शरद अधिकारी
दाङ जिल्लाको परिचय एसियाको ठूलो उपत्यका भन्ने रहेको छ । यद्दपी दाङ जिल्लामा एउटा मात्रै उपत्यका रहेको छैन । झण्डै काठमाडौं जत्रो देउखुरी उपत्यका रहेको छ । यसैगरी तुई दाङ रहेको छ । अन्य साना उपत्यकाहरु, पहाडी भुगोल रहेको छ । दाङ जिल्ला नेपालका अन्य जिल्ला भन्दा फरक रहेको छ । जिल्लाको विकासका लागि हुनुपर्ने जति पहल भएको छैन । राजनीतिक नेतृत्वमा दाङ जिल्लाबाट धेरै पुगेका छन् । सांसद मन्त्रीहरुको लामो लिष्ट छ । यसैगरी प्रशासनिक रुपमा सचिव सम्म भएका व्यक्तित्वहरु धेरै भेटिन्छन । सुरक्षा निकाय तर्फको कुरा गर्ने हो दाङ जिल्लाका छोराहरु सर्वोच्च पदमा पुग्न सकेका छन् । दाङ जिल्लाबाट व्यापार व्यवसायका लागि नेपालका कुना कुनामा मानिस पुगेका छन् । वैदेशिक रोजगारमा जानेहरुको अभाव छैन । जिल्लामा अनेकन सम्भावनाहरु छन् । धेरै सम्भावना हुँदा पनि विकास भएको छैन । मुख्य सडकका खोलामा पुल बन्न सकिरहेका छैनन । हवाई यातायात आकासको फल जस्तो भएको छ । अनेकन पूर्वाधार बन्न सक्ने, विकासका आधार बन्न सक्ने देखिन्छ । आशा गरेका धेरै कुराहरु पुरा भएका छैनन् । दाङ जिल्लाको विकास किन हुन सकेन त्यो विवादको विषय भन्दा आगामी दिनमा के गर्ने भन्ने योजना बनाउनुपर्छ । हामी योजना बनाउने सवालमा कमजोर छौं । कसरी दाङलाई समृद्ध बनाउन सकिन्छ । कस्ता योजनाहरु अघि सार्नुपर्छ ? भन्ने बारेमा छलफल हुने गरेको छैन ।
जिल्लाको मास्टरप्लान
दाङ जिल्लामा दुर्ईवटा उपमहानगरपालिका रहेका छन् । जिल्लामा रहेका दुवै उपमहानगरपालिकालाई मिलाएर एउटा महानगर बनाउने कुरा शंकर पोखरेल प्रदेश नं.५ को मुख्यमन्त्री हुँदा नै उठेको हो । अहिले यो लुम्विनी प्रदेश भएको छ । महानगर बनाउने कुरा ओझेलको विषय बनेको छ । घोराही र तुलसीपुरलाई मिलाएर एउटा महानगर बनाउने कुरा भन्दा पहिले जिल्लाको विकासका लागि एउटा मास्टर प्लान बनाउन जरुरी छ । जिल्लाको एउटा बृहत्तर योजना नहुँदासम्म महानगरको कुरा पुरा हुन सक्ने छैन । जिल्लाको विकासका लागि मास्टर प्लान बनाउनै पर्दछ । जसमा कम्तीमा पनि केही आधारभूत विषयलाई समेटनुपर्छ । मास्टर प्लानमा समेटनुपर्ने विषयहरुलाई यसरी लिन सकिन्छ ।
क) बस्तीको विकास कहाँ गर्ने कसरी गर्ने ।
ख) खेती योग्य जमिन जोगाउने गरी प्लानिङ गर्ने, जथाभावी प्लटिङ गर्ने कुरा पूर्ण रुपमा रोक्ने ।
ग) बन क्षेत्रका लागि स्थान निश्चित गर्ने, बन क्षेत्र जोगाउने विशेष योजना बनाउने
घ) खुल्ला क्षेत्र कहाँ कहाँ छोड्ने । कम्तीमा एउटा वडामा एउटा खुला क्षेत्र बनाउन सकियो भने जिल्लामा एक सय वटा खुला क्षेत्र बनाउन सकिन्छ । भूकम्प वा अन्य केही विपद आएको अवस्थामा खुला स्थान आवश्यक पर्दछ ।
ङ) खेल मैदान कहाँ कहाँ बनाउने एकिन गर्ने । हरेक वडामा एउटा खेल मैदानका लागि जमिन छोडिनुपर्छ । घोराही, तुलसीपुर र लमहीमा फूटवल र क्रिकेटका अन्तर्राष्ट्रिय स्तरका स्टेडियम बनाउने बारेमा सोच्नुपर्छ । अहिले रहेका १० वटै पालिकामा पालिकास्तरमा प्रतियोगिता आयोजना गर्न सक्ने गरी प्रदेशस्तरिय संरचना बनाउनुपर्छ ।
च) जिल्लामा अहिलेको बजारलाई आधार बनाएर कुन कुन बजारका लागि कस्ता खालका बसपार्क आवश्यक पर्दछ । ति कहाँ बनाउने भन्ने बारेमा मास्टर प्लानमा स्पष्ट खाका कोरिनुपर्छ ।
छ) दाङ जिल्ला विकासका हिसावले पछि पर्नुको एउटा कारण मध्य एयर पोर्ट नहुनु प्रमुख हो । दाङ जिल्लाको एयरपोर्ट देशकै पुरानो हो । कतिपयले काठमाडौंपछि दाङमा एयरपोर्ट बनाइएको थियो भन्ने गर्दछन् । निकै पुरानो एयरपोर्ट अहिले किन सुनसान छ । यहाँ किन विमानहरु बस्दैनन् । दाङ जिल्लालाई बेस बनाएर कर्णालीका जिल्लामा उडान गर्नुपर्ने हो । मास्टर प्लानको कुरा गर्दा एयरपोर्टलाई छुटाउन मिल्दैन ।
ज) औद्योगिक क्षेत्रको कुरा निकै जोडतोडले उठ्ने गरेको छ । केपी ओली पछिल्लो पटक प्रधानमन्त्री भएको समयमा औद्योगिक क्षेत्रको निर्णय भएको थियो । औद्योगिक क्षेत्र जिल्लाको विकासका लागि आवश्यक पूर्वाधार हो । यसर्थ यो विषयलाई मास्टर प्लानको विषय बनाउनुपर्छ ।
ञ) दाङ राजधानी क्षेत्र भएको जिल्ला हो । लुम्विनी प्रदेशको राजधानी देउखुरी भएकाले देउखुरीका लागि बेग्लै मास्टर प्लान बनाउनुपर्छ । देउखुरी क्षेत्रलाई नमुना सहर बनाउने हो भने सोही अनुसार मास्टर प्लान बनाउनुपर्छ । राजधानी सुन्दर हुनुप¥यो । राजधानी सफा हुनुप¥यो । राजधानी खुल्ला हुनुप¥यो । राजधानी आकर्षक हुनुप¥यो ।
ट) दाङ जिल्लामा एउटा पनि रिङरोड रहेको छैन । केही बर्ष अघि घोराहीमा एउटा रिङरोड बनाउने भनेर योजना बनाइयो । यो योजना अहिले अघि बढ्न सकेको छैन । जिल्लाको विकासका लागि रिङरोड चाहिन्छ । घोराहीमा कम्तीमा दुईवटा, तुलसीपुरमा दुईवटा र समग्र दाङ उपत्यकालाई समेट्ने गरेर रिङरोड बनाउने योजना बनाउनुपर्छ ।
जिल्लाको समग्र गुरुयोजनामा अनेकन विषयहरु समेट्न सकिन्छ । मास्टर प्लान बनाएपछि सोही अनुसार विकासका अन्य योजनाहरु अघि बढ्छन् । दाङ जिल्ला भन्दा ठूला स्थानहरुको गुरुयोजना बनाएर विकास गरेका थुप्रै उदाहरणहरु रहेका छन् । विश्वका कयौं मुलुकले देशकै मास्टर प्लान बनाएको पाइन्छ । देशको बनाउन सकिन्छ भने जिल्लाको बनाउन नसकिने कुरा होइन । दाङ जिल्लाको विकासको सम्भावनाका बारेमा बहस गर्दै जाँदा हामीले ध्यान दिनुपर्ने विषयहरु केही रहेका छन् ।
घोराही र तुलसीपुरलाई जोडौं
अहिले घोराही र तुलसीपुर भन्ने भावना रहेको छ । घोराही र तुलसीपुरलाई जोडन सकियो भने दाङ जिल्लाको विकासका लागि कुनै समस्या हुँदैन । घोराही र तुलसीपुरलाई जोड्न महानगर बनाउन सकिन्छ । तर घोराही र तुलसीपुरलाई नजोडिकनै महानगर बनाउने कुरा हतारको योजना हुन्छ । घोराही र तुलसीपुरलाई जोड्नका लागि फोर लेन सडकलाई जतिसक्यो छिटो बनाउनुपर्छ । अहिले दुई लेन सडकमा टालो हाल्दा खुसीहुनुपर्ने अवस्था आएको छ । जिल्लाको समग्र विकासलाई अघि बढाउने हो भने अविलम्व घोराही र तुलसीपुरलाई फोर लेन सडकका माध्यमबाट जोड्नुपर्छ । सवै खोलामा चारलेनकै पुल बनाउने, बाटो पनि सोही अनुसार बनाउने तर्फ योजना बनाउनुपर्छ ।
सडक सञ्जालको व्यापकता
दाङ जिल्लाको विकासका लागि सडक सञ्जाल अनिवार्य शर्त हो । विगतमा थोरै हेलचेक्राइ गर्र्दा दाङ जिल्लाको व्यापार व्यवसाय समस्यामा परेको हो । भालुवाङबाट प्यूठान जोड्ने सडकका कारणले गर्दा घोराही बजारको व्यापारमा कमि आएको हो । यस्तै सहिद मार्ग राम्रो नवनेका कारणले गर्दा यात्रुहरु जोखिमको यात्रा गर्न बाध्य रहेका छन् । सुर्खेत पुरन्धारा हुँदै तुलसीपुरबाट घोराही जोड्ने सडक अहिलेपनि राम्रोगरी संचालनमा आउन सकेको छैन । कर्णाली प्रदेशका लागि यो छोटो गन्तव्य बन्न सक्छ । कर्णाली प्रदेशबाट राजधानी काठमाडौ वा पूर्वतर्फ जाने गाडीहरुलाई यहि बाटोबाट ल्याउन सक्ने हो भने दाङ जिल्लाका लागि धेरै फाइदा हुनेछ । यस्तै अन्य विभिन्न सडकहरुको अवस्था दयनिय रहेको छ । सडकको अवस्था राम्रो बनाउँदै सडक सञ्जाल व्यापक बनाउने हो भने मात्रै दाङ जिल्लाको आर्थिक विकास हुन सक्छ । यस्तै रिङरोडहरु बनाउने कुरा, वडाबाट वडा जोड्ने सडकहरु, वडाबाट पालिका जोड्ने सडकहरु राम्रो बनाउनुपर्छ ।
पानीको संरक्षण
दाङ जिल्लाको विकासका लागि जोड दिने हो भने पानीको संरक्षणलाई मुल विषय बनाउनुपर्छ । दाङ जिल्लामा पानीको अभाव रहेको छ । पानी हरेक बर्ष गहिरोमा जाँदैछ । पानीको संरक्षणका लागि जिल्लामा रहेका सवै सामुदायिक बनले एउटा एउटा पोखरी बनाउने हो भने तुरुन्तै पाँच सय भन्दा बढी पोखरी दाङ जिल्लामा तयार हुन्छन् । अहिले घोराही तुलसीपुर र केही पालिकाले पानीका लागि तलाई बनाइरहेका छन् । सवै सामुदायिक बनलाई यो काममा सहभागि गराउने हो भने पानीको संरक्षण हुन्छ भने पर्यटनको सम्भावना बढ्छ । अतः जिल्लामा पानीको संरक्षणको विषय जिल्लाको समृद्धिसंग जोडिएको विषय हो । केही खोलामा हाइड्याम बनाउने भन्ने कुरा उठ्ने गरेको छ । हाइड्याम बनाउने कुरा उठिरहेको भएपनि काम भएको छैन । केही तलाउ बनाउने बाहेक अरु काम हुन सकेको छैन । पानीको संरक्षण भए जिल्ला उर्वर जिल्ला बन्न सक्छ ।
