कविता
शरद देवकोटा
शरद देवकोटा
मुठीहरु
कति सुन्दर हुन्छ जिन्दगी
जब मानिसहरु आफ्नो अधिकार निम्ति
मुठी उठाएर जुलुसमा सामेल हुन्छन्
कति मनमोहक हुन्छ जीवन
जब मानिसहरु आफ्नो आस्थाको निम्ति
मुठी उठाएर हिड्न थाल्छन्
हिमालको काखै काख भएर
आकाशमा उन्मुक्त भएर उड्ने डाँफे चरी झै
कति सुनौलो हुन्छ भविष्य
न्यायको निम्ति मुठी कसेर
जब मानिसहरु निर्धक्क बोल्न थाल्छन् ।
मानिसहरु जब आफूजस्तै मानिसहरुसंगै
खेतमा खलिहानमा
र चिम्नीबाट धुवाँ ओकल्ने कारखानहरुमा
पंक्तिवद्ध भएर मालचरी झै
जब माथि माथि उठाउँछन् मुठीहरु
कति रोमान्चकारी हुन्छ वातावरण
जब मुठीहरु विशाल समूह झै सडकमा उर्लन थाल्छन् ।
मुठीहरु साच्चै शक्तिशाली हुँदारहेछन्
मुठीहरु साच्चै बलवान हुँदारहेछन्
पल्टाइदिन सक्छन् मुठीहरुले शासन सत्ता पनि
त्यसैले त सुरक्षित राख्न आफूलाई
टोपधारी आफ्ना सिपाहीलाई
कुरुप शासकहरु गोली चलाउन आदेश दिन्छन्
जब मुठीहरु भोकको विरुद्धमा जुलुसमा सामेल हुन्छन्
साच्चि कति शक्तिशाली हुँदारहेछन् मुठीहरु ।