सम्पादकीय
नेकपा एमालेले केही दिन अघि पूर्व नेता भिम रावललाई गरेको कारवाहीको विषयले चर्चा पाइरहेको छ । नेकपा एमालेमा लामो समय रहेका नेतालाई गरिएको कारवाहीको विषयले नेकपा एमाले भित्र भन्दा बाहिर चर्चा पाइरहेको छ । कतिपयले यो विषयलाई नेकपा एमाले भित्र बोल्न नसेको र बाहिरकाले बोलिरहेको भन्ने रुपमा अथ्र्याएका छन् । कुनै पार्टीले गर्ने कारवाही वा पदोन्नतीको विषय आन्तरिक विषय हो भन्ने रुपमा बुझ्ने हो भने खासै समस्या हुँदैन । कतिपय अवस्थामा पार्टी भित्र गरिएका कारवाहीका विषयहरुमा न्यायसंगत छ कि छैन भन्ने रुपमा हेर्ने गरिन्छ । पार्टी भित्र राम्रा मानिस हुन्छन । नराम्रा पनि हुन्छन । पार्टी एउटा विधिले चल्छ । एउटा विधानले चल्छ । पार्टीमा व्यक्तिको भन्दा सामूहिक भावना हुन्छ र हुनुपर्छ । पछिल्लो समय नेकपा एमालेले गरेको कारवाहीको विषयमा जति कुरा आएका छन् ति कतिपय चासो राख्नुपर्ने बिषयका रुपमा आएका छन् भने कतिपय विषयहरु चासो नराख्दा पनि हुन्छ । कुनै व्यक्तिले लामो समय विताएको पार्टीमा बसिरहनका लागि उसले पार्टीको नीति विधि मानेको हुनुपर्छ । पार्टीले तय गर्ने कार्यक्रममा सहमती हुनुपर्छ । पार्टीले गरेका निर्णय मान्नुपर्छ । पार्टीले गरेको निर्णय र नेतृत्वलाई नमान्ने हो भने त्यो पार्टीमा बस्न गाह्रो हुन्छ । नेपालमा दुईथरी पार्टीहरु छन भन्ने त हामी सवैलाई थाहा छ । एउटा नेपाली काँग्रेस लगायतका पार्टीहरु छन जसले आफूलाई प्रजातन्त्रवादी पार्टीका रुपमा घोषणा गरेका छन् । अर्कोथरी कम्युनिष्ट पार्टीहरु छन् । जसले आफूलाई समाजवादी पार्टीका रुपमा व्याख्या गर्दछन् । समाजवादी पार्टीहरुमा स्वच्छन्द तरिकाले बोल्ने छुट हुँदैन । तर त्यसको विपरित प्रजातान्त्रिक पार्टीमा गुट गट रुपमा भागबण्डा गर्नेसम्मको अभ्यास हुन्छ ।
नेकपा एमालेमा रहेको समयमा भिम रावल अवसर पाएको नेताका रुपमा चिनिनुहुन्छ । उहाँ पटक पटक सांसद हुनुभयो । पटक पटक मन्त्री हुनुभयो । पार्टीमा उपाध्यक्ष सम्मको जिम्मेवारीमा रहनुभयो । उहाँले लामो समय राजनीति गर्नुभयो । राजनीति गर्दा उहाँले दिनुपर्ने जति र दिनसक्ने जति सवै दिइसक्नुभएको छ । उहाँको क्षमताका बारेमा नेपाली जनता जानकार छन् । उहाँले आगामी दिनमा के दिन सक्नुहोला भन्ने बारेमा पनि धेरैलाई थाहा छ । उहाँले नेकपा एमालेमा रहेको समयमा जे जस्ता पद र अवसर लिनुभयो त्यो उहाँले पाएको अवसर हो । उहाँले पदमा पुगेर जे क्षमता देखाउनुभयो त्यो सधैभरी उहाँका लागि हुनुपर्छ भन्ने छैन । अवसरको बाँडफाँड हुनै पर्दछ । मेरा लागि मात्रै वा म भए मात्रै भन्ने रुपमा लिनु हुँदैन । उहाँले महाधिवेशनमा पदाधिकारी हारेपछि केन्द्रिय सदस्यमा जित्दा सपथ खान नगएको र पछि मन्त्री बन्ने भएपछि सपथ खाएको कुरा पार्टी पङ्तीका सवैलाई थाहा छ । गएको महाधिवेशनमा अध्यक्षमा निर्वाचन नलड्नका लागि पटक पटक आग्रह गरिएको भएपनि अध्यक्षमा लडेर कार्यकर्ताको भावना तोडेको कुरा सवैलाई थाहा छ । निर्वाचनमा पराजित भएपछिका कृयाकलापहरुका बारेमा सवै पार्टी पङ्ती जानकार रहेका छन् । निर्णय र नेतृत्वलाई खुइल्याउने काममा उहाँले पटक पटक गर्नुभएको थियो । जसले गर्दा नेतृत्वले विश्वास गर्न सकेन ।
बैचारिक लडाई बलियो हुन्छ । विचारको हिसावले प्रतिष्पर्धा गर्दा अरुको साथ र समर्थन मिल्छ । विचार भन्दा माथि कोही छैन । विचारका आधारमा प्रतिष्पर्धा गर्नेहरु एक दिन न एक दिन सफल हुन्छन । विचारका आधारमा गरिएको राजनीति दिगो हुन्छ । नेकपा एमालेले जे विचार बोकिरहेको छ यो विचारलाई समृद्ध गराउनका लागि अर्को दल खोल्छु भन्नु अहिलेका लागि मुुर्खता भन्दा अर्को हुँदैन । नेकपा एमालेबाट विद्रोह गरेर २०५४ सालमा बेग्लै पार्टी बनाएका बामदेवलाई पार्टी चलाउन गाह्रो परेको सवैलाई थाहा छ । यस्तै चार बर्ष अघि विद्रोह गरेर नयाँ पार्टी बनाएका माधवकुमार नेपाल र झलनाथलाई पार्टी चलाउन होइन पार्टी बनाउन नै गाह्रो परिरहेको छ । नेकपा एमालेमा तीन पटक प्रमुख भएका नेपाल र दुई पटक प्रमुख भएका खनालले बनाएको पार्टीले गएको निर्वाचनमा राष्ट्रिय मान्यता नै पाएन । त्यो पार्टीले अघिल्लो निर्वाचनमा जति जनमत पाएको थियो अवको निर्वाचनमा त्यो पनि गुमाउने देखिन्छ । यस्तै बामदेव गौतमले आफूलाई एकता अभियानको महिषा भनेपनि न एकता अभियान सफल भयो । न त उहाँको पार्टी नै बन्यो । गौतम आफै पनि कता जाने भन्ने दोषाधमा रहेको देखिन्छ । संविधान सभाको निर्वाचनको समयमा सिपी मैनालीको मालेले आठ सिटसम्म ल्याएको थियो । त्यसपछि अहिले पार्टी नै कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आएको छ । अहिले भिम रावलको कुरा पनि त्यहि हो । मुल प्रवाहलाई चुनौती दिएर नयाँ पार्टी खोल्ने र मुल प्रवाहका रुपमा आउँछु भन्नु मुर्खता भन्दा अरु हुनै सक्दैन ।