spot_img
Home Blog Page 18

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

अपांगको पुनःस्थापना राज्यको जिम्मेवारी

राप्ती पोष्ट

घोराही, असोज । अपांगता भएकाहरुको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने धारणा शनिबार यहाँ आयोजित एक कार्यक्रममा बक्ताहरुले राखेका छन् । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखाको ११ औं साधारण सभाको उद्घाटन समारोहमा बोल्नेहरुले यस्तो धारणा राखेका हुन ।

अपांगता भएकाहरुको अधिकार संवैधानिक रुपमा सुनिश्चित गरिएकाले संविधानमा लेखिएको विषय कार्यान्वयनको जिम्मेवारी राज्यको हुने धारणा बक्ताहरुको थियो । राज्यले दिएका कतिपय अधिकार समेत अपांगले नपाएको चर्चा गर्दै बक्ताहरुले कानुनमा उल्लेख गरिएको विषय कार्यान्वनका लागि दवाव दिन आवश्यक रहेकोमा जोड दिएका थिए ।
अध्यक्ष रुपा ओलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले अपांगको पुनःस्थापनाकोे विषयमा मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आफू नगरपालिकामा रहेर पनि गर्नुपर्ने जति काम गर्न नसकेको स्विकार गर्नुभयो । ‘हामीले पनि कतिपय काम गर्न सकिरेहका छैनौं जस्तो लाग्छ, यस्तो काममा संघ संस्था, नागरिक समाज सवै मिलेर गर्नुपर्नेरहेछ ।’ उहाँले भन्नुभयो ।

नेपालमा अपांगता भएकाहरुका लागि कानुनमा अधिकार सुनिश्चित गरिएको भएपनि कानुनमा लेखिएका कुरा कार्यान्वयनमा समस्या रहेको उहाँको भनाई थियो । उहाँले अपांग पुनःस्थापनाका लागि जिल्ला जिल्लामा व्यवस्थित पुनःस्थापना केन्द्र बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले कतिपय अपांगका अभिभावक नै स्याहार सुसारका लागि सक्षम नभएको भन्दै उहाँले त्यस्ताका लागि पुनःस्थापना गृह आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल अपांग संघका केन्द्रिय उपाध्यक्ष शरद अधिकारीले अपांगहरुको हितमा सामाजिक संघ संस्थाहरुले मिलेर काम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले नेपाल अपांग संघले संचालन गरेको अर्थोपेडिक अस्पतालले अपांग संघमा आवद्ध भएकाहरुका लागि र अति अशक्त अपांगताका लागि छुट दिएको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले पुनःस्थापना कार्यक्रमका लागि सवैले साथ र सहयोग गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सोही अवसरमा नेपाल अपांग संघका पूर्व अध्यक्ष डा. भोलानाथ योगीले अपांग संघले विगतमा गरेका कामको चर्चा गर्दै पहिलेको तुलनामा सहज अवस्था आएको चर्चा गर्नुभयो । उहाँले नेपाल अपांग संघ दाङले साविक राप्ती अञ्चललाई खुँडे मुक्त बनाउनका लागि खेलेको भूमिकाको स्मरण गर्नुभयो ।

उक्त अवसरमा नेपाल अपांग संघका सल्लाहकार केशवकुमार शर्मा, नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्त, घोराही १४ का पूर्व अध्यक्ष शक्तिराम डाँगी, घोराही १४ कि कार्यवाहक अध्यक्ष रचना कुमाल लगायतले बोल्नुभएको थियो ।
साधारण सभामा सचिव भुमा चौधरीले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष दुर्गालाल केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको संचालन सचिव भुमा चौधरीले गर्नुभएको थियो ।

तटबन्धले खोला पसेपछि अदालत धाउँदै स्थानीय

राप्ती पोष्ट

घोराही, असोज । स्थानीय सरकारसँग समन्वय नै नगरी खोलामा तटबन्धको काम गर्दा नीजि जग्गामा खोला पसेको भन्दै न्यायका लागि घोराहीका केही स्थानीयहरु अदालत पुगेका छन् । खोलालाई लिएर दुई गाउँबीच विवाद भएको र स्थानीय तहले समेत सुल्झाउन नसकेपछि मुद्दा अदालतसम्म पुगेको छ ।

घोराही उपमहानगरपालिका १० मा पर्ने दक्षिण अम्राइको गुर्जे खोला किनारको आफ्नो जग्गामा खोला पसेको भन्दै जिल्ला अदालत दाङमा मुद्दा दायर भएको छ । घोराही–१५ का ७४ वर्षीय चन्द्रराम चौधरी, ५८ वर्षीय विनोदकुमार रावत, ५० वर्षीय कलवीर चौधरीलगायतले पानी निकास अवरोध हटाई पाउँ भन्दै अदालतमा मुद्दा दायर गर्नुभएको छ ।

जहाँ खोला छ, त्यहीँ बगोस् । नक्साभन्दा पश्चिमतिरबाट खोला बग्न थालेपछि हाम्रो जग्गा निजी खाइदिएको छ । त्यो जग्ग्गामा तटबन्ध गरी संरक्षण गरिपाऊँ भन्दै मुद्दा दायर भएको छ । अर्को गाउँका गाउँलेले खोलामा तटबन्ध गरी नक्सा अनुसार बगाउन नदिएको पनि उनीहरूको आरोप छ । घोराही १० का विनोद कुमारले अहिले बगरमा परिणत भएको अधिकांश जग्गा आफूहरूको भएको बताउनुभयो । २०४६ सालपछि खोलो पश्चिमतर्फ ढल्किएपछि आफूहरूको निजी जग्गा बगर बन्ने क्रम सुरू भएको उहाँको भनाइ छ ।

बिस्तारै निजी जग्गामा खोला हिँड्न थालेपछि अहिले समस्या भएको उहाँ बताउनुहुन्छ । दुई गाउँको सिमाना छुट्याएर ऐलानी जग्गामा लगाइएका रूखहरू काट्ने हो र त्यही ठाउँबाट दुई खोलाको पानी बग्ने वातावरण बनाउने हो भने व्यक्तिगत जग्गा जोगिने उहाँको भनाई छ । ५० वर्षीय कलवीर चौधरीको यही खोलामा ४ कठ्ठा जति जग्गा छ । २०५२ सालतिर उहाँले रैकर गराउनुभएको हो । पहिला यो मोहीको जग्गा थियो । त्यसयता आफूले मालपोत तिर्दै आए पनि एक बोट धान लगाउन नपाएको कलबीरले बताउनुभयो । नक्सामा खोला जुन ठाउँमा छ, त्यहीँ ठाउँमा तटबन्ध गरी खोला हिँडाउन राज्यले पहल गर्नुपर्ने उहाँको माग छ ।

उनीहरूको यस्तो माग खोलाको अर्कोपट्टि पर्ने गाउँका बासिन्दाले नमानेपछि यो विवाद पहिला महानगरपालिकाको न्यायीक समितिमा पुगेर पटक पटक छलफल पनि भयो । गुर्जे र सेवार खोलाले कटान गरेको आफ्नो जग्गा तटबन्ध गरी नक्सा बमोजिमको खोलालाई साबिक स्थितिमै लैजान पाउनुपर्ने मागसहित उनीहरुले घोराही उपमहानगरपालिकाको न्यायीक समितिमा निवेदन दिएका थिए ।

