छबि पुरी /राप्ती पोष्ट
घोराही, असार । बर्षाद लागेसँगै किसान खेत पसेका छन् । प्रमुख बाली धान रोपाइँ गर्न किसानको दैनिकी अचेल खेतबारीमा बित्ने गरेको छ । खेत पसेका किसानको खेतबारी भने शहर बजारबाट निस्कने प्लाष्टिकजन्य फोहोरले भरिने गरेको छ । बजारहुँदै बग्ने कुलो गाउँका खेतमा जाने हुँदा त्यही कुलोमा फालिने प्लाष्टिकजन्य फोहोर किसानको खेतमा भेटिने गरेको छ ।
खासगरी घोराहीको लखवारे कुलोको पानी सात मौजाका किसानले प्रयोग गर्छन् । बाउबाजेको पालादेखि यो कुलोको पानीले खेतीपाती गर्दै आएका घोराहीको पनौरा, गुलरिया, बयरबटुवा, खिरटिया, चोरगाउँ, लखवार, मघैका किसानलाई पछिल्ला वर्षहरु त्यति सहज छैन । हजारौँ विगाहालाई सिंचाई सुविधा पुर्याउने लखवारे कुलो अहिले संकटमा पर्न थालेको छ ।
घोराही १८ को चमै सोतादेखि १७ को पनौराहुँदै वडा नम्बर ६ का विभिन्न ठाउँका किसानले यही कुलाको पानीको भर पर्दै आएकोमा बढ्दो बजारीकरणले समस्या थपेको छ । बजार भएर बग्ने कुलोकोपानीसँगै खेतमा आउने प्लाष्टिकजन्य फोहोरले सताएको किसानहरुको दुखेसो छ ।
‘पहिले बजार सानो थियो, कटुवा खोलाको पानी चमै सोताबाट खेतसम्म पुर्याउँथ्यौँ । बाह्रै महिना पानी हुन्थ्यो तर अहिले मुस्किलले ७ महिना पानी बग्छ’, उहाँले घोराही १७ बयरबटुवाका दुब्लु चौधरीले भन्नुभयो ‘अहिले बजारले गर्दा घरैघर बने । घरबाट निस्कने फोहोर यही कुलोमा फाल्छन् । अनि कुलो बुजिएर पानी बग्ने अवस्था पनि छैन, प्लाष्टिकले खेत भरिएर अर्को हैरानी थप्ने गरेको छ ।’
उसो त, कटुवाखोलाको पानीको स्रोत पनि हिजोको जस्तो छैन । वर्षेनी पानीको श्रोत घट्दै गएको छ । वातावरण संरक्षणमा चासो कम हुँदा कृषि क्षेत्रमा असर पुगेको छ । पर्याप्त मात्रामा कुलोमा पानी आउन नसक्दा सिंचाई सुविधा नपुग्ने अनि खेतीपातीको सिजनमा सहज रुपमा काम गर्न कठिनाई हुने गरेको गुलरियाका अर्का किसान गोविन्द चौधरीको गुनासो छ । ‘बजारतिरका लेखे पढेका भन्नेहरुले नै कुलोमा फोहोर फाल्ने गरेका छन् । त्यही फोहोर, प्लाष्टिक बगेर हाम्रो खेतबारीमा आईपुग्छ, यसले निकै असर गरेको छ’, उहाँले भन्नुभयो, ‘बल्लबल्ल कुलो सफा गरेर खेतबारीसम्म पानी पुर्यायो, त्यही कुलोमा बजारबासीले सबै फोहोर, प्लाष्टिक फाल्ने काम गर्छन् । सिसाजन्य फोहोर पनि खेतमा भेटिन्छ ।’
अहिले बर्षे खेती गर्ने समयमा घोराही उपमहानगरपालिका १६ बयरबटुवाका हरिराम चौधरीलाई खेत र नालामा अड्किएको फोहोर फाल्न समय बित्ने गरेको छ । घोराही बजारबाट कुलोमा फालिएको फोहोर बग्दै खेतबारीमा प्लाष्टिक तथा सिसाजन्य फोहोरले भरिने भएकाले खेती गर्नुभन्दा पहिले बर्षेनी किसानलाई खेतमा भएको फोहोर व्यवस्थापन गर्नुपर्ने चुनौती थपिने गरेको छ ।
धान रोप्नुभन्दा पहिले प्रत्येक वर्ष खेतमा आएको प्लाष्टिकलगायतका फोहोर फाल्नुपर्ने बाध्यता भएको किसान चौधरीको दुखेसो छ । ‘गाउँका सबै मिलेर मेहनतका साथ सिंचाईका लागि कुलो बनाएका हौँ, तर सहरका मानिसले कुलोमा फोहोर फालिदिँदा खेतभरी प्लाष्टिक, सिसाजन्य फोहोरले भरिने गरेको छ’ उहाँले भन्नुभयो । फोहोरले गर्दा किसानलाई खेती गर्नुभन्दा पहिले प्रत्येक वर्ष खेतबारी सफा गर्नुपर्ने चुनौती छ । खोला र कुलाको दुषित पानीले सिंचाई गर्दा अन्नबालीहरुमा नयाँ रोगहरु देखा पर्ने र वर्षेनी उत्पादनसमेत घट्ने समस्या बढ्दै गएको मघैकी नैना चौधरीले बताउनुभयो ।
खेतमा पुगेको फोहोरले खेती गर्नसँगै उत्पादनमा समेत असर गर्ने गरेको घोराही उपमहानगरपालिका ६ चोरगाउँकी लक्ष्मी खत्रीको भनाई छ । ‘सहरमा फोहोर जथाभावी फाल्दा किसानको खेतवारीसँगै सिचाईका लागि प्रयोग हुने खोला र कुलोहरु समेत प्रदुषित हुने गरेको छ, यसतर्फ कसले ध्यान दिने होला’, उहाँले भन्नुभयो ‘पहिले–पहिले खोला तथा नालामा पानी गाईवस्तुलाई खुवाउन र सिचाई गर्न हुन्थ्यो तर अहिले फोहोरले गर्दा खोला, नालामा गाईबस्तुलाई पानी खुवाउनै डर लाग्ने भएको छ ।’
कुलोमा आउने दुषित पानी पिउँदा गाइबस्तु विरामी पर्ने र अन्नबालीमा समेत बर्षेनी रोग देखिने गरेको किसानको भनाई छ । घोराहीको दक्षिणी भेगमा रहेका गाउँका किसानले मात्रै होईन बजारहुँदै कुरा बग्ने ठाउँका किसानले यस प्रकारका समस्या भोग्दै आएका छन् । सहरी क्षेत्रबाट निस्कने फोहोर व्यवस्थित रुपमा व्यवस्थापन नहुँदा गाउँमा प्रदुषण बढाउनुका साथै कृषि उत्पादनमा समेत असर पुर्याइरहेको छ । जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङलगायतका क्षेत्रमा यस प्रकारको समस्या बढ्दै गएको स्थानीय किसानको भनाई छ । गाउँका सिंचाई गर्ने कुलोदेखि खेतबारीसम्म बजारको फोहोरै फोहोरले भरिएपछि गाउँका किसानहरु बजारबासीले गरेको फोहोर सफा गर्न बाध्य छन् ।
घोराही उपमहानगरले सहरी क्षेत्रमा हरेकदिन फोहोर संकलन हुने गरेको भएपनि कतिपयले फोहोरहरु कटुवा तथा सेवार खोलामा फाल्दा त्यसको असर गाउँका किसानलाई पर्ने गरेको छ । सहरवासीले खोलामा फाल्ने फोहोरका कारण गाउँसम्म प्रदुषण फैलिनुका साथै किसानहरुले समेत समस्या भोग्नुपर्ने समस्या भएको घोराही उपमहानगरपालिका सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारीको भनाई छ ।
सहरको फोहोर गाउँमा गएर खेती गर्नै समस्या हुने अवस्था आएपछि घोराही उपमहानगरपालिकाले फोहोर नफाल्न पटक–पटक सार्वजनिक सुचनासँगै फालेको थाहा पाए कारवाही गर्नेसम्म चेतावनी दिएपनि कम गर्न नसकिएको शाखा प्रमुख अधिकारीको भनाई रहेको छ । ‘फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाले गाडीको प्रयोग गर्दै आएको छ । घरबाट निस्कने फोहोरलाई गाडीमा फाल्न र जथाभावी रुपमा खोला तथा कुलोहरुमा फोहोर नफाल्न आग्रह गर्दै आएका छौँ’, उहाँले भन्नुभयो, ‘तर मानिसहरुले घरमा राखेर गाडी हाल्नेभन्दा कुलामा फाल्ने गरेको पाइएको छ । यसका लागि अब हामीले कानूनी रुपमा अघि बढ्ने तयारी पनि गरेका छौँ । पहिलो कुरा त, सचेतना प्रदान गर्ने हो, त्यसले भएन भने कारवाही गर्नुको विकल्प छैन ।’
घोराहीले सरसफाई तथा प्लाष्टिकजन्य बस्तुको व्यवस्थापनका लागि बारम्बार सरोकारवालाहरुलाई अभिमुखीकरणसमेत गर्दै आएको छ । पालिकाले घोराहीलाई हरित नगर बनाउन प्लाष्टिकमुक्त उपमहानगरको नीति अघि सारेको छ । जस अनुसार आगामी आर्थिक वर्षबाट नीति कार्यान्वयन गर्ने गरी कार्यपालिकाबाट कानून पनि पारित गरेको छ ।
उता, बजारबासीलाई सजक गराउनुका साथै खोला तथा कुलाहरुमा फोहोर फाल्ने जरिवाना समेत गर्ने निर्णय गरेको तुलसीपुर उपमहानगरपालिका सरसफाई व्यवस्थापनका शाखाका माधव पौडेलले बताउनुभयो । जथाभावी फोहोर नफाल्न जानकारीसँगै फाले कारवाही गर्नेसम्मको चेतावनी दिदा पनि कुलाहरुमा फोहोर फाल्ने गरेको किसानले गुनासो गर्दै आएको उहाँ बताउनुहुन्छ ।
‘जथाभावी फोहोर फाल्दा फोहोर गाउँसम्म पुगिरहेको छ । जसले सहरलाई मात्रै होइन गाउँबस्तीमा पनि प्रदुषण गर्ने काम गरिरहेको छ ।’ उहाँले भन्नुभयो ‘पालिकाहरुले जथाभावी फोहोर फाल्नेलाई दुई सयदेखि ५० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ ।’ जिल्लाका प्रमुख घोराही, तुलसीपुर र लमही क्षेत्रमा हरेक दिन फोहोर उठ्ने गरेको छ । घोराही उपमहानगरपालिकामा २०, तुलसीपुर उपमहानगरपालिकामा २५ र लमही नगरपालिकामा ६ टन गरी जिल्लामा दैनिक करिव ५० देखि ५५ टनसम्म फोहोर संकलन हुने गरेको पालिकाहरुको भनाई छ । सहरी क्षेत्रमा फोहोर संकलनका लागि घोराही उपमहानगरपालिकामा १० वटा, तुलसीपुर उपमहानगरपालिकामा ६ वटा र लमही नगरपालिकामा ४ वटा गाडीहरु प्रयोग हुने गरेका छन् ।
त्यसका साथै भालुवाङ, गढवा, नारायणपुर, हापुरेलगायतका सहरी क्षेत्रमा पनि पालिकाहरुले फोहोर संकलनका लागि गाडीहरुको प्रयोग गर्ने गरेका छन् । सहरीबाट उठेको फोहोरहरु पालिकाहरुले ल्याण्ड फिल्ड साइडमा व्यस्थापन गर्दै आएका छन् । तर, ग्रामीण क्षेत्रको फोहोर व्यवस्थापनमा भने पालिकाहरुले चासो देखाएका छैनन् । सहरी क्षेत्रमा हरेकदिन फोहोर उठाइरहँदा पालिकाहरुले ग्रामीण क्षेत्रको फोहोर भने नउठ्ने गरेको स्थानीयबासी बताउँछन् ।
बजार क्षेत्रको फोहोरको भारी अनावश्यक रुपमा गाउँका किसानका खेतबारीमा जानबाट रोक्न उनीहरुको माग छ । यसका लागि गल्ने र नगल्ने फोहोरलाई श्रोतबाट वर्गीकरण गरेर व्यवस्थापन गर्न सबैले सहयोग गर्नुपर्ने पालिकाको भनाई छ ।