spot_img
spot_img

संजीवनी टिचिङ हस्पिटलमा न्यूरोसर्जरी सेवा

राप्ती पोष्ट

घोराही, ३ साउन । पश्चिम नेपालका बिरामीलाई काठमाडौं वा भारतका विभिन्न अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यसहित दाङस्थित संजीवनी टिचिङ हस्पिटलले न्यूरोसर्जरी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले वरिष्ठ न्यूरोसर्जन डा. मुसाफिर आलमको नेतृत्वमा अत्याधुनिक न्यूरोसर्जरी सेवा सुरु गरेको हो । यससँगै मस्तिष्क, मेरुदण्ड तथा स्नायु प्रणालीसँग सम्बन्धित सामान्यदेखि जटिल प्रकृतिका शल्यक्रिया अब दाङमै सम्भव हुने भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार न्यूरोसर्जरी विभागबाट दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विशेषज्ञ ओपिडी सेवा सञ्चालन हुनेछ भने आकस्मिक अवस्थामा २४सै घण्टा न्यूरोसर्जरी सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ । यस सेवाबाट साविक राप्ती क्षेत्रसँगै लुम्बिनी प्रदेशका हजारौँ बिरामी प्रत्यक्ष लाभान्वित हुने विश्वास अस्पतालले लिएको छ ।
अहिलेसम्म मस्तिष्क वा मेरुदण्डसँग सम्बन्धित गम्भीर रोग लागेका बिरामी उपचारका लागि काठमाडौं, चितवन, पोखरा वा भारतका अस्पताल पुग्नुपर्ने बाध्यता थियो । उपचारमा ढिलाइ हुँदा धेरै बिरामीले ज्यान गुमाउने, अपाङ्ग हुने वा आर्थिक रूपमा ठूलो भार बेहोर्नुपर्ने अवस्था रहँदै आएको थियो । अब दाङमै विशेषज्ञ सेवा उपलब्ध भएपछि समयमै उपचार पाउने सम्भावना बढेको अस्पतालको भनाइ छ ।
अस्पतालले न्यूरोसर्जरीका लागि आवश्यक पर्ने अत्याधुनिक पूर्वाधारसमेत तयार गरेको जनाएको छ । न्यूरोसर्जरीपछि बिरामीलाई राख्न छुट्टै न्यूरो आईसीयू, अत्याधुनिक मोडुलर अपरेशन थिएटर, ब्लड बैंक तथा आवश्यक आधुनिक उपकरणको व्यवस्था गरिएको छ ।
विशेषगरी सडक दुर्घटना, लडेर टाउको वा मेरुदण्डमा गम्भीर चोट लागेका बिरामीका लागि यो सेवा अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ । यस्ता बिरामीलाई उपचारका लागि टाढा लैजाँदा बाटोमै ज्यान जाने वा उपचारमा ढिलाइका कारण स्थायी अपाङ्गता हुने जोखिम रहँदै आएको थियो । अब दाङमै तत्काल शल्यक्रिया गर्न सकिने भएपछि बिरामीको ज्यान बचाउने सम्भावना उल्लेखनीय रूपमा बढ्ने चिकित्सकहरूको विश्वास छ ।
वरिष्ठ न्यूरोसर्जन डा. मुसाफिर आलमका अनुसार अस्पतालमा मस्तिष्क तथा मेरुदण्डका ट्युमरको शल्यक्रिया, मस्तिष्क र मेरुदण्डमा चोटपटक तथा अन्य जटिल रोगको उपचार, बालबालिकासम्बन्धी न्यूरोसर्जरी, छारे रोगसँग सम्बन्धित शल्यक्रिया, हातखुट्टाका स्नायु (पेरिफेरल नर्भ) सम्बन्धी शल्यक्रिया लगायतका सेवा प्रदान गरिनेछ। उहाँका अनुसार अत्याधुनिक उपकरण र दक्ष जनशक्तिको संयोजनले अब धेरै बिरामीलाई बाहिर जानुपर्ने आवश्यकता रहने छैन ।
डा. आलमका अनुसार न्यूरोसर्जरी चिकित्सा विज्ञानको अत्यन्त महत्वपूर्ण विधा हो, जसले मस्तिष्क, मेरुदण्ड र सम्पूर्ण स्नायु प्रणालीसँग सम्बन्धित रोगको निदान, व्यवस्थापन तथा शल्यक्रिया गर्छ । केन्द्रीय स्नायु प्रणाली (सीएनएस) र परिधीय स्नायु प्रणाली (पीएनएस) मा देखिने विभिन्न रोगको उपचार न्यूरोसर्जनले गर्ने भएकाले समयमै विशेषज्ञको पहुँच हुनु बिरामीका लागि अत्यन्त महत्वपूर्ण हुन्छ ।
