spot_img
spot_img

पालिका जितेर पनि दाङमा कसरी खस्कीयो काँग्रेस

राप्ती पोष्ट

दाङ, जेठ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा देशभर जस्तै दाङमा पनि प्रमुख र उपप्रमुखमा राम्रो नतिजा निकाल्न सफल भयो । पालिकाका प्रमुख र उपप्रमुखमा पहिलेको भन्दा राम्रो नतिजा निकाल्दै गर्दा काँग्रेसले समग्र मत र वडामा भने कमजोर भएको छ । दाङका दुईवटा उपमहानगरपालिका सहित अन्य कतिपय पालिकामा काँग्रेसको अवस्था पहिलेको भन्दा कमजोर देखिएको छ ।

दाङका १० पालिका मध्य ववई, शान्तिनगर, दंगिशरण, राजपुर गाउँपालिका र लमही नगरपालिका काँग्रेसले प्रमुख उपप्रमुख दुवै जितेका पालिका हुन । बंगलाचुली र गढवामा उपप्रमुख जित्दा काँग्रेसले अघिल्लो पटकको भन्दा प्रमुख र उपप्रमुखमा चारजना बढी जितेको छ । २०७४ सालको निर्वाचनमा काँग्रेसले दाङका शान्तिनगर, राजपुर, राप्ती गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो भने लमही र दंगिशरणमा उपप्रमुख मात्रै जितेको थियो । अघिल्लो पटक जितेको राप्ती गाउँपालिकामा काँग्रेस तेस्रो स्थानमा पुगेको छ । वडाध्यक्षमा समेत राम्रो नतिजा निकाल्न सकेको छैन ।
राप्ती गाउँपालिकामा माओवादीले प्रमुख र एमालेले उपप्रमुख जितेका छन् । अघिल्लो पटकको निर्वाचनमा बहुमत वडामा जितेको काँग्रेसले यसपाली एउटा मात्रै वडा जितेको छ । काँग्रेसले राप्तीमा वडा नं. ३ मा मात्रै जित निकालेको छ । यस्तै गढवा गाउँपालिकामा उपप्रमुख जितेपनि वडामा काँग्रेस कमजोर देखिएको छ । काँग्रेसले गढवामा वडा नं. ५ र ७ मा मात्रै जित हासिल गर्न सकेको छ । गढवामा प्रमुखमा माओवादीले र उपप्रमुखमा काँग्रेसले जितेका छन् । अघिल्लो पटकको तुलनामा वडामा काँग्रेसको नतिजा राम्रो रहेको छैन ।

राजपुर गाउँपालिकामा अघिल्लो पटक जस्तै यसपटक पनि प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ । उपप्रमुखमा अघिल्लो पटक निर्वाचित धनपतीदेवी यादव निर्वाचित हुनुभयो । प्रमुख र उपप्रमुखमा जित हासिल गरेको भएपनि काँग्रेसले दुईवटा वडामा मात्रै जित हासिल गरेको छ । वडागत रुपमा काँग्रेसले वडा नं. २ र ४ मा मात्रै जित हासिल गर्न सकेको छ ।

दाङका १० पालिकामध्य सवैभन्दा राम्रो नतिजा निकालेको पालिका लमही नगरपालिका हो । लमही नगरपालिकाका नौवटा वडामध्य आठवटा वडामा काँग्रेसले जित हासिल गरेको छ । अघिल्लो पटकको निर्वाचनमा उपप्रमुखमा चित्त बुझाएको काँग्रेसले यसपटक प्रमुखमा पनि जित हासिल गरेको छ । अघिल्लो पटक दुईवटा वडा र प्रमुखमा जित हासिल गरेको एमालेले लमहीमा एउटा पनि वडामा जित हासिल गर्न सकेन । लमहीका नौ वटा वडामध्य वडा नं. ५ बाहेक सवैमा काँग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन् ।

दंगिशरण गाउँपालिकामा उपप्रमुखमा चित्त बुझाएको काँग्रेसले यसपटक प्रमुख पनि जितेको छ । प्रमुख र उपप्रमुखमा जित हासिल गर्दा काँग्रेसले तीनवटा वडामा मात्रै जित हासिल गरेको छ । काँग्रेसले वडा न. १, ३ र ६ मा मात्रै जित हासिल गरेको छ । दंगिशरणमा प्रमुख गुमाएको एमालेले अघिल्लो पटकको भन्दा बढी वडामा जित हासिल गरेको छ । एमालेले चारवटा वडामा जितेको छ ।

काँग्रेसलाई फाइदा भएको अर्को पालिका बंगलाचुली हो । अघिल्लो पटकको निर्वाचनमा एउटा मात्रै वडा जितेको काँग्रेसले माओवादीसंग गठवन्धन गरेपछि उपप्रमुख र चारवटा वडामा जित हासिल गरेको छ । दाङ जिल्लामा दुई उपमहानगर र बंगलाचुली गाउँपालिकामा काँग्रेस र माओवादीको बीचमा तालमेल भएको थियो । बंगलाचुलीमा उपप्रमुख सहित वडा नं. १, २, ४ र ६ मा काँग्रेसले जित निकालेको छ ।

ववई गाउँपालिकामा पनि काँग्रेसले पहिलेको तुलनामा राम्रो नतिजा निकालेको छ । अघिल्लो निर्वाचनमा दुईवटा मात्रै वडा जितेको काँग्रेसले यसपटक प्रमुख, उप प्रमुख र चारवटा वडामा जित हासिल गरेको छ । तीनवटा वडामात्रै जितेको नेकपा एमालेले गाउँ कार्यपालिकामा सवै आफ्ना उमेदवार जिताएपछि काँग्रेस ववईमा खटपट सुरु भएको छ । उपप्रमुखलाई कारवाही गर्नेसम्मको योजनामा बवई काँग्रेस अघि बढेको छ । गाउँ सभामा एमालेका १७ र काँग्रेसका २०जना सदस्य थिए । १७ सदस्य रहेको एमालेले जितेपछि प्रमुख र उपप्रमुख जित्दा पनि ववईको गाउँ कार्यपालिकामा काँग्रेस कमजोर भएको छ ।

शान्तिनगर गाउँपालिकामा काँग्रेसले खासै प्रगति गर्न सकेको छैन । अघिल्लो निर्वाचनमा प्रमुख र उपप्रमुख जितेको शान्तिनगरमा यसपटक पनि प्रमुख र उपप्रमुमा जित हासिल गरेको छ । अघिल्लो पटकको निर्वाचनमा एउटा मात्रै वडा जितेको एमालेले यसपटक दुईवटा वडामा जित हासिल ग¥यो । काँग्रेसले प्रमुख र उपप्रमुख सहित वडा नं. ३, ५ र ७ मा जित हासिल गरेको छ ।

गठवन्धन गरेपछि फाइदा हुने देखेको काँग्रेसलाई सवैभन्दा ठूलो मर्का दुईवटै उपमहानगरपालिकामा परेको छ । काँग्रेसले घोराहीमा माओवादीलाई प्रमुख दिएर उपप्रमुखमा चित्त बुझाएको थियो । दाङमा शेरवहादुर देउवा र पुष्पकमल दाहाल आउँदा घोराहीमा जस्तो तालमेल अनेत्र नभएको भन्दै प्रशंसा गर्नुभएको थियो । घोराहीमा अघिल्लो पटकको निर्वाचनमा एमालेले प्रमुख र उपप्रमुख सहित १० वडा जितेको थियो । एकजना वडाध्यक्षको निधन भएपनि रिक्त अध्यक्षमा काँग्रेसले जित हासिल गरेको थियो । यसरी काँग्रेसले ८ वटा वडामा जित हासिल गरेको थियो ।

अहिले गठवन्धन गर्दा पनि काँग्रेस पाँचवटा वडामा सिमित भएको छ । तिमध्य एउटा वडामा वडाध्यक्ष र एउटा सदस्यले मात्रै जितेका छन् । अर्को वडामा वडाध्यक्षले मात्रै जितेको अवस्था छ । एउटा वडामा केही माओवादीका सदस्य छन् । घोराहीमा वडा नं. १०, १३, १५, १६ र १९ मा काँग्रेसका वडाध्यक्ष रहेका छन् । काँग्रेसको एकलौटी वडाका रुपमा वडा नं. १५ मात्रै रहेको छ । अन्य वडामा अन्य राजनीतिक दलका सदस्यहरुले पनि जितेका छन् । माओवादीलाई प्रमुख दिएको काँग्रेसले धेरै वडामा आफ्ना उमेदवार उठाएको थियो । प्रमुखमा एमालेले जितेपनि उपप्रमुखमा आफूले जित्ने हिसाव किताव काँग्रेसले गरेको थियो । काँग्रेसले गठवन्धन गर्दा घोराहीमा वडा समेत गुमाएको छ ।

अघिल्लो निर्वाचनमा काँग्रेसले दाङमा ४२ वटा वडामा जित हासिल गरेको थियो । यसपटक ३७ वडामा जितेको छ । यस हिसावले काँग्रेसलाई ५ वडा घाटा लागेको छ । त्यसको क्षतिपूर्ती काँग्रेसले एकलौटी जिसस बनाएर गर्न सक्ने देखिन्छ । काँग्रेस एक्लैको १२ सदस्य रहेको छ । तुलसीपुरमा अघिल्लो निर्वाचनमा १० वटा वडामा जित हासिल गरेको काँग्रेसको अवस्था नाजुक भएको छ । माओवादी र समाजवादीसंग गठवन्धन गर्दा पनि काँग्रेसले पाँचवटा वडा गुमाएको छ । काँग्रेसले वडा नं. ५, ७, ९, १४ र १७ मा मात्रै जित हासिल गरेको छ । यिमध्य वडा नं. १७ मा अध्यक्षको मात्रै जित भएको छ । ९७ सदस्यीय नगर सभामा काँग्रेसको उपस्थिती २३ जनाको रहेको छ । तुलसीपुरमा नगरकार्यपालिकामा एमालेका तर्फबाट आठ जना निर्विरोध निर्वाचित भएका छन् ।

दाङ जिल्लालाई काँग्रेसको गढ भनिएपनि यसपटकको निर्वाचनमा प्रमुख र उपप्रमुख धेरै जित्दा पनि काँग्रेसको मत कम आएको छ । एमालेले करिव एक लाख मत ल्याउँदा काँग्रेसको मत ९० हजारको हाराहारीमा रहेको देखिन्छ ।उपमहानगरपालिकामा काँग्रेस कमजोर भएपछि यसको परिणाम आगामी निर्वाचनमा काँग्रेसलाई असर पर्ने जानकारहरु बताउँछन् ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img