spot_img
spot_img

१० प्रतिशतमा ‘सिकलसेल एनिमिया’को लक्षण

छबि पुरी/राप्ती पोष्ट

घोराही, असार । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा शनिबार गरिएको निशुल्क सिकलसेल एनिमिया जाँच शिविरमा स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया देखिएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहकार्यमा आयोजित निःशुल्क सिकलसेल एनिमिया जाँचसम्बन्धी निशुल्क शिविरमा परिक्षणका लागि पुगेको ४ सय १२ जनाको रगत स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको छ ।

स्क्रिनिङ गरिएका चार सय १२ जनामध्ये करीव १० प्रतिशतमा सिकलसेल एनिमिया देखिएपछि सो क्षेत्रमा थप संक्रमित हुन सक्ने आशंका गरिएको स्वास्थ्य कार्यालय दाङले बताएको छ । स्क्रिनिङ गर्दा चार जना पुरुष र ३७ जना महिलामा सिलकसेल पोजिटिभ देखिएकाले डिजिज वा ट्रेट पहिचान गरी उपचारमा सहजता ल्याउन पहल हुने आयोजकले जनाएको छ । समुदायमा सिकलसेलकै कारण कैयौले उपचारका क्रममा ठूलो धनराशी खर्चेको, घरपरिवारमा आर्थिक संकट देखिएको, जन्मिने बालबालिकामा समेत सक्रमण देखिने अवस्था बढ्दै जान थालेपछि यसको रोकथाम गर्न रोगी पहिचान गर्न थालिएको हो । यसअघि जिल्लाको सात वटा पालिकाहरु घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा, राजपुर, राप्ती र दंगीशरण गाउँपालिकामा रगत परीक्षण गरिएकोमा ३ सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएका थियो । कुल दुई हजार ८ सय २ जनाको परिक्षण गर्दा ३ सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो ।

स्वास्थ्य कार्यालय दाङका अनुसार राप्तीमा चार सय १८ जनाको परिक्षण गर्दा ५४ जना, गढवामा चार सय २१ जनाको परिक्षण गर्दा ४१ जना, लमही नगरपालिकामा चार सय १६ जनाको परिक्षण गर्दा ४८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको छ । यसैगरी, राजपुर गाउँपालिकामा १ सय ३ जनाको परिक्षण गर्दा १० जना, दंगीशरणमा चार सय पाँच जनाको परिक्षण गर्दा ६६ जना, तुलसीपुर उपमहानगरमा चार सय ५४ जनाको परिक्षण गर्दा ७२ जना र घोराही उपमहानगरपालिकामा चार सय ५२ जनाको परिक्षण गर्दा ३७ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो ।

जिल्लाका सबै पालिकाका वडा वडामा सिकलसेल एनिमिया पहिचान गरी रोकथामका लागि धेरै जनाको स्क्रिनिङ हुनुपर्ने देखिएको स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवरले बताउनुभयो । निःशुल्क शिविर उदघाटनमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले रोग लुकाएर बस्न नहुने भन्दै आफ्नो र आउने पुस्ताका लागि स्वास्थ्य परिक्षण अनिवार्य भएको बताउनुभयो । सिकलसेल रोगकै कारण आर्थिक अवस्था कमजोर हुने परिस्थिती नहोस् भन्ने उद्देश्यका साथ सहयोगी संस्थाहरुको सहकार्यमा गरिएको शिविरले पालिकाको स्वास्थ्य सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मेट लाईफ नेपालका असिस्टेन्ट प्रेसिडेन्ट तथा चिफ डिस्ट्रिव्युसन अफिसर अरुण बस्नेतले सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य क्षेत्र यस प्रकारको अभियान ल्याएको बताउनुभयो । आगामी दिनमा पनि यहाँको माग र आवश्यकता भएमा कार्यक्रम गरिने जानकारी गराउनुभयो । वडा नम्बर १० का कार्यवाहक अध्यक्ष केशरी विश्वकर्माले वडाबासीलाई स्वस्थ बनाउने अभियान अन्तरगत गरिएको कार्यक्रमले वडाबासीलाई लाभ मिलेको बताउनुभयो । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले रोग पालेर, लुकाएर होईन पहिचान गरेर उपचार गर्न तर्फ सबै नागरिक जागरुक हुनुपर्ने बताउनुभयो । सिकलसेल एनिमियाकै कारण अरु रोग लागेर ज्यान जाने खतरा भएको, सिकलसेलको उपचारमा ठूलो धनराशी खर्च हुने गरेको, पुस्ता दरपुस्तासम्म यसको जोखिम हुने भएकाले वंशाणुगत रोग नियन्त्रणका लागि रोग पहिचान गरी उपचार गर्ने योजनाका साथ पालिका अघि बढेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीले स्वस्थ नागरिक उत्पादनमा यस प्रकारका कार्यक्रम, अभियान निरन्तर हुनुपर्ने भन्दै नागरिकमा स्वास्थ्य सचेतना फैलाउने कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो । सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो । मानिसको रगतको कोशिकामा क्रोमोजोम हुन्छ र त्यसमा जिन हुन्छ । जीन धेरै प्रकारका हुन्छन् । तिनमा खराबी आएमा सिकलसेल एनिमिया हुन्छ । यो रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि संक्रमित हुने धेरै सम्भावना रहन्छ । तर आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ । शिविरमा सिसहनिया स्वास्थ्य चौकी, लक्ष्मीपुर स्वास्थ्य केन्द्र, नारायणपुर स्वास्थ्य प्रवर्धन केन्द्र, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखालगायतको स्वास्थ्यकर्मी टोलीले सहयोग गरेको थियो ।

अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी मेट लाईफ नेपालका आर्थिक सहयोगमा गरिएको निशुल्क सिकलसेल एनिमिया जाँच शिविर गर्दा वडाबासीको उल्लेख्य सहभागीता रहेको थियो । घोराही १० नारायणपुर स्वास्थ्य प्रवद्र्धन केन्द्र प्रमुख डिल्लीराज आचार्यको स्वागत एवम् विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सञ्चालन ग्रामीण महिला उत्थान केन्द्रका पार्वती बस्नेतले गर्नुभएको थियो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा स्क्रिनिङका लागि मेसिन भएपनि जिल्लाभर यसको पहुँच बिस्तार हुनसकेको छैन । सिकलसेल एनिमिया जाँच आफैमा पनि महंगो हुने भएकाले परिक्षणका लागि जानेको सख्ंया कम हुने गरेको छ । अस्पतालहरुमा उपचारका लागि पुग्ने बिरामीको शंका लागेमा नमूना संकलन गरी प्रादेशिक अस्पताल पुर्याउने गरिएको छ । अब घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सिकलसेल एनिमिया रोग पहिचान मेसिन राख्ने गरी घोराही उपमहानगरपालिकाले सोँच बनाएको छ । उता, देउखुरी क्षेत्रमा पनि प्रदेश सरकारले मेशिन राख्ने योजना बनाएको छ ।

पहिचान भएका सिकलसेलका बिरामीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटे औषधि खाइरहेका छन् । प्रतिष्ठानकी सामाजिक सेवा इकाइले सेवा व्यवस्थापन हेर्दै आउनुभएकी शोभा पोख्रेलका अनुसार सरकारले बिरामीका लागि उपलब्ध गराउँदै आएको फोलिक एसिड, हाईड्रोक्सिेरिया दिने गरिएको बताउनुभयो । उपचारका लागि आउने बिरामीमध्ये घोराही १७ का एकै परिवारका चार जनामा सिकलसेल एनिमियाको जटिल समस्या छ । उहाँहरुलाई चौबिसै घण्टा सेवा दिनुपर्ने अवस्था भएकाले जतिबेला पनि सेवाका लागि तत्परता लिने गरिएको बताउनुभयो । सरकारले १ साउन २०७२ देखि सिकलसेल एनिमियाका बिरामीलाई १ लाख रुपैयाँसम्म उपचार खर्च दिने व्यवस्था गरेको छ । यो पटक प्रदेश सरकारले सिकलसेल एनिमियाका बिरामीलाई दुई करोड बजेट विनियोजन गरेको जनाएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img