spot_img
spot_img

लकडाउनको सार्थकता

सम्पादकीय

देशभर अधिकांश जिल्लाहरुमा लकडाउन गरिएको छ । दाङ जिल्लामा बैशाखको १७ गतेदेखि लकडाउन गरिएको हो । कोरोना विरुद्धको लडाइलाई सफल बनाउनका लागि लकडाउन गरिएको हो । गत बर्ष पनि यसैगरी लकडाउन गरिएको थियो । गत बर्ष राष्ट्रिय रुपमा अर्थात सरकारले देशव्यापी रुपमा एकैपटक लकडाउन गरेको थियो । यस बर्ष सरकारले भन्दा पनि जिल्लागत रुपमा लकडाउन गर्ने, स्थान विशेषमा लकडाउन गर्ने काम भएको छ । जहाँ बढी समस्या देखिन्छ त्यहाँ लकडाउन गर्ने र कोरोनाको बढ्दो संक्रमणलाई तोड्ने प्रयास गरिएको छ । दाङ जिल्लामा विद्यालयहरु त बैशाखको पहिलो साताबाटै बन्द भएका हुन । देशका २४ वटा शहरमा बढी जोखिम देखिएको भन्दै विद्यालय बन्द गरिएको थियो । यसपछि कतिपय जिल्लामा लकडाउन गरियो । जहाँ बढी समस्या देखियो त्यहाँ लकडाउन गरियो । जस्तो काठमाडौंमा भन्दा पहिले बाँकेमा लकडाउन गरिएको थियो । यस्तै अन्य जिल्लामा पनि लकडाउन भएका छन् । दाङ जिल्लामा शैक्षिक संस्थाहरु बन्द भएको करिव एक सातापछि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको छ । यो लकडाउन विगतको जस्तै भएको छ तर विगतको तुलनामा यस बर्ष कोरोनाको कहर व्यापक बनेको छ । गत बर्ष भारतबाट आएकाहरुमा कोरोनाको संक्रमण धेरै देखिएको थियो यस बर्ष देशभित्रै संक्रमण भित्र भित्रै फैलिएको छ । यसकारणले के भन्न सकिन्छ भने यसपटक अघिल्लो पटकको भन्दा बढी खतरा छ सचेत हुनुपर्ने अवस्था आएको छ ।

लकडाउनको समयमा घरबाट ननिस्कने, घर भित्र बस्दा पनि सरसफाईलाई ध्यान दिने, जमघट नगर्ने गर्नुपर्छ । स्थानीय प्रशासनले लकडाउनको समयमा के गर्ने, के नगर्ने भनेर स्पष्ट रुपमा भनेको छ । जिल्ला प्रशासनले गरेको आग्रहलाई सवैले पालना गर्नुपर्छ । लकडाउन कस्तो रहेछ ? लकडाउनमा प्रहरीले के गर्दो रहेछ भन्दै घरबाट बाहिर निस्कने गरियो भने कारवाहीको दायरामा परिन्छ । यस पटक अवस्था पहिलेको तुलनामा जटिल रहेकाले बढी सचेत हुनुपर्ने अवस्था आएको छ । लकडाउनलाई पालना गराउने भन्दा पनि लकडाउन आफै पालना गर्ने बिषय हो । लकडाउन भनेको घर भित्रै सुरक्षित बस्ने कुरा हो । आफूले आफूलाई घर भित्रै सुरक्षित राख्ने कुरा हो । दाङ जिल्लामा लकडाउन गर्नुभन्दा केही दिन पहिले सेल्फ लकडाउनको अवस्था पनि देखिएको थियो । बजार सुनसान देखिएको थियो । बैंक तथा वित्तिय संस्थामा पनि चाप कम रहेको थियो । गत बर्षको लकडाउनका कारण मानिसहरुले आफूलाई कसरी सुरक्षित गर्ने भन्ने बारेमा जानिसकेका छन । बजारमा आएर धेरै भिड बढाएर केही काम छैन भन्ने बारेमा पनि थाहा पाइसकेका छन् । सवारीका साधनमा चढ्नेहरुले दुरी कायम गर्ने कुरा थाहा पाएका छन् ।

लकडाउनको समयमा के गर्ने भन्ने बारेमा धेरैलाई जिज्ञासा बढेको पाइन्छ । लकडाउनको समयमा घरमा बस्ने कुराले सवैलाई सुुरक्षित बनाउनेछ । लकडाउनको समयमा विद्यार्थीहरुका लागि अनलाईन कक्षाहरु चलिरहेका छन् । ठूलाहरुले के गर्ने त ? पक्कै पनि यतिवेला रचनात्मक पुस्तकहरु पढ्ने, ज्ञान गुनका कुराहरु सुन्ने, हेर्ने, घरमा बसेर गर्ने कामहरु छन भने त्यो पनि गर्ने । यो समयलाई जसरी हुन्छ रचनात्मक बनाउने बारेमा ध्यान दिने । तत्कालका लागि नौ दिनको समय भनेर तोकिएको छ । यो समय थप हुन सक्छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गयो भने समय थप हुने कुरा निश्चित छ । बढ्दो क्रम रोकियो वा कम भयो भने पुनः लकडाउन हुँदैन । लकडाउन पनि रोकिन्छ । लकडाउनलाई लामो समय नजाओस भन्ने हो भने हामीले यतिवेलाको लकडाउनलाई साथ दिनुपर्छ । यतिवेला हाम्रो घर आँगनमै कोरोना आइसकेको छ । घरमा आएको कोरोलाई बाहिर भगाउने हो भने हामी घरबाट बाहिर निस्कने होइन । घरबाट बाहिर ननिस्कनु भनेको कोरोनालाई घरमा पस्न नदिनु हो । रोगले ठूलो सानो भनेको छैन । रोगले ठूलो पद वा सानो पद भनेको छैन । रोगले गाउँको वा शहरको भनेको छैन । यसले गरिव वा धनी भनेको छैन । देश वा विदेश पनि भनेको छैन । यस्तो अवस्थामा लकडाउनलाई सार्थक बनाउनका लागि हामी सवैले साथ दिनुपर्छ । सवैले सहयोग गर्नुपर्छ । लकडाउनको सार्थकता त्यतिवेला हुन्छ जतिवेला कोरोना संक्रमितको संख्या कम हुन्छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img