spot_img
spot_img

बासस्थान जोखिममा पर्दा गिद्ध संकटमा

छवि पुरी/राप्ती पोष्ट

घोराही, मंसिर । केही वर्षअघिसम्म लालमटियाको जंगलमा ठूलो संख्यामा गिद्ध बस्थे । त्यहाँ रहेका अग्ला रुखका टुप्पोमा गिद्धका गुँड थियो । उनीहरुको बसोबास त्यहीं हुन्थ्यो । राप्ती गाउँपालिका २ स्थित कालिका सामुदायिक वन क्षेत्रमा गिद्धको खास बसोबास थियो ।

त्यहाँ बस्ने गिद्धले सिनो खोज्थे, खान्थे । तर अहिले ती रुखमा गिद्धका गुँड हराएका छन् । बिस्तारै आवादी बढ्दै गएपछि गिद्धलाई त्यहाँ बस्न समस्या हुँदै गयो । जसको विकल्प खोज्दै गिद्ध अन्यत्र बसाइँ सर्दै गए । आक्कल झुक्कल रुपमा वन क्षेत्रमा सिनो राखियो भने मात्रै गिद्ध देखिने गरेका छन् । आहाराको व्यवस्था भएपनि गिद्धलाई सुरक्षित बासको अभाव देखिएको छ । जसको विकल् खोेज्दै गिद्ध अन्यत्र लागेका हुन् । जसले गर्दा पुराना गुँडहरु पनि हराउन थालेको छ ।
कालिका सामाजिक वन पशु बृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रका अध्यक्ष यमबहादुर रोकाले गिद्धलाई आहाराभन्दा बासको उचित व्यवस्थापन हुन नसकेको बताउनुहुन्छ । उहाँका अनुसार, यो ठाउँमा २०६५ सालबाट गिद्ध संरक्षण थालिएको हो । १५ वर्ष बितिसक्दा गिद्ध संरक्षणमा चुनौति थपिँदै गएको छ । शुरुवाती चरणमा यो ठाउँमा सात वटा डंगर गिद्धका गुँड रहेको थियो । अहिले ती गुँड हराएको पनि सात वर्ष भईसकेको उहाँले बताउनुभयो । कुनै बेलामा वन क्षेत्रमा लगेर सिनो राखियो भने मात्रै गिद्ध देखिने गरेका छन् । एक पटकमा सिनो पर्यो भने ठूलो संख्यामा गिद्ध आउने गरेका उहाँ बताउनुहुन्छ ।

‘सिनो परेको खण्डमा सुन गिद्ध, राज गिद्ध, सानो खैरो गिद्ध, डंगर गिद्ध देखिन्छन् तर के गर्नु ? बासस्थानकै मुख्य अभाव छ’ गिद्ध संरक्षण केन्द्रका अध्यक्ष रोकाले भन्नुभयो ‘सशस्त्र प्रहरीको फाइरिङ क्षेत्र भएकाले पनि गिद्धहरु यहाँ बस्न छाडेका हुन् । यसको बारेमा त्यति बेला ध्यान दिईएन । अहिले गिद्धलाई असर गर्यो ।’ विगतका दिनमा गाउँघरमा गाईगोरु पाल्ने चलन थियो । प्रविधि र यान्त्रिकरणको प्रयोगले गाईगोरु पाल्नेको संख्या निकै घटेको छ । हाल स्थानीय पालिकाको पहलमा गौशाला बनाएर पाल्ने गरिएको छ । यसले पनि गिद्धको आहारामा ठूलो धक्का लागेको छ । त्यो बेलामा गाईगोरु पाल्नेको संख्या धेरैहुँदा मरेको सिनो खान गिद्ध धेरै आउँथे । तर अहिले गाई गोरु पाल्न छाड्ने क्रम अस्वाभाविक रुपमा घटेको छ । जसले गर्दा गिद्धको आहारा पनि घटेको छ ।

अहिले निश्चित ठाउँमा पशु बृद्धाश्रम चलाइएको छ । त्यहाँ पालिएका गाई गोरु कालगतिले मरे भने गिद्धलाई आहारा दिइन्छ । यो अवस्थामा गिद्धलाई आहारा पुग्दैन । राप्ती गाउँपालिकाकै घण्टदेव सामुदायिक वनमा पनि कुनै बेलामा गिद्ध देखिन्थे । केही वर्षदेखि गिद्ध देखिन छाडेको सामुदायिक वन समुहका अध्यक्ष दलबहादुर घर्तीले बताउनुभयो । गिद्धले खाने सिनो पर्न छाडेपछि गिद्ध पनि हराउन थालेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘गिद्धको बासस्थान हराउँदै जाँदा गिद्ध पनि लोप हुने अवस्थामा पुगेका हुन् ।’ गिद्धले पारिस्थिकीय प्रणालीलाई सन्तुलनमा राख्न भूमिका खेल्ने भएकाले संरक्षणको आवश्यकता परेको नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत दिलीपचन्द ठकुरीको भनाई छ ।

नेपालमा गिद्धको संख्या विगतमा घट्दो अवस्थामा रहे पनि पुनः संरक्षण अभियान तीब्र हँुदा संख्या बढ्ने क्रममा रहेको देखिएको छ । नेपालमा कुनै समय पाँच लाखदेखि १० लाखसम्म गिद्ध रहेको उल्लेख भए पनि अहिले भने औंलामा गन्न सक्ने अवस्थामा गिद्धको संख्या रहेको ठकुरीको भनाई छ । अहिले नेपालमा डंगर गिद्धको संख्या दुई हजार छ भने सानो खैरो गिद्धको संख्या ५० देखि ७५ मा आइपुगेको छ । गिद्धको वासस्थान र आहाराको अभाव छ । जसले गर्दा गिद्धको संख्या घट्न पुगेको ठकुरीले बताउनुभयो ।

अहिले पशु चौपायामा लगाउने डाइक्लोफेनेक औषधि प्रतिबन्ध भएपनि मानिसमा प्रयोग हुने यो औषधि पशुचौपायामा लगाउने जोखिम रहेको छ । गिद्ध संरक्षणको लागि वासस्थानको लागि उपयुक्त अग्ला र ठूला रुखहरुको संरक्षण गर्नुपर्ने, गिद्धका सम्भावित वासस्थान क्षेत्र पहिचान तथा अनुगमन गर्ने, डाइक्लोफेनेक मानिसमा पनि प्रयोग हुने हुनाले मानिसमा प्रयोग हुने औषधि पशुमासमेत प्रयोग हुने सम्भावनालाई पूर्णरुपमा निरुत्साहित गर्नुपर्ने देखिएको पंक्षी अधिकारकर्मी बताउँछन् ।

सिनोमा विषको प्रयोगमा रोकावटका लागि जनचेतना अभिबृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्वच्छ आहारा उपलब्ध गराई गिद्ध संरक्षणमा समुदायको सक्रिय सहभागित बढाउन पहल गर्नुपर्ने देखिएको हो । स्थानीय तहले आफ्नो वार्षिक कार्यक्रममा गिद्ध संरक्षण तथा गिद्ध सुरक्षित क्षेत्रको दिगो व्यवस्थापन र अध्ययन अनुसन्धान जस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राख्नुपर्ने अवस्था समेत सिर्जना भएको छ । गण्डकी र लुम्बिनी प्रदेश गिद्धको सुरक्षित क्षेत्रको रुपमा देखिएको छ । एक अध्ययन अनुसार, दाङमा गिद्धको २६ वटा गुँड फेला परेका छन् ।

लमही नगरपालिका–७ कप्तानगञ्जमा २२, राजपुर गाउँपालिको बेलामा १२ वटा गुँड फेला परेका छन् । जिल्लामा एउटा सानो खैरो गिद्धबाहेक अन्य डंगर गिद्धको गुँड रहेका छन् । सम्झना सामुदायिक वनमा आठ र बाघमारे सामुदायिक वनमा १६ वटा गिद्धका गुँड छन् तर गिद्धको सुरक्षित वासस्थानको अभाव हुँदा समस्या परेको छ । गिद्ध बस्ने ठूला रुखहरु सुकाउने क्रम पनि बढ्दो छ । मानिसहरु बसोवास गर्ने र खेती गर्ने क्षेत्रमा गिद्धको बासस्थान रहेकाले त्यहाँ रहेका ठूला रुख सुकाउन आगो लगाउने, बोक्रा तास्ने जस्ता कामहरु भएको देखिन्छ ।

नेपालमा नौ प्रजातिका गिद्ध फेला परेको रेकर्ड छ । विश्वमा दुर्लभ मानिएका पाँचवटा गिद्ध नेपालमा पाइने गरेका छन् । नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले गिद्धको शुद्ध आहारा नहुँदा गिद्ध लोप हुनुको महत्वपूर्ण कारण भएको बताउनुभयो । ‘गिद्ध लोप हुनुका धेरै कारण छन् । तीमध्ये शुद्ध आहारा एउटा प्रमुख कारणको रुपमा देखा परेको छ’ उहाँले भन्नुभयो ‘पशुपालनमा आधुनिकता भित्रिएपछि गिद्धलाई शुद्ध आहाराको अभाव भयो । सिनो पर्न छाड्यो ।’ डिभिजन वन कार्यालय देउखुरीका फरेष्टर चिरञ्जीवी खनालले पनि देउखुरीमा गिद्धको सुरक्षित बासस्थानको अभाव देखिन थालेको बताउनुभयो । गिद्धको सुरक्षित बासस्थानको लागि समुदायसहित सबै निकायको भूमिका आवश्यक पर्ने उहाँको भनाई छ । देउखुरीमा संरक्षित र लोपोन्मुख पशुपंक्षीहरु थपिने क्रममा रहेको जानकारी दिनुभयो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img