spot_img
spot_img

सम्पादकीय

नागरिकका अपेक्षा

नागरिकका अनेकन अपेक्षाहरु छन् । नेतृत्वका अनेकन आकांक्षाहरु छन् । सवै केही न केही बोकेर हिडिरहेका छन् । केही न केही सोचेर अघि बढीरहेका छन् । सेवा लिने हिसावले सवैभन्दा तल्लो तहमा हुन्छ नागरिक । नागरिक अनेकन भूमिकामा हुन्छ । कुनै पदमा पुगेको भएपनि त्यो नागरिक हो । तर हामी नागरिक भन्दासाथ कुनै पदमा नपुगेको, अभावमा बाँचेको, केही होस भन्ने आशा गरिरहेको रुपमा बुझ्ने गरेका छौं । नागरिक भनेको सेवाग्राही हो । तर यो सचेत हुन्छ भन्ने लाग्छ । नागरिक सचेत हुन्छन तर नागरिकलाई अचेत बनाउने काम भएको छ । नागरिकलाई मुलधारमा राखेर कृयाकलाप गर्नेहरुको संख्या अत्यन्त कम रहेको छ । नागरिकलाई ध्यानमा राखेर दिइरहेको सेवाको स्तर मापन गर्ने हो भने अत्यन्त कम देखिन्छ । नेपाली नागरिकका अपेक्षा धेरै ठूला छैनन् । सानो सानो कुरा गर्दा मात्र पनि नेपाली नागरिक खुसी हुन्छन । नागरिकको अपेक्षा भनेको शान्तिपूर्ण रुपमा बस्न पाइयोस भन्ने हुन्छ । नागरिकको अपेक्षा आफूले गर्न खोजेको काम सजिलोसंग गर्न पाइयोस भन्ने हुन्छ । नागरिको अपेक्षा आफूले पाइरहेको सुविधा नखोसियोस भन्ने हुन्छ । सरकारी कार्यालयमा जाँदा सजिलोसंग सेवा पाइयोस भने हुन्छ । नागरिकले खोजिरहेको सेवा र सुविधा नपाउँदा नै आक्रोस बढ्ने हो । नागरिकले पाउने सेवा र सुविधाका बारेमा आम रुपमा छलफल हुने गरेको छैन । कार्यालयमा जाँदा पाउने सेवाको कुरा होस या अस्पतालमा जाँदा पाउने सेवाको कुरा होस । जहाँ पनि नागरिक प्रताडित नै हुन्छन । सडकमा हिड्दा पैदल यात्रुलाई साइकिलले हेपिरहेको हुन्छ । साइकिललाई मोटरसाइकिलले हेप्छ । मोटरसाइकिललाई जिपले, जिपलाई बसले र बसलाई पनि टिप्परले हेपिरहेको हुन्छ । नागरिकप्रतिको हेपाई पनि यस्तै हुन्छ । नागरिकप्रतिको हेपाई धनीले गरीवलाई । शहरमा बस्नेले गाउँमा बस्नेलाई, सत्तामा बस्नेले सत्ताबाट बाहिर रहेकाहरुलाई हेप्ने गरेको देखिन्छ ।

नेपाली नागरिकका अपेक्षाहरूको कुरा गर्ने हो भने कतिपय अपेक्षाहरु सधैभरी उस्तै हुन्छन । कतिपय अपेक्षाहरू समय र परिस्थिति अनुसार बदलिन्छन् । तर, सामान्यतया, नेपाली नागरिकहरूले सरकार राम्रो संग चालोस । शासन प्रणालीमा पारदर्शिता होस । पारदर्शी र जवाफदेही सरकार होस । भ्रष्टाचारको अन्त्य होस । सही ढंगले नीति निर्माण होस र नीति निर्माणमा जनतालाई संलग्न गराउने काम होस भन्ने अपेक्षा हुन्छ । नागरिकले गर्ने अपेक्षा भनेको आर्थिक विकास र रोजगारीको हुन्छ । बेरोजगारहरु देश छोड्नुपर्ने बाध्यता जस्तो छ । रोजगारको खोजिमा नागरिकहरुले हरेक दिन सिमा पार गरिरहेका छन् । दुःख काटिरहेका छन् । सुख मन सहित कोही पनि विदेश पुगेको छैन । पारिवारिक विग्रह झेल्दै रोजगारको खोजिमा जानुपर्ने बाध्यता छ । यस्तै आर्थिक असमानताले गर्दा नेपाली नागरिकहरूले दुःख पाइरहेका छन् । शिक्षा र स्वास्थ्य सेवाको पहुँचका हिसावले नेपाली नागरिकमा विभेद रहेको छ । नेपाली नागरिकहरू सुलभ र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाको अपेक्षा राख्छन् । ग्रामीण र शहरी क्षेत्रबीचको सुविधामा देखिने अन्तरलाई कम होस भन्ने चाहन्छन । सुविधाको केन्द्रिकरण भएका कारणले गर्दा नै आज नेपाली गाउँहरु खाली हुँदैछन् । सुविधाको विकेन्द्रिकरण आजको प्रमुख समस्या हो । पूर्वाधार विकासको सवालमा नागरिकका केही अपेक्षा छन् । यातायातको कुरा, विद्युतको कुरा, खानेपानी र सञ्चारको विषयमा नै नागरिकको अपेक्षा रहेको छ ।

नागरिकले कहिलेकाँही विद्रोह पनि गर्दछन् । विद्रोह गर्ने नागरिकको अधिकार हो । यो भनेर जहाँ पनि विद्रोह बोल्नुपर्छ भन्ने छैन । विद्रोह एउटा हदसम्म मात्रै बोल्ने हो । सधै विद्रोहको सुत्र काम लाग्दैन । सधै विद्रोह गर्दछु भनेर चल्दैन । विद्रोह गर्नका लागि परिवेश मिल्नुपर्छ । विद्रोह गर्नका समय परिस्थिती अनुकुल हुनुपर्छ । अधिकार प्राप्तीका लागि आवाज उठाउनु भनेको विद्रोह गर्नु होइन । अधिकार प्राप्तीका लागि आवाज उठाउनु भनेको अधिकार नपाएकाहरुलाई अधिकार सम्पन्न बनाउनु हो । नागरिकका आवाज दवाउन खोजिएको अवस्थामा विद्रोह हुन्छ । यस्तो बेला विद्रोह गर्नु नागरिकको अधिकारको कुरा हो । नागरिकले खोजेका अपेक्षा पुरा गर्नु राज्यको दायित्व हो । मुलतः स्वास्थ्यको विषयलाई राज्यले पहिलो दायित्वका रुपमा राख्नुपर्छ । यसपछि शिक्षाको कुरामा जोड दिनुपर्छ । स्वास्थ्य र शिक्षा पछि नागरिकसंग बासको अधिकार हुनुपर्छ । गास बास र कपास मानिसका आधारभूत आवश्यकता हुन भन्ने कुरा सवैलाई थाहा भएको कुरा हो । अहिले नागरिकले जे अपेक्षा गरिरहेका छन् त्यो भन्दा ठूलो होइन जस्तो लाग्छ । नागरिकले गरेको अपेक्षाको मापन गर्ने न कुनै निकाय छ । न कुनै संयन्त्र छ । नागरिकले आफ्नो अधिकार प्राप्तीका लागि आवाज उठाउँछन भने त्यस्तो बेलामा आवाजको सुनुवाई गरिनुपर्छ । नागरिक भन्दा माथि कोही छैन् ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार