापन अन्तरगत तीन करोड ५३ लाख ४५ हजार रुपैयाँ, भूमि व्यवस्थापन अन्तरगत ५५ लाख २२ हजार रुपैयाँ विनियोजन गरेको छ ।

सामान्य व्यवस्थापन अन्तरगत १८ लाख रुपैयाँ, योजना तथा अनुगमन अन्तरगत १० लाख, राजश्व व्यवस्थापन अन्तरगत १३ लाख रुपैयाँ, सामाजिक सुरक्षा तथा पञ्जीकरण अन्तरगत १० लाख ८० हजार रुपैयाँ, भवन अनुमति तथा मापदण्ड अन्तरगत १२ लाख रुपैयाँ, आन्तरिक प्रशासन अर्थात कर्मचारीको तलव भत्ता, ईन्धन, सवारी साधन मर्मतसम्भारदेखि सेवा सुविधा अन्तरगत ३६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी, पालिकाको नगर स्तरीय २ सय १९ वटा योजनाका लागि १५ करोड ९९ लाख ४५ हजार रुपैयाँ विनियोजन गरेको छ । पालिकाको बहुवर्षीय तथा क्रमागत नयाँ तथा पुराना ७० वटा योजनाका लागि ५० करोड ९४ लाख रुपैयाँ विनियोजन गरेको छ । यसैगरी नगरस्तरीय लागत सहभागीतामा आधारित ७२ वटा योजनाका लागि छ करोड आठ लाख रुपैयाँ विनियोजन गरेको उपप्रमुख डिसीले बताउनुभयो । असार २ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेर आइतबार बजेट ल्याएको घोराहीले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार केही बढाएको छ । बजेटमाथिको छलफलका लागि ११ गते बिहान ७ बजे नगरसभाको बैठक बोलाईएको छ ।

बजेटको पूर्ण विवरण हेर्नुहोस