spot_img
spot_img

अधिकारी वंशधर भित्रका केही थप कुरा– ३

पद्मप्रसाद शर्मा

“अधिकारी वंशधर नियाल्दा” उदयपुरे राज्यमा रहेका र पाइएका कुराहरु सोधखोज गर्दा प्राप्त भएजति समेटेर लेखिएको इतिहास हो । यसअघि दुईवटा वंशावली लेखिएका छन् पहिलो वंशावली दाङको शिवपुर निवासी प्रेमनारायण अधिकारीले तयार पार्नु भएको हो भने दोस्रो वंशावली अधिकारी वन्धुहरुको भेलाबाट गठन गरिएको सम्पादन समितिले तयार पारेका तथ्यगत सामग्रीबाट तयार गरिएको हो । वंशावलीमा केही मात्रामा इतिहासका विषय वस्तु रहेकाछन् । यसैगरी तेस्रो कृतिका रुपमा घोराही उपमहानगरपालिका हाल वडानम्वर १७ निवासी राजा हरिप्रसादका कनिष्ठ सुपुत्र गजराज शर्माले विक्रम सम्वत २०७२ सालमा “गोत्र प्रवर निर्णय” (सार संग्रह) नामक कृति प्रकाशन गर्नु भएको छ । यसमा गोत्र प्रवर लगायतका कुराको साथमा उदयपुर राज्यको वारेमा केही चर्चा गरिएकाले यसमा इतिहासका कुराहरु रहेका छन् भन्न सकिन्छ । यस पक्तिकारले तयार गरेको “अधिकारी वंशधर नियाल्दा” विशुद्ध इतिहास मात्र हो । यसमा वंशका कुरा त छन तर वंशावलीको कुरा रहेका छैनन् । सत्र पुस्ताका राजाहरुको नाम देखि वाहेक यसमा वंशवृतान्त रहेको छैन । यसको नाम अधिकारी वंशधर नियाल्दा रहेको हुनाले कतिपय वन्धुहरुले ‘वंशधरको’ अर्थको वारेमा पनि जिज्ञासा राख्नु भएको थियो । वास्तवमा वंशधर भनेको वंशको हितगर्नेवाला भन्ने बुझिन्छ ।

हामीले आफ्ना लागि, आफ्नो परिवारका लागि के कति कार्य गर्दै आयौं ? त्यो हाम्रो साथमा रहेको धन दौलत वा श्री सम्पत्ति र सन्तानको उन्नतिले आफै दर्शाउँछ तर कुल परंपराका लागि वा वंशका निम्ति हामीले के र कति समय वा धन लगानी गरेका छौं ? यो दोस्रो पाटोको विषय हो । विगत देखि हालसम्म अधिकारी वंश भित्र रहेका वन्धुहरुले समाजका निम्ति कसको योगदान कति रहन गयो भन्न्ने कुरा महत्व पूर्ण हो । यही महत्वपूर्ण योगदानको कदर गर्नु पर्दछ । यथासमयमा यस्ताकुराहरु लिपिमा राख्न सकिएन भने कालान्तरमा लोप भएर जाने प्रवल सम्भावना रहन्छ । इतिहास लेख्न तथ्यगत कुराहरु चाहन्छि । यसकारण यसै राप्ती पोष्ट राष्ट्रिय दैनिक पत्रिका मार्फत गत श्रावण २५ र ३२गते दुई अंकमा उक्त इतिहास विमोचन गर्दाका वखतमा उठेका कुरा र इतिहास अध्ययन गरेर आएका सुझावका वारेमा चर्चा चलायौं । अन्य केही जिज्ञासा पनि आएका त हुन् समग्र मूल्यांकन गरेर भन्नु पर्दा केही कुराहरु विना तुकका पनि रहे । उहाँहरु कति तथ्यको नजिक पुग्नु भयो र अग्रजहरुबाट कति जानकारी संकलन गर्नु भयो ? यसको वारेमा वेग्लै वहस चलाउनु पर्दछ । अध्ययनको आधारमा आएका कुरामा बैठकका कुरा धेरै भए कि ? आवरणकलामा अन्य कुनै तस्विर राखेको भए हुन्थ्यो कि ? यस्ता र यस्तै केही कुराहरु आएका हुन हो यस्ता कुरालाई विना तुकका कुरा भन्ने गरिन्छ । आवरण कलामा कश्यप ऋषिको तस्विर रहेको छ । यो भन्दा उपयूक्त तस्विर के हुन्थ्यो ? आगामी दिनमा थप सुझावको अपेक्षा गरिन्छ ।

