spot_img
spot_img

घट्दै चरन क्षेत्र, पशुचौपाया पाल्नै कठिन

छबि पुरी/राप्ती पोष्ट

घोराही, बैशाख । कुनै बेला प्रसस्त खुला क्षेत्र अनि सार्वजनिक चौर हुँदा गाईबस्तु पाल्नेहरुलाई सहज हुन्थ्यो । घरमा पालेका पशुचौपाया चराउने थलो खुला मैदान अनि सार्वजनिक चौर प्रयोग हुन्थे । घरमा जति धेरै पशुचौपाया त्यति नै महत्व पनि हुन्थ्यो । बदलिँदो समाज अनि खुम्चिँदो खुला क्षेत्रका कारण अचेल गाईबस्तु चराउने ठाउँ पाउन पनि मुस्किल हुन थालेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १६ मघैका ५७ वर्षीय बिमल चौधरीलाई दुईदशक अघिसम्म घरमा पालेका गाईबस्तु, भेँडाबाख्रा चराउन निकै सजिलो हुन्थ्यो । गाउँभरीका गाईबस्तु खुला चौरमा चर्थे । ‘चरनको कुनै समस्या थिएन, गाउँघरमा गाईबस्तु पालिएन भने शोभा हुँदैन, दुधदही, ध्यूका लागि गाई भैँसी पाल्नुपर्छ, भेँडाबाख्रा पालेर घरव्यवहार चलाउन सजिलो हुन्छ’ उहाँले भन्नुभयो ‘अहिले त मनले पाल्ने इच्छा भएपनि नसकिने अवस्था आयो । जता हेर्यो घरैघर अनि तारबार । अनि कसरी गाईबस्तु पाल्नु र ? निकै गाह्रो हुने अवस्था छ ।’
बिलम चौधरीको घरमा भँेडा बाख्रा गरेर २७ वटा छन् । घाँस पाईने मौसममा त केही सहज हुन्छ तर सुक्खा मौसन शुरुभयो भने ती पशुचौपाया कसरी पाल्ने भन्ने पीरलो आईलाग्छ । ‘अचेल हरियो घाँस पाउन निकै कठिन छ । चराउन लैजाने हो भने हिजोको जस्तो खुला ठाउँ नै छैन । भएपनि थोरै छ । त्यसमा ढुंगा, गिट्टीले भरिएर घाँस पाउनै सकस । सबै सुकेर धाँजा फाटेको जमीनमा पशुचौपायाले चर्ने केही हुँदैन, तै पनि मनको शान्ति, दिनभरी जे जति हुन्छ, चराउनुको विकल्प छैन’ उहाँले भन्नुभयो ‘पशु पाल्न पनि नसक्ने जमाना आयो ।’

सोही ठाउँका चुल्लु चौधरीको घरमा पनि अहिले १६ वटा गाई बाख्रा छन् । बर्खा र हिउँदमा जसोतसो घाँसको जोहो गरेर गुजारा चलाउनुहुन्छ । जब सुक्खा मौसम शुरु हुन्छ, त्यसपछि ती गाई बाख्रा कहाँ लगेर चराउने अनि पेट भराउने भन्ने चिन्ता थपिन्छ । हिजोका खुला चौर अनि मैदान सबै मासिएका छन् । ‘भएका ठाउँमा पनि तारबार गरेर विभिन्न संरचना बनाइएका छन् । बढ्दो जनसंख्या अनि जमीनको महत्वले सार्वजनिक क्षेत्र पनि अतिक्रमणको चपेटामा परेपछि गाउँघरमा गाईबस्तु पाल्नेलाई समस्या थपिँदै गएको छ’ चुल्लुले भन्नुभयो ‘सार्वजनिक मैदान मासेर गाईबस्तु चराउने ठाउँ हरायो, मानिसलाई विपद पर्यो भने बस्ने ठाउँ सकियो ।’

राजपुर गाउँपालिकाको खरदरियाका लोकबहादुर यादवको घरमा अचेल १५ वटा मात्रै भैँसी छन् । बाउबाजेको पालामा ६० थान भैँसी थिए । हिजोका दि नमा चरन क्षेत्र प्रसस्त थियो । ‘जता लगेर चराए पनि केही हुदैनथ्यो । खुला क्षेत्र भएको ठाउँमा भैँसी चराउन सहज थियो तर अचेल १५ वटा भैँसी पाल्न पनि निकै समस्या छ’ लोकबहादुरले भन्नुभयो ‘जहाँ मन लाग्यो त्यहाँ चराउने जमाना गए, अरुको खेतमा चराउने कुरा भएन, खुला ठाउँ खोज्ने हो कतै पाईदैन । अनि कसरी भैँसी पाल्नु र पुख्र्यौली पेशालाई निरन्तरता दिनु ?’

खरदरिया गाउँमा भैँसी नपालेको घर छैन । हरेक घरमा भैँसी छन् । तर, हिजोका दिनमा जसरी धेरै भैँसी पालेको भेटिँदैन । ठूलो परिवार भएका घरमा केहीले भैँसी पालेका हुन्छन् । नभए सानो परिवार भएका घरमा सिमित संख्यामा मात्रै भैँसी पालेको भेटिन्छ । जंगल क्षेत्र सामुदायिक वन बनाएर चराउने ठाउँ छैन, नदी किनारको जमीन अलिअलि कतै छ, त्यहीँ चराउने हुन्छ, अरु त सबै मासेर केही बाँकी छैन । ‘खुला ठाउँ पाउनु त एकादेशको कथा जस्तै भईसक्यो’, खरदरियाका अर्का किसान रामकुमार यादवले भन्नुभयो ‘यादव समुदायले अब यस्तै हो भने भोलिका दिनमा भैँसी पालेको पाउन कठिन छ । भैँसी पाल्नका लागि पहिलो कुरा आहारा हो, घाँस पाईएन भने कसरी पाल्नु, खुला चौर भएन भने कसरी उनीहरुलाई चराउनु ? परम्परागत अनि पुख्र्यौली पहिचान बोकेको भैँसी पाल्ने पेशा नै संकटमा पर्न थालिसक्यो ।’

जिल्लाको कूल क्षेत्रफल करीव तीन वर्ग किलोमीटर रहेको छ । यसमध्ये धेरै भूभाग जंगलले ओगटेको छ । मानिसका नीजि जग्गा छन् । शहर बजार बिस्तार हुँदै गएको छ । खाली जमीन अतिक्रमणमा पर्दै गएका छन् । भएका ठाउँमा पनि स्थानीयले नै तारबार गरेर विभिन्न प्रकारका संरचना बनाउने काम गर्दै आएका छन् । जसले गर्दा गाईबस्तु पाल्न हिजोको जस्तो सजिलो छैन ।

व्यावसायिक रुपमा पशुपालन गरेकाहरुलाई पनि बाह्रै महिना घाँस पुर्याउन चुनौति नै देखिन्छ । पशुपालन गरेकाहरुले घाँस रोपेर जोहो गरेपनि यो बाह्रै महिनाका लागि पुर्याउन कठिन नै हुन्छ । भुस, पराल, छ्याली मिसाएर आहारा पुर्याए पनि पशुचौपायालाई हिँडडुल गराउने प्रसस्त ठाउँ मासिएको छ ।

गाईबस्तु पाल्नका लागि पूर्वाधारसँगै उनीहरुका लागि आवश्यक खुला क्षेत्र पनि उत्तिकै आवश्यक हो भन्ने बुझाई सबैमा हुन सके अतिक्रमणको चपेटामा परेका सार्वजनिक खुला क्षेत्र पशुहीतका लागि उपयोग हुन सक्ने अवस्था रहन्थ्यो’, राप्ती गाउँपालिका ६ का किसान बोधी चौधरीले भन्नुभयो ‘यो हामीले मात्रै सोँचेर नहुने रहेछ, पशु अधिकारका बारेमा खै कसले बुझि दिने ? उनीहरु पनि खुला चौरमा चर्न चाहन्छन् होला, घाँसे मैदानको अपेक्षा गर्छन् होला तर यो विषय स्थानीय सरकार आईसके पनि अझ संकुचित हुँदै गएको छ । किसानलाई पशुपालनका लागि भनियो तर यससँग जोडिएका आवश्यक पूर्वाधारका बारेमा दीर्घकालीन रुपमा सोचिएन । जसले व्यावसायिक पशुपालक किसानलाई पनि काम गर्न कठिन भईरहेको छ ।’

दाङमा व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको संख्या हजारको हाराहारीमा छ । तर, त्यो भन्दा कैयाँ धेरैको संख्यामा परम्परागत रुपमा ठूलो संख्यामा पशुपालन गर्ने किसानहरु छन् । उनीहरुसँग पहिलेदेखि नै पशुचौपाया पाल्दै आएको अनुभव छ । हिजोका दिन पशुचौपाया पाल्दाखेरीदेखि अहिलेसम्मको अवस्थामा धेरै भिन्नता आईसकेका उनीहरु बताउँछन् ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img