spot_img
spot_img

दाङमा अपराधका घटनाको ग्राफ बढ्दो

छबि पुरी /राप्ती पोष्ट

घोराही, साउन । समुदायमा विभिन्न खालका सचेतनामुलक कार्यक्रम संचालन हुने गरेपनि दाङमा अपराधका घटनामा कमी आउन सकेको देखिदैन । विगतका वर्षहरुभन्दा गत आर्थिक वर्षमा जिल्लामा अपराधका घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक अनुसार जिल्लामा वर्षेनी अपराधका घटना बढ्दै गएको देखिएको छ । समाजमा बढ्दो अपराधका घटनाले अहिलेको समाज कतातिर जाँदैछ भन्ने स्पष्ट देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीका अनुसार, जिल्लामा गत आर्थिक वर्ष २०७९–०८० मा एक हजार दुई सय वटा अपराधका घटना प्रहरी कार्यालयमा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, ज्यान सम्बन्धी अपराधका घटना जिल्लामा सबैभन्दा बढी भएका छन् । जसमा एक आर्थिक वर्षमा दुई सय ३४ वटा घटना प्रहरी कार्यालयमा दर्ता भएको छ । यसैगरी, आत्महत्या सम्बन्धी घटना दुई सय १४ वटा, संगठित तथा आर्थिक अपराध सम्बन्धी दुई सय २७ वटा, सामाजिक अपराधका दुई सय सात वटा घटना जिल्लामा भएका छन् ।

प्रहरी प्रमुख प्रहरी उपरीक्षक वलीका अनुसार, महिला तथा बालबालिका सम्बन्धी अपराधमा एक सय ९१ वटा, सवारी ज्यानका ५९ वटा, बैंकिङ कसुर, हातहरियार खरखजाना, बोक्सी आरोप लगायत ४४ वटा घटना गरी १ हजार २ सय घटना प्रहरीको रेकर्डमा अभिलेख भएको छ । महिनागत रुपमा हेर्ने हो भने जिल्लामा गएको साउनमा एक सय २८ वटा, भदौमा एक सय १६ वटा, असोजमा एक सय २२ वटा, कार्तिकमा ७८ वटा अपराधजन्य घटना भएका छन् । यसैगरी, मंसीरमा ६९ वटा, पुसमा ५८ वटा, माघमा एक सय १३ वटा, फागुनमा ९३ वटा, चैतमा एक सय १६ वटा, बैशाखमा ९८ वटा, जेठमा एक सय चार वटा, असारमा एक सय पाँच वटा अपराधका घटना भएका छन् ।

जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार दुई सय २३ वटा अपराधजन्य घटना भएका थिए । यसैगरी, आर्थिक वर्ष २०७७–०७८ मा एक हजार ४७ वटा घटना भएका थिए भने आर्थिक वर्ष २०७६–०७७ मा आट सय ३५ वटा अपराधका घटना भएका प्रहरीको तथ्यांकमा उल्लेख छ ।

अलि पहिलेको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०६६÷०६७ मा चार सय ३४ वटा, २०६७÷०६८ मा चार सय ४९ वटा, २०६८÷०६९ मा चार सय ६८ वटा, २०६९÷०७० मा चार सय ८५ वटा, २०७०÷०७१ मा पाँच सय ९५ वटा, २०७१÷०७२ मा पाँच सय ८७, २०७२÷०७३ मा पाँच सय ३९ वटा, २०७३÷०७४ मा आठ सय एक वटा, २०७४÷०७५ मा नौ सय २८ वटा तथा २०७५÷०७६ मा नौ सय ५७ वटा अपराधका घटनाहरू जिल्ला प्रहरीमा दर्ता भएको छ ।

दर्ता भएका अधिकांश घटना फछ्र्यौट भएका छन् । केही प्रकृयामा रहेको प्रहरीको भनाई छ । बालबालिकादेखि बृद्धसम्ममा बलात्कारको घटनादेखि पैसाको बार्गेनिङका घटना प्रहरीसम्म आएका छन् । यसैगरी, पछिल्लो समय बढ्दै गएको दुव्र्यसनीको घटना पनि प्रहरीमा धेरै आउने गरेको छ । सामाजिक शान्ति, सुरक्षा विथोलेका घटनादेखि जिल्लामा लागु औषध ओसार पसार र उपभोग गर्नेहरु पनि प्रहरीको फन्दामा पर्ने गरेका छन् । ‘विशेष गरी कर्तव्यज्यान सम्बन्धी अपराध, आत्महत्याका घटनादेखि लागू औषधका घटना पछिल्ला वर्षहरुमा अत्यधिक बढेर गएको छ ।

यसले समाजमा नराम्ररी असर गर्ने देखिएको छ’, प्रहरी उपरीक्षक वलीले भन्नुभयो ‘समाजमा शान्ति सुरक्षा, अमनचयन गराउने सवालमा प्रहरीको एकल भूमिकाले मात्रै पुग्ने अवस्था छैन । यसका लागि घरपरिवार, टोल छिमेक, नागरिक वर्ग सबैको उत्तिकै सकारात्मक भूमिकाको खाँचो छ । नभए यो श्रृंखला अझ भयावह हुने खतरा देखिन्छ ।’ विभिन्न कारणले मानिसहरु चोरी डकैती, वन्यजन्तुको शिकार, गुण्डागर्दी जस्ता क्रियाकलापमा संलग्न हुने गरेका घटना पनि प्रहरीमा बढ्दै गएको छ । ‘वनपैदवार चोरी निकासी गर्ने, बन्यजन्तुको सिकार गर्ने, ढुंगा, गिट्टी अवैध रुपमा उत्खनन् जस्ता घटना पनि बढेको छ । उनीहरूलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउने काम हामीले गर्दै आएका छौँ’ उहाँले भन्नुभयो ‘समाजमा हुने गरेका बहुविवाह, बोक्सी, मानव वेचविखन, अपहरण, बालविवाह, आत्महत्या, जवरजस्ती गर्भपतन, घरेलु हिंसा, सामाजिक हिंसा लगायत घटना दैनिक जसो हुने गरेको छ । यो अत्यन्तै डरलाग्दो अवस्था हो । यस बारेमा अब समाजको मनोविज्ञान अध्ययन गर्न जरुरी छ ।’

प्रहरीको तथ्याङ्क अनुसार सामाजिक अपराधका घटना धेरै हुने गरेको पाइएको छ । सामाजिक अपराध अन्तर्गत राज्य विरुद्वको अपराध, जातीय भेदभाव तथा छुवाछुत, आवश्यक वस्तु संरक्षण ऐन, कुटपिट अंगभंगलगायत मुद्दा रहेका छन् । संगठित तथा आर्थिक अपराधमा जुवा, ठगी, लागूऔषधको कारोबार, कालोबजारी, अपहरण तथा शरीर बन्धक, अवैध चन्दा संकलन, सरकारी छाप दस्तखत किर्ते, संगठित अपराध र हातहतियार तथा खरखजानासम्बन्धी मुद्दालाई प्रहरीले संगठित तथा आर्थिक अपराध भनेर उल्लेख गरेको छ । सोही आधारमा संगठित तथा आर्थिक अपराधका घटना बढ्दै गएको छ ।

संगठित तथा आर्थिक अपराधमा लागूऔषध कारोबारका घटना सबैभन्दा डरलाग्दो देखिन्छ । पछिल्लो ३ वर्षमा जिल्लामा एक सय ५९ जना लागू औषध कारोबारको आरोपमा संलग्न भएको पाइएको छ । यो संख्या वर्षेनी बढ्दै गएको छ । पछिल्लो समय साइबर अपराधले पनि विकराल रुप लिएको छ ।

प्रहरी उपरीक्षक वलीका अनुसार कसरी हुन्छ पैसा कमाउने उद्देश्यले प्रेरित अपराधका घटनाहरू हुने गर्छ । उहाँले भन्नुभयो ‘अपराधको संख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न चाहिँ मिल्दैन । यस प्रकारका अपराधमा मानिस किन संलग्न हुने गरेका छन् । किन यसरी समस्या थपिँदै गएको छ भन्ने बारे यसका पछाडिका कारण बारे पनि अध्ययन हुनुपर्छ ।’
छिटो धनी बन्ने लालसाले पनि धेरै जसो संगठित तथा आर्थिक अपराधकर्ममार्फत पैसा कमाउने प्रवृत्ति बढेको उहाँको भनाई छ । अशिक्षा, गरिबी र विपन्नताको कारणले समाजमा अपराध बढ्ने गरेको उहाँले जानकारी दिनुभयो । जिल्लाको प्रहरी, सबै सुरक्षा निकाय चौबिसै घण्टा नागरिकको शान्ति सुरक्षामा खटिईरहेको बताउँदै समुदायले पनि आफ्नो तर्फबाट अपराध नियन्त्रणका लागि कदम चाल्नुपर्ने जिल्ला प्रहरी प्रमुख वलीले बताउनुभयो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img