सम्पादकीय
कुनै काम सवैले थाहा पाउने तरिकाले गर्ने कार्य नै पारदर्शिता हो । अझ भन्ने हो भने निर्णय प्रक्रिया, नीति, कार्यक्रम, तथा कामकारबाहीहरू खुला र स्पष्ट ढंगले गरिनु नै पारदर्शिता हो । पारदर्शितासंग जोडिएको अर्को विषय भनेको जवाफदेहिता हो । जवाफदेहिता भनेको जिम्मेवारी लिने व्यक्तिले आफ्नो कामको हिसाब–किताब दिनु र कुनै त्रुटि भएमा त्यसको जवाफ दिन तयार हुनु हो । पारदर्शिता र जवाफदेहिता हुँदा व्यक्तिहरूलाई थाहा हुन्छ कि सरकार वा कुनै संस्था के काम गरिरहेको छ, कसरी स्रोतसाधन खर्च गरिरहेको छ, र कसलाई जवाफ दिन जिम्मेवार छ । पारदर्शिताको कुरा व्यक्ति देखि नै लागु हुन्छ । व्यक्ति, घर परिवार, समाज, संघ संस्था, सरकार सवैतिर आवश्यक पर्दछ । जहाँ पारदर्शिता हुन्छ त्यहाँ जवाफदेहिता पनि हुन्छ भन्ने रुपमा बुझ्नु पर्दछ । यदी पारदर्शिता छैन भने जवाफदेहिता पनि छैन भनेर बुझ्नुपर्छ । कोही व्यक्तिले पारदर्शि रुपमा काम गरिरहेको छ भने त्यो व्यक्ति कामप्रति जवाफदेहि छ भनेर बुझ्न सकिन्छ । आफूले गरेको कामको जिम्मेवारी लिने कुरा पनि जवाफदेहिता भित्र पर्दछ । काम गर्नेले पारदर्शिता तरिकाले गर्नुपर्दछ भने पारदर्शि काम गर्ने व्यक्ति नै जवाफदेहि हुन्छ । आफूले गरेको कामको जिम्मेवारी लिने नसक्ने व्यक्ति पारदर्शी हुन सक्दैन ।
कुनै व्यवस्था विग्रेको छ भने त्यो एउटै कारण हो पारदर्शिताको अभाव । पारदर्शिताको अभावमा जवाफदेहिता हुन सक्दैन । नेपालको सन्दर्भमा कुरा गर्न हो भने पारदर्शिता र जवाफदेहिताको अवस्था कमजोर छ । पहिलो कुरा त सरकारी निकायहरूमा भ्रष्टाचार उच्च छ । धेरैजसो कामहरूमा स्रोतसाधनको दुरुपयोग हुने गरेको छ । काम के भएको छ वा के काम भएको छैन भनेर जानकारी लिनका लागि समस्या छ । भन्ने हो भने सूचना लिन कठिनाइ रहेको छ । यद्यपि, नेपालमा सूचना प्राप्त गर्ने कानुन छ (सूचनाको हक ऐन २०६४), तर सरकारी कार्यालयहरूले सूचना दिने प्रक्रियालाई जटिल बनाएका छन् । यसैगरी नेताहरू र कर्मचारीहरूको जवाफदेहिता कमी रहेको छ । राजनीतिक नेतृत्व र सरकारी कर्मचारीहरूले सार्वजनिक सवालमा प्रायः जवाफ दिने कर्तव्य पूरा गर्दैनन् । आफूले गरेको गलत कामलाई पनि सही हो भनेर प्रमाणित गर्नका लागि न्वारनदेखिकै बल लगाउँछन । आफू सत्य रहेको र अरु खराव रहेको भन्ने प्रमाणित गर्नका लागि खुवै मेहनत गर्दछन । यहि मेहनत पारदर्शिता र जवाफदेहिताका लागि खर्च गरेको भए हाम्रो समाज कहाँबाट कहाँ पुगिसक्ने थियो । पछिल्लो समयको कुरा गर्ने हो भने स्थानीय तहमा पनि भ्रष्टाचार र अनियमितता बढेको छ । विकासका काममा अपारदर्शिता देखिन्छ । ठेक्का प्रणाली, बजेट वितरण, र सार्वजनिक सेवामा पारदर्शिता अभाव छ ।
हरेक समृद्ध समाजका लागि पारदर्शिता र जवाफदेहिता आवश्यक पर्दछ । पारदर्शिता र जवाफदेहिता आवश्यक पर्ने मुल विषय भनेको विश्वास निर्माण गर्नका लागि हो । पारदर्शिता र जवाफदेहिता हुँदा जनताले सरकार, निजी क्षेत्र, र अन्य संस्थाहरूमा विश्वास गर्छन् । होइन भने एउटाले अर्कोलाई अविश्वास गर्ने मात्रै होइन एकले अर्कोलाई समाप्त पार्नका लागि योजना बुन्ने काम धेरै हुन्छ । पारदर्शिता र जवाफदेहिताको आवश्यकता भनेको भ्रष्टाचार नियन्त्रण गर्नका लागि हुन्छ । पारदर्शिता र जवाफदेहिता भएमा सार्वजनिक कोषको दुरुपयोग र अनियमितता नियन्त्रण गर्न सकिन्छ । समाजमा समानता ल्याउन सकिन्छ । पारदर्शिता हुँदा सबैलाई समान जानकारी र सेवा प्राप्त हुन्छ । यसले विभेदलाई घटाउँछ । हामीले लोकतन्त्रका कुरा गर्दछौं । लोकतन्त्र भनेको पारदर्शि व्यवस्था हो भनेर भन्दछौं । यहि व्यवस्था अपारदर्शि रहेको छ । लोकतन्त्रलाई सुदृढ गर्ने हो भने हरेक निकाय पारदर्शि हुनुपर्छ । लोकतन्त्रमा जनताले सरकारसँग प्रश्न गर्न पाउनुपर्छ । जवाफदेहिता भएमा सरकार जनताको सेवामा केन्द्रित हुन्छ । विकासका काम प्रभावकारी बनाउनका लागि पारदर्शिता र जवाफदेहिता आवश्यक पर्दछ । पारदर्शिता र जवाफदेहिता कायम गर्ने जिम्मेवारी मुख्य रुपमा सरकारको हो । यसमा मुख्यगरी नीति निर्माण र कामकारबाही पारदर्शी बनाउनु जरुरी छ । यस्तै अनियमितता र भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्छ । सूचना दिनु र जनतालाई जवाफ दिनु पर्दछ । नागरिकले पनि सहिलाई सहि र गलतलाई गलत भनेर भन्न सक्नुपर्छ । सही सूचना माग गर्नका लागि नागरिक सचेत बन्नुपर्छ । आफूले चुनेर पठाएका प्रतिनिधिलाई प्रश्न गर्न नसक्ने नागरिक भएका छौं हामी । यस्तो कुरालाई हामीले अन्त्य गर्नुपर्छ । आफू पारदर्शि बन्ने र अरुलार्य पनि पारदर्शि बनाउने अभियानमा नागरिक लाग्नुपर्छ ।