spot_img
spot_img

संजीवनीले सशस्त्र प्रहरीलाई उपचारमा छुट दिने

राप्ती पोष्ट

घोराही, १३ जेठ । दाङको संजीवनी टिचिङ हस्पिटल र सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेडक्वार्टर ज्वालामाई बीच उपचार सेवामा विशेष सहुलियत उपलब्ध गराउने उद्देश्यले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ ।
अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरी बलमा कार्यरत, अवकाश प्राप्त सुरक्षाकर्मी तथा उनीहरूका आश्रित परिवारलाई विभिन्न स्वास्थ्य सेवामा छुट दिने व्यवस्था गर्दै उक्त समझदारी गरिएको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोका र सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक यदुकुमार कार्की ले समझदारी पत्रमा हालै हस्ताक्षर गर्नुभएको थियो ।

समझदारीअनुसार सशस्त्र प्रहरी बल नेपालमा कार्यरत तथा अवकाश प्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारले अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउनेछन् । अस्पताल प्रशासनका अनुसार ओपिडी, ल्याब, शल्यक्रिया, बेड शुल्क लगायतका विभिन्न सेवामा सहुलियत प्रदान गरिनेछ ।

कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत रोकाले सुरक्षा निकायसँग सहकार्य गर्दै सेवा विस्तार गर्न पाउँदा अस्पताल उत्साहित रहेको बताउनुभयो । उहाँले राष्ट्रको सुरक्षामा खटिने सुरक्षाकर्मी र उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा सहज पहुँच दिलाउन अस्पताल प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । ‘सुरक्षाकर्मीहरू देश र नागरिकको सुरक्षाका लागि चौबिसै घण्टा खटिनुहुन्छ ।’ उहाँले भन्नुभयो, ‘उहाँहरूको स्वास्थ्य सुरक्षामा सानो भए पनि योगदान पु¥याउन पाउनु अस्पतालका लागि गौरवको विषय हो ।’

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका एसपी यदुकुमार कार्कीले निजी स्वास्थ्य संस्थाले सुरक्षा निकायप्रति देखाएको सहयोगात्मक भावनाको प्रशंसा गर्नुभयो । उहाँले स्वास्थ्य सेवा महँगो बन्दै गएको अवस्थामा यस्तो सहुलियतले सुरक्षाकर्मी र परिवारलाई प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

समझदारी कार्यक्रममा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत अनिल अर्याल, अस्पताल व्यवस्थापक सह–प्राध्यापक मदन पन्थी, प्रशासन अधिकृत सुशिल रिजाल तथा वित्त नियन्त्रक सिए अनिल सुनार को सहभागिता रहेको थियो । त्यसैगरी सशस्त्र प्रहरी बलतर्फबाट नं. २९ गण हेडक्वार्टर ज्वालामाई दाङका सशस्त्र प्रहरी नायव उपरीक्षक इश्वर डी.सी., नं. ४१ रिजर्भ गण हेडक्वार्टर अर्जुनखोला लमही दाङका सशस्त्र प्रहरी नायव उपरीक्षक टेकराज पोखरेल तथा कारागार सुरक्षा बेस घोराही दाङका सशस्त्र प्रहरी नायव उपरीक्षक दिपकराज अर्याल लगायत सुरक्षा निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
अस्पताल प्रशासनका अनुसार सहुलियत सुविधा प्राप्त गर्न सेवाग्राहीले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । त्यसका साथै सशस्त्र प्रहरी बलमा कार्यरत वा अवकाश प्राप्त व्यक्तिसँगको नाता प्रमाणित हुने कागजात वा सम्बन्धित सशस्त्र प्रहरी कार्यालयको औपचारिक सिफारिस पत्रसमेत आवश्यक पर्ने जनाइएको छ ।

दाङमा पछिल्लो समय निजी स्वास्थ्य संस्थाहरूले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई विस्तार गरिरहेका छन् । स्वास्थ्य उपचारलाई सर्वसुलभ र पहुँचयोग्य बनाउने उद्देश्यले गरिएका यस्ता सहकार्यले सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार