spot_img
spot_img

पत्रकारिता मात्रै होइन हरेक पेशामा नैतिकताको समस्या छ ।

अन्तर्वार्ता ः

 

 

दुर्गालाल के. सी.
अध्यक्ष
नेपाल पत्रकार महासंघ, दाङ

नेपाल पत्रकार महासंघ दाङ देशभरकै उत्कृष्ठ शाखाका रुपमा यसै बर्ष प्रदेश र केन्द्रीय समितिबाट सम्मानित भयो । नेपाल पत्रकार महासंघ दाङ शाखामा दुर्गालाल केसी आए लगत्तै मुलुकमा कोरोनाको दोस्रो लहर आयो । जसले सवैलाई आतङ्कीत बनायो । त्यो समयमा महासंघमा आइसोलेसन बनाउने र कोरोनाले थलिएका पत्रकारलाई घरमै पुगेर भेटघाट गर्ने जस्ता रचनात्मक कार्य गरेर चर्चामा आउनुभएका केसीको नेतृत्वले देशमै पहिलोपटक मिडिया साक्षरता र मिडिया महोत्सव जस्ता रचनात्मक कार्यक्रम ग¥यो । सदस्यता शुद्धिकरण, पत्रकार आचारसंहिता पालना र संस्थागत विकासका लागि योजनावद्ध काम गरेको नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष केसी संग कार्यकाल सकिदै गर्दा पत्रकार विवेक खड्काले गर्नुभएको कुराकानी ः (सम्पादक)

नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षका रुपमा तीन बर्षे कार्यकाललाई कसरी सँझनुहुन्छ ?
तीन बर्षअघि हाम्रो कार्यसमिति निर्वाचित भएर आए लगत्तै देशमा कोरोना संक्रमणको दोस्रो चरणको महामारी व्यापकरुपमा फैलियो । केही समयपछि लकडाउन नै भयो । अस्पताल बिरामीले भरिभराउ थिए, बिरामी राख्ने ठाउँ र अक्सिजनको अभाव बढिरहेको थियो । त्यस्तो बेला पत्रकार महासंघको सभा हलमै १२ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरियो । पत्रकारहरुलाई उपचारमा समस्या भएपछि बिभिन्न क्षेत्रबाट सहयोग संकलन गरी चार लाख ५० हजार रुपयाँको पत्रकार सहायता कोष समेत स्थापना गरियो । जसबाट पत्रकारहरुको उपचारमा सहयोग गरियो । उक्त कोषबाट अहिले पनि आपतमा परेका पत्रकारलाई सहायता दिने गरिएको छ । कोरोना महामारीको जोखिमका बीच पनि कोरोना संक्रमित पत्रकारका घरघरमै पुगेर स्वास्थ्य अबस्था बुझ्ने, स्वास्थ्यलाभको कामना गर्ने र पौष्टिक आहार प्रदान गर्ने काम गरियो ।
यसरी कठिनाई र चुनौतीका बीच कार्यकाल शुरु भए पनि तीन बर्षे कार्ययोजना बनाएर सोही अनुसार धेरै महत्वपूर्ण कामहरु सम्पन्न गरेका छौं । पत्रकारका दुःखसुख बुझ्ने, अभिभावकत्व प्रदान गर्ने र संकटमा पत्रकारको साथमा रहने काममा हामी सँधै तत्पर रह्यौं । यसका साथै पत्रकारहरुको क्षमता विकासका लागि आधारभूतदेखि, बिधागत र एडभान्स तहका तालिमहरु सञ्चालन ग¥यौं । दाङ शाखाको वेवसाइट सञ्चालन गरी सूचना प्रबिधिको युगसँग दौडने काम गरेका छौं । पत्रकारहरुलाई खोजमुलक पत्रकारिताका लागि लेखनबृती प्रदान गर्ने, बिभिन्न अवसरहरु सिर्जना गर्ने, श्रमजीवीका पक्षमा पैरवी गर्ने र पत्रकारहरुको क्षमता विकासका कामहरु निरन्तर गरिरह्यौं ।

नेपाल पत्रकार महासंघ दाङ उत्कृष्ट शाखाका रुपमा सम्मानित भयो । यो कसरी सम्भव भयो ?
पत्रकार महासंघ लुम्बिनी प्रदेशले मिडिया साक्षरता, पत्रकार आचारसंहिता पालना लगाएत पत्रकारिताको विकास र प्रभावकारी सञ्चारमा उत्कृष्ट भूमिका खेलेको र शाखाको क्रियाशिलता प्रदेशमै उत्कृष्ट रहेको भन्दै प्रदेशकै उत्कृष्ट शाखाका रुपमा सम्मान गरेको हो । पत्रकार महासंघ केन्द्रीय समितिले नेपाली पत्रकारिता क्षेत्रका ज्वलन्त र बहुआयामिक बिषयहरुमा अन्तक्र्रियात्मक बहसको रुपमा ‘मिडिया महोत्सव’ सम्पन्न गर्नुका साथै महासंघको संस्थागत विकास, पत्रकारिता क्षेत्र तथा श्रमजीवी पत्रकारहरुको हित प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको हो ।

कोरोना महामारीमा पहिलोपटक अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना, पत्रकारहरुको क्षमता विकास, महासंघको संस्थागत विकास, पत्रकार आचारसंहिता पालना, पहिलोपटक मिडिया साक्षरता अभियानको शुरुवात र मिडिया महोत्सव महासंघ दाङलाई उत्कृष्ट शाखा बनाउने मुख्य आधार हुन् । पत्रकार महासंघ दाङ शाखाले देशमै पहिलोपटक नागरिकलाई मिडिया बुझाउन मिडिया साक्षरता अभियान थालेको थियो । जसलाई दाङको नमूना मोडेल मान्दै प्रदेश र केन्द्रीय समितिले समेत अभियानका रुपमा सञ्चालन गरेका थिए । यसका साथै दाङमा पहिलोपटक राष्ट्रिय स्तरको मिडिया महोत्सव आयोजना गरी संघीयताका साथै पत्रकारिताका समसामयीक बिषयमा बहस गरिएको थियो ।

मिडिया महोत्सवमा राष्ट्रियस्तरका मिडिया बिज्ञ र सरोकारवालाहरुको सहभागितामा संघीयता, विकास र मिडिया, मिडियाको सामथ्र्य र भबिस्य, मिडियामा समावेशी सवाल, नैतिकताको कसीमा मिडिया, कानून कार्यान्वयनमा मिडियाको भूमिका, न्यू मिडिया र परम्परागत मिडियाको अन्तरसम्बन्ध, पूर्वीय दर्शनको प्रवद्र्धनमा मिडियाको भूमिका जस्ता बिषयमा बहस गरी देशभरका मिडियालाई मार्गदर्शन गर्ने काम गरिएको छ । हाम्रो कार्यक्रमको प्रभाव राम्रो देखिएपछि अहिले बिभिन्न जिल्ला शाखाले यस्तै प्रकारका मिडिया सम्मेलनहरु आयोजना गरिरहेका छन् । यसले पनि हामीले शुरु गरेको मिडिया महोत्सवको महत्व झल्काउँछ ।

महासंघ दाङ शाखाले पत्रकार महासंघ केन्द्रीय समितिले थालेको सदस्यता शुद्धिकरण अभियानको पूर्ण पालना, पत्रकारहरुको क्षमता विकास तालिम सञ्चालन, कोरोना महामारीका बेला पत्रकारहरुको उपचार व्यवस्थापनका साथै पत्रकारहरुलाई अभिभावकत्व प्रदान, पत्रकारहरुलाई फेलोसिप प्रदान, मिडिया लाइब्रेरी तथा रिसर्च सेन्टर स्थापना र महासंघको संस्थागत विकास लगायतमा नमूना कार्य गरेको छ । पत्रकार महासंघ लुम्बिनी प्रदेश र केन्द्रीय समितिले दाङ शाखाले गरेका यीनै कामको आधारमा निष्पक्ष मुल्यांकन गरी उत्कृष्ट शाखाका रुपमा सम्मान गरेका हुन् ।

