spot_img
spot_img

दाङका जलाशयमा विदेशी चरा, संरक्षणमा छैन चासो

छबि पुरी /राप्ती पोष्ट

घोराही, पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १७ कर्जाही गाउँमा सात वर्ष अघिसम्म जलाशय बन्यो । गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार ठाउँमा प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयको पहलमा बनेको जलाशय यतिवेला आकर्षणको केन्द्र बनेको छ ।

जलाशय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको केन्द्र बन्दै गएको छ । मानिसले जलाशय मन पराए जस्तै स्वदेशी अनि विदेशी चराहरुको बासस्थान पनि कर्जाही जलाशय बन्दै गएको छ । यहाँ रैथाने चरासँगै विदेशी चराहरुको बसोबास रहेको छ । तर, यसको महत्व बारे बुझाउन नसकिएको जलाशय उपभोक्ता समिति अध्यक्ष छित्रु चौधरीको भनाई छ ।
‘सानो सोताको रुपमा रहेको ठाउँमा बाँध बाँधेर सिमसार बनाउँदै पछि जलाशय बनाउने काम भयो । यो कामका लागि घोराही उपमहानगरपालिका र प्रदेश सरकारले बजेट दिएको हो । छ वर्षको अन्तरालमा अहिले सिंचाइका काममा सहज भएको छ । सँगै, यहाँ जलचराहरुको आकर्षण बढेको छ । विदेशी चरापनि आएका छन् । तर यसको महत्व बारे सबैलाई बुझाउन सकिएको छैन’ छित्रुले भन्नुभयो ‘हामी विदेशी चराको बारेमा जानकारी लिन अरु ठाउँमा जान्छौँ, यहाँ आफ्नै घर आँगनको जलाशयमा आएका विदेशी चराको बारेमा अरुलाई जानकारी दिन सकेका छैनौँ ।’ घोराहीमा अरु थुप्रै क्रृत्रिम जलाशय छन् । त्यहाँ पनि केही चराहरुको बसोबास हुने गरेको छ । घोराहीमा साना ठूला गरेर ४२ बढी जलाशय छन् । राप्ती, बबई नदीमा पनि विदेशी चराको विचरण हुने गरेको छ ।

स्थानीय चराहरुको बसोबास मात्रै होईन, नेपालमा हरेक वर्ष जाडो छल्न एक सय ५० प्रजातिका हिउँदे आगन्तुक चराको आगमन हुने गरेको अनुसन्धानले देखाएको छ । दाङका जलाशय एवम् नदी तलाउहरुमा चिसो छल्न र खानेकुराको खोजीका लागि हरेक वर्ष हिउँदे आगन्तुक चरा आउने गरेका छन् । केही समययता दाङमा पाईने चरा र आगन्तुक चराको बारेमा अध्ययन गर्दै आउनुभएका जीव विज्ञानका शिक्षक लालमणि रेग्मीका अनुसार, कृतिम जलाशयसँगै बबई नदी आसपासमा विदेशी आगन्तुक चराको उपस्थिती लोभ लाग्दो छ । तर उनीहरुको बारेमा चासो निकै कम हुने गरेको छ ।
‘मयूर, धनेश, सुगाका विभिन्न प्रजाति, जलकौवा, चखेवा, गरूड, हुट्टिट्याउँ, चिल, उल्लु, लाँचे, काठफोर, किङफिसर, ढुकुर, हलेसो, दुर्लभ चराहरुमा खरमजुर, रागधनेश, डंगुर गिद्ध यहाँ पाईने चरा भएजस्तै विदेशबाट आउने पाहुना चराको बारेमा खोजी अनुसन्धान गरेर उनीहरुको संरक्षणका बारेमा पहल हुन सके राम्रो हुन्थ्यो’, शिक्षक रेग्मीले भन्नुभयो ‘जल चराहरुको बारेमा खोज अनुसन्धान गर्न निकै मेहनत चाहिन्छ, उनीहरुको जीवनशैलीमा आफू ढल्नुपर्छ । यसले एक प्रकारको सन्तुष्टि दिन्छ भने यहाँको जलवायु र चराचुरुङ्गीहरुको जीवनशैली बुझ्न सघाउँछ ।’

धेरैजसो चराहरु जाडो छल्न असोज कार्तिकमा आई पुग्छन् । यहाँ आएका यी चराहरु बढीमा ६ महिनासम्म बस्ने गर्दछन् । नेपालमा चीन, पूर्वी युरोप, मंगोलिया, रुस, साइबेरिया तथा कोरियाको छेउछाउ लगायतका ठाउँबाट पनि चिसो छल्न चराहरु नेपाल आउने गरेका छन् । ती मध्ये धेरै जसो चरा दाङमा जलाशय तथा नदीहरुमा पाईने गरेको छ । तर यिनीहरुको महत्व बारे बुझ्न र बुझाउन नसक्दा वर्षेनी आगन्तुक चराहरुको उपस्थिती कमजोर बन्दै गएको जीव विज्ञानका शिक्षक रेग्मी बताउनुहुन्छ ।

