spot_img
spot_img

आँखी झ्यालबाट अधिकारी वंशधर नियाल्दा

अधिकारी समाजका पूर्व उपाध्यक्ष समेत रहनुभएका पद्मप्रसाद शर्माले अधिकारी समाजको स्थापना र ऐतिहासिक पृष्ठभूमिलाई समेटेर लेख श्रृङ्खला तयार पार्नुभएको छ । यसलाई क्रमशः प्रकाशित गरिनेछ ।

पद्मप्रसाद शर्मा (अधिकारी)

हालको प्युठान जिल्लामा पर्ने तत्कालिन उदयपुर राज्य (कतै उदैपुर उल्लेख भएको पाइन्छ ) जहाँ ब्राह्मण राजा जसुधर र उनका सन्ततिहरुले सत्र पुस्ता राज्य गरेका थिए । कश्यश्प गोत्रीय यी अधिकारीहरुको त्रिप्रवरमा काश्यप, आवत्सर, असित हो । अधिकारीहरु अनिलो र नुनिलो दुईवटा शाखाका पाइन्छन् । यी उदयपुरे अधिकारीहरुको अनिलो शाखा हो । यी अधिकारीहरुलाई कार्की भनेर पनि चिनिन्छ । मुल थलो जुम्लामा रहँदा जुम्लेली राजाले कर अधिकारीको पद दिएकाले कर अधिकारीलाई कार्की भनिएको हो भन्ने भनाइ पाइन्छ । कतिपय उदयपुरे अधिकारीहरुले अहिले पनि आफ्नो थरको स्थानमा कार्की लेख्ने गर्दछन् । त्यतिमात्र होइन जतिवेला राज्य सञ्चालन गर्दथे त्यतिवेला विभिन्न राज्यबाट प्राप्त पत्रानुसार राजाका नामको पछाडिबाट कार्की उल्लेख गरिएको पाइन्छ । जस्तो हरिप्रसाद उपाध्याय कार्की । कतै हरिप्रसाद कार्की उपाध्याय पनि उल्लेख गरेको पाइन्छ ।

उदैपुर राज्यको अधिकांश भाग हाल प्युठान जिल्लाको माण्डवी गाउँपालिकामा पर्दछ भने केही भाग दाङ जिल्लाको वंगलाचुली गाउँपालिकामार केही भाग देउखुरी उपत्यकाको राप्ती गाउँपालिकामा पर्दछ । कश्यप गोत्रीय यी कार्की अधिकारीहरुको मूल थलो यही उदयपुर हो । हाल देशका विभन्न भागमा छरिएर रहेका छन् । खागगरि प्युठानको रातापानी, मर्कावाङ, तिराम, तिमिले, बाङ्गेसाल , नयाँगाउँ र पहिले राजधानी भएको भूमि उदयपुरकोट (जसलाई धोवाघाटकोटका नामले चिनिन्छ ) आदि स्थानहरुमा अहिले पनि बसोवास रहेको पाइन्छ । यी गाउँ बस्तीहरुमा अहिले पनि अधिकारीहरुको बाक्लो वस्ती रहेको छ । यसका अतिरिक्त दाङ जिल्लाको दाङ उपत्यका र देउखुरी उपत्यकाका विभिन्न गाउँ शहरमा बसोवास गर्ने गर्दछन् । त्यसो त बाँके र बर्दिया जिल्लाका विभिन्न भागमा पनि वसोवास रहेको छ । आजभन्दा साठी वर्ष पहिले ५०० कुरीया कार्की भन्ने गरेको सुनिन्थ्यो । यी अधिकारीहरु उल्लेखित जिल्लाका अतिरिक्त सानो संख्यामा अन्य जिल्लाहरुमा पनि वासोवास गर्ने गर्दछन् । नेपालमा तत्कालिन समयमा रहेका वाइसे चौवेसे राज्यहरुमा उदयपुर राज्य वाहेक अन्य कुनै पनि राज्यमा ब्राह्मण राजा भएको इतिहास पाइदैन । धेरैलाई यी अधिकारीको वारेमा निकै चासो रहेको छ ।ब्राह्मणहरुले राज्य गर्नु र यी अधिकारी थरका हुँदाहुँदै पनि कसैले कार्की लेख्ने र कार्की भनिने हुनाले पनि चासो बढेको हुनसक्छ ।

