१६ प्रतिशत किशोरी २० वर्ष नपुग्दै ‘आमा’ बन्छन
छवि पुरी /राप्ती पोष्ट
घोराही, भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ की शोभा थापा (नाम परिवर्तन) ले पनि १५ वर्षको उमेरमै भागेर विवाह गरिन् । ८ कक्षा पढ्दै गरेकी उनी विवाह गरेको केही महिनामै गर्भवती भइन् । उमेर सानो भएको भन्दै उनले श्रीमानसँग गर्भपतनको प्रस्ताव राखिन् ।
तर, परिवारले पहिलो सन्तान खेर फालेमा अर्को सन्तान नबस्ने डर हुन्छ भनेर गर्भपतन गर्न दिएनन् । पहिलो सन्तान खेर फालेमा जीवनभर अर्को सन्तान नहुने हो कि भन्ने डरले बच्चा राखिन् । गर्भ ६ महिनाको भएपछि एक दिन एक्कासि रगत बग्न थाल्यो र अस्पताल पुग्दा नपुग्दै बाटोमै बच्चा खेर गयो ।
तुलसीपुर ६ की सुनिता रोका (नाम परिवर्तन) को अवस्था पनि उस्तै छ । १७ वर्षको उमेरमा विवाह गरेकी कविताका अहिले २ सन्तान छन् । २१ मा लागेकी कविताले दुई छोराछोरी जन्माई सकेकी छिन् । श्रीमान रोजगारीको सिलसिलामा देश बाहिर छन् । कलिलै उमेरमा विवाह गरेकी कविताका सन्तान हुकिदै गएपनि प्रजनन स्वास्थ्यमा असर गरेको छ । अहिले उनलाई स्वास्थ्यमा असर गरेकाले भारी काम गर्न मिल्दैन । यौन तथा प्रजनन् स्वास्थ्यमा असर गरेकाले डाक्टरले भारी काम गर्न मिल्दैन भनेपछि अहिले उहाँलाई समस्या भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १३ की रुपा बिक (नाम परिवर्तन) कक्षा ७ मा पढ्दापढ्दै एक युवकसँग माया प्रेम भएपछि भागेर विहे गरिन् । विहे भएको २ वर्षमै १६ वर्षको उमेरमा छोरा जन्मियो । पढ्ने लेख्ने कलिलो उमेरमा भागी विहे गरेर छोरा जन्माएपछि रुपाको दैनिकी फेरियो । सुत्केरी हुँदा मनकलीलाई निकै सास्ती भयो । उमेर नपुग्दै गर्भवती भएकी उनलाई विवाह के हो ? परिवारको जिम्मेवारी के हो ? परिवार योजना कसरी बनाउने केही थाहा थिएन । तर, १६ वर्षमै आमा बनेपछि सबै जिम्मेवारीको बोझ एकै पटक थोपरिएको छ ।
काखमा कच्चा हुर्किरहे पनि रुपाको मनमा बेचैन छ । कारण, श्रीमानले पछिल्लो समय गर्ने गलत व्यवहार हो । श्रीमानले घरमा समय नदिने, बाहिर हिड्ने, गलत संगत गरेर अरुको कुरा सुन्ने अवस्था बनेपछि रुपाका लागि व्यवहारिक जीवन असहज बनेको छ । समाजमा उमेर नपुग्दै अभिभावकको मन्जुरी बिना भागेर विवाह गर्ने क्रम पछिल्लो समय बढेको छ । पहिले–पहिले अभिभावकले नै उमेर नपुग्दै छोराछोरीको विवाह गर्ने चलन थियो । अहिले यो क्रम घटेपनि किशोर उमेरमा आफु खुशी विवाह गर्ने क्रम रोक्न चुनौति देखिएको छ । उमेर नपुग्दै चाँडो विवाह गर्ने र २० वर्षभित्रमै आमा बन्ने क्रम पनि बढेको पाईएको छ । शारिरीक, मानसिक र संवेगात्मक विकास हुने अवस्थामै रहेको बेला किशोरीहरु आमा बन्दा उनीहरुको विभिन्न पक्षमा असर पर्ने गरेको छ ।
स्वास्थ्य कार्यालय दाङको आर्थिक वर्ष २०८०–०८१ को तथ्यांकले पनि २० वर्ष मुनिका गर्भवतीले संस्थागत स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनेको संख्या अत्यधिक रहेको देखाएको छ । कुल गर्भवती हुनेको संख्या हेर्दा जिल्लामा १६ प्रतिशत गर्भवती २० वर्षमुनिका रहेका छन् । जिल्लामा गत आर्थिक वर्षमा सबैभन्दा धेरै बबईमा २० वर्षमुनिका गर्भवतीले बच्चा जन्माएका छन् । बबईमा ४० प्रतिशत गर्भवती २० वर्ष मुनिका रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।