उहाँले विशेषगरी हेमोरेजिक स्ट्रोक अर्थात् मस्तिष्कभित्र रक्तनली फुटेर हुने रक्तस्रावका बिरामीलाई तत्काल शल्यक्रिया आवश्यक पर्ने बताउनुभयो । मस्तिष्कको धमनी कमजोर भएर बन्ने एन्युरिज्मका कारण पनि यस्तो अवस्था सिर्जना हुने गरेको उल्लेख गर्दै उहाँले समयमै शल्यक्रिया गर्न सके बिरामी पूर्ण रूपमा निको हुने सम्भावना धेरै रहने जानकारी दिनुभयो । डा. आलमका अनुसार लगातार टाउको दुखिरहनु मस्तिष्कको ट्युमरको एउटा प्रमुख संकेत हुन सक्छ भने लगातार ढाड दुख्नु मेरुदण्डको ट्युमर वा अन्य गम्भीर समस्याको लक्षण हुन सक्छ । यद्यपि टाउको वा ढाड दुखाइ मात्र देखिँदैमा ट्युमर भएको निष्कर्ष निकाल्न नहुने उहाँको भनाइ छ । यस्ता समस्या लामो समयसम्म रहिरहेमा विशेषज्ञ चिकित्सकको परामर्श लिनु आवश्यक हुने उहाँले बताउनुभयो ।
उहाँका अनुसार स्पाइनल डिस्कको क्षति मेरुदण्डसम्बन्धी रोगको प्रमुख कारणमध्ये एक हो । हर्निएटेड डिस्क, स्पाइनल स्टेनोसिस, मेरुदण्डको संक्रमण, जन्मजात समस्या तथा मेरुदण्डमा लाग्ने चोटका कारण पनि शल्यक्रियाको आवश्यकता पर्न सक्छ । संजीवनी टिचिङ हस्पिटलमा अब यस्ता सबै प्रकारका मेरुदण्डसम्बन्धी शल्यक्रिया गर्ने तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी टाउको, घाँटी र मेरुदण्डमा लाग्ने चोटको विशेषज्ञ उपचारसमेत यहीँबाट उपलब्ध गराइनेछ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले उपत्यकाबाहिर विशेषज्ञ न्यूरोसर्जनलाई ल्याउनु आफैँमा चुनौतीपूर्ण भए पनि अनुभवी चिकित्सक डा. मुसाफिर आलमलाई अस्पतालसँग आबद्ध गराउन सफल भएको बताउनुभयो । उहाँले नेपालमा न्यूरोसर्जनको संख्या अत्यन्त न्यून रहेको र यस्तो सेवा सञ्चालन गर्न ठूलो लगानी आवश्यक पर्ने भए पनि दाङका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले यो निर्णय गरेको उल्लेख गर्नुभयो ।
रोकाले दाङकै माटोमा हुर्किएका अनुभवी चिकित्सकलाई आफ्नै जिल्लामा सेवा गर्ने वातावरण तयार हुनु गौरवको विषय भएको बताउँदै अब स्वास्थ्य उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता क्रमशः कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. बाचस्पति सुवेदीले अस्पताल सञ्चालनमा आएको चार महिनाको अवधिमै विशेषज्ञ सेवा विस्तार गर्दै सुपर स्पेसियालिटी सेवाको सुरुआत न्यूरोसर्जरीबाट गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनभित्र युरोलोजी र कार्डियोलोजी सेवासमेत सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।
ती सेवा सञ्चालनमा आएपछि मुटु, मिर्गौला, मूत्रथैली, मूत्रमार्ग, प्रोस्टेट, पुरुष प्रजनन प्रणाली तथा अण्डकोषसँग सम्बन्धित रोगको विशेषज्ञ उपचारसमेत दाङमै उपलब्ध हुनेछ । यसले लुम्बिनी प्रदेशका बिरामीलाई अझ सहज र सुलभ स्वास्थ्य सेवा प्राप्त हुने अपेक्षा गरिएको छ ।
spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार