हृदयमान वि.क.
स्थायी नियुक्ति ग्रहण गरेको साता दिन बितेपछि गाउँपालिकाले पदस्थापन पत्र प्रदान गर्यो । उसै पनि शिक्षक नियुक्तिको लम्बेतान प्रक्रिया । त्यसैमा सम्बन्धित कार्यालयहरुले रबर तन्काए जसरी मिल्ने र सक्नेजति समय लम्ब्याइदिने । पदस्थापन पत्र हात परेपछि शैक्षिक सत्रको अन्तिम दिन तोकिएको विद्यालयमा हाजिर हुन प्रस्थान गरियो । विद्यालयमा पुगेपछि विद्यालय अवस्थित स्थानको भूगोल, विद्यालयका भौतिक संरचनाहरुको अवस्था, कार्यालय तथा कक्षाकोठाहरुको अवस्था आदि देखेर मनमा खिन्नता छायो । त्यो अवस्थाले मलाई हतोत्साही नै बनायो । तुलनात्मक आकर्षक रोजगारीको अर्को क्षेत्रबाट शिक्षण पेशामा होमिन तम्तयार मेरो मनमा अनेकन कुराहरु खेल्न थाले । म यो परिवेशमा टिकिरहन सक्छु होला ? शिक्षण पेशा साँच्चिकै उपयुक्त पेशा हो ? के म शिक्षणमै जीवन व्यतित गर्न सक्छु ? आदि, ईत्यादि । पाँच सात दिनसम्म मनमा यस्तै कुराहरु खेलिरहे ।
एक हप्तापछि नयाँ शैक्षिक सत्र प्रारम्भ भयो । विद्यार्थीहरु विद्यालय आउन थाले । पठनपाठन शुरु भयो । विद्यार्थीहरुसँग साक्षात्कार हुन थाल्यो । सामिप्यता बढ्दै गयो । तर उनीहरुको सिकाईको स्तर, सरसफाइको अवस्था, पोसाकको अवस्था आदिले थप निरास बनायो । यसरी नै यिनै बालबालिकालाई पढाएर दिनहरु बिताउन सकिएला ? उनीहरुमा निर्दिष्ट सिकाई उपलब्धि हाँसिल गराउन सकिएला ? फेरि पनि मनले अनेक कुरा सोचिरह्यो । यसरि नै महिना दिन बित्यो । तत्कालका लागि अरु उपाय पनि थिएन । जागिर स्याथी नै खानुपर्छ भन्ने घरपरिवारको दबाब थियो । जसरि पनि यहि पेशालाई नै निरन्तरता दिनु पर्ने अवस्था थियो । यसैमा सन्तुष्ट हुनु थियो ।
समय बित्दै गयो । शिक्षण पेशामा नै जीवन व्यतित गर्ने सुनिश्चतता हुँदै गयो । अब चाँहि शिक्षण पेशामा नै विशुद्ध शिक्षकका रुपमा रहने र केहि फरक गर्ने संकल्प गरें । त्यसका लागि विभिन्न योजनाहरु तयार गर्न शुरु गरें । म कक्षा तीनको कक्षा शिक्षक बनें । विद्यार्थीहरु कक्षामा तुलनात्मक कम उपस्थित हुने गरेकोले उपस्थिति बढाउन महिनैपिच्छे सबैभन्दा धेरै हाजिर हुने विद्यार्थीलाई पुरस्कृत गर्ने व्यवस्था गरें । विद्यार्थीको सिकाई स्तर सुधारका लागि शिक्षण सुधार योजना तयार गरि कार्यान्वयनमा ल्याएँ । सिकाई कार्यकलापमा विद्यार्थीहरुलाई सक्रिय रुपमा अधिकतम सहभागी गराउन थालेँ । सामुदायिक विद्यालयहरुको अर्को समस्या भनेको शैक्षिक सामग्रीहरुको उपलब्धता र प्रयोग नहुनु । शैक्षिक सामग्री संकलन र तयारिमा विद्यार्थीहरुलाई समेत सहभागी गराउन थालेँ । स्थानिय स्तरमा उपलब्ध सामग्रीलाई शैक्षिक सामग्रीका रुपमा प्रयोगमा प्राथमिकता दिइयो । प्रयोगात्मक तथा व्यवहारिक सिकाईमा जोड दिइयो । परियोजना कार्यमा बिद्यार्थीलाई सक्रिय सहभागी गराउन थालियो । ईत्यादि प्रयासका बाबजुद केहि सुधार भएता पनि विद्यार्थीको सिकाईमा अपेक्षित प्रगति हुन सकेन । जसको कारण थियो कमजोर सिकाई आधार । अघिल्लो कक्षामा पुरा गर्नुपर्ने सिकाई उपलब्धि हासिल हुन नसक्दा पछिल्लो कक्षाको सिकाईमा प्रभाव परिरहेको थियो ।
यसरी नै तीन महिना बित्यो । प्रथम त्रैमासिक परीक्षा सम्पन्न भयो । प्रथम त्रैमासिक परीक्षाको नतिजा खासै सोचेजस्तो आएन । यसले फेरि निरुत्साहित बनायो । विद्यार्थीहरुको सिकाइस्तर सुधार्न हाल सम्मको प्रयास खासै उपलब्धिमुलक हुन सकेजस्तो लागेन । अझै थप नयाँ योजना तौर तरिकाको आवश्यकता देखियो । वर्षे बिदा सकिएपछि विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र समुदायमा एउटा छलफल चलेछ । प्रधानाध्यापक परिवर्तन गरेर नयाँ स्थायी शिक्षकलाई जिम्मेवारी दिन पाए हुन्थ्यो । त्यो समयमा प्रधानाध्यापक करार (राहत दरबन्दी) को म्याडम हुनुहुनथ्यो । स्थायी शिक्षक हामी तीन जना छौँ र हामी एकै दिन हाजिर भएका थियौँ । हामी तिनै जना सँगै बस्थ्यौँ । एकदिन वि.व्य.स. अध्यक्ष र वडा अध्यक्ष हामी कहाँ आउनुभयो । उहाँहरुले हामीले विद्यालयको प्र.अ. परिवर्तन गरेर तपाईहरुमध्ये एकजनालाई जिम्मेवारी दिने सोच बनाएका छौँ । तपाईहरु विद्यालयको नेतृत्व लिन तयार हुनुपर्यो भनेर अनुरोध गर्नुभयो । लामो छलफल भयो । हामीले सहमति जनायौँ ।
त्यो दिनपछि ममा एउटा महत्वाकाङ्क्षा जागृत भयो । पाएसम्म प्र.अ. को जिम्मेवारी आफैले लिएर विद्यालय र विद्यार्थीको सिकाइ स्तर सुधार गर्नका लागि नयाँ सोच र योजनाका साथ काम गर्नुपर्छ, विद्यालयलाई साँच्चिकै राम्रो र केहि फरक बनाउनु पर्छ भन्ने सोच्न थालेँ । विद्यालयलाई राम्रो बनाउन, विद्यार्थीको सिकाई स्तर वृद्धि गर्न आफै जिम्मेवार बन्नुपर्छ, विद्यालयको टिमलाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्छ र त्यसका लागि विद्यालयको नेतृत्व आफै लिनुपर्छ भन्ने मनमा लाग्यो ।
वि.व्य.स. र समुदायको मनसायलाई सहज रुपमा लिदै तत्कालिन प्र.अ. म्याडमले खुशीसाथ प्र.अ. पदबाट राजिनामा दिनुभयो । त्यसपछि मैले पहिले सहकर्मी शिक्षकहरुसँग र पछि वि.व्य.स. सँग प्र.अ. बन्ने ईच्छा व्यक्त गरेँ । मेरो व्यक्तिगत चाहना र दक्षता तथा क्षमताबमोजिम वि.व्य.स.ले मलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गर्यो । अब विद्यालयको अधिकांश जिम्मेवारी मेरो काँधमा आयो । विद्यालयलको समग्र सुधार गर्ने, विद्यालयलाई समयानुकुल बनाउने, विद्यार्थीको सिकाई स्तर वृद्धि गर्ने, नयाँ तथा रचनात्मक कार्यहरु गर्ने, नयाँ योजना तयार गरि कार्यान्वयन गर्ने लगाएतका कामका लागि अवसर प्राप्त भयो । साथै आफुमा भएको ईच्छाशक्ति र समुदायको चाहनाबमोजिम काम गरेर देखाउन सकिन्छ वा सकिदैन भन्ने चुनौति पनि थपियो ।
त्यसपछि म केहि दिन विद्यालयको समग्र सुधारको योजना तयारीका लागि गृहकार्यमा लागेँ । केहि दिनमा विद्यालयमा निम्न कार्यहरु प्रारम्भ गर्नेगरि योजना बनाएः
– शिक्षकहरुको व्यवस्थित अतिरिक्त कार्यविभाजन गर्ने,
– निश्चित विद्यार्थीहरुको गृहभ्रमण गर्ने,
– शिक्षक अभिभावकबीच नियमित सम्पर्कको व्यवस्था गर्ने,
– कक्षागत शिक्षण सुधार योजाना तयार गरि कार्यान्वयनमा ल्याउने,
– नियमित कक्षागत अभिभावक भेला गर्ने,
– कक्षाकोठा र कार्यालयको उचित व्यवस्थापन गर्ने,
– विद्यार्थी मूल्याङ्कनको ई अभिलेखिकरण गर्ने,
– प्रयोगात्मक र व्यवहारिक शिक्षण विधिहरुको प्रयोग गर्ने,
– शिक्षकले कक्षाकोठामा बिताउने समय वृद्धि गर्ने ।
यि योजनाहरु लगत्तैको शिक्षक बैठकमा प्रस्तावको रुपमा प्रस्तुत गरें । यसमा सबैजनाले सहमति जनाउनु भयो र निर्णय पारित गरियो । अब यी योजनाहरु कार्यान्वयनको प्रक्रिया शुरु भयो । मैले आफ्नो तर्फबाट गर्न सकिने अधिकांश सुधारका कार्यहरुको शुरुवात गरें । सहकर्मी शिक्षकहरुले पनि सक्दो साथ दिनुभयो । शिक्षकहरुको व्यवस्थित र उचित कार्यविभाजन गरियो । विद्यार्थीको गृहभ्रमण गरि विद्यालय छाडेका विद्यार्थीलाई पुःन विद्यालय फर्काउने सम्मका कार्य गरियो । विद्यार्थी कुनै कारणवश विद्यालय उपस्थित हुन नसक्ने भएमा अभिभावकले कक्षा शिक्षक वा प्र.अ. लाई फोनमार्फत जानकारी दिने कार्यको शुरुवात भयो । विद्यार्थी मूल्याङ्कनको ई अभिलेखिकरण गर्ने कार्य गरियो । प्रयोगात्मक र व्यवहारिक शिक्षण विधिहरुको प्रयोगको शुरुवात गरियो । अभिभावक भेलामा अभिभावाक र समुदायको उल्लेँख्य उपस्थिति हुन थाल्यो । पालिकाबाट अनुगमन तथा निरिक्षणमा आउने व्यक्तित्वहरुले समेत राम्रो प्रतिक्रिया दिनुभयो । यसले मलाई र सम्पुर्ण विद्यालय परिवारलाई उत्साहित बनायो ।
विद्यालयमा विविध सुधारका कार्यहरु गर्दैगर्दा बिस्तारै विभिन्न चुनौतिहरु पनि देखिन थाले । जस्तो विद्यालयमा आकर्षक, सुन्दर र बालमैत्री सिकाई वातावरणको व्यवस्थापन गर्ने कार्य शिक्षकहरुको प्रयासले मात्र सम्भव हुन सकेन । विद्यालय भवन तथा कक्षाकोठाका भित्ताहरु फुस्रा, केरिएका र कोतारिएका छन् । सर्वप्रथम त ति भित्ताहरुमा रंगरोगन गर्न आवश्यक छ । कक्षाकोठाको शैक्षिक सामग्री सहित उचित व्यवस्थापन गर्नुपर्नेछ । जसको लागि बजेटको आवश्यकता पर्दछ जुन विद्यालयसंग उपलब्ध छैन । गाउँपालिकासँग अनुरोध गर्दा श्रोत शुनिश्चित नभएको भन्दै उपलब्ध गराउन सकेको छैन । जसले गर्दा विद्यालयमा सुन्दर सिकाई वातावरण तयार गर्ने योजना कार्यान्वयन गर्न सकिएको छैन । विद्यार्थीको निरन्तर सिकाईका लागि अभिभावकको भुमिका अहम् रहन्छ । हाम्रा अधिकांश अभिभावकहरु विद्यार्थीलाई कापी कलम किनिदिने र विद्यालय पठाउने बाहेकको जिम्मेवारीबाट बिमुख रहेको पाईयो । हरेक अभिभावकले घरमा प्रत्येक दिन आधा घण्टा मात्रै आफ्ना बच्चासंगै बसेर उनिहरुको पढाई लेखाई प्रति चासो दिने हो भने मात्रै पनि उनिहरुको सिकाईमा धेरै फरक पर्छ । विद्यार्थीको सिकाईमा अभिभावकहरुले समय र चासो नदिनु, जिम्मेवारीबोध नहुनु विद्यार्थीको सिकाई सुधारमा चुनौतिका रुपमा रहेको छ ।
विद्यार्थीको सिकाईमा अर्को चुनौति विद्यार्थीको घर र विद्यालयबीचको दुरि रहेको छ । विद्यार्थीको घरदेखि विद्यालयसम्मको दुरि ३० मिनेटको हुनुपर्ने मापदण्ड छ । तर छरिएका बस्ती रहेको पहाडी भेगमा कक्षा ५ सम्मका विद्यार्थीहरु नै डेढ दुई घण्टा हिडेर विद्यालय पुग्न बाध्य छन् । घर फर्कन त्यति नै समय लाग्छ । पहाडको बाटोमा दैनिक तीन चार घण्टा हिडेर विद्यालय आउजाउ गर्ने विद्यार्थीहरुको सिकाई कति प्रभावकारी होला ? यस समस्याको समाधानको लागि कुनै उपाय नभएको होइन । तर शिक्षकमात्रको प्रयासले त्यो सम्भव छैन । जसले विद्यार्थीको सिकाईमा बाधा पुर्याइरहेको छ ।
पहाडी क्षेत्रमा विद्यालय स्थापना गर्दा विद्यालयको लागि जग्गा अत्यन्त कमसल र अनुपयुक्त ठाउँमा दिने गारिएको छ । जहाँ एउटा नयाँ भवन थपौँ, खेल मैदान बनाऔँ भन्दा ठाँउ नै छैन । विद्यालयको आँगनबीचबाट नै बाटो छ । उक्त बाटोबाट मानिसका साथै पशुचौपायहरु ओहोर दोहोर गर्दछन । उपयुक्त घेराबार र प्रवेशद्वार छैन । यसबाट विद्यालयको पुर्वाधार विकास तथा विद्यार्थीको पढाईमा बाधा पुगिरहेको छ । प्रयाप्त पुर्वाधारको अभावमा विद्यालयमा कक्षा र तह थप गर्न सकिएको छैन । ५ कक्षा उतीर्ण गरेपछि विद्यार्थीहरु पढाईलाई निरन्तरता दिन सिङ्गो पहाड चढेर दुई÷तीन घण्टा हिडेर अर्को विद्यालय जानुपर्ने अवस्था छ । सोही कारण अधिकांश विद्यार्थीले आधारभूत तहसम्मको पढाई समेत पुरा गर्न सकेका छैनन् । बिचैमा पढाई छाड्न बाध्य छन् । सोहि समस्यालाई मध्यनजर गर्दै विद्यालयमा छ देखि आठ कक्षाको समेत पढाई सन्चालन गर्ने र आधारभूत तहसम्मको शिक्षा सुनिश्चित गर्ने योजना अघि सारियो । यस कार्यका लागि सबैभन्दा पहिले भवन निर्माण गर्न आवश्यक थियो जसका लागि जग्गा व्यवस्थापन गर्नुपर्दथ्यो । जग्गा व्यवस्थापन गर्न विद्यालय वरपरका जग्गाधनी अभिभावकहरुसँग संवाद गरियो । तर उहाँहरु कुनै हालतमा जग्गा उपलब्ध गराउन तयार हुनुभएन । बिक्रि गर्न समेत मान्नुभएन । विद्यालयमा कक्षा थप नभएमा विद्यालयसँगै जग्गा सटेका एकजना अभिभावककी छोरी छ कक्षा पढ्न दुई तिन घण्टा हिडेर अर्को विद्यालयमा जानुपर्नेछ । तर उनकै बुबाले तुलनात्मक कमसल र कम उब्जाउ जग्गा विद्यालयलाई बेच्न नै मान्नुभएन । यसप्रकारको चेतनास्तर रहेको समाजमा विद्यालयको समग्र सुधार र प्रभावकारि शिक्षण सिकाईको योजना कार्यान्वयन गर्न कम चुनौतिपूर्ण छैन । यस्ता समस्या समाधानका लागि शिक्षकले मात्र सम्भव छैन ।
शिक्षण सिकाई कार्यकलापलाई प्रभावकारि र उपलब्धीमुलक बनाउन शैक्षिक सामग्रीको महत्वपुर्ण भुमिका रहन्छ । शैक्षिक सामग्रीहरुको प्रयोग नहुनु तथा न्युन मात्रामा हुनु सामुदायिक विद्यालयहरुको एक प्रमुख समस्या हो । शैक्षिक सामग्रीहरुको निर्माण र प्रयोग गर्ने मुख्य जिम्मेवारी शिक्षकको हो तर शिक्षकले निर्माण गर्ने मुल्य नपर्ने र कम मुल्यका शैक्षिक सामग्रीहरु मात्र सिकाईका लागि प्रयाप्त हुँदैनन् । कयौँ शैक्षिक सामग्रीहरु बजारबाट किन्नुपर्ने हुन्छ, त्यस्तै कयौँ शैक्षिक सामग्री निर्माण गर्न कच्चा पदार्थहरु किन्नुपर्ने हुन्छ जुन शिक्षकले चाहेर मात्र सम्भव छैन । शिक्षण सिकाई अनुदान शीर्षकमा विद्यालयमा थोरै रकम प्राप्त हुन्छ तर त्यो बजेट अरु नै शीर्षकमा खर्च गर्ने परम्परा रहेछ । कुनै शिक्षकले शैक्षिक सामग्रीको प्रयोग नै नगर्नु र कुनै शिक्षकले चाहेर पनि प्रयाप्त र स्तरिय शैक्षिक सामग्रीहरुको प्रयोग गर्न श्रोत नहुनु सामुदायिक विद्यालयको शैक्षिक सुदृढिकरणमा चुनौतिका रुपमा रहेको छ ।
अहिले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई छ । नियमित कार्य र स्वयम सेवक शिक्षकको व्यवस्थालगाएतका फाट्टफुट्ट थप कार्यबाहेक स्थानीय सरकारले शैक्षिक सुधारका लागि खासै रचनात्मक तथा प्रभावकारी कुनै नयाँ सोच र योजनाहरु ल्याउन सकेका छैनन् । हामी कहाँ विभिन्न शिक्षक संघ संगठनहरु रहेका छन् । ती संघ संगठनहरुले पनि शैक्षिक सुधारका लागि कुनै छलफल, वहस चलाएको, दबाब दिएको देखिदैन । संघ संगठनका बैठक, भेलाहहरुमा शिक्षकका अधिकार र राजनीतिक वहसले नै स्थान पाउने गरेका छन् । यसर्थ शिक्षण सुधारमा स्थानीय सरकार र शिक्षक संघ संगठनहरुको प्रयाप्त चासो र उचित नयाँ सोँच नहुनु पनि एक चुनौति नै हो भन्न सकिन्छ ।
शिक्षण पेशामा आवद्ध भएको एक वर्षको अवधिमा विद्यालयमा सुधारका धेरै कार्यहरु अगाडी बढाइएको छ । त्यस्तै पाईलै पिच्छे आइपर्ने अनेकन चुनौतिहरुले उत्तिकै अवरोध पनि गरिरहेका छन । मलाई लाग्छ चुनौति आइपर्यो भनेर आफ्नो जिम्मेवारीबाट बिमुख हुने छुट युवा शिक्षकहरुलाइ छैन । किनभने नेपालको सार्वजनिक शिक्षा क्षेत्र सुधारको जिम्मेवारी सम्पुर्ण युवा शिक्षकहरुले लिनु आवश्यक छ । युवा शिक्षकहरुले आफ्नो जिम्मेवारीबोध गरेर, आफुमा भएको नविनतम सीप, दक्षता र क्षमताको अधिकतम उपयोग गरेर, रचनात्मक र सिर्जनशिल बनेर विशुद्ध सेवाभाव बोकेर कर्तव्यनिष्ठ भएर लागिपरेमा सार्वजनिक शिक्षा क्षेत्रको आमुल परिवर्तन सम्भव छ । तर मुख्य जिम्मेवारी शिक्षकको भएतापनि अन्य सरोकारवालाहरुको साथ र सहयोगबिना लक्ष्यमा पुग्न चुनौतिपूर्ण छ । नेपालको शिक्षा क्षेत्र सुधारका लागि निम्न नीतिगत व्यवस्था हुन आवश्यक छः
– शिक्षकले विद्यालयमा कम्तीमा १० घण्टा समय बिताउने सुनिश्चिता गर्ने र सोहि अनुरुपको सुविधाको व्यवस्था गर्ने,
– विद्यालयमा एक मर्मत संभार कोषको व्यवस्था गर्ने, जसमा सरकार र अभिभावकले निश्चित योगदान गर्ने,
– विद्यालयमा एक शैक्षिक सामग्री कोषको व्यवस्था गर्ने, जसमा सरकार र अभिभावकले वार्षिक रुपमा निश्चत योगदान गर्ने,
– विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन अभिभावकलाई जिम्मेवार बनाउने, अभिभावकले आफ्ना बच्चालाई दैनिक एक घण्टा समय दिनुपर्ने वाध्यकारी व्यवस्था गर्ने,
– विद्यालयका लागि आवश्यक पर्ने जग्गाको मापदण्ड निर्धारण गर्ने, तोकिएभन्दा न्यून जग्गा भएका विद्यालयलाई सरकारले जग्गा उपलब्ध गराउने,
– नव नियुक्त शिक्षकहरुलाई निश्चित अवधिको सेवा प्रवेश तालिम पश्चातमात्र शिक्षणमा खटाउने व्यवस्था गर्ने,
– शिक्षकहरु आफ्नो पेशाप्रति पुर्णरुपमा कर्तव्यनिष्ठ र जिम्मेवार भएको सुनिश्चितता गर्ने, दण्ड सजाय र प्रोत्सहान पुरस्कारको व्यवस्था प्रभावकारी रुपमा कडाइकासाथ लागु गर्ने,
– सबै विद्यार्थी ३० मिनेटमा विद्यालय पुग्न सक्ने सुनिश्चत गर्ने, अन्यथा छात्रावासको व्यवस्था गर्नुपर्ने,
– शिक्षकहरुका हक हितका लागि एउटामात्र अधिकार सम्पन्न साझा सङ्गठनको व्यवस्था गर्ने ।
वास्तवमा नेपालको सार्वजनिक शिक्षा क्षेत्रको सुधार गर्न धेरै ढिला भैसकेको छ । शिक्षा क्षेत्र बिग्रियो भनेर बोलिदिने धेरै छन तर सुधारौँ भनेर लागिपर्ने कोहि छैनन् । यसलाई सुधार्न प्रमुख दायित्व शिक्षकको भएतापनि अन्य सरोकारालाहारुको भुमिका पानि उत्तिकै हुनुपर्छ । हामीमाझ चुनौतिका थुप्रा छन तर चुनौति आयो भनेर आफ्नो जिम्मेवारीबाट पन्छने छुट हामीलाई छैन । त्यसैले नेपालको शिक्षा क्षेत्र सुधार्न शिक्षकहरु अझ युवा शिक्षकहरुको साथमा शिक्षा सरोकारवालाहरुसमेत दुइ कदम अगाडी बढेर होमिन आवश्यक छ ।
(वि.क श्री ऐश्वर्य नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, सरुमारानी गा.पा. ६, भिङ्ग्रीखोला, प्यूठानमा एक बर्षदेखि प्रधानाध्यापक हुुनुहुन्छ ।)