सदस्यता शुद्धिकरणमा यहाँले आफ्नै नाम हटाउन तयार भएर नमूना काम गर्नुभएको भनेर देशभर चर्चा भएको थियो । किन यस्तो गर्नुभएको ?
म पत्रकार आचारसंहिता र पत्रकारिताको मूल्य मान्यताप्रति प्रतिबद्ध छु । पत्रकार महासंघ केन्द्रीय समितिले मापदण्ड तयार गरी सदस्यता शुद्धिकरण गर्न निर्देशन गरेपछि जिल्ला अध्यक्षका रुपमा मैले त्यसलाई पूर्णरुपमा पालना गर्नुपर्ने थियो । यो मेरो कर्तव्य थियो । त्यसकारण मैले मापदण्डमा उल्लेख भए अनुसार शुद्धिकरण अभियानमा पूर्णरुपमा काम गरें । मापदण्डमा अन्य पेशा पनि गर्ने पत्रकारको सदस्यता नविकरण नगर्ने प्रावधान थियो । जस अनुसार क्याम्पसमा प्राध्यापन गर्ने भएका कारण मेरो पनि सदस्यता शुद्धिकरण हुन जरुरी थियो । मैलो नैतिकता सम्झेर आफ्नो नाम पनि नविकरण नगर्ने सूचीमा राखें । अन्य पत्रकारहरुको पनि मापदण्ड अनुसार शुद्धिकरण गर्ने काम भयो । म अहिले पनि पत्रकारितामा क्रियाशिल छु । मेरो पत्रकारितामा प्रश्न उठ्ने अबस्था छैन तैपनि केन्द्रीय समितिले तयार पारेको मापदण्ड अक्षरशः पालना गरी मैले सदस्यता नविकरण नगर्ने निर्णय लिएको हुँ ।

सदस्यता शुद्धिकरणका बिषयमा विवाद भइरहेको छ । यसबारे यहाँको धारणा के छ ?
सदस्यता शुद्धिकरण मापदण्डमा केही त्रुटीहरु छन् तर पनि यो अभियान पत्रकारिता र पत्रकार महासंघको जीवनमा निकै महत्वपूर्ण छ । पत्रकारितामा सक्रिय नभएका, पत्रकारिता छोडेर अर्कै पेशामा आवद्ध भएका र विवादास्पद् काममा संलग्नहरुको शुद्धिकरण हुन आबश्यक छ । यसले पत्रकारिता क्षेत्रको गरिमा बढाउन सहयोग गर्छ तर अन्य काम गरेको कुरालाई मात्रै आधार मानेर सदस्यबाट हटाईनु हुँदैन । मूल कुरा कुनै व्यक्ती पत्रकारितामा क्रियाशिल छ की छैन, पत्रकार आचारसंहिता, मूल्य मान्यताको पालना गरेको छ की छैन, कुनै विवादास्पद् काममा संलग्न छ की छैन, राजनीतिक पार्टीको भूमिकामा छ की छैन, पत्रकारितालाई दुरुपयोग गरेको छ की छैन भन्ने जस्ता बिषयलाई आधार मानेर शुद्धिकरण गर्नुपर्छ ।
अर्को कुरा अहिले मिडियाले ठूलो आर्थिक संकटको सामना गरिरहेका छन् । ठूला भनिएका मिडिया हाउसहरु समेत पत्रकारलाई तलव दिन नसक्ने घोषणा गरिरहेका छन् । मिडियाहरु बन्द हुने, खुम्चिने क्रम बढ्दो छ । यस्तो बेला पत्रकारहरुलाई आफ्नो पेशा कसरी बचाउने भन्ने चिन्ता छ अर्थात पत्रकारिता मात्रै गरेर जीवन चलाउन सक्ने अबस्था छैन । पत्रकारहरुले आफ्नो विज्ञता अनुसारका अन्य कामहरु पनि गर्नुपर्ने अबस्था छ र गर्नु पनि पर्छ । पत्रकारिता भनेको २४ घण्टा पत्रकार हुँ भनेर हिड्ने काम मात्र होइन । खोजमुलक समाचार लेख्दा एउटै समाचार तयार पार्न महिनौं लाग्न सक्छ । अन्य काम गर्दागर्दै पनि खोज अनुसन्धानमुलक पत्रकारिता गर्न सकिन्छ ।
सदस्यता शुद्धिकरण मापदण्डले हरेक सदस्यले पत्रकारिता मात्रै गर्न प्रेरित गरेको छ जुन अहिलेको समयमा कठिन छ । पत्रकारिता मात्रैले समयमा तलव दिन सकेको छैन, जागिरको ग्यारेण्टी गरेको छैन, जिविका चलाउने आत्मबिश्वास दिएको छैन । यस्तो बेला वैकल्पिक पेशाहरु पनि अँगाल्दै पत्रकारितालाई जिवित राख्नुपर्ने बाध्यता छ । त्यसकारण शुद्धिकरण मापदण्ड जुन समयमाा आयो त्यो उपयुक्त समय भएन की भन्ने लाग्छ ।

पत्रकारितालाई दुरुपयोग गरेको छ की छैन भन्ने जस्ता बिषयलाई आधार मानेर शुद्धिकरण गर्नुपर्छ ।
पत्रकारहरुलाई आफ्नो पेशा कसरी बचाउने भन्ने चिन्ता छ ।
म गर्वका साथ भन्न सक्छु की हाम्रो कार्यकालमा हामीले संगठनको भागबण्डालाई पूर्णरुपमा अन्त्य गरेका छौं ।
नागरिकलाई मिडिया बुझाउने अभियानलाई व्यापक बनाएर नै यो अन्योल हटाउन सकिन्छ ।
कुन सही, कुन गलत भनेर आम नागरिकलाई छुट्याउन कठिन छ ।
हाम्रो कार्यक्रमको प्रभाव राम्रो देखिएपछि अहिले बिभिन्न जिल्ला शाखाले यस्तै प्रकारका मिडिया सम्मेलनहरु आयोजना गरिरहेका छन् ।

पत्रकार महासंघमा दलीय भागबण्डा अर्थात बिभिन्न संगठनको भागबण्डा खुब चलिरहेको हुन्छ । यहाँले यसलाई कसरी व्यवस्थापन गर्नुभयो ?
म गर्वका साथ भन्न सक्छु की हाम्रो कार्यकालमा हामीले संगठनको भागबण्डालाई पूर्णरुपमा अन्त्य गरेका छौं । हरेक काम गर्दा पत्रकार महासंघ र पत्रकारिताको नजरबाट काम गरेका छौं । कतै पनि संगठनहरुबीच भागबण्डा हुन दिएनौं । सदस्यता शुद्धिकरण, नयाँ सदस्यता वितरण, पुरस्कार वितरण, बिभिन्न अवसर प्रदान र जिम्मेवारी बाँडफाँड जस्ता काममा कुनै पनि राजनीतिक रंग दिइएन । पुरस्कार वितरणलाई बैज्ञानिक बिधिमा आधारित रहेर वितरण गरियो । प्रकाशित÷प्रसारित समाचार पेश गर्न लगाएर त्यसका आधारमा मूल्यांकन गरेर पुरस्कार वितरण गरिएको छ । व्यक्ती, संगठन र अन्य सम्बन्ध भन्दा पत्रकारिताको कर्मलाई आधार मानेर पुरस्कार दिने कामको शुरुवात गरिएको छ । अन्य काममा पनि कुनै राजनीति नगरी महासंघलाई साझा चरित्रको बनाउन हामी सफल भएका छौं ।

तपाईको कार्यकालमा पत्रकार महासंघको संस्थागत विकासमा के कस्ता उल्लेखनीय कामहरु भएका छन् ?
पत्रकार महासंघमा मिडिया लाइब्रेरी तथा रिसर्च सेन्टर स्थापना गरेका छौं । यसले पत्रकारितालाई खोजमुलक बनाउन र पत्रकारिताबारे अध्ययन, अनुसन्धान गर्न सघाउने छ । महासंघको बैठक हल व्यवस्थापन, पानी, सरसफाई व्यवस्थापन, वेवसाइट सञ्चालन, अक्षयकोष बृद्धि र व्यवस्थापन तथा कार्यालय व्यवस्थापनमा महत्वपूर्ण कामहरु गरेका छौं ।
पत्रकारितामा नैतिकता हराउँदै गएको छ भन्ने जनगुनासोमा यहाँको धारणा के छ ?
पत्रकारिता मात्रै होइन हरेक पेशामा नैतिकताको समस्या छ । त्यसको असर स्वभाविकरुपमा पत्रकारितामा पनि परेको होला तर एक÷दुई घटनालाई आधार मानेर सिंगो पत्रकारितालाई नै सामान्ययीकरण गर्न मिल्दैन । कमजोरी गर्नेहरुलाई बचाउनु पर्छ भन्ने पक्षमा हामी पनि छैनौं, सबै पत्रकार सही छन् भन्ने पक्षमा पनि छैनौं । हामीले आचारसंहिता उल्लंघन गर्ने, नैतिकतामा नरहने र पत्रकारिताको मूल्य मान्यता विपरित काम गर्ने पत्रकारहरुबारे छानविन गरी आबश्यक कार्वाही पनि गर्ने गरेका छौं । पत्रकारिताका नाममा मनपरी गर्ने छुट कसैलाई पनि छैन । यसले पत्रकारितालाई नैतिकवान बनाउन मद्धत गरेको छ । पत्रकारितामा नैतिकताको आबश्यकता र अबस्थाबारे हामीले मिडिया महोत्सवमा छुट्टै सत्र राखेर बहस गरेका छौं । त्यसकारण यो बिषय सँधै हाम्रो प्राथमिकतामा छ ।

पत्रकारिताका नाममा सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचनाहरु फैलाउने प्रवृति बढ्दो छ । यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?
सूचना प्रबिधिको विकासले सबैको हातमा सञ्चारका माध्यम पुगेका छन् । अहिले कुनै पनि नागरिकले सूचनाहरु सम्प्रेषण गर्न सक्छ तर सही सूचनाको परिक्षण गर्ने सवालमा भने सामाजिक सञ्जाल चुकिरहेका हुन्छन् । फेसबुक, युट्युव, एक्स, टिकटक लगायतका सामाजिक सञ्जालमा व्यक्ती व्यक्तीले सम्प्रेषण गर्ने सामग्रीमध्ये कुन सही, कुन गलत भनेर आम नागरिकलाई छुट्याउन कठिन छ । जसका कारण कतिपय भ्रमपूर्ण सूचनाको पछि मानिसहरु दौडिरहेका हुन्छन् । हामीले यही कुरालाई मध्यनजर गरी पत्रकार महासंघ दाङ शाखाबाट युट्युव र अनलाइन सञ्चालकहरुका लागि पत्रकारिता तालिम सञ्चालन गरेका थियौं जुन निकै प्रभावकारी पनि भएको थियो । धेरैले पत्रकारिताको मूल्य मान्यता नबुझेका कारण पनि जस्तो पायो त्यस्तै सामग्री पत्रकारिताका नाममा सामाजिक सञ्जालमा दिने गर्छन् । यसलाई पत्रकार महासंघ र सरकारका नियमनकारी निकाय मिलेर व्यवस्थापन गर्नुपर्छ ।

अहिले आम मानिसलाई कुन सही मिडिया, कुन गलत भनेर कसरी छुट्याउने भन्ने अन्योेल छ । यो अन्योल कसरी हटाउन सकिन्छ ?
यही कुरालाई मध्यनजर गरी हामीले दाङबाट मिडिया साक्षरता अभियानको शुरुवात गरेका हौं । यो अभियानले मिडिया चिन्न, सही र गलत समाचार थाहा पाउन, मूलधारका मिडिया र सामाजिक सञ्जालबीचको अन्तर बुझ्न सहयोग गरेको छ । यो मूलतः मिडिया बुझाउने अभियान हो । अहिलेको सन्दर्भमा यो नमूना र अति आबश्यक अभियान भएको महशुस गरी पत्रकार महासंघ केन्द्रीय समितिले यसलाई देशव्यापी अभियानका रुपमा सञ्चालन गर्नुपर्ने भनेको छ । त्यसकारण नागरिकलाई मिडिया बुझाउने अभियानलाई व्यापक बनाएर नै यो अन्योल हटाउन सकिन्छ ।

अन्तमा केही भन्नु छ ?
मलाई महत्व दिएर आफ्ना बिचार व्यक्त गर्ने अवसर दिनुभएकोमा यहाँ र यहाँको मिडियालाई धेरैधेरै धन्यवाद् दिन चाहन्छु । हामी सँधै अरुका बिचार र जानकारी सम्प्रेषण गर्नमै व्यस्त हुन्छौं । कहिलेकाहीं पत्रकारिता र पत्रकार महासंघका बारेमा पनि यसैगरी मिडियामा बहस र छलफल हुन जरुरी छ । अन्तमा म पत्रकार महासंघ दाङ शाखालाई उत्कृष्ट बनाउन भूमिका खेल्ने मेरो कार्यसमिति, सल्लाहकार, शुभेच्छुक, सहयोगी र शुभचिन्तकहरुप्रति आभार प्रकट गर्दछु ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img