यसैगरी, बंगलाचुली गाउँपालिकामा २९ प्रतिशत, राजपुर गाउँपालिकामा २३ प्रतिशत, गढवा गाउँपालिकामा १७ प्रतिशत, राप्ती गाउँपालिकामा १६ प्रतिशत, घोराही, तुलसीपुर उपमहानगरपालिकामा समान १ ५–१५ प्रतिशत, शान्तिनगर गाउँपालिकामा १३ प्रतिशत, दंगीशरण गाउँपालिका र लमही नगरपालिकामा समान १२–१२ प्रतिशत गर्भवती २० वर्ष मुनिका रहेको पाईएको स्वास्थ्य कार्यालयकी पब्लिक नर्सिङ छ ।
स्थानीय तह, सरोकार निकायले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेतना फैलाउने काम गर्दै आएका छन् । सरकारले बिहेबारी बीस वर्ष पारीको नारालाई रटान लगाई रहेकोे छ । तर, व्यवहारिक कार्यान्वयनमा समस्या देखिएको छ । नेपालको मुलुकी देवानी संहिता २०७४ अनुसार २० वर्ष नपुगी विवाह गर्न नपाइने उल्लेख छ । तर, व्यवहारमा लागू छैन । कानुनले विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको संख्या उल्लेखनीय रुपमा घट्न सकेको छैन । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ (एनडीएचएस) को तथ्यांक अनुसार गएको पाँच वर्षमा कम उमेरमा सन्तान जन्माउने किशोरीको संख्या ३ प्रतिशत मात्रै घटेको छ ।
२० वर्ष उमेर नपुगी गरिने विवाहलाई कानूनी रूपमा अपराध मानिएको छ । तर बालविवाह समाजमा अझै रोकिन सकेको छैन । दाङमा पनि बालविवाह न्यूनीकरणका लागि थुप्रै प्रयास भएपनि बालविवाहको भित्रभित्रै हुने गरेको छ । सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले नेपालमा १४ प्रतिशत अर्थात १५ देखि १९ वर्षका किशोरी २० वर्ष नपुग्दै गर्भवती हुने गरेको देखाएको छ । यसअघि सन् २०१६ को अध्ययनले नेपालमा १७ प्रतिशत किशोरी कम उमेरमै गर्भवती हुने गरेको देखाएको थियो ।
अहिलेको तथ्यांक अनुसार कम उमेरमा गर्भवती हुनेको संख्या नेपालभर १४ प्रतिशत रहे पनि कर्णाली र मधेस प्रदेशमा सबैभन्दा धेरै छ । कर्णालीमा अझै पनि २१ र मधेस प्रदेशमा २० प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेका छन् । गण्डकी, प्रदेश १ र सुदूरपश्चिममा १३–१३, लुम्बिनीमा १० र बाग्मतीमा ८ प्रतिशत किशोरी कम उमेरमै गर्भवती हुने गरेको उक्त अध्ययनमा उल्लेख छ । सन् २०१६ मा प्रदेश १ मा १५ दशमलव ५, मधेश प्रदेशमा २७ दशमलव ३, बागमती प्रदेशमा १० दशमलव १, गण्डकी प्रदेशमा १३ दशमलव ९, लुम्बिनी प्रदेशमा १३ दशमलव४, कर्णाली प्रदेशमा १८ दशमलव ८ र सुदूरपश्चिम प्रदेशमा १६ दशमलव १ प्रतिशत किशोरी २० वर्ष नपुग्दै गर्भवती हुने गरेका थिए ।
२० वर्ष नपुग्दै बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर गर्ने चिकित्सक बताउँछन् । नेपालमा हरेक पाँच जना सुत्केरीमध्ये १ जना कम उमेरको हुने प्रसूति गृहको तथ्यांकले देखाएको छ । ‘सानो उमेरमै गर्भवती हुँदा किशोरीहरु गर्भपतनको बाटोमा लाग्छन्, जसले गर्दा पैसा त खर्च हुन्छ नै, मानसिक तनाव पनि हुन्छ । गर्भपतन नहुने अवस्थामा किशोरीहरु मन नलागी–नलागी बच्चा जन्माउने स्थितिमा पुग्छन् । त्यसले महिला र बच्चा दुवैको स्वास्थ्यमा फरक पर्ने गरेको छ । पहिले त सकेसम्म कम उमेरमा विवाह गर्न भएन । कानुनले विवाह गर्ने उमेर तोकेको छ । तर पनि सानै उमेरमा आफूखुसी विवाह गर्नेहरुलाई बच्चा चाहिँ उमेर पुगेपछि जन्माउनुपर्छ भनेर सिकाउनुपने नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रवन्धक बसन्त खनाल बताउनुहुन्छ ।
उमेर नपुग्दै बच्चा जन्माउनेको संख्या कम गराउन सरकारले ‘बिहेवारी बीस वर्ष पारी’ र ‘पहिलो बच्चा ढिला’ को अवधारणा ल्याएको उहाँको भनाई छ । प्रजनन स्वास्थ्य र परिवार नियोजनको विषयमा साँघुरो बुझाई, अन्धविश्वास र भ्रम भएकाले पनि कम उमेरमै गर्भवती हुनेको संख्या घट्न नसकेको हुँदा सचेतनामा विशेष ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । ‘किशोर–किशोरीलाई परिवार नियोजन सम्बन्धी कार्यक्रमको प्रस्ताव गर्दा सम्बन्धित निकायका पदाधिकारीहरु नै हामीले बच्चालाई छाडा बनाउन सकिन्न भन्दै कुरा नसुन्ने नबुझ्ने परिपाटी छ’, उहाँले भन्नुभयो, ‘स्वास्थ्य शिविरलगायत यौन तथा प्रजनन स्वास्थ्यका कार्यक्रम लगेर गाउँघरमा पुग्दा नागरिकको सोँचको दायरा बढ्न नसकेको अनुभव हुने गरेको छ ।’
पछिल्लो तथ्यांकअनुसार औपचारिक शिक्षा हासिल नगरेका ३३ प्रतिशत किशोरी उमेर नै नपुगी गर्भवती हुन्छन् ।
यो समस्या घटाउन किशोर–किशोरीलाई समयमा नै गर्भ कसरी बस्छ, के–के कुरामा ध्यान दिने, परिवार नियोजनका साधनहरु कसरी प्रयोग गर्ने लगायतका कुरा सिकाउनुपर्ने विज्ञहरुको जोड छ । व्यक्तिगत रुपमा जनचेतनाको कमीले गर्दा बालविवाह र त्यसपछि उमेर नपुग्दै आमा बन्ने समस्या उल्लेख्य रुपमा घट्न सकिरहेको छैन । तथ्यांक अनुसार ९९ प्रतिशत मानिसलाई परिवार नियोजनको बारेमा थाहा छ तर प्रयोग भने ५० प्रतिशतले पनि गर्दैनन् । सरकारले अहिले महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा कण्डम, पिल्स र ४८ घण्टे आकस्मिक गर्भनिरोधक चक्की निःशुल्क वितरण गरिरहेको छ । तर पनि नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको पछिल्लो तथ्यांकअनुसार परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको संख्यामा सुधार आउन सकेको छैन । परम्परागत विधि अपनाउनेको संख्या भने बढिरहेको तथ्यांकले देखाएको छ ।
उक्त तथ्यांक अनुसार ४२ दशमलव ७ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको देखाएको छ भने १४ दशमलव ६ प्रतिशतले परम्परागत विधि अपनाउँछन् । पाँच वर्ष अगाडि आधुनिक साधन प्रयोग गर्ने ४२ दशमलव ८ प्रतिशत थिए भने परम्परागत विधि अपनाउने ९ दशमलव ८ प्रतिशत थिए । सरकारले लामो समयदेखि निःशुल्क गरेको र सहज पहुँच भएको कण्डम जम्मा ४ दशमलव ५ प्रतिशतले मात्रै प्रयोग गर्ने गरेको तथ्यांकले देखाउँछ । पाँच वर्षअघि कण्डम प्रयोग गर्नेको संख्या ४ दशमलव २ प्रतिशत थियो ।