सन्दर्भ २८ औं मदन–आश्रित स्मृति दिवश
शुरामणि बेलबासे
आज जेठ ३ गते नेपाली कम्यनिष्ट आन्दोलनका सिद्धान्तकार एवं जननेता मदन भण्डारी र कुसल संगठक जिवराज आश्रितको २८ औं स्मृति दिवश । २०५० जेठ ३ गते नारायणघाट मुग्लिङ सडक खण्डको दाशढुंगामा उहाँहरु सबार जिपलाई दुर्घटना गराई नेपाली जनताका प्यारा नेताहरुको हत्या गरिएको थियो । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रितको हत्या भएको आज २८ वर्ष पुगेको छ । यद्यपी हत्याराहरुको हाल सम्मपनि पहिचान भएको छैन । मदन–आश्रितको हत्या पश्चात देशमा ठूलो आन्दोलन भएको थियो । आन्दोलनको क्रममा आधा दर्जन नेपाली आमाका अन्य समुतहरुले समेत ज्यान गुमाउनु परेको थियो । हत्याराहरुको पहिचान गर्ने र तिनलाई कार्वाही भने हालसम्म पनि हुन सकेको छैन । यस्ता ठूला हत्याकाण्डहरु संसारका अन्य देशहरुमा पनि भइरहने र हत्याराहरु बिरलै मात्र पत्ता लाग्ने र कार्वाही हने गरेका छन् । यस्ता ठूला प्रकारका हत्याकाण्डहरुमा राष्ट्रिय अन्तराष्ट्रिय ठूला शक्तिको हात रहने हुँदा ति शक्तिहरु सजिलै पत्ता लाग्दैनन् । नेपालमा पनि मदन–आश्रित र राजा बिरेन्द्रको वंशविनाशका हत्याराहरु हालसम्म पत्ता लाग्न सकेका छैनन् । जनताको अपेक्षा छ ढिलो चांडो ति हत्यारा पत्ता लाग्नेछन् र कार्बाही हुनेछ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको अतुलनीय योगदान रहेको छ । मदन भण्डारीको सैद्धान्तिक योगदान जनताको बहुदलीय जनबाद हो । जनताको बहुदलीय जनबाद नेपाली क्रान्तिको सिद्धान्त हो । अन्तराष्ट्रियरुपमा कम्युनिस्ट आन्दोलनले एक पछि अर्को असफलता भोगीरहेको समयमा नेपालमा मदन भण्डारीले कम्युनिस्ट आन्दोलनलाई गति प्रदान गर्नु भएको थियो । कम्युनिस्ट आन्दोलन जडता र विसर्जनको सिकार भएको अबस्थामा ती दुबै अबस्थाबाट कम्युनिस्ट आन्दोलनलाई बचाई नयाँ जीवन दिन सफल हुनु भएको थियो । माक्र्सबादका तीनबटै संगठक अंगमा मदन भण्डारीले सैद्धान्तिक योगदान गर्नु भएकोछ । खास गरि राज्य सत्तामा द्वन्द्वबादी सिद्धान्तको प्रतिष्थापन र कम्युनिस्ष्ट आन्दोलनको लोकतान्त्रिकरणको मान्यता अघि सारेर माक्र्सबादी दर्शनमा मदन भण्डारीले महत्वपूर्ण योगदान गर्नु भएको छ । मदन भण्डारी पुर्व द्वन्द्वबादी दर्शनलाई कम्युनिस्ट आन्दोलनमा एकता, संघर्ष र संघर्षको रुपमा वा निषेधको निषेधकारुपमा मात्र प्रयोग गरिएको थियो । कुनै एउटा देशमा एउटा मात्र कम्युनिस्ट पार्टीको कल्पना गरिएको थियो । एउटा देशमा एउटा मात्र कम्युनिस्ट पार्टी हुन्छ भन्ने मान्यता राख्ने र उसैले क्रान्ति गरेर जनबादी सत्ता स्थापना गर्ने तर अन्य कम्युस्टि पार्टीलाई राज्य सत्तामा ठाउँ नदिने अर्थात उनीहरुलाई निषेध गर्ने मान्यता संसारकै कम्युनिस्ट आन्दोलनको अभ्यास हो । यो मान्यताबाट अघि बढदा सोभियत समाजबाद र पुर्वी युरोपका समाजबादी व्यबस्थाहरु असफल भएका थिए । कार्ल माक्र्स र लेनिनले पूजीबााद साम्राज्यबादको चरणमा पुगेपछि नष्ट हुन्छ भन्ने तर साम्राज्यबाद नष्ट नभएर अरु बलियो हुंदै जाने तर कम्युनिस्ट राज्य सत्ता स्थापना भए पछि राज्य सत्तानै बिस्तारै ओईलाएर जाने अर्थात समाज वर्गविहीन दिशामा जाने, जनताहरुका बीचमा वर्ग नहुने सबै समान हुँदै जाने, मानिसहरु स्वतन्तताको दुनीयामा बिचरण गर्न पाउने भनिएकोमा कम्युनिस्ट सत्ताहरु एलीटहरुको हातमा जाने, वर्गविहिनता नभई वर्गीयताको पहाड बडदै जाने, जनताको जनबादी अधिनायकत्वका ठाउँमा मुठ्ठि भरका मानिसका हातमा राज्य सत्ता रहिरहने त्यहाँ बिचार, संगठन र काममा प्रतिस्पर्धा नहुने अबस्था पनि देखा प¥यो ।
मानवसमाजको अहीतकारी साम्राज्यबादी शक्ति अनिवार्यरुपमा समाप्त हुनु पर्ने तर बलीयो बन्दै जाने सबै मानवको सुख, समृद्धि र समानता चाहने कम्युनिस्ट शक्ति कमजोर बन्दै जानुको मुख्य कारण विचार, संगठन र काममा प्रतिस्पर्धा नहुनु हो भन्ने निष्कर्श मदन भण्डारीको रहेको थियो । माक्र्सबादी दर्शनका अनुसार प्रकृति, समाज र राजनीतिमा सर्वत्र द्वन्द्व हुन्छ, द्वन्द्वका कारण गति र जीवन प्राप्त हन्छ भने कम्युनिस्ट राजनीतिको अभ्यासका सन्दर्भमा विचारको प्रतिस्पर्धा वा द्वन्द्वलाई निषेधकारुपमा लिने मान्यता गलत भएको र यही गलत मान्यताका कारण कम्युनिस्ट पार्टीहरु कमजोर हुने राज्य सत्ता उल्टो दिशमा जाने स्थिति देखिएको निष्कर्श सहित द्वन्द्वबादका नियमहरुलाई राज्य सत्ता, पार्टी, अर्थतन्त्र, आन्दोलनमा प्रतिष्ठापन गर्ने मान्यता अगाडि सार्नु भएको हो । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबादले एउटै देशमा एक भन्दा धेरै कम्युनिस्ट पार्टीको बीचमा बैचारिक प्रतिस्पर्धा हुनु पर्ने मान्यता अघि सारेको छ । कम्युनिस्ट पार्टीहरुले पनि जनताको बीचमा आफ्ना नीति, कार्यक्रमहरु लगेर अनुमोदित भई राज्य सत्ता संचालन गर्नु पर्ने, यो प्रकृया नियमित आबाधिक हुनु पर्ने मान्यताका कारण दुईतिहाईको सरकार संचालन गर्ने अबसर प्राप्त भएको हो ।
मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनबादको अर्को महत्वपूर्ण संघटक अंग जनबादी व्यबस्थाको चरणबद्ध बिकास हो । यो मान्यता पनि मदन भण्डारीले अघि सारेको नयाँ मान्यता हो । यस अघि अभ्यासमा रहेका कम्युनिस्ट व्यबस्थामा जनबादी व्यबस्थाको चरणबद्ध बिकासका बारेमा निकै ठूलो कन्फ्यूजन थियो । सामान्यतया जनबादी व्यबस्थाका तीन चरणको स्पष्ट मान्यताले राज्य सत्ताको समाजबाद वा साम्यबादमा पुग्ने हतारोले स्वयं कम्युनिस्ट व्यबस्था असफल हुने स्थिति रहने छैन । जहां पुर्ववर्ती राज्य सत्ताका जनविरोधी आर्थिक, सामाजिक र सांस्कृतिक आधारहरुको अन्त्य गरि जनबादी व्यबस्थाका नयां आर्थिक, सामाजिक र सांस्कृतिक आधारहरुको निर्माण गरिन्छ र एउटा लामो प्रकृयाबाट समाजबादमा संक्रमण गरिन्छ । जुन समाजबाद दिर्घजीवि हुने र राज्यवीहिन, वर्गवीहिन समाज –साम्यबादी समाजमा रुपान्तरण हुनेछ । यसरी मदन भण्डारीले जनबादी व्यबस्थाको चरणबद्ध बिकासको मान्यताबाट माक्र्सबादी अर्थशास्त्रको सिद्धान्तमा योगदान गर्नु भएको छ ।
मदन भण्डारीले जनताको बहुदलीय जनबाद मार्फत बहुलबादी खुल्लासमाजको मान्यता अघि सारेर प्रकृति, समाज र विचारमा हुने बहुलतालाई आत्मसाथ गरि सोही अनुसार कम्युनिस्ट पार्टी र यसद्वारा संचालित राज्य सत्ताको अभ्यास गर्नु पर्नेमा जोड दिनु भएको छ । कम्युनिस्ट पार्टीद्वारा संचालित राज्यसत्ता बहुलबादी र खुल्ला समाज भएको हुनुपर्नेमा वहाँको जोड रहेको छ । बन्द समाजले न्याय, स्वतन्त्रता र समानता भएको समाजबाद र साम्यबादी समाजमा पु¥याउन सक्दैन भन्ने दृष्टान्त अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट प्राप्त भएको असफलताको शिक्षानै प्रयाप्त छ । मदन भण्डारीको यो मान्यताले माक्र्सको समाजबादी सिद्धान्तमा योगदान गरेको छ ।
यसरी मदन भण्डारीले माक्र्सबादी दर्शन सिद्धान्तमा योगदान गर्नु भएको छ । जनताको बहुदलीय जनबादको मार्गदर्शनमा अघि बढ्दा नेपालको कम्युनिस्ट आन्दोलनले एतिहासिक सफलता हासिल गरेको छ । जनताको बहुदलीय जनबादको मार्गदर्शनमा शान्तिपूर्ण जनक्रान्ति सफल भएको छ । एकताबद्ध कम्युनिस्ट आन्दोलनको निर्माण भएको छ । शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट जनमतद्वारा दुईतिहाई बहुमतको कम्युनिस्ट सरकारको निर्माण भएको छ । अब जनबादी व्यबस्थाको चरणबद्ध बिकासको बाटोमा देशलाई अघि बढाउनु आजको नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य कार्यभार हो । यो कार्यभार पनि पुरा हुनेनै छ । जनताको बहुदलीय जनबादी सिद्धान्तका प्रतिपादक एवम जननेता कमरेड मदन भण्डारी र सिद्धान्त अभ्यासका सारथी कुशल संगठक कमरेड जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली ।
(बेल्वासे नेकपा एमाले दाङका उप–सचिव हुनुहुन्छ ।)