‘जलमा नै जीवन आश्रित छ, जलाशयकै कारण जैविक विविधता सघाउमा सहयोग पुग्ने हुन्छ । तर, कहिलेकाहीँ हाम्रो यो ठाउँमा आई पुग्ने पाहुना चराहरुको बारेमा हामी सम्वेदनशील हुन सकिरहेका छैनौ । स्थानीयले मार्ने, जोखिममा पार्ने काम भईरहेको छ । मैले नै कतिपय ठाउँमा ती चराहरु मारेर खाएको देखेको छु, यो राम्रो होईन, यी र यस्तै कारणले पाहुना चरा फेरी यो ठाउँमा फर्केर आउँछन् भन्ने सम्भावना कम भएर जान्छ, यस बारे सबैले सोँच्नै पर्छ’ उहाँले भन्नुभयो ।
चरा संरक्षण कुनै क्षेत्र विशेष र विशुद्ध एकल अभियानले सम्भव नहुने उहाँको तर्क छ । बारम्बार बसाइँसराइ गर्ने चराहरु एक देशबाट अर्को देशमा पनि जाने आउने गर्ने हुँदा संरक्षणका लागि अन्तरदेशीय सहकार्य अपरिहार्य रहेको उहाँको भनाई छ । ‘चरा संरक्षण कुनै क्षेत्र विशेष र विशुद्ध एकल अभियानले सम्भव छैन । उनीहरुको बारम्बारको बसाइँसराइ गर्ने बानीले चराहरु एक देशबाट अर्को देशमा पनि जानेआउने गर्छन्’ उहाँले भन्नुभयो ‘यसले उनीहरुको संरक्षणका लागि अन्तरदेशीय सहकार्य गर्नु अपरिहार्य देखिन्छ । स्थानीयस्तरमा पनि यसलाई सहभागितामूलक जैविक विविधताको संरक्षण तथा दिगो व्यवस्थापन एवम् पर्यटन उद्योग र विकाससँगसँगै लैजानुपर्छ ।’

बढ्दो जनसंख्या, जलवायु परिवर्तन, सिमसार क्षेत्रको कमी, चराहरुको चोरी सिकारीका कारण विदेशी चराहरु यहाँको वातावरणमा रमाउन चुनौतिपूर्ण मान्ने गरेका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न तथा विदेशी चराहरुको आकर्षण बढाउन सबै निकायबाट सचेतना फैलाउनुपर्ने अवस्था रहेको जीव विज्ञानका शिक्षक रेग्मीको सुझाव छ ।
जाडो छल्न तथा आहारा खोज्न पाहुना चराहरु चार देखि पाँच हजार माइल पार गरेर नेपाल आउने गरेका छन् । वन, सिमसार क्षेत्र र खेतबारीमा यी चरा रमाउने गरेका छन् । सफा पानीमा बस्न रुचाउने विदेशी चराहरुको आकर्षण बढाउन तर्फ राज्यका निकायको चासो भने देखिँदैन । जसले गर्दा जैविक विविधतासँगै जलवायु परिवर्तनको बारेमा नकारात्मक असर पर्ने जोखिम बढ्दै गएको छ ।

पाहुना चराले यहाँको हावापानी मन पराएर आएपनि उनीहरुलाई गर्नुपर्ने व्यवहार र वातावरण बनाउन नसक्ने हो भने आगामी दिनमाती चराहरुको उपस्थिती न्यून हुँदै जाने लामो समयदेखि जल चराहरुको बारेमा अनुसन्धान गर्दै आउनुभएका चरा विज्ञ चिरन्जिवी खनालको भनाई छ । ‘सफा पानीमा बस्न रुचाउने विदेशी चराहरुको खास विशेषता हो, उनीहरु पर्यावरण संरक्षण र स्वास्थ्यका प्रमुख सूचक पनि मानिन्छन् । तर पछिल्लो समय यिनीहरुको बारेमा कोही कसैले ध्यान दिएको पाईदैन’ चरा विज्ञ खनालले भन्नुभयो ‘नदीजन्य पदार्थको बढ्दो उत्खनन्, चराको चोरी सिकारी, बासस्थानको कमी जस्ता कारणले पाहुना चराको बसाई सुरक्षामा चुनौति थपिँदै गएको छ । यसतर्फ राज्यका निकायको चासो देखिँदैन ।’
सन् २०२२ मा दाङको राप्ती नदी तथा आसपासमा गरिएको अनुसन्धानमा २२ प्रजातिका ३ सय ६१ वटा चरा फेला परेका थिए । सन् २०२३ मा सोही क्षेत्रमा गरिएको लामो अनुसन्धानमा चराको प्रजातिको संख्या घटेर २१ मा झरेको थियो । यो वर्ष गरिएको अनुसन्धानले पनि जिल्लामा चराको संख्यामा सुधार आउन नसकेको देखाएको छ । नयाँ प्रजातिका थपिए पनि पहिले गणना भएका चरा नपाईएको सो अनुसन्धानमा खटिनुभएका चरा विज्ञ चिरन्जिवी खनालले बताउनुभयो । अघिल्लो वर्ष कुल चराहरुको संख्या भने बढेर छ सय ८७ गणना भएको थियो ।

असोजमा आउन थाल्ने चरा चैत वैशाखसम्ममा फर्कने गरेका छन् । आगन्तुक चराको संख्यामा कमी आउन नदिन र उनीहरुको बारेमा जनाकारी गराउँदै आन्तरिक पर्यटन प्रवद्र्धनमा स्थानीय स्तरमा नयाँ सोँचका साथ काम गर्न सके पर्यावरण संरक्षण हुने तथा आम्दानीको श्रोत पनि बन्ने देखिन्छ । पछिल्लो गणनाअनुसार सिमसार तथा तालतलैयामा आश्रित जलपक्षी र अन्य चराको संख्या घट्दै गएको बताइएको छ । जाडो छल्न तिब्बत र रुसको साइबेरियासम्मबाट नेपालको तराईमा आइरहने चराहरुको संख्या पछिल्लो समय घट्दो छ । जलवायु परिवर्तनका कारण नेपालको तराईको जति तापक्रम अहिले उतै पाइने भएपछि आगन्तुक चराको संख्यामा कमी आएको अनुमान गर्न सकिन्छ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार