राप्ती पोष्ट
घोराही, असार । उपप्राध्यापक तथा साहित्यकार सुन्दर गौतमको ‘शब्दचित्र’ हाइकु संग्रह एक समारोहबीच विमोचन गरिएको छ । सर्वाेदय पुस्तकालय तथा वाचनालयको आयोजनामा चौथो कृतिका रुपमा गौतमको उक्त कृति मंगलबार विमोचन गरिएको हो ।
पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रमा तथा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष एवम् सल्लाहकार पुरुषोत्तम खनाल लगायतले संग्रह विमोचन गर्नुभएको थियो । कृति विमोचनमा वक्ताहरुले हाइकु संग्रह समाजको प्रतिबिम्बका रुपमा आएको बताएका थिए । मुलुकको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक विषयबस्तुका साथै वर्तमान अवस्थाका बारे हाइकुले चित्रित गरेको हुँदा हाइकुले बोलेका कुरा हरेक व्यक्तिले लागू गर्न सकेमा सभ्य समाज स्थापनामा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै खनालले समाजमा सकारात्मक सोँचको विकास गर्न कृतिले भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । यस प्रकारका कृतिले मानिसको सोँच बदल्न सक्ने हुँदा साहित्य समाजको ऐनाका रुपमा रहेको बताउनुभयो । कार्यक्रममा प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्माले अब आउने कृति फरक विधामा ल्याउन र सिर्जनात्मक कामलाई निरन्तरता दिन सुझाव दिनुभयो ।
प्रेस काउन्सिल सदस्य शरद अधिकारीले पुस्तकालयलाई समाजमा अनुभव बटुलेकाहरुको विचार सुन्ने थलो बनाउन अपिल गर्नुभयो । उहाँले अग्रजहरुको अनुभव सुन्ने थलो सकेमा विषयमाथिको वहसले समाजमा चेतना र जागरण ल्याउने बताउनुभयो । यसैगरी, विमोचित हाइकु संग्रहले दिन खोजेको सन्देशलाई व्यवहारमा उतार्न सकेमा समाज आफै बदलिने बताउनुभयो ।
नागरिक समाज दाङका संयोजक केबी मसालले कुनै कुरा भन्न जति सजिलो छ यथार्थमा उत्रिन अझ कठिन रहेको हुँदा सिद्धान्तसँगै व्यवहारमा असल कर्म गरेर देखाउने ज्ञान हाइकु संग्रहले दिन खोजेको बताउनुभयो । संस्कृतिविद एवम् साहित्यकार डा. गोविन्द आचार्यले विधागत रुपमा हाइकु कृति आउनु सुखद पक्ष रहेको भन्दै कृतिमा व्यन्जना प्रधान बनको बताउनुभयो । हाइकु साहित्यको घेराभित्र रहेकाले कृतिले न्याय गरेको विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सिस्नोपानी नेपालका अध्यक्ष डा. लोकराज पराजुली, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष टीकाराम उदासी, वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, प्राध्यापक डा. शिवकुमार सुवेदी, रक्तिम सांस्कृतिक अभियानका सल्लाहकार नारायण योगी, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, लेखक राधिकादेवी आचार्य, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त कृतिको साहित्यकार शशीधर भण्डारीले समिक्षा गर्नुभएको थियो । यसैगरी, उपप्राध्यापक समेत रहनुभएका हाइकुका लेखक गौतमले कृति प्रति गरिएको शुभेच्छाले साहित्य लेखनमा अझ उर्जा थपिएको बताउँदै अब ‘कथा मानवका’ नामक कृति ल्याउने प्रतिवद्धता जनाउनुभयो । उहाँले यसअघि अक्षरयात्रा कविता संग्रह, जीवनयात्रा निबन्ध संग्रह र नैतिक तथा नागरिक शिक्षा ज्ञानगुण पुस्तिका प्रकाशन गरिसक्नुभएको छ । उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहभागीलाई संचालक समिति सदस्य हरिप्रसाद पाण्डेयले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सञ्चालन सचिव सुदीप गौतमले गर्नुभएको थियो ।