spot_img
spot_img

जंगली च्याउ खाँदा साउनयता ३० जना बिरामी, दुईजनाको मृत्यु

छबि पुरी /राप्ती पोष्ट

घोराही, २ भदौ । बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका एकै घरका दुई जनाको उपचारका क्रममा ज्यान गएको छ । अर्का एकजनाको अवस्था गम्भिर छ । साउन २८ गते साँझ बंगलाचुली ४ भित्ताला भन्ने जंगलबाट ल्याएको जंगली च्याउ खाएर बिरामी परेका तीन जना मध्ये जना आमाछोरीको ज्यान गएको हो ।

जंगली च्याउ खाएर गम्भिर बिरामी परेकी बंगलाचुली ४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनारको उपचारका क्रममा शुक्रबार ज्यान गएको हो । सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
यस अघि उहाँको ११ वर्षकी छोरी अस्मिता सुनारको साउन ३२ गते उपचारका क्रममा बुटवलमा ज्यान गएको हो । मृतक ईश्वरी सुनारका श्रीमान अजय सुनारको पनि अवस्था गम्भिर रहेको अस्पतालको भनाई छ । उहाँको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ ।

दाङमा साउनयता जंगली च्याउ खाँदा ३० जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार, यो वर्ष च्याउ खाएर बिरामीको संख्या बढेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार, गत असार २८ गते जंगली च्याउ खाँदा राजपुर गाउँपालिका ७ का ६८ वर्षीय महिननाथ कँवर बिरामी पर्नुभयो । जंगलमा भेटिएको च्याउ खाँदा कँवर बिरामी पर्नुभएको हो ।

बंगलाचुली गाउँपालिकामा असार २९ गते शुक्रबार जंगली च्याउ खाँदा दुईजना बिरामी परे । जंगलमा भेटाएको च्याउ खाँदा बंगलाचुली गाउँपालिका–१ स्युजाका ३८ वर्षीया यमाकुमारी कँवर वली र उहाँका १२ वर्षीय छोरा यकीन वली बिरामी पर्नुभयो । साँझ खानामा च्याउ खाएसँगै पेट दुख्न थालेपछि दुबैलाई प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा लगिएको थियो । दुवै जनालाई पछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएकोे थियो । उनीहरूको स्वास्थ्य सुधार आएपछि डिस्चार्ज गरियो ।

जंगलबाट खोजेर ल्याएको विषालु च्याउ खाँदा गढवामा एकै परिवारका दुई जना विरामी परे । साउन २ गते मंगलबार बिहान नजिकैको जंगलबाट ल्याएको च्याउ खाएका गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका श्रीमान श्रीमती बिरामी परे । विरामी हुनेमा गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरकी ७२ वर्षीय बसन्तु चौधरी र उहाँकी ७६ वर्षीय श्रीमती छुकनी चौधरी हुन् । दुवैको उपचार गढवा स्वास्थ्य चौकी गढवामा उपचार भएको थियो । पानी पर्नासाथ जंगल जाने र जस्तो पायो सबै च्याउ ल्याएर खाने गर्दा पनि यसको जोखिम बढेको छ । जंगली च्याउ अधिकांश विषालु हुने भएकाले नखान आग्रह गर्दा पनि नागरिकले लापरवाही गर्दै जीउज्याउ नै जोखिममा पारेर जंगली च्याउन खान लालायित हुने गरेका छन् ।
गत आर्थिक वर्षमा जंगली च्याउ खाँदा दाङमा ३७ जना बिरामी परेका थिए । गत वर्षमा तुलसीपुर ३ भट्टेका ५७ वर्षीय दानवीर खड्का सहित जिल्लाका विभिन्न ठाउँका ३७ जना जंगली विषालु च्याउ खाँदा बिरामी भएका हुन् । विषालु च्याउ खाएका मध्ये केही उपचार पश्चात निको भएका थिए ।

छिमेकी जिल्ला रोल्पामा पनि जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गत असार २८ गते जंगलबाट ल्याएको च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । जंगली च्याउ खाएका कारण दुई बालक र उनीहरूकी आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षीया भीमा गुरूङ उनका ११ वर्षका छोरा सुशील गुरूङ र ६ वर्षका छोरा प्रेम गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशभर गत आर्थिक वर्षमा ९३ जना बिरामी भएका थिए । जसमा रोल्पाका ३ र बाँकेका ३ जना गरी ६ जनाको ज्यान गएको थियो । वर्षायामको समयमा जंगलमा भेटिएका जथाभावी च्याउ टिपेर अकालमै ज्यान जाने गरेको प्रहरीले बताएको छ । जथाभावी रूपमा नचिनेका च्याउ खाँदा अकालमा ज्यान जान सक्ने भन्दै प्रहरी च्याउ नखान अनुरोधसमेत गरेको छ । प्रहरीले च्याउ भाँच्दा चोप निस्कियो भने वा छुँदा त्यसको रङमा परिवर्तन आयो भने त्यस्ता च्याउहरू नखान समेत आग्रह गरेको छ ।

बैजनी तथा गाढा रातो रङका च्याउ प्राय विषालु हुने हुँदा त्यस्ता प्रकारका च्याउहरू नखान र च्याउको माथि रहने छाता छाम्दा खस्रो एवं तलमाथि उठेको देखिएमा त्यो पनि विषालु च्याउ हुने भएकाले नखान समेत आग्रह गरेको छ । यस्तै नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र गोबर, काठ, दाउरामा उम्रेका च्याउहरू विषालु हुने प्रहरीको भनाइ छ । विषालु च्याउको वरिपरि कीराहरू नलागेको तर, च्याउहरू देख्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिने पनि खाना नहुने च्याउ रहेको समेत प्रहरीले जनाएको छ ।

यस्तै च्याउलाई कुखुराको अण्डा एवं दूधमा राख्दा केही समय पश्चात दूध फाटेमा तथा अण्डा जमेमा त्यस्ता च्याउ विषालु हुने हुँदा त्यस्ता प्रकारका च्याउ नखान र नखुवाउनु आग्रह गरिएको छ । यस्तै कहिलेकाहीँ च्याउ आफैमा विषाक्त नभए पनि संकलन र भण्डारणको कारणले पनि विषाक्त बनाउने हुँदा च्याउलाई प्लास्टिक वा स्टिलको भाँडामा गुम्साएर नराख्ने समेत आग्रह गरिएको छ । यस्तै खाने च्याउलाई समेत संकलन गर्दा वा भण्डारण गर्दा प्लास्टिकको झोला, फलाम र टिनको बाकसहरू प्रयोग नगर्न आग्रह गरिएको छ ।

यसैगरी खान मिल्ने फरक फरक प्रजातिका च्याउहरू समेतसँगै मिसाएर नपकाउन आग्रह गरिएको छ । च्याउ पकाउनु भन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउनु आग्रह गर्दै उचाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नाश नहुने भएको च्याउ खाँदा विशेष सावधानी अपनाउनु प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता गौतमले आग्रह गर्नुभएको छ । च्याउ विज्ञ गोपालप्रसाद पराजुलीले रातो, सेतो, प्याजी, गुलाबी गाढा रङका तथा धेरै चम्किलो च्याउ खान नमिल्ने जानकारी दिनुभयो । खैरो धर्सो भूत च्याउ, सेतो भूत च्याउ, सेतो कत्ले भूत च्याउजस्ता अत्यधिक विषालु च्याउले ज्यान नै जान सक्ने भएकाले पहिचान नगरी च्यान नखान च्याउ विज्ञ पराजुलीको सुझाव छ । नेपालमा १ हजार ३ सय प्रकारका च्याउ पाइने र ती मध्ये करिब १ सय प्रकारका च्याउ अत्यन्तै विषालु हुने नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img