छबि पुरी /राप्ती पोष्ट
घोराही, बैशाख । राप्ती गाउँपालिका वडा नम्बर ५ करंगेका कुलबहादुर गाहा धेरै जसो समय बासको चोयाको काम गर्नुहुन्छ । उहाँले बाँसबाट छिट्वा, नाङ्लो, पेरुङ्गो, टोकरी, डोको, भकारी बनाउन थालेको धेरै वर्ष बितिसक्यो ।
बाउबाजेले गर्दै आएको पेशालाई अहिले उहाँले आम्दानीको श्रोत बनाउनुभएको छ । घरमा काम हुँदा बाहेक अरु समयमा उहाँ बाँसको चोयाबाट यस्ता बस्तु बनाउनु हुन्छ, देउखुरीका विभिन्न गाउँमा गएर बेच्नुहुन्छ । उहाँका पुराना चिनारु छन् । जसले गर्दा यी बस्तु बिक्रि गर्न गाह्रो हुदैन । कुलबहादुर जस्तै गाउँका अरु मानिस पनि यो पेशामा जोडिएका छन् । व्यावसायिक रुपमा काम नगरेपनि घर गुजारा चलाउने गतिलो माध्यम बाँसबाट निर्मित सामग्री हुने गरेको छ ।
घोराही उपमहानगरपालिका १ औलावासका पुनाराम सुनारको दैनिकी पनि बाँसका सामग्री बनाउँदै बिक्री गर्नेमा बित्ने गरेको छ । बाँसका सामग्रीबाट कम लगानीमै राम्रो आम्दानी हुने भएपछि पुनारामले घरमै बसेर बाँसका सामग्री बनाउनेदेखि बिक्री गर्ने काम गर्दै आउनुभएको छ ।
बाँसबाट छिट्वा, नाङ्लो, पेरुङ्गो, टोकरी, डोको, भकारीलगायतका विभिन्न सामग्री बनाउने काम गर्दै आएको उहाँ बताउनुहुन्छ । बाँसबाट बनाएका सामग्रीहरु प्राय गाउँघरतिरै बिक्री हुने गरेको पुनारामको भनाई छ । ‘गाउँघरमा घरायसी कामका लागि बाँसका सामग्री आवश्यक भएपनि बनाउने मानिसहरु छैनन्’,उहाँले भन्नुभयो, ‘त्यसैले गर्दा पनि होला, राम्रै बिक्री भइरहन्छन ।’ गाउँघमा बासँका सामग्री बिक्री नहुँदा घोराही बजारसम्म लगेर पसलमा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पहिलेको तुलनामा बाँसका सामग्रीको बजार घटेको बताउनुभयो ।
बाँसजन्य सामग्रीलाई आयआर्जनको स्रोत बनाउँदै आउनुभएका पुनारामले पहिलेको जस्तो अहिले बिक्री नभए पनि थोरै बिक्रीबाट आम्दानी भने राम्रै हुने गरेको बताउनुभयो । गाउँघरमा बाँस खरिद गर्ने र त्यहीबाट विभिन्न सामग्री बनाएर बिक्री गरेर आएको पैसाबाट घर व्यवहार चलाउने गरेको बताउनुभयो । ‘घरको कामसँगै बाँसका सामग्री बनाउने गर्दै आएको छु’, उहाँले भन्नुभयोे, ‘परिवारसँग बसेर घरको कामसँगै आफुले जानेको सिपलाई प्रयोग गर्दा राम्रै आम्दानी हुने गरेको छ ।’
यसैगरी घोराही उपमहानगरपालिका १९ निवासी खिमबहादुर मगर विगत दुई दशकदेखि बाँसका सामग्री बनाउने काम गर्दै आउनुभएको छ । परिवारको पुख्र्यौली पेशाका रुपमा रहेको बाँसका सामग्री बनाउने कामबाट राम्रै आम्दानी भएको बताउनुहुन्छ । ‘पहिलेको तुलनामा व्यापार कम भएपनि लगानी अनुसारको आम्दानी ठिकै हुने गरेको छ’ उहाँले भन्नुभयो । बाँसका सामग्रीको तुलनामा बजारमा स्टिल तथा प्लाष्टिकका विभिन्न सामग्रीहरु प्रशस्तै मात्रामा पाइने भएपछि पहिलेको तुलनामा व्यापार आधा कम भएको उहाँले बताउनुभयो ।
‘पहिले घरायसी काममा बाँसबाट भनेका छिटुवा, सुपा, भकारी, डोकोलगायत सामग्रीको धेरै प्रयोग हुने गर्दथ्यो । तर पछिल्लो समय कम लगानीमै राम्रा सामग्री बजार किन्न पाइने भएपछि बिक्री घटेको छ’ उहाँले भन्नुभयो । अहिले पनि तिहारमा रोटी पकाउनेदेखि विवाह, पूजालगायतका धार्मिक कार्यहरु हुँदा बाँसका सामग्रीहरुको खोजी हुने भएकाले बिक्री हुने गरेको बाँसबाट निर्मित सामग्री बनाएर बिक्रि गर्नेहरुको अनुभव छ ।
पछिल्लो समयमा खासगरी पूजा सामग्री बोक्न बाँसको टोकरी, गाउँमा स्याउला बोक्न डोको, माछा मार्ने पेरुंगोलगायत घरायसी काममा प्रयोग हुने सुपा, छिट्ुवा खोज्न घरमै मानिसहरु आउने गरेको उहाँ बताउनुहुन्छ । विभिन्न सामग्री बनाउने कच्चा पदार्थ बाँस भने घरमा पनि भएको र नपुगेको अवस्थामा गाउँघरमै किनेर भएपनि बनाउने गरेको खिमबहादुरले बताउनुभयो ।
‘बर्षभरी नै बाँसका सामग्री उत्पादन गर्ने हुँदैन, खासगरी घरको कामबाट फुर्सद निकालेर सामग्री बनाउने हो’, उहाँले भन्नुभयो ,‘फुर्सदमा बनाएका सामग्रीबाट पनि राम्रो आम्दानी हुने गरेको छ ।’ बाँसबाट घरका लागि आवश्यक सामग्री बनाउन दुःख धेरै हुने र त्यसअनुसारको मुल्य नहुँदा पछिल्लो पुस्ताले सिप सिक्न भने जाँगर नगर्ने गरेको पुराना पुस्ताको भनाई छ । बाँसका सामग्रीबाट विभिन्न सामग्री बनाउने तालिम आवश्यक रहेपनि स्थानीयको नजरमा यो पर्न नसकेको उहाँले बताउनुभयो ।