सम्पादकीय
नागरिकले गुनासो सुनाउने ठाउँ कहाँ हो ? नागरिकका गुनासा सुन्ने कसले हो ? नागरिकले आफूलाई परेको मर्काका बारेमा जानकारी गराउने कसलाई हो ? नागरिकले आफ्नो कुरा निर्धक्क भन्न पाउने कि नपाउने ? नागरिकले सेवा सुविधा उपभोग गर्न पाउने कि नपाउने ? आजको २१ औं सताव्दिमा नागरिकले डराएर आफ्ना कुरा भन्न नसक्ने अवस्थाको अन्त्य कहिले हुने ? आफ्नो कोही नहुने नागरिकहरुले नागरिक भएर बाँच्न नपाउने ? आफूलाई परेको मर्माका बारेमा सुनाउन नपाउने ? आफूलाई परेको समस्याका बारेमा सुनिदिने कोही नभएपछि नागरिकको अवस्था के हुन्छ ? नागरिक भएर पनि अनागरिक सरह हुनेहरुका लागि कस्ले कुरा गरिदिन्छ ? आज हामीले नागरिकका मर्का सुन्नुको साटो नागरिकलाई दुःख दिने ? नागरिकका कुरा नसुन्ने ? नागरिकलाई तनावमा राख्ने काम गरिरहेका छौं । खासगरी सेवा लिन आउने नागरिकले उचित रुपमा सेवा पाउन सकिरहेका छैनन ? सेवा प्राप्त गर्नका लागि नागरिकले सोर्स खोज्नुपर्ने ? सेवा पाउने नागरिकको अधिकार हो । सेवा पाउनका लागि नागरिकले जि हजुर गर्नुपर्ने अवस्था यतिवेला पनि रहिरहेको छ । नागरिकलाई सेवा दिनका लागि सरकारी संयन्त्र छन् । नागरिकलाई अनुशासित रुपमा राख्नका लागि विभिन्न निकायहरु रहेका छन् । जहाँ मर्का पार्नेहरु पनि जान्छन । जहाँ मर्का पर्नेहरु पनि जान्छन । कहिलेकाँही मर्कामा पर्नेहरु भन्दा पहिले मर्कामा पार्नेहरु पहिल्यै पुगेका हुन्छन । यस्तो विडम्वनाको अवस्थाका बीच हामी गुज्रिरहेका छौं ।
हामीकहाँ अनेकन खालका निकायहरु छन् । कुनै सेवामुलक छन । कुनै न्यायीक छन ? कुनै अर्धन्यायीक छन् । आफ्ना कुरा कतै पनि सुनुवाई भएन भने मानिसहरु संचारका माध्यममा पुग्छन । आफ्नो कुरा कसैले सुनेन भने संचारमा जाने मानिसको चलन बढेर गएको छ । कतिपय अवस्थामा संचारमा आएका विषयहरु नै दुरुपयोग भएका देखिन्छन । कतिपय अवस्थामा संचारमा पनि मानिसहरु पुग्न सकिरहेका हुँदैनन । संचारमा पुग्न नसक्नेहरुले कहाँ गएर कुरा भन्ने त्यो पनि आफैमा बहसको बिषयका रुपमा रहेको छ । मानिसले आफूलाई मर्का परेको कुरा सकेसम्म भन्न नपरे हुन्थ्यो । कसैको पनि आलोचना गर्न नपरे हुन्थ्यो भन्ने लाग्छ । अरुको बारेमा कुरा गरेर समय खर्च गर्नु राम्रो कुरा होइन । तर कहिँलेकाँही कुरा नगरेर पनि हुँदैन । कुरा गर्नै पर्दछ । जो नागरिक सेवाका लागि जान्छ उसको कुरा सजिलोसंग सुनिएको छ कि छैन ? अवश्य पनि सुनिनुपर्छ तर सुनिएको छैन । आज सामान्य मानिसले आफ्नो कुरा भन्नका लागि अरुको सहारा खोज्नुपर्छ । सोर्स नहुनेको कामै नहुने ? सोर्स हुनेहरुको मात्रै काम हुने ? यस्तो हुनुहुँदैन । कसैले कसैलाई दया गरेर काम गरिदिने होइन ? कसैले कसैलाई खुशी पार्नका लागि काम गरिदिने पनि होइन । नागरिकले सेवा नियमपूर्वक पाउनुपर्छ । नागरिकले न्याय सत्य र तथ्यका आधारमा पाउनुपर्छ ।
केही समय अघि नेपालमा भ्रष्टाचार कम नभएको अन्तर्राष्ट्रिय तथ्याङ्क सार्वजनिक भएको थियो । नेपालमा भ्रष्टाचार हुन थालेको आजबाट होइन । सयौं बर्ष अघि पनि थियो । घुस दिने र लिने दुवै राष्ट्रका शत्रु हुन भनेर पृथ्वीनारायण शाहले उहिल्यै भनेका थिए । काम गराउनका लागि लेनदेनको चलन उहिल्यैबाट आएको रहेछ । यो अहिले झनै बढेर गएको छ । काम गराउनका लागि कि सोर्स हुनुपर्छ । कि आफूसंग पैसा हुनुुपर्छ । अर्को कुरा पैसा नहुनेसंग सोर्स पनि नहुँदो रहेछ । जो आर्थिक रुपमा सम्पन्न छ । जोसंग पद छ उसको मात्रै सोर्स लाग्छ । राजाहरुको समयमा यहि भयो । राणाहरुको समयमा यस्तै भयो । दलिय व्यवस्थामा पनि यहि हुने हो भने हामीले विगतलाई गाली गरेर चोखो हुन सक्दैनौ । एउटा सामान्य मानिस प्रहरी कार्यालयमा गएर आफ्नो कामका बारेमा भन्न सक्दैन । प्रशासन कार्यालयमा गएर भन्न सक्दैन । अदालतमा गएर न्यायाधीशसंग आफ्नो कुरा भन्न सक्दैन । आफूले रोजेको अस्पतालमा गएर उपचार गर्न पाउँदैन । मन्त्रालयमा गएर आफ्नो काम गराउन सक्दैन । नेपालको प्रशासनिक संयन्त्रले नागरिकलाई सेवा दिने कुरालाई आफ्नो मन्त्र बनाउन सक्यो भने नागरिकलो साच्चिकै नागरिक भएको अनुभूति गर्न सक्छ । नागरिकले अनागरिक हुनुपर्ने अवस्थाको अन्त्य गरौं । नागरिकलाई दुःख दिने होइन कि नागरिकका गुनासा सुन्ने, नागरिकका पिर मर्कालाई सम्वोधन गर्ने खालको काम गरौं । नागरिकका नजर पदमा पुगेकाहरु जनताका सहयोगी हुन भन्ने कुरा प्रमाणित गरौं । कृपया नागरिकलाई दुःख दिने काम बन्द गरौं ।