पाठक वृन्द ! आज केही फरक कुरा उठानगर्ने जमर्को गरिएको छ । हामीले इतिहासका कुरा उठायौं तर वंशधरका कुरा उठाउन सकेनौ भन्ने लाग्दछ । उदयपुर राज्यमा राज्य गरेका जसु सन्ततिहरुको राज्य हरण पश्चात कसरी आफ्नो कार्य सञ्चालन गरिरहेका होलान ? राजा हुने हैसियतका व्यक्तिहरु आज कुन स्तरसम्म पुगेका होलान ? के कस्ता समाजसेवाका काम गरेका होलान ? कोही कसैलाई यसका वारेमा साह्रै जिज्ञासा हुनसक्छ । सामान्य रुपमा यसको जानकारी लिन र दिन जरुरी छ भन्ने लाग्दछ । हिंजोका दिनदेखि आजसम्म जसु सन्ततिहरु हरेक स्थानमा आफ्नो क्षमत र दक्षताको आधारमा पहुँच बढाएको पाइन्छ । शिक्षा स्वास्थ्य,राजनीति, समाजसेवा, सरकारी सेवा, सरकारी सेवामा पनि जंगी निजामति, कानुन, प्रहरी, प्रशासनिक क्षेत्र, वैंकिङ सेवा, कृषि, व्यपार व्यवसाय, निर्माण व्यवसाय, उद्योग, पत्रकारीता,साहित्य कला संस्कृति लगायतका क्षेत्रमा संलग्न रहेको पाइन्छ । राजनीति आस्थाका कुरादेखि राजनीतिक नियूक्ति सम्मका काम कुरामा पाइला अगाडि सरेकाछन् । कोही लामो समयसम्म प्राध्यापन पेशामा साथै क्याम्पस प्रमुखको जिम्मेवारी वहन गरेर केही हाल सेवानिवृत र केही सेवारत अवस्थामा रहनु भएको छ । शिक्षा क्षेत्रमा संलग्नहरु विद्यावारिधि गर्ने देखि लिएर स्वास्थ्य क्षेत्रमा संलग्नहरु एम.वि.विय र अझ उच्च दक्षता र क्षमता हासिल गरेको अवस्थामा हुनुहुन्छ । अधिकारी वन्धुहरु मध्यको एकहिस्सा विशुद्ध कृषि पेशामा संलग्न रहेर देश लागेर नागरिकको दैनिक समस्यामा टेवा दिइ रहनु भएको छ । कृषिमा संलग्न हुनेहरु पशुपालन, पंक्षी पालनतर्फ पनि आकर्षित हुनु भएको छ ।

यसरीहेर्दा अधिकारी वंश भित्रका वन्धुहरु सरकारी तथा गैर सरकारी क्षेत्रका उच्च ओहोदामा पुगेर जिम्मेवारी वहन गर्नेहरुको संख्या निकै रहेको छ । सबैका नाम र पद यो सानो आलेखमा उल्लेख गर्न संभव नभएका कारणले केहीको नाममात्र यहाँ उल्लेख गर्ने जमर्को गरिएको हो । आगामी दिनमा सोधखोज गरी तथ्य संकलन गरेर लिपिवद्ध गर्ने जमर्को गरिने छ । यो कसैलाई काखा र कसैलाई पाखा गर्न खोजिएको नभएर एउटा उदाहरण मात्र प्रस्तुत गर्न खोजिएको कुरा निवेदन गर्नु पर्दछ । हुन त वास्तवमा राजाका सन्ततिहरु विगत देखिको लगत सविस्तार दिनसके अति उत्तम हुनेथियो । आगामी दिनमा यसका वारेमा पनि सोधखोज गर्न जरुरी हुन जाला त्यतिवेला एउटा पुस्तक तयार हुने सामग्री संकलन गर्न सकियो भने यो पनि जसु सन्ततिका निम्ति फलदायी हुने छ ।

दाङजिल्लामा सञ्चालित तत्कालिन महेन्द्र संकृत विश्व विद्यालय हालको नेपाल संस्कृत विश्व विद्यालयको संस्थापक कुलसचिवको जिम्मेवारी गर्ने व्यक्तित्व दाङ जिल्ला साविक हापुर गाविस नारेवाङ निवासी गुरुप्रसाद उपाध्यायका ज्येष्ठ पुत्र केशवदीपक शर्मा अधिकारी हुनुहुन्छ । यस्तै हाल सोही विश्व विद्यालयका कुलसचिव पदमा सोही विश्व विद्यालयमा प्रथम श्रेणीमा सेवारत दाङ नारायणपुर निवासी चूडामणि अधिकारीका ज्येष्ठ पुत्र माधवप्रसाद अधिकारी सेवारत हुनुहुन्छ । नेपाल सरकारको सचिव पदमा पुगेर हाल सेवा निवृत रहनु भएका नारेवाङ निवासी गुरुप्रसाद उपाध्यायका मध्यम पुत्र कृष्णप्रसाद अधिकारी हुनुहुन्छ । यस्तै गुरुप्रसादका सबै छोराहरु उच्च पदमा पुगेर हाल सेवा निवृत अवस्थामा हुनुहुन्छ । दाङ डाडागाउँ निवासी पिता विष्णुप्रसाद अधिकारीका ज्येष्ठपुत्र डा.वसन्तराज अधिकारी लामो समय प्राध्यापन पेशामा रहनु भयो भने एक अवधि महेन्द्र बहुमुखी क्याम्पस दाङमा क्याम्पस प्रमुखको जिम्मेवारी वहन गर्ने अवसर प्राप्त गर्नु भएको हो । उहाँका माइला भाइ तिलक अधिकारी डिभिजनल इन्जिनियर हुनुहुन्छ । हाल उहाँ सेवा निवृत हुनु भएको छ । साविक प्युठान नयाँगाउँ निवासी दुर्गाप्रसाद अधिकारीका कनिष्ठ पुत्र डा.गोपालप्रसाद अधिकारी नेपालगञ्ज बहुमुखी क्याम्पसमा लामो समय प्राध्यापन पेशामा रहेर एक अवधि उक्त क्याम्पस प्रमुखको जिम्मेवारी वहन गर्ने अवसर प्राप्त गर्नु भएको हो । हाल डा.वसन्त अधिकारी दिवंग भइसक्नु भएको छ भने डा. गोपालप्रसाद अधिकारी नेपालगञ्ज भृकुटीनगरमा वसोवास गर्नुहुन्छ । प्युठान जिल्ला हालको माण्डवी गाउँपालिका वडानम्वर १ तिराम निवासी पिता गोकर्णप्रसाद उपाध्याय अधिकारीका ज्येष्ठ पुत्र प्राध्यापक वेदनिधि अधिकारी नेपालगञ्ज क्याम्पसमा लामोसयम प्राध्यापन पेशामा रहेर हाल सेवा निवृत हुनुहुन्छ । हाल उहाँ काठमाडौमा बसोवास गर्नुहुन्छ । उहाँहरु लगायत अन्य निकैजना वन्धुहरु यस्तै क्याम्पसमा प्रध्यापन गर्नेहरु मध्यमा प्राध्यापक, सहप्रध्यापक तथा उपप्रध्यापक लेख्नेहरुको संख्या निकै रहेको छ ।

दाङको गुरगैं निवासी पिता शिवकुमार अधिकारीका पुत्र डा. मिनचन्द्र अधिकारी फिजिसियन डक्टर हुनुहुन्छ । जसु सन्तति अधिकारी वन्धुहरु हाल अत्यधिक संख्यामा शिक्षणपेशामा संलग्नरहनु भएको पाइन्छ । कतिपय वन्धुहरुले प्रधानाध्यापकको जिम्मेवारी लामोसमय वहन गरेर हाल सेवानिवृत हुनु भएको छ भने केही सेवरत हुनुहुन्छ र प्रधानाध्यापकको जिम्मेवारी वहन गरिरहनु भएको छ । देउखुरी गंगापरस्पुर निवासी पिता दिवाकर उपाध्यायका ज्येष्ठ पुत्र हाल तुलसीपुर निवासी विष्णुप्रसाद शर्मा अधिकारी लामो समय प्रधानाध्यापकको जिम्मेवारी वहन गर्ने मध्यमा एक हुनुहुन्छ । प्रहरी सेवामा रहनु भएकाहरु मध्यमा केही प्रहरी नायव उपरीक्षक पदबाट सेवानिवृत हुनु भएको छ भने केही सख्यामा वर्तमान अवस्थामा विभिन्न पदमा सेवारतहुनुहुन्छ ।

राजनीतिमा संलग्न रहनु भएकाहरु मध्यमा हालसम्म दुईजना सभासद भइसक्नु भएको छ । प्युठान जिल्ला माण्डवी गाउँपालिका २ रातापानी मर्कावाङ निवासी पिता शिवप्रसाद अधिकारीका ज्येष्ठ पुत्र नारायण अधिकारी २०६४ सालको संविधानसभाको निर्वाचनमा प्युठान जिल्ला क्षेत्र नम्वर १ बाट निर्वाचित सभासद हुनुहुन्छ । यसैगरी हाल देउखुरी उपत्यका गढवा १ बडहरा निवासी चौतरिया हिमलाल उपाध्याय अधिकारीका कनिष्ठपुत्र रेश्मीराज ‘नेपाली’ अधिकारी २०६४ सालकै सविधानसभाको सभासद हुनुहुन्छ । यस्तै हाल माण्डवी गाउँपालिका वार्ड नम्वर १ तिराम निवासी पिता हुतराज अधिकारीका पुत्र नवराज अधिकारी २०७९सालको स्थानीय निर्वाचनमा माण्डवी गाउँपालिका प्रमुखमा निर्वाचित हुनु भएको छ ।

पाठक वृन्द ! आज यहाँ प्रस्तुत गरिएको एउटा सानो गोरेटो मात्र हो । यसलाई राजमार्ग बनाउन आवश्यक छ । यहाँहरुको घर छेउँमा रहनु भएका अन्य व्यक्तित्वको वारेमा यहाँहरु नै जानकार हुनुहुन्छ । पहिले भने झैं कसैलाई काखा र कसैलाई पाखा पर्ने ध्यय होइन । आगामी दिनहरुमा यहाँहरुबाट थप सुझाव प्राप्त भएमा यसमा थप गर्दै लगिने व्यहोरा निवेदन गर्दछु । धन्यवाद !

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img