समस्याको समाधान निकालिदिन माग गर्दै घोराही ७ बेसाहीका प्रकाश चौधरी, बुद्धिप्रकाश चौधरी र शान्ता चौधरीलगायतले गत वैशाख १६ गते न्यायीक समितिमा निवेदन दिनुभएको थियो । न्यायीक समितिले यथार्थ बस्तुस्थिती बुझ्न स्थलगत अनुगमन निरिक्षण पनि गरेको थियो ।

खोलालाई पहिलेकै स्थितिमा फर्काउन नदिने पक्षमा उभिएका बेसाहीका गाउँलेले भने वर्षौं पहिले खोलाले बाटो फेरेपछि आफूहरूले वृक्षारोपण गरेको जग्गामा अहिले ठूल्ठूला रूख भइसकेको छ । उनीहरूले खोला जहाँबाट बग्छ त्यही जग्गा खोलाको हो भन्ने तर्क गर्दै आएका छन् । खोलाको जग्गाबारे गाउँमै विवाद भएपछि न्यायिक समितिले दुवै पक्ष राखेर कुरा गराएको थियो । न्यायीक समिति संयोजक हुमा डिसी आफै पनि स्थलगत अवलोकनमा धेरै पटक जानुभएको थियो ।
दुबै गाउँका मानिसहरू छलफलमा बसे पनि आ–आफ्नो अडान नछाड्ने भएपछि न्यायीक समितिले उजुरीकर्तालाई अदालत जान बाटो देखाएको हो । त्यसपछि चन्द्रराम चौधरीलगायत अदालत पुग्नुभएको हो । न्यायीक समिति संयोजक डिसीका अनुसार खोलामा निजी जग्गा छ भन्ने चन्द्रराम चौधरीहरूले चुरे संरक्षण कोषबाट झन्डै ४० लाख रुपैयाँ लिएर गुर्जे खोलाको पश्चिम किनारमा तटबन्ध गरेका छन् ।

तटबन्ध गर्दा उनीहरुले खोलाको धार फेरिने गरी काम गरेपछि समस्या देखिएको हो । तटबन्धकाको काम सम्पन्न भईसक्दा पनि उनीहरूले स्थानीय सरकारसँग समन्वय नगरेको उपप्रमुख डिसीले बताउनुभयो । उनीहरूले बाँध बाँधेर गुर्जे र सेवार मिल्ने दोभानसम्म लगेर खोला वनमा हाल्दिन खोजेको तथ्य स्पष्ट देखिन्छ । वन र खोला अतिक्रमण गर्न हुँदैन भन्ने आम मान्यतालाई दुवै पक्षले ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

बेसाहीकी शान्ता चौधरी पनि यो खोलालाई अम्राई गाउँलेले भने जस्तो तटबन्ध गर्न नहुने बताउनुहुन्छ । सोही खोलामा रहेको जनजागृति सामुदायिक वनकी अध्यक्षसमेत रहनुभएकी शान्ताले श्रेस्तावाल जग्गा भएकाहरूले गुर्जे खोलाको पश्चिममा गर्नुपर्ने तटबन्ध आफूखुसी ५० मिटर पूर्वमा गरिदिँदा समस्या भएको बताउनुभयो । खोलाको धार परिवर्तन हुने गरी वनको बीच भागमा खोला पसाल्न खोजेपछि आफूहरूले विरोध गरेको बताउनुभयो ।

गुर्जे र सेवार खोला पश्चिमका जग्गाधनीमध्ये चन्द्रमानले प्रदेश सरकारको बजेटले ४० लाखमा दुई सय मिटर तटबन्ध भएको बताउनुभयो । तटबन्धदेखि दक्षिणमा आठ बिघा जति निजी जग्गा छ । तटबन्ध गरेको र खोला हिँडेको जग्गा भने २० बिघा छ । त्यही निजी जग्गा जोगाउन गत वर्ष आफूहरूले तटबन्धको काम गरेको चन्द्रमानले बताउनुभयो । त्यसका लागि प्रदेश सरकारबाट बजेट माग गरि विनियोजन भइसके पनि स्थानीयको विरोधका कारण तटबन्ध निर्माणको काम भने हुन नसकेको बताईएको छ ।

दाङमा खसी बोकाको मूल्य निर्धारण

राप्ती पोष्ट

तुलसीपुर, असोज । दाङमा खसी–बोका खरिदका लागि मूल्य निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि खरिद गरेर काठमाडौं पठाउनका लागि जिल्लामा खसी–बोकाको मूल्य निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आइतवार बसेको समितिको बैठकले खसी–बोकाको मूल्य निर्धारण गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारका अनुसार खसीको मूल्य वृद्धि गरिएको छ भने बोकाको मूल्य घटाइएको छ । यस वर्ष जिउँदो खसीको मूल्यमा प्रतिकेजी पाँच सय ६० रुपैयाँ र बोकाको मूल्य जिउँदो प्रतिकेजी पाँच सय ४० निर्धारण गरिएको छ । सम्रगमा गत वर्षको तुलनामा जिल्लामा खसीको मूल्यमा प्रतिकेजी पाँच रुपैयाँ वृद्धि भएको छ भने बोकाको मूल्यमा दुई रुपैयाँले घटेको छ ।

अघिल्लो वर्ष जिल्लामा केजी अनुसार मूल्य निर्धाण गरिएको थियो । यस वर्ष खसी २० देखि ४० केजीसम्म र बोका १८ देखि ३० केजीसम्मका मात्र खरिद गरिने प्रमुख सुनारको भनाइ छ । सेतो रँङको खसी भने खाद्यले खरिद गर्ने छैन । अघिल्लो वर्ष जिउँदो खसी २५ केजीभन्दा माथिको प्रतिकेजी पाँच सय ६२ रुपैयाँ प्रतिकेजी तोकिएको थियो । यसैगरी २० देखि २५ केजीसम्मको खसीको मूल्य प्रतिकेजी पाँच सय ४५ रुपैयाँ निर्धारण गरिएको थियो । १८ केजीभन्दा माथिको बोकाको मूल्य प्रतिकेजी पाँच सय ४२ रुपैया निर्धारण गरेर खरिद गरिएको थियो ।

मूल्य निर्धारणसँगै खसी, बोका खरिद गर्न सुरु गरिने प्रमुख सुनारले बताउनुभयो । खाद्यले असोज १७ गतेदेखि जिल्लामा खसी–बोका खरिद सुरु गर्ने जनाएको छ । खाद्यका अनुसार मूल्य निर्धारण हुन नसक्दा खसी–बोका खरिदमा ढिलाइ भएको छ । किसान तथा व्यवसायीको सल्लाह अनुसार समितिले मूल्य निर्धारण गरेको हो ।खाद्यले यस वर्ष जिल्लामा चार सय खसी–बोका खरिद गर्न भनेको छ । गत वर्षभन्दा यस वर्ष तीन सय ५६ वटा कम खसी–बोका खरिद गरिने खाद्यले जनाएको छ । गत वर्ष जिल्लाबाट सात सय ५६ वटा खसी–बोका खरिद गरिएको थियो । केन्द्रले चार सय खसी–बोका खरिदका लागि परिपत्र गरेको कार्यालयले जनाएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले विमाको रकम नपाउँदा भुक्तानीमा समस्या

छबि पुरी /राप्ती पोष्ट

घोराही, असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमाको रकम शोधभर्ना रकम थपिँदै गएपछि उपचारमा समस्या भएको जनाएको छ । स्वास्थ्य बीमा बोर्डले १२ करोड १५ लाख रुपैयाँ बढी भुक्तानी नदिएको जनाउँदै उपचार खर्च व्यवस्थापनमा समस्या भएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले जानकारी दिनुभयो ।

आर्थिक अभावका कारण औषधि र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भईरहेको प्रतिष्ठानका उपकुलपति डा. लामिछानेले सोमबार प्रतिष्ठानमा आयोजित जिल्लास्थित सर्वपक्षीय छलफलमा जानकारी गराउनुभएको थियो । बिमा अन्तरगतको उपचार रोक्ने अवस्थामा प्रतिष्ठान पुगेको उहाँको भनाई थियो । ‘बिमा बोर्डले लामो समयसम्म रकम भुक्तानी नगर्दा आर्थिक संकट बढ्दै गएको छ । अब आवश्यक स्वास्थ्य सामग्री किन्ने रकम छैन’ उहाँले भन्नुभयो ‘प्रतिष्ठान हामी सबैको साझा सम्पत्ति हो । प्रतिष्ठान भर्खर बामे सर्दैछ । हामीसँग थप आर्थिक श्रोत पनि छैन । जेनतेन चलेको छ । यो अवस्थामा लामो समयदेखि रकम निकासा नहुँदा सेवा प्रवाहमा समस्या भईरहेको छ ।’

बिमाबाट औषधि मात्रै नभएर ल्याब र अप्रेशन सेवा समेत दिनुपरेकाले खर्च धान्न कठिन भएको प्रतिष्ठानको भनाई छ । ‘३० प्रतिशत बिरामी बिमाका छन् । दैनिक सात सय बिरामीले सेवा लिने गरेकोमा दुई सय बढी बिमा अन्तरगतका हुन्छन्’ उहाँले भन्नुभयो ‘बिमाबाट अप्रेशन, आइसियूलगायत धेरै खर्च हुने उपचार समेत भएका छन् । लामो समय शोधभर्ना नहुँदा उपचार गर्न नसकिने अवस्था आइसक्यो ।’

आर्थिक अभावकै कारण औषधि र स्वास्थ्य सामग्री सप्लायर्सले भुक्तानी पाउन नसकेको उहाँले बताउनुभयो । जसका कारण सप्लायर्सहरुले सामग्री दिन बन्द गर्ने चेतावनी दिइसकेका छन् । ‘मृगौलाको डायलाइसिस जस्ता सामान आपूर्ति बन्द भए के गर्ने ?’ उहाँले भन्नुभयो ‘सामान पाइएन भने कसरी गर्ने ? बिरामीको ज्यान जान सक्छ ।’

सर्वपक्षीय छलफलमा सहभागी रसायन तथा मेडिकल आपूर्ति संघ दाङका अध्यक्ष बालकुमार घर्तीले प्रतिष्ठानले लामो समयदेखि भुक्तानी रोक्दा आफु निकै समस्यामा परेको बताउनुभयो । औषधी, उपकरण खरीदमा गरिएको लगानी आफ्नो हुने तर रकम समयमा नपाउने अवस्थाले व्यवसाय धान्न समेत कठिन भएको उहाँले बताउनुभयो । प्रतिष्ठानले बालकुमारको करीव छ करोड भुक्तानी गर्न बाँकी छ । ठूलो रकम भुक्तानी नहुँदा श्रीमतीको गहना धितो राखेर आफुले कारोबार चलाउन बाध्य भएको उहाँले बताउनुभयो ।

यता, बिमा बोर्डलाई प्रतिष्ठानको समस्या र औषधि सप्लायर्सले दिएको चेतावनीको जानकारीसहित पत्राचार गर्दा पनि रकम भुक्तानीमा गम्भिरता नभएको उपकुलपति लामिछानेले बताउनुभयो । रसायन तथा मेडिकल आपूर्ति संघ दाङ र नेपाल औषधि थोक व्यवसायी संघ दाङले संघमा आबद्ध व्यवसायिक संस्थाहरुले औषधि, ल्याब केमिकल, एक्सरेलगायत स्वास्थ्योपचारमा आवश्यक पर्ने सामग्री आपूर्ती गरेको रकम लामो समयसम्म पनि भुक्तानी नपाएको भन्दै फागुन १३ गते प्रतिष्ठानलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

समयमै रकम भुक्तानी नभए स्वास्थ्य सामग्रीहरु आपूर्ती गर्न नसक्ने चेतावनी दिँदै ज्ञापनपत्र बुझाए पनि हालसम्म केही सुनुवाई नभएको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष घर्तीले बताउनुभयो । ‘साना व्यवसायीहरु स्वास्थ्य सामग्री आपूर्ती गर्न नसक्ने अवस्थामा पुगेका छन् । अब भुक्तानी पाइएन भने आपूर्ति बन्द गर्नुको विकल्प छैन,’ घर्तीले भन्नुभयो ‘उधारोमा सामान किनेर आपूर्ति गर्न सकिँदैन । स्वास्थ्यका दृष्टिले संवेदनशील सामग्री भए पनि व्यवसायी नै डुब्ने अवस्था भएपछि बन्द नगरी नहुने स्थिति आएको हो ।’

१२ करोड १५ लाख ८४ हजार चार सय ६७ रुपैयाँ रकम शोधभर्ना गर्न बाँकी रहेको प्रतिष्ठानले जानकारी दिएको छ । यसैगरी प्रतिष्ठानले १३ करोड ४२ लाख पाँच हजार पाँच सय ७८ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । तर स्वास्थ्य बिमा बोर्ड दाङका संयोजक बसन्त लामिछानेले बिमा बोर्डबाट नियमित पैसा भुक्तानी भईरहेको बताउनुहुन्छ । सो कार्यक्रममा सहभागी उहाँले बिमा बोर्डले रकम नियमित रुपमा निकासा भईरहेको हुँदा भुक्तानी रोकिएको भन्ने विषयमा सत्यता नभएको बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्म छ करोड ८४ लाख ६२ हजार आठ सय ९८ रुपैयाँ ५७ पैसा भुक्तानी भएको छ । यसैगरी, आर्थिक वर्ष २०८१–०८२ भदौ १४ गते प्रतिष्ठानलाई एक करोड ९९ लाख २३ हजार तीन सय दुई रुपैयाँ भुक्तानी भएको छ । अब दशै अघि पनि भुक्तानी रकम आउने उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो । प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सेवा कुनै पनि हालतमा कटौती गर्न नुहने भन्दै बिमाको रकम भुक्तानीका कारण उपचारमा समस्या भएको भए केन्द्रसम्म पुगेर आवश्यक दबाव दिन जिल्लाबाट पहल थाल्नुपर्ने उनीहरुको भनाई थियो ।

प्रतिष्ठानले स्वास्थ्य सेवासँगै शैक्षिक कार्यक्रम संचालन गर्ने वातावरण निर्माण भईरहेको अवस्थामा स्वास्थ्य बिमाको कारण अरु सेवा पनि प्रभावित हुन सक्ने हुँदा सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यकता औँल्याईएको छ । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा एमाले जिल्ला अध्यक्ष शिवकुमार आचार्य, नेकपा माओवादी जिल्ला सचिव विश्वराज आचार्य, जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य, नागरिक समाजका हरिप्रसाद पाण्डेय, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिका पूर्व अध्यक्ष नारायणप्रसाद अधिकारीलगायतले स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन हुन नसक्नुमा सरकारले दीर्घकालीन अध्ययन बिना गर्न खोज्दा समस्या भएको बताउनुभयो । देखा परेको समस्याको निकास खोज्न जिल्लाबाट दबावसहित निकासको वातावरण बनाउन सबै लाग्नुपर्ने उनीहरुको भनाई थियो ।

दाङमा कुल जनसंख्याको ८ दशमलव ७६ प्रतिशत व्यक्ति मात्रै स्वास्थ्य बीमामा आवद्ध भएका छन् । सरकारले देशभरका सबै अस्पतालका लागि तोकेको दररेटको रकम दिने गरेको भए पनि त्यो रकम बर्सेनि भुक्तानी लिन समस्या पर्ने गरेको प्रतिष्ठानको भनाई छ । एक परिवारका लागि तीन हजार पाँच सयको प्रिमियम भुक्तानी गर्दा पाँच जनाका लागि सरकारले एक लाख बराबरको बीमा रकम भुक्तानी दिने गर्दछ । पाँच जनाभन्दा बढी सदस्य रहेको साधरण परिवारको हकमा प्रतिसदस्य थप सात सय योगदान रकम बुझाउनुपर्नेछ र उपचार सुविधामा एक लाखमा २० हजारका दरले थप्दै प्रतिवर्ष अधिकतम दुई लाखसम्मको उपचार सुविधा पाउने प्रावधान छ ।

 

हार्दिक श्रद्धाञ्जली गिरिराज सर

गिरिराज शर्मा

 

सम्पादकिय

दुधे बालक हुँदा आमा गुमाउनुभयो । त्यसको केही बर्षपछि अर्थात सानैमा बावु समेत गुमाउनुभयो । दिदी र भिनाजुको आश्रयमा हुर्कनुभयो । उमेर पुगेपछि आफ्नो परिवारमा रमाउनुभयो । शिक्षाको क्षेत्रमा सेवा गर्नुभयो । साहित्य लेखनमा सक्रिय रहनुभयो । राजनीतिमा निकै चासो दिनुभयो । सक्रिय राजनीतिमा नहोमिएको भएपनि राजनीतिलाई नजिकबाट नियाल्नुभयो । राजनीतिलाई सफा बनाउनुपर्दछ भनेर खवरदारी गरिरहनुभयो । विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहनुभयो । समाज परिवर्तनका लागि लाग्नुभयो । उच्च चेतनाका साथ लेखनीलाई अघि बढाउनुभयो । पढाइका शिलशिलामा दुःख पाउनुभएकै थियो । पछि जागिरका लागि पनि विभिन्न स्थानमा धाउनुभयो । जहाँ रहेपनि इमान्दारिताका साथ आफूलाई उभ्याउनुभयो । आफू जस्तै निश्कलंक, निश्पक्ष र सहयोगी चेलाहरु उत्पादन गर्नुभयो । असल शिक्षकका रुपमा आफ्नो परिचय स्थापित गराउनुभयो । साहित्यमा उच्च योगदान गर्नुभयो । चार छोरी र एक छोरालाई राम्रो शिक्षा दिनुभयो । शिक्षासंगै चेतना प्रदान गर्नुभयो । जहाँ रहेपनि इमान्दारिताका साथ काम गर्नुपर्छ भन्ने प्रेरणा दिनुभयो । कविका रुपमा जनताका कवि बन्नुभयो । पंचायती व्यवस्थाको विरुद्धमा निडर भएर लाग्नुभयो । लोकतन्त्रका लागि नेतृत्व सहित सडकमा आउनुभयो । जुन क्षेत्रमा आफूलाई समर्पण गराउनुभयो त्यहि क्षेत्रमा सफलता प्राप्त गर्नुभयो । आफूभन्दा मातहतका सवैलाई सहयोग गर्नुभयो । उत्प्रेरणा दिनुभयो । राम्रो गर्नका लागि हौसला प्रदान गर्नुभयो । यस्ता व्यक्तित्व घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी गिरिराज शर्मा हामीबीच हुनुहुन्न । यहि २०८१ असोज २ गतेका दिन ८४ बर्षको उमेरमा उहाँको निधन भएको छ । साहित्य र शिक्षाको पुञ्जका रुपमा रहनुभएका बरिष्ठ साहित्यकार शर्माप्रति भावपूर्ण श्रद्धाञ्जली ।
गिरिराज शर्मा दाङ जिल्लाका साहित्यकारहरुमध्य उच्च छवि भएको साहित्यकार हुनुहुन्छ । लेखनीका हिसावले उहाँको सरल प्रस्तुती थियो । साहित्यीक संघ संस्था स्थापना र विकासका लागि उहाँले गर्नुभएको योगदानलाई कसैगरी भूल्न सकिदैन । खासगरी दाङ जिल्लामा राप्ती साहित्य परिषदको स्थापना र विकासका लागि उहाँले ठूलो योगदान गर्नुभएको थियो । पछि उहाँले अध्यक्षका रुपमा नेतृत्व गर्नुभयो । राप्ती साहित्य परिषदको नियमित प्रकाशन अन्तरध्वनी प्रकाशनका लागि सधै खट्नुभयो । यद्दपी उहाँको ध्यान पदमा जाने भन्ने कहिल्यै रहेन । पदमा नरहेर पनि समाजको सेवा गर्न सकिन्छ । विकृतिको विरुद्धमा खवरदारी गर्न सकिन्छ भन्ने उहाँको भावना थियो । गिरिराज शर्माको निधनले जिल्लालाई मात्रै होइन राष्ट्रलाई नै अपूरणिय क्षति भएको छ । हामीकहाँ एउटा भ्रम के छ भने कोही राजधानी काठमाडौंमा बस्यो र त्यहाँ बसेर कुनै साधना ग¥यो भने त्यो उत्कृष्ठ हुन्छ । त्यसको हिसाव किताव हुन्छ । त्यसको चर्चा परिचर्चा हुन्छ । तर जिल्लामा बसेर उत्कृष्ठ योगदान गर्दा पनि त्यो ओझेलमा पर्दछ । त्यो चर्चाको विषय बन्दैन । जिल्लामा बसेर पनि राष्ट्रको साहित्यिक ढुकटीमा योगदान गर्न सकिन्छ भन्ने विशिष्ट उदाहरण बन्नुभएको छ शर्मा । उहाँ चाहेको भए राजधानीमा बसेर साहित्य लेख्न सक्नुहुन्थ्यो । कुनै पद प्रतिष्ठा प्राप्त गर्न सक्नुहुुन्थ्यो । उहाँले सम्मानको लोभ पाल्नु भएन । यो भएन वा त्यो भएन वा कसैले यसो गरिदिए हुन्थ्यो भन्ने आशक्ति राख्नु भएन । एउटा साहित्यकारको इमान्दारिता मापन गर्नका लागि यो भन्दा राम्रो डिग्री अर्को हुन सक्दैन । जुन उहाँले पुष्टि गरेर देखाउनुभयो ।
हाम्रो एउटा बानी नै छ, कि कुनै व्यक्ति जिवित हुँदासम्म त्यसका बारेमा चर्चा परिचर्चा नगर्ने । त्यसलाई वास्ता नगर्ने । उसले गरेको योगदानलाई सम्मान नगर्ने । गिरिराज शर्माको हकमा पनि यो लागु भएको छ । खासगरी उहाँले साहित्यका माध्यमबाट पु¥याएको योगदानको सम्मान हुनुपर्ने जति भएन । उहाँले शिक्षाका माध्यमबाट असल चेला उत्पादन गर्नुभयो । यसबाट के पुष्टि हुन्छ भने समाजका लागि काम लाग्ने जनशक्ति उत्पादन गर्नका लागि शिक्षक नै असल हुनुुपर्छ । जुन उहाँले पुष्टि गर्नुभयो । शिक्षकहरु मध्य राम्रो शिक्षकका उहाँको पहिचान रह्यो । गिरिराज शर्मालाई जिल्लाले पनि चिन्नुपर्ने जति चिनेन भन्ने हो । उहाँले जे कुराको सधै चिन्ता गर्नुभयो त्यो हुन सकेन । उहाँले साहित्यकारहरुको सम्मानका लागि तीन तहका सरकारले भूमिका नखेलेको चिन्ता गर्नुहुन्थ्यो । साहित्यकारहरुको कृति प्रकाशनका लागि राज्यले ध्यान नदिएको गुनासो गर्नुहुन्थ्यो । राम्रो बातावरण हुने हो भने राज्यका लागि काम लाग्ने साहित्य सिर्जना हुन सक्छ भन्ने उहाँको धारणा थियो । उहाँको निधनबाट यस क्षेत्रले अत्यन्त असल व्यक्तित्व गुमाएको छ । नयाँ अर्थात सिकारुलाई अत्यन्त उर्जा प्रदान गर्ने उहाँको शैली सवैका लागि अनुकरणिय थियो । नयाँको लेखनीलाई सुधारको प्रक्रियामा लगेर अव्वल बनाउनका लागि उहाँले निकै ठूलो योगदान गर्नुभएको छ । साहित्यकारको भूमिका संचारको विकासका लागि अवश्यै हुन्छ । राप्ती पोष्ट दैनिकको स्थापना र विकासका लागि आदरणिय गिरिराज शर्माको महत्वपूर्ण योगदान रहेको छ । उहाँले हाम्रा लागि छोडेर जानु भएका कृति र सामाजिक योगदान भूल्न सकिदैन । हजारौं हजार योग्य नागरिक उत्पादन गर्नुभएका अग्रज व्यक्तित्व गिरिराज सरप्रति राप्ती पोष्ट दैनिकका तर्फबाट पनि भावपूर्ण श्रद्धाञ्जली । तपाईको योगदानको हामी उच्च सम्मान गरिरहनेछौं ।

लुम्बिनीका मुख्यमन्त्रीको आह्वान: भ्रमणका लागि स्वदेशी र विदेशी पर्यटकलाई निम्तो

राप्ती पोष्ट

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरुलाइ लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गर्नु भएको छ । दाङकाे घाेराहीमा आयाेजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रमलाइ सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले `लुम्बिनी घुमाैं´ अभियानलाई व्यापक बनाउने उद्घाेष गर्नु भयाे ।

`म सबैमा आह्वान गर्न चाहन्छु, लुम्बिनी प्रदेशकाे एक पटक अवश्य भ्रमण गराैं´उहाँले भन्नुभयाे-`लुम्बिनी प्रदेश पर्यटनकाे केन्द्र हाे । हरेक हिसाबले लुम्बिनी समृद्ध छ । हाम्रो प्रदेश मिनि नेपालकाे रुपमा स्थापित छ । एकपटक लुम्बिनी भ्रमण गर्न सबैमा निमन्त्रणा गर्दछु ।´ लुम्बिनी प्रदेश सरकारले लुम्बिनी पर्यटन सर्किटलाई स्थापित गर्ने बताउनु भयाे ।

लुम्बिनी आएका पर्यटकलाई १२ जिल्लाकाे भ्रमण गराउनेगरी पर्यटन सर्किट बनाउने गरि काम भइरहेको छ´उहाँले भन्नुभयाे-`विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय स्तरमा पनि समन्वय भइरहेको छ ।´ प्राकृति रुपमा लुम्बिनी समृद्ध रहेकाे र यसबाट विकासकाे आधार निर्माण गरिने बताउनु भयाे ।`लुम्बिनी प्रदेश पर्यटक दृष्टिकोणले एक नम्बरमा पर्छ । पर्यटनकाे प्रचुर सम्भावना छ´उहाँले भन्नुभयाे-`विभित्र जातजाति, समुदायकाे कला संस्कृतिले लुम्बिनीकाे पहिचान विश्व समुदायमा पुगेकाे छ ।´ लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाएकाे छ ।

उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद र घाेराही उपमहानगरपालिकाकाे संयुक्त आयाेजनामा ४५ अाैं पर्यटन दिवस घाेराहीमा मनाइएको हाे । पर्यटन, न्याय र शान्ति मुल नारा सहित उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्याैपानेकाे अध्यक्षतामा कार्यक्रम भएको थियाे । कार्यक्रममा घाेराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीले पर्यटनकाे विकास बाट समृद्धी हासिल गर्न सकिने प्रसस्त आधारहरु रहेकाे बताउनु भयाे ।`पर्यटन दिवसले राेजगारीकाे अवसर सृजना गर्छ । स्थानीय उत्पादनकाे बजारीकरण गर्न मद्दत गर्छ । यसले समग्र विकासमा टेवा पुग्छ´उहाँले भन्नुभयाे-`पर्यटन समृद्धिकाे आधार हाे ।

यहाँका नागरिककाे जीविकोपार्जन गर्न अवसरहरु सृजना गर्दछ ।´ थरिथरि झाँकी र रैथाने परिकारकाे उत्सव पर्यटन दिवसलाइ विभिन्न समुदायकाे झाकि, रैथाने परिकार, हस्तकलाका सामाग्री प्रदर्शनीले भब्य बनाइएकाे छ । गणेशपुर तुलसीपुरले गन्धर्व समुदायको मालाश्री सारङ्गि धुन, अवधी संरक्षण प्रतिष्ठान गढवाले अवधी नाच, देउखुरीका थारु समुदायले कठघोरी नाच प्रस्तुत गरेका थिए ।

वारी समुदायकाे लाखे नाच, तुलसीपुर गरगरवाका स्थानीयले नुवागाउँले सोरठी नाच प्रस्तुत गरेका थिए । पाल्पा मिस्दी गाउँपालिकाकाे कोरा नाच, घाेराही-१० काे थारु समुदायकाे वडका नाच, लुकमेली खाम समाजकाे भुम्या नाच, घाेराहीका थारु समुदायले थारु सख्या नाच प्रदर्शन गरेका थिए । यस्तै हातबाट बुनिएका कपडा, माटाेका भाँडा, फलामका सामाग्री प्रदर्शनीमा राखिएको थियाे ।

छोटो समयमै उत्कृष्ठ ‘हातेमालो सहकारी’

राप्ती पोष्ट

दाङ, भदौ । स्थापनाको डेढ दशक मात्रै पुरा गरेको हातेमालो बचत तथा ऋण सहकारी दाङ जिल्लामै उत्कृष्ठ सहकारी बन्न सकेको छ । कारोवारका हिसावले दाङ जिल्लामा दोस्रो ठूलो रहेको यो सहकारी हरेक हिसावले उत्कृष्ठ रहेको जानकारहरुको भनाई छ । दाङ जिल्लामा ५० करोड भन्दा बढीको कारोवार गर्ने औलामा गन्न सकिनेमा हातेमालो बचत तथा ऋण सहकारी पर्दछ ।

दाङ जिल्लामा बढी कारोवार गर्ने संस्थाका रुपमा राप्ती बचत तथा ऋण सहकारी पर्दछ भने त्यसपछि आउँछ हातेमालो बचत तथा ऋण सहकारी । हातेमालो बचत तथा ऋण सहकारी संस्था २०६६ साल असोज ७ गतेका दिन स्थापना भएको थियो । छोटो समयमा हातेमालोले गरेको प्रगति देखेर निकै खुसी लाग्ने गरेको दाङ जिल्लाका सहकारीहरुको छाता संस्था दाङ जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतम बताउनहुन्छ । ‘दाङ जिल्लामा सयौं सहकारी छन् तर हातेमालोले उत्कृष्ठ रुपमा आफूलाई संचालनमा ल्याएको छ ।’ उहाँले भन्नुभयो ।

सहकारीमा संकट आइरहेको समयमा हातेमालोले निकै राम्रो तरिकाले आफूलाई संचालन गरिरहेको भन्दै उहाँले राम्रो सहकारीको प्रचार गर्न सक्ने हो सहकारीका बारेमा फैलिरहेको भ्रम चिरिने बताउनुभयो । सहकारी कस्तो हुनुपर्छ भनेर नमूनाका रुपमा भन्नका लागि हातेमालो रहेको भन्दै गौतमले खराव ऋणिको संख्या नगन्य रुपमा रहेको, बोनस राम्रो तरिकाले बाँड्ने गरेको जस्ता कारणले हातेमालो बचत तथा ऋण सहकारी दाङ जिल्लामै उत्कृष्ठ रहेको उहाँले बताउनुभयो ।

दाङ जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विमल अधिकारीले यतिवेला नेपालमा राम्रो गरेका कतिपय सहकारीमाथि आक्रमण भइरहेको बताउनुहुन्छ । राम्रा सहकारीमाथि आक्रमण भइरहेकाले हातेमालो जस्ता सहकारीले आफूलाई निकै चनाखो भएर संचालनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले हातेमालो बचत तथा ऋण सहकारी संस्थाले गरेको राम्रो कामका कारणले गर्दा सहकारीप्रतिको विश्वास बढ्ने अवस्था रहेको बताउनुभयो ।
घोराही उपमहानगरपालिकाका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख प्रेम केसी घोराहीमा रहेका दुई सय तीनवटा सहकारीमध्य हातेमालो बचत तथा ऋण सहकारीले निकै राम्रो काम गरिरहेको बताउनुहुन्छ । केही बर्ष यता हातेमालोले आफ्ना सेयर सदस्यहरुलाई १८ प्रतिशत लाभांस वितरण गर्ने गरेको छ । ‘आफ्ना सेयर सदस्यहरुलाई १८ प्रतिशत रकम दिने कुरा सामान्य होइन ।’ केसीले भन्नुभयो । उहाँले भन्नुभयो, ‘दुई सय तीन मध्य यो उत्कृष्ठ सहकारी हो ।’

सहकारीमा सवैभन्दा राम्रो पक्ष भनेको भाका नाघेको ऋण कम हुनु रहेको केसीको भनाई छ । उहाँले हातेमालोसंग खराव कर्जा नगन्य मात्रामा रहेकाले उत्कृष्ठ हुन सकेको बताउनुभयो । नगरपालिका घोराहीमा रहेका सवै सहकारीसंग समन्वय र सहकार्य गर्न तयार रहेको धारणा सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख केसीको छ ।

हातेमालो बचत तथा ऋण सहकारी संस्थाका सचिव केशव दिपक न्यौपानेका अनुसार हातेमालोसंग दुई हजार छ सय २७ जना सदस्यहरु रहेका छन् । जसमा एक हजार पाँच सय ४२ महिला र एक हजार ८५ जना पुरुष सदस्यहरु रहेका छन् । ‘सहज पहुँच सहितको दिगो सहकारी संस्था’ को परिकल्पना राखेको संस्थाले ‘सुरक्षित भविश्यका लागि नियमित बचत र उद्यमशिलताका लागि सहज ऋणका माध्यमबाट आम सदस्यहरुको समृद्ध र सुखी जीवन निर्माणमा सहयोगी बन्ने’ ध्येय राखेको सचिव न्यौपाने बताउनुहुन्छ । सेयर सदस्यहरुको संख्या पछिल्लो बर्ष केही कम भएको भन्दै उहाँले रु १०० को एक कित्ता सेयरलाई दश कि त्ता बनाउका लागि अनुरोध गर्दा समेत सम्पर्कमा नरहेका सदस्यलाई भुक्तानी दिनुपर्ने भनेर हिसावमा राखेर हटाएको छ ।

घोेराहीमा राम्रो सहकारीका रुपमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थालाई घोराही उपमहानगरपालिकाले गएको बर्ष स्थापना दिवसमा सम्मान समेत गरेको थियो । संस्थाले विभिन्न रचनात्मक कार्यक्रम गर्र्दै आएको छ । सोही क्रममा शनिबार आयोजना गरिएको १५ औं साधारण सभामा जेष्ठ नागरिक, उत्कृष्ठ बचतकर्ता, उत्कृष्ठ ऋणि र उत्कृष्ठ विद्यार्थीलार्य सम्मान गरिएको थियो । जेष्ठ नागरिकहरु भुपेन्द्र सुवेदी र कमला गौतमलाई संस्थाले नगद सहित सम्मान गरेको थियो । यसैगरी उत्कृष्ठ बचतकर्ताका रुपमा पवित्रा कालाथोकी र ओम प्रकाश धिताललाई सम्मान गरेको थियो । यस्तै उत्कृष्ठ ऋणिका रुपमा इन्द्रबहादुर योगी र मनभुज बुढालाई सम्मान गरिएको थियो । उत्कृष्ठ विद्यार्थीका रुपमा कक्षा १२ पास गरेका सेयर सदस्य हरिप्रसाद रिजालका छोरा असीम रिजाल र ओमप्रकाश विष्टकी छोरी बर्षा विष्टलाई नगद सहित सम्मान गरिएको थियो ।

हरेक बर्ष रचनात्मक कामलाई प्राथमिकता दिंदै आएको हातेमालोले सुत्केरी भेटघाट तथा शिशुको मुख हेर्ने कार्यक्रम गर्दै आएको छ । जसमा नवजात शिशुको खुत्रुके बचतलाई प्राथमिकता दिने गरिएको छ । संस्थाका अध्यक्ष भगवती शर्माले आफूहरुले ल्याएको सुत्केरी भेटघाट तथा शिशुको मुख हेर्ने कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुहुन्छ । उहाँका अनुसार संस्थाले हरेक बर्ष तिज विशेष कार्यक्र गरेर महिला दिदी बहिनीहरुको जमघट गराउने गरेको छ । यस्तै समवेदना राहत कार्यक्रम, जेष्ठ नागरिक सम्मान कार्यक्रम, मानविय तथा रचनात्मक सहयोग, उत्कृष्ठ बचतकर्ता तथा रचनात्मक सहयोग, संस्थाका सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखी विषय विज्ञ डाक्टरको सहयोगमा स्वास्थ्य सम्वन्धी सचेतना कार्यक्रम संचालन भइरहेको छ । पुराना कार्यक्रमलाई निरन्तरता दिंदै यस बर्ष महिला सदस्यहरुलाई उद्दमशिलता तालिम संचालन गर्ने लगायत कार्यक्रम तय गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।

गएको आर्थिक बर्षमा बचत संकलन तर्फ ८५ प्रतिशत प्रगति गरेको संस्थाका कोषाध्यक्ष रामचन्द्र कार्कीको भनाई छ । उहाँका अनुसार एक अर्व ३२ करोड रुपैया बचत संकलन गर्ने लक्ष्य राखिएको ८५ प्रतिशत प्रगति हुँदा एक अर्व १३ करोड रुपैया संकलन भएको थियो । यस्तै एक अर्व आठ करोड एक लाख १० हजार बचत भुक्तानी गरिएको थियो । यसैगरी संस्थाले अघिल्लो आर्थिक बर्षमा ५२ करोड भन्दा बढी ऋण प्रवाह गरेको थियो । संस्थाले अघिल्लो आर्थिक बर्षमा ५२ लाख भन्दा बढी ऋण प्रवाह गरेकोमा ९५ प्रतिशत प्रगति हासिल हुँदा ५० करोड भन्दा बढी रकम असुल समेत गरिएको थियो । कोषाध्यक्ष कार्कीका अनुसार संसथले दुई करोड ५४ लाख सात हजार रुपैया नाफा गरेको थियो । संस्थाले २६ करोड भन्दा बढी नाफा गर्ने लक्ष्य राखेको थियो ।

५१ जना सेयर सदस्य र २५ लाख ५० हजारबाट १५ बर्ष अघि सुरु भएको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले दुई स्थानमा घडेरी समेत जोडिसकेको छ । आफ्नै घडेरीमा संस्थाको घर निर्माणको प्रक्रिया अघि बढेको संस्थाका व्यवस्थापक राजकुमार श्रेष्ठ बताउनुहुन्छ । उहाँले सहकारीमा संचालक र कर्मचारीको मेहनतले नै सहकारी छोटो समयमा उत्कृष्ठ सहकारीका रुपमा रहेको बताउनुभयो । संस्थासंग गएको आर्थिक बर्षको अन्त्यमा ३१ लाख ९० हजार मात्रै भाखा नाघेको ऋण थियो भने भाखा नाघेको व्याज तीन लाख ७८ हजार ८२ रुपैया मात्रै रहेको थियो । सहकारीका तर्फबाट भाखा नाघेको ऋणका लागि सावा ३१ लाख ९० हजारको ३५ प्रतिशत ले ११ लाख १६ हजार पाँच सय थप ऋण जोखिम व्यवस्था गरिएको छ ।

हातेमालोका लेखा परिक्षक सि.ए दिपक बहादुर सेटीका अनुसार संस्थाले हिसाव किताव अत्यन्त व्यवस्थित रुपमा राख्ने गरेको छ । यस्तै वासलात, नाफा, नोक्सान हिसाव, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तन सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ अनुसार तयार पार्ने गरिएको सेटीको भनाई छ । संस्थाले आफ्नो श्रेस्ता तथा हिसाव किताव, प्रचलित कानुन तथा प्रचलन बमोजिम राखेको पनि सिए सेटीको भनाई छ ।

मुलुकमा यतिवेला सहकारीका नाममा अनेकन तरङ्ग उत्पन्न भइरहेको छ । सहकारीका नाममा तरङ्ग पैदा भइरहेको भएपनि सवै सहकारीलाई एउटै नजरले हेर्न नहुने धारणा नेपाल केन्द्रिय बचत तथा ऋण सहकारी संघका फिल्ड प्रमुख विष्णुदत्त जोशीको छ । सदस्यहरुको सक्रियताले नै सहकारी मजवुत र बलियो हुने भन्दै जोशीले हातेमालो बचत तथा ऋण सहकारी संस्थाले सदस्यको भावना अनुसार काम गरिरहेको आफूले पाएको बताउनुभयो ।

सोही क्रममा शनिबार घोराहीमा आयोजना गरिएको हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभामा शुभकामना दिनेहरुले सहकारीमा संकट आएकाले जागरुक भएर काम गर्न सुझाव दिएका थिए । सहकारीमाथि भइरहेका अनेकन आक्रमणबाट बच्न बक्ताहरुको सुुझाव थियो । सोही क्रममा राप्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरतबहादुर बुढाथोकी, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपाने लगायतले बोल्नुभएको थियो । कार्यक्रममा ऋषिराम रिजालले स्वागत र संचालन सचिव केशव दिपक न्यौपानेले गर्नुभएको थियो ।

यसैबीच रिक्त सदस्यमा सेयर सदस्य देवा सुवेदीलाई चयन गरिएको छ । निर्वाचन समितिका संयोजक गणेशप्रसाद पौडेलका अनुसार गत बर्ष कार्यसमितिका सदस्य पुष्पा भुषालको निधन भएपछि रिक्त रहेको सदस्य पदमा सुवेदीलाई चयन गरिएको हो । सहकारीमा चार बर्षमा नयाँ नेतृत्व चयन हुने गरेको र रिक्त सदस्य वा पदाधिकारीको चयन साधारण सभाबाट गरिदै आएको छ ।

नेपाल प्रथम उत्सवलाई भव्य सम्मान

राप्ती पोष्ट

घोराही, भदौ । कक्षा १२ को नतिजामा नेपालमै उत्कृष्ठ नतिजा ल्याउन सफल गोरखा माविका विद्यार्थी उत्सव घिमिरेलाई मंगलबार घोराहीमा भव्य समारोहका बीच सम्मान गरिएको छ ।

गत महिना सार्वजनिक भएको नतिजामा घोराहीमा रहेको गोरखा माविमा अध्ययन गरेका घिमिरले ३.९६ जिपिए ल्याउनुभएको थियो । गोरखा गु्रपका अध्यक्ष एवं संस्थापक विष्णु प्रसाद घर्तीको अध्यक्षतमा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका उप प्रमुख हुमाकुमारी डिसीले घिमिरेलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उप प्रमुख डिसीले घिमिरले ल्याएको नतिजाले दाङ जिल्लामा पनि राम्रो शिक्षा प्रदान भइरहेको प्रमाणित भएको बताउनुभयो । उहाँले दाङ जिल्लामा अध्ययन गरेको विद्यार्थी देशमै उत्कृष्ठ हुनु दाङबासीका लागि पनि गौरवको विषय भएको बताउनुभयो । उहाँले अहिलेको पुस्तासंग धेरै ठूलो अपेक्षा रहेको भन्दै देशमै बसेर केही गर्ने सोचको विकास गर्ने गरी शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका बक्ताहरुले घिमिरेले ल्याएको नतिजाका आधारमा १२ कक्षासम्मको शिक्षा लिनका लागि पनि जिल्ला बाहिर जानुपर्छ भन्ने भ्रम तोडिएको बताएका थिए । पूर्व लाहुरेहरुले स्थापना गरेको गोरखा गु्रपले शिक्षाको क्षेत्रमा गरेको कार्यको बक्ताहरुले प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमले बन्दुक बोक्ने लाहुरेहरुले खोलेको विद्यालय कसरी चल्ला भनेर धेरैले आशंका गरेको विगत विर्सदै अहिले उत्कृष्ठ नतिजा ल्याएर सवैलाई गतिलो जवाफ दिएको बताउनुभयो । उहाँले शिक्षाको क्षेत्रमा लगानी गरेर उत्कृष्ठ नतिजा दिने विद्यालयलाई राज्यका तर्फबाट पनि सम्मान हुुनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले नेपालमा बसेर पनि राम्रो शिक्षा हासिल गर्न सकिन्छ भन्ने उदाहरण उत्सव बनेको बताउनुभयो । उहाँले नयाँ पुस्ताका लागि उत्सव नायक बनेको चर्चा गर्नुभयो ।
कार्यक्रममा बोल्दै उत्सव घिमिरेले उत्कृष्ठ नतिजा निकाल्नका लागि गर्नुपर्ने मेहनतका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा गोरखा माविमा कक्षा ११ र १२ मा अध्ययन गरिरहेका विद्यार्थीहरुको सहभागिता थियो । विद्यार्थीहरुलाई राम्रो नतिजा निकाल्ने टिप्स दिंदै निरन्तर मेहनत गर्ने, अभिभावकले भनेको मान्ने, नवुझेको कुरा सोध्ने गरियो भने उत्कृष्ठ हुन सक्ने बताउनुभयो ।

