शरद अधिकारी
नेपालका ७७ जिल्ला मध्य दाङ जिल्ला कम्युनिष्ट पार्टी स्थापनाका हिसावले अग्रणी रहेको छ । २०१० सालमा नै दाङ जिल्लामा कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो । २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना गरिएको चार बर्षपछि दाङमा कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो । मुलुकमा राणाहरुको शासन अन्त्य भएको तीन बर्षपछि दाङमा कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो । सभ्यताका हिसावले, शहरिकरणका हिसावले, शिक्षाका हिसावले त्यतिवेलाको दाङ जिल्ला कस्तो थियो होला ? त्यो बेलामा चेतनास्तर कस्तो थियो होला ? तै पनि दाङ जिल्लामा पार्टी स्थापना गर्ने काम गरियो । त्यो पार्टीको विरासतको रुपमा अहिले दाङ जिल्लामा ठुलो संख्यामा कम्युनिष्ट जनमत रहेको छ । सर्वहारा बर्गको अधिनायकत्व स्थापित गर्ने ध्येयका साथमा दाङ जिल्लामा कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो । शासन व्यवस्थामा रहेको सामन्तीप्रथाको अन्त्यमा लागि दाङ जिल्लामा कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो । त्यो समयमा जुन उद्देश्यले कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो त्यो उद्देश्यमा बदल्नुपर्ने कारण अहिलेसम्म आएको छैन । सत्ताको शोषणका साथै व्यक्ति विरुद्धको शोषण दाङ जिल्लाको पुरानो परम्परा जस्तै हो । शासन गर्नेहरु बदलिएका छन् । शासन गर्नेहरुको मानसिकता बदलिएको छैन । जिल्लामा जुन उद्देश्यले कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो त्यो उद्देश्य पुरा भएको छैन । गणतन्त्र ल्याउनुलाई कतिपयले प्रमुख विषय ठान्छन । गणतन्त्र साधन हो मुल कुरा साध्य हो । हामीले दिने सेवाको तह के छ ? कसरी हामीले जनताका पक्षमा उभ्याएका छौ भन्ने कुरा महत्वपूर्ण हो । दाङ जिल्लामा कम्युनिष्टको जनमत ठूलो रहेको छ तर यसको सम्मान हुन सकेको छैन । सामन्ती अहंकारबादले लामो समय जकडेको दाङ जिल्लामा कम्युनिष्ट पार्टीको नेतृत्व गरिसकेको ठूलो टिम रहेको छ । इतिहासदेखि बर्तमानसम्म अनेकन हिसावले योगदान गर्नेहरुको व्यापक खोजी गर्ने र इतिहासलाई लिपिवद्ध गर्ने काम हुन सकेको छैन् । इतिहास निर्माणका लागि जो योद्दाहरुले योगदान गरेका थिए ति योद्दाहरुको सम्मान मृत्युपछि पनि गर्न सकिन्छ । योद्दाहरुले योगदान कुनै सम्मानका लागि गरेका हुँदैनन् । कुनै चर्चाका लागि गरेका हुँदैनन् । योगदान गर्नेहरुले जे गरेका हुन्छन । जसका लागि गरेका हुन्छन त्यो बाँच्नेहरुका लागि छोडेर गएका हुन्छन् । बाँच्नेहरुले योगदानको सम्मान गर्नुपर्छ । योगदान जहिल्यै हस्तान्तरणीय हुन्छ ।
नेपालको सवैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा एमाले हो । दाङ जिल्लामा पनि ठूलो पार्टी एमाले नै हो । कुनै बेला दाङमा ३९ गाउँ विकास समिति र दुईवटा नगरपालिका हुँदा झण्डै सवै गाउँ विकास समितिमा आफ्नो जित स्थापित गराउन सकेको थियो । नेकपा एमालेका योद्धाहरु जिल्ला थोरै पालिकामा मात्रै पराजित भएका थिए । यो सफलता भनेको जनताले गरेको समर्थनका कारणले हो । संसदीय राजनीतिको कुरा गर्ने हो भने २०४८ सालमा भएको निर्वाचनमा दाङ जिल्लामा तीनवटा निर्वाचन क्षेत्र हुँदा एउटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो । २०५१ सालमा चारवटा निर्वाचन क्षेत्र हुँदा पनि एउटामा जित हासिल गरेको थियो । २०५६ सालमा भएको निर्वाचनमा एमालेले एउटा सिटमा पनि जित हासिल गर्न सकेको थिएन । त्यतिवेला नेकपा एमालेमा आएको विभाजनको कारणले हार भएको थियो । २०५४ सालमा नेकपा एमालेबाट नेकपा माले अलग पार्टीका रुपमा बनेपछि त्यसको असर र प्रभाव दाङ जिल्लामा व्यापक परेको थियो । दाङ जिल्लामा नेकपा एमालेले धेरै अवसरहरु गुमाएको थियो । जिल्ला विकास समितिमा एकलौटी रुपमा आफ्नो बर्चश्व कायम गराउन सक्ने अवस्थाबाट पछि परेर केही सदस्यमा सिमित हुनुपर्ने अवस्था आएको थियो । यसले विभाजित हुँदा पराजित भइन्छ भन्ने कुरालाई पुष्टि गरेको छ । २०४९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले केही स्थानमा मात्रै जित हासिल गरेको थियो । त्यतिवेला कतिपय पालिकामा काँग्रेसको ज्याददी यति धेरै थियो कि निर्वाचन बहिस्कार गर्नुपर्ने अवस्था सृजना भएको थियो । दाङ जिल्लाका कतिपय पालिकामा भएका निर्वाचनमा मत गणना नै नगरेर एकैपटक घोषणा गरिएको थियो । त्यस्तो अवस्था पार गर्दै आउँदा २०५४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा एमालेले झण्डै सवै पालिकाहरु जितेको थियो । दाङका दुवै नगरपालिकामा जित हासिल गरेको थियो भने ३९ मध्य दुई चार बाहेक सवै गाविसमा जित हासिल गरेको थियो । संसदीय राजनीतिमा यो ठूलो उपलव्धि थियो । नेकपा एमालेमा आएको विभाजनमा गाविसका अध्यक्ष र उपाध्यक्षहरु विभाजित जस्तै भए । यसले गर्दा दाङ जिल्लामा कम्युनिष्ट जनमत विभाजित भयो । जितेका स्थानहरु कमजोर बन्दै गए ।
२०५६ सालपछि संसदीय निर्वाचन हुन समय लाग्यो । एकैपटक २०६४ सालमा संविधान सभाको निर्वाचन भयो । सविधान सभाको निर्वाचनमा आउँदा एमालेले एउटा पनि सिटमा जित हासिल गर्न सकेन् । २०७० मा भएको निर्वाचनमा पनि नेकपा एमालेले जित हासिल गर्न सकेन । २०६४ सालको संविधान सभा निर्वाचनमा सवै पाँच सिटमा माओवादी केन्द्रले जित हासिल गरेको थियो । यसपछि २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा दाङ जिल्लाका सवै निर्वाचन क्षेत्रमा काँग्रेसको जित भयो । २०७४ सालमा भएको संसदीय निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रका बीचमा गठवन्धन बनेको थियो । यो गठवन्धनले प्रदेश र संघीय अन्तरगत सवैजसो सिटमा जित हासिल ग¥यो । ३ को क बाहेक सवै सिटमा जित हासिल गरेको बामपन्थी जनतम २०७९ को निर्वाचनमा आउँदा फरक समिकरणमा जान बाध्य भयो । २०७९ मा भएको निर्वाचनमा तीन सिट संघीय अन्तरगत तीन पार्टीले बाँटेका थिए । छ सिट प्रदेश सभा अन्तरगत दुईवटा पाटीले बाँटेका थिए । जसमा माओवादी केन्द्रले दुई र बाँकी चार सिट काँग्रेसले जित हासिल गरेको थियो ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको परिणाम एमालेको पक्षमा आएको थियो । दाङ जिल्लामा कुनै पनि खालको गठवन्धन थिएन । एमाले र माओवादीका बीचमा सहकार्य गरेर जाने कि भन्ने खालका अनौपचारिक छलफल नभएका होइनन । दाङ जिल्लाले त्यतिवेला नयाँ गरेको भनेको जिल्ला समन्वय समितिका लागि सहकार्य गर्ने कुरा थियो । जिल्लाका १० पालिकामा प्रमुख र उपप्रमुख गरेर १० जना एमालेका मतदाता थिए । माओवादीका दुइजना र काँग्रेसका आठ जना थिए । एमालेका तर्फबाट प्रमुख र उपप्रमुख गरेर १० जना मात्रै रहेको भएपनि पालिकाका हिसावले एमालेले छ वटा पालिकामा प्रमुख जितेको थियो । चारवटा पालिकामा उपप्रमुख समेत जितेको थियो भने दुईवटा पालिकामा प्रमुख जितेको थियो । यसरी एमाले जिल्लाका छ वटा पालिकामा पुगेको थियो । यसलाई २०५४ सालमा एमालेले हासिल गरेको जितको निरन्तरता जस्तो थियो । पालिकागत रुपमा धेरै पालिका जितेको भएपनि एमालेले वडातहमा राम्रो नतिजा निकाल्न सकेको थिएन । जस्तो लमहीमा वडाध्यक्ष रुपमा दुइवटा जित्दा पालिका प्रमुख जितेको थियो । गढवामा वडाध्यक्ष एउटा मात्रै जित्दा पनि पालिका प्रमुख र उपप्रमुख जितेको थियो । वडागत रुपमा एमालेको नतिजा तुलनात्मक रुपमा कमजोर थियो । संघीयता कार्यान्वयनको प्रारम्भिक चरण भएकाले धेरैलाई धेरै कुरा थाहा थिएन । जनप्रतिनिधिले गर्ने काम र कार्यभारका बारेमा जनप्रतिनिधिहरु अनभिज्ञजस्तै थिए । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा कतिपय पालिकाहरुमा प्रदेशका सांसदहरु आएर निर्वाचनमा लडेको अवस्था थियो । यसले के बताउँछ भने नेपालमा संघीयता अन्तरगत तल्लो तहको सरकारमा आकर्षण रहेको छ । तीन तहका सरकारमध्य संघीय सरकार पहिलेदेखि अस्तित्वमा थियो । सवैलाई यो सरकारको सामर्थका बारेमा जानकारी थियो । प्रदेश तह नयाँ संरचना भएका कारणले धेरैलाई यसका बारेमा जानकारी थिएन । यो कसरी चल्छ ? यो लामो समय चल्छ कि चल्दैन ? कतै यो तह हट्ने हो कि भन्ने खालको संशय कायमै रहेको छ । २०७९ सालमा भएको निर्वाचनमा दाङ जिल्लाको कुरा गर्ने हो भने काँग्रेस र माओवादीले पहिलेको भन्दा तुलनात्मक रुपमा प्रगति गर्न सके । अघिल्लो निर्वाचनमा काँग्रेसले प्रमुख र उपप्रमुख गरेर आठ जित्दा पछिल्लो निर्वाचनमा काँग्रेस एक्लैले १२ स्थानमा जित हासिल ग¥यो । दुई वटा उपमहानगरपालिका एमालेले जित्दा तीनवटा गाउँपालिकाको प्रमुख माओवादीले जित्यो । पाँचवटा पालिकामा प्रमुख र सातवटा पालिकामा प्रमुख जितेर काँग्रेसले आफूलाई पहिलेको तुलनामा अव्वल सावित गर्न सक्यो । वडागत रुपमा कुरा गर्ने हो भने एमालेले वडागत रुपमा केही प्रगति हासिल ग¥यो । काँग्रेस र माओवादी वडागत रुपमा केही कमजोर भए । एमालेले सदस्य समेत जिताउन नसकेको पालिकाका रुपमा लमही नगरपालिका रह्यो । अन्य पालिकाका एमालेको ठिकै रह्यो ।
यो त विगतको विश्लेषण भयो । अव नेकपा एमाले कसरी अघि बढ्छ ? वा नेकपा एमाले दाङ कसरी अघि बढ्नुपर्छ ? आजको दिनमा यो सवैभन्दा महत्वपूर्ण सवाल हो । नेतृत्व भन्ने कुरा विचार बोकेर हिड्नुपर्छ । नेता खाली नारा बोकेर हिडेर मात्रै हुँदैन । नारा बोकेर हिड्ने, सडकमा मानिस उतार्ने एउटा विशेषता हुन सक्छ । राजनीतिलाई समाजको आँखाबाट हेर्नुपर्छ । राजनीतिलाई देशको भविश्यसंग जोडेर हेर्नुपर्छ । राजनीतिलाई समाजका सवै क्षेत्रसंग जोडेर हेर्नुपर्ने हुन्छ । नेकपा एमालेको इतिहास योद्दाहरुले भरिएको इतिहास हो । नेत्रलाल पौडेल जस्ता योद्धाहरुले लगानी गरेको जिल्ला हो दाङ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएका नारायणप्रसाद