छबि पुरी /राप्ती पोष्ट
घोराही, भदौ । रोजगार होस या अध्ययनका लागि नै किन नहोस नेपालबाट विदेश जाने क्रम बढेको छ । संयुक्त परिवार अहिले अहिले एकल परिवारमा सिमित बन्दै गएको छ । समाज अझ व्यक्ति विशेषमा सिमित हुन थालेको छ । बुवाआमाले हुर्काए बढाएका सन्तान आफ्नो भविष्य खोज्न देश छाड्ने क्रम बढेको छ । कतिपय देशमै रोजगारी गर्ने गरेपनि उनीहरुमध्ये केही घरभन्दा बाहिर बस्छन् । जसले गर्दा बुढ्यौली जीवन सुखमयी, स्वस्थ एवं सम्मानित रुपमा बिताउन पाउनुपर्ने नेपाली समाज भौतिकवाद उन्मुख हुँदै गएको छ ।
भौतिकवादमा अघि बढेको नेपाली समाज आर्थिक सुखको लागि दौड्दा आफ्नो जीवनको अस्तित्व दिनेहरुबाट टाढिँदा बुढ्यौलीमा एक्लै बस्नु पर्ने अवस्थामा पुग्न थालेका छन् । घरमा जीवनका कैयौँ बसन्त कटाई सकेका र जीवनका कैयौँ आयाम र भोगाईबाट पैठेजोरी खेलेर हुर्के बढेका, सुखदुःख झेलेका उनै अनुहार जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सेरोफेरोमा बिताउने अभिलाषा राख्नेहरु मध्ये सबैको आकांक्षा पूरा हुन नसकेका समाजमा प्रतिबिम्वले प्रष्ट पार्छ । पछिल्लो पाँच दशकमा ज्येष्ठ नागरिकको संख्या पाँच गुणा बढेको तथ्यांकले देखाउँछ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार दाङबाट विदेश गएका कुल ५३ हजार एक सय ५६ मध्ये सबैभन्दा बढी ३९ प्रतिशत व्यक्ति भारत भएका छन् । दाङबासीको दोस्रो गन्तव्य स्थलको रुपमा साउदी अरब, कुवेत, कतार, युएईलगायत मध्यपूर्वका देश रहेका छन् । यसैगरी, तेस्रो गन्तव्य स्थलका रुपमा मलेसिया, सिंगापुर जस्त आसियान देशहरु रहेका छन् । चौथो गन्तव्य स्थलका रुपमा अमेरिका, यूरोप, प्यासिफिक देश रहेका छन् ।
दाङका स्थानीय तहमा सबैभन्दा धेरै घोराहीबाट ३४ हजार चार सय ५२ जना विदेशीएका छन् भने सबैभन्दा कम राजपुरबाट दुई हजार आठ सय १४ जना विदेश गएका छन् । यो अवस्था राष्ट्रिय जनगणना २०६८ मा दाङबाट विदेश गएकाको जनसंख्या ४३ हजार एक सय ६० रहेको थियो । यसरी, रोजगारीको सिल सिलामा विदेशिने क्रम बढेका बेला घरमा बस्ने उनका आश्रित परिवार, जेष्ठ नागरिकलाई समस्या हुने गरेको छ ।
जिल्लामा ६० वर्षभन्दा माथि उमेर समुहको जनसंख्या ३२ हजार बढी छ । यति मात्रै होईन, आर्थिक वर्ष २०८०–०८१ मा देशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेशिनेको संख्या सात लाख ४१ हजार दुईसय ९७ रहेको छ । यो संख्या बढ्दै गएको छ । विदेशिनेको संख्या बढ्दै जाँदा एकल परिवार रहेको समाजमा जेष्ठ नागरिकको घरमा उपस्थिती देखिने गरेको छ । दाङबाट मात्रै १३ हजार बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । अहिले घरमा महिला बालबालिका र जेष्ठ नागरिक बाहेक युवाहरु पाउन मुस्किल हुन थालेको छ ।
जेष्ठ नागरिकलाई स्याहार्ने सबै घरमा पर्याप्त छैन । जसले गर्दा उनीहरु समस्यामा पर्ने गरेका छन् । घरमा युवा अनुहार पाउन तपस्या नै गर्नुपर्ने अवस्था आउन लागेको घोराही १५ का ७७ वर्षीय रुद्रबहादुर थापाको भनाई छ । ‘अहिले हामी जस्तालाई अरुले स्याहार गर्लान् भन्ने बेलामा आफुले आफैलाई अनि सिंगो घरको पनि हेरचाह गर्नुपर्ने बाध्यता छ’ उहाँले देखेसो पोख्नुभयो ।
थापाका छोराबुहारी रोजगारी र कामको सिलसिलामा बाहिर बस्छन् । ‘के गर्नु, काम त गर्नुपर्यो, घरमा बसेर मात्रै नपुग्ने, काममा बाहिर निस्कँदा घरको सबै जिम्मेवारी आफुमाथि आर्य लागेको छ’ उहाँले भन्नुभयो । जीवनको हरेक याम झेलेर अरुको सहारामा बाँच्ने अवस्थामा पुगेकाहरु माथि समस्या आईलाग्नु अहिलेको वर्तमान तस्वीर रहेको तीतो अनुभव उहाँले सुनाउनुभयो ।
लेखे पढेका कामको सिलसिलामा जिल्ला बाहिर बस्छन्, पेशा रोजगारका लागि आमाबुवाबाट टाढा हुनुपर्ने अवस्था छ । कोही रोजगारीका लागि विदेशिएका कारण घरको सच्चा पहरेदार वृद्ध हुनुपर्ने बाध्यता रहेको छ । ‘घर हेर्दा बंगला छ तर के गर्नु म र एक जना नाति बस्छौँ’, ४ तले बडेमानको घर देखाउँदै घोराही १४ की रतीकुमारी बुढाले दुखका सुस्केरा निकाल्दै भन्नुभयो, ‘छोरा बुहारी विदेश बस्छन्, उनीहरुको संसार उतै छ, मेरो जीवन यहीँ बित्यो, कसरी अन्त जानु र ? घरले जा वनले आईज भन्ने अवस्थामा पनि एक्लो जीवन बिताउनु पर्ने अहिलेको यो अवस्था छ, यो मेरो मात्रै होईन धेरैलाई आई लागेको छ ।’
उसो त तथ्यांकले ज्येष्ठ नागरिकको वृद्धिदर शहरको तुलना पहाडमा अझ बढी देखाएको छ । आन्तरिक विस्थापन, बसाइँसराइ, सामाजिक द्वन्द्व आधुनिकीकरण लगायतका कारण यस्तो देखिएको जानकारहरु बताउँछन् । पहाडी जिल्लामा भन्दा शहरमा ज्येष्ठ नागरिक संख्या कम हुनुले रोजगार तथा पढाइका लागि शहरमा युवा थुप्रिएको तथ्यांकले देखाउँछ । गाउँका युवाहरु रोजगारीका लागि खाडीमा जाने, गाउँघरमा वृद्धवृद्धा, महिला, बालबालिका मात्रै बस्नु पर्ने बाध्यता छ ।
यो अवस्थामा अरुले उनको जीवन धान्ने बेलामा आफुले घर धान्ने अवस्था आउनु समाजको वर्तमान परिवेश र घटनाक्रमको उपज पनि कारक मानिन्छ । पछिल्लो समय गाउँघरमा जीवनको उत्तरार्धमा पुगेका अधिकांश वृद्धवृद्धाको भरमा घर चलेको छ ।
मन भुलाउने माध्यम दिवा सेवा केन्द्र
ज्येष्ठ नागरिकको संख्या वृद्धिसँगै उनीहरुको व्यवस्थापन राम्रो नहँुदा बुढ्यौली सकसपूर्ण हुन थालेको धेरैको अनुभव छ । डाँडामाथिका घाम जस्तै भएकाहरुले उचित गास, बास, रेखदेख, औषधोपचारका लागि जीवन संघर्ष गर्नुपर्ने अवस्था आएको भन्दै भोलिको भयावह प्रति बेलैमा संवेदनशील बन्न सुझाउँछन् । अहिलेको स्थानीय सरकारले जेष्ठ नागरिकका लागि विभिन्न खालका कार्यक्रम ल्याए पनि यो घरपरिवारको माया, स्नेह सरह हुन सक्दैन ।
अहिले वडा वडामा खुलेका दिवा सेवा केन्द्रले दिनभर मन भुलाउने माध्यम बनेपनि साँझ, राति, बिहानको दैनिकी आखिर एक्लो घरमा एक्लो शरीर लिएर भारी मन बनाएर बस्नुको विकल्प नरहेको उनीहरुको भोगाई छ । घरमा बुढो रोगी शरीर लिएर एक्लै दैनिकी गुजारा गर्दाको पीडा शब्दमा भन्न सक्ने अवस्था छैन, परिवारबाट टाढिएका अधिकांश जेष्ठ नागरिकहरुले यस्तै साझा आवाज व्यक्त गर्ने गरेका छन् ।
स्थानीय सरकारले जेष्ठ नागरिकहरुका लागि दिवा सेवा केन्द्र संचालनमा ल्याएपछि केही राहत महसुस गरेको उनीहरुको अनुभव छ । राति निन्द्रा लाग्दैन, कमसेकम दिउँसो भर मन भुलाउने ठाउँ बनेको छ । सुखदुख साट्ने मेलो भएको छ । यसले मन बहकिन कम भएको जेष्ठ नागरिकहरु बताउँछन् ।