विद्यालयका प्राचार्य मानसिं जि. एमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्याब्सन दाङ जिल्ला अध्यक्ष मधुसुधन के.सी., घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष भानसिं बुढा, घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख नारायण पौडेल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रथम हुने घिमिरेलाई टीका, माला र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । यसैगरए उहाँका अभिभावक बुवा उत्तमराज घिमिरे र आमा हिन्दु घिमिरेलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक एच. एन. पाण्डेयले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तुती राखेका थिए ।

आउने वर्ष घोराहीमा बबईको पानी आईसक्ने

छवि पुरी/राप्ती पोष्ट

घोराही, भदौ । घोराही बजार क्षेत्रमा नागरिकलाई दीर्घकालसम्म सहज रुपमा खानेपानीको व्यवस्था गर्न शुरु गरिएको बबई लिफ्टिङ आयोजनाको काम जारी छ । आउँदो आर्थिक वर्षको यो समयसम्ममा घोराहीमा उक्त आयोजनमार्फत घोराहीबासीलाई सहजै खानेपानी आपूर्ति गर्ने गरी काम भईरहेको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले जनाएको छ ।

सो आयोजना अन्तरगतको काम करिव ७४ प्रतिशत सकिएको शुक्रबार संस्थाले जनाएको छ । यही गतिमा काम भएमा आगामी २०८२ असारसम्म बबई लिफ्टिङको खानेपानी घोराही ल्याउन सकिने संस्थाका अध्यक्ष देवीबहादुर डिसीले जानकारी दिनुभयो । खानेपानीको आयोजनाको निर्माणको काम ठेक्का सम्झौता अनुसार दु्रत गतिमा भइरहेको हुँदा निर्माणको क्रममा बजेट अभाव नभए आउने बैशाख–जेठ महिनासम्म घोराहीमा पानी आउने अवस्था रहेको उहाँको भनाई छ ।

आगामी असारसम्मका काम हुने गरी २०७९ असार २९ मा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार करिव दुई वर्षको अवधिमा भौतिक प्रगति ७४ प्रतिशत र वित्तिय प्रगति ७४ दशमलव ४५ प्रतिशत सकिएको शुक्रबार आयोजनाको कामको प्रगति र अवस्थाका बारेमा संस्थाका पदाधिकारीसहित सरोकारवालाहरुको संयुक्त अनुगमन, निरिक्षणका क्रममा संस्थाका कोषाध्यक्ष ध्रुव केसीले जानकारी दिनुभयो ।

बबई लिफ्टिङ अन्तरगतका घोराही ७ शुक्रवारमा निर्माण गरिएका ३ वटा ठूला डीप बोरिङ, २ वटा सम्वेल गरी पाँच वटा बोरिङबाट पानी निकालेर विभिन्न ठाउँमा लिफ्टिङ गरेर घोराहीमा खानेपानी ल्याउन पूर्वाधार निर्माणको काम भईरहेको छ । अहिले शुक्रवारमा ६ लाख लिटरको विशाल आरबीटी टंकी, पानी प्रशोधनका लागि ३ वटा फरक–फरक चेम्बर, रावतगाउँ नजिकै ३ लाख लिटरको आरबिटी टंकी, झिगौरामा ४ लाख लिटरको ओभरहेड टंकी, ३ लाख लिटरको आरबीटीको काम भईरहेको छ । यसैगरी, पानी वितरणमा सहजताका लागि मनकामना सामुदायिक वन छेउमा ३ लाख लिटरको आरबीटी टंकी निर्माण गरिने भएको संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठले बताउनुभयो ।

बबई लिफ्टिङ आयोजनाको निर्माणको काम भीमेश्वर ड्रिलिङ तथा निर्माण कम्पनीले ४९ करोड ८५ लाख ४९ हजार ६ सय ७५ रुपैयाँमा काम गरिरहेको संस्थाका सचिव श्रेष्ठले जानकारी दिनुभयो । निर्माणको क्रममा कुनै समस्या नभए सम्झौता अघि नै काम सक्ने गरी पूर्वाधार निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । बबईको पानी घोराहीमा ल्याएर उपभोक्तासम्म वितरणका लागि शुक्रवारदेखि झिँगौरासम्म ट्रान्समिसन पाइपलाइन बिछ्याउने र पानी संकलनका लागि टंकी निर्माणको काम अन्तिम चरणमा पुगेको भीमेश्वर ड्रिलिङ तथा निर्माण कम्पनीका प्राविधिक विष्णु कुमाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार घोराही उपमहानगरपालिका ७ को शुक्रवारमा रहेको पहिलो पानी ट्रिटमेन्ट प्लान्टसहित बालुवा छान्ने ¥यापिड स्याण्ड फिल्टर, ६ सय घनमिटरको पानी संकलन गर्ने आरबीटी टंकी निर्माण गरिएको छ । यसैगरी घोराही ७ बेसाहीमा ३ लाख लिटरको पानी संकलन गर्ने आरबीटी टंकी, घोराही १४ झिँगौरामा तीन लाख र दुई लाख लिटरका दुई वटा आरबीटी टंकी तथा चार सय ५० लिटरको ओभरहेड टंकी निर्माणको लगभग काम सकिएको छ । घोराही ७ शुक्रबारमा ४ वटा डिप बोरिङ खन्ने काम सकिएको छ भने यो वर्ष थप एउटा खन्ने तयारी गरिएको छ ।

आयोजनाको काम अनुसार, एक सय ३० देखि ३५ लिटर प्रतिसेकेन्ड अर्थात करिव एक करोड लिटर दैनिक पानी उत्पादन हुनेछ । यसबाट घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सहरी क्षेत्रमा २० हजार बढी उपभोक्तालाई सहजै खानेपानी वितरण सक्नेछ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गौरवको आयोजनाका रुपमा बबई लिफ्टिङ सहलगानी आयोजना पूरा भए आगामी ३०–४० वर्षसम्म २४ सै घण्टा उपभोक्तामाझ सहज पुर्याउन सकिने दावी गरेको छ ।

अहिले ८ हजार ५ सय बढी उपभोक्तालाई सार्वजनिक र निजी धाराबाट पानी वितरण गर्दै आएको घोराही खानेपानी संस्थाले दीर्घकालिन रुपमा आउन सक्ने समस्यालाई मध्यनजर गरेर बबई लिफ्टिङ आयोजनालाई अघि बढाएको जनाएको छ । पानी उत्पादन केन्द्रदेखि संकलन केन्द्रसम्मको काम करिब सकिन लागेको भएपनि उपभोक्ताका लागि वितरण गरिने पाईन लाईनको काम भईरहेको छ । घोराहीको १४, १५, १६, १७, १८ का वडाहरुमा खानेपानी वितरण गर्दै आएको संसथाले बबई लिफ्टिङमार्फत ल्याउन थालिएको पानी वितरणको कामलाई दीर्घकालीन रुपमा सुचारु गर्न सकिने गरी व्यवस्थापन गरिरहेको संस्थाका अध्यक्ष डिसीले बताउनुभयो ।

उपभोक्ताको घरसम्म पानी लैजान वडा नम्वर १४ भित्र ७ किलोमिटर र वडा नम्वर १५ भित्र २१ किलोमिटर पाईपलाईनको काम हुनेछ । अनुगमन, निरिक्षण अघि संस्थामा आयोजित समिक्षामा सहभागी सरोकारवालाहरुले आयोजनाको काम प्रभावकारी बनाउन र सहज खानेपानी वितरणको काममा ध्यान दिन आग्रह गरेका थिए । संस्थाका अध्यक्ष डिसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा बैठक गरिएको थियो । जसमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाका जनप्रतिनिधि, संस्थाका सल्लाहकारलगायतको उपस्थिती रहेको थियो ।