राप्ती पोष्ट
घोराही, असोज । स्थानीय सरकारसँग समन्वय नै नगरी खोलामा तटबन्धको काम गर्दा नीजि जग्गामा खोला पसेको भन्दै न्यायका लागि घोराहीका केही स्थानीयहरु अदालत पुगेका छन् । खोलालाई लिएर दुई गाउँबीच विवाद भएको र स्थानीय तहले समेत सुल्झाउन नसकेपछि मुद्दा अदालतसम्म पुगेको छ ।
घोराही उपमहानगरपालिका १० मा पर्ने दक्षिण अम्राइको गुर्जे खोला किनारको आफ्नो जग्गामा खोला पसेको भन्दै जिल्ला अदालत दाङमा मुद्दा दायर भएको छ । घोराही–१५ का ७४ वर्षीय चन्द्रराम चौधरी, ५८ वर्षीय विनोदकुमार रावत, ५० वर्षीय कलवीर चौधरीलगायतले पानी निकास अवरोध हटाई पाउँ भन्दै अदालतमा मुद्दा दायर गर्नुभएको छ ।
जहाँ खोला छ, त्यहीँ बगोस् । नक्साभन्दा पश्चिमतिरबाट खोला बग्न थालेपछि हाम्रो जग्गा निजी खाइदिएको छ । त्यो जग्ग्गामा तटबन्ध गरी संरक्षण गरिपाऊँ भन्दै मुद्दा दायर भएको छ । अर्को गाउँका गाउँलेले खोलामा तटबन्ध गरी नक्सा अनुसार बगाउन नदिएको पनि उनीहरूको आरोप छ । घोराही १० का विनोद कुमारले अहिले बगरमा परिणत भएको अधिकांश जग्गा आफूहरूको भएको बताउनुभयो । २०४६ सालपछि खोलो पश्चिमतर्फ ढल्किएपछि आफूहरूको निजी जग्गा बगर बन्ने क्रम सुरू भएको उहाँको भनाइ छ ।
बिस्तारै निजी जग्गामा खोला हिँड्न थालेपछि अहिले समस्या भएको उहाँ बताउनुहुन्छ । दुई गाउँको सिमाना छुट्याएर ऐलानी जग्गामा लगाइएका रूखहरू काट्ने हो र त्यही ठाउँबाट दुई खोलाको पानी बग्ने वातावरण बनाउने हो भने व्यक्तिगत जग्गा जोगिने उहाँको भनाई छ । ५० वर्षीय कलवीर चौधरीको यही खोलामा ४ कठ्ठा जति जग्गा छ । २०५२ सालतिर उहाँले रैकर गराउनुभएको हो । पहिला यो मोहीको जग्गा थियो । त्यसयता आफूले मालपोत तिर्दै आए पनि एक बोट धान लगाउन नपाएको कलबीरले बताउनुभयो । नक्सामा खोला जुन ठाउँमा छ, त्यहीँ ठाउँमा तटबन्ध गरी खोला हिँडाउन राज्यले पहल गर्नुपर्ने उहाँको माग छ ।
उनीहरूको यस्तो माग खोलाको अर्कोपट्टि पर्ने गाउँका बासिन्दाले नमानेपछि यो विवाद पहिला महानगरपालिकाको न्यायीक समितिमा पुगेर पटक पटक छलफल पनि भयो । गुर्जे र सेवार खोलाले कटान गरेको आफ्नो जग्गा तटबन्ध गरी नक्सा बमोजिमको खोलालाई साबिक स्थितिमै लैजान पाउनुपर्ने मागसहित उनीहरुले घोराही उपमहानगरपालिकाको न्यायीक समितिमा निवेदन दिएका थिए ।
समस्याको समाधान निकालिदिन माग गर्दै घोराही ७ बेसाहीका प्रकाश चौधरी, बुद्धिप्रकाश चौधरी र शान्ता चौधरीलगायतले गत वैशाख १६ गते न्यायीक समितिमा निवेदन दिनुभएको थियो । न्यायीक समितिले यथार्थ बस्तुस्थिती बुझ्न स्थलगत अनुगमन निरिक्षण पनि गरेको थियो ।
खोलालाई पहिलेकै स्थितिमा फर्काउन नदिने पक्षमा उभिएका बेसाहीका गाउँलेले भने वर्षौं पहिले खोलाले बाटो फेरेपछि आफूहरूले वृक्षारोपण गरेको जग्गामा अहिले ठूल्ठूला रूख भइसकेको छ । उनीहरूले खोला जहाँबाट बग्छ त्यही जग्गा खोलाको हो भन्ने तर्क गर्दै आएका छन् । खोलाको जग्गाबारे गाउँमै विवाद भएपछि न्यायिक समितिले दुवै पक्ष राखेर कुरा गराएको थियो । न्यायीक समिति संयोजक हुमा डिसी आफै पनि स्थलगत अवलोकनमा धेरै पटक जानुभएको थियो ।
दुबै गाउँका मानिसहरू छलफलमा बसे पनि आ–आफ्नो अडान नछाड्ने भएपछि न्यायीक समितिले उजुरीकर्तालाई अदालत जान बाटो देखाएको हो । त्यसपछि चन्द्रराम चौधरीलगायत अदालत पुग्नुभएको हो । न्यायीक समिति संयोजक डिसीका अनुसार खोलामा निजी जग्गा छ भन्ने चन्द्रराम चौधरीहरूले चुरे संरक्षण कोषबाट झन्डै ४० लाख रुपैयाँ लिएर गुर्जे खोलाको पश्चिम किनारमा तटबन्ध गरेका छन् ।
तटबन्ध गर्दा उनीहरुले खोलाको धार फेरिने गरी काम गरेपछि समस्या देखिएको हो । तटबन्धकाको काम सम्पन्न भईसक्दा पनि उनीहरूले स्थानीय सरकारसँग समन्वय नगरेको उपप्रमुख डिसीले बताउनुभयो । उनीहरूले बाँध बाँधेर गुर्जे र सेवार मिल्ने दोभानसम्म लगेर खोला वनमा हाल्दिन खोजेको तथ्य स्पष्ट देखिन्छ । वन र खोला अतिक्रमण गर्न हुँदैन भन्ने आम मान्यतालाई दुवै पक्षले ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।
बेसाहीकी शान्ता चौधरी पनि यो खोलालाई अम्राई गाउँलेले भने जस्तो तटबन्ध गर्न नहुने बताउनुहुन्छ । सोही खोलामा रहेको जनजागृति सामुदायिक वनकी अध्यक्षसमेत रहनुभएकी शान्ताले श्रेस्तावाल जग्गा भएकाहरूले गुर्जे खोलाको पश्चिममा गर्नुपर्ने तटबन्ध आफूखुसी ५० मिटर पूर्वमा गरिदिँदा समस्या भएको बताउनुभयो । खोलाको धार परिवर्तन हुने गरी वनको बीच भागमा खोला पसाल्न खोजेपछि आफूहरूले विरोध गरेको बताउनुभयो ।
गुर्जे र सेवार खोला पश्चिमका जग्गाधनीमध्ये चन्द्रमानले प्रदेश सरकारको बजेटले ४० लाखमा दुई सय मिटर तटबन्ध भएको बताउनुभयो । तटबन्धदेखि दक्षिणमा आठ बिघा जति निजी जग्गा छ । तटबन्ध गरेको र खोला हिँडेको जग्गा भने २० बिघा छ । त्यही निजी जग्गा जोगाउन गत वर्ष आफूहरूले तटबन्धको काम गरेको चन्द्रमानले बताउनुभयो । त्यसका लागि प्रदेश सरकारबाट बजेट माग गरि विनियोजन भइसके पनि स्थानीयको विरोधका कारण तटबन्ध निर्माणको काम भने हुन नसकेको बताईएको छ ।