शरद अधिकारी
नागरिक पहिलो अभियान नामक देशव्यापी अभियान सुरु भएको छ । मुलुकका ७७ वटै जिल्लामा गएर नागरिक अभियानले आफ्नो कार्यक्रम गरिरहेको छ । नागरिकलाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यताका साथ सुरु भएको यो अभियान कसरी अघि बढ्छ ? त्यो आगामी दिनले देखाउला । यहाँ यो लेखमा नागरिक अभियानका बारेमा चर्चा गर्न खोजिएको होइन । नेपालका नागरिकले पाइरहेको दुःखका बारेमा मात्रै चर्चा गर्न खोजिएको हो । नागरिक पहिलो अभियानलाई अघि बढाउनेहरु हिजोका दिनमा राजनीतिमा लागेका, सामाजिक क्षेत्रमा लागेकाहरु हुनुुहन्छ । राजनीतिक दलमा आवद्ध भएर हिजो जे परिवर्तनको आशा उहाँहरुले गर्नुभएको थियो त्यो पुरा हुन नसकेका कारण अहिले नागरिक पहिलो अभियान संचालन गर्नुभएको हो भने त्यो अभियान दवावका लागि सहि छ । फेरि दलका रुपमा अघि बढ्न खोजेको हो भने नेपालमा यसैपनि एक सय भन्दा बढी राजनीतिक दलहरु रहेका छन् । नेपालमा धेरै राजनीतिक दलको आवश्यकता छैन । क्षेत्रिय दलहरुले आफूलाई स्थापित गर्न नसक्ने रहेछन भन्ने देखिसकिएको छ । यसर्थ नागरिक अभियानका नाममा पुनः खोल्ने चाहना हो भने त्यो सफल हुँदैन । नागरिकका समस्याका बारेमा चिन्ता गर्दै अभियान संचालन गर्न खोजिएको हो भने त्यो स्वागतयोग्य कदम हो । स्वागतयोग्य कदममा सवैको साथ र समर्थन हुन्छ ।
नागरिकले व्यवस्था परिवर्तनका लागि आफूलाई आन्दोलनमा होमे । बर्गसंघर्षको भट्टीमा नागरिकहरु लागे । नेपालको इतिहासको कुरा गर्ने हो भने हजारौं बर्षदेखि राजतन्त्रको दवदवा रह्यो । राजतन्त्रको अन्त्य भएको धेरै भएको छैन । राजतन्त्र कुनै न कुनै रुपमा थियो । भुगोलका हिसावले सानो सानो क्षेत्रका राजाहरु थिए । छोराहरु छुट्टीदा राज्य दिने कुरा, सेवा गरेकाहरुलाई राज्य दिने कुरा होस या राज्य संचालनका लागि लडेर लिने कुरा नै थियो । नेपालमा भुरे टाकुर राजाहरुको संख्या निकै थियो । पहाडको टाकुरामा बसेर मन्दिरको आडमा सत्ता चलाउने चलन थियो । नेपालमा धेरै जसो शासकहरु पहाडको चुचुरोमा बस्ने गर्दथे । शत्रुले आक्रमण गर्न नसकोस भनेर सुरक्षित स्थान खोज्ने चलन थियो । विस्तारै यसमा परिवर्तन हुँदै आयो । एउटा राजाले अर्कोलाई बसमा पार्ने क्रम बढ्दै गयो । १७७९ मा जन्मिएका पृथ्वीनारायण शाह बावु नरभुपाल शाहको निधनपछि २० बर्षमा राजा हुने मौका पाए । त्यतिवेला नेपाल पूर्वदेखि पश्चिमसम्म स–साना राज्यहरूमा बाँडिएको थियो । त्यसअघि सानो क्षेत्र ओगटेर बसेका राजाहरुलाई बल वा कुटनीतिको मद्दतले पृथ्वीनारायण शाहले एकताको सुत्रमा बाँध्ने काम गरे । राजाको जेठो छोरा राजा हुने विगतको चलनलाई निरन्तरता दिंदै उनिपछि जेठा छोरा नै राजा हुने चलन चलाइयो । पृथ्वीनाराण शाहले यता राजकाज सम्हाल्दा विश्वमा एक हिसावले औद्योगिक क्रान्ती भइसकेको थियो । उद्योग धन्दाको विकास हुन थालिसकेको थियो । बैज्ञानिहरुले अनेकन आविश्कार गर्न थालिसकेका थिए । मानिसले गर्ने काम मेसिनले गर्ने चलन सुरु भइसकेको थियो । शाहवंशको शासन कालमा जे जस्ता बेथिती थिए । जे जस्ता समस्या थिए त्यहि समस्याको जगमा टेकेर नेपालमा राणाहरुको जहानिया शासन स्थापित भयो । शासन जस्को आएपछि नागरिकको लागि कुनै फरक भएन । जागिरेका रुपमा छिरेका राणाहरु पछि शासनमा आए । राजालाई बन्दी जस्तै बनाएर शासन गरे । श्री ५ राजाहरु थिए भने राणाहरुले आफूलाई श्री ३ का रुपमा घोषणा गरे । शक्तिका आडमा जे गर्न पनि सकिन्छ भन्ने पुरानै मान्यतालाई राणाहरुले अघि बढाए । शासकहरु कति क्रुर हुन्छन भन्ने कुरा यिनीहरुले पुष्टि गरे । कोतपर्वका नाममा भाइ भारदार काट्ने कुरा होस या भण्डारखालका पर्वका नाममा आतङ्क मच्चाउने कुरा नै किन नहोस सवै सम्भव भयो । एक सय चार बर्ष सम्म चलेको जहानिया शासनको विरुद्धमा लाग्दा गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथ मारिए । आजसम्म पनि हामीले नेपालको इतिहासका महान सहिदका रुपमा चार सहिदलाई सँझना गर्दछौं । राणाहरुले राम्रो गरेको भए वा नागरिकको हितमा काम गरेको भए नेपालमा राणाहरुको शासन अहिले पनि कायम हुन्थ्यो होला । विश्वमा अनेकन खालका साम्राज्यहरु भत्किएका छन् । उपनिवेशहरु रहेका छैनन् । यस्तोमा राणाहरुको शासन कुन रुपमा अघि बढ्ने थियो भन्ने कुरा भन्न सकिन्न तर नेपाली जनतामाथि खेलवाड गरेर आफ्नो हितमा मात्रै सोच्दा नै राणाहरुको विनास भयो ।
नेपाल देश दक्षिण एसियाको पुरानो देश हो । विश्वमा थोरै देश हुँदा पनि नेपाल अस्तित्वमा थियो भन्ने इतिहास छ । एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ । भुगोलका हिसावले नेपाल विश्वका अन्य देश भन्दा फरक छ । नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू खासगरी भारत विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्ष अगाडि नै बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ । इसापूर्व ५००–६०० को बीचमा नेपालको निर्माण भएको मानिन्छ । नेपालको इतिहास हजारौं बर्ष पुरानो रहेको कुरा सवैलाई थाहा भएको कुरा हो । आज भन्दा साढे २५ सय बर्ष भन्दा पहिले नै बुद्ध राजा भएको इतिहास छ । महाभारत वनपर्वमा नेपाललाई देशको रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन् । त्यस्तै भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहाबाद अभिलेखमा आसाम र किर्तिपुर (कुमाउँ) नेपालको उल्लेख छिमेकी राज्य को रूपमा गरेका छन् भने त्यसपछिका प्रायः सबै स्श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने वि.सं. ५२२ पछि पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ । नेपाललाई सत्य युगमा सत्यवती, त्रेता युगमा तपोवन र द्वापर युगमा मुक्तिसोपान भनिन्थ्यो र कलियुगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।
नेपाल देशको इतिहास जति लामो छ नागरिकको इतिहास पनि त्यत्तिकै लामो हुने कुरा भइहाल्यो । विश्वमा जसरी मानव विकास भयो त्यसैगरी नेपालमा पनि मानिसको विकास भयो । नेपालमा विकास भएका मानिसहरु कहाँबाट आए । कहाँ उत्पत्ति भयो ? भन्ने जस्ता बिषयमा धेरै खोजि भइसकेको छ । मानिस आजको अवस्थामा आउनका लागि निकै लामो समय लागेको छ । मानिस आजको अवस्थामा आउनका लागि लाखौं बर्ष लागेको छ । विश्वमा एकै समयमा मानिसको विकास भएको छ । अहिले हामीले विश्वका दुई सय देशमा देख्ने मानिसहरु किन उस्तै छन ? सवैको बोल्ने तरिका, हिड्ने तरिका, खाने तरिका, विकासको तरिका सवै उस्तै छ । यो कसरी सम्भव भयो होला ? यसका लागि पक्कै पनि हजारौं बर्ष लागेको छ । मानिस आदीम साम्यवादी चरणबाट पार गरेर दासबाट सामन्ती शासन व्यवस्था हुँदै पूँजीवादमा आउँदा निकै लामो संघर्ष भएको छ । यो संघर्षमा करोडौं मानिसहरु मृत्युको मुखमा पुगेका छन् । प्रकृतिलाई बुझ्ने क्रममा, प्रकृतिलाई आफ्नो लागि उपयोग गर्ने क्रममा कति मानिसहरुले ज्यान गुमाएका होलान ? हामीले अनुमान मात्रै गर्न सक्छौं । एउटा व्यक्तिले थुप्रै मानिसलाई शासन गर्ने चलन कसरी चल्यो होला ? यो केही बर्षको अन्तरालमा मात्रै भएको त पक्कै होइन । युगौं युगपछि मानिस आजको अवस्थामा आएको छ । शासकलाई शासक बनाउनका लागि प्रजाहरुले त्याग गरेका छन् । जीवन समर्पण गरेका छन् । सानो संघर्षले राजा राजाका रुपमा रहेका होइनन् । त्यसका लागि ठूलै संघर्ष गर्नु परेको थियो ।
नेपालको सन्दर्भमा कुरा गर्दा अनेकन शासकहरुको कुरा आउँछ । नेपालको उत्पत्तिको कुरा गर्दा र शासनको कुरा गर्दा किराँत कालबाट आउँछ । ने नाम गरेका ऋषिले काठमाडौंमा बस्ती बसालेको भन्ने छ । मञ्जुश्रीले उपत्यकाको पानी दक्षिणतर्फ बगाएर बस्न योग्य बनाएका हुन भन्नेछ । काठमाडौँ उपत्यकामा पाइएका नियोलिथिक उपकरणहरूबाट यो थाहा पाइन्छ कि नेपालमा मानिसको बसोबास कम्तिमा पनि नौ हजार वर्ष पहिलादेखि हुँदै आएको छ्र । सायद ति किराँत जातिका थिए । आजभन्दा लगभग एक हजार बर्ष अघिसम्म यहाँ यिनीहरुको शासन थियो । खासगरी अन्य क्षेत्रको तुलनामा काठमाडौं उपत्यकाको इतिहास पढ्दा किराँती जंगली र पहाडीहरूको एक जनजाति भएको पाइन्छ । जुन मध्य एसिया, भारत र हिमालयबाट आएर बस्न थालेका थिए । किराँत कालभन्दा अगाडि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पाइन्छ । त्यतिवेला शासकहरु थिए भने नागरिकहरु पनि थिए होलान । आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किराँत कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भएको छ भने राजा यलम्बरलाई नै प्रथम किराँती राजाको रूपमा मानिन्छ । यसपछिको कुरा गर्ने हो भने लिच्छवी काल मुख्य रुपमा आउँछ । सन ४०० देखि ७५० सम्म नेपालको हालको राजधानी काठमाडौँमा लिच्छवीहरूले शासन गर्दथे । कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुएन साङ्गको यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरूलाई खेदेर लिच्छवी वंशको स्थापना गरेका थिए । पाइएका शिलालेख, मुद्रा र चाँगुनारायण मन्दिरका अभिलेखहरूबाट मानदेव लिच्छवी वंशका प्रथम ऐतिहासिक राजा थिए । अंशुवर्माको भारतका राजा हर्षवर्धनसँग निकटतम वैवाहिक सम्बन्ध थियो । यस तथ्यबाट यो पुष्टि हुन्छ कि गण्डकीदेखि कोशीसम्म पहाडी भूभागमा लिच्छवीहरूले किराँतहरूलाई धपाई एकछत्र राज्य गरेका थिए । अंशुवर्मापछि नरेन्द्रदेवलाई भारतीय रजौटाहरूले समर्थन सहयोग गरी राज्यारुढ गरेका थिए । नरेन्द्रपछि गुप्त वंशका शासनले गर्दा सम्पूर्ण राज्य स–साना राज्य रजौटामा विभाजित भयो । यी सम्पूर्ण घटना ईसा पूर्वका हुन् । बङ्गालमा चालुक्यसेनहरूको राज्य थियो । नान्यदेव चालुक्य राजाको सेनापति थिए । जसले तिरहुत डोय राज्यको स्थापना गरी सिम्रोनगढलाई राजधानी बनाए । मुसलमान आक्रामक शुद्धिन तुगलकका भयले नान्यदेवका पनाति हरि सिंहदेव सर्लाही जिल्ला हुँदै भक्तपुर पुगे र यिनकी श्रीमती राजल देवीले जयस्थिति मल्ललाई ज्वाइँ बनाई मल्लवंशको शासन स्थापित गराइन् ।
नेपालमा मल्ल वंशको शुरुवात १२ औँ शताब्दीको सुरु तिरबाट भयो । काठमाडौ उपत्यका विभाजन पुर्व मल्ल वंशका प्रथम राजा अरिदेव मल्ल थिए भने अन्तिम राजा यक्ष मल्ल थिए । त्यसैगरी काठमाडौ उपत्यका तीन भागमा विभाजन भए पश्चात कृतिपुरका प्रथम राजा र अन्तिम राजा क्रमश रत्न मल्ल र जयप्रकाश मल्ल, ललितपुरका प्रथम राजा र अन्तिम राजा क्रमश रण मल्ल र देवनर सिंह मल्ल र भक्तपुरका प्रथम राजा र अन्तिम राजा क्रमश राय मल्ल र रणजीत मल्ल थिए । पृथ्वीनारायण शाहले स–साना क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसालेका थिए । पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको थियो । १८७१ कात्तिक १८ गते सुरु भएको नेपाल अङ्ग्रेज युद्ध पश्चात् सुगौली सन्धि सम्म यो भू–भाग नेपाल अधिनमा रहेको थियो । पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे सङ्क्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरेपनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहेका थिए । नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही पृथ्वीनारायण शाहका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालामा भएको नेपाल–अङ्ग्रेज नेपाल अङ्ग्रेज युद्ध पछि भएको थियो । वि.सं. १८७३ सालमा सुगौलीको सन्धि नहुञ्जेल सम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चलेको थियो ।
नेपाली जनता कहिले रैति भए । कहिले प्रजा भए । स्वतन्त्र रुपमा नागरिक हुन पाएको धेरै भएको छैन । नेपाली जनता मालिक बन्न पाएको धेरै भएको छैन । यद्दपी नेपाली जनताले ठूलो संघर्ष र बलिदानी मुलुकका लागि गरेका छन् । पछिल्लो समयको कुरा गर्ने हो भने भारतमा इष्ट इण्डीया कम्पनीको शासन रहेको सयममा नेपालमाथि आक्रमणका अनेकन प्रयास गरेका थिए । सुगौली सन्धी हुनुभन्दा पहिले नेपाली विर सन्तानहरुले नेपालको भूमि जोगाउनका लागि रात दिन नभनेर लडेका थिए । चाहे भक्ति थाापा होउन वा अमरसिंह थापा नै किन नहोउन । यस्ता दर्जनौं योद्धाहरु नेपाल भूमि जोगाउनका लागि लडेका थिए । कतिपयले नेपाललाई एकताको सुत्रमा बाँध्ने काम राजाले गरेका हुन भन्ने गरेका छन् । राजालाई साथ दिएर लड्नेहरु नेपाली नागरिक नै थिए होइन र ? पृथ्वी नारायण शाहले तयार गरेका नेपाली सेनाहरुले लडेको बहादुरीलाई देखेर अहिले पनि व्रिटिसहरु गोर्खाली भनेपछि थर्कमान हुन्छन । नेपाली नागरिकले जोगाएर ल्याएको मुलुकमा अहिले नागरिक धेरै नै पेलिएका छन् । नागरिक समस्यामा परेका छन् । नागरिकको भावनाको कदर भएको छैन । नागरिकको योगदानको कदर भएको छैन । नागरिकले यो देश बनाउनका लागि योगदान गरे । नागरिकले यो देश बचाउनका लागि योगदान गरे । नागरिकले गरेको योगदानको फलस्वरुप होला नागरिकले चुनेर पठाएका प्रतिनिधि हुँदा नागरिकले सेवा सुविधा पाउँदैनन् । नागरिकको सम्मान हुँदैन । नागरिकहरुको दिन प्रतिदिन अपमान भएको छ । नागरिकलाई सवैभन्दा शिरमा राख्नुपर्ने हो । नागरिकले पाइरहेका दुःखका बारेमा बोल्नका लागि राजनीतिक दलले मुख कपाइरहेका छन् । एकले अर्कोलाई दोषारोपण गरिरहेका छन् । राज्यका निकायमा नागरिकको गुनासो सुनुवाई हुँदैन । नागरिकको गुनासाहरु माकुराका जाली लागेका उजुरी पेटिकामा अट्न सकेका छैनन् । गुसानो गर्ने बातावरण छैन । गुनासो गरिहाल्दा सुन्न कोही तयार छैन । यसर्थ नागरिकको दुःख सुन्ने र मर्म आत्मसात गर्नेको खोजी नागरिकले गरिरहेका छन् ।