spot_img
spot_img

शहरभन्दा गाउँमा चुनावी रौनक बढी

शहरभन्दा गाउँमा चुनावी रौनक बढी

छबि पुरी/राप्ती पोष्ट

घोराही, बैशाख । राप्ती गाउँपालिका वडा नम्बर ६ की ५५ वर्षीया नैना चौधरी अघिल्लो पटकको स्थानीय निर्वाचनमा भाग लिन पाउनुभएन । मतदाता परिचय पत्र नहुँदा उहाँ मतदान गर्नबाट वञ्चित हुनुपरेको थियो । यो पटक उहाँको हातमा मतदाता परिचय पत्र छ । बैशाख ३० गतेको पर्खाईमा नैना घरमै बस्नुभएको छ ।

राप्ती गाउँपालिका वढा नम्बर ८ का २१ वर्षका रमेश चौधरी पहिलो पटक मतदानमा सहभागी हुन लाग्नुभएको छ । उहाँका लागि यो अवसर पहिलो पटक हुन लागेकाले निकै उत्साहित हुनुहुन्छ । घोराही ५ नैनवारकी सुनिता चौधरीका लागि यो पटकको मतदान तेश्रो हुनेछ । यसअघि उहाँले दुई पटक मतदान गरेकोमा अहिले कसलाई मतदान गर्ने होला भन्ने विचार गर्दै बस्नुभएको छ ।

गढवा ५ का मनिष थापा उमेरले भर्खर २० वर्षको हुनुभयो । उहाँका लागि पनि जीवनकै पहिलो मतदान हुनेछ । लमही ३ की ७५ वर्षीया सुकमति चौधरी यसअघि ४ पटक निर्वाचनमा सहभागी भईसक्नुभएको छ । नेपालमा बहुदल आएपछि उहाँले पटक पटक आवधिक निर्वाचनमा भाग लिनुभएको छ । मुलुक संघीयतामा गएपछि हुन लागेको यो दोश्रो पटकको स्थानीय तह निर्वाचनमा दाङका १० वटा पालिकामा केही ठाउँमा पुरानै अनुहार उम्मेदवारका रुपमा आएका छन् भने केही ठाउँमा नयाँलाई अघि सारिएको छ । यो अवस्थामा काममा अधिकतम सन्तोष गर्न लायक बनाएका जनप्रतिनिधि दोश्रो कार्यकालका लागि उम्मेदवार बनेका छन् भने नयाँ अनुहारका रुपमा उम्मेदवार बनेकाहरु पालो पर्खेका वा कडा प्रतिष्पर्धा हुने स्थानका रहेका छन् ।

बैशाख ११ र १२ गते निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएसँगै विभिन्न दलका उम्मेदवार अहिले आफ्ना चुनावी एजेण्डा लिएर मतदाताको घरघरमा पुग्ने काम गरिरहेका छन् । बैशाखको यो उखर्माउलो गर्मीमा पनि उनीहरु दलबलका साथ माईकिङ्ग गर्दै प्रचारप्रसारमा व्यस्त छन् ।

राजनीतिक दलका उम्मेदवारले चुनावप्रचार प्रसार अभियानलाई तीव्रता दिईरहँदा मतदाताहरु उनीहरुको चुनावी नारासँगै कुरा सुन्न व्यस्त भएका छन् । आफ्ना उम्मेदवारलाई जिताउन चुनाव प्रचार अभियानलाई तीव्रगतिमा अघि बढाएको राजनीतिक दलहरु अहिले शहर बजारमा भन्दा गाउँबस्ती कुना कन्दराहरुमा दिनरात नभनी पुगिरहेका छन् ।
मतदाताका घरदैलोमा पुग्न थालेसँगै यो बेलामा गाउँघरमा चहलपहल निकै बढेको छ । दशैँतिहारभन्दा अझ बढी रौनक यो स्थानीय निर्वाचनको छेकोमा आएको छ । जिल्लाका स्थानीय तहका उम्मेदवारलाई आ–आफ्नो स्थानीय तह र वडामा सामूहिक रूपमा घरदैलो अभियान गरी मतदाताका समस्या बुझ्न र आफ्ना कुरा राख्न गाउँगाउँमा खटाएकाले पनि उम्मेदवारहरु गाउँबस्ती केन्द्रित बनेका छन् ।

उनीहरुले घरदैलो अभियानमार्फत मतदातालाई प्रत्यक्षरूपमा भेटघाट गरेर आफू र टिमलाई जिताउन भोट दिन मतदातका सामु अपिल गर्दै हिडिरहेका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा यसका लागि चहलपहल तिब्र रुपमा बढेपछि घरघरमा चुनावको चर्चा चुलिएको छ । यो पटक कुन ठाउँमा को बलियो, को कमजोर जस्ता कुराहरु चोक चौतारोमा बढीमात्रामा हुन थालेको छ ।

उता, हरेक दलका प्रतिनिधी आ–आफ्नो पक्षमा माहोल बनाउन झन्डा र व्यानरसहित घरदैलोमा निरन्तर खटिएका छन् । जिल्लाका सबै ठाउँमा दलका उम्मेदवारहरु भने निकै सौहार्द पूर्ण वातावरणमा मतदाताको घरघरमा पुग्ने गरेका छन् । कुनै दल पुगेको टोलमा अर्को उम्मेदवार पालो मिलाएर जाने गरेकाले सहज बनेको पाइएको छ । ‘हामी दिनभर घरमै हुन्छौँ, दिनभर आलोपालो उम्मेदवार आउँछन्, आफ्ना कुरा राख्छन्, जान्छन्,’ राप्ती गाउँपालिका ६ की सौमती चौधरीले भन्नुभयो, ‘हामीलाई त दशैँतिहार आए जस्तो पो लागेको छ ।’

खासगरी प्रमुख राजनीतिक दलबाट उम्मेदवार बनेकाहरु बीच कडा प्रतिष्पर्धा हुने भएकाले घरदैलोमा सक्रियता देखिएको हो । शनिबार दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले आधिकारिक रुपमा चुनाव चिन्ह पाएपछि आफ्नो चुनावी अभियान अझ बढाएका छन् ।

आफुलाई मत माग्न, जनताको अपेक्षा र समस्या पहिल्याउन आफुहरु जनताको घरदैलोसम्म जाने गरेको राप्ती गाउँपालिका वडा नम्बर ६ को नेकपा एमालेबाट वडा अध्यक्षकाका प्रत्यासी हरिषचन्द्र चौधरीले बताउनुभयो , मतदाताले राखेको अपेक्षा के हो रु भनेर बुझ्नलाई आफुहरु जनताको ढोका ढोकामा आईपुगेका र उनीहरुको गुनासो सम्बोधनका लागि आगामी कार्यकालको जनप्रतिनिधि बनाउन भोट गर्न अपिल गर्ने गरेको बताउनुभयो ।

नेताका कुरा अनेकन भए पनि मतदाताहरु अहिले आफ्नो मनोविज्ञान भने बनाई रहेका छन् । कसैले यसअघिका जनप्रतिनिधिका काम रुचाएका छन् भने धेरैले उनीहरुको काम प्रति असन्तुष्टि पोखेका छन् । विगतका जनप्रतिनिधिहरुले गरेका राम्रा कामको आधारमा केही ठाउँमा मतदाताहरुले सकारात्मक धारणा बनाउने गरेका छन् भने विपक्षी दललाई समर्थन गर्ने मतदाताहरु भने आफुले रुचाएको दलका उम्मेदवार आए राम्रो हुने बताउँछन् ।
यसले गर्दा सबै मतदाताको धारणा ठाउँ परिवेश अनुसार फरक फरक देखिएको छ । निर्वाचनको मिति नजिकिएला उम्मेदवार दिनरात नभनी अहिले हरेक मतदातासँग प्रत्यक्ष भेटघाट गर्नेदेखि लिएर आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्ने काम गरिरहेका छन् ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img