चासोको कुरा गर्दा नेपालमा राज्य एकीकरण अभियानका क्रममा विक्रम सम्वत १८४३ मा शाहवंशीय सेनाहरु उदयपुरकोटपुगेका थिए । त्यतिवेला राजा इच्छाराम राजा भएको पाइन्छ । त्यतिवेला एकीकरण अभियानको नेतृत्व गरेका काजी दामोदर पाण्डे,जगजित पाण्डे, सरदार प्रवल राना र सुब्बा फौदसिंहले नेतृत्व दलसंग सम्पर्कगरि उदैपुर राज्यमा कुनै सेना नभएको र आफ्नै सिक्का समेत नभएको कुरा दर्शाएर ब्राह्मण राज्य भएकाकारणले हरण गर्न नहुने कुरा राखेपछि अभियानका अभियन्ताहरुले नेपाल सरकारको अधिनमा रहनेगरि उदयपुर राज्य स्विकार गरेको पाइन्छ । हरेक राज्यमा सेना प्रहरीहरु हुने गर्दछन् । तर उदैपुर राज्यमा कुनै सेना प्रहरी थिएनन् । राज्यका वासिन्दहरुआफै अनुशासितभएर नागरिक कर्तव्य पुरा गरेको पाइन्छ । ब्राह्मण राजाहरुले राज्य गर्ने हुनाले यसको राजपाठ अरुको भन्दा भिन्दै, नीतिशास्त्र अनुरुप शासन व्यवस्था सञ्चाचलन भएको थियो भन्ने कुरा पुर्वजहरुबाट सुन्न पाइन्छ । सायद यसरी नीतिशास्त्रबाट राज्य सञ्चालन गर्ने र स्वअनुशासनमा रहेर नागरिकहरुले कार्य गर्ने गरेको यो पहिलो राज्य हुनसक्छ ।
राजा रुद्रमणिको निधन हुँदा उनका छोरा जागेश्वर कम उमेरका भएकोहुनाले तत्कालिन चौतरिया जशोधरलाई राजपाठको हेरचाह गर्ने जिम्मा दिइयो । चौतरिया जशोधरको निधन पछि उनका छोरा मोतिराम चौतरिया भए । बाबुले राज्य सञ्चालन गरेको अनुभव र चौतरिया पदवी आफूले निर्वाह गर्न पाएकाले उनलाई पदको जिम्मेवारी वहन गर्न कुनै गह्रो भएन । चौतरिया मोतीरामका नौ भाइ छोराहरु थिए । त्यस मध्यका जेठा छोरा थिए जगन्नाथ । बाबुको निधन पछि र अर्को हुनेवाला चौतरियाको उमेर नपुगेका कारणले केही समयका लागि जगन्नाथले चौतरियाको जिम्मेवारी पाएका थिए । ति चौतरिया मोतीरामका सन्ततिहरुले आफ्ना पूर्वजहरुको कार्यलाई लिविवद्ध गर्नुका साथै वंश वृतान्त तयार पार्नका लागि साविक ढिकपुर गाविस अस्पारा गाउँमा मोतीरामका सन्ततिहरुको प्रथम भेला २०५५ साल मार्गमा सम्पन्न गरेका थिए । त्यसको दुई महिनापछि अर्थात २०५५मघ महिनामा दोस्रो भेला मोतीरामका कनिष्ठ पुत्रका सन्तति नारायण अधिकारीको निवास अम्वापुरमा सम्पन्न भयो । उक्त भेलाले सम्भव भएसम्म सम्पूणर् अधिकारी वन्धुहरुको भेला गर्ने र वंशावली प्रकाशन गर्ने निणर्यो गर्‍यो । उक्त भेलाको खवर राजा हरिप्रसादका कनिष्ठ पुत्र (राजाबाबु) गजराज समक्ष पुराइयो । सम्पूणर् वन्धुहरुको प्रथम भेला राजाबाबु गजराजको निवास भैसाहीमा सम्पन्न भयो । उक्त भेलाले मासिक रुपमा भेला गर्ने र वंशावलीको लगत लिने निणर्य गर्‍यो । त्यस अघि लामो समय देखि काममा खटेर चौतरिया मोतिरामका सन्तति यादवप्रसाद अधिकारीले वंशावलीको धेरै भाग संकलन गरिसक्नु भएको थियो । पटक पटक भएको जमघटले छुटेका वंश वन्धुहरुको लगत लिने काममा तीव्रता दियो । तेस्रो भेलादेखि पछिका सबै भेला तथा बैठकहरु भैसाही निवासी राजाबाबु गजराजको निवासमा सम्पन्न भएका थिए । वंशावली टिपोटको प्रथम चरणको कार्य सम्पन्न भएको महसुस भएकाले वंशावली प्रकाशनकालागि मिति २०५६साल पौष २७गतेका दिन प्युठान उदयपुरका राजा जशुधर अधिकारी कार्की वंशजहरुको दाङ भैसाहीमा मिलन कार्यक्रम आयोजना गरियो ।

उक्त मिलनकार्यक्रम (भेला) भैसाही निवासी गजराज शर्माको अध्यक्षता, साविक ढिकपुर ५ चयनपुर निवासी भेलाका ज्येष्ठ बन्धु पंं ऋषिराम उपाध्याय अधिकारीको प्रमुख अतिथ्यताममा सञ्चालन भएको थियो भने कार्यक्रमको सहजीकरण साविक ढिकपुर ७ अस्पारा निवासी पद्मप्रसाद शर्माले गर्नु भएको थियो । उक्त भेलाले “उदयपुर राज्यको इतिहास तथा राज्यस्थापना गर्ने प्रथम राजा जसुधर सन्तति अधिकारीहरुको वंशको चिनारी गराउन स्वर्गीय पं. प्रेमनारायण अधिकारीबाट प्रयास भएकोमा उक्त प्रकाशनमा संकलित जसुधर सन्ततिका नाम, स्थान, क्रम तथा राज्यको इतिहास सम्वन्धमा छुटेका कुरा, प्रमाण आदिको थप खोजविन सङ्कलन तथा शुद्धिकरणगरि भावि पिंढीलाई पुर्खाको गौरवपूणर् इतिहासका वारेमा अझ वढी जानकारी गराउन तथा भविश्यमा अग्रिम स्थानमा आफ्नो सक्रिय जीवन लगाउन प्रोत्साहित गर्ने पवित्र उद्देश्य राखि मिति २०५६पुस २७मा दाङ भैसाहीस्थित गजराज शर्माको घरमा भएको वन्धुहरुको भेलाबाट तदर्थरुपमा गठन भई कार्यारम्भ गर्ने तदर्थ कार्यकारी समिति गठन गरियो । ‘उपरोक्त कुरा अधिकारी वंशावली तथा इतिहास २०५८मा उल्लेख गरिएको छ ।) तदर्थ समितिमा अध्यक्ष विष्णुप्रसाद अधिकारी तुलसीपुर, सचिव यादव अधिकारी वेलहरी, सदस्यहरुमा वेदनिधि शर्मा अधिकारी नेपालगञ्ज बाँके, हरिहर शर्मा अधिकारी कोठरी, मोहन अधिकारी दुधरास, हिमालय अधिकारी दुधरास , चूडामणि अधिकारी नारायणपुर, कुलराज अधिकारी गैरागाउँ, शिवकुमार अधिकारी गैरागाउँ, रेशमा अधिकारी जजरागाउँ , भगिरथ अधिकारी जजरागाउँ, यनुप्रसाद अधिकारी भैंसकुर्मा, नारायण अधिकारी अम्वापुर , लोकराज अधिकारी फल्कापुर देउखुरी ,नेत्रमणि अधिकारी कौडिया देउखुरी ,केशव दीपक शर्मा नारेवाङ, गजराज शर्मा अधिकारी भैंसाही ,जगन्नाथ अधिकारी बाँसगढी , रमेश अधिकारी हापुर शिवपुर, माधव अधिकारी नेपालगञ्ज बाँके, रामकृष्ण अधिकारी खुरुरिया देउखुरी रहनुभयो । उक्त भेलामा विभिन्न स्थानबाट १३२ जनाको उपस्थिति रहेको थियो । गठित तदर्थ समितिलेको समय समयमा बैठक गर्नुका साथै आफ्नो तत्काल कार्य आरम्भ गर्‍यो ।

तदर्थ समितिले निकै मेहनतकासाथ वंशावलीको पाण्डुलिपि तयार पारेर छपाइको काममा संलग्न भयो । अन्य कृतिप्रकाशन गरेको भन्दा वंशावलीको काम केही जटिल भएकाले उत्तिकै सजग हुनु पर्ने थियो । समितिले निकै सजगताका साथ सकेसम्म त्रुटी नहोस भन्ने कुरामा सजग रह्यो । समितिमा नरहेर पनि गजराज पुत्र भैसाही निवासी डिल्लीराज अधिकारी र दुधरास निवासी मोहन अधिकारी पुत्र अर्का डिल्लीराज अधिकारीले वंशवृक्ष तयारी,कम्युटर टाइप तथा शुद्धा शुद्धिमा निकै सघाउनु भयो । कम्युटर अवधि र छपाइ अवधिभर राजाबाबु गजराज शर्मा अधिकारी आफै खटेर निकै सहयोग गर्नुभयो । वंशावली संकलनमा यादवप्रसाद अधिकारी वेलहरीको जति ठूलो योगदान रह्यो यसलाई पूणर्ता दिनका लागि राजाबाबु गजराज शर्मा अधिकारीले निकै सघाउनु भयो । यसका अतिरिक्त निकै वन्धुहरुको योगदानले विक्रम सम्वत २०५८सालमा ४१०पृष्ठको आकर्षक वंशावली छपाइ सम्पन्न भइ २०५८साल कार्तिक १२गते कोजाग्रत पूणर्िमाका दिन उक्त वंशावली विमोचन सम्मपन्न गरेको पाइन्छ ।

वंशावली प्रकाशनले जसुसन्ततिहरुले आफ्नो थर, गोत्र, प्रवर र राज्यका वारेमा जान्न सक्ने भएका छन् भने आफु कुन पुस्तामा छु ?कुन व्यक्तिसंग के नातापर्दछ भन्ने कुरा सजिलै जान्नसक्ने भएकाछन् । यसकार्यबाटआफ्ना पुर्वजहरुले गरेका कार्यहरुको वारेमा राम्रो जानकारी लिन सकेकाछन् । कतिपय अधिकारी वन्धुहरुले थरको स्थानमा शर्मा मात्र लेख्ने गरेकाले थर याद नहुँदा केही असहज हुने र आपसमै टाढाको सम्वन्ध भएकोमहसुसबाट वंशावली प्रकाशनले यो सबै दुविधा मेटाएको छ । यसमा कतिपय वन्धुहरु अझै जोडिन सक्नु भएको छैन । आगामी दिनमा सोध खोजबाट यसलाई जोडन आवश्यक छ । पहिले टाढाको महसुस हुने अवस्थाबाट अहिले अधिकारी वन्धुहरु मुक्त भएका छन् ।

वंशावली संकलन तथा प्रकाशन तदर्थ समितिले अधिकारी समाजलाई विधिवत रुपमा दर्तागरी कार्य अगाडि बढाउने उद्देश्यले २०५७ सालमा विधान मस्यौदा समिति गठन गर्‍यो । जसको संयोजकमा विष्णुप्रसाद शर्मा अधिकारी तुलसीपुर, सदस्यहरुमा नारायण अधिकारी अम्वापुर र पद्मप्रसाद शर्मा अधिकारी अस्पारा रहनु भयो । उक्त विधान मस्यौदा समितिले विधानको मस्यौदा विभिन्न चरणमा कार्य गरेर तयार पार्‍यो । उक्त विधानलाई दर्ता गर्नकालागि पनि केही विधिहरु पुरा गर्नु पर्दथ्यो । विधान मस्यौदा तयार भए पश्चात नयाँ कार्यसमिति तयार नहुँदासम्मकालागि तदर्थसमिति गठन गर्नुपर्ने र उक्त तदर्थसमितिले मस्यौदा विधान तयारगरि जिल्ला प्रशासनकार्यलयमा नियमसंगत बनाउनु पर्ने । साथै तदर्थसमितिले पारितगरि समितिमा रहेका सबैको दस्तखत हुनु पर्ने प्रवधान अनुसार तयार भएको विधानले तल्काल पूणर्ता पाउन सकेन ।

वंशावली प्रकाशन समितिबाट तयार भएको ४१०पृष्ठको वंशावली मिति २०५८साल कात्तिक १२गते कोजाग्रग पूणर्िमाको दिन घोराही स्थित राप्ती सुपरलजको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रम वंशावली प्रकाशन समितिका संयोजक विष्णुप्रसाद शर्मा अधिकारी तुलसीपुरको अध्यक्षता र ज्येष्ठ वन्धु अनन्तप्रसाद उपाध्याय अधिकारी अस्पाराको प्रमुख अतिथ्यतामा सञ्चालन भयो । जसको सहजिकरण विधान मस्यौदा समितिका सदस्य पद्मप्रसाद शर्मा अधिकारी अस्पाराले गर्नुभयो । भव्य समारोहका वीचमा “उदयपुर राज्यको इतिहास तथा अधिकारी वंशावली”को विमोचन कार्यक्रमका प्रमुख अतिथि अनन्तप्रसाद उपाध्यायले गर्नुभयो । उक्त अवसरमा प्रमुख अतिथि अनन्तप्रसाद उपाध्यायलाई वंशावली प्रकाशन समितिद्वारा सम्मान गरिएको थियो । २०५६साल पौष २७गतेका दिन भैसाहीमा भएको भेला पछिको यो दोस्रो वृहत भेलाथियो ।
राप्ती सुपरलजको उक्त भेलामा वंशावली विमोचन सम्पन्न भए पश्चात अधिकारी समाज नामक एक समिति गठनगरि यसै समाज अर्थात यसै तदर्थ समितिका माध्यमबाट विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्य गर्नका लागि भेलाले “अधिकारी समाज तदर्थ समिति”चयनगर्‍यो । जसको अध्यक्षमा विष्णुप्रसाद शर्मा अधिकारी तुलसीपुर दाङ, उपाध्यक्ष यादवप्रसाद शर्मा अधिकारी वेलहरी, सचिव पद्मप्रसाद शर्मा अस्पारा, सहसचिव सूर्यप्रकाश शर्मा पाखापानी देउखुरी ,कोषाध्यक्ष दामोदर अधिकारी फुर्सेखाली, सदस्यहरुमा कुलराज अधिकारी गैरागाउँ, लोकराज अधिकारी कौडिया देउखुरी, हिमालयप्रसाद अधिकारी दुधरास रहनु भयो ।

कश्यप गोत्रीय उदैपुरे राजा जसुधरका सन्ततिहरुमा सद्भाव,प्रेमभाव,र सहयोगात्मक स्वभावको विकास गर्न तथा एकै पूर्वजका सन्ततिहरुको स्वाभिमान जगाई आपसमा पहिचान र सद्भाव विकासगर्ने पवित्र उद्देश्यकासाथ अधिकारी समाजको तदर्थसमिति गठन गरिएको थियो । त्यसो त समाज र राष्ट्र उत्थानको निम्ति समाजबाट सक्दो सहयोग पुर्‍याउने र कूलपूजा परंपरालाई निरन्तरता दिन बल पुर्‍याउने समेत यो समितिको उद्देश्य रहेको हो ।

जसुसन्ततिहरुको आपसी मिलनले अन्य क्षेत्रमा समेत सहयोग हुने र पूर्वजहरुको कार्यकूशलताको वारेमा जानकारी दिनु र लिनु सान्दर्भिक हुनेरहेछ । हामीले सामान्यतया हेर्दा एक जात वा जाति वा एउटा थरका मानिसहरु संगठित भएर के हुन सक्छ ? भन्ने प्रश्नगर्न पनि सक्छौं । तर पूर्वजहरुको अध्ययन गर्नु र सकारात्मक कार्यलाई चिरस्थाइ बनाउनु एउटा थर वा जातिबाट पनि सम्भव हुने कुरा हो । राम्रो कामको सिको जसबाट गर्दा पनि हुन्छ । अधिकारी समाजको तदर्थसमिति गठन पश्चात नेपथ्यबाट “अधिकारी समाज गैर सरकारी संस्था बन्ने र स्वदेशी तथा विदेशीआर्थिक सहयोगमा संलग्न रहने ”चिन्ता व्यक्त गरिएका कुरा पनि आएका हुन् । वास्तवमा नेपथ्यबाट आएको जस्तो अधिकारी समाजको चाहना हजारमा एक अंश पनि थिएन । अन्य थर, गोत्र र कश्यप गोत्रीय अधिकारीहरुको इतिहासमा फरक थियो र छ पनि । यो इतिहासले दिएको दायित्व पनि हो । यसैको महत्वलाई बुझेर प्युठान जिल्ला माण्डवी गाउँपालिकाले यो ऐतिहासिक स्थललाई चिरस्थायी बनाइ राख्नका लागि गुरुयोजना तयार गरेर उदैपुरकोट जसलाई घोवाघाटको नामले चिनिन्छ । यो क्षेत्रको विकासको लागि यतिवेलासम्म धेरै कार्यहरु अगाडि बढाएकोछ । धोवाघाटमा रहेको सुन्नानी (कतै सुन्दानी पनि भनिन्छ) मन्दिरको नजिकमा पुरानो दरवारको आकार निर्माणगरि उक्त भवनमा संग्राहलय स्थापना गर्ने । उक्त संग्राहलयमा उदयपुर राज्यमा प्रयोग भएका विभिन्न बस्तुहरुका साथै राजदरवारमा राजारानी, काजी चौतरिया र भाइभारदारहरुले प्रयोग गरेका विभिन्न बस्तुहरु र ऐतिहासिक दस्तावेजहरु समेत रहनेछन् ।

जसको प्राङ्गणमा सत्र पुस्ताका राजाको नाम अंकित स्तम्भ स्थापना गर्ने रहेको छ । त्यसमा राजा जसुका सन्ततिहरुले सत्रपुस्ताका राजाका तस्विरहरु समेत समावेश गर्ने सुझाव दिएकाछन् । संग्राहलयकै नजिकमा पार्क र फोहरा निर्माण गर्ने । साथमा पार्क समेत निर्माण गर्ने । पार्कका लागि सिमाङकन गर्ने र उक्त जमिनमा तारवारको काम सम्पन्न भइसकेको छ । फोहराकोलागि पोखरीको कार्य सम्पन्न भएको छ भने अन्य कार्य अगाडि बढेको छ । धोवाघाटकोटबाट देखिने दृश्य अत्यन्त मनोरम रहेकाले पर्यटकहरुको सुविधाकोलागि भ्यूटावरको पनि योजना रहेको छ । यी पंक्तिहरु तयार पार्दासम्म भ्यूटावरको जग निर्माणको कार्य सम्पन्न भएको छ । वनभोजकालागि वनभोजस्थल समेत निर्माण गर्ने योजना रहेको छ । आजभन्दा निकै वर्ष पहिले निर्माण भएको सुन्नानी देवीको मन्दिर हाल जीणर् अवस्थामा रहेकाले नयाँ मन्दिर निर्माणकोलागि फाउण्डेशनको काम सम्पन्न भएको छ । भ्यूटावरको साथमा सुन्नानी मन्दिर समेत तयार हुने छ । आन्तरिक तथा वाह्य पर्यटकहरु आकर्षण गर्नकालागि प्युठान रोल्पा सडकमा पर्ने नयाँगाउँबाट यहाँसम्म पुग्नका लागि सुविधायुक्त मार्ग निर्माण भइरहेको छ भने यसमार्गलाई छिट्टै कालोपत्रे गर्ने र घोवाघाटबाट स्वर्गद्वारीसम्म आउन जानकालागि बस सञ्चलन गर्न सकिने मार्गको विकास गर्ने जस्ता कार्यक्रमहरु रहेका छन् । बहुवर्षिय योजनामा रहेको हुनाले योजनाका लागि रकम स्थानीय सरकार तथा प्रदेश सरकारबाट उपलब्ध हुनेछ ।

लामो समयसम्म (४००वर्ष भन्दा बढी) राज्य सञ्चालन भएको हुनाले उदैपुर राज्यको वारेमा खोज अनुसन्धान गर्न चाहनेहरुलाई छात्रवृतिको व्यवस्था गर्ने समेत योजनामा रहेको छ ।पहिले राजदरवार भएको स्थानमा हाल कामाक्षी माध्यमिक विद्यालय सञ्चालन भएको छ । यो भूमिको महत्वबुझेर स्थानीय पालिका, प्रदेश सरकार दुबै सरकारबाट यसको स्तर उन्नतिकोलागि सहयोग उपलब्ध भएकोछ । यी पूर्वाधार पुरा गर्नका लागि जग्गा अपुग भएकाले माण्डवी गाउँपालिकाले अधिकारी समाजबाट जग्गा खरिदगरि पालिकालाई प्रदान गरेमा कार्य सम्पन्न गर्न सहजहुने कुरा अनुरोध गरेकाले अधिकारी समाजको अगुवाइमा अधिकारी वन्धुहरुबाट आफूसक्दो सहयोग रकम जुटाइ हाल उक्त जग्गा- जग्गाधनीबाट पासगर्ने कार्य समेत सम्पन्न भएको छ । यसबाट कश्यप गोत्रीय अधिकारीहरुको मूलथलो उदैपुरकोट धोवाघाटकोटमा रचनात्म कार्यहरु शिघ्रनिर्माण भएर यो क्षेत्र अवलोकनकालागि तयारीमा रहनेछ । अहिले पनि आन्तरिक पर्यटकहरु पुग्ने र निर्माणाधिन संरचनाको वारेमा र राजदरवारका वारेमा जानकारी लिने गर्दछन् ।

