spot_img
spot_img

धारापानीको महायज्ञ समापन, लाखौ भक्तजनको सहभागीता

राप्ती पोष्ट
घोराही, भदौ ।

दाङको घोराही ५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा जारी एक महिने शिव महापुराण सत्संग ज्ञान महायज्ञ एवम् श्रृंगारिक महाआरती समापन गरिएको छ । मन्दिर व्यवस्थापन समिति अध्यक्ष एवम् महायज्ञ मूल समारोह समिति संयोजक गणेशकुमार अधिकारीको अध्यक्षता तथा प्रमुख कथावाचक पण्डित कोमल उपाध्यायको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी महायज्ञ समापन गरिएको हो ।

साउन १ गतेदेखि शुरु भएको महायज्ञ एवम महाआरतीमा महिनाभर करीव सवा करोड भक्तजनले महायज्ञसँगै महाआरती दर्शन गरेको आयोजकले जनाएको छ ।

सनातन धर्म संरक्षणसँगै धार्मिक जागरण र पर्यटन विकासका लागि आयोजित महायज्ञ सफल बनाउन सहयोग गर्नुहुने सबै भक्तजन, सरोकार निकाय सबैमा आयोजक एवम् मन्दिर व्यवस्थापन समितिले धन्यवाद व्यक्त गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख कथावाचक पण्डित कोमल उपाध्यायले पाँच पाण्डवको कथासँग प्रत्यक्ष जोडिएको पाण्डवेश्वर धाम नेपालमा पशुपतिनाथ पछिको ठूलो धार्मिक केन्द्र रहेकाले यसको प्रचार प्रसार र विकासमा सबै लाग्नुपर्ने बताउनुभयो ।

तपोभूमिका रुपमा रहेको यो क्षेत्र सबैको साझा सम्पत्ति रहेकाले आगामी दिनको सबैको साथ सहयोग र विकासमा हातेमालो आवश्यक रहेको बताउनुभयो ।
एक महिने महायज्ञ एवम् महाआरतीको माध्यमबाट धार्मिक जागरण फैलाउने काम भएको भन्दै यसबाट धेरैले जानकारी पाउन सफल भएको विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुराम आचार्य, वडा नम्बर ५ का वडा सदस्य भूमबहादुर गिरी, विभिन्न उपसमितिका संयोजकहरुले महायज्ञ संचालकका क्रममा भएका र सहयोग सदभाव बारे बोल्नुभएको थियो । सो अवसरमा महायज्ञ सफल बनाउन सहयोग गर्नुभएकाहरुलाई प्रमाण पत्रसहित सम्मान गरिएको थियो । आयोजकले महायज्ञको आयव्ययसहितको विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ ।

मन्दिर व्यवस्थापन समिति उपाध्यक्ष शंकर गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण भरतमणि पौडेलले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार