सम्पादकिय
यतिवेला नेपालमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको छ । माओवादी केन्द्र सशस्त्र युद्ध गरेर आएको पार्टी हो । नेपालमा अहिले ठुला दुई वटा कम्युनिष्ट पार्टीको कुरा गर्दा नेकपा एमाले र माओवादी केन्द्र हुन । माओवादी केन्द्रको नेतृत्वमा संघीय सरकार छ । यस्तै विभिन्न प्रदेशमा पनि माओवादीको नेतृत्वमा सरकार चलिरहेका छन् । स्थानीय निकायको कुरा गर्ने हो भने एमाले माओवादी र अन्य कम्युनिष्टहरुले नेतृत्व गरेका स्थानीय निकाय नै धेरै छन् । वडाहरुमा बहुमत कम्युनिष्टहरुकै छ । संघदेखि स्थानीय निकायसम्म कम्युनिष्टले नेतृत्व गरेका सरकारहरु रहेको अवस्थामा देशको शासन व्यवस्था कसरी चलिरहेको छ ? के कम्युनिष्टहरुले भनेको बमोजिम चलिरहेको छ ? किन कम्युनिष्टहरुले भने बमोजिम शासन चल्न सकेको छैन । यदी यहि नै व्यवस्था र व्यवस्थापन कम्युनिष्टहरुले भनेको हो भने यो भन्दा अव्वल कसले दिन सक्छ । अहिले प्राविधिक रुपमा नेतृत्व कम्युनिष्टहरुको छ । व्यवहारिक रुपमा कम्युनिष्टको सरकारले दिने योगदान जनताले पाउन सकेका छैनन् । कम्युनिष्टहरुको आस्था, कम्युनिष्टहरुको आदर्श, कम्युनिष्टहरुको अनुशासन देखि लिएर कम्युनिष्टहरुले भन्ने गरेको विकास र सुशासनको कुरा कति प्रतिशतसम्म पुरा भएको होला ? ५० प्रतिशतबाट ५१ प्रतिशत भएको भए पनि अहिलेको अवस्था आउने थिएन । अहिलेको जस्तो गुनासो हुने थिएन । सेवा प्रवाहको सवालमा नेपालमा कुनै पनि सरकारले आफूलाई अव्वल सावित गर्न सकेका छैनन् । २०४६ सालपछि बनेका २८ वटा सरकारमध्य एक÷दुईवटालाई छोडेर सवै सरकार परम्परा धान्ने काममा मात्रै अव्वल भएका छन् ।
कम्युनिष्टको सरकार कस्तो हुन्छ ? कम्युनिष्टको सरकार भएको अवस्थामा जनतालाई दिने सेवा सुविधाको अवस्था कस्तो हुन्छ ? त्यहाँको शिक्षाको अवस्था कस्तो हुन्छ ? स्वास्थ्यमा नागरिकको पहुँच कसरी विकास र विस्तार गरिन्छ ? सामाजिक जागरणको अवस्था कस्तो हुन्छ ? मानिसले मानिसलाई गर्ने व्यवहार कस्तो हुन्छ ? मानवअधिकारको अवस्था कस्तो हुन्छ ? कम्युनिष्टको सरकारमा अन्य भन्दा फरक के हुन्छ ? दक्षिणपन्थी सोच राख्नेहरुले नेतृत्व गरेको सरकार भन्दा कम्युनिष्टहरुले नेतृत्व गरेको सरकार के मानेमा फरक हुन्छ ? मानिसको अनुहारले मात्रै फरक हुन्छ कि ? मानिसको व्यवहारले फरक हुन्छ ? नाम कम्युनिष्ट राख्दैमा मानिस कम्युनिष्ट भइहाल्छ कि ? सिद्धान्तको जपना गर्दैमा कुनै व्यक्ति कम्युनिष्ट हुन्छ कि ? पक्कै पनि यस्ता धेरै विषयहरु अनुत्तरित अवस्थामा रहेका छन् । कम्युनिष्ट नाम राख्ने, व्यवहारमा तस्करलाई संरक्षण गर्ने, भ्रष्टाचारीलाई पश्रय दिने । लोभ लालच पाल्ने । पूँजिपतीहरुसंग मिल्ने । श्रमजिवीको अहितमा निर्णयहरु गर्ने । दलालहरुको हितमा काम गर्ने । यदी यस्तो भयो भने त्यो कम्युनिष्ट संस्कार र आचरणभित्र कदापी पर्दैन । विश्वमा विकास कम्युनिष्टले शासन नगरेका मुलुकमा पनि भएको छ । कम्युनिष्टले नेतृत्व गरेका मुलुकमा अरुभन्दा तिव्र आर्थिक विकास भएको छ । पँुजीवादी मुलुकहरु पूँजिपतीहरुको हितमा बढी काम गर्दछन । श्रमजिवीको पक्षमा काम गर्नका लागि कम्युनिष्टहरुले जनताबाट म्याण्डेड पाएका हुन्छन् ।
कम्युनिष्टको सरकारलाई नागरिकले आफ्नो सरकार भन्न पाउनुपर्छ । कम्युनिष्टका सरकारले अरुले भन्दा राम्रो काम गर्नुपर्छ । कम्युनिष्टका सरकारले जनताको कुरा सुन्नुपर्छ । जनताको हितमा काम गर्नुपर्छ । विकासको कुरा अरु विचार बोक्नेले भन्दा कम्युनिष्ट हौं भन्नेले बढी गर्नुपर्छ । नागरिकको सेवा अरु विचार बोक्नेले भन्दा धेरै कम्युनिष्ट विचार बोक्नेले गर्नुपर्छ । अरुले जस्तै काम गर्ने हो भने विचार फरक बोकेको भनेर मात्रै हुँदैन । अरु विचार बोक्ने र कम्युनिष्ट विचार बोक्नेका बीचमा के फरक हुन्छ भन्दा व्यवहारको फरक हुनुपर्छ । यहि भएर मदन भण्डारीले ‘सिद्धान्तको रङ खैरो हुन्छ, जीवनको रङ हरियो हुन्छ ।’ भन्नुभएको थियो । जीवनको रङ हरियो हुनुपर्छ । जीवन आशावादी हुनुपर्छ । जीवन जिवित हुनुपर्छ । जीवन सरल हुनुपर्छ । जीवन सहज हुनुपर्छ । जीवनलाई सहज बनाउने सिद्धान्तले भन्दा व्यवहारले हो । सिद्धान्त सुन्नका लागि राम्रो हुन्छ । सिद्धान्त भाषणमा राम्रो हुन्छ । यहाँ मानिसले व्यवहार खोजिरहेका छन् । व्यवहार राम्रो नहुँदासम्म सिद्धान्तको रटानले मात्रै केही हुँदैन । अरुले चलाएको शासन र कम्युनिष्टहरुले चलाइको शासनमा केही फरक हुनुपर्छ । त्यो फरक देखिने भने नागरिकले पाउने सुविधा हो । नागरिकले पाउने व्यवहार हो । आज कतिपय कम्युनिष्ट भन्नेहरुको व्यवहार देख्दा लाज मान्नुपर्ने अवस्था रहेको छ । कम्युनिष्टका सरकारहरु अरु भन्दा फरक हुनुपर्छ । कम्युनिष्टहरुले नेतृत्व गरेका सरकारहरु अरु भन्दा बेग्लै हुनुपर्छ । बेग्लै काम गरेर उदाहरण देखाउनुपर्छ ।