राप्ती पोष्ट
तुलसीपुर, असोज । दाङमा खसी–बोका खरिदका लागि मूल्य निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि खरिद गरेर काठमाडौं पठाउनका लागि जिल्लामा खसी–बोकाको मूल्य निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आइतवार बसेको समितिको बैठकले खसी–बोकाको मूल्य निर्धारण गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारका अनुसार खसीको मूल्य वृद्धि गरिएको छ भने बोकाको मूल्य घटाइएको छ । यस वर्ष जिउँदो खसीको मूल्यमा प्रतिकेजी पाँच सय ६० रुपैयाँ र बोकाको मूल्य जिउँदो प्रतिकेजी पाँच सय ४० निर्धारण गरिएको छ । सम्रगमा गत वर्षको तुलनामा जिल्लामा खसीको मूल्यमा प्रतिकेजी पाँच रुपैयाँ वृद्धि भएको छ भने बोकाको मूल्यमा दुई रुपैयाँले घटेको छ ।
अघिल्लो वर्ष जिल्लामा केजी अनुसार मूल्य निर्धाण गरिएको थियो । यस वर्ष खसी २० देखि ४० केजीसम्म र बोका १८ देखि ३० केजीसम्मका मात्र खरिद गरिने प्रमुख सुनारको भनाइ छ । सेतो रँङको खसी भने खाद्यले खरिद गर्ने छैन । अघिल्लो वर्ष जिउँदो खसी २५ केजीभन्दा माथिको प्रतिकेजी पाँच सय ६२ रुपैयाँ प्रतिकेजी तोकिएको थियो । यसैगरी २० देखि २५ केजीसम्मको खसीको मूल्य प्रतिकेजी पाँच सय ४५ रुपैयाँ निर्धारण गरिएको थियो । १८ केजीभन्दा माथिको बोकाको मूल्य प्रतिकेजी पाँच सय ४२ रुपैया निर्धारण गरेर खरिद गरिएको थियो ।
मूल्य निर्धारणसँगै खसी, बोका खरिद गर्न सुरु गरिने प्रमुख सुनारले बताउनुभयो । खाद्यले असोज १७ गतेदेखि जिल्लामा खसी–बोका खरिद सुरु गर्ने जनाएको छ । खाद्यका अनुसार मूल्य निर्धारण हुन नसक्दा खसी–बोका खरिदमा ढिलाइ भएको छ । किसान तथा व्यवसायीको सल्लाह अनुसार समितिले मूल्य निर्धारण गरेको हो ।खाद्यले यस वर्ष जिल्लामा चार सय खसी–बोका खरिद गर्न भनेको छ । गत वर्षभन्दा यस वर्ष तीन सय ५६ वटा कम खसी–बोका खरिद गरिने खाद्यले जनाएको छ । गत वर्ष जिल्लाबाट सात सय ५६ वटा खसी–बोका खरिद गरिएको थियो । केन्द्रले चार सय खसी–बोका खरिदका लागि परिपत्र गरेको कार्यालयले जनाएको छ ।