शर्मा जिवितै हुनुहुन्छ । अर्का संस्थापक माणिकलाल गौतमले हामीलाई छाडेर जानु भएको धेरै भएको छैन । दाङ जिल्ला गुम्ह्रा थारुले रगत बगाएको जिल्ला हो । किसान आन्दोलनका क्रममा तत्कालिन सत्ताले गोली हानेर थारुको हत्या गरेको थियो । दाङ जिल्लाको किसान आन्दोलनलाई उठाउनका लागि भूमिका खेल्नुभएका अशोक थारुको जिल्ला हो । ऋषिराम चौधरीले आन्दोलनको नेतृत्व गरेको जिल्ला हो । अशोक चौधरीले थारुहरुलाई संगठित गरेर अघि बढेको जिल्ला हो । विर्सनै नहुने अर्को नाम भनेको महेश चौधरीको हो । इतिहास लेखन गरेर मात्रै होइन पंचायती व्यवस्थाको समयमा जनपक्षिय उमेदवारका रुपमा मैदानमा उत्रनु भएका महेश चौधरीले पसिना बगाएको जिल्ला हो । दाङ जिल्लामा शिवराज गौतमले गरेको भूमिकाका बारेमा धेरै कुरा लेख्न बाँकी नै छ । आफू जमिन्दार परिवारको भएर पनि गरीव तथा विपन्नहरुको हितमा लाग्ने उदाहरण गौतमको छ । उहाँ एक हिसावले भन्ने हो झुपडीको नेता हुनुहुन्थ्यो । जनपक्षिय उमेदवारका रुपमा २०४३ सालमा मैदानमा होमिनुभएका गौतमकै कारणले दाङ जिल्ला कम्युनिष्टको किल्ला बन्न सकेको हो । दाङ जिल्लाको सन्दर्भमा विर्सनै नमिल्ने नाम श्रीमणी आचार्यको हो । मेघबहादुर विसीको हो । यस्तै घनश्याम बुढाथोकीको हो । यस्तै दुर्गाप्रसाद मजगैया लगायतका योद्दाहरुको नाम विर्सन मिल्दैन । २०५१ सालमा विजौरी गोली काण्डमा सहादत प्राप्त गर्नुभएका योद्दाहरुको रगतले सिंचित भूमि हो दाङ जिल्ला । उमेशचन्द्र थापाको नाम लोकतान्त्रिक सहिदका रुपमा स्थापित नै छ । दिवगंत दर्जनौं नेता कार्यकर्ताहरुले रगत पसिना बगाएको भूमि हो दाङ जिल्ला ।
दाङ जिल्लाले केन्द्रिय रुपमा आफूलाई उभ्याएको छ । नेकपा एमाले बाहेक अन्य पार्टीमा पनि राजनीतिक रुपमा नेतृत्वमा पुग्नेहरुको ठूलो संख्या दाङ जिल्लामा रहेको छ । यस बाहेक एमालेको मात्रै कुरा गर्ने हो भने नेकपा एमालेको शक्तिशाली महासचिवका रुपमा शंकर पोखरेल कृयाशिल हुनुुहुन्छ । शंकर पोखरेल २०५१ सालमा तत्कालिन क्षेत्र ३ बाट निर्वाचित हुनुभयो । २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बन्नुभयो । २०७४ सालमा भएको निर्वाचनमा प्रदेश सभामा जाँदै मुख्यमन्त्रीका रुपमा सफल काम गर्नुभयो । नेकपा एमालेलाई बैचारिक रुपमा अघि बढाउने सवालमा पोखरेलको भूमिका महत्वपूर्ण रहेको छ । अझै केही बर्ष उहाँको सक्रियताले नेकपा एमालेलाई राष्ट्रिय राजनीतिमा अव्वल दलका रुपमा उभ्याउनेछ । पार्टी कमिटीको जिम्मेवारीका हिसावले कार्यकारी भुमिकामा नरहेको भएपनि युवराज ज्ञवालीले आफूलाई दाङ जिल्लाबाटै अघि बढाउनुभएको छ । हाल पार्टीमा उपाध्क्षको भूमिका रहनुभएका ज्ञवाली कुनै बेला राष्ट्रिय सभामा विपक्षी दलको नेता र पछि मन्त्री बन्नुभएको थियो । ज्ञवालीले प्रत्क्षयतर्फ निर्वाचन लड्नुभयो तर जित्नु भएन । निर्वाचनमा जित्नका लागि अनुकुल अवस्था थिएन । २०४८ सालमा तत्कालिन क्षेत्र नं. ३ मा खुमबहादुर खड्काको विरुद्धमा उमेदवारी दिने र मैदानमा भिड्ने कुरा सामान्यकुरा थिएन । यसर्थ ज्ञवालीले गरेको योगदानको कदर गर्दै आगामी दिनमा उहाँको सहयोग नेकपा एमालेले दाङ जिल्लाका लागि लिनुपर्छ । मानिस पदका लागि मरिहत्ते गर्दछन् । तर दाङ जिल्लामा शोभाराम बस्नेत हुनुुहन्छ । जो आन्दोलनमा जोडिरहनुभयो । पदको आशक्ति कहिल्यै रहेन । यो मलाई चाहियो भन्ने भाव कहिल्यै आएन । २०६४ सालमा भएको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार भएका पाँचै जनाले निर्वाचनमा पराजय भोगेपछि बस्नेले नैतिकताका आधारमा राजीनामा दिनुभयो । नैतिकताको खडेरी परेको समयमा बस्नेतले उदाहरण प्रस्तुत गर्नुृभएको थियो । दाङ जिल्ला मुलतः सामन्तहरुको जिल्ला हो भन्ने गरिन्छ । पहिले सामन्त बर्गको संख्या ठूलो थियो । सामन्त बर्गबाट प्रतिनिधित्व गरेर पनि आफूलाई कम्युनिष्ट राजनीतिमा लगाउने व्यक्तित्व हो राममणि नेपाली । उहाँको नाम राममणि नेपाली हो । पंचायती व्यवस्थाको समयमा विद्रोह गर्नुपर्छ भनेर आफ्नो थर नराखेर विद्रोह गर्ने चलन थियो । उहाँले आफूलाई नेपाली बनाउनुभयो । यसबाट दुईवटा अर्थ लाग्दथ्यो । दलितलाई साह्रै हेलागर्ने त्यतिवेलाको समाजलाई प्रहार गर्नका लागि बाहुन केटोले गरेको विद्रोह थियो । अर्को सवै नेपाली समान हुन । कोही ठूलो र कोही सानो हुँदैन भनेर परिचय दिने कुरा पनि थियो ।
दाङ जिल्लामा योद्धाहरुको कुनै कमि छैन । इतिहास कतिको लेखिएको होला । कतिको नलेखिएको होला । कसैको इतिहास लेखिएन वा कसैको बढी लेखियो भन्दैमा त्यहि सत्य हुँदैन । इतिहासमा कोही अन्यायमा पर्न सक्छ । कोही छेंउमा पर्न सक्छ । कसैले कसैको इतिहासलाई गलत परिकाले पस्कन सक्छ । ठूलोलाई धुलो र धुलोलाई ठूलो बनाउन सक्छ । इतिहास कसैले बङ्ग्याएर बङ्ग्याउने विषय होइन । कसैले पनि इतिहासमाथि गद्दार गर्न सक्दैन । दाङ जिल्लाको इतिहास थारुबाट सुरु हुन्छ । थारु जातिपछि दाङको इतिहासमा क्षेत्रिहरुको उपस्थिति जवरजस्त रहेको छ । थारुहरुले दाङको बाँझो जमिनलाई उर्वर बनाए । त्यो उर्वर जमिनमा खेती पाती गर्ने, पशु चौपाया पालेर हराभरा बनाउने काम क्षेत्रिहरुले गरेका छन् । नेतृत्वमा क्षेत्रिहरुलाई पनि अघि बढाउनुपर्छ भनेर नेत्रलाल पौडेल अभागीले नै पहल गर्नुभएको थियो । त्यसअघि दाङ जिल्लामा हरेक क्षेत्रमा ब्राम्हणहरुको उपस्थिति रहेको हुन्थ्यो । नेत्रलाल पौडेलले क्षेत्रीहरुलाई अघि बढाउने काम गर्नुभयो । ति मध्य एकजना छविलाल वली पनि हो । दाङ जिल्लामा कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेर भूमिका खेल्नुभएका गिरिराज केसी, टोपेन्द्र केसी लगायतका योद्दाहरुको योगदान सँझना र सम्मान गर्न योग्य रहेका छन् । दाङ जिल्लामा जिवित धेरै नेताहरु हुनुुुहुन्छ । जसको योगदानले कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको छ । नारायणप्रसाद शर्मा देखि हुकुम बस्नेतसम्म आउँदा कोही जिल्लाकै कोही जिल्ला बाहिरका नेताहरुले योगदान गर्नुभयो । गोपाल शाक्य देखि हुँदै आउँदा बाँकेका देवराज भार, कैलालीका यज्ञराज बास्तोला, रामचन्द्र अधिकारी लगायतको सँझना गर्नुपर्ने हुन्छ । विभिन्न भूमिकामा रहदै आउनुभएका रेवतीरमण शर्मा, लक्ष्मण आचार्य, नरुलाल चौधरी, टिकाराम खड्का लगायतको पसिना र परिश्रमले दाङको भूमि सिंचित भएको छ । गौरवमय इतिहास भएको नेकपा एमालेको आगत कस्तो बनाउने भनेर निर्णय गर्ने समय पुनः आउँदैछ । आगामी जेठको ६ गतेका दिन त्यो दिन पुनः आएको छ । (बाँकी आगामी सोमबार)