यसरी आफ्ना पूर्वजहरुको इतिहास सोधखोज गर्नका लागि मूलथलोमा रहेका र त्यहाँबाट बसाई सराइ गरेर अन्य क्षेत्रमा पुगेका अधिकारी वन्धुहरुले वैधानिक रुपमा कार्यअगाडि बढाउन चाहे । सोही अनुसार गठित विधान मस्यौदा समितिले अफ्नो कार्य सम्पन्नगरि वंशावली विमोचनको समय २०५८कात्तिक १२गतेका दिनमा मस्यौदा विधान छलफल गराई आवश्यक सुझाव सहित पारित गर्ने काम भयो । मस्यौदा पारित गराएपछि यसलाई दर्ताको प्रकृयामा जानु पर्दथ्यो । विधान मस्यौदा समिति र अधिकारी समाज अधिवेशन तयारीसमिति दर्ताको तयारीमा लाग्यो । फलस्वरुप जिल्ला प्रशासन कार्यालय दाङमा मिति २०६० साल जेठ ४ गतेका दिन अधिकारी समाजको विधान २०५८दर्ता नम्वर ४३४मा दर्ता भयो । दर्ता विधान अनुसार कश्यप गोत्रीय ,काश्यप , आवत्सार, असित त्रीप्रवर भएका जसु कार्कीका सन्ततिहरु समाजको सदस्यता बन्न सक्ने र यी अधिकारीका सन्तानसंग विवाह भएका स्त्रीहरु पनि यसको सदस्य बन्न सक्ने प्रवधान रहेको हो । विशिष्ठ उद्देश्यकासाथ स्थापना भएको अधिकारी समाजको पहिलो अधिवेशन मिति २०६०साल असोज २३गतेका दिन दाङ घोराही स्थित दाङ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भयो । अधिवेशनको सभानायकमा तदर्थसमितिका अध्यक्ष विष्णुप्रसाद शर्मा अधिकारी तुलसीपुर रहनुभयो । उक्त अधिवेशनको प्रमुख अतिथिमा अधिकारी समाजका ज्येष्ठ वन्धु साविक ढिकपुर गाविस ७अस्पारा निवासी अनन्तप्रसाद उपाध्याय रहनुभयो । प्रथम अधिवेशनको उद्घाटन भगवतीको तस्विरमा प्रमुख अतिथिले माल्यार्पण गरेरे उद्घाटन गर्नु भयो भने प्रथम अधिवेशनमा प्युठान तिमिले निवासी १०१ वर्षिय बोधमाया देवी उपाध्याय र सत्रौं पुस्ताका राजा शान्तराजका माइला भाइ ८६ वर्षिय मीनराज अधिकरीलाई अभिनन्दन गरिएको थियो । उक्त प्रथम अधिवेशनमा शुभकामना व्यक्त गर्नेहरुमा प्रमुख अतिथि अनन्त प्रसाद उपाध्याय , अभिनन्दित व्यक्तित्व बोधमाया अधिकारी, गौतम समाजका प्रतिनिधि मीनराज गौतम,आचार्य समाजका प्रतिनिधि लोकमणि आचार्य, अधिकारी समाजको तर्फबाट राजाबाबु गजराज शर्मा अधिकारी भैंसाही हुुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन तदर्थ समितिका सचिव पद्मप्रसाद शर्मा अस्पाराले गर्नु भएको थियो । कार्यक्रमको आरम्भमा तदर्थ समितिका कोषाध्यक्ष दामोदर अधिकारी फूर्सेखालीले उपस्थित सबैलाई शब्दबाट स्वागत गर्नु भएको थियो भने कार्यक्रमको अन्तमा समितिका सदस्य कुलराज अधिकारी गैरागाउँले सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । उक्त अवसरमा दाङ देउखुरी, बाँके, प्युठान लगायतका बन्धुहरुको उल्लेख्य उपस्थिति हेरेको थियो ।

वन्दसत्र सञ्चालनका लागि कमल अधिकारी तुलसीपुर, दामोदर अधिकारी पनौरा र सानुनारायण अधिकारी देउखुरी(गुलरीया दाङ) लाई अध्यक्ष मण्डलमा चयन गरियो । वन्दसत्रमा सचिव पद्मप्रसाद शर्मा अस्पाराले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष दामोदर अधिकारी फुर्सेखालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सामान्य छलफल पश्चात दुबै प्रतिवेदन पारित गरिएको थियो । वन्दसत्रमै सर्वसम्मत किसिमले नयाँ कार्यसमिति चयन गरिएको थियो ।
[email protected]

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img