बबई करिडोर निर्माण
दाङ उपत्यकामा रहेको एउटा मात्रै नदि ववईले घोराही, तुलसीपुर, दंगिशरण र बवई गाउँपालिकालाई छुन्छ । ववई करिडोर निर्माण गर्ने कुरालाई धेरैले वास्ता गरेका छैनन् । दाङ जिल्लाको विकासका लागि ववई करिडोर अत्यन्त आवश्यक छ । जिल्लाको विकासमा यो करिडोरले भूमिका खेल्नेछ । बवईको दुवैतिर बाटो निकाल्ने हो भने यसले दाङको दक्षिणी भेगमा विकास पुग्छ भने पानीको संरक्षण हुने कुरा, नयाँ शहर बन्ने कुरा सम्भव हुन्छ । देउखुरीमा राप्तीलाई आधार बनाएर करिडोर निर्माण गर्न सकिन्छ भने दाङमा बवईलाई आधार बनाएर करिडोर निर्माण गर्न सकिन्छ । यस्तै ठाडा खोलाहरुलाई आधार बनाएर उत्तर दक्षिणमा बाटाहरु खोल्न सकिन्छ ।
ठूला आयोजनाको छनौट
दाङ जिल्लामा ठूला आयोजनाहरु संचालनमा आउन सकेका छैनन् । बातावरण प्रदुषण बढाउने सिमेन्ट उद्योगहरु खुलेका छन् । सिमेन्ट उद्योगहरु हामीहरुका लागि निल्नु न ओकल्नु भएका छन् । सिमेन्ट उद्योगले स्थानीय कच्चा पदार्थको उपयोग गरेका छन् । स्थानीय रुपमा बातावरण प्रदुषण गरेका छन् तर सिमेन्ट उद्योगका कारणले दाङ जिल्लाले फाइदा लिन सकेको छैन । अव यो भन्दा फरक खालका ठूला आयोजनाहरु दाङ जिल्लाका लागि ल्याउनुपर्छ । जस्तो जडिवुटीको खेती गरेर जटिवुटी प्रशोधन खेन्द्र संचालन गर्ने कुरा, दुग्धजन्य परिकारका लागि ठूला उद्योग खोल्ने कुरा, कृषिका उद्योग खोल्ने कुरा, पशुपालन र खेतीपातीका ठूला योजना बनाउन सकिन्छ । उत्पादन गर्ने र त्यो उत्पादनलाई आय आर्जनको बिषय बनाउनुपर्छ । यसरी दाङ जिल्लाको समृद्धिमा इटा थप्न सकिन्छ ।
जिल्लाको विकासका लागि विज्ञहरुले छलफल थाल्नुपर्छ । यसमा दुईवटा पाटो हुन्छ । एउटा प्राविधिक पाटोबाट कहाँ के के सम्भावना हुन्छ भन्ने कुराका बारेमा एकिन गर्नुपर्छ । अर्को भनेको सैद्धान्तिक पाटो हो । सैद्धान्तिक पाटोमा हेर्दा जिल्लामा के के संरचना बनाउनुपर्छ । उद्योग के कस्ता राख्नुपर्छ । भौतिक संरचना के कस्ता बनाउनुपर्छ भन्ने बारेमा हुनुपर्छ । यस्ता विषयमा उद्योग बाणिज्य संघहरुले छलफल चलाउनुपर्छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले बहस चलाउनुपर्छ । लेख्नेहरुले कलम चलाउनुपर्छ । जसरी पनि दाङ जिल्लाको विकासको सम्भावना खोल्ने काम गर